Author: Anisha Tiwari
-

बढ्यो काठमाडौं महानगरको राजस्व, ६ महिनामा करिब पाँच अर्ब राजस्व असुल
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल गरेको थियो ।अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले राससलाई जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने ९ अर्ब आठ करोड ७० लाख १३ हजार रुपैयाँको लक्ष्य लिएको थियो ।विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उजको भनाइ थियो ।यसवर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए।कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ । -

घोडाघोडीमा प्रमोद खरेलका केही पल : आगो ताप्नेदेखि बोटिङ गर्नेसम्म (तस्बिरहरु )
कैलाली । नेपाली सुगम सङ्गितका बदशाहका रुपमा चिनिने गायक प्रमोद खरेलले मंगलबारको बिहानी घोडाघोडीमा बिताएका छन् ।
विश्व रामसार क्षेत्रमा समेटिएको कैलालीको घोडाघोडी धार्मिक जैविक र पर्यापर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । मंगलबार घोडाघोडी पुगेका प्रमोदले यहाँको ओजुवा तालमा बोटिङ गरे ।
आफै चालायर बोटिङ गरेका प्रमोदलाई देखेका स्थानीयलाई फोटो खिच्न भ्यान नभ्याई थियो । त्यस अघि गायक खरेल आगो ताप्दै भेटिएका थिए ।
सुरुमा मास्क लगाएको हुँदा धेरैले ठम्याउन सकेनन् तर केही बेरमै त्यहाँ घुइँचो भइसकेको थियो ।



-

जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते
डोटी । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।
-

अस्पतालमै हराउँछ बिरामीको फाइल
चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।
यो फाइल बिरामीले लैजान पाउँदैन अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ । यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो समस्या नै फाइल हराउने हो । क्यान्सरका बिरामीका लागि एक पटक आएर उपचार सम्भव छैन । पटक-पटक अस्पताल आउने ती बिरामीको फाइल हराएपछि उपचारमै समस्या हुँदै आएको छ । आउने बिरामीलाई विभिन्न बहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँगै जोडिने गरेको पीडितको गुनासो थियो ।
उपचारका लागि सासू लिएर आएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पतालमा भौँतारिदै थिइन् । उनले गुनासो गरीन्, ‘एक महिनाअघि उपचार गरेर फाइल यही छोडेर गइयो तर अहिले भेटिएकै छैन । रेकर्ड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन्, तर यहाँ आयो उतै होला भन्छन् ।’
त्रिहत्तर वर्षीया सासू राधिकाकुमारी सापकोटाको उपचारका लागि अस्पताल आइरहनुपर्ने र यहाँ फाइल नभेटिने समस्या सधैँ हुने गरेको उल्लेख गर्दै मञ्जुले भनीन्, ‘बिहान ५ बजे टोकन लिएपछि ७ बजे टिकट काटेर बिरामी लिएर आउँदा फाइल नै हराउँछ । कस्तो गैरजिम्मेवारपन हो यो ।’
अस्पतालले बिरामीको रेकर्ड फाइल अस्पतालमै सुरक्षित छोड्न भन्दै आए पनि अब फाइल नभेटिए केका आधारमा उपचार सुरु गर्ने ? यस्तो लापरबाहीले त जनताले सास्ती पाउने उनले बताइन् । मञ्जु मात्रै होइन कपिलवस्तुबाट उपचारका लागि आएकी ५८ वर्षीया सानीमाया कुँवर आफ्नो फाइल हराएपछि फोटोकपी गरेर राखेको कागजले उपचार गराइरहेको बताइन् । उनले भनीन्, ‘यसअघि आउँदा मेरो फाइल हराएकाले मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैका आधारमा उपचार गराइरहेकी छु ।’
लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी उनले फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको विशेषता नै भएको बताइन् । सानीमायाले भनीन्, ‘उपचारका लागि टाढाबाट आउनुपर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ती पाउने गरेका छौँ ।’
अस्पतालका कर्मचारीहरुको रुखो बोलीका कारण झनै समस्या बन्ने गरेको, उपचार राम्रो भए पनि केमो दिनुपर्ने बिरामीले पालो कुर्नुपर्ने, केमो अस्पतालमा नपाएर बाहिरबाट किन्नुपर्नेजस्ता समस्या हुनाका साथै सक्कल रिपोर्ट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उनको गुनासो थियो ।
तनहुँबाट उपचारका लागि अस्पताल आउनुभएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताइन् । उपचारका लागि आएको पाँचदेखि सात दिनसम्म रोकिनुपर्ने उनको भनाइ थियो । पाँच वर्षदेखि जिब्राको क्यान्सरको उपचार गराउँदै आएकी जमुना अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनुजस्ता समस्याले सास्ती व्यहोर्नु परेको गुनासो गरीन्।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बिरामीको फाइल हराउने गुनासो आएको स्वीकारेका छन् । विभागका चिकित्सकहरूकोमा गएको कतिपय फाइल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उनले पूरै हराउने भन्ने नहुने जिकिर गरे । उपनिर्देशक नेपालले आन्तरिक फाइल राख्ने प्रणालीलाई चुस्त बनाउनुपर्ने अवस्था देखिएकाले अब सुधार्ने बताए ।
अस्पतालमा नेपालभरका साथै भारत र बङ्गलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् । एसियाको नमूना अस्पतालका रुपमा बनाइएको यस अस्पतालमा पछिल्ला वर्षहरुमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता समस्या भोग्नु परिरहेको छ ।
रासस
-

रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुने
तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकोमा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।
यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए ।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।
-

थानकोट-चित्लाङ सडकमा महेश बर्तौलाको चासो, सुरक्षा उपाय अपनाउन सडकका अधिकारीलाई लगाए तातो
हेटौंडा । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चित्लाङ–चन्द्रागिरी–थानकोट सडकमा क्रयास ब्यारियर राख्न ध्यानाकर्षण गराएका छन् । बर्तौला मकवानपुर-२ बाट निर्वाचित संघीय सांसद हुन् ।
मंगलबार सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाडौं प्रमुख नारायण भण्डारीलाई कार्यकक्षमा बोलाएर बर्तौलाले उक्त सडकलाई क्रयास ब्यारियरमा राख्न ध्यानाकर्षण गराएका हुन् ।
बर्तौलाले आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरीकरण तथा दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

गत शनिबारमात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर भएको दुर्घटना एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।
थानकोट–चन्द्रागिरी-चित्लाङ सडकको अवस्था अत्यान्तै जिर्ण भएको, हिउँदमा सुख्खा पहिरो तथा वर्षातमा धेरै ठाउँमा पहिरो जाने समस्याले धनजनको क्षेतिको घटना बढेपछि उक्त सडकलाइ क्र्यास ब्यारियरमा राखेर यथासिघ्र निर्माण गर्नुपर्ने उनले बताए ।
-

विश्व व्यापार सङ्गठनको उच्च पदमा नेपाली राजदूत सुवेदी निर्वाचित
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको उच्च पदमा निर्वाचित भएका छन् ।
राजदूत सुवेदी सङ्गठनको ट्रेड एन्ड डेभलपमेन्ट कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको टियर एक तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको यो नै पहिलो हो ।
सीटीडी अध्यक्षको हैसियतमा राजदूत सुवेदीको कार्यकाल एक वर्ष रहनेछ । विश्व व्यापार सङ्गठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफलहरू अति कम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता, विकास र व्यापारमा केन्द्रित छन् ।
-

ओझेलमा भोजपुरको हतुवागढी माइबेनी
भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताउनुभयो । यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।‘यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो’, उनले भने, ‘यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।’ खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताए ।माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठयारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ । माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए। यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ । यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि–१ पर्छ । यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ । -

भारतीय सैनिक फिर्ता प्रक्रियामा भारत र माल्दिभ्सको ‘कोर ग्रुप’ वार्ता सुरु
काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सैनिकहरुलाई भारत फर्काउने वार्तामा भारत र माल्दिभ्स सहभागी भएका छन् । गत नोभेम्बरमा चुनाव जितेर आएका राष्ट्रपति महोमद मैजूको ‘इण्डिया आउट’ नारा अन्तरर्गतको भारतीय सैनिक फिर्ता गर्ने वार्ता प्रक्रिया सुरु भएको छ ।
माल्दिभ्सको अटोल टाइम्सका अनुसार वार्ता माल्दिभ्सको राजधानी मालेमामा आइतबार सुरु भएको छ । दुई देशका ‘कोर ग्रुप’को वार्ता सुरु भएको अटोल टाइम्सले उल्लेख गरेको छ । कोप २८ को भेलामा सहभागी भएका मैजू र भारतीय प्रधानमन्त्री मोदीबीचमा कोर ग्रुप बनाएर भारतीय सैनिक फिर्ताको प्रक्रिया सुरु गर्ने बारेमा दुबईमा छलफल भएको थियो ।
त्यही छलफलको नतिजाको रुपमा आज भएको वार्तालाई लिइएको छ । वार्तामा माल्दिभ्सका तर्फबाट सेनापति अब्दुल्ला फायेज र भारतका तर्फबाट उच्च आयुक्त मुनुमहावार सहभागी भएका छन् । दुई देशबीचमा भएको रणनीतिक वार्ताको अघिल्लो दिन माल्दिभ्सका राष्ट्रपति महोमद मैजूले भारत लक्षित चर्को अभिव्यक्ति दिएका थिए ।
उनले माल्दिभ्स सानो देश छ भन्दैमा हेप्ने लाइसेन्स नहुने बताएका थिए । चीनको राजकीय भ्रमण सकेर स्वदेश ओर्लिएपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मैजूले यस्तो बताएका हुन् । बीबीसीका अनुसार हाल माल्दिभ्समा सामुद्रिक गस्ती र उद्धारको लागि ७७ भारतीय सैनिकहरु रहेका छन् ।
माल्दिभ्सको मिडिया ‘द सनका अनुसार माल्दिभ्सले भारतलाई मार्च १५ भित्र आफ्ना सैनिक फिर्ता लान आग्रह गरेको छ ।
-

‘१२ गाउँ’बाट डेब्यु गर्दै विराज भट्टका छोरा समीर भट्ट
काठमाडौं। अभिनेता विराज भट्टका छोरा समीर भट्टले चलचित्रमा डेब्यु गर्ने भएका छन् । ‘विराज भट्ट प्रोडक्सन’ बाट निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’बाट समीरले डेब्यु गर्न लागेका हुन। चलचित्रलाई विराज स्वयंमले निर्देशक गर्दैछन।
भट्टले आफ्नो सामाजिक सञ्जालमा छोरा समीरको तस्विर शेयर गर्दै ‘१२ गाउँ’बाट डेब्यु गर्न लागेको जानकारी दिएका हुन। अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका समीरको तस्विरमा एब्स देख्न सकिन्छ। डेब्यु चलचित्रको लागी उनको मेहेनत तस्विरमै झल्किन्छ।
-

प्याङ्खोलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना
बलेवा (बागलुङ) । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकी पनि थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।
दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकीन् । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागे । दीपक पहिलेदेखि नै बेलायत बस्ने गर्दथे । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याउएका थिएनन् । काठमाडौंमै बिहे भयो । उतैबाट बेलायत गए।
बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनीन् ।
सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए ।
-

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु , ६ जना पक्राउ
कैलाली । कैलालीको अत्तरियामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका स्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिका ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
२५ गते राति दोहरी साँझमा कुटपिटमा पछि देउवा घर पुगेको र परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएको प्रहरीको भनाइ छ । उपचारकै क्रममा अस्पतालमा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता चन्दले बताए।
देउवाको ज्यान गएपछि परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थिए । शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

बुढेसकालमा छोरा-बुहारीले गर्ने अपहेलनाको कथा बोकेको ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक
काठमाडौं । वृद्धाश्रम पठाउन कस्सिएका छोरा बुहारीको कथा बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ ।
राजनराज शिवाकोटीको शब्द र सङ्गीत रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ ।नेपाली समाजमा छोरालाई बुढेसकालको साहाराको रूपमा हेरिने गर्दछ। तर त्यहीँ छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथालाई गीतिकथा ‘निक्लेर जा भन्छ छोराले ले देखाउन खोजेको छ।
भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ।
विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।
-

झाडीको आगलागी व्यापक भएपछि पश्चिम अस्ट्रेलियामा स्थानीयलाई स्थानान्तरण हुन आग्रह
काठमाडौं । अस्ट्रेलियाको पश्चिम भागमा फैलिएको झाडीको आगलागीबाट बच्न स्थानीयलाई स्थानान्तरणको लागी आग्रह गरिएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार शनिवारको आगलागीबाट उत्पन्न अवस्थामा यस्तो आग्रह गरिएको हो ।
अस्ट्रेलियाको अग्नि तथा आपतकालीन विभागले जनधनको क्षति हुनबाट बच्न यस्तो आग्रह गरेको हो । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थबाट ६० किलोमिटरको उत्तरी क्षेत्रमा भएको आगलागीमा ४० स्थानमा झाडीको आगो चलिरहेको बताइएको छ ।
आगलागी १२० हेक्टर भन्दा ठूलो क्षेत्रमा फैलिरहेको बताइएको छ । अस्ट्रेलियाको झाडी आगलागी विश्वकै कुख्यात छ । सन २०१९/२० मा भएको ब्याक समर नाम दिइएको आगलागीमा परेर ३३ जनाको ज्यान गएको थियो भने कयौँ हेक्टर जमिनमा क्षति पुगेको थियो ।
-

चिसोले महोत्तरीका दलित बस्तीमा विचल्ली
महोत्तरी । पुस अन्त्यतिर मधेसमा चिसो बढ्दो छ । मधेसका जिल्लामा घाम देखिँदा हर्षबढाइ हुन्छ । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ चलिरहँदा सर्वसाधारण काममा निस्कन सकेका छैनन् । पछिल्लो साता बढेको चिसोकै कारण महोत्तरीका विद्यालयमा जाडो बिदा दिइएको छ । माघेसङ्क्रान्ति पर्व नजिकिए पनि हाटबजारमा चहलपहल घटेको छ ।
चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा ससाना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने ‘घुर’ (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न शरीर ढाक्ने लुगा ! शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने धुँवाको मुस्लोभित्रको ‘घुर’ वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिँदो छ ।
‘यो मुटु कमाउने जाडोमा न बनिबुतो गर्न निस्कन सकिन्छ न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ’, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) भन्छन्, ‘बच्चाबच्ची स्याहार्न मुस्किल छ ।’ सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आफुहरुका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदै आएको बताउछन् ।
महोत्तरीको मध्य र दक्षिणी भेगमा लाग्दो पुसदेखि नै बिहान हुस्सुले ढाक्दै आएको छ । उत्तरीक्षेत्रमा कहिलेकाहीँ झल्याकझुलुक देखिने घाम पनि पारिलो हुँदैन । झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडोको कहर निकै बढेको हो । महोत्तरीको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिरसम्म बिहानै घाम देखिए पनि पुस लागेयता भने यो भेगमा पनि धेरैजसो यसपालि बिहानैदेखि डम्म हुस्सुले ढाक्दै आएको छ । बाक्लो हुस्सुसँगैको चिसो सिरेटो चल्ने क्रमले हात गोडा कठ्याङ्ग्रिएर कुनै काममा निस्कन नसकिएको यहाँका सर्वसाधारण बताउँछन् । मध्य र दक्षिणी भेगमा त घाम नदेखिएको कैयौ दिन हुन्छन् । अहिले बहने चिसो हावाले लगलगी मुटु कमाउने जाडो बढाएको जलेश्वर नगरपालिका–२ का सामाजिक कार्यकर्ता जिरेखन पासवान बताउछन् ।
निरन्तरको चिसोले व्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । अहिले नै यस्तो विजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बुढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा छन् । ‘खै उमेरले भर्खर ६० नाँघियो , यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन’, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवल भन्छन्, ‘खै परारको (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?’ परार र त्यसअघिको वर्षको कोरोना कहर सम्झदै यादवले लख काटे । बढ्दो जाडोले यसभेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ । ‘जाडो त सबैलाई हो तानि..! हुनेखाने जाडोबाट बच्ने सरजाम (बन्दोबस्त) घरमै जुटाउलान् , हामी बनी (मजदुरी) गरेर गुजारा गर्नेको चैँ के हविगत हुने हो अब’ जिल्लाको बलवा नगरपालिका–१० को मुसहरीटोलका पलट माझी मुसहरले चिन्ता व्यक्त गरे ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र ससाना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर ओरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्थाहरु रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिँदा छन् । ‘बढ्दो चिसोले ग्रामीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ’, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री भन्छन् ।
यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरुले धमाधम सूचना प्रशारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै ओरपर पाइने सागपात र गेडागुडीको झोल खान , अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन , न्यानो ठाउँमा बस्न र घर ओरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गर्एिका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर ‘घूर’ नबाल्न आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने कार्यालय प्रमुख सुनिता गुप्ता बताउछन् ।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठ, खानपिनका सामग्री र न्याना लुगा जुटाउने पहलकदमीका लागि स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । ‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीयतहको नेतृत्व चनाखो हुनपर्छ’, प्रयास महोत्तरी (सामाजिक संस्था) का अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, ‘अहिलेको तदारुकताले क्षति रोक्न सकिन्छ ।’ गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आआफ्ना बस्तीका स्थानीयतहका प्रतिनिधि गुहार्न थालेका छन् । यसैबीच जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने चाँजो मिलाएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५वटै स्थानीयतह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । ‘हामीले जिल्लाका १५ वटै स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेका छौँ’, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्, ‘समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिन्छ ।’ पछिल्ला तीन÷चार दिनयता ठाउँठाउँमा आगो बाल्ने र गरिब बस्तीमा ओढ्नेको प्रबन्ध भएको कर्णले बताउनुभयो । गौशाला नगरपालिका–९ मा गरीब परिवार पहिचान गरी ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ ।
-

पीएम कप क्रिकेटः लुम्बिनी प्रदेश विजयी सुरुवात (भिडिओ)
रुपन्देही । भैरहवामा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेशले जितेको छ । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको लक्ष्य चार विकेट बाँकी छँदै पूरा गर्यो ।
पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४ दशमलव चार बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन, कृष्ण अहिर १९, समीर खड्का र अमृत गुरुङले समान १३-१३ रन बनाए ।
बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक-एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसको जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले दश रन जोडे । बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन-तीन विकेट लिए । लुम्बिनीका अजय चौहान म्यान अफ दि म्याच घोषित भए । आइतबार कर्णाली र गण्डकी प्रदेश बीच हुनेछ ।
-

राप्ती बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन् – ट्राफिक छलेर तीव्र गति नै दुर्घटनाको मुख्य कारण
रुपन्देही । बाँकेको कोहलपुरबाट काठमाण्डौं हिडेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार बेलुका पौने ७ मा खचाखच यात्रु भरेर हिडेको थियो । बाँके, दाङमा माघी लागिसकेकाले केही स्थानीय उभिएर पनि जानका लागि चढिरहेका थिए । केही अमिलियामा झरे केही लमहीमा झरेपछि गाडीमा सीटभन्दा कम भइसकेका थिए ।
समथर बाटो, वरिपरी कुनै कुनै खाल्डाखुल्डी नि छैन । पूर्वपश्चिम राजमार्गमा रहेका खाल्डा-खुल्डीको बाटो सकेर सजिलो बाटो रहेका स्थानमा पुगेको थियो । दुर्घटनामा सामान्य घाइते भएका सल्यान त्रिवेणी गाउँपालिका वडा नं ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। चालक नेपालीले बस गुड्दागुड्दै पट्टा भाँच्चिएर चक्का नघुमेपछि अनियन्त्रित भएर नदीमा खसेको बताएपनि बसमा रहेको यात्रु, स्थानीय र प्रहरी कसैले पनि त्यो अवस्था नरहेको बताइरहेका छन्। उनीहरुले चालकले भनेजस्तो सिधा पुलमा स्टेरिङ घुमाउनुपर्ने अवस्था भने देखिदैन।
१२ जना यात्रुको ज्यान जानेगरी भएको सार्वजनिक यात्रुवाहक रात्रीबस दुर्घटनामा चालकको गम्भीर लापरबाहीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बाँकेबाट हिंडेपछि लमहीमा खाना खाएर हिंढेको सो बस राति करीब १०:३० बजे बस दाङको राप्ती गाउँपालिकास्थित राप्ती पुलबाट नदीमा खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको थियो भने र २३ जना घाइते भएका छन्।
घटनाका एक प्रत्यक्षदर्शीले तीव्र गतिमा हुइकिएको रात्रीबस भालुवाङस्थित पुलको मुखै रहेको प्रहरी चेकपोस्टमा समेत दर्ता नगरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले समेत त्यसलाई पुष्टि हुनेगरी उक्त गाडी भालुवाङ चेकपोस्टमा दर्ता गरेको नदेखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले बस मानवीय त्रुटिका कारण दुर्घटना भयो कि प्राविधिक कमजोरीका कारण भन्नेबारे अनुसन्धान भइरहेको बताए।
बस तीव्र गतिमा रहेको, भालुवाङमा रहेको प्रहरीको चेकपोइन्टमा हरेक बस चेकजाँच गर्ने भएपनि त्यो बस चेकपोइन्टमा समेत नरोकी गएको उनको भनाइ छ । चेकप्वाइन्ट कटेको बस सय मिटर नपुग्दै दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार बस उल्टो परेर पल्टिएका कारण बसभित्र रहेका यात्रुहरूलाई उद्धार गर्न निकैबेर लागेको थियो। साढे १० बजे दुर्घटना भएको बसबाट सबैको उद्दार गर्दा बिहान ३ बजेको थियो।
सो दुर्घटनाका घाइते बुटवल सिटी अस्पतालमा उपचाररत रौतहटका २८ वर्षीय सन्जय कार्कीका भनाइमा पनि घटनामा चालककै दोष देखिन्छ । कार्की मामा र उनी कोहललपुर नजिकबाट चढेको, आफू पनि बस चलाउने भएकाले बस धेरै बढी गतिमा चलाएकाले बसेदेखि नै डर लागिरहेको बताउँछन् । ‘बसको पट्टी भाचिएको भन्ने कुरा छ बाटोमा कुनै खराबी थिएन त्यो हो जस्तो लाग्दैन, गति तीव्र थियो, खाना खाएपछि चालक झपक्क भएको हुनसक्छ ।’ उनले भने– ‘लमहीमा खाना खाएपछि सीट परिवर्तन गरेर बसेको थिएँ, त्यहाँबाट हिंडेको केही समयपछि बस सडक छुउमा ढल्केपरेकोजस्तो लागेको थियो तर एकछिनमा जोडले बजारियो, त्यसपछि केही होस छैन । मामा र भान्जा दुवै होसमा आएपछि खोलाबाट बाटोमा जाने कुरा गर्र्यों, तर मामा सक्नुभएन एक्लै बाटोमा गएँ, अनि प्रहरी आयो, एम्बुलेन्स मगाएर अस्पताल लागें, मैले अर्को गाडी खोजेर मामालाई लिएर बुटवल जाने योजना बनाउँदै थिए, मामाको मृत्यु भइसकेको कुरा प्रहरीले सुनाए । मलाई सोच्नै नसकिने पीडा भयो ।’
घटनाका प्रत्यक्षदर्शी कपिलवस्तुका टेकराज पौडेलका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु र तीव्र गति तथा प्रहरी चेकजाँचमा भाग्नु नै घटनाको मुख्य कारण हो । उनले त्यो बसमा बाँकेबाटै चढ्न खोजेपनि कोचाकोच भएर नचढेको तर सँगै अर्को बसमा आएको र भालुवाङमा दुर्घटनामा परेको समयमा आफ्नो गाडी त्यही गाडीको पछि आएको र घटनाको सबै प्रकृति हेर्दा चालकको गम्भीर लापरबाही भएको बताउँछन् । ‘मेरो त्यो घटनामा नपर्ने भाग्य रहेछ, त्यो बसमा चढेर पनि म सीट नपाएर ओर्लेको हो, बसका सहयोगीले कोचेर यात्रु राखिरहेका थिए, तर म त्यसरी नजाने भन्दै झरेको हुँ, दुर्घटना हुँदा त्यसपछिको बसमा थिएँ, झरेर सबै घटना हेरेको हुँ’ उनले भने । ‘दुईवटा बस सँगै थिए। जसमध्ये हाम्रो बस चेकिङमा अडियो। त्यो तीव्र गतिमा अघि बढ्यो।
ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेको बस पुलमा प्रवेश गरेलगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खसेको हो’ उनले भने ‘दुर्घटना हुनेजस्तो स्थान त होइन। तर, बस खस्यो, भालुबाङ बजारमा बाटो फराकिलो छ। तर, पुलमा जोडिने बेलामा साँघुरो छ। तीव्र गतिमा गुडेको गाडी नियन्त्रणमा आउन कठिन भएको हो।’
-

गायक इन्द्र कार्की र समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । गायक इन्द्र कार्की र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गीत सार्वजनिक भएको छ ।
स्वयम् इन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गीतमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् ।
भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गीत भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको सङ्गीत तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका हुन् । पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन् ।
२०५३ सालमा उदयपुरको बराहा गाविस हाल लिम्चुङ्गबुङ गाउँपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा साधनारत छन् । यस अघि उनले आफू त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानालेलगायत आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् ।
-

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा
घोडाघोडी (कैलाली) । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।
पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिए । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनको भनाइ थियो ।
‘अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्’, चराविद् बरालले भने, ‘यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।’ उनका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् ।
सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिए । ‘यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्’, उनले भने, ‘यी चरा छ महिनासम्म यहाँ बसोबास गर्छन् ।’ उनका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् ।
‘संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्’, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भने । उनका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।
चौधरीले भने, ‘साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।’
कस्तो छ घोडाघोडी ताल ?
एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ ।
एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविक मार्गका रुपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए ।
पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचिकृत भएको उनको भनाइ थियो ।
‘विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ’, पन्छी संरक्षण सङ्घका सहजकर्ता डङ्गौराले भने । उनका अनुसार यहाँ चार सय ५० प्रजातिका वनस्पति पाइन्छन् । यहाँका जङ्गलमा बहुमूल्य र औषधिकारूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइने बताइएको छ ।
रामसारको प्रावधानअनुसार विश्वका आठ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका घोडाघोडी बृहत् तथा पर्यटन विकास बोर्डका उपाध्यक्षसमेत रहेका चराविद् डिआर चौधरीले बताए । यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन् । उनका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, राज धनेसलगायत प्रजातिका चराहरू यहाँ बसोबास गर्दछन् ।
चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २८ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । त्यसपश्चात् यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् ।
चराविद् डिआर चौधरीले भने, ‘नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजातिका अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । साथै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईलगायत जनावरले यहाँको जैविक महत्व विश्वव्यापी बनाएका छन् ।’
यहाँ एक हजार छ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । छ सय ४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, तीन सय ८० प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शङ्केकिरा पाइने यस ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेका लागि विश्वविख्यात अध्ययन केन्द्र सावित भएको चराविद् चौधरीले बताए । उनका अनुसार यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र सात प्रजातिका घिस्रेर हिँड्ने जनावर पाइन्छन् ।
घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकाले यस क्षेत्र धार्मिक दृष्टिकोणले समेत आस्थाको केन्द्रका रूपमा स्थापित भएको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । ‘यो ताल प्रदेशको मात्रै नभई देशकै गहन हो । हामीले यहाँ देश विदेशबाट पर्यटन भित्र्याउने गरी काम गरिरहेका छौँ’, उनले भने, ‘अहिले गुरुयोजनाअनुसार ताल क्षेत्र व्यवस्थित गर्दैछौँ । यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिनेछ ।’
-रासस
-

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने
काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने अफर ल्याएको छ ।
एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले पुस २४ गतेदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैँ आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ ।
यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म प्रयोग गर्न मिल्ने छ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ ।
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा आएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएको छ ।