Author: Anisha Tiwari

  • गोरखामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै

    गोरखामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै

    गोरखा । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।

    यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना संक्रमित भेटिएका छन् ।

    गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । उनले भने, ‘वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जना सङ्क्रमित पुष्टि भइसकेका छन् ।’

    लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टी भएको उनले बताए। स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको उनको भनाइ छ ।

    संक्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको केन्द्रले जनाएको छ ।

    वर्षामा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका प्रमुख श्रेष्ठको भनाइ छ । उनले भने, ‘पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।’

    कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण

    यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।

    कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

    के हो ‘स्क्रब टाइफस’ ?

    स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

    बच्ने उपाय

    किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने बताइएको छ ।

  • भोलिदेखि नयाँ नोट साट्न पाइने

    भोलिदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौं । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो ।

    राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् ।

    सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।

  • पदयात्रा खुलाएर पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग (भिडिओ)

    पदयात्रा खुलाएर पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग (भिडिओ)

    काठमाडौं । कोरोना महामारीले प्रभावित बनाएको पदयात्रा पर्यटनलाई खुलाएर आर्थिक क्षेत्र चलायमान बनाउन व्यवसायीले माग गरेका छन् ।

    खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको चासो बढीरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले तत्काल घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्रा पर्यटनलाई खुला गर्नुपर्छ भन्ने व्यवसायीहरुको माग छ ।

    नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

    यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । उनले भने, शाहसीक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने छ ।

    डेढदशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीेले बताएका छन् । नेपालमा कोरोना संक्रमणदर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवासयीहरुले बताएका छन् ।

    कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो । अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन् ।

  • नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

    नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

    रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ। । १०४ वर्षीय गुरुङको आइतबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा उनको उपचारका क्रममा निधन भएको हो ।

    नेकपा ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउँदै महामन्त्री सिंहले एक सच्चा, निडर, आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अविचलित योद्धाका रुपमा स्मरण गरेका छन् ।

    २००७ सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक थिए ।

    नेपालकै सबैभन्दा जेठा कम्युनिष्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो ।

    त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

    १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरामा जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

    गतवर्ष लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख)बाट गुरुङलाई सम्मान गरेको थियो ।

  • म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

    म्युजिक भिडिओ छायांकनस्थलमा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

    काठमाडौं । कलाकार रमेश केसी मट्टारेको हृदयघातका कारण निधन भएको छ । सुटिङका क्रममा अचानक ढलेका उनलाई गंगालाल हृदयरोग केन्द्र पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

    आइतबार बिहान ‘हर्के हवल्दार’ टिमको एउटा म्युजिक भिडिओ सुटिङ लागि उनी आइतबार बिहानै मोटरसाइकल चढेर छन्दे स्टुडियो पुगेका थिए । तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको स्टुडियोमा पुगेको केही समयपछि उनी एक्कासी बेहोस भएर ढलेको एक कलाकारले बताए । त्यसपछि उनलाई तुरुन्त गंगालाल अस्पताल पुगे पनि ज्यान जोगिन सकेन ।

    ६९ वर्षिय केसी केसी लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै थुप्रै टेलिसिरियल र फिल्मसमेतमा अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘एकादेशको चुरिफुरी’, ‘हर्के हवल्दार’ लगायत सिरियलमा देखिँदै आएका थिए । उनका श्रीमती, ३ छोरी र २ छोरा छन् ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ यो साता पनि युट्युवमा शीर्ष स्थानमा परेको छ । यो गीतले २६ दिनभित्रै २ करोड भ्यूज पार गरेर कीर्तिमान कायम गरेको छ । पछिल्लो साता यो गीतलाई ३० लाख २० हजार २१८ पटक हेरिएको छ भने कूल २ करोड १९ लाख ७५ हजार ९०९ छ ।

    प्रकाश सपूतको शब्दमा रहेको गीत ‘कुरा बुझ्न पर्च’ दोस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १३ लाख ९५ हजार १९० पटक हेरिएको छ भने कूल १ करोड ८४ लाख ४३ हजार ३१५ पटक युट्युवमा हेरिएको छ ।

    यस्तै प्रमोद खरलेको स्वरमा रहेको गीत ‘ए जिन्दगी’ तेस्रो स्थानमा छ । पछिल्लो सातामा यो गीतलाई ८ लाख ६१ हजार १२ पटक हेरिएको छ । यो गीतको कूल भ्यूज संख्या २४ लाख ३४ हजार ४२९ छ । हेर्नूस सूची :

    विष्णु माझी ‘चरी जेलैमा’ : ३,०२०,२१८

    प्रकाश सपूत ‘कुरा बुज्न पर्च’  : १,३९५,१९०

     

    प्रमोद खरेल ‘ए जिन्दगी’ : ८६१,०१२

     

    बसन्त थापा ‘साल को पात उडायो’ : ७१८,१६१

     

    महेश कफ्ले ‘माया बिरनी-२ ततो गोली’ :  ७१५,०२९

     

    मेलिन राइ ‘आयो तीज को लहर’ :  ६२७,७९७

     

    मेलिन राइ ‘जोखौ माया’ :  ६१८,२३०

     

    निकिता थापा  ‘तिम्रो मन मा ए कान्छा’ : ६१३,१९८

     

    रमेश राज भट्टराई /रचना रिमाल  ‘भन भन साइला’ : ५८४,३२३

     

    छेवाङ लामा ‘लाहुरे –३’ : ५३६६९८

  • टोपबहादुर रायमाझीको आरोप : प्रचण्ड-माधव कम्युनिष्ट होइनन्

    टोपबहादुर रायमाझीको आरोप : प्रचण्ड-माधव कम्युनिष्ट होइनन्

    रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सूर्य र हसियाँ हतौडा चुनाव चिन्ह लिएर चुनाव जितेका नेताहरुले कांग्रेस नेतालाई प्रधानमन्त्री बनाएर कम्युनिष्ट चरित्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।

    राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीको १७ औं अधिवेशनमा बोल्दै रायमाझीले भने– ‘कांग्रेसको पुच्छर बनेर हिंड्ने नेताहरुबाट यो मुलुक बन्दैन र उनीहरुलाई कम्युनिष्ट भन्ने अधिकार पनि छैन ।’

    कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएर कांगे्रसको गोटी बनेर हिंड्नेहरु अब आउने चुनावमा नराम्रोसँग पछारिने बताउँदै नेता रायमाझीले भने– संघ, प्रदेश तथा पालिकामा होइन वडामा पनि जमानत जोगाउन सक्दैनन्, त्यही भएर एमालेविरुद्ध बाँकी रहेका सबै दलले गठबन्धन बनाएका हुन् जमानत जोगाउन, एक्लै लडेर जमानत जोगाउन एमाले चुनौतीको पहाड बनिसक्यो ।’

    देशको विकास र समृद्धिलाई अगाडि बढाउन युवाहरुको विशेष जिम्मेवारी भएको हँुंदा अहिले अवस्थामा युबाहरु एक भएर अगाडि बढ्नुपर्ने रायमाझीले बताए ।

  • शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य

    शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५६ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमा काठमाडौंमा २४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिँदा २४ घण्टामा ललितपुरमा नयाँ संक्रमित फेला परेका छैनन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिलेसम्म ६ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    जसमध्ये काठमाडौंमा ३५६१, भक्तपुरमा १०२५ र ललितपुरमा १७६९ जना सक्रिय संक्रमित छन्।

    हालसम्म नेपालमा ११ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • काठमाडौंमा आज मनाइयो द मिल दिवस

    काठमाडौंमा आज मनाइयो द मिल दिवस

    काठमाडौं । नेपालमा आज द मिल दिवस मनाइएको छ । काठमाडौंको राजधानीस्थित भूमी घरमा आत्मनिर्भर केन्द्रले आज दिवसको आयोजना गरेको हो ।

    सन् १९९९ देखि हरेक सेप्टेम्बरमा विश्वभरी द मिल दिवस मनाइँदै आएको छ ।

    अभियानमा मानिसहरु जम्मा भएर अर्गानिक खाना खाने र खाना खाए वापत इच्छाअनुरुप पैसा सहयोग गर्ने परम्परा छ । यसरी उठेको रकम कुनै खास कामको लागि उपयोग गरिन्छ ।

    कार्यक्रममा खाना र खेतीपातीबारे छलफल भएको थियो । कार्यक्रममा संकलित रकम धनुषास्थित धनौजी गाउँपालिका अन्तर्गतको धनौजी गाउँका हरवाचरवा परिवारको बालिकाको शिक्षामा उपयोग गरिने भएको छ ।

    यो अभियान नेपालमा आत्मनिर्भर केन्द्रले विगत ५ वर्षदेखि आयोजना गर्दै आएको छ ।

  • शनिबार १ हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

    शनिबार १ हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ३८५ वटा नमूना (पीसीआर ८,५४० र एन्टीजेन २,८१८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ३४ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७० हजार ३१७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार २८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८९ जना, भेन्टिलेटरमा १२१ जना, होम आइसोलेशनमा २३,६३६ जना, संस्थागत आइसोलेशनमा १,५४६ र क्वारेन्टाइनमा २४६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.४ प्रतिशत छ ।

  • चितवनमा तिमिल्सिनाको नेतृत्वमा समाजवादी प्रेस संगठन घोषणा

    चितवनमा तिमिल्सिनाको नेतृत्वमा समाजवादी प्रेस संगठन घोषणा

    चितवन । नेकपा एसले पहिलोपटक चितवनमा पत्रकारहरुको जिल्ला शाखा चितवनमा गठन गरेको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको हो ।

    उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका छन् ।

    त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा। कृष्ण पन्तलगायतले नयाँ कार्यसमिति गठन गरेका हुन् ।

  • बाढी प्रभावित मनाङमा दशै अगावै यातायात सञ्चालन हुने

    बाढी प्रभावित मनाङमा दशै अगावै यातायात सञ्चालन हुने

    मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिरोका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिरोले ध्वस्त बनाइदिएको छ ।

    मर्स्याङ्दी नदीमा आएको बाढी र पहिरोले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेँसी सहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिरोले क्षति पुर्‍याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ ।

    डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीशहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरुपमा अझै पनि अवरुद्ध छ । सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन् ।

    तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।

    माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए । बेँसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेँसीशहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।

    त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए । चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उनले बताए । बाढीपहिरोको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पुर्‍याउनसमेत सहज हुनेछ । बेँसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

    सामान ढुवानीमा सहज

    सडक सञ्जालबाट विच्छेद भएको मनाङमा सडक बन्न थालेपछि भौतिक संरचना निर्माण छिटो हुन्छ । सडक सहज नहुँदा बाढीपहिरोबाट क्षति भएका मनाङका भौतिक संरचना निर्माण हुन सकेको छैन । सडक नबन्दा सामग्री ढुवानीमा समस्या भएको छ । पूर्ण रुपमा सडक सञ्चालनमा आएपछि बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचना निर्माण छिटो हुने बताइएको छ ।

    सामग्री ल्याउन सहज भएपछि बाढीपहिरोले क्षति पुगेका भौतिक संरचना निर्माणले तीव्रता पाउनेछ । दशैँसम्ममा चामेसम्म सडक सञ्चालन गराउने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । सडक सञ्चालन गराउन सके यहाँका सामाजिक तथा व्यक्तिगत भौतिक संरचना निर्माण गर्न सहज हुने उनले बताए ।

    विद्युत् अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या

    बाढीपहिराेको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । बाढीपहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ । आधारभूत आवश्यकता पूरा गर्न टेवा पु¥याउने सौर्य उर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो ।

    बाढीपहिरोले मनाङमा विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिए । ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सयहोग चलाइरहेका छौँ’, उनले भने, ‘जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ । हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन । यहाँका सर्वसाधारणलाई विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।’

    विद्युत् आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ । जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ ।

    जलविद्युत् सञ्चालनका लागि हेलिकप्टरबाट सामग्री

    विकट हिमाली जिल्ला मनाङमा बाढीपहिरो गएको तीन महिना पुगेको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिरोले मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । अवरुद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित छन् ।

    लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

    तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा अन्धकार हटाउन रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहँदै आएका युवाले सहयोग पुर्‍याएका छन् ।

    राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिए पनि विद्युत् प्राधिकरणमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको जलविद्युत् मर्मत तथा सम्भारका लागि हेलिकप्टर चार्टड गरी आवश्यक सामग्री ढुवानी गरिएको हो ।

    कर्मचारी काममा फर्कन समस्या

    बाढीपहिरोको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् । आर्थिक वर्षको अन्तिममा काम सकाएर घर बिदा तथा काज जिल्ला बाहिर गएका कर्मचारी फर्किन सकेका छैनन् । बाढीपहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध भएपछि खाद्यान्न तथा अत्यावश्यक सामग्री लिएर आएको हेलिकप्टर फर्किँदा घर गएका कर्मचारी हालसम्म फर्किन सकेका छैनन् ।

    घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीपहिरो र आर्थिक वर्षको अन्तिम काम सकेर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ’, उनले भने । बेसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिरोले बगाएको छ ।

    सौर्य ऊर्जाको भर

    मनाङ अहिले सौर्य ऊर्जाको भरमा छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सहजताका लागि सौर्य ऊर्जा खरिद गरी पठाएको र सौर्य ऊर्जाको भरमा नै सरकारी कार्यालयहरु सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

    उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य ऊर्जा जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सौर्य ऊर्जा, इन्भर्टर र ब्याट्री पठाएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पठाएका थिए । प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले करिब १९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत् चामे पठाएको थियो ।

    थोराङ्ला पासबाट खाद्यान्न ढुवानी

    हिउँदमा हिमपातले समस्या हुने मनाङले यस पटक वर्षायाममा पनि सङ्कट झेलेको छ । हिउँदताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो तर हिमाली जिल्ला मनाङले यसवर्ष बाढीपहिरोको विपद् खेप्नुपरेको छ ।

    पछिल्लो केही दिन वर्षा रोकिँदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने चिन्ता छ । जसले गर्दा मनाङवासी त्रासैत्रासमा जीवनयापन गर्न बाध्य भएको स्थानीय बताउँछन् । प्राकृतिक विपद् सामना गर्नुपरेको यो जिल्लाले मनसुनको अझै बाँकी रहेकोले थप पीडा भोग्नुपर्ने हो की भन्ने त्रासमा मनाङवासी छन् ।

    बाढीपहिरोले विपद्मा परेका मनाङवासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

    सामग्री ढुवानीमा हेलिकप्टर

    लामो समयदेखि सडक सञ्जालको मर्मत तथा सम्भार र निर्माण गर्न नसक्दा सामान ढुवानीमा समस्या भएको छ । हेलिकप्टरबाट मात्रै सामग्री ल्याउन र लैजान सकिने मनाङ पुर्‍याउन सकिन्छ ।

    मनाङमा उत्पादित वस्तु बजारसम्म पुर्‍याउन समस्या हुनुका साथै मर्मतसम्भारका सामग्री ढुवानीमा पनि हेलिकप्टरबाहेक अरु कुनै विकल्प छैन । सामग्रीसहित यहाँ उत्पादित वस्तु बजारमा पुर्‍याउन पनि हेलिकप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

    हेलिकप्टरबाट बजारमा पुर्‍याएको सामग्री महँगो पर्ने र विदेशबाट आएका सामग्री सस्तो मूल्यमा पाउने देखिएको छ । यसको समाधानका लागि सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्ने भए पनि सरकारको विभिन्न निकायले ध्यान पुर्‍याउन सकेको छैन ।

  • गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

    गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

    यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

    नेपालीको महान् चाड दशैं, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।

    कोभिड महामारीकाबीच आफूहरु पनि यात्रुलाई सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा कम्पनी पनि उत्रेर गुणस्तरीय सेवा प्रदान गरिने उनको भनाइ थियो ।

    आफ्ना १८ सिट क्षमताका दुई बिचक्राफ्ट र थप गरिएका ३० सिटे पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा र भरतपुर (चितवन) गरिएकामा केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङ्टार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाएको जनाइएको छ ।

  • रेडपाण्डाको छाला र दुई लाख नगदसहित चारजना पक्राउ

    रेडपाण्डाको छाला र दुई लाख नगदसहित चारजना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक कनक शाहीका अनुसार पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका– ८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका– १ का विष्णु रावत, नारायण नगरपालिका– १० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको हो ।

    सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाई छिपाई राखेको कालो रंगको हाते झोला भित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, मोबाईल ५ थान फेला परेको हो । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन् ।’

  • काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौं : मेयर शाक्य (भिडिओ)

    काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौं : मेयर शाक्य (भिडिओ)

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको बताएका छन् ।

    आज उनकै गृह जिल्ला वडा नम्बर–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिकाले क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा पुाः निर्माणलाई प्राथमिकता दिएका छ,’ शाक्यले भने, ‘भएका सम्पदाको संरक्षण सम्बद्र्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ ।’

    उनले काठमाडौँ महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचानलाई जीवन्त राख्न प्रयास गरिएको बताए । ‘काठमाडौँ मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने वित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौँ काठमाडौँबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’

    उनले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए । उनले मूर्त–अमूर्त सम्पदा संरक्षण–सम्वद्र्धन गरी काठमाडौँ घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने योजनासहित अघि बढेको पनि स्मरण गराए । ‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा पुनःनिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’

    उनले आफ्नो टीम निर्वाचित भएर आएपछि नै यहाँको सम्पदा संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्ने नीति लिएको बताए । ‘हामी अहिले त्यहि अनुसार काम गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिले मूत–अमूर्त सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने अभियानमा महागनरपालिका लागेको छ । काठमडौँ महानगरपालिकाले गरेको कामलाई संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको छ ।’

    उनले महानगरपालिकाले लिएको नीतिलाई आत्मसाथ गर्दै प्रदेश र केन्द्रीय सरकारले यहाँका सम्पदा संरक्षण सम्वद्र्धनमा बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गरे । ‘काठमाडौँ महानगरपालिकाले हरेक वर्ष भौतिक पूर्वाधारपछि सबै भन्दा बढी बजेट सम्पदा संरक्षण सम्र्वद्धन र पुनःनिमाणका लागि व्यवस्था गर्दै आएको छ,’ उनले भने, ‘यद्यपि कतिपय अवस्थामा सम्पदा पुनःनिर्माणको कामलाई हामीले पुरातत्व विभाग, गुठी संस्थानलगायतसँग समन्वय नहुँदा दूर्तरुपमा अघि बढाउन सकेका छैनौँ ।’

    उनले गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिने हो भने ती स्थानमा खुलापार्क निर्माण गर्ने र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने बताए ।

    वडा–२१ मा केही दिन अघि मात्रै पनि त्यहि आसपास क्षेत्रमा प्रमुख शाक्यले महादेव मन्दिरको उद्घाटन गरेका थिए । त्यसैगरी केही दिन अघि पनि प्रमुख शाक्यले सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गरेका थिए । ‘आज मात्रै पनि हामीले काठमाडौँ महानगरपालिकाको वडा–२१ मा अवस्थित इनाखा गणेश मन्दिरको उद्घाटन गरेका छौँ,’ उनले भने, ‘यो पुरानो र ऐतिहासिक मन्दिर हो । विभिन्न कारणले भग्नावशेष भएको यो मन्दिर पहिला ढलान निर्माण भएको थियो । अहिले हामीले ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पुनःनिर्माण गरेका छौँ ।’

    कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा पुनःनिर्माणको अभियानमा सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे । आज उद्घाटन गरिएको मन्दिर काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण भएको हो ।

  • निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस्

    निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस्

    काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निजामति कर्मचारीलाई पार्टीप्रति बफादार र राष्ट्रसेवकका रुपमा भूमिका खेल्न निर्देशन दिएका छन्।

    शनिबार राजधानीमा आयोजित नेपाल निजामति कर्मचारी संगठनको कार्यक्रमम पोखरेलले त्यसलाई ‘टु इन वान’को भूमिकाको रुपमा अर्थ्याए । एमालेका बफादार कार्यकर्ता र सँगसँगै सबै नागरिकलाई सेवा दिने राष्ट्रसेवक कर्मचारीका रुपमा प्रस्तुत हुनुपर्छ, उनले भने।

    कतिपयले पेशाप्रति मात्रै बफादार हुँदा पार्टी भुल्ने गरेको र कतिपयले पार्टीप्रति मात्रै बफादार हुँदा पेशा भुल्ने गरेको भन्दै पोखरेलले त्यसलाई बदल्नुपर्नेमा जोड दिए।

  • चितवनमा रडले हानेर छिमेकीको हत्या

    चितवनमा रडले हानेर छिमेकीको हत्या

    चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रडले हानेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड हानेर हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

    घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिए ।

    सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले जानकारी दिए । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ । रासस

  • नेपालका प्रबल गुरुङको डिजाइनमा हट एन्ड बोल्ड भेनस विलियम्स (तस्बिरहरु)

    नेपालका प्रबल गुरुङको डिजाइनमा हट एन्ड बोल्ड भेनस विलियम्स (तस्बिरहरु)

    न्यूयोर्क । टेनिस स्टार भेनिस विलिम्यस फेसनको कारणले पनि चर्चामा आउँछिन् । यसैसाता सम्पन्न विश्व फेसन मेला मेट गालामा भेनस आफ्नो पहिरनले पुनः चर्चामा आइन् ।

    भेनसको यो पहिरनमा नेपाल जोडिएको थियो । नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको एटेलियर पहिरनमा भेनस आकर्षक देखिएकी थिइन् । गुरुङको क्रिमसन सिल्क र सिल्क डचेज गाउनमा भेनस हट एन्ड सेक्सी देखिएकी थिइन् ।

    भग म्यागजिनले प्रबल र भेनसको यो फेसन दोस्तीलाई सिनेम्याटिक ग्ल्यामर भनेको छ । मेट गालाको लेक्जिअन फेसन खण्डमा प्रबलको डिजाइनको प्रस्तुति थियो । आगामी स्प्रिङ र समरका लागि प्रबलले डिजाइन गरेको एटेलियर गाउनलाई भेनले पहिरिएकी थिइन् ।

    ‘फेसन डिजाइनरको रुपमा पनि मैले निकै क्षमतावान प्रबल गुरुङसँग काम गर्दा महान अनुभव महसुस गरेँ’ भेनले भगसँग मेट गालापछिको इभेन्टमा भनिन्, ‘म कति खुशि छु, वर्णन गर्न सक्दिन ।’

    गुरुङले सन् १९३० देखि १९६० सम्मको हलिउड फिल्ममा रहेको फेसन शैलीलाई यो डिजाइनमा प्रस्तुत गरेका थिए ।

           
  • हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु)

    हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु)

    काठमाडौं । प्रमोद खरेल र मेलिना राईद्वारा स्वरबद्ध गीत ‘हिमालबाट हिउँ पग्लि’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडिओसहित लिरिक्स पुस्तिका लन्च गरियो ।

    फिल्म निर्देशक समेत रहेका आकाश अधिकारी र नायिका नीता ढुंगाना फिचर्ड गीतमा सुरेश अधिकारीको संगीत छ । भिडिओमा नायक शिव श्रेष्ठले पनि अभिनय गरेका छन् ।

    
    
    
    
    
    

    राष्ट्रिय भावना र सन्देशले ओतप्रोत रहेको गीत पछिल्लो राजनीतिक परिस्थितीमा झनै सान्दर्भिक हुने आयोजित प्रेसमिटमा जानकारी दिइयो । चिन्तामणी शिवाकोटीको शब्द रहेको गीतलाई ओएसआर युट्युव च्यानलबाट लन्च गरिएको छ । गीतमा अधिकारीको कन्सेप्ट रहेको छ ।

    हेर्नूस गीत :

    https://www.youtube.com/watch?v=Q_GnPME78o0

    
    
  • कोभिड महामारीले ७ करोड बालबालिकाको पढाई रोकियो : यूनिसेफ

    कोभिड महामारीले ७ करोड बालबालिकाको पढाई रोकियो : यूनिसेफ

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी यूनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ ।

    युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।

    यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न छ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएका देखिएको छ । ती ६ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन् । ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरु विद्यालय आउन पनि पाएका छैनन् र जसले गर्दा उनीहरुमा समस्या भइरहेको छ ।

    त्यसैगरी विश्वका अरु ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएको गएको १८ महिनामा ६ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन् । त्यस्तै विश्वका अरु करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठनपाठन गर्न पाउने गरेका देखिएको छ ।

    युनिसेफले कोरोनाभााइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ ।