Author: Anisha Tiwari

  • अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    कैलाली । कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन् । कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका १ का ५२ वर्षीय राजकर्ण कठरियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिवानाको सजाय सुनाइएको थियो।

    तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीक प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिस्टले जानकारी दिए ।

  • बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बालबालिकाले टीकटकमा ४० मिनेट मात्र बिताउन पाउने, चीनदेखि सुरु भयो नयाँ नियम

    बेइजिङ। लोकप्रिय चिनियाँ एप टीकटकले अब बालबालिकाले आफ्नो प्लेटफर्मलाई ४० मिनेट मात्र चलाउन पाउने प्रावधान ल्याउने भएको छ । सो एपले ‘युथ मोड’ राखेर बालबालिकालाई बढी समय बिताउन नदिने जनाएको छ ।

    विश्वव्यापीरुपमा यो प्रावधान लागू गर्ने तयारीमा टीकटक रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । तर, यसको सुरुआत चाहिँ आफ्नै मुलुक चीनदेखि टीकटकले थालेको छ ।

    अबदेखि चीनमा १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टीकटक चलाउन पाउने छैनन् । कम्पनीले बालकालिकालाई रातको १० बजेदेखि विहान ६ बजेसम्म टीकटक हेर्नसमेत नपाउने बनाएको छ ।

    साथै टीकटक अकाउन्ट खोल्दा आधिकारीक विवरण राख्न कम्पनीले आग्रह समेत गरेको छ । कम्पनीले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने छ र अभिभावकले पनि फिचर एक्टिभेट गर्नसक्ने छन् ।

    बालबालिकालाई टीकटकमा नियन्त्रण चिनबाट सुरु गरिएको छ । साथै यो फिचर अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीले बताएको छ ।

  • यती एअरलाईन्स २४ वर्षमा प्रवेश, कल सेन्टरको शुभारम्भ

    यती एअरलाईन्स २४ वर्षमा प्रवेश, कल सेन्टरको शुभारम्भ

    काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाईन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान शुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

    नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाईन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए ।

    ‘यती एअरलाईन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले यती एअरलाईन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दर्छौ’, सिईओ रिमालले भने ।

    २४ वर्षे यात्रासंगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसंग रहेको ५ वटा विमान बिक्री गरेको हो ।

    यती एअरलाईन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एअरलाईन्सले जनाएको छ ।

    एअरलाईन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहीत यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एअरलाईन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा पर्न सफल भएको बताए ।

    ‘विरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु महानुभाव, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखि सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याई सन्तुष्ट सेवा प्रदान गर्दै आएका छौँ’, उने भने ।

    यती एअरलाईन्स नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल एअरलाईन्स हो । वातावरण संरक्षणमा यती एअरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौलाको भनाइ छ ।

    यतीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाई अभियानमार्फत् सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एअरलिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुई लाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।

    हवाई र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एअरलाईन्सको प्रत्यक्ष योगदान रहेको छ ।

    कोभिड–१९ महामारीको चुनौतीमा समेत उच्च सुरक्षा सतर्कता अपनाउँदै प्रवाह गरेको सेवा प्रशंसनीय छ । अहिलेको अवस्थामा आफू स्वस्थ रही संक्रमणलाई नियन्त्रण राख्न सफल भयौं भने मात्र हाम्रा उद्देश्य र मूल्य मान्यता जोगाउन सफल हुनेछौं भन्ने मान्यताले गर्दा लाखौं यात्रुहरुलाई सुरक्षित यात्रा गराउन सफल भएका कम्पनीले जनाएको छ ।

    आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर उडान मार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाई सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने तथा सामाजिक उत्तरदायित्वहरुलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।

    यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।

  • २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

    २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

    लन्डन । २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

    ‘स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा हामी विश्वस्त छौं’ घोषणापत्रमा भनिएको छ।

    सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सीप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ।

    समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष बद्री केसी, महासचिव हेम राज शर्मा, दक्षिण कोरियाका देवी बस्नेत लगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए। पत्रकार भगीरथ योगी तथा दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए।

    सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सन्चालन गरिएका थिए। एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा। सञ्जीव सापकोटाले सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

    बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसारभर छरिएका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए। उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।

    कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा। मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, एनआरएनए एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर लगायतले शुभकामना दिएका थिए।

    सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा। पदम सिम्खडा तथा डा। बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। सम्मेलनले​ एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ ।

  • काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९८, ललितपुरमा ६३ र भक्तपुरमा ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,५३२ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,१२२, भक्तपुरमा ९७० र ललितपुरमा १,४४० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा १० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • सोमबार १ हजार कोभिड संक्रमित थपिए, ८ जनाको मृत्यु

    सोमबार १ हजार कोभिड संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २२ हजार १९२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २२ हजार ३२३ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३७१ जना, भेन्टिलेटरमा १०८ जना, होम आइसोलेशनमा २०,८९१ जना, संस्थागत आइसोलेशनमा १,४३२ र क्वारेन्टाइनमा २६४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७.९ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.८ प्रतिशत छ ।

  • ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मेलन आजदेखि काठमाडौंमा सुरु

    ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मेलन आजदेखि काठमाडौंमा सुरु

    काठमाडौं । ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ। विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    यस सम्मेलनमा वृद्धवृद्धाहरुको स्वास्थ्य अवस्थाबारे छलफल हुने भएको छ । सम्मेलन ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउनको लागि सुरु गरिएको हो डब्लूएचओ ले जनाएको छ ।

    साथै यो सम्मेलनको उद्देश्य नेपालमा वृद्दवृद्दाहरुको जनसांख्यीक परिवर्तनको बारेमा जनचेतना जगाउनु समेत रहेको जनाइएको छ ।

    साथै स्वास्थ्यमा नीति निर्माताहरुको संलग्नता गराउने, पुनर्वास र वृद्धहरुको सामाजिक हेरचाह आवश्यकतामा नीति निर्माताहरुको संलग्नता गराउने, शहरहरुमा बढ्दो आर्थिक अवसरहरुको सन्दर्भमा परिवारबीच वृद्दवृद्दाहरुको भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे र यससंग सम्बन्धित अन्तर र चुनौतिहरुको पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

  • सुरक्षा निकायका २२१ विभूषित सूचीमा, बढुवाको दुई नम्बरका लागि पदक पाउन हानाथाप

    सुरक्षा निकायका २२१ विभूषित सूचीमा, बढुवाको दुई नम्बरका लागि पदक पाउन हानाथाप

    काठमाडौं । संविधान दिवस २०७८ का अवसरमा सरकारले नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका नायव महानिरीक्षक र नेपाली सेनाका प्रधान सेनापतिसहित २२१ जना सुरक्षा निकायमा कार्यरतलाई विभूषितको सूचीमा राखेको छ ।

    विभूषणका लागि सूचीमा परेका ९०३ जनामध्ये सुरक्षा निकायका २२१ जना परेका हुन् । सरक्षा निकायका तीन निकायमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीका १२५, सशस्त्र प्रहरीका ४३ र नेपाली सेनाका ५३ जना विभूषित हुने सूचीमा परेका हु्न् ।

    सशस्त्र प्रहरी महानिरीक्षकी श्रीमती पनि सूचीमा

    पदकको सूचीमा नेपाल प्रहरीका महानिरीक्षक र नेपाली सेनाका प्रधान सेनापति परे पनि सशस्त्र प्रहरी बलका महानिरीक्षक परेनन् । तर महानिरीक्षककी श्रीमती सरिता कँडेलको नाम सूचीमा परेको छ ।

    पदक पाउनेमा नेपाल प्रहरी महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् । आईजीपी शैलेश थापाको नाम विभूषित हुनेमा परे पनि प्रहरीको दोस्रो तहका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपी)मध्ये एक जनाको पनि परेन ।

    सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने सूचीमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) परेका छन् । जसमा डीआईजीपी घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, डा. मीनराज पाठक, डा. रामकृष्ण राजभण्डारी रहेका छन् ।

    यस्तै सुप्रबल जनसेवाश्रीबाट विभुषित हुनेमा १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) परेका छन् । जसमा एसएसपी श्यामलाल ज्ञवाली, नरोत्तमलाल प्रधान, जनक भट्टराई, सुदिप गिरी, राजेशनाथ बास्तोला, वसन्तबहादुर कुँवर, उमेशराज जोशी, केदार ढकाल, मोहनकुमार आचार्य, पूजा सिंह, नरबहादुर केसी, डा. दामोदर पौडेल, डा. गोपेशकुमार ठाकुर छन् ।

    कीर्तिमय राष्ट्रदीप तथा प्रबल जनसेवाश्रीबाट ९ जना प्रहरी उपरीक्षक (एसपी) विभुषित हुने सूचीमा छन् । जसमा रमेश थापा, प्रकाश रानाभाट तथा प्रबल जनसेवाश्रीबाट प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदी, बेलबहादुर पाण्डे, गोपालचन्द्र भट्टराई, रबिन्द्र रेग्मी, प्रकाश मल्ल, अच्युतबिक्रम हमाल, बिपिनकुमार श्रेष्ठ रहेका छन् ।

    प्रबल जनसेवाश्रीबाट १४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) विभुषित हुने सूचीमा छन् । जसमा डीएसपी काजीकुमार आचार्य, नरेशराज सुवेदी, रामबाबु राना, सुधिरराज शाही, गोविन्द पुरी, हरिहरनाथ योगी, विरेन्द्र गोदार, रविन्द्रनाथ पौडेल, चक्रराज जोशी, संजिवबाबु खड्का, शिवराज बुढाथोकी, सन्तोष निरौला, अनिलकुमार घिमिरे, भेषराज रिजाल रहेका छन् ।

    प्रबल जनसेवाश्रीबाटै विभुषित हुने सूचीमा ७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर), ४ जना प्रहरी नायव निरीक्षक (सई), ३ जना प्रहरी सहायक निरीक्षक (असई), ३ जना हवल्दार र एक जना प्रहरी जवान रहेका छन् ।

    जसअन्तरगत इन्सपेक्टरमा उपेन्द्र खरेल, आयुशप्रसाद जोशी, अनिशकुमार कर्ण, भिषणबाबु राई, एजिला गिरी, राजेन्द्रप्रसाद उपाध्याय, श्रीबिन्दु शर्मा, प्रहरी नायव निरीक्षक (सई) शरण शाह, धर्मराज शाही, दिलिपसिंह अधिकारी, कृष्ण खड्का, प्रहरी सहायक निरीक्षक (असई) तपेन्द्रबहादुर बिष्ट, रोजनप्रसाद राजवंशी, प्रमिला श्रेष्ठ, प्रहरी हवल्दार लेखबहादुर गुरुङ, सुमित्रा शाही, माधवबहादुर बस्नेत, प्रहरी जवान अमरराज मिश्रको नाम परेको छ ।

    अलंकार अन्तर्गत राष्ट्र यशोवद्र्धकबाट ४ जना प्रहरी उपरीक्षक (एसपी), ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी), ११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन् । जस अन्तर्गत एसपीमा डिल्लीराज पन्त, भिम दाहाल, कृष्ण पंगेनी, हिमालय श्रेष्ठ, डीएसपीमा शोभाकान्त खनाल, सुवास खड्का, रोशन खड्का, निरञ्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डे, मुकुन्दप्रसाद रिजाल, इन्सपेक्टरमा यमकुमार श्रेष्ठ, नविनकुमार अधिकारी, धमनसिंह राना, शरण महर्जन, हिरेन्द्रबहादुर रोकाया, महेश केसी, कृष्णप्रसाद विष्ट, लक्ष्मी खनाल, उमाशंकरप्रसाद शाह, शंकर पोखरेल, राधा बिष्ट रहेका छन् ।

    नेपाल प्रताप आभूषणमा एक जना एसपी र एक जना डीएसपी, एक जना इन्सपेक्टर, १३ जना सई र ७ जना असई रहेका छन् । एसपीमा नरेशबहादुर मल्ल, डीएसपीमा पंचकुमार बाखु, इन्सपेक्टरमा अनिलकुमार अधिकारी, सईमा बिष्णुमणि त्रिपाठी, भवती अर्याल, रेवतकुमार पोखरेल, रविन शाह, रोशन अधिकारी, हिमाल भण्डारी, नरेश शाही, रमेश बजगाई, लक्ष्मणबहादुर ऐर, बिशालविक्रम शाह, विशालप्रकाश पौडेल, हर्षबहादुर चन्द, लक्ष्मी देवकोटा, असईमा प्रेमप्रसाद राना, श्यामसिंह चौधरी, विकास क्षेत्री, अजित ठाकुर, तिलक पुरी, सुजन पाण्डे, टंक कार्की रहेका छन् ।

    नेपाल प्रताप भूषणको सूचीमा ७ जना प्रहरी हवल्दार र ८ जना प्रहरी जवान रहेका छन् । ७ जना प्रहरी हवल्दारमा विजयकुमार दास, केदारनाथ यादव, विष्णुबहादुर श्रेष्ठ, मानसिंह ठगुन्ना, राजेश गुरुङ, बाबुकृष्ण बखते, गभ्मिरबहादुर चन्द रहेका छन् भने ८ जना प्रहरी जवानमा सुनिता विक, परिक्षीत कार्की, मनोज दंगाल, बालकृष्ण मघैया, शान्ति चौधरी, विपिसा गुरुङ, महेन्द्रसिंह भण्डारी, भुवन गुरुङ रहेका छन् ।

    पदक अन्तर्गत राष्ट्रसेवा पदक प्रथम श्रेणीमा एक जना प्रहरी कार्यालय सहयोगी सूर्यकुमारी अधिकारी रहेकी छन् भने सुकीर्ति पदकमा एक जना प्रहरी सहायक निरीक्षक (असई) जुनी राई, बिरता पदकमा दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) स्वर्गीय समिरचन्द्र खरेल, स्वर्गीय राजकुमार केसी रहेका छन् ।

    सूचीमा सशस्त्र प्रहरीका दुई डीआईजीपी, एक एसएसपी, १३ एसपी र ८ डीएसपी

    सशस्त्र प्रहरी बलमा एक प्रहरी नायव महानिरीक्षसहित (डीआईजीपी)देखि परिचरसम्म गरेर ४३ जना विभूषित हुने सूचीमा परेका छन् । विवरण अनुसार नेपाल प्रहरीमा, प्रहरी महानिरीक्षक (आईजीपी) र ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) को नाम पर्दा सशस्त्र प्रहरी बलमा भने विभूषित हुने सूचीमा २ जना डीआईजीपीको नाम मात्र पर्न सफल भएको छ ।

    जसमा सुकीर्तिमय राष्ट्रदीपबाट डीआईजीपी राजु अर्याल र सुप्रबल जनसेवाश्री डीआईजीपी नारायणदत्त पौडेल पाउने सूचीमा छन् । सुप्रबल जनसेवाश्री पाउने सूचीमा एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. रुपक महर्जनको नाम मात्रै परेको छ भने कीर्तिमय राष्ट्रदीपमा प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र कुँवर (ख)को नाम परेको छ ।

    प्रबल जनसेवाश्रीबाट विभूषित हुने सूचीमा ९ जना एसपी ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी), ४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र एक जना प्रहरी नायव निरीक्षक (सई) रहेका छन् ।

    जसअन्तरगत एसपीमा बिष्णुदत्त भट्ट, शंकर खनाल, हर्कराज पन्त, ध्रुव कार्की, निरकृष्ण अधिकारी, कमलप्रसाद तिउसीना, मनोरञ्जन द्धा, रोस्सु थापा, सौजन्य कर्माचार्य रहेका छन् । यस्तै डीएसपीमा रमेशविक्रम शाही, दिनेश शर्मा, धिरेन्द्रराज न्यौपाने, शेरबहादुर अधिकारी, सुर्यप्रसाद तिमिल्सिना, लक्ष्मी अधिकारी रहेका छन् । इन्सपेक्टरमा रामहरी श्रेष्ठ, सन्तोषकुमार चन्द, नारायण गुरुङ, रामकुमार लामिछाने र सईमा कृतिबहादुर बस्नेत रहेका छन् ।

    अलंकार अन्तर्गत राष्ट्र यशोवद्र्धकबाट ३ जना एसपी, २ जना डीएसपी र ७ जना इन्सपेक्टर रहेका छन् । जस अन्तर्गत एसपीमा देवराज जोशी, सुधिरजंग थापा, विश्वकुमार भट्टराई, डीएसपीमा होमनाथ पन्थी, बिष्णुदत्त भट्ट र इन्सपेक्टरमा टेकराज पोखरेल, बामदेव पण्डित, स्वगीय नविन बुढाथोकी, योगेन्द्रचन्द्र बराल, ओमराज बानियाँ, रविन्द्रप्रसाद भट्ट, सुरज पाण्डे विभूषित हुने सूचीमा छन् ।

    यस्तै नेपाल प्रताप भूषणमा एक जना प्रहरी बरिष्ठ हवल्दार शेरसिंह थारु, पदक अन्तर्गत राष्ट्रसेवा पदक प्रथम श्रेणीमा २ जना प्रहरी परिचर देवन नेपाली र प्रविन पोडे रहेका छन् । सुकीर्ति पदकमा ३ जना जवान संगिता बस्याल, लक्ष्मण तामाङ, सोनी गुरुङ र एक जना गनर बिमला चौधरी रहेका छन् ।

    नेपाली सेनामा ३ उपरथिदेखि १० प्रमुख सेनानीसम्म विभूषित हुने

    नेपाली सेनामा प्रधान सेनापति (महारथि)देखि सिपाहीसम्म गरी ५३ जना विभूषित हुने सूचीमा परेका छन् । जसमा मानपदवी अन्तर्गत प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रधानसेनापति (महारधि) प्रमुराम शर्माको नाम विभूषित हुने सूचीमा छ ।

    यस्तै सुप्रबल जनसेवाश्री प्राप्त गर्नेमा ३ जना उपरथि रहेका छन् । जसमा निरञ्जन श्रेष्ठ, गोकुल भण्डारी र सञ्जय थापा रहेका छन् । यस्तै सुप्रबल जनसेवाश्री प्राप्त गर्नेमा नै ६ जना सहायक रधि रहेका छन् । जसमा बिनोद पाण्डे, निरज पौडेल, विष्णु राउत, नारायण सिलवाल, दिपकप्रसाद बास्तोला र डा. इभा श्रेष्ठको विभूषित हुने सूचीमा नाम छ ।

    सुप्रबल जनसेवाश्री प्राप्त गर्ने सूचीमा नै ४ जना महासेनानीको नाम पनि छ । जसमा माधव थापा, सुनिलसिंह राठौर, ईश्वरकुमार श्रेष्ठ र डा. सुमनराज डंगोल रहेका छन् ।

    प्रबल जनसेवाश्रीमा ७ जना प्रमुख सेनानीको नाम उल्लेख छ । जसमा प्रमोदकुमार थापा, दिग्बिजय शाह, मिनराज तिवारी, विकास केसी, अनिल केसी, नवराज थापा, अदित्य कार्की रहेका छन् । यस्तै प्रबल जनसेवाश्री नै प्राप्त गर्नेमा एक जना प्रमुख सुवेदार सुनिल गुरुङ, एक जना सुवेदार सुजित राना र एक जना जमदार निरज पुडासैनी रहेका छन् ।

    अतिपौरख भाष्करमा एक जना महासेनानी नुरेन्द्र मल्ल, ३ जना प्रमुख सेनानी अमरजंग थापा, गजेन्द्र रावल र अर्जुनविक्रम थापा, एक जना सेनानी प्रविन थापा, २ जना सहसेनानी विज्ञान विष्ट र भिमबहादुर भुजेल रहेका छन् ।

    महापौरख भाष्कर प्राप्त गर्नेमा सेनानी भानुभक्त कँडेल, सहसेनानी सन्तोष दाहाल र जमदार देवबहादुर कार्की रहेका छन् । सगरमाथा पदकमा २ जना सेनानी शिवबहादुर अधिकारी र मुरारी सापकोटा, एक जना सहसेनानी अर्जुन खत्री, एक जना हुद्धा प्रकाश कार्की र एक जना प्युठ सन्तोष गुरुङ रहेका छन् ।

    वीरता पदकमा एक जना सेनानी मनोज डंगोल, एक जना सुवेदार विष्णुबहादुर मिश्र, एक जना जमदार राजेशकुमार थापामगर र एक जना अमल्दार राजेन्द्र श्रेष्ठ रहेका छन् । विकास रत्न पदकमा भने एक जना मात्रै सेनानी मिलन कार्कीको नाम परेको छ ।

    प्राकृतिक प्रकोप पीडितोद्धार पदक पाउनेमा जमदार दिपक कार्की, धिरेन्द्र यादव र प्रकाश राउत, हुद्धा लंकमान तामाङ र दानसिंह राउत, अमल्दार नेमराज चौधरी, प्युठ जिल्लाप दोर्जे र रामबहादुर नेपाली तथा सीपाही मिनाकुमारी धामी रहेका छन् ।

    बढुवामा दुई नम्बरको लोभले पदकका लागि हानाथाप

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको बढुवामा पदकबापत दुई नम्बर पाउने नियम छ । पूर्वगृहसचिव समेत रहेका तत्कालीन लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीका अनुसार निजामति सेवाको तुलनामा सुरक्षा निकायमा विभूषण सिफारिसका लागि हरेक वर्ष हानाथाप हुने गरेको छ ।

    उनले भने, ‘पहिले निजामति सेवामा पनि विभूषित भएपछि बढुवामा नम्बर दिइने व्यवस्था थियो । नम्बर पाउनका लागि भए पनि विभूषित हुनका लागि हानाथाप भएपछि त्यो व्यवस्था हटाइएको हो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनामा यो कामयै रहेकाले हानाथाप हुने गरेको छ ।’

    सरकारले संविधान दिवसको अवसरमा आइतबार नौ सय तीन जनालाई २५ किसिमका विभूषणबाट सम्मान गर्ने घोषणा गरेको हो ।

  • मेलम्ची खानेपानीको पुनःनिर्माण अघि बढाउन १ अर्ब रुपैयाँ प्रदान

    मेलम्ची खानेपानीको पुनःनिर्माण अघि बढाउन १ अर्ब रुपैयाँ प्रदान

    काठमाडौं । गत असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण अघि बढाउन सरकारले एक अर्ब रुपैयाँ प्रदान गरेको छ ।

    काठमाडौंमा जतिसक्दो छिटो पानी वितरण गर्न आयोजनाको पुनःनिर्माण अघि बढाउन सरकारले तत्कालका लागि सो परिमाणको रकम दिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    यसअघि सरकारसँग समितिले पुनःनिर्माणका लागि दुई अर्ब रुपैयाँको मागसहितको कार्ययोजना पेस गरेको थियो । यसवर्षको चैत्रसम्म काठमाडौंमा पानी वितरण गर्ने योजना रहेको पन्तले बताए । ‘बर्खा सकिनेबित्तिकै काम सुरु हुने छ । आयोजनाको मुहान पुग्न सडक निर्माण भइरहेको छ । सडक निर्माण भएपछि स्थलमा पुगेर काम गर्न सकिने छ’ उनले भने ।

    उनका अनुसार, मेलम्चीको पानी तत्काल ल्याउन दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने हुन्छ । आयोजना स्थल पुग्न ३ वटा र अम्बाथानमा ५ वटा पुलको निर्माण गर्नुपर्ने छ ।

    यसअघि ल्याइएको प्रणालीबाट पानी ल्याउन अम्बाथानमा रहेको ‘अडिट टनेल’ र २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने हुन्छ । असार १ गते आएको बाढीले खानेपानी आयोजना स्थल पुग्ने ६ किमि सडक र ५ वटा पुल बगाएको थियो ।

  • ‘एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएको छ, सच्याउनुको विकल्प छैन’

    ‘एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएको छ, सच्याउनुको विकल्प छैन’

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान पदाधिकारीले विधानविपरीत आउँदो १०औँ महाधिवेशनका प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

    एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी सङ्घको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर गरे । उनीहरुले कानूनविपरीत गरिएका गतिविधि सच्याउनुको विकल्प नभएकोसमेत बताए ।

    सङ्घको सचिवालयले आफ्नो स्वार्थका लागि विभिन्न १७ वटा नियमावली थपेर आफूखुशी सदस्यता बाँडेको, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्ले चयन गरेर पठाएको महाधिवेशन प्रतिनिधिको नामावली आफूखुशी हेरफेर गरेको खरेलको भनाइ छ ।

    सोही विषयामा यसअघि विभिन्न १९ वटा कमजोरी देखाउँदै त्यसको सुधारका लागि पहल गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेको उनले जानकारी दिए । मन्त्रालयले सोही निवेदनका आधारमा एक छानबिन समितिसमेत बनाएको छ । छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न यसअघि नै निर्देशन भइसकेको छ ।

    सङ्घमा उजुरी गर्दासमेत सुनुवाइ नभएको पनि उनीहरुले बताएका छन् । सङ्घको यही अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन मिति भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको छ । सङ्घ विसं २०६० मा स्थापना भएको हो । यसअघि ८४ देशमा सदस्य रहेकामा घटाएर अहिले ६५ देशमा मात्रै सदस्य राखेकोे भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

    विधानतः राष्ट्रिय अधिवेशनबाट २५, राष्ट्रिय समन्वय परिषद्को सिफारिसमा १० अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्मा वर्तमान र विगतमा काम गरिसकेका व्यक्तिहरुबाट ६५ प्रतिशत प्रतिनिधि चयन हुने र १५ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकारी सचिवालयको सिफारिसमा अध्यक्षले मनोनित गर्ने व्यवस्थाविपरीत प्रतिनिधि चयन गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।

    विगतमा नै लिखित र मौखिकरूपमा विधानविपरीतका गतिविधि सच्याउन माग गर्दा, सुनुवाइ नै नभएपछि उजुरी लिएर मन्त्रालयमा जानुपरेको पत्रकार सम्मेलनमा मानार्थ सदस्य ओलीले बताए । गैरआवासीय नेपाली सङ्घका पूर्वसचिव गुरुङले संस्थाको सुधारका लागि आवाज उठाएको जानकारी दिँदै सचिवालयले गरेको निर्णयका सम्बन्धमा विज्ञ टोली गठन गरी छानबिन हुनुपर्ने माग गरे । उक्त विषयमा परराष्ट्र मन्त्रालयले अहिले दुवै पक्षसँग छलफल अघि बढाएको जनाइएको छ ।

  • कमेडी च्याम्पियन विजेता भरतमणीलाई योगेशले गरे एक लाख सहयोग

    कमेडी च्याम्पियन विजेता भरतमणीलाई योगेशले गरे एक लाख सहयोग

    काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

    कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई एक लाख रुपैयाँ व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिएका थिए । आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताएका छन् ।

    ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

  • एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम कुश्मामा पर्वत, बागलुङ र म्याग्दीका पत्रकारको आज सम्मेलन गरी उहाँले यही असोज २८ देखि ३० गते काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

    पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आबद्ध आचार्य गैरआवासीय नेपाली सङ्घ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

    त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा सङ्घको उपाध्यक्ष बबनेका थिए । सङ्घको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए। अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    सुस्तामा विद्यालय, जुम्लामा प्रसूतिगृह, शङ्खमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खोल्नेलगायतका कामको अगुवाइ गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीको भावनाअनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिबद्धता जनाए ।

    प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सारेको आचार्यले बताए । ‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनआरएनए नागरिकता आवश्यक छ’, उनले भने, ‘प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्छ ।’

    नेपालबाट पूँजी पलायन रोक्न र बाहिरबाट पूँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने उनले बताए । सरकारी निकायसँग समन्वय गरेर नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने उनको भनाइ थियो । ‘कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ’, उनले भने, ‘स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु ।’

    प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिँदै आएको बताए । महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद विधानअनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गरे । उम्मेदवारी घोषणाका क्रममा आचार्यले जन्मथलो धाइरिङको किराखोरका पहिरोपीडितको पुनःबासका लागि रु १० लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न रु एक लाख ५० हजार व्यक्तिगत सहयोग गर्ने जानकारी दिए ।

  • आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि

    आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि

    काठमाडौं । आजदेखि देशभर ११ दिनसम्म भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको छ । यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो डोज कार्तिक ४ देखि १४ गतेसम्म लगाइने भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार दश हिमाली जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिकालाई पनि खोप लगाउन सुरु गरिएको छ ।

    त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने भएको छ ।

    बाँकी ५८ जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

    त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप लगाइदै

    आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइदै छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने छ । जिल्ला स्वास्थ्य मन्त्रालयका अनुसार आजदेखि तीन दिनसम्म खोप लगाइने छ । काठमाडौँ जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । तीन दिन दोस्रो डोज लगाएपछि पहिलो डोज लगाउन सुरु हुनेछ । हिलो मात्रा भने काठमाडौँमा एक लाख व्यक्तिलाई मात्र लगाइने छ ।

  • संखुवासभा हत्याकाण्ड : एकै परिवारका ६ जनाको हत्या आरोपमा थप ६ जना पक्राउ

    संखुवासभा हत्याकाण्ड : एकै परिवारका ६ जनाको हत्या आरोपमा थप ६ जना पक्राउ

    सङ्खुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

    अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।

    घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

    रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

    घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी-१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ । रासस

  • दैलेख जनमोर्चा एमालेमा समाहित

    दैलेख जनमोर्चा एमालेमा समाहित

    सुर्खेत । राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटिका अध्यक्ष अम्बरबहादुर नेपालीका अनुसार जिल्ला कमिटीको सर्वसम्मत निर्णयबाट एमालेमा समाहित भएको हो । आज पूर्वप्रभानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेख राजमोलाई एमालेमा स्वागत गरेका हुन् ।

    एमाले प्रवेश गर्नेहरुमा प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष नेपाली, उपाध्याक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मसालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी रहेका छन् ।

    जनमोर्चाले वर्गसत्रु मानेको नेपाली कांग्रेसलाई सघाएका कारण सिंगो जिल्ला कमिटी नै एमालेमा गाभिएको उनीहरुले बताएका छन् ।

  • सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

    सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

    सङ्खुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

    एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आसङ्कामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

    उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए ।

    मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।

    गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए ।

    सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो । रासस

  • उपत्यकामा थपिए २४१ संक्रमित, ५०० भन्दा बढी ११ जिल्लामा

    उपत्यकामा थपिए २४१ संक्रमित, ५०० भन्दा बढी ११ जिल्लामा

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा २४१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १८७, ललितपुरमा २२ र भक्तपुरमा ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा २६५० जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३३४५, भक्तपुरमा ९७९ र ललितपुरमा १६३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ११ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने १९ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थपिए ७ सय संक्रमित

    कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थपिए ७ सय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ७ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार १३ वटा नमूना (पीसीआर ७,३०४ र एन्टीजेन २,७०९) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने १४ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा २१ हजार ३६० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २४ हजार ३१३ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ४० जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३९० जना, भेन्टिलेटरमा ११७ जना, होम आइसोलेशनमा २२,८६४ जना, संस्थागत आइसोलेशनमा १,४४९ र क्वारेन्टाइनमा २४८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.५ प्रतिशत छ ।

     

  • कुलमानको स्वीकारोक्ति : प्रसारणलाइनको अभावमा विद्युत खेर गइरहेको छ

    कुलमानको स्वीकारोक्ति : प्रसारणलाइनको अभावमा विद्युत खेर गइरहेको छ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइनको अभावमा विद्युत खेर गइरहेको बताएका छन् ।

    हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत खपत बढाउन नसकेको बताए । ‘उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ’ उनले भने, ‘हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्‍यो ।’

    निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताए । प्रसारणलाइनका कारण दैनिक विद्युत खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएको उनको भनाइ छ ।

    चितवनको भरतपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावाट विद्युत बुटवलसम्म पुर्‍याउन सकिने उनको भनाइ छ । नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत धेरै माग गरिरहेको तर प्रसारणलाइनको अभावका कारण समस्या भएको उनले बताए । निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत लोड बढाउन आफूहरु लागि परेको बताउँदै यसका लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

    तामाकोशी परियोजनाबाट अहिले दुई हजार मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको जानकारी दिदैं उनले विद्युतको खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिए । निर्देशक घिसिङले पेट्रोलभन्दा धेरै सस्तोसमेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको बताउँदै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेशन निर्माण गर्न सकिने उललेख गरे ।

    यसै क्रममा नवलपुरको बोझा पोखरीमा सव स्टेसन निर्माणमा ढिलाइ भएको र यसका कारण जिल्लाका दुई गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणलाइन पुग्न नसकेकोमा स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सो अवसरमा निर्देशक घिसिङले सव स्टेन चाँडै सक्न आफूले पहल गर्ने र बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

    प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराएकी थिइन् । प्रसारणलाइनको नवलपुरमा १९३ वटा टावर पर्दछन् । तीमध्ये १९१ वटा टावर बनिसकेको र अदालतको स्टे अडरका कारण दुम्किबास क्षेत्रमा दुईवटा टावर बन्न नसकेको उनले बताइन् ।

    स्थानीयस्तरबाट प्रसारणलाइन निर्माण हुने समस्या समाधानका लागि आफू लागिरहेको प्रमुख जिल्ला अधिकारी पङ्गेनीले बताइन्। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनअन्तर्गत भरतपुर पश्चिममा २४६ र पूर्वमा २२६ वटा टावर रहेका छन् । फागुन सम्ममा भरतपुर पूर्वको काम सकिने जनाइएको छ ।

  • विश्वकर्मा मेलामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

    विश्वकर्मा मेलामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

    जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

    सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो ।

    विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए ।

    घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस