Author: Anisha Tiwari

  • खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ)

    खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ)

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स –११ ले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटको फराकिलो नतिजामा पराजित गर्‍यो ।

    बहुप्रतिक्षित बनेको ईपीएलमा अभूतवपूर्व चर्चित क्रिकेटरहरूको उपस्थिति छ । तीमध्ये सबैभन्दा चर्चित खेलाडी शाहिद अफ्रिदीलाई काठमाडौंले आफ्नो टोलीमा भित्र्याएको छ । चौथो पटकको प्रयासमा काठमाडौंले ललितपुरविरुद्ध पहिलो जित निकाल्दा अफ्रिदी पनि काठमाडौंको टोलीमा थिए ।

    र, यो वर्षको ईपीएलको प्रमुख आकर्षणको केन्द्र बनेका शाहिद अफ्रिदीले खेलपछि समर्थकहरुसँग उत्साह र खुशी यसरी साटेका थिए ।

      
    

     

  • ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

    ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्ग्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पहिलो पटक पराजित गरेको छ । शनिबारदेखि सुरु भएको ईपीएलको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई सात विकेटले पराजित गरेको हो ।

    यसअघिका दुई सिजनमा तीन पटक ललितपुरसँग पराजित भएको काठमाडौंले चौथो संस्करणको पहिलो खेलमा साविक विजेताविरुद्ध शानदार नतिजा निकालेको हो ।

    त्रिवि क्रिकेट मैदानमा १ सय ५८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि रायन बर्ल र रहमानुल्लाह गुर्बाजले शानदार इनिङ खेले । ओपनिङमा आएका गुर्बाज ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेलेका थिए ।

    यस्तै, ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । यस्तै राजु रिजाल १९ रनमा अविजित रहँदा ओपनर सुवाष खकुरेल शून्य र अमित श्रेष्ठ रनआउट भएका थिए ।

    बलिङतर्फ ललितपुरका लागि पवन सर्राफले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

    टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि पवन सर्राफले ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    काठमाडौंका लागि जितेन्द्र मुखियाले चार र गुल्शन झाले दुई विकेट लिएका थिए ।

  • अझै केही साता मनसुन रहने

    अझै केही साता मनसुन रहने

    काठमाडौं । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’, मौसमविद् नगरकोटीले भनीन् ।

    यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

    यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

  • कहिले बन्छ विराटनगरमा आकाशेपुल ?

    कहिले बन्छ विराटनगरमा आकाशेपुल ?

    विराटनगर । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे दुई करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

    विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए ।

    त्यसयता आकाशेपुलको डिजाइन गरी ठेक्का लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

    महानगरपालिकाले आकाशेपुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

    नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशेपुल बनाउनेगरी योजना अघि बढाइएको छ ।

    त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

    घाँसचोक र बरगाछीमा आकाशेपुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइ सकेपनि बनाउने ठाउँको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ ।

    यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्र्डसले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरेपनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ ।

    पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताए ।

    विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने महानगरको विकाससँग जोडिएको बिषयबस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए ।

  • निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    धनुषा । धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ । रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो ।

    ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो ।

    ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीनवटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।

    सरकारसंग भएको सम्झौताअनुसार २०७८ चैत मसान्तमा तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

    नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ ।

    पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकतिरबाट एकपटकमा तिन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनी बताए ।

  • सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

    हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

    त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

    विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ । रासस

  • प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    जनकपुरधाम । प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आइपुगेका छन् ।

    आज जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले स्वागत गरेका छन् । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।

    उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।

    जसपाका ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए ।

  • करेन्ट लागेर एकको मृत्यु

    रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ का ४६ वर्षीय रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

    शुक्रबार घर बनाउनका लागि फलामको छड काट्ने क्रममा विद्युत्को हाइटेनसन तारमा छड छोइएर उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बस्नेतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ लगातार एक महिनादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई एक सातामा मात्र १९ लाख १८ हजार १८८ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २ करोड ३८ लाख ९४ हजार ९७ छ ।

    डीआर सुजनको स्वरमा रहेको गीत ‘परदेशी काइँलो’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १८ लाख ३१ हजार ७७३ पटक हेरिएको छ । गीतको कूल भ्यूज संख्या १८ लाख ३१ हजार ७७३ छ ।

    राज भट्टराई र रचना रिमालद्वारा स्वरवद्ध गीत ‘भन साइँला’ तेस्रो सर्वाधिक हेरिने गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १५ लाख ३५ हजार २४६ पटक हेरिइएको छ भने कूल २१ लाख १९ हजार ५६९ पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूची यस्तो छ हेर्नूस :

    १. ‘चरी जेलैमा’ विष्णु माझी : १९१८१८८

     

    २. ‘परदेशी काइँलो’ डीआर सुजन  : १८३१७७३

     

    ३. ‘भनसाइँला’ राज भट्टराई र रचना रिमाल : १५३५२४६

     

    ४. ‘दसैं आइसक्यो’ विष्णु माझी : १२,२१,६७३

     

    ५. ‘कुरा बुझ्नु पर्च’ प्रकाश सपूत : १०,६९,०८४

     

    ६. ‘माया बिक्ने भएछ ’ शिव परियार : ९०३४२२

     

    ७. ‘कति राम्रो सुहाको’ दीपक पाठक र टिका प्रसाई : ७,४४,४९८

     

    ८. ‘माया बिरानी–२’ महेश काफ्ले : ६,८४,३४५

    ९. ‘दाजुभाई’ पुस्कल शर्मा : ६,३६,१९३

     

    १०. ‘तिम्रो मनमा ए कान्छा’ निकिता थापा : ५,९६,४०७

     

  • जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् ।

    ६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको सन्दर्भमा सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् । ‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ’ थापाले भनेका छन् । उनले पालिका अधिवेशनबाट स्थानीय तहको विकास , संगठनको सबलीकरणसंगै पार्टी पुननिर्माणको लागि काबिल नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

    देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासंगको पहिलो संवाद विन्दु रहेको उल्लेख समेत गरेका छन् ।

  • एमालेका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल, निष्कर्ष सुनाउन टोली नेता चुनिए

    एमालेका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल, निष्कर्ष सुनाउन टोली नेता चुनिए

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ ।

    केही समूहमा भने छलफल जारी रहेको छ । एमालेका १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा समूह विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइएको हो ।

    भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

    समूहगत छलफलका निष्कर्ष एक एकजना टोली नेताले बैठकमा सुनाउनेछन् । प्रदेश १ बाट हिक्मत कार्की,प्रदेश २ बाट रामचन्द्र मण्डल,वागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलवहादुर रानाले आ आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् ।

    त्यस्तै कर्णालीबाट यमलाल कडेल, सुदूरपश्चिमबाट कर्ण थापा,उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनेछन् ।

    समूहगत निष्कर्ष र सुझावका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ । समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिने भएका छन् ।

  • अधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : सभापति देउवा

    अधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गाउँ र नगर अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री एवं सभापति देउवाले पालिका अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरुमा आग्रह समेत गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले कांग्रेस कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु’, देउवाले भनेका छन् ।

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।

  • एमाले बैठक आज पनि जारी, बहिस्कारको हल्ला निराधार भएको रावलको भनाइ

    एमाले बैठक आज पनि जारी, बहिस्कारको हल्ला निराधार भएको रावलको भनाइ

    काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज दोस्रो पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदैछ ।

    १० वटा समूहमा भएको छलफलपछि त्यसलाई टोली नेताले बैठकमा सुनाएर आवश्यक परिमार्जनपछि पारित गरिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

    यसैबीच १० बुँदे सहमति लागु नभएको भन्दै माधव नेपाल समूह छाडेका नेताहरुले बैठक बहिस्कार गर्ने भनेर चलाइएको हल्ला गलत भएको केन्द्रीय सदस्य झपट रावलले बताएका छन् ।

    उपाध्यक्ष भीम रावलसहित झपट रावल र भानुभक्त जोशीले शुक्रवार केन्द्रीय कमिटी बैठक शुरु हुनासाथ विशेषगरि सुदूरपश्चिममा १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै जवाफ मागेका थिए ।

    अन्य प्रदेशमा जसरी सहज रुपमा १० बुँदे सहमति पालना नहुँदा कार्यकर्तालाई रोक्न गाह्रो भएको नेताहरुको भनाइ थियो । उनीहरुको भनाइपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बसेर समस्याको समाधान गर्ने बताएका थिए ।

    तर बाहिर भीम रावलसहित १० स्थायी कमिटी सदस्य पक्षधर नेताहरुले बैठक बहिस्कार गर्न लागेको भनेर प्रचार गरिएकोमा त्यो सत्य नभएको अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

    उनले भने– सुदूरपश्चिमको समस्याको कुरा राख्नुभयो,अध्यक्षले स्थायी कमिटी बसेर समाधान गर्ने भनिसक्नुभएको छ । आज हामी सबै बैठकमै जाँदैछौ । केन्द्रीय कमिटीले विधान महाधिवेशनका दस्तावेज पास गर्छ ।

    एमालेमा अन्य प्रदेशमा १० बुँदे सहमति लगभग पालना भए पनि सुदूरपश्चिममा समस्या देखिएको छ । त्यसको समाधान यो केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटीले समाधान गर्ने ओलीले बताएका छन् ।

  • लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा

    लुम्बिनीका १२ मध्ये ९ जिल्लामा कांग्रेसको गाउँ-नगर अधिवेशन हुँदै, अधिकांश पालिका दुई समूहबीच प्रतिस्पर्धा

    रुपन्देही । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ९ जिल्लामा आज नेपाली कांग्रेसको गाउँनगर अधिवेशन शुरु भएको छ । प्रदेशका बाँके र गुल्मीमा भने विवादका कारण रोकिएको छ । कपिलवस्तुमा विवादका कारण रोकिएका वडा अधिवेशन नभएकाले आज पालिका अधिवेशन हुन नसकेको हो । बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको छ ।

    बर्दियाको विवाद भने केही दिनअघि हल गरिएको थियो । बाँकेमा क्रियाशील र गुल्मीमा आन्तरिक विवादले गाउँ–नगरको अधिवेशन रोकिएको कांग्रेस नेता अमर पुनले जानकारी दिएका छन् ।

    पुनका अनुसार बाँकी जिल्लामा शनिबार बिहानैबाट गाउँ–नगरको अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनका लागि गुटगत दुई प्यानल चुनावी मैदानमा छन् । लुम्बिनीका अधिकांश गाउँ–नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो । दुवै समूहका प्रभावशाली नेताहरु आफ्नो समूहका नेताहरुलाई पालिकामा जिताउन मैदानमा पुगेका छन् ।

  • कांग्रेस नगर अधिवेशन : भक्तपुरमा सहमतिको प्रयास असफल, सिटौला प्यानलले पनि उम्मेदवारी दिने

    कांग्रेस नगर अधिवेशन : भक्तपुरमा सहमतिको प्रयास असफल, सिटौला प्यानलले पनि उम्मेदवारी दिने

    भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ ।

    आकांक्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांग्रेसले तालिका तयार गरेको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका अधिवेशनस्थलमा बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

    चारै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ । अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरुको समूहको रुपमा नभइ स्थानीय परिस्थिति अनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशनस्थलमा उपस्थित जिल्लास्तरीय एक नेताले बताए । कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ ।

    नगर अधिवेशनमा नेतृत्व लिन नेताहरुको दौडधुप चलेको छ । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । जिल्लाका शीर्ष कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् । मुख्य गरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्यासी अष्टकुमार कवेँको समूहबीच चारवटै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

    जिल्ला सभापति थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । भक्तपुर नगरमा वर्तमान् सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्यविनायक नगरमा जिल्ला सचिव निशान ढुङ्गेल र सूर्यविनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका बताइएको छ ।

  • कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ६९० वटा नमुना (१०५७५ पीसीआर र ५११५ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १५५० जना कोरोनामुक्त भएका छन् भने थप ९ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २० हजार २८७ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार २८० पुगेको छ ।

    हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ पुगेको छ ।

  • त्रिशुलीमा बेपत्ताको ड्रोनमार्फत खोजी हुँदै

    त्रिशुलीमा बेपत्ताको ड्रोनमार्फत खोजी हुँदै

    चितवन । कार दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी गर्न ड्रोनसहितको टोली परिचालन हुने भएको भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति अनियन्त्रित भइ नदीमा खसेको थियो ।

    दुर्घटनामा परी ३ जना बेपत्ता छन् । कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता छन् ।

    पृथ्वीराजमार्गको मुग्लिन–नौविसे खण्डअन्तरगत इच्छाकामना–५ नाग्दी खोला नजिकै दुर्घटना भएको थियो । हालसम्म बेपत्ता फेला परेका छैनन् ।

    सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खाजी गर्दा समेत बेपत्ता नभेटिएपछि प्रहरीले प्रविधिको प्रयोग गर्न लागेको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले ड्रोनमार्फत बेपत्ताको खोजी गर्न लागिएको बताए ।

    नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको टोली काठमाडौंबाट आउँदै छ । कार दुर्घटनामा परी घाइते अवस्थामा कास्कीको पोखरा महानगरपालिका–१७ का रुद्रलाल सुवेदीको उद्वार गरेर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    कार अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूलीमा खोलामा खसेको थियो ।

  • म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    म्युजिक भिडिओमा साम्राज्ञीको कमब्याक : यस्तो छ राज र देलविससँग हट फोटोसुट

    काठमाडौं । कोरोनाभाइरस महामारीको कारण अहिले फिल्म गतिविधि ठप्पप्रायः छ । लामो समय फिल्म क्षेत्र बन्द हुँदा नाम चलेका स्टारहरु म्युजिक भिडिओ, सिरियल लगायतका अन्य माध्यममा व्यस्त छन् । यस्तोमा, ठूलो पर्दाकी हिट अभिनेत्री साम्राज्ञी शाह पनि सांगीतिक भिडिओमा व्यस्त भएकी छिन् ।

    अभिनय करियरमा खासै म्युजिक भिडिओमा नदेखिने अभिनेत्री साम्राज्ञी लामो समयपछि एउटा नयाँ म्युजिक भिडिओमार्फत पुनरागमन गर्दैछिन् । दर्शकले उनलाई एक नयाँ गीतको भिडिओमा देख्न पाउने भएका छन् । लामो समय हल बन्द हुँदा साम्राज्ञीलाई हेर्न नपाएका उनका प्रशंसक समेत यो खबरले खुशि हुनसक्छन् ।

    निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडिओलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

    गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

    गीतमा कोरियोग्राफी माइकल चन्दको रहनेछ । गीतको भिडिओ छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युव च्यानलमार्फत एक कार्यक्रमका बीच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र मनपरेपछि आफूले म्युजिक भिडिओ गर्न सहमत भएको बताइन् ।

    ‘यसको शब्द संयोजन र अडियो भर्सन निकै मनपरेपछि भिडिओ गर्न राजी भएकी हुँ’ नेपाल प्रेससँग साम्राज्ञीले भनिन् । स्रोतका अनुसार यो म्युजिक भिडिओ अभिनय गरेबापत साम्राज्ञीले राम्रै अमाउन्ट समेत पाएकी छिन् । साम्राज्ञी फिल्ममा सर्वाधिक पारिश्रमिक लिने नेपाली अभिनत्री हुन् ।

    यो गीतका लागि साम्राज्ञीले फोटोसुट पनि गराएकी छिन् । हेर्नूस तस्बिरहरु :

        
  • भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

    काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोलि (शनिबार) देखि सुरु हुँदैछ । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन् ।

    कोरोनाभाइरसको महामारीले विश्वव्यापी लकडाउन नभएको भए ईपीएलको चौथो संस्करण झन् ‘धमाकेदार’ रुपमा दुई वर्षअघि नै सकिएको हुन्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण आयोजनाको अन्तिम घडीमा आइपुगेर ईपीएल स्थगित भयो । यसले आयोजकको तयारी मात्रै खेर गएन, ईपीएलमा जोडिन आँटेका केही विश्वप्रख्यात खेलाडीहरु पनि पछि हटे ।

    विश्व क्रिकेटका चर्चित हस्तिहरु– क्रिस गेल, कोरी एन्डरसन, ड्वेन स्मिथ, पल स्टर्लिङ, हासिम अमला, मोहमद सहजाद लगायतका खेलाडी ईपीएल खेल्न आउने निश्चित भइसकेको थियो । एबी डिभिलियर्स जस्ता क्रिकेटरको चर्चा पनि चलिरहेको थियो । तर, कोरोनाभाइरसको महामारीले आयोजना सफल हुन नसकेर दुई वर्षपछि धकेलियो । त्यही संस्करण अन्ततः शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

    दुई वर्षअघि घोषित खेलाडीको अनुपस्थिति रहने भए पनि केही चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपल थरङ्गा, बंगलादेशका तमिम इकबाल लगायतका खेलाडीहरुलाई नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

    ईपीएलको यो संस्करणमा पूर्व घोषित खेलाडीहरू अनुपस्थित नहुनुको कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू पुनः सुचारु हुन पनि हो । तर, जिम्मावे, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानका प्रतिष्ठित खेलाडीको उपस्थितिले नयाँ तरङ्ग पैदा गर्नेमा विश्वस्त हुन सकिन्छ ।

    यो वर्षको ईपीएलमा देखिने विदेशी अनुहार

    विराटनगर वारियर्स सन् २०१७ मा च्याम्पियन बनेको विराटनगरले गत संस्करणमा समूह चरण पार गर्न सकेन । पहिलो चरणका पाँच खेलमा तीन हार र दुई जितको नजिता निकालेको विराटनगर ६ मध्ये पाँचौं टोलीमा सीमित बनेको थियो ।

    पारस खड्काको कप्तानीमा रहेको विराटनगर यसपाली नयाँ नेतृत्वसहित मैदानमा उत्रिने निश्चित छ । र, आसन्न प्रतियोगिताका लागि विराटनगरले क्यानडियन रायन पठान, गुयानाका चन्दरपाउल हेमराज, जिम्वावेका सिकन्दर राजा र श्रीलंकाली दिलसान मुनाविरालाई टोलीमा अनुबन्ध गरेको छ ।

    यसअघिका दुई संस्करणमा उल्लेख्य नतिजा निकाल्न नसकेको पोखरा राइनोज यसपाली त्यो लय सुधार्ने तयारीमा छ । यसअघिका संस्करणमा शक्ति गौचनको कप्तानीमा ईपीएल खेलेको पोखराको नेतृत्व यसपाली विनोद भण्डारीले गर्ने बुझिएको छ ।

    पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेर पराजित भएको पोखरा दोस्रो सिजनमा प्रारम्भिक चरणमै सीमित भयो । गत सन् २०१९ मा हुने भनिएकै समयमा ईपीएल आयोजित हुन्थ्यो भने क्रिस गेललाई त्रिवि क्रिकेट मैदानमा दर्शकले हेर्न पाउँथे ।

    त्यो सम्भव नभएपछि आसन्न संस्करणका लागि श्रीलंकाका सहान अराचचिगे र असेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेस्ट–इन्डिजका केसरिक विलियम्सलाई टोलीले अनुबन्ध गरेको छ ।

    राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेलाई उनकै जन्मदिनमा कप्तान घोषित गरेको काठमाडौंले उद्घाटन खेलमा ललितपुरको सामना गर्दैछ । पहिलो संस्करणको प्रारम्भिक चरण पार गर्न नसकेको काठमाडौंले दोस्रो सिजन क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । तर, त्यहाँ पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने मौका गुमाएको काठमाडौंले यो सिजन टोलीमा विश्व परिचित खेलाडीलाई समावेश गरेको छ ।

    पकिस्तानका पूर्वकप्तान तथा चर्चित अलराउन्डर शाहिद अफ्रिदीसँगै सिंगापुरका जनक प्रकाश, जिम्बावेका रायन ब्रुल, अफगानिस्तानका रमानुल्लाह जुर्बाजलाई यो सिजनका लागि अनुबन्ध गरिएको छ ।

    गत सिजनको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै च्याम्पियन बनेको ललितपुरले पहिलो खेलदेखि नै यो सिजनको उपाधि रक्षा अभियान सुरु गदैछ । पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको लतिलपुरले गत सिजनको फाइनलमा भैरहवालाई पराजित गर्दै उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने तयारीमा रहेको ललितपुरले आगामी सिजनका लागि अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई, श्रीलंकाली ओशाडा फर्नान्डो, भुटानका मिक्यो दोर्जी र श्रीलंकाका शेनडन विराकोड्डीलाई टोलीमा समावेश गरेको छ ।

    चितवन टाइगर्सले हालसम्म इलिमिनेटर पार गर्न सकेको छैन । पहिलो सिजनमा पहिलो सिजनमा प्रारम्भिक चरण पार गर्न नसकेको चितवनले दोस्रो संस्करणमा इलिमिनेटरमा स्थान बनाएको थियो । तर, त्यहाँबाट अघि बढ्न सकेको थिएन । पहिलो पटक फाइनल यात्रा तय गर्ने सोचसहित यो सिजनको तयारी गरिरहेको चितवनले अफगानिस्तानका मोहम्मद शहजाद र करिम जनत, मलेसियाका विरनदीप सिंह, श्रीलंकाली सेकुगे प्रशन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

    लगातार दुई सिजन फाइनलमा पुगेर उपाधि जित्न असफल रहेको भैरहवा ग्लाडिएटर्स यसपटक त्यो खडेरी चिर्ने प्रयत्नमा छ । पहिलो संस्करणमा सोझै फाइनलमा पुगेको भैरहवा दोस्रो सिजनमा क्वालिफायर, इलिमिनेटर हुँदै फाइनलसम्म पुगेकोे थियो ।

    सन् २०१७ मा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवा २०१८ मा ललितपुरसँग स्तब्ध हुनुपर्यो । दुई पटक उपाधि नजिक पुगेर असफल रहेको भैरहवाले यसपाली टोलीलाई अझ सशक्त बनाउन बंगलादेशका तमिम इकबल, मलेसियन सार्भिन मुनियान्दी, श्रीलंकाली उपल थरङ्गा र धमिका प्रसादलाई टोलीमा समावेश गरेको छ ।

     

  • वडादसैँको साइत सार्वजनिक

    वडादसैँको साइत सार्वजनिक

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

    असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए ।

    फूलपातीकै दिन तलेजु भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तलेजु भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।