Author: Anisha Tiwari

  • नेपालको जितमा अब्दुल्लाहको उत्साह : गोलपछि यसरी नाचे (भिडियो)

    नेपालको जितमा अब्दुल्लाहको उत्साह : गोलपछि यसरी नाचे (भिडियो)

    काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गत हिजो भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ नतिजाले स्तब्ध तुल्यायो । नेपालको जितमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उत्साह अहिले चर्चाको विषय बनेको छ ।

    पहिलो खेलमा माल्दिभ्यसलाई हराएको नेपाल दोस्रोमा श्रीलंकाविरुद्ध आत्मविश्वासपूर्वक मैदानमा उत्रिएको थियो । तर अनपेक्षित तवरले श्रीलंकाले सुरुदेखि खेल आफ्नो पकडमा राख्यो । नेपाल निरन्तर दबाबमा पर्दा मैदानबाहिर अब्दुल्लाह तनावग्रस्त देखिएका थिए । एकपटक नेपालविरुद्ध श्रीलंकालाई अम्पायरले फाउल दिएपछि प्रोटेस्ट गर्दा उनले पहेँलो कार्डसमेत खाए ।

    खेलमा श्रीलंकाको दवदवाकै बीच नेपालले ३३ औं मिनेटमा गोल निकाल्यो । नेपालका स्ट्राइकर सुमन लामाले गरेको पहिलो प्रहारलाई श्रीलंकाका गोलरक्षकले सुन्दर बचाउ गरेपछि दोस्रो प्रहारमा उनले गोल गरेका थिए । गोलपछि नेपाली समर्थकहरु खुशीमा झुम्न थाले । यता, प्रशिक्षक अब्दुल्लाहले पनि आफ्नो उत्साह थाम्न सकेनन् । उनी दुवै हात हावामा फैलाएर नाच्न थाले ।

    नेपालका लागि अञ्जन विष्टले दोस्रो र आयूष घलानले तेस्रो गोल गर्दा पनि प्रशिक्षक उति नै खुशी भए । खेल अवधिभर प्रशिक्षक अब्दुल्लाह टचलाइनबाहिर नेपाली टिमको हौसला बढाइरहेका थिए । उनको भागभंगिमाले अर्जेन्टिनाका भुतपूर्व प्रशिक्षक स्व‍ म्याराडोनालाई सम्झाइदिएको थियो ।

    प्रशिक्षक अब्दुल्लाहको नाच अहिले टिकटकमा भाइरल भएको छ । समर्थकहरुले नेपाली फुटबलप्रति उनको यस्तो ‘प्यासन’ को सह्राहना गरेका छन् । मनैदेखि नेपाली टिमको जिम्मवारी वहन गरेको भनेर धन्यवाद दिएका छन् ।

    भावुक स्वभावका अब्दुल्लाहले केही समयअघि प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा यस्तो घोषणा गरे पनि फुटबल संघलाई राजीनामा भने बुझाएनन् ।

    साफ च्याम्पियनसीपमा नेपाल फाइनल नजिक पुग्दा धेरैले उनलाई नै जस दिइरहेका छन् । यदि नेपाल फाइनलमा पुग्यो वा उपाधि जित्यो भने नेपाली फुटबलमा अब्दुल्लाहको अविस्मरणीय योगदान हुनेछ ।

    https://www.youtube.com/watch?v=iP1l_UC9wSw

  • टेलिकमको दसैँ अफर : डाटा र भ्वाइस सेवामा यस्ता छन् सुविधा

    टेलिकमको दसैँ अफर : डाटा र भ्वाइस सेवामा यस्ता छन् सुविधा

    काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका अवसरमा आजदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराएको छ ।

    सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

    यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ ।

    उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

  • बाघ आतंक बढेपछि दाङ र बाँकेको सीमावर्ती क्षेत्रमा सावधानी अपनाउन आग्रह

    बाघ आतंक बढेपछि दाङ र बाँकेको सीमावर्ती क्षेत्रमा सावधानी अपनाउन आग्रह

    रूपन्देही । पूर्वपश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतंक फैलिएको छ । बाघको समूह नै हिड्न थालेपछि वन कार्यालयले सचेतना अपनाउन सार्वजनिक आह्वान गरेको छ।

    बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै सो क्षेत्रमा बाघको समुह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समुह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

    वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा चितुवा र बाघको समुह देखा परेको छ । आइतबार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखापरेको वन कार्यालयले जनाएको छ ।

    कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ । अहिले सो क्षेत्रमा रहेको राजमार्गमा हिड्ने दुई पाङ्ग्रे सवारीधनी समूह बनाएर हिड्न थालेका छन् ।

     

  • बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

    बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

    बर्दिया । बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

    बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

    बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

    रासस

  • मापदण्ड पूरा नगर्ने ६ मेडिकललाई कारवाही

    मापदण्ड पूरा नगर्ने ६ मेडिकललाई कारवाही

    चितवन । चितवन भरतपुरका ६ मेडिकललाई स्थानीय प्रशासनले कारवाही गरेको छ ।

    भरतपुरको चौबिसकोठीमा रहेका ती मेडिकललाई मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले बताए ।

    मेडिकललाई कारवाही स्वरुप पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारवाही पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारवाही गरेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई तीन/तीन लाख जरिवाना गरिएको छ । मिराकल फर्मालाई दुई लाख ५० हजार, रिजन फार्मेशिलाई २० हजार र अपोलो डेन्टल क्लीनिकलाई पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए ।

    चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।

    रासस

  • भारतको मौसमले नेपालमा वर्षा

    भारतको मौसमले नेपालमा वर्षा

    काठमाडौं । भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ । सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले पारिलो घाम लागेको छ । मध्यान्हपछि बदली र वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

    बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • साफ च्याम्पियनसिपः १० जनामा सीमित बंगलादेशसँग बराबरीमा रोकियो भारत

    साफ च्याम्पियनसिपः १० जनामा सीमित बंगलादेशसँग बराबरीमा रोकियो भारत

    काठमाडौं । करिब आधा समय १० जनामा सीमित भएको बंगलादेशविरुद्धको अग्रता जोगाउन नसेको भारत साफ च्याम्पियनसिपमा १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार माल्दिभ्सको मालेमा भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता भारतले सुरुआतमा अग्रता लिएको थियो ।

    खेलको २६औं मिनेटमा भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । बल पोसेसनसँगै खेलमा पनि हाबी बनेको भारतले पहिलो हाफमा १–० को अग्रता कायम राखेको थियो ।

    दोस्रो हाफमा खेलमा फर्किने प्रयत्नरत बंगलादेशलाई सुरुआतमै ठूलो धक्का लागेको थियो । विश्वनाथ घोशले ५४औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि बंगलादेशको खेलमा फर्किने सम्भावना करिब करिब टुङ्गिएको मानिएको थियो ।

    तर, निर्धारित समयको खेल सकिन १६ मिनेट बाँकी रहँदा अप्रत्याशितरूपमा बंगलादेशले पुनरागमन गर्यो । बंगलादेशका लागि ७४औं मिनेटमा यासिन अराफतले गरेको गोल नै भारतविरुद्ध गुमाइसकेको अंक खोस्न पर्याप्त बन्यो ।

    शुक्रबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० को नतिजामा पराजित गरेको थियो । साविक उपविजेता भारतसँगको बराबरीसँगै बंगलादेशले दुई खेलबाट चार अंक जोडेको छ । भारतले भने यो पहिलो खेल हो ।

    प्रतियोगिताको सदाबहार दाबेदार रहेर पनि फाइनल पुग्न असफल नेपालले पनि आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध १–० को सनसनीपूर्ण जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको छ ।

    शुक्रबार नै भएको खेलमा नेपाललाई जित दिलाउन एक मात्र निर्णायक गोल मनिष डाँगीले गरेका थिए । नेपालले आफ्नो दोस्रो खेलमा आजराति ९ः ४५ बजे श्रीलंकासँग खेल्दै छ ।

    पाँच टोली सहभागी प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु

    सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। १०,८७४ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १ हजार जना निको भएका छन् भने थप १० जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख २० हजार ५४८जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ७ लाख भन्दा बढी निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

  • सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप

    सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप

    जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले आज जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरेको छ ।

    सडकहरु मर्मत नगरेको भन्दै प्रदर्शन गर्न उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

    नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न गइरहेका कार्यकर्तालाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि आक्रोशित भएर जनमत पार्टीका कार्यकर्ताहरु न्यायिक समितिमा तोडफोड गरेका छन् । उनीहरुले उपमहानगरपालिकाको प्यासेजमा राखिएको गमला समेत फोडेको एक कर्मचारीले बताए ।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जनकपुरधाम उपमहानगरपालिका– ८ बलुवा टोलस्थित हिलाम्मे बनेको सडक मर्मत गराउन जनप्रतिनिधिले चासो नदेखाएको आक्रोश सामाजिक सञ्जालमा पोखेका थिए । त्यसपछि उनका कार्यकर्ता आन्दोलित बनेका हुन् ।

    जनकपुरधाम उपमहानगरमा तोडफोड र तालाबन्दी गर्नु अगाडि जनमत पार्टीका कार्यकर्ताहरु जनकपुरधाम–८ स्थित खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका छन् ।

    ढल निर्माणका लागि ठेकेदारले सडकमा खाल्डो खनेको छ । खाल्डो खनेको महिनौं बितिसक्दा पनि काम अगाडि नबढाउँदा अहिले सडक अवरुद्ध बनेको डा. राउतले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

    जनकपुरधाम उपमहानगरपालिका र खानेपानी विभागले आफ्नो निवासको दुइतिरै खनेर एक हप्तादेखि बाटो अवरूद्ध गरेको हुनाले हरेक सोमबार पार्टी सचिवालयमा हुने ‘खुला भेटघाट’ कार्यक्रम स्थगित गरिएको अध्यक्ष डा. राउतले बताएका छन् ।

  • ईपीएलः काठमाडौंविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

    ईपीएलः काठमाडौंविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार हुने दोस्रो खेलमा काठमाडौं किङ्ग्स–११ विरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलका लागि पोखराका कप्तान विनोद भण्डारीले टस जितेर फिल्डिङ रोजेका हुन् ।

    सुरुआती चार खेलबाट ५ अंक जोडेको पोखरा यसअघि नै प्ले अफमा पुगिसेकेको छ । तर, तीन खेलमा दुई अंक मात्र जोडेको काठमाडौंले भने आजको खेलमा जित हासिल गरे प्लेअफमा स्थान बनाउने छ ।

    हालसम्म चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज प्ले अफमा पुगिसकेका छन् । आजको खेलमा काठमाडौंले आजको खेलमा जित हासिल गरे प्लेअफमा स्थान सुरक्षित गर्नेछ भने ललितपुर बाहिरिने छ ।

  • ईपीएल : चितवनको अपराजित यात्रामा पूर्णविराम, प्रदीपको अर्धशतकमा भैरहवा ६ विकेटले विजयी

    ईपीएल : चितवनको अपराजित यात्रामा पूर्णविराम, प्रदीपको अर्धशतकमा भैरहवा ६ विकेटले विजयी

    काठमाडौं । प्रदीप ऐरीको अर्धशतकप्रेरित भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो ।

    दोस्रो इनिङमा १ सय ६५ रनको लक्ष्य पछ्याएको भैरहवाले १७।२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । भैरहवालाई ६ विकेटको जित दिलाउन आक्रामक इनिङ खेलेका ओपनर प्रदीपले ४३ बलमा ८ चौका र ३ छक्कासहित ७२ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर तमिक इकबलले ३० बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडेर पेभेलियन फर्किँदा उपुल थरङ्गा ३९ र कुशल मल्ल १ रनमा अविजित रहे । त्यसअघि रोहित पौडेल ६ तथा आरिफ शेख १ रन जोडेर पेभेलियन फर्केका थिए ।

    बलिङतर्फ चितवनका लागि करिम जनतले २ तथा सागर ढकाल र भीम सार्कीले १–१ विकेट लिए ।

    पहिलो इनिङमा चितवनले ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो ।

    दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवनले नियमित कप्तान सोमपाल कामी, विरन्दीपसिंह र साहब आलमको स्थानमा गौमत केसी, सेकुगे प्रसन्ना र देव खनाललाई मौका दिएको थियो । चितवनका लागि ओपनिङमा उत्रिएका मोहम्मद शहजादले करिम जनतसँग ४२ रनको साझेदारी गर्दै २४ बलमा ३ चौका र २ छक्कासहित ३२ रनको योगदान गरे ।

    यस्तै, करिमले ३७ बलमा १ चौका र २ छक्कासहित ३५ तथा सेकुगे प्रसन्नाले २४ र दीलिप नाथ १३ रन जोडेर पेभेलियन फर्किँदा कमलसिंह ऐरी ७ र गोतम केसी शून्यमा अविजित रहे। त्यसअघि भीम सार्की १४, देव खनाल ५ र ओपनर खडक बोहरा १ रनमा पेभेलियन फर्केका थिए ।

    बलिङतर्फ भैरहवाका लागि कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर तीन विकेट लिए । यस्तै, धमिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १÷१ विकेट लिए ।

    दुवै टोली प्ले अफमा पुगिसकेका छन् । सुरुआती चार खेलमा जित निकालेको चितवनको ८ अंक छ । र शीर्ष स्थानमा छ भने तीन खेलमा ६ अंक जोडेको भैरहवा तेस्रो स्थानमा छ । दोस्रो स्थानको पोखरा राइनोज पनि प्ले अफमा पुगिसकेको छ ।

    प्ले अफमा लागि एक स्थान पूरा हुन बाँकी छ भने काठमाडौं किङ्ग्स–११ र साविक विजेता ललितपुर प्याट्रिओट्सको सम्भावना बाँकी छ ।

  • जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

    जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

    काठमाडौं । जापानले नेपाललाई सोमबार ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । आयोजित कार्यक्रममा ती एम्बुलेन्स जापानी राजदूत किकुता याकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

    ती एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस १०२ वटा प्रेषण केन्द्रबाट संचालन हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

  • चितवनले भैरहवालाई दियो १ सय ६५ रनको लक्ष्य

    चितवनले भैरहवालाई दियो १ सय ६५ रनको लक्ष्य

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार जारी पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा चितवनले ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको हो ।

    दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवनले नियमित कप्तान सोमपाल कामी, विरन्दीपसिंह र साहब आलमको स्थानमा गौमत केसी, सेकुगे प्रसन्ना र देव खनाललाई मौका दिएको थियो । चितवनका लागि ओपनिङमा उत्रिएका मोहम्मद शहजादले करिम जनतसँग ४२ रनको साझेदारी गर्दै २४ बलमा ३ चौका र २ छक्कासहित ३२ रनको योगदान गरे ।

    यस्तै, करिमले ३७ बलमा १ चौका र २ छक्कासहित ३५ तथा सेकुगे प्रसन्नाले २४ र दीलिप नाथ १३ रन जोडेर पेभेलियन फर्किँदा कमलसिंह ऐरी ७ र गोतम केसी शून्यमा अविजित रहे। त्यसअघि भीम सार्की १४, देव खनाल ५ र ओपनर खडक बोहरा १ रनमा पेभेलियन फर्केका थिए ।

    बलिङतर्फ भैरहवाका लागि कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर तीन विकेट लिए । यस्तै, धमिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

    दुवै टोली प्ले अफमा पुगिसकेका छन् । सुरुआती चार खेलमा अपराजित चितवनको ८ अंक छ । र शीर्ष स्थानमा छ भने तीन खेलमा ४ अंक जोडेको भैरहवा तेस्रो स्थानमा छ ।

  • आइतबार ६ सय संक्रमित थपिए, ७ जनाको मृत्यु

    आइतबार ६ सय संक्रमित थपिए, ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ६७९ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९२० जनाको नमुना (७०७० पीसीआर र ३८५० एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा २६४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

    अहिलेसम्म कोरोनाले ११ हजार १६४ जानले ज्यान गुमाइसकेका छन् भने ७ लाख भन्दा बढी निको भएका छन् ।

  • युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल

    युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल

    तनहुँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन भएका छन् । तनहुँको डुम्रेमा भएको युवाको भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँपालिका कमिटी गठन गरेको हो ।

    कमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् । भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए ।

    राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघका कमिटीहरु गठन गरेर संगठनलाई व्यवस्थित र चुस्त बनाएर जनताको सेवामा लाग्ने बताए । भेलामा तीनसय बढी युवा सहभागी थिए ।

  • नेकपा एस रत्ननगरको अध्यक्षमा बद्रीनाथ, सचिवमा रामहरि चयन

    नेकपा एस रत्ननगरको अध्यक्षमा बद्रीनाथ, सचिवमा रामहरि चयन

    चितवन । नेकपा एकीकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा भएको छ । उक्त पार्टीले बद्रीनाथ घिमिरेकाे अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी नगर कमिटी घोषणा गरेको हो ।

    पार्टीको नगर कमिटी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, एन्जिला कुँवर, सचिवमा रामहरि अधिकारी, उपसचिवमा इश्वरराज अधिकारी चयन भएका छन् । नेकपा एस चितवनका प्रवक्ता विष्णुराज महतोले रत्ननगरका १६ मध्ये १२ वडा वडा कमिटी गठन भइसकेको बताए ।

    नगर कमिटिलाई पार्टी केन्द्रीय सचिव रामकुमारी झाक्रिले सपथग्रहण गराएकी थिइन् । भदौ २५ मा नेकपा एसको जिल्ला कमिटी र भरतपुर महानगर कमिटी घोषणा गरेको थियो ।

    कार्यक्रममा झाक्रिले माधव नेपालको साथ छाडेका नेताहरु छिटै एकीकृत समाजवादीमा फर्किने दावी गरेकी छन् । उनले एमालेमै फर्केका नेताहरुलाई ‘बुख्याचा’को संज्ञा दिइन् ।

  • कोशी टप्पुको रैथाने ‘मकुना’ हात्ती मृत फेला, करेन्ट लाएर मारेको शंका

    कोशी टप्पुको रैथाने ‘मकुना’ हात्ती मृत फेला, करेन्ट लाएर मारेको शंका

    इटहरी । नेपालको एक्लो वन्यजन्तु आरक्ष कोसी टप्पुको रैथाने हात्ती मकुना मृत फेला परेको छ । वन्यजन्तु आरक्ष नजिकैको एक्वा वर्ड होटलबाट पाँच सय मिट दुरिमा र बाँध क्षेत्रबाट साढे दुई सय मिटर पुर्व हात्ति मृत फेला परेको हो ।

    कोसी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अंकित पौडेलका अनुसरा हात्ती मृत फेला परेको आरक्षलाई बिहान साढे सात बजे आसपास जानकारी आएको हो । हात्ती के कति कारणले मरेका वा मारिएको बारेमा खोज सुरु भएको रेन्जर पौडेलले बताए ।

    स्थानियहरुले भने हात्तीको स्वाभामिक मृत्यु नभएर करेन्ट लाएर मारिएको हुनसक्ने आशंका गरेका छन । हात्ती फेला परेको नजिकै नांगो तार भेटिएको र धेरैले मार्न चाहेको भन्दै मारिएको हुनसक्ने आरक्ष नजिकैका एक युवाले बताए । नाम नभन्ने सर्तमा उनले भने, ‘सीडीओलाई स्थनिय केहि जनप्रतिनिधि र नेताले मार्ने प्रस्तावै गरेका थिए । त्यसैले यो स्वभाविक मृत्यु हैन ।’

    मकुना कोसी टप्पुको रैथाने हात्ति हो । आरक्षमा उपलब्ध १७ जंगली हात्तिमा आरक्षमै बसिरहने मकुना मात्रै हो ।

  • विद्युत् प्राधिकरणले इन्टरनेट सेवामा गरेको अवरोधप्रति कम्प्युटर एशोसियसनको आपत्ति

    विद्युत् प्राधिकरणले इन्टरनेट सेवामा गरेको अवरोधप्रति कम्प्युटर एशोसियसनको आपत्ति

    रूपन्देही । नेपाल विद्युत प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा अवरोध गरेकोप्रति कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) खेद प्रकट गरेको छ ।

    महासंघका अध्यक्ष नवराज कुँवर र महासचिव नारायण थापाले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणले नियोजित रुपमा भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढीलगायतका स्थानहरुमा इन्टरनेट सेवा प्रदायकहरुका फाइबर तार काटेको तथा सोही कारण अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा पुगेको अवरोधप्रति खेद प्रकट गरेको हो ।

    क्यान अध्यक्ष नवराज कुँवरले सेवाप्रवाह रोकेर अन्याय नगर्न आग्रह गरेका छन् । ‘सरकारी निकाय नेपाल विद्युत प्राधिकरणद्वारा हालैका दिनमा गरिरहेको अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा अवरोध पुर्‍याउने गतिविधिहरुप्रति कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) खेद प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

    क्यान महासंघ सरकारी निकाय नेपाल विद्युत प्राधिकरणले बढाएको पोलको भाडादरका आधारमा पूर्वाधारको लागत अझ बढ्न गइ ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्ने क्यानले जनाएको छ ।

  • हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

    हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्‍याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् ।

    नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्‍याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।

    ‘दर्जनौँको संख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ’, उनले भने, ‘स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन् ।’ स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन । वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ । बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पुर्‍याएको हो ।

    साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् । त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन् । सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताए । उनका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।

    बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पुर्‍याउँदै आएको छ ।

    यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पुर्‍याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ ।

    रासस

  • सर्पले डसेर बालकको मृत्यु

    सर्पले डसेर बालकको मृत्यु

    महोत्तरी । महोत्तरीगाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

    उनका अनुसार ओछ्यानमा सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

    केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।