Author: Anisha Tiwari

  • लुम्बिनीमा ट्रायल पास गरेकै दिन लाइसेन्स हातमा, सेवाग्राही खुसी

    लुम्बिनीमा ट्रायल पास गरेकै दिन लाइसेन्स हातमा, सेवाग्राही खुसी

    रुपन्देही । लामो समय लाइसेन्स वितरणमा व्यवस्थापन नहुँदा यस क्षेत्रका सेवाग्राही हैरानी परेका बेला लुम्बिनीमा ट्रायल पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन अनुमति पत्र दिन शुरु गरिएको छ ।

    प्रदेश सरकारले देशमै पहिलोपटक यसप्रकारको परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो ।

    पहिले ट्रायल कटाएर राजस्व तिरेको वर्षौंसम्म लाइसेन्स सेवाग्राहीको हातमा पर्दैनथ्यो । यसले गर्दा यातायात व्यवस्था कार्यालयले दिएको राजश्व तिरेको रसिद लिएर सेवाग्राहीले सवारी चलाउनुपर्ने बाध्यता थियो । रसिदमा रहेको फोटो र नाम केही दिनमा हराएर जाँदा चेकिङ गर्ने ट्राफिक प्रहरी र सेवाग्राहीलाई समस्या हुन्थ्यो ।

    लुम्बिनी प्रदेश सरकारले देशमै पहिलोपटक परिक्षणकालिन सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन अनुमति पत्र दिन थालिएको हो ।

    २०४९ सालमा आएको सवारी ऐनमा १ वर्षसम्म परिक्षणकालिन अनुमति दिनु पर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारले परिक्षणकालीन अनुमतिपत्रको सुरुवात गरेपछि उक्त ऐन बल्ल लागू भएको हो । लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले बुटवलबाट परीक्षणकालीन अनुमति पत्रको सुरुवात गरेको हो ।

    अहिले अनुमति पत्र छाप्ने एउटा मेशिन राखेर कार्यालयले सेवा दिइरहेको छ । सवारी ट्रायल कटाएर र राजस्व तिरेको दिन नै एक वर्षसम्म परीक्षणकालीन अवधि रहेको लाइसेन्स कार्यालयले सेवाग्राहीलाई दिने गरेको यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख तेजनारायाण यादवले जानकारी दिए । लाइसेन्स छाप्ने मेसिन १ लाख ६० हजारमा ल्याएको बताउँदै कार्यालय प्रमुख यादबले स्मार्ट कार्डभन्दा सस्तो र सजिलो हुने बताए ।

    तराईका जिल्लामा यस्ता किसिमका सुविधा पाइरहँदा प्रदेशका पहाडी जिल्लामा पनि कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले बताइन् ।

    उनले जनतालाई सहज हुने किसिमका कार्यहरु लुम्बिनी प्रदेश सरकारले गर्ने बताउँदै नयाँ र प्राविधिक कामहरूलाई सबैले सहयोग गर्नेगरी काम थालेको जानकारी दिइन् ।

    लुम्बिनी प्रदेश सरकारले यातायात व्यबस्था, सवारी चालक अनुमति पत्र कार्यालय रहेको दाङ्ग र नेपालगञ्जबाट पनि स्मार्ट परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरेको छ । सेवाग्राहीले पर्ने समस्यालाई सामाधानको लागि परीक्षणकालीन लाइसेन्सको ब्यवस्था ल्याइएको जनाएको छ ।

    यातायात व्यवस्था विभागअन्तरगत सवारी अनुमतिपत्र कार्यालय प्रमुख यादवले यो लाइसेन्स डुब्लिकेसन गर्न नमिल्ने बताए ।

    ‘यो लाइसेन्समा एउटा बारकोड छ, त्यसलाई ट्राफिक प्रहरीले सजिलै रिड गर्न सक्दछ, नक्कली बनाउने सम्भावना छैन’ उनले भने ।

     

  • बिहीबार ८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

    बिहीबार ८ सय संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८०५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६७२ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

    सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा १५ हजार ९४२ जना सक्रिय संक्रमित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २९४ जना छन् ।काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७३ हजार १४० जना निको भएका छन् भने ११ हजार २ सय जनाको मृत्यु भएको छ ।

  • सरल बैंकिङ सेवा सुरु, सबै बैंकको कर्जा र ब्याजदरको जानकारी एउटै प्लेटफर्ममा

    सरल बैंकिङ सेवा सुरु, सबै बैंकको कर्जा र ब्याजदरको जानकारी एउटै प्लेटफर्ममा

    काठमाडौं । निक्षेप कर्जा तथा ब्याजदरको सम्पूर्ण जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिंङ्ग सेवा सञ्चालनमा आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदरसहित बैंकिङसम्वन्धी सम्पूर्ण जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा आएको हो ।

    आज घटस्थापनाको दिनदेखि सेवा सुरु भएको कम्पनीले जनाएको छ । सरल बैंकिङ्ग सेवामार्फत बैंक तथा वित्तिय संस्थाहरुले उपलब्ध गराउने निक्षेप कर्जा तथा ब्याजदरको तुलना गर्न सकिने छ । साथै, यसमा आफैंले कर्जाको लागि आवश्यक मासिक किस्ता (इएमआई) तथा इलिजिबिलिटी क्याल्कुलेट (योग्यता मापन) गर्न सकिनेछ । यसमा बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्डबारे समेत जानकारी उपलब्ध छ ।

    सरल बैंकिङ्ग सेवामा क्लिक गरेवापत ग्राहकले कुनै शुल्क तिर्नु पर्दैन । साथै, कर्जा तथा व्याजदर सम्बन्धि कुनै किसिमको जानकारी चाहिएमा ग्राहकहरुले सिधै साइटमा गएर त्यहाँ भएको च्याट बक्समा म्यासेज गरेर पनि सहायता लिन सक्नेछन् । अथवा दिइएको फोन नम्बरमा सिधै फोन गरेर पनि आवश्यक सहयोग लिन सक्नेछन् ।

    ‘सानोभन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुको भ्रमण गरिरहनु पर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौ,’ कम्पनीका प्रवन्ध निर्देशक सुनिसकुमार लाखेले भने, ‘यसले नाम अनुसार ग्राहकहरुलाई सरल तरीकाबाट सेवाहरु प्रदान गर्नेछ ।’

    केही समयपछि सेवाग्राहीले सरल बैंकिङ्ग सेवामा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तिय संथामा सजिलै खाता खोल्न तथा कर्जाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने लाखेले जानकारी दिए ।

  • रुपन्देही उद्योग संघको नेतृत्वमा पौडेल निर्विरोध, महासचिवमा खत्री र खनालबीच प्रतिस्पर्धा

    रुपन्देही उद्योग संघको नेतृत्वमा पौडेल निर्विरोध, महासचिवमा खत्री र खनालबीच प्रतिस्पर्धा

    रूपन्देही । रुपन्देही उद्योग संघको अध्यक्षमा माधव पौडेल निर्विरोध निर्वाचित भएका छन्। तर, महासंघको महासचिवका लागि भने निर्वाचन हुने संकेत देखिएको छ।

    निर्वाचन आयोगका अनुसार महासचिवमा हरि बहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ । त्यस्तै सचिव पदमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी परेको छ।

    खत्री वर्तमान कार्यसमितिमा कोषाध्यक्ष थिए भने खनाल महिला सचिवको जिम्मेवारीमा थिइन्। त्यसैगरी ढकाल र भट्टराई दुवै कार्यसमिति सदस्य हुन्।

    संघको निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनको अन्तिम समयसम्म अध्यक्षलगायतका अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचन आयोगका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्णप्रसाद पराजुली र द्वितीय  उपाध्यक्षमा जीवकान्त काफ्लेको एकल उम्मेदवारी परेको छ।

    त्यसैगरी महिला सचिवमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ।

    यसका साथै आजीवन सदस्यतर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुंवर, महिला सदस्यतर्फ शारदा भटराई र मिना थापा, बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको मात्रै एकल उम्मेदवारी परेका छन।

    त्यसैगरी ८ जना खुल्ला सदस्यका लागि ८ जनाको मात्रै उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचालले उम्मेदवारी दिएका छन् भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासेले उम्मेदवारी दिएका छन्।

    संघमा नेकपा एसबाहेकका दलनिकट उद्योगीहरूको साझा प्यानल बनेको छ ।

    उद्योग संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशनका सन्दर्भमा संघको आगामी नेतृत्वका लागि असोज २१ गते उम्मेदवारी मनोनयनको तालिका रहेको थियो।

  • मेवामा आत्मनिर्भर बन्ने अभियानमा कपिलवस्तुका किसान

    मेवामा आत्मनिर्भर बन्ने अभियानमा कपिलवस्तुका किसान

    रुपन्देही । मेवाका पारखी कपिलवस्तुका युवाउद्यमी खुमानन्द घिमिरे नेपाली बजारमा पाइने धेरै मेवा भारतबाट आयात भएको र बजारमा माग बढेको देखेपछि नेपालमै मेवा उत्पादन गरी आम्दानी गर्ने सोचमा पुगे ।

    सोचलाई काममा बदल्ने योजना बनाउँदै गर्दा उनले एक समूह भेटे । २०७७ सालको अन्तिमतिर जताततै कोरोना महामारीको त्रास भइरहेको समयमा भेटिएको समूहले मेवा उत्पादनको नमूना काम शुरु गर्यो ।

    ७ जना पौरखीहरुको टिमले कपिलवस्तुको वाणगंगा नगरपालिका– २ लखनपारामा नेपालकै ठूलो मेवा फर्म संचालन गरेर छोटो समयमै उत्पादन तयारी गरिसकेको छ ।

    कृषि क्षेत्रका प्राविधिकसमेत गरी ७ जनाको यो समूहले लुम्बिनी बहुद्देश्यीय एग्रिकल्चर प्रालि गठन गरी पाँच वर्षका लागि ८ विगाहा जग्गा लिजमा लिएर सवा करोडभन्दा बढी लगानीमा मेवा फर्म संचालन गरेका हुन् ।

    यो नेपालकै ठूलो मेवा फर्म रहेको दावी संचालक घिमिरेको छ । फर्ममा काठमाडौंका २, रुपन्देही सालझण्डीका २, अर्घाखाँची, कपिलवस्तु र दाङका १–१ जना गरी सात जनाको लगानी छ ।

    ‘कृषि क्षेत्रको प्राविधिक जानकारी भएका उपेन्द्र शाही, व्यवस्थापनमा सफल प्रालिका अध्यक्ष पिताम्बर पोखरेलसहित हामी सबैको उत्साहपूर्ण लगानीमा हामी यहाँसम्म आएका छौं, योजना बनाएको छोटो समयमा नै उत्पादन भइसकेको छ, अब बजार व्यवस्थापनको योजनामा अगाडि बढ्छौं’, संचालक खुमानन्द घिमिरेले कम्पनीको योजना सुनाए ।

    अहिले फर्ममा ‘ताइवान रेड लेडी ७८६’ प्रजातिका ९ हजार ४ सय ७६ मेवाका विरुवा हुर्किरहेका छन् । लटरम्म फल लागेका छन् । गत फागुनमा सुरु गरिएको फर्मबाट अब बेच्ने गरी मेवा तयार भइसकेकोे छ । एउटै राम्रो विरुवामा १ देखि २ क्वीन्टलसम्म मेवा फल्न सक्छ । संचालकहरुका अनुसार यस जातिको मेवाको बिउको मूल्य प्रतिकेजी ११ लाख पर्दछ ।

    सो क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीले पौरखी किसानहरुको नमूना कामको शुरुवात भएको र यस्ता उत्पादनले नेपालमा आयात हुने कृषि तथा फलफूलजन्य वस्तुलाई रोक्न सकिने बताउँछन् ।

    उनले अब स्थानीय सरकारले संयोजन र प्रदेश सरकारले समन्वय गरेर यसप्रकारका योजनालाई आफूले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    केही समयअघि मेवा खेती अवलोकन गर्न पुगेका पन्थीले सामाजिक संजालमै लेखेका थिए, ‘नेपालमै केही गरौं भन्नेहरुलाई यो नमूना उदाहरण हो ।’

    प्रालिका अध्यक्ष पिताम्बर पोख्रेलले स्थानीय तथा प्रदेश सरकारले प्राविधिक सहयोगसँगै उत्पादन भएको मेवाको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए ।

    सरकारले सहयोग गरी उत्साहित बनाउने र कुनै प्राकृतिक विपत्ति नआएमा प्रदेशलाई मेवा खेतीमा आत्मनिर्भर गराउने संचालक खुमानन्द घिमिरे बताउँछन् । नेपालमा वार्षिक करिब एक अर्बको मेवा भारतबाट आयात भइरहेको छ । यस फर्मबाट उत्पादन हुने मेवाले आयातलाई रोक्न सहयोग गर्ने प्रदेश सांसद पन्थी बताउँछन् ।

    फर्ममा अहिले २० जनाले रोजगारी पाएका छन् । दाङबाट विशेष प्रविधि झिकाएर मेवा खेती भइरहेको छ । सो फर्ममा नै अहिले नर्सरी बनाएर विरुवा उत्पादन भइरहेको प्राविधिकहरु बताउँछन् ।

    त्यहाँबाट तयार भएका बिरुवा अहिले स्थानीयस्तरमा पनि बिक्री वितरण भइरहेको बताइएको छ । संचालक खुमानन्द घिमिरेले एग्रो टुरिजमको अवधारणामा अगाडि बढेको भन्दै यसलाई नेपालकै नमूना फर्म बनाइने बताए ।

    उनका अनुसार अहिले यहाँ मेवासँगै फूलखेती पनि गरिएको छ । अहिलेको तिहारमा पनि बजारमा पुराउने गरी फूल खेतीको तयारी भएको र यसको बजार व्यवस्थापनसँगै लगानी बढाउने घिमिरेले बताए । मेवा तथा फूल खेतीका लागि यो वर्ष धेरै वर्षा भएकाले केही समस्या भएको उनको भनाइ छ ।

    मेवा खेती हेर्नका लागि अहिले कपिलवस्तुका विभिन्न ठाउँ तथा अन्य जिल्लाहरुबाट आउने क्रम बढ्न थालेको छ । संचालक घिमिरेका अनुसार मेवा र फूलले आन्तरिक पर्यटक तथा व्यवसायीलाई ध्यान तान्ने बताउँछन् ।

    ठूला जमिनमा व्यवसायिक खेती गर्दा मुनाफा हुने र सामूहिक लगानीमा ठूला योजना अगाडि सार्न सकिने संचालक ओपेन्द्र शाही ठकुरी बताउँछन् । उनका अनुसार हरेक वर्ष ७५ देखि ८५ करोडको मेवा भारतबाट आएको रेकर्ड भन्सार विभागको तथ्यांकमा देखिएको तर नेपालमा व्यवसायिक उत्पादन हुनै नसकेको उनको भनाइ छ । १० करोडभन्दा बढीको उत्पादन नै हुन नसकेको उनको दावी छ ।

  • प्रदेश २ का सीमानाकामा एसएसबीको अवरोध कायमै, दसैं मान्न घर फर्किनेलाई सास्ती

    प्रदेश २ का सीमानाकामा एसएसबीको अवरोध कायमै, दसैं मान्न घर फर्किनेलाई सास्ती

    जनकपुरधाम । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द प्रदेश २ का भारतसँगको सीमानाका नखुल्दा आवतजावतमा समस्या भएको छ । सरकारले नाका खोल्ने खोल्ने निर्णय गरेको एक साता बितिसक्दा पनि सीमा क्षेत्रमा आवागमन सहज नभएको हो ।

    भारती सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण प्रदेश २ का नाकाहरु अझै ठप्प छ । ठूला नाकाबाट सर्वसधारण पैदल आवत–जावत गरिरहेका छन् ।

    महोत्तरीको मुख्य नाका भिट्ठामोडमा खासै चहलपहल छैन । विगतका वर्षहरुमा दशैंका बेला यो नाकामा अत्यधिक भीडभाड हुन्थ्यो । तर गाडी नचल्दा नाका सुनसान छ ।

    भारतीय बजारबाट भिट्ठामोड नाका भएर पैदल नेपालतर्फ आएका महादेव यादवले गाडी नचल्दा समस्या भएको सुनाए । ‘तरकारी, तेल र मसलाहरु लिन उताको बजार गएको थिएँ । जलेश्वरमा सामान महँगो हुनाले प्रायः उतैबाट भान्साका समानहरु ल्याउँछु’, महोत्तरी जलेश्वरका उनले भने, ‘साइकल चढेर पनि उता जान दिएनन्, एसएसबीले रोक्छन् ।’

    नेपाल सरकारले नाका खोलेको विषयमा एसएसबी अनभिज्ञ छ । भिट्ठामोड नाकामा खटिएका एक एसएसबीले नेपालको गाडी प्रवेश गर्न दिने निर्देशन नआएको बताए । नेपालले निर्णय गर्दैमा नाका नखुल्ने उनको भनाइ थियो ।

    सिरहाको माडर नाका पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैन । ‘एसएसबीले मन लागे गाडी आउन दिन्छन्, मन नलागे आउन दिँदैनन्’, सिरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल भन्छन्, ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारतबाट यात्रुवाहक गाडी आउदा पनि आपत्ति छैन । तर एसएसबीले नै आउन दिइरहेका छैन ।’

    धनुषाको जटही नाका पनि सुनसान छ । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थलमार्गबाट धनुषा प्रवेशका लागि जनकपुर, जटही, महिनाथपुर, इनर्वा, दुहबी र धनौजी भन्सार कार्यालयलाई तोकेको छ । ती कुनै पनि नाका भएर सवारी साधन आउने–जाने गरेका छैनन् ।

    प्रदेश २ को सबभन्दा ठूलो नाका पर्साको बीरगञ्जमा भने स्वास्थ्य मापदण्ड पालना गरेर भारतीय यात्रुबाहक सवारीहरु भित्रिन थालेको छ । झण्डै डेढ वर्षपछि भारतबाट गाडीहरु आउन थालेपछि बीरगञ्जका व्यवसायी उत्साहित बनेका हुन् । तर यो नाकाबाट पनि नेपाली सवारीसाधन भारत जान पाएका छैन् ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वीरगञ्ज नाकामा कुनै किसिमको अवरोध नरहेको बताए । उनले भने, ‘मालवाहक सवारी त सधैं आउथ्यो । तर अब स्वास्थ्य मापदण्डको पालना गरेर यात्रुबाहक सवारी पनि आउन थालेको छ ।’

    जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले भारतको बिहारमा संक्रमण घटिसकेकाले गाडी आवत जावतको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘भारतबाट मात्र सवारी आएर हुँदैन । नेपाली सवारी पनि भारतीय बजार पुग्ने वातावरण सरकारले बनाउनुपर्छ ।’

  • बुटवलमा बन्यो नेपालकै पहिलो ढुवानीग्राम, व्यवसायी खुसी

    बुटवलमा बन्यो नेपालकै पहिलो ढुवानीग्राम, व्यवसायी खुसी

    रुपन्देही । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानीग्राम तयार भएको छ । बुटवल उपमहानगरपालिका– १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो ।

    सार्वजनिक–निजी क्षेत्र साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो ।

    व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमूना ढुवानी ग्राम निर्माण गरिएको बताए ।

    ‘संरचना निर्माणका काम लगभग अन्तिम चरणमा पुगेका छन् । ढुवानी ग्राममा रहने गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट निर्माणका काम अन्तिम चरणमा पुगेका छन् भने बाँकी कामको निर्माणकार्य लगभग पूरा भएको छ’, सुवेदीले भने, ‘सँगसँगै सौन्दर्यकरणको काम पनि चलिरहेको छ ।’

    ढुावानीग्रम बनेसँगै यहाँका ढुवानी व्यवसायीहरु खुशी भएका छन् । प्रमुख सुवेदीले व्यस्त र भिडभाडयुक्त बजार क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले उपमहानगरपालिकाले गरेको प्रस्तावमा निजी क्षेत्रले सहजै सहकार्य गर्ने प्रतिवद्धता जनाएकाले काम तोकिएको समयमै पूरा भएको बताए ।

    हेवी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुने भएको छ । ठूला र भारवाहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    सार्वजनिक निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक–निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दावी छ ।

    ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानका रुपमा नमूना अटो भिलेजपछि नमूना ढुवानीग्राम बन्ने दाबी गरे । उनले लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरुले सार्वजनिक क्षेत्रसंग सहकार्य गरेको बताए ।

    उपमहानगरले गुरुयोजना नै बनाएर ढुवानी ग्राम निर्माणको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय शिवप्रसाद रेग्मीले बताए । उनले निजी क्षेत्रसंगको सहकार्यमा बुटवलले अर्को नमुना कामको थालनी गर्न पाएको बताए ।

    के–के छन् ढुवानीग्राममा ?

    ढुवानीग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । थप वाइपास सडक निर्माण गरेर दानव नदी करिडोरमा जोड्ने तयारी भइरहेको छ ।

    ग्राम नजिकै रहेको दानव नदीमा पुल निर्माण गर्ने र बाइपास सडकलाई विस्तार गर्ने बारेमा उपमहानगरको प्राविधिकहरुको टोलीले त्यसक्षेत्रको निरीक्षण गरेको छ । उक्त ढुवानी ग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् ।

    बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ । यहाँ ४९ वटा सेड निर्माण भएका छन् । उपमहानगरको साझेदारी गरेको रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

    ढुवानी ग्राममा सामान अनलोड गर्ने अलग्गै सेडहरु, स्टोर कक्षहरु, कार्यालय, बिद्युत, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

    ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता

    उपमहानगरपालिकाले ढुवानीग्रामलाई दीगो रुपमा सञ्चालनका लागि मापदण्डसमेत बनाएको छ । ढुवानी व्यवसायीसंग १५ वर्षे सम्झौता भएको छ । उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो ।

    सम्झौताअनुसार प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानीग्राम हस्तान्तरण गर्नेछ । निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार पाँच सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक तीन हजार एक सय रुपैयाँ बहाल रकम बुझाउने छन् ।

    बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगरमा वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।

    बुटवल मुलुकको आर्थिक केन्द्र हो । बृहत बुटवलको अवधारणासहित सार्वजनिक–निजी साझेदारीको नमुना योजना साकार हुने चरणमा पुगेपछि साझेदारहरु खुशी भएका छन् । रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायीहरु उत्साही भएको बताए ।

    उनले बुटवलको नमुना प्रयासले आफूहरु उत्साही भएको र गौरवको आयोजना निर्माण सकिने चरणमा पुगेको बताए । उनले निजी क्षेत्रको विश्वास जितेर उपमहानगरले साझेदारीमो नमूना योजना सफल बनाएको बताए ।

    ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन् । ढुवानी ग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्ने छन् । हेभी लोडका ठूला गाडी अब ब्यस्त बजार क्षेत्रभित्र प्रवेश गर्नुपर्ने छैन । जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।

     

  • दसैंका लागि मासुको मूल्य निर्धारण, तोकिएको मूल्यमा बिक्री नगरे कारबाही

    दसैंका लागि मासुको मूल्य निर्धारण, तोकिएको मूल्यमा बिक्री नगरे कारबाही

    काठमाडौं । मासु व्यवसायीहरुले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

    आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार रुपैयाँ, बोसो राखिएकाको एक हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो३०० तथा रागाँ र बङ्गुरको मासु पाँच/पाँच सय रुपैयाँ तोकिएको छ ।

    राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।

    ‘सङ्घबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए सङ्घबाट कारबाही हुन्छ’, उनले भने ।

    अन्य समयको तुलनामा दशैँमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैँको अवधिमा कुनै परिवर्तन हुनेछैन । यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।

    मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो । चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

    अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताए । चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् । सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७०० देखि ८०० रुपैयाँ र मासु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दसैंका लागि मासुको अभाव नहुने जानकारी दिनुए ।

    अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौँ उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।

  • मुगुको सभापतिमा देउवा पक्षका शाही निर्वाचित

    मुगुको सभापतिमा देउवा पक्षका शाही निर्वाचित

    मुगु । नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी खड्गबहादुर शाहीलाई ५६ मतले पराजित गरे ।
    नवनिर्वाचित सभापति शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे ।

    संस्थापन पक्षले १ उपसभापति, २ सचिव र १ सहसचिव जितेको छ । संस्थापनइतर पक्षले एक उपसभापति र १ सहसचिव जितेको जनाइएको छ ।

  • बाजुरामा देउवा र पौडेलका उम्मेदवार दोस्रो चरणमा भिड्दै

    बाजुरामा देउवा र पौडेलका उम्मेदवार दोस्रो चरणमा भिड्दै

    बाजुरा । नेपाली कांग्रेस बाजुराको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुन लागेको हो ।

    सभापतिमा संस्थापन पक्षका उम्मेदवार कविराज पण्डितले ४ सय ८९ र संस्थापनइतर समूहका रामसिंह रावलले ४ सय ७४ मत ल्याएका छन् । अर्का उम्मेदवार चक्रबहादुर शाहले १ सय ५२ मत ल्याए ।

    कुल १ हजार २ सय ७ मत खसेकोमा कसैलेपनि ५० प्रतिशत मत कटाउन सकेनन् । दोस्रो चरणमा पण्डित र रावलबीच प्रतिस्पर्धा हुनेछ ।
    निर्वाचन समितिले १ बजेपछि दोस्रो चरणको मतदान सुरु हुने जनाएको छ ।

  • सुनको मूल्य बढ्यो, आजको मूल्य कति ?

    सुनको मूल्य बढ्यो, आजको मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ ।

    हिजो छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम छ ।

  • भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु

    भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु

    काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाभाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । महानगरले सूचना जारी गर्दै ३२ वटा वडास्थित खोप केन्द्रबाट खोप लगाइने जनाएको छ ।

    १८ वर्ष पुरा भएको सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जादाँ फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता लिएर वडामा खोप लगाउन सक्ने छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने छ ।

    काठमाडौँ महानगरपालिकामा थप पाँच खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, श्री बिरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

    खोपकेन्द्र केन्द्रवाट भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पुरा गरि खोप लगाउन महानगरले आग्रह गरेको छ ।

     

  • कवि केसीको ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक

    कवि केसीको ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक

    काठमाडौं । कवि तथा निबन्धकार विनोदविक्रम केसीको निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ सार्वजनिक भएको छ।

    प्रकाशक संस्था बेला पब्लिकेसन्सका अनुसार सोमबारदेखि केसीको पहिलो निबन्ध संग्रह बजारमा पुगेको हो । निबन्ध संग्रहमा २९ वटा निबन्धहरू सङ्गृहित छन्।

    केसीले कविताका अलवा लामो समयदेखि व्यंग्य, संस्मरण, निबन्धमा कलम चलाउँदै छन्। उनको यसअघि ‘भोकको क्षेत्रफल’कविता सङ्ग्रह प्रकाशित छ।

  • मंगलबार ९६८ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    मंगलबार ९६८ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा १ लाख ३२ हजार ८९६ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।

    संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

  • ओसाका विश्व वरियताको १२ औं स्थानमा

    ओसाका विश्व वरियताको १२ औं स्थानमा

    काठमाडौं । जापानी टेनिस खेलाडी नाओमी ओसाकाको विश्व वरियतामा स्थान खस्किएको छ । पूर्व विश्व नं १ ओसाका अहिले वरियताको १२औं स्थानमा पुगेकी छन् । उनी सन् २०१८मा यूएस ओपन जितेदेखि पहिलो पटक शिर्ष १० बाट बाहिरिएकी हुन् ।

    उनले आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै यो सिजनको फ्रन्च ओपन र विम्बलडनबाट नाम फिर्ता लिएकी थिइन् ।

    गत सेप्टम्बरमा भएको यूएस ओपनमा लेला फर्नान्डेजसँग पराजित भएपछि उनले टेनिस बाट ब्रेक लिने बताएकी थिइन् ।

    ग्रेट ब्रिटेनकी इम्मा राडुकानु ले फाइनलमा लेला लाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेकी थिइन् । राडुकानु विश्व वरियताको २२ औं स्थानमा छिन् ।

    चार पटककी ग्रान्डस्लाम विजेता ओसाकाले फेरि खेल्ने इच्छा जागेपछि चाँडै टेनिसमा फर्किने बताइन् ।

  • श्रीलंकाविरुद्ध नेपाल : डिफेन्डरले पूरा गरेको टास्क, आयूष घलानको सनसनी

    श्रीलंकाविरुद्ध नेपाल : डिफेन्डरले पूरा गरेको टास्क, आयूष घलानको सनसनी

    माले । साफ च्याम्पियनसीप अन्तर्गत सोमबार राति भएको नेपाल र श्रीलंकाबीचको म्याच कुनै ‘थ्रिलर’ भन्दा कम थिएन । खेलको सुरुदेखि दवाव श्रीलंकाले बनाइरह्यो, गोल नेपालले गरिरह्यो । अन्तिम क्षणमा पनि के होला भन्ने कौतुहलबीच नेपालले ३–२ को अविस्मरणीय जित निकालेको छ ।

    खेल खेल्नुपूर्व कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली डिफेन्डरलाई एउटा ‘टास्क’ दिएका थिए । त्यो थियो– श्रीलंकाली टोलीका तीन प्रभावशाली खेलाडी डिल्लन डि सिल्भा (१० नम्बर जर्सी), मार्विन ह्यामिल्टन (१५ नम्बर जर्सी) र अहमद वासिम राजेक (१४ नम्बर जर्सी) लाई विशेष निगरानीमा राख्ने ।

    विदेशमा जन्मिएका यी खेलाडी युरोपेली शैलीमा खेल्ने कारण नेपालका लागि जतिबेला पनि खतरा बन्न सक्थे । स्पेश पाएको खण्डमा लामो तथा सटिक प्रहार गर्नसक्ने उनीहरूको खुबी बंगलादेशविरूद्धको खेलमै नेपाली प्रशिक्षक अल्मुताइरीले ठम्याइसकेका थिए ।

    फिफा र्‍याङ्किङमा नेपालभन्दा तल देखिए पनि जर्मनीको बुन्डेसलिगा क्लब ‘वेर्डर ब्रेम्यान’ का पूर्वसहायक प्रशिक्षक आमेर अलाजिककोे प्रशिक्षणमा श्रीलंकाले पछिल्लो समय राम्रो तयारी गरिरहेको थियो । यस विषयका जानकार अल्मुताइरीले यसै कारण श्रीलंकाविरूद्धको खेल अगाडि आइतबार नश्रीलंकाको टिम व्यवस्थापनले नेपाली टोलीको अभ्यास लुकेर नियाल्ने प्रयास गर्दा खेलाडीलाई ‘स्ट्रेचिङ’ मात्र गराएर होटल फर्काए ।

    सुजललाई पनि माल्दिभ्सविरूद्धको खेलमा हल्का चोट लागेको थियो । तर, ‘प्लेइङ सेट’ मा नउत्रिएका सुजल ८५ मिनेटपछि अञ्जन बिष्टलाई प्रतिस्थापन गर्दै १० मिनेटका लागि मैदान प्रवेश गरे ।

    सोमबारको खेलमा नेपालले ‘प्लेइङ सेट’ मा दुई खेलाडी परिवर्तन गर्‍यो, राष्ट्रिय टोलीका नियमित डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर सुजल श्रेष्ठको रूपमा । माल्दिभ्सविरूद्ध पहेँलो कार्ड पाएका दिनेशलाई दोस्रो खेलमा विश्राम दिने निर्णय भारतविरूद्ध तेस्रो खेललाई मध्यनजर राखेर गरिएको थियो । दिनेश पछिल्लो समय नेपाली डिफेन्सका खम्बा मानिन्छन् भने प्रशिक्षक अल्मुताइरी प्रतियोगिताको सबैभन्दा बलियो टोली भारतविरूद्ध कुनै किसिमको जोखिम उठाउन चाहिरहेका छैनन् ।

    सुजललाई पनि माल्दिभ्सविरूद्धको खेलमा हल्का चोट लागेको थियो । तर, ‘प्लेइङ सेट’ मा नउत्रिएका सुजल ८५ मिनेटपछि अञ्जन बिष्टलाई प्रतिस्थापन गर्दै १० मिनेटका लागि मैदान प्रवेश गरे ।

    बलियो माल्दिभ्सलाई पहिलो खेलमै १–० ले पराजित गरेपछि उच्च मनोबलका साथ मैदानमा प्रवेश गरेको नेपालले सोमबार स्वभाविक खेल खेल्यो । नेपाली खेलाडीले मैदानमा न ज्यादा उत्तेजना देखाए, न चढेर नै खेले । बंगलादेशसँग पहिलो खेल ०–१ ले गुमाइसकेको अवस्थामा दबाब निश्चय नै श्रीलंकामाथि थियो ।

    नेपाली टोली ‘काउन्टर अट्याक’ मा राम्रो भएको तथ्यलाई मनन गरेर होला, पहिलो हाफको ३० मिनेट श्रीलंका सतर्क भएर खेल्यो । यसपछि आक्रमणको धारलाई तिब्र बनाउन खोजेको श्रीलंका त्यतिबेला स्तब्ध भयो, जब नवयुग श्रेष्ठको क्रसमा सुमन लामाले ३३ मिनेटमा गोल गरे । सुमनले डिबक्सभित्र पाएको बललाई श्रीलंकाली गोल पोस्टमा ‘चार्ज’ गर्दा पहिले त पोलको माथिल्लो बिममा लागेर ‘टच लाइन’ लाई छुन सकेको थिएन । त्यसपछि सुमनले आफूले बल ‘चार्ज’ गरेको ठाउँबाट कुद्दै पुनः बललाई हल्का ‘प्लेसिङ’ गरेका थिए ।

    हिजोको नतिजामा २२ वर्षअघिको इतिहास दोहोरिएको छ । सन् १९९९ भारतको गोवामा भएको साफ च्याम्पियनसीपमा पनि नेपालले नरेश जोशीको ह्याट्रिक गोलको सहयोगले श्रीलंकालाई ३–२ गोलले नै पराजित गरेको थियो । त्यसयता नेपालले श्रीलंकालाई जित्न सकेको थिएन ।

    सुमनको गोलमा नेपालले अग्रता लिएपछि श्रीलंका झन् बढी आक्रामक बनेको थियो । तर, अनन्त तामाङको अगुवाईमा नेपाली डिफेन्डरले श्रीलंकाली अग्रपंक्तिका खेलाडीलाई अवरोध गरिरहे । ४–२–३–१ को ‘फर्मेसन’ मा खेलेको श्रीलंकाका तीन प्रभावशाली विदेशीमूलका मिडफिल्डर डि सिल्भा, मार्विन ह्यामिल्टन र अहमद वासिम राजेकलाई मात्र होइन, एक मात्र स्ट्राइकरको रुपमा खेलेका मोहम्मद सिफनलाई पनि नेपाली डिफेन्डरले बाँधेर राखे । जसका कारण श्रीलंकाले दोस्रो हाफको सुरुमै सिफनलाई परिवर्तन गर्दै मोहमदु फैजललाई भित्र्याउनु परेको थियो । उनले पनि खासै चमत्कार गर्न सकेनन् ।

    बंगलादेशविरूद्ध रातो कार्ड पाएका प्रभावशाली डिफेन्डर डक्सन पुस्लास अनुपस्थित हुँदा श्रीलंकाको ‘डिफेन्स लाइन’ कमजोर देखिएको थियो । नेपालविरूद्ध ‘विङ’ बाट आक्रमण गराउने सोच राखेका श्रीलंकाली प्रशिक्षक अलाजिकको रणनीति त्यतिबेला फेल खायो, जब उनले श्रीलंकाको लिग च्याम्पियन क्लब कोलम्बोबाट सेन्टर फरवार्डको भूमिकामा खेल्दै आएका मोहम्मद अकिबलाई डिफेन्डरको रुपमा उतारे ।

    नवयुगले उनकै पोजिसनबाट गरेको क्रसमा सुमनले गोल गरेपछि दोस्रो हाफको सुरुवातमा श्रीलंकाले उनलाई पनि परिवर्तन गरेको थियो ।

    नेपालका लागि सोमबारको खेलमा सबैभन्दा ठूलो ‘सेन्सेसन’ बने, १७ वर्षिय आयुस घलान । विशाल राईको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका यी युवा मिडफिल्डरले पाँच मिनेटभित्रै दिएको पासमा अञ्जन बिष्टले गोल गरेर नेपालको अग्रता दाब्बर बनाए । राष्ट्रिय टोलीबाट अनवरत उत्कृष्ट प्रदर्शन गरिरहेका अञ्जनलाई उनको यही गोलका कारण खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित गरियो । यो गोलका अवसर घलानले सिर्जना गरेका थिए ।

    राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि युवा खेलाडीलाई मौका दिने उद्देश्यले अल्मुताइरीले घलानलाई राष्ट्रिय टोलीमा बोलाएका हुन् । आफूमाथि प्रशिक्षकको भरोसा जित्दै घलानले ८६ मिनेटमा आकर्षक गोल पनि गरे । तेज तामाङले दिएको पासमा उनले गोल गरेपछि नेपालको जित निश्चित भएको थियो ।

    माल्दिभ्सविरूद्ध निर्णायक गोल गरेका मनिष डाँगीलाई पनि प्रतिस्थापन खेलाडीका रुपमा उतारिएको थियो । नवयुगको ठाउँमा ६५ औं मिनेटमा मैदान प्रवेश गराइएका मनिष २५ मिनेट मात्र मैदानमा रहे । नेपाल जितको नजिक पुगेपछि ९२ औं मिनेटमा नितिन थापालाई ‘डिफेन्सिभ मिडफिल्ड’ को भूमिका जिम्मा लगाउँदै उनी बाहिरिए ।

    नेपालले दोस्रो गोल गरेको ६ मिनेटपछि श्रीलंकाले पहिलो गोल फर्कायो । ५७ मिनेटमा डिबक्स वरिपरि घुमिरहेको बललाई ‘क्लियर’ गर्न नसक्दा नेपालले पहिलो गोल खाएको थियो । त्यो गोल इंग्ल्याण्डमा बसेर व्यवसायिक फुटबल खेल्ने मार्विन ह्यामिल्टनले गरेका थिए । उनले डिबक्स बाहिर डि सिल्भाले दिएको पासमा शक्तिशाली प्रहार गरेका थिए । नेपालका गोलकिपर किरण लिम्बुसँग उक्त बललाई रोक्ने कुनै अवसर थिएन ।

    हिजोको नतिजामा २२ वर्षअघिको इतिहास दोहोरिएको छ । सन् १९९९ भारतको गोवामा भएको साफ च्याम्पियनसीपमा पनि नेपालले नरेश जोशीको ह्याट्रिक गोलको सहयोगले श्रीलंकालाई ३–२ गोलले नै पराजित गरेको थियो । त्यसयता नेपालले श्रीलंकालाई जित्न सकेको थिएन ।

    डि सिल्भा पनि इंग्ल्याण्डको क्विन्स पार्क रेन्जर्सबाट व्यवसायिक फुटबल खेल्छन् । बंगलादेशविरूद्ध पहिलो खेलमा ‘प्लेइङ सेट’ बाहिर बसेका डि सिल्भालाई नेपालविरूद्ध सुरुदेखि नै खेलाउने श्रीलंकाली प्रशिक्षकको रणनीतिले स्पष्ट पार्छ, श्रीलंकाले नेपालविरूद्धको खेललाई कुन रूपमा लिएको थियो भन्ने ।

    नेपालले दुई गोलको अग्रता बनाएपछि श्रीलंकालाई ठूलो दवावमा पर्यो । उसले लगातार एकपछि अर्को असफल प्रयास गरिरहे । एउटा निश्चित गोललाई गोलकिपर लिम्बुले पोस्ट माथि पठाइदिए । तर, खल सकिनुभन्दा ठिक अगाडि अतिरिक्त समयमा श्रीलंकाले पेनाल्टी पायो ।

    ९४ औं मिनेटमा श्रीलंकाले पाएको कर्नर किकमा डिबक्सभित्र गौतम श्रेष्ठको हातमा बल लागेको भन्दै श्रीलंकाली खेलाडीले अपील गरेका थिए । ‘लाइन्सम्यान’ पनि दोधारमा परेको बेला रेफ्रीले श्रीलंकालाई पेनाल्टीको मौका दिए । यद्यपि भिडियो रिप्लेमा गौतमको छातीमा बल लागेको स्पष्ट देखिन्थ्यो । खेल समय थोरै मात्र बाँकी रहेकाले नेपाली खेलाडीले मैदानमा कडा विरोध गरेनन् । यही पेनाल्टीमा डि सिल्भाले गोल गर्दै जितको मार्जिनलाई ३–२ मा छोट्याए । र, अन्तिम क्षणमा फेरि श्रीलंकाको झिनो आशा जाग्यो । एक मिनेटभन्दा कम समय बाँकी हुँदा उसले अर्को गोल थप्न सम्भव भएन । र, नेपाललाई नतिजा सुम्पिन वाध्य भयो ।

    हिजोको नतिजामा २२ वर्षअघिको इतिहास दोहोरिएको छ । सन् १९९९ भारतको गोवामा भएको साफ च्याम्पियनसीपमा पनि नेपालले नरेश जोशीको ह्याट्रिक गोलको सहयोगले श्रीलंकालाई ३–२ गोलले नै पराजित गरेको थियो । त्यसयता नेपालले श्रीलंकालाई जित्न सकेको थिएन ।

    विगतको तुलनामा नेपाली खेलमा सुधारको थुप्रै लक्षण देखिएका छन् । श्रीलंकाले निकै ‘फिजिकल’ खेल खेलेपनि नेपाली खेलाडीले आफ्नो संयमता नगुमाउनु नै सोमबारको खेलको सकारात्मक पक्ष देखिन्थ्यो । प्रशिक्षक अल्मुताइरीको योजना मुताविक नेपाली डिफेन्डरले श्रीलंकाका तीन स्तरीय खेलाडीलाई चेपेर राखेको अवस्थामा ७ नम्बर जर्सीधारी मिडफिल्डर काभेन्दु इसानले केही प्रभावशाली ‘मुभ’ देखाएका थिए । तर, उनी पनि पूर्णरूपमा नेपालको ‘वाल’ भत्काउन असफल भए । श्रीलंका तिब्र गतिमा खेल्ने भएका हुँदा सोमबारको खेलमा नेपालले बललाई ‘होल्ड’ मा राख्न सकेन । काउन्टर अट्याकका रणनीतिका कारण पनि हुनसक्छ ।

    साफ च्याम्पियनसीपको दुईवटा खेल सम्पन्न हुँदा नेपाल प्रतियोगिताको बलियो दावेदारको रूपमा प्रस्तुत भएको छ । दुइ खेलबाट ६ अंक बटुल्दै नेपाल शीर्षस्थानमा छ । विगतमा सेमिफाइनलबाट माथि उठ्न नसकेको नेपालका अगाडि अब भारत र बंगलादेशका रूपमा दुई ठूला चुनौति छन् । यी दुइ चुनौतिमध्ये एकलाई मात्र छिमलेको अवस्थामा नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गर्नेछ । जुन नेपालका लागि इतिहास रच्ने अवसर बन्न सक्छ ।

  • हराएको प्रेमपत्र र नमेटिएका यादहरु

    हराएको प्रेमपत्र र नमेटिएका यादहरु

    फेसबुक स्क्रोल गर्दै थिए । वालमा ‘सेयर योर मेमोरी’ भनेर फेसबुकले सुझाएको एउटा फोटो देखियो । फोटो थियो– एसएलसी पास भएपछि स्कुलले राखेको विदाइ कार्यक्रमको । उक्त फोटोले मलाई एकैचोटि स्कुलजीवनतिर धकेल्यो, स्कुलसँगै त्योबेलाका केही रोचक घटनाहरु मानसपटलमा घुम्न थाल्यो ।

    टाउको वरिपरि माहुरी भुनभुनाएजसरी त्यो बेलाका मसिनादेखि मोटा सम्झनाहरु तँछाडमछाड गर्दै घुम्न थाले । बार्दलीमा लुकाएका ती प्रेमपत्रहरुको यादले चिमोट्यो । ब्ल्याकबोर्डमा शिक्षकलाई गाली गर्दै अनेक लेखेको, अरुलाई नै दोष थोपरेको, अरुले नै सरबाट पिटाइ खाँदा आफू भित्रभित्रै गद्गदिएको सम्झनाले नै पुलकित बनायो ।

    घरमाथिको सरकारी स्कुल । आमाले काखीमा च्यापेर स्कुल पुर्याएको, आमा घर फर्कन लाग्दा डाँको छाडी रोएको, सरमिसले फकाएको, साथीहरुले जिस्क्याएको । त्यतिबेला त्यो पीडा नै थियो होला, तर ती पीडाको स्मरण मात्रै पनि अहिले स्वादिलो लागिरहेछ ।

    एक बजे हाफ टाइमको घण्टी बज्न थाल्नेबित्तिकै हतारहतार खाजा खान घरतिर दगुरेको, आमाले बिहानको भात पस्केर दिएको, कहिलेकाहिँ खाजा नहुँदै भाँडा ठटाउँदै, रुँदै स्कुल फर्केको । आहा ! त्यो मसिना कुरामा पनि खुसी हुने, दुखी हुने र फकिने निर्दोष मन फिर्ता ल्याउन पाए म जे पनि गर्थें होला ।

    आकाशे रंगको सर्ट र नीलो फ्रक । आमाले माया गरेर सपक्क पारी कोरिदिएको कपाल, रातो रिबनको फुर्का, कसैको आँखा नलागोस् भनेर आमाले गाला वा च्यापुमा लगाइदिएको कालो टीको । मुसुमुसु हाँस्दै, फुर्कदै सुर्केनो पार्ने झोलामा किताब बोकेर घर–स्कुल गर्दाको त्यो खुसीको मूल्य कति अर्ब पर्ला ?

    सबैले कति राम्री भन्थे । कति ज्ञानी भन्थे । पढाइ पनि राम्रो थियो । अनुशासनको पुरस्कार पाउथेंँ । अतिरिक्त क्रियाकलापहरुमा पनि कहिल्यै दोस्रो हुन परेन । टोल–छिमेकका काका–काकी भन्थे– छोरी होस् त अनिशा जस्ती । पाँच रुपैयाँ पर्ने मयूर कापी पुरस्कार पाउँदा ब्रम्हाण्डकै सबैभन्दा ठूलो खुसी मिलेको अनुभूत गर्ने मेरो मनस्थिति केले बिगार्यो होला ? आज किन पाएका ठूलाठूला कुराले पनि मलाई खुसी दिन सक्दैन ? खुसी मबाट टाढा भयो कि म खुसीबाट टाढा भएँ ? आँखा रसायो ।

    सबैको प्रशंसाबाट फुर्कन्थें । तर फुर्किएको कसैले थाहा नपाओस् भनेर निहुरिन्थें । आज त्यसरी प्रशंसा गर्नेहरुले मलाई के सोच्दा हुन् ?

    घरमा पनि सबैको प्यारी थिएँ । हाम्रा तीन दिदीबहिनीमध्ये पनि म नै सबसे प्यारी थिएँ । तै पनि हामीलाई बाहिरफेर हिँड्न र घुम्न जान पारिवारिक अनुमति हुँदैनथ्यो । घरपछाडिको झ्याङमा वनमाराको मुन्टा टिपेर चुंगी बनाएर खेल्थ्यौं, थोत्रा मोजामा कोदोको भुस भरेर बल खेल्थ्यौं । त्यो वनमाराको पात र कोदोको भुससँग खेल्दाको आनन्द आज हजरौं पर्ने मोबाइलमा क्याण्डीक्रस खेल्दा पनि आउँदैन ।

    काठमाडौं बस्नुहुने बुवालाई एक कल फोन गर्न भोगेको सास्ती र बुवासँग बोलेपछि मिलेको खुसी शब्दमा वर्णन गर्न सक्दिनँ । आज सबैको हातमा मोबाइल छ, कुराकानी भइरहन्छ । तर, त्यो बेलाको जति खुसी केही गर्दा पनि अनुभूति गर्न सक्दिनँ ।

    कक्षा आठ पढेपछि गाउँमा पढ्ने अर्को स्कुल थिएन । माध्यमिक तहको शिक्षा हासिल गर्न एक घण्टा हिँड्नु पर्ने बाध्यता थियो । घरको काम सकेर स्कुल जान ढिला भयो भन्दै हाम फाल्दै हिँड्नु पर्ने । गर्मीमा अगांलोभरिका किताब बोकेर पसिना पुस्दै फर्कन पर्ने, त्यो उकालो । एक मुठी चिउरा र मकै झोलामा राखेर त्यो घना जंगलमा लुकाएर राख्ने हामी साथीभाइ । साह्रै कठिनका साथ पढाइलाई निरन्तरता दिँदै गएँ ।

    कक्षाकोठामा सबैभन्दा सानो छात्रा थिए म । साथीहरुले हो– हल्ला गर्दै कागजका डल्लाले हिर्काएका ती दृश्यहरु आँखामा आइरहन्छ ।

    एक्कासी एउटा घटनाको याद आयो । कक्षाकोठाको झ्यालमा बसेर बाहिरका दृश्य नियाल्ने गर्थे । एकजना मान्छेले मलाई एकोहोरो हेरिरहेको देखें ।

    एकदिन होइन, दुई दिन होइन । ऊ प्रायः उसैगरी मलाई एकोहोरो हेर्न थाल्यो । उसले हेरेको देखेर साथीहरुले पनि मलाई जिस्क्याउन थाले ।

    एकदिन एकजना साथीले मलाई एउटा कागजको चिर्कटो थमाइदियो । उसले उक्त कागज दिँदै भन्यो– ‘मेरो साथीले दिएको लभलेटर हो । पढ है !’ यति भनेर ऊ गयो ।

    म आत्तिएँ । मैले एउटी मिल्ने साथीलाई लभलेटर आएको सुनाएँ । घर फर्कदाँ जंगलमा लुकेर हामीले त्यो पत्र पढ्यौं । पत्र पढ्दा एकहिसाब डरसँगै उत्सुकता बढेको प्रष्टै याद छ । लेखेका अक्षरहरु याद नभए पनि भाव सम्झँदा अहिले पनि मन फुरुङ्ग हुन्छ ।

    त्यो पत्र च्यात्न मन लागेन । घर लगेर बार्दलीको कठ्पलमा घुसारें । बेलाबेलामा कसैले नदेख्ने गरी खुसुक्क पढेर फेरि त्यहीं राख्न थाले । पत्र पढ्दापढ्दै म पनि भावुक भएछु । प्रतिक्रिया दिनु पर्छ लाग्यो । लेखें– यो हाम्रो पढ्ने बेला हो, लभ गर्ने होइन । म तिमीलाई साथीको हिसाबमा मात्रै सोच्छु ।

    मेरो जवाफले ऊ निरास भयो । झ्यालबाट हेर्न पनि छाड्यो । हेर्छ कि भन्ने आश लाग्थ्यो, तर हेर्दैनथ्यो ।

    ऊ पहिलाको भन्दा बेग्लै भएको थियो । पहिला जस्तो साथीभाइसँग खेल्न छाड्यो । एकोहोरो हुन थाल्यो । सायद मैलाई नै सम्झिएर टोल्हाउँथ्यो ।

    यस्तैमा एसएलसी आयो । नतीजा आयो । हामी दुवै पास भएछौं । त्यसपछि ऊ कता गयो कता ? तर, उसको याद अझै ताजै छ । एकचोटि राम्रोसँग बोल्नै नपाइ ऊ टाढा भयो । सायद, आज पनि मलाई सम्झँदै छ, मैले जस्तै ।

    ऊ टाढिए पनि उसको त्यो पत्र मैले सुरक्षितसाथ बार्दलीमा राखेको थिएँ । २०७२ सालमा भूकम्पले घर भत्काउँदा मेरो प्रेमपत्र कहाँ पुग्यो होला ! तर अहिले पनि पहिला घर भएको ठाउँमा पुग्दा त्यहीं पत्र र त्यहीं  यादले गिजोल्छ ।

    आज लाग्छ, अहिले प्रविधिको यो जमानामा कहिँकतैबाट उसले यो मेरो ब्लग पढ्नेछ भन्ने आश छ ।

  • चक्कु प्रहार गरी हत्या गरेको आरोपमा बूढानीलकण्ठबाट एक युवक पक्राउ

    चक्कु प्रहार गरी हत्या गरेको आरोपमा बूढानीलकण्ठबाट एक युवक पक्राउ

    काठमाडौं । चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

    विराटनगर घर भइ बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्दै आएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी लिम्बुले गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ ।

    गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • लुम्बिनीमा चीनबाट ल्याइएका अत्याधुनिक विद्युतीय बस र ट्याक्सी अलपत्र, पाटपूर्जा बिग्रन थाले

    लुम्बिनीमा चीनबाट ल्याइएका अत्याधुनिक विद्युतीय बस र ट्याक्सी अलपत्र, पाटपूर्जा बिग्रन थाले

    रुपन्देही । संघीय मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा गतवर्ष चीनबाट ल्याइएका विद्युतीय बस र ट्याक्सी अलपत्र परेका छन् ।

    विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी संचालनको छाँटकाट नै नदेखिएपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् ।

    गतवर्ष चीनबाट दुईपटक गरी ५ बस र १४ विद्युतीय ट्याक्सी लुम्बिनी ल्याइएको थियोे । त्यसयता यी सवारी साधन लुम्बिनीस्थित विद्युतीय चार्जिङ स्टेसनको पार्किङमा थन्काएर राखिएको छ  । तर लुम्बिनी विकास कोषले विभागीय मन्त्रालयबाट नै हस्तान्तरण नभएकाले रोकिएको जनाएको छ ।

    ‘हामीले संचालनको तयारी गरेका छौं, मन्त्रालयबाट विकास कोषलाई हस्तान्तरण भएपछि तुरुन्त टेण्डर प्रकृयामा जान्छौं’, लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने । गतवर्ष चीनबाट भारत हुँदै ती सवारी साधन सिधै लुम्बिनी ल्याइएको थियो । तर अहिलेसम्म हस्तान्तरण भएको छैन ।

    एशियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी भित्र्याइएको थियो । यी सवारी यहाँ ल्याउँदा सरकारले साढे ३ करोड रुपैयां भन्सार शुल्क व्यहोरेको थियो  ।

    खुल्ला आकाशमुनि थन्काएर राखिएका यी सवारी साधन नचलाइ राख्दा छिटो बिग्रनसक्ने यातायात क्षेत्र प्राविधिकहरु बताउँछन् ।

    यसका लागि आवश्यक चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि संचालनको मोडालिटी तयार नहुंदा लुम्बिनीमा लामो समयदेखि खुल्ला आकाशमुनि सवारी राखिएको हो ।

    पर्यटन व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीयस्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन–लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना सार्वजनिक भएपछि पर्यटक आकर्षण गर्न सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

    विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले संचालनको योजना बनाउन थालेको थियो । तर संचालनको ठोस मोडालिटी अझै बनाइसकेको छैन । विकास कोष आफैंले विद्युतीय सवारी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउँदै आएको छ । कोषले टेन्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको छ ।

    लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले यातायात विभागसँग समन्वय भइरहेको र निजी तथा सरकारी कुन निकायलाई जिम्मेवारी दिने विषयमा अन्यौल भएको बताए ।

    लुम्बिनीमा जापानको इसाका इलेक्ट्रिक कम्पनीले १३ करोड लागतमा बस र भ्यान चार्जिङ गर्ने स्टेसनको काम अन्तिम चरणमा पु¥याएको छ । तर, कोरोना महामारीले काम नसक्दै ठेक्का समयावधि सकिएको छ । म्याद थप अझै भएको छैन ।

    सोलार र विद्युत्बाट बस र ट्याक्सी चार्जिङ गरिने छ । यसका लागि लुम्बिनीमा सोलार प्लान्ट जडान गरिएको छ । पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ ।

    चार्किङ स्टेसनबाट एकैपटकमा १३ सवारीसाधन चार्ज गर्न सकिने बनाइएको छ । यहाँ ल्याइएका बस पूर्ण वातानुकूलित र अपांगमैत्री छन्  । बसमा १९ र ट्याक्सीमा ५ सिट छन् । बस कार्डले स्टार्ट हुन्छ  भने बस र ट्याक्सी आवाजरहित छन् ।

    एक पटक फुल चार्ज गरे चार सय किमिसम्म गुड्छ । आपतकालीन ठुल्ठूला ढोका छन् । लुम्बिनीमा बढ्दो वातावरणीय मध्यनजर गरेर विद्युतीय सवारी ल्याइएको हो ।

  • काँक्रेबिहारको ६ हेक्टर वन क्षेत्र मासिँदै, वन डिभिजन प्रमुख र वडाअध्यक्ष मिलेको आरोप

    काँक्रेबिहारको ६ हेक्टर वन क्षेत्र मासिँदै, वन डिभिजन प्रमुख र वडाअध्यक्ष मिलेको आरोप

    सुर्खेत । डिभिजन वन प्रमुख गोविन्दप्रसाद दाहाल र वीरेन्द्रनगर नगरपालिका– ९ का वडाअध्यक्ष सुरेश मानन्धरको मिलेमतोमा सुर्खेतको काँक्रेबिहान वन क्षेत्र मास्न खोजेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार जग्गा व्यवसायीका लागि अनुकुल हुने गरी डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेबिहार संरक्षित वन क्षेत्रको ६ हेक्टर वन मास्न लागिएको हो ।

    काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल निर्माण गर्न थालेपछि स्थानीयस्तरमा आलोचना हुन थालेको छ ।

    सो क्षेत्रमा पक्की पर्खाल लगाउनका लागि महादेव खिम्ती हिराचन (केएसके) ज्वइन्ट भेन्चर कम्पनीसँग डिभिजन वन कार्यालयले सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार कम्पनीले ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का पाएको हो ।

    सो सीमा क्षेत्रमा निर्माणाधीन पर्खालभन्दा बाहिर ५–७ मिटर वनको जग्गा छोडेर भित्र पर्खाल लगाइएको निर्माण कम्पनीका फिल्ड प्राविधिक महेन्द्रप्रसाद शर्माले जानकारी दिए । उनले डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोविन्द प्रसाद दाहाल र वडाअध्यक्षको निर्देशनमा काँक्रेबिहार वन क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइएको बताए ।

    ‘पर्खालभन्दा बाहिर जग्गा छोड्न डिभिजन वन कार्यालयका प्रमुख र वडाअध्यक्षले निर्देशन दिएका हुन् । सोहीअनुसार हामीले काम गरिरहेका छौं’, उनी भन्छन् ।

    सुर्खेतको काँक्रेबिहार संरक्षित वन क्षेत्र नेपालको पहिलो संरक्षित वन हो । २०५९ साल वैशाख ३० गते नेपाल सरकारद्वारा संरक्षित वन क्षेत्र घोषणा भएको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणलेसमेत महत्वपूर्ण छ ।

    डिभिजन वन कार्यालयल सुर्खेतले काँक्रेबिहार वन क्षेत्रको सीमा र निजी व्यक्तिहरुको नाममा दर्ता भएका जग्गाको सीमा छुट्याउने गरी पर्खाल निर्माण गर्न थालिसकेको छ ।

    यसअघि कम्पाउण्ड वाल निर्माण नहुँदा काँक्रेबिहार क्षेत्र भित्रको रिङरोड (जंगल वरिपरिको बाटो)लाई देखाएर जग्गा व्यवसायीले प्लटिङ गरी जग्गा किनबेच गराइसकेका छन् ।

    पर्खालको सुरक्षाका लागि सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाइएको डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख दाहालले जानकारी दिए । ‘पर्खाल लगाउँदा सेड व्याकका लागि जग्गा छोडिएको हो’, उनले भने ।

    वडाअध्यक्ष मानन्धरले आफूहरु वन क्षेत्रको जग्गा मास्न नदिनेमा प्रतिबद्ध भएको बताउँछन् । ‘यो क्षेत्रलाई जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो । सरकारी वन क्षेत्रको जग्गालाई कुनै हालतमा मासिन दिइँदैन । प्राविधिकहरुले सुरक्षाको दृष्टिले सेट ब्याक पर्खाल लगाउन भनेपछि हामी तयार भएका हौं । यसमा मेरो कुनै मिलेमतो छैन’, उनले भने, ‘तर पाँच मिटर जग्गा भित्र पर्खाल लगाउन सुरु गरिएको हो । त्यो वन क्षेत्रको सुरक्षाका लागि नै हो ।’

    उनले विगतमा पोल गाडेर राखिएको स्थानबाट नै वनको सिमाना कायम हुने दावी गरे ।