रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्याएको बताएका छन् । उनले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनीसमेत दिएका छन् ।
शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आएका प्रचण्डले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’
प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’
हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताएका थिए ।
प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु ।’
मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए । उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्ला तहमा आयोग गठन गरेर चुनावअघि पूर्जा वितरण गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरेका थिए । छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार देशभर ७६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयक अनुसार १२ हजार ३१ वटन नमूना (६१६८ पीसीआर र ५८३३ एन्टीजेन) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ८९९ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ९०९९३ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ३४० छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १ हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ९६३ पुगेको छ ।
हालसम्म ७ लाख ७५ हजार ७२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ पुगेको छ ।
काठमाडौं । सहरी विकास मन्त्रालयमा शुक्रवार साँझ मन्त्रीको स्वागतका लागि बसेका कर्मचारीमा संशय थियो–नयाँ मन्त्री रामकुमारी झाँक्री कडा छिन्, के भनेर झपार्ने हुन् कि ?
तर जसै मन्त्रीको प्रवेश भयो सोचेभन्दा फरक दृष्यमात्र देखियो । गाडीबाट ओर्लेदेखि नै उन्मुक्त हाँसोमा देखिएकी झाँक्रीका हरेक पोजमा हाँसोबाहेक अरु देखिएन ।
नेपालप्रेसकर्मी उमेश कार्कीले झाँक्रीले मन्त्रीको पदभार ग्रहण गर्दाको उनको हाँसोलाई १० तस्बिरमा यसरी कैद गरेका छन् ।
काठमाडौं । नेकपा एमाले आबद्ध बुद्धिजिवीहरुको संगठन राष्ट्रिय बुद्धिजिवी परिषद् पार्टी एकताको १० बुँदे सहमति बमोजिम जेठ २ को संरचनामा फर्किएको छ ।
शुक्रबार र शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले नेकपा एकता प्रक्रियापछि माओवादीबाट एमालेमै बसेकाहरुलाई समेत समेटेर नेतृत्वमा हेरफेर गरिएको हो ।
संगठनको अध्यक्षमा जेठ २ अघिकै डा.दिनेशचन्द्र देवकोटा पुनर्वहाली भएका छन् । उनी यसअघि माधव नेपाल समूहमा थिए । माधव नेपाल समूहमा लागेका महासचिव शिवशंकर घिमिरेलाई कारवाही गरेर इन्जिनियर गजेन्द्र थपलियालाई महासचिवको जिम्मेवारी दिइएको छ ।
थपलिया केपी शर्मा ओली नेतृत्वको सरकारमा विकास मामिला विज्ञ थिए । त्यस्तै कोषाध्यक्षको जिम्मेवारी गोपी न्यौपानेले पाएका छन् । न्यौपाने उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक हुन् ।
यसअघि ८३ सदस्यीय रहेको केन्द्रीय समितिमा एकताबाट आएका १० प्रतिशत थप्नेगरि ९१ सदस्यीय बनाइएको महासचिव थपलियाले जानकारी दिए । उनका अनुसार २६ सदस्यीय सचिवालय गठन भएको छ र त्यसबाटै बाँकी पदाधिकारी चयन हुनेछन् ।
माधव नेपालतिर लागेका बरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवरसहित उपाध्यक्षहरु शिवशंकर घिमिरे,कलावती जोशी सहित १० जनालाई कारवाही गरिएको उनले बताए ।
संगठनको उपाध्यक्षमा जेठ २ अघिकै मदन कोइराला,बासुदेव अर्याल,लिलाधर तिवारी,कविता लुइटेल र पीबी गोले कायम भएका छन् भने अन्य सचिवालयबाट चयन हुनेछन् ।
चितवन । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो ।
मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको संख्या बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो ।
कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए ।
काठमाडौं । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२.२६ अर्बको पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ ।
यसैगरी बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्यसचिवका रुपमा रहने जनाइएको छ ।
बैठकले लगानी बोर्डको आव २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको शेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिए ।
प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुका बारेमा जानकारी गराए ।
सो अवसरमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
काठमाडौं । भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा गर्यो । चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले ।
चितवनका लागि ४१ बलको सामना गरेका भीमले ७ चौका र २ छक्कासहित ६३ रनको शानदार इनिङ खेले । यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जोडे ।
बलिङतर्फ पोखराका लागि किशोर महतोले ३.५ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै नन्दन यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्दो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।
पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । तर, त्यसपछि लागार विकेट गुमाएको पोखराका लागि माथिल्लो अर्डरका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
लेभी १५ बल खेलेका ५ चौकासहित २६ तथा विपिनले १५ बलमा १ चौका र १ छक्कासहित १७ रन जोडेका थिए । त्यसपछि रित गौतम र सहान अराचिगे ७/७ बल खेलेर २/२ रनमा पेभेलियन फर्केका थिए ।
यस्तै, असेल गुणारत्ने २४ बलमा ३४ रन खेलेर पेभेलियन फर्किँदा कप्तान विनोद भण्डारीले २६ बलमा २ चौकासहित २२ रन बनाए ।
अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पोखरा १ सय ११ रनमा प्याक भयो । चितवनका लागि कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जनत र सेकुगे प्रसन्नाले २–२ तथा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित सुन्दर ट्रफी हात पारेको छ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाएको यो अहिलेसम्मकै ठूलो राशी हो ।
काठमाडौं । दसैँ सुरु भएसँगै युट्युवमा पनि दसैँ गीतहरु बढी हेर्न थालिएको छ । यो साता युट्युवमा सर्वाधिक हेरिएका गीतहरुमा दसैँ गीतहरु समावेश छन् । पछिल्लो साता टंक बुढाथोकीद्वारा संगीतबद्ध गीत दसैँ आयो युट्युुवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ ।
यो दसैँ गीतलाई पछिल्लो एक सातामा मात्र १६ लाख ५३ हजार १३९ पटक हेरिएको छ भने कूल २९ लाख २२ हजार १०१ भ्यूज रहेको छ ।
विष्णु माझीको स्वरमा रहेको गीत ‘दसैँ आइसक्यो’ दोस्रो स्थानमा छ । यो गीतलाई एक सातामा मात्र ११ लाख ९४ हजार ४१९ पटक हेरिएको छ भने कूल भ्यूज संख्या ४१ लाख ४७ हजार ९३७ छ ।
विष्णु माझीकै अर्को गीत ‘चरी जेलैमा’ एक महीनाभन्दा बढी समयदेखि लगातार सूचीमा छ । पछिल्लो साता यो गीतलाई तेस्रो सर्वाधिक पटक हेरिएको छ । पछिल्लो सातामा यो गीतलाई १० लाख ३१ हजार पटक हेरिएको छ । यसको कूल भ्यूज संख्या २ करोड ६२ लाख ९० हजार पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले सूची तयार पारेको हो । हेर्नूस सूची :
१. टंक बुढाथोकी ‘दसैं आयो’ : १६,५३,१३९
२. विष्णु माझी ‘दसैं आइसक्यो’ : ११,९४,४१९
३. विष्णु माझी ‘चरी जेलैमा’ : १०,३१,५६८
४. अस्मिता अधिकारी र खेम सेन्चूरी ‘रम रम मरौंटी’ : १०,११,९८३
५. रमेश राज भट्टराई र रचना रिमाल ‘भन साइला’ : ७,९९,४८४
काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा घोषणा समारोह राखिएको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्रीसमेत रहेका घोषणा मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले बताए । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार घोषणाको तयारी गरिएको हो । गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत रहेको उनले बताए ।
उनले भने, ‘लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्छ । अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र घोषणा गर्ने उल्लेख थियो, सोही अनुसार गर्न लागेका हौँ ।’ गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले स्थलगत घरधुरी सर्भेक्षण गरी निरक्षर व्यक्तिलाई साक्षर बनाउन सरकारले अभियानको रुपमा ‘साक्षर नेपाल अभियान’ देशव्यापी सञ्चालन गरेको जानकारी दिए । शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५,५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ ।
मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमवल चार, बागलुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, गोरखा ९७ दशमलव दुई, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ । जिल्लागतरुपमा सबै जिल्ला यसअघिनै साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । विसं २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत विसं २०७४ माघ १८ मा घोषणा भएको थियो ।
सरकारले सबै नागकिलाई साक्षर बनाउन र विद्यालय जाने उमेरका पाँच वर्षमाथिका बालबालिकाका लागि विद्यालय भर्ना अभियान गत वर्ष सञ्चालन गरेको थियो । पन्ध्र वर्ष वा सोभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षर बन्ने अवसर प्रदान गरी साक्षर नेपाल घोषणाको नीति सरकारको रहेको छ ।
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पहिले ब्याटिङ गरेको पोखरा राइनोजले चितवनलाई १ सय १२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्दो पाएको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको हो ।
पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । तर, त्यसपछि लागार विकेट गुमाएको पोखराका लागि माथिल्लो अर्डरका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
लेभी १५ बल खेलेका ५ चौकासहित २६ तथा विपिनले १५ बलमा १ चौका र १ छक्कासहित १७ रन जोडेका थिए । त्यसपछि रित गौतम र सहान अराचिगे ७\७ बल खेलेर २\२ रनमा पेभेलियन फर्केका थिए ।
यस्तै, असेल गुणारत्ने २४ बलमा ३४ रन खेलेर पेभेलियन फर्किँदा कप्तान विनोद भण्डारीले २६ बलमा २ चौकासहित २२ रन बनाए ।
अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पोखरा १ सय ११ रनमा प्याक भयो । चितवनका लागि कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जनत र सेकुगे प्रसन्नाले २–२ तथा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
प्रतियोगिताको विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो ।
काठमाडौं । नेकपा एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनबाट जीवन थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर भट्न, सचिव बिष्णु पाण्डे र उपसचिवमा ध्रुव धरेल र हेम कार्की चयन भएका छन् ।
एमाले पर्यटन इलाका कमिटी सदस्यमा बिदुर खतिवडा, प्रकाश लामिछाने, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी सापकोटा, पुरु रिमाल, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लगायत चयन भएका छन् ।
अधिवेशनको उद्घाटन एमाले नेता शंकर पोखरेलले गरेका थिए ।
काठमाडौं । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताइन् । उनले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताइन् ।
मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना हुनुपर्ने भएकाले त्यसका लागि पहल भइरहेको बताए । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहमा बाल हेल्प लाइन र अन्य संयन्त्रबाट त्यहाँ हुने हिंसा र विभेदको उजुरी लिएर न्याय दिलाउन सकिने प्रणाली स्थापनाको पहल भइरहेको जानकारी दिए । राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाको अधिकार संरक्षण र प्रवद्र्धन तथा विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताए ।
सोही अवसरमा सडक बालबालिकालाई खेलकुदमा अग्रसर गराउन ‘सडकदेखि रङ्गशालासम्म’ कार्यक्रमका लागि परिषद् र नेपाल रग्बी सङ्घबीच सम्झौता सम्पन्न भयो । सम्झौतामा कार्यकारी निर्देशक धरेल र सङ्घका अध्यक्ष टङ्क घिसिङले हस्ताक्षर गरे । यस्तै राष्ट्रिय बाल दिवस (भदौ २९) का अवसरमा मन्त्रालय र परिषद्द्धारा आयोजित ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक भिडियो निर्माण प्रतियोगिताका प्रथम र द्वितीय हुने बालबालिकालाई नगद क्रमशः रु २५ र २० हजारसहित पुरस्कार प्रदान गरियो ।
यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदैछ । १९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्र सङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा संसारभरि बालिका अधिकारलाई प्रवर्द्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण र अभियान सञ्चालन हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सबैलाई भागबण्डा मिलाउँदा पार्टीका क्षमतावान र योग्य साथीहरुलाई मन्त्री बनाउन नसकिएको बताएका छन् ।
शनिबार स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाद्धारा बालुवाटारमा आयोजित पुष्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्य साथीहरुलाई मन्त्री बनाउन नसक्दा आफू दुःखित भएको बताए ।
देउवाले भने- शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाएको छ, पार्टीका योग्य र क्षमतावान साथीहरुलाई न्याय गर्न नसकेकोमा म दुःखी छु । यो गठबन्धनको सरकार हो, बुझ्नुहुन्छ सबैले ।
देउवाले आउने दिनमा अहिले अवसर नपाएकाहरुलाई उचित जिम्मेवारी दिइने बताए । प्रधानमन्त्रीले वीपी कोइराला शताब्दी सन्देश पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिए ।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता महरले सो कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता मीन विश्वकर्मा,तारादेवी भट्ट लगायतले सम्बोधन गरेका थिए ।
काठमाडौं । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो ।
उनले भने, ‘साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।’ अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उनको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।
पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ । अण्डामा पाइने एन्टी अक्सिडेनटले बुढ्यौली र हृदयघात रोक्न मद्दत गर्ने छ । आँखाको शक्ति बढ्ने र मोतीयाविन्दुको रोकथाम हुने, प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत बनाउने, रक्त अल्पताबाट बचाउने, रोग प्रतिरोधी क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र अधिक तौल (मोटोपना) घट्न गइ फुर्तिलो बनाउन सहयोग गर्ने छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा जारी सन्देशमा स्वास्थका लागि अत्यावश्यक, पूर्णपाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उल्लेख छ ।
विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीको सन् १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोश्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने परम्परा रही आएको छ ।
काठमाडौं । कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताए ।
समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको अध्यक्ष शेर्पाले आरोप लगाए ।
रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।
सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो ।
रुपन्देही । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सभामुख अग्नि सापकोटाले संविधान तथा ऐन नियमविपरीत काम गरेकोले माफी मागी गल्ती नसच्चाएसम्म संसद अवरोध कायमै रहने बताएका छन् ।
प्रेस चौतारी पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निस्कासन गरेको सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीको लागि गल्ती भएको स्वीकार नगरेसम्म संसदमा अवरोध कायम रहने पार्टीको स्पष्ट धारणा रहेको बताएका हुन् ।
ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएकोले लामो समससम्म नटिक्ने दावी गर्दै मुलुकलाई अनियर्णको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने धारणामा एमाले अहिले पनि अडिग रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएका सरकारका प्रतिनिधिसंग यस विषयमा छलफल भइरहेको र सरकारले संघीय निर्वाचनको लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने ज्ञवालीको भनाइ थियो । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउने दावी प्रवक्ता ज्ञवालीले गरे ।
गठवन्धनले एमालेलाई फुटाउन मात्र अध्यादेश ल्याएको, एमाले फुटाएपछि पुन फिर्ता गरेकाले सरकारको नियत प्रष्ट भएको उनले बताए । पूर्व परराष्ट्रमन्त्री रहेका ज्ञवालीले सरकारले भारतीय सिमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसंग निहुँ खोज्ने गरी गलत काम गरिहेको बताए ।
चितवन । खेलकुद र सांगीतिक कार्यक्रमका लागि चर्चित नारायणगढको क्याम्पाचौरमा शुक्रबार बिहान फरक दृश्य देखियो । एम्बुलेन्स, दमकलको साइरनले माहोल फरक थियो । सर्वसाधरण ‘बचाउ, बचाउ’ भन्दै कराए । कोही मलमपट्टी लगाउँदै थिए । कोही घाइतेलाई स्ट्रेचरमा राखेर दौडदैँ थिए ।
चितवनको शक्तिखोर केन्द्रबिन्दु बनाएर बिहान साढे ९ बजे आएको ७ दशलमव ३ रेक्टर स्केलको भूकम्पले भरतपुर महानगरको सहरी क्षेत्रका करिब ७ सय घरमा क्षति पुर्याएको, १५ जना गम्भीर, एक सय १५ जना सामान्य र ९ जना बेपत्ता भएका खबर गुञ्जिए । रेडियोमा भरतपुर–२ बेलटाँडीका काले भुजेलका १८ वर्षीय छोरा सिसिहाङ मृत फेला परेको समाचार बज्दै थियो । क्याम्पाचौरमा आश्रय लिएका भूकम्पप्रभावितहरु झाडापखलाबाट ग्रस्त भए । राहत नपाएको गुनासो गर्दै प्रभावितहरु महानगर र जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगे । यी सबै घटनाले २०७२को भूकम्पकै झल्को दिँदै थियो । सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतले उद्दारमा खटिएका गतिविधि नियाल्दै स्थानीय झुम्मिएका थिए ।
केहीबेरपछि चौबिसकोठीमा रहेको शेर्पा इलेक्ट्रोनिक्स पसलमा विद्युत् सर्ट भएर चौविसकोठी आसपासका करिब १० घर जलेको खबर सुनियो । आगलागीबाट एक जनाको ज्यान गयो । घर जलेर नष्ट भएपछि प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
स्थानीय प्रशासन, स्थानीय सरकारको टोलीले स्थलगत अवलोकन गरेका दृश्य पनि देखिए । अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनाको परिदृश्य पनि देखाइएको थियो । विपद्का बेला हुने गतिविधि र राज्यका संयन्त्रबीच हुने समन्वयलाई देखाउने प्रयास चल्दै थियो । तर यी कृत्रिम घटनाका दृश्य हुन् । सहरी विपद् पूर्वतयारी परियोजना युरोपियन यूनियनको आर्थिक सहयोगमा युएनडिपि र महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।
कृत्रिम घटना अभ्यासले विपद्को पूर्वतयारी, पुनर्लाभ र पुनःस्थापनाका विधिबारे जानकार बन्न सघाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । मेयर रेनु दाहालले महानगरले जोखिम नक्सांकन गरेर विपद् नियन्त्रणका लागि पूर्वतयारी गर्दै आएको बताइन् ।
उनका अनुसार आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् राहत मापदण्ड तथा विपद् व्यवस्थापन कोष कार्यविधि, कृत्रिम घटना अभ्यास निर्देशिका, आपलकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि बनाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले हरेक बजेटमा विपद् न्यूनीकरणका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
महानगर क्षेत्र आगलागीबाट जोखिमयुक्त मानिन्छ । आवासीय भवनमा अस्पताल, स्कुलहरु सञ्चालनमा छन् । पेट्रोल पम्प र आवास क्षेत्र नजिकै छन् । महानगरको वारुण यन्त्र इकाईका इञ्चार्ज देवेन्द्रराज रेग्मीले गत वर्ष ७९ वटा आगलागीका घटना भएको बताए । ‘विद्युत् सर्ट, ग्याँस लिकेजकै कारण आगालागी धेरै भएका छन्, बस्ती बाक्लो भएकाले आगो फैलिने जोखिम उस्तै छ’, उनी भन्छन्, ‘आगो लागेको खबर पाउने बित्तिकै ५–१० मिनेटमा पुग्न सके धेरै क्षति हुनबाट बचाउन सकिन्छ, तर धेरै टाढासम्म पुग्दा क्षति रोक्न सकिँदैन ।’
महानगरमा हाल २ दमकल सञ्चालनमा छन् । ‘नवलपरासीको गैडाकोटदेखि हेटौंडासम्म आगो निभाउन जानुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘महानगर क्षेत्रमै कम्तिमा ४ दमकल चाहिन्छ, ५ किमि दुरीको फरकमा दमकल स्टेसनहरु बनाउनुपर्ने देखिन्छ ।’
महानगर आपतकालीन सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले विपद् व्यवस्थापनमा महानगरले यो वर्ष करिब ३ करोड खर्चिने बताए । उनका अनुसार विपद् व्यवस्थापन कोषमा १ करोड ५० लाख, कोभिड तथा अन्यप्रकोपजन्य घटनामा १ करोड ९० लाख र विपद् व्यवस्थापन तालिममा ६० लाख बजेट विनियोजन गरको छ । भरतपुर महानगरमा आगलागी र भूकम्पसहित बाढी, पहिरो, डुबान, जंगली जनावरको आतंक जस्ता विपद्को जोखिम छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १०६८८ वटा (पीसीआर ९४६६ र एन्टिजेन १२२२) नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ६१४ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ८३९ पुगेको छ ।
हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २१० पुगेको छ ।
रुपन्देही । बुटवलमा बिहीबारदेखि दसैलक्षितं सस्तो बजार शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा असोज २५ गतेसम्म सञ्चालन गरिने दसैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ ।
दसैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका हुन् ।
मन्त्री शाहीले दसैंको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन दिएका थिए ।
मन्त्री शाहीले निजी क्षेत्रको बिकासको लागि आफूले काम काम गर्ने बताउँदै त्यसको लागि १२ वटै जिल्लाका निजी क्षेत्रसंग बसेर रायसुझाव लिने समेत बताए ।
संघका अध्यक्ष उज्वलप्रसाद कसजूले संघले विपन्न परिवारलाई लक्षित गरेर दसैंमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २० औं संस्करणको भएको जानकारी दिए । कोरोना महामारीका कारण अघिल्लो वर्ष भने दसैं बजार सञ्चालन गरिएको थिएन ।
दसैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँ नोट सटहीको लागि ग्लोवल आईएमई बैंकले व्यवस्थापन गरेको छ । त्यस्तै नेपाल दुग्ध विकास संस्थानको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङको नुनलगायतका दैनिक उपभोग्य सामाग्रीसहित मासु तथा अण्डा सस्तो बजारमा राखिएको छ ।
दसैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मूयमा उपलब्ध गराइने महासचिव विमलराज भट्टराईले जानकारी दिए ।
सुर्खेत । कर्णाली प्रदे्श सरकारले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउने भन्दै चालु आर्थिक वर्षबाट कर्णालीका दश जिल्लाका पचास जनालाई एमबिबिएस अध्यापन गराउने भएको हो । सामाजिक विकासमन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीका अनुसार प्रति जिल्ला पाँच जनाका दरले पचास जनालाई डाक्टर पढाउन तयारी थालिएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि नै कर्णालीमा विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम छात्रवृत्ति, दलित छात्रवृत्ति, छोरी बुहारी छात्रवृत्ति, अपांगता भएकाहरुका लागि छात्रवृत्ति दिइरहेको सरकारले पचास जना डाक्टरका लागि छात्रवृत्तिमा पढाउन सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि कम्तिमा २४ हजारदेखि एक लाख ३० हजारसम्मका दरमा मन्त्रालयले छात्रवृत्ति वितरण गरेको थियो । तर ती छात्रवृत्ति पाएकामध्ये अधिकांश सरकारको सम्पर्कमा छैनन् ।
‘हामी कर्णालीको स्वास्थ्य सेवालाई बलियो बनाउन प्रयासरत छौं । दक्ष जनशक्तिको अभावमा कर्णालीका नागरिकको ज्यान जान नपाओस भनेर यो योजना ल्याएका हौं’, दैलेखमा जिल्ला अस्पतालको भवन शिलान्यास गर्न गएका मन्त्री बुढाले भने ।
मन्त्रालयका योजना शाखा प्रमुख विनोद आचार्यले विभिन्न छात्रवृत्तिका लागि एक करोड रुपैयाँ विनियोजित भएको बताउँदै सोही रकमबाट डाक्टर पढाइने बताए ।