Author: Anisha Tiwari

  • ई-फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने

    ई-फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने

    काठमाडौं । दसैं-तिहारलाई लक्षित गर्दै ई-फार्मले खसी मेला सुरु गरेको छ। ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैंले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ।

    खसी ई–फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् ।

    उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कार्तिक ९ गतेसम्म संचालन हुनेछ।

  • आहा ! चाचाहुइ सरर… (तस्बिरहरू)

    आहा ! चाचाहुइ सरर… (तस्बिरहरू)

    काठमाडौं । दसैँमा एकछिन भए पनि धर्ती छोड्नु पर्छ भन्ने परम्परा अहिले पनि कायमै छ ।

    गाउँदेखि सहरमा दसैँ आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा यथावत्नै छ ।

    विभिन्न स्थानमा दर्जनौं दर्जन लिङ्गे पिङ हालेर बालबालिका देखि वृद्धवृद्धासम्मको भीड हुने गर्दथ्यो भने पछिल्ला केही वर्षयता गाउँ र शहरमा लिङ्गे पिङ कमै मात्र देख्न पाइन्छ ।

    काठमाडौंस्थित साँखुको घुमार चोकमा बालबालिकाहरु पिङ खेलिरहेका छन् ।
    हेर्नूस तस्बिरहरु :

    
             

     

  • पोखरामा दुई रुपैयाँमै चिया !

    पोखरामा दुई रुपैयाँमै चिया !

    पोखरा । अहिले चियाको मूल्य कति पर्ला ? २० रुपैयाँ । तर पोखरामा भने दुई रुपैयाँमा चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दसैँको अवसरमा दुई रुपैयाँको नोट लिएर जानेलाई चिया पिलाउन सुरु गरेको छ ।

    चियादानी सञ्चालक सुदीप पौडेलले भने, ‘जोसँग दुई रुपैयाँको नोट छ उसैले मात्र चिया पिउन पाउनेछ। सिक्काको पैसा भएर हुँदैन, दुई रुपैयाँको नोट नै चाहिन्छ ।’

    पछिल्लो समय दुई रुपैयाँको नोट हराउँदै गएकोले नोटको संरक्षणका लागि पनि आफूले यो कन्सेप्टलाई अगाडि सारेको उनले बताए ।

    यो अफर दसैँ समयअवधिसम्म मात्र हुनेछ । दुई रुपैयाँको चियामा ग्राहकले २० रुपैयाँको जस्तै स्वाद पाउनेछन् । चियादानीमा ४० भन्दा बढी प्रकारका चिया पाइन्छ । पोखराको बगरबाट सुरु भएको चियादानीको आउटलेट चितवनमा समेत खोलिएको छ ।

     

  • मिस युनिभर्स नेपालका अन्तिम १८ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    मिस युनिभर्स नेपालका अन्तिम १८ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    काठमाडौं । मिस युनिभर्स नेपालको १८ अन्तिम प्रतिस्पर्धीको सूची घोषणा भएको छ । यो सूचीमा यसअघि विभिन्न ब्यूटी पेजेन्टहरुमा चर्चित भैसकेका नामहरु पनि संलग्न छन् ।

    जसमा अनुस्का अधिकारी, प्रतिक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदिक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृती खड्का, मन्दिरा कार्की, निनाकान्त मन्डल, बिभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, स्मिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, प्रतिमा पन्थी, रक्षा उप्रेती छानिएका छन् ।

    अक्टोबर २० देखि २९ सम्म क्लोज क्याम्प र अक्टोबर ३० (कात्तिक १३ गते) ग्रान्ड फिनालीको कार्यतालिका घोषणा गरिएको छ ।

  • ग्लोबल आईएमई बैंकद्धारा लाभांश घोषणा

    ग्लोबल आईएमई बैंकद्धारा लाभांश घोषणा

    काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयर धनीलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    बैंकको संचालक समितिको असोज २५ गते बसेको बैठकले सो निणर्य गरेको हो ।

    बैंकले गत वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजन ३.५ प्रतिशत गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

  • जसपा मधेस प्रदेश समितिको अध्यक्षमा यादव चयन

    जसपा मधेस प्रदेश समितिको अध्यक्षमा यादव चयन

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समिति (प्रदेश २) को अध्यक्षमा पुनः विजय कुमार यादव अध्यक्ष चयन भएका छन् ।

    तत्कालीन राजपा र समाजवादीको समायोजन पश्चात जसपा मधेस प्रदेश समितिको अध्यक्षमा यादव चयन भएका हुन् । धनुषाको लक्ष्मीनियामा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा बसेको प्रदेश समिति बैठकबाट यादवको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति चयन गरिएको छ ।

    प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवलाई अध्यक्ष बनाएपनि अन्य पदाधिकारी चयन गरिएको छैन् । अन्य पदाधिकारी पछि चयन गरिने प्रदेश सदस्यमा चयन भएका नेता दिपेश यादवले जानकारी दिए । उनका अनुसार पूर्व राजपाका ५० जनालाई राखिएको छ ।

    अगामी कात्तिक १५ मा पदाधिकारी चयन गरिने बताइएको छ । समायोजन अगाडी राजिनामा दिएका निवर्तमान मुख्य सचिव शम्भु झालाई समितिमा राखिएको छैन् । यादवलाई अध्यक्ष बन्नबाट मुख्यमन्त्री लालबाबु राउतले रोक्ने प्रयास गरेपनि असफल बनेका छन् ।

  • सुनचाँदी खरिद बिक्रीलाई सहज बनाइदिन व्यवसायीको अनुरोध

    सुनचाँदी खरिद बिक्रीलाई सहज बनाइदिन व्यवसायीको अनुरोध

    काठमाडौैं । सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । वडादसैँ २०७८ को अवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

    महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर तिरेको सुनचाँदी तथा आभूषण व्यवसायलाई सहजरूपमा चलाउन पाउनुपर्ने माग गरे । उनले व्यवसायलाई मर्यादित बनाएर लैजाने प्रतिबद्धता जनाउँदै नेपाली मौलिक गहना निर्यात गरेर रोजगारी बढाउन सकिने धारणा राखे ।

    संस्थाकै विशिष्ट सदस्य रुद्रबहादुर बराइलीले राज्यले नीतिगतरूपमा सम्बोधन गरेको खण्डमा यस व्यवसायबाट धेरैलाई रोजगारी दिन सकिने तथा सरकारको राजस्वमा पनि बढोत्तरी हुने बताए ।

    महासङ्घको तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा गरगहना व्यावसायिक फर्म सञ्चालनमा छन् । महासङ्घमा अहिले चार हजार व्यवसायी आबद्ध छन् । मुलुकभर गरगहना व्यवसायीको कूल सङ्ख्या २३ हजार हाराहारी रहेको छ । वाणिज्य बैंकमार्फत दैनिक २० केजी सुन बिक्री वितरण हुँदै आएको छ । मागको ३० प्रतिशत मात्रै आपूर्ति हुने गरेको व्यवसायीको भनाइ छ ।

    संस्थाका द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्माले दैनिक २० किलोको कोटा निर्धारण गरेको यो मागअनुसार धान्नै नसकिएको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरे । यो व्यवसायमा करिब छ लाख कालिगड छन् । भारतको कोलकाता र पश्चिम बङ्गालबाट कालिगड आउँछन् । यसमा नेपाली ४० र विदेशी ६० प्रतिशत छन् ।

    आयातित सुनमध्ये १० किलो वाग्मती प्रदेश र बाँकी १० किलो ६९ जिल्लालाई जाने गरेको छ । बैंक खाता खोल्न नसकेर सुन ल्याउन समस्या भएको व्यवसायीको गुनासो छ । विश्व बजारमा सुनको गरगहनाको माग बढ्दो छ । अहिले ५० भन्दा बढी देशमा गरगहना पठाइने गरिएको छ । महासङघमा २६ सङ्घ आबद्ध छन् । व्यवसायीले हरेक बैंकमा खाता खोल्नुपर्छ ।

  • बालविवाह नगर्नेलाई भत्ता दिन सुरु

    बालविवाह नगर्नेलाई भत्ता दिन सुरु

    चितवन । चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप १५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो ।

    उनले भनिन् ‘२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।’ उनका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उनी बताउछिन् ।

    केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउछिन् । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् । बीचमानै पढाइ नछोड्नु र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो ।

    सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८२० जनसंख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ ।

    छात्रबासमानै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको संख्या घट्दै जाने गरेको उनले जानकारी दिइन् । उनले भनीन्, ‘हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।’
    रासस

  • नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

    नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए ।

    उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोनाभाइरसविरुद्धको खोपको पनि योगदान रहेको बताए ।

    साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु संक्रमण घट्नुको अर्को कारण भएको उनले बताए ।

    शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र संक्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।

    नेपालमा संक्रमण दर १८.७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोनाभाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।

    यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

    यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

    नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा रहेका छन् ।

  • दुई छोराको हत्या गरी आत्महत्या !

    जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका– ४ फलगामा टोलकी एक महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला परेकी छन् ।

    अन्दाजी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य मृत फेला परेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ गुडिया डोरीको पासो बनाएर घरको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उनका दुई छोराको भने घाँटी थिचेर मारिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

    श्रीमान गुरुदेव साह जनकपुरमा रहेका बेला गुडिया घरमा झुण्डिएको र उनका दुई छोरालाई मारिएको अवस्थामा शव फेला परेपछि घटना रहस्यमय बनेको छ । घर भित्रबाट लक थियो । जसका कारण गुडियाले नै दुवै छोरालाई मारेर आफू आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    धनुषाका एसपी प्रकाश रानाभाटले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘साँझ करिब ६ बजे घटना भएको हो । त्यतिबेला गुडीयाका श्रीमान जनकपुरबाट घर फर्किदँै थिए । उनलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

    स्थानीयका अनुसार ८ वर्ष अगाडि गुडियाले गुरुदेवसँग प्रेम विवाह गरेकी थिइन् । गुडिया तेली साह रहेकी छन् भने गुरुदेव सुडी साह छन् । अन्तरजातिय प्रेम विवाह गरेका कारण सासु–ससुरा असन्तुष्ट थिए ।

    शुक्रबार मजदुरी गर्न जनकपुर आएका श्रीमान् गुरुदेवलाई दिउँसो करिब ३ बजे गुडियाले फोन गरेकी थिइन् । प्रहरीका अनुसार फोनमा श्रीमतीसँग विवाद नभएको गुरुदेवले बयान दिएका छन् ।

     

  • बंगलादेशले लुम्बिनीमा बौद्ध बिहार बनाउने, तीन वर्षमा बनिसक्ने

    बंगलादेशले लुम्बिनीमा बौद्ध बिहार बनाउने, तीन वर्षमा बनिसक्ने

    रुपन्देही । ९२ प्रतिशत मुस्लिम धर्मालम्बी भएको बंगलादेशले नेपालसँगको सम्बन्ध बलियो बनाउन लुम्बिनीमा बौद्ध बिहार बनाउने भएको छ ।

    सांस्कृतिक पर्यटनको प्रवर्द्धन र नेपालसंगको सम्बन्ध बलियो बनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउनेगरी लुम्बिनी बिकास कोषसंग सम्झौता गरेको बंगालादेशका अधिकारीले जनाएका छन् । बंगलादेश सरकारले लुम्बिनीमा बौद्ध बिहार बनाउने भएसंगै लुम्बिनीमा विहार निर्माण गर्ने देशहरुको संख्या १८ पुगेको छ ।

    शनिबारको सम्झौताअनुसार लुम्बिनीको पश्चिमी क्षेत्रमा रहेको ८०–८० मिटर क्षेत्रफलको जग्गामा बौद्ध बिहार बनाउने गरी नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धिन नोमान चौधरीले नेपालमा बंगलादेशको बौद्ध बिहार बनाउने पहिलो प्रोजेक्ट भएको बताउँदै कोषको ऐन नियमभित्र रहेर बिहार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्झौताअनुसार उक्त बिहार ३ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

    सो अवसरमा विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयाले लुम्बिनीको विकासको लागि अन्तर्राष्ट्रिय समितिमा समेत सदस्य राष्ट्रको हैसियतले बंगलादेशले खेलेको भूमिकाको प्रशंसा गर्दैे लुम्बिनीमा निर्माण हुने बुद्ध बिहारले राम्रो सन्देश प्रवाह गर्ने बताएका थिए ।

     

  • अनेरास्ववियू रूपन्देही अध्यक्षमा शेषकान्त, सचिवमा प्रकाश

    अनेरास्ववियू रूपन्देही अध्यक्षमा शेषकान्त, सचिवमा प्रकाश

    रूपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू रुपन्देहीको अध्यक्षमा शेषकान्त पोखरेल चयन भएका छन् । अनेरास्ववियू रुपन्देहीको शनिबार सम्पन्न २३ औं सम्मेलनबाट पोखरेलले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

    पोखरेल १० वर्षदेखि अनेरास्ववियू पाल्पा जिल्लाका विभिन्न कमिटीमा काम गर्दै हाल रुपन्देही जिल्लाको सहसंयोजकको जिम्मेवारीमा थिए। पोखरेलले अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी एकतापछि कमजोर भएको संठनलाई बलियो बनाउँदै संगठन विस्तारलाई तीव्रताका साथ अगाडि बढाउने बताएका छन्।

    जिल्लाभित्र रहेका बिभिन्न क्याम्पसहरुमा संगठन निष्कृय हुँदै गएको बताउँदै तत्काल क्याम्पसहरुमा क्याम्पस कमिटी गठन गरी संगठनलाई थप बलियो बनाउँदै लैजाने उनले बताए ।

    सम्मेलनले शेषकान्त पोखरेलको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा भरत अर्याल ,रमेश ढकाल र शिव बेलवासे ,सचिवमा प्रकाश पराजुली रहेका छन् ।

    सम्मेलनको शनिबार नै एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

  • छ दिनपछि मनसुन बाहिने, मनसुनले १३६ जनाको मृत्यु

    छ दिनपछि मनसुन बाहिने, मनसुनले १३६ जनाको मृत्यु

    काठमाडौं । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमा देशका बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

    मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

    ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ । आज राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडी आसपास विकसित भएको (न्यून चापीय क्षेत्र)का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो । उक्त दिन नेपालको प्रदेश नं १, २ र बागमती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ । कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो ।

    नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी आकलन गर्ने गरिन्छ ।

    तर यो जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भू–उपयोगजस्ता कुरामा निर्भर हुने र जलवायु प्रारुपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न भने कठिन हुने विज्ञहरुको भनाइ छ ।

    मनसुनजन्य घटनाबाट १३६ जनाको मृत्यु

    यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन् । कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ । यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ । उक्त जिल्लामा मनसुनको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन् ।

    सिन्धुपाल्चोकको पनि मेलम्ची र हेलम्बुलाई बाढीपहिरोले तहसनहस बनाएको छ । त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ । यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ ।

  • वागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

    वागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

    काठमाडौं । वागमतीमा प्रदेशस्तरीय उद्योग परिसंघ स्थापना भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश कार्यालयको उद्घाटन गरेका छन् ।

    वागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट रहेका छन् ।

    प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र दुर्गाप्रसाद भण्डारी रहेका छन् । डा. प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य छन् ।

    प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

    नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै अग्रवालले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरेका छन् । परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशमा पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे ।

    कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने बताए । वागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले प्रदेश कार्यालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

  • पर्वतको फलेवास नगरको अत्याधुनिक भवन निर्माण सुरू

    पर्वतको फलेवास नगरको अत्याधुनिक भवन निर्माण सुरू

    पर्वत । फलेवास नगरपालिकामा सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । वडा नम्बर ५ खानीगाँउमा ६० रोपनी ८ आना जग्गामा बनाइन लागेको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

    उक्त जग्गा स्थानीय समाजसेवी झलक सुवेदीले नि:शुल्क दिएका हुन् । हालै उक्त भवनको शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

    उक्त भवन प्रदेशकै नमूना भवनको रूपमा स्थापित हुने आफूले विश्वास लिएको नगर प्रमुख पदमपाणी शर्माले बताए । ‘यो भवन बनिसकेपछि नगरपालिकाको काममा पनि सहज हुनेछ । हामी नमूना भवनबाट सेवाग्राहीको नमूना काम गरेर देखाउँछौं’, मेयर शर्माले बताए ।

    सभा हल, कार्यपालिका बैठक कक्षसहित भवनमा ४२ कोठा रहने नगरपालिकाले जनाएको छ । १४ करोड लगानीमा निर्माण गरिने उक्त भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन शिलन्यास कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत उपस्थित थिए ।

     

  • दसैँ मनाउन काठमाडौं उपत्यकाबाट एक लाखभन्दा बढी यात्रु बाहिरिए

    दसैँ मनाउन काठमाडौं उपत्यकाबाट एक लाखभन्दा बढी यात्रु बाहिरिए

    काठमाडौं । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको संख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो संख्या अझै बढ्ने बताए । ‘अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ’, महाशाखाका प्रमुख भट्टराईले भने ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’

    यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने संख्या ४२ हजार २२६ थियो भने बाहिरिने संख्या ४१ हजार ४८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् ।

    यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए । महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ ।

    असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ । सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ । प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् ।

    यद्यपि रिजर्भ गरेर जाने यात्रुको संख्या यसपाली बढी छ । त्यसरी जानेको संख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

    यसपाली असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

    प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ ।

    यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिएका छन् ।

    चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ ।

  • खरिद गरेको सात महिनापछि भारतबाट आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

    खरिद गरेको सात महिनापछि भारतबाट आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

    काठमाडौं । भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार नेपाल आइपुगेको छ । नेपालले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी दिएको थियो।

    खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप शनिबार नेपाल आइपुगेको हो । शनिबार साढे २ बजे खोप बोकेर त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    उक्त कोभिसिल्ड खोप अस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी मन्त्रालयले गरेको छ।

     

  • वारका कोषाध्यक्ष भन्छन् : परमादेश जारी गर्ने सबै न्यायाधीशले भागबण्डा र पुरस्कार पाएका छन् (भिडिओ)

    वारका कोषाध्यक्ष भन्छन् : परमादेश जारी गर्ने सबै न्यायाधीशले भागबण्डा र पुरस्कार पाएका छन् (भिडिओ)

    काठमाडौं । नेपाल वार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले अहिलेको सरकार नै अदालतले बनाइदिएको हुनाले एकजना मन्त्री अदालतको कोटाबाट पर्नु अनौठो नभएको टिप्पणी गरेका छन् ।

    रिपोर्टस क्लवमा बोल्दै पोखरेलले प्रधान्यायाधीशले मात्र नभई फुल कोर्ट र अदालतका ५/६ जना वरिष्ठ न्यायाधीशले यसको जवाफ दिनुपर्ने बताए । पोखरेलले यसमा प्रधानन्यायाधीश मात्र नभइ सर्वोच्च अदालतको सबै टीम दोषी रहेको दावी गरे ।

    अधिवक्ता पोखरेलले न्यायालय ऐन नियमको व्याख्यताको रुपमा नभइ शक्तिकेन्द्रको रुपमा विकसित भएको बताउँदै सरकार अदालतको एउटा शाखाको रुपमा रहेको बताए ।

    कोषाध्यक्ष पोखरेलले भने, अहिलेको सरकार भनेको अदालतको मातहत छ, अदालतको निर्देशनको सरकारले पालना गर्ने हो, तर अदालतलाई जानेर नजानेर शक्ति केन्द्रको रुपमा स्थापित गर्यौं, ऐन, नियमको व्याख्याताको रुपमा होइन, अदालत न्यायनिरुपणको रुपमा होइन शक्तिकेन्द्रको रुपमा विकसित भएर गएको छ, त्यसैले अदालतको एउटा शाखाको रुपमा सरकार रह्यो, यो प्रष्ट देखिएको छ ।’

  • चितवनले इपीएल उपाधि उचाल्दा (तस्बिरहरू)

    चितवनले इपीएल उपाधि उचाल्दा (तस्बिरहरू)

    काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि चितवन टाइगर्सले जितेको छ । चर्चित खेलाडी र राष्ट्रिय टोलीका धेरै खेलाडी नभए पनि प्रतियोगिता सुरुआतदेखि नै विजयी यात्रा सुरु गरेको चितवनले फाइनलमा पोखराविरुद्ध ४ विकेटको जित निकालेको थियो ।

    आफ्नो कप्तानीमा पहिलो प्रतियोगिता जितेका चितवनका सोमपाल कामी र उनको टोलीको खुशी त्रिवि क्रिकेट मैदानमा यसरी छाएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चितवनकै सागर ढकाल घोषित भएका थिए ।

    यस्तै चिनवनकै डेर टू ड्रिम कमलसिंह ऐरीले जित्दा उदीयमान खेलाडी पनि चितवनकै भीम सार्की बने ।

                

     

  • बालकोट वार्तापछि प्रभु साह सन्तुष्ट, अब एमालेमै सक्रिय हुने

    बालकोट वार्तापछि प्रभु साह सन्तुष्ट, अब एमालेमै सक्रिय हुने

    काठमाडौं । लामो समयदेखि नेकपा एमालेबाट टाढिएर आइटी आर्मीको नाममा अलग्गै राजनीतिक संरचनाको अभ्यास गरिरहेका पूर्वमन्त्री प्रभु साह अब एमालेकै सांगठानिक दायरमा फर्किने भएका छन् ।

    शुक्रबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर नेताहरुसँग छलफल गरेपछि साह एमालेमै रहने भएका हुन् । आफ्ना माग र सरोकार सम्बोधन गर्न अध्यक्ष ओली तयार रहेकाले अब एमालेमै क्रियाशील हुने साहले बताए ।

    बालकोटमा शुक्रबार करीव तीन घण्टा अध्यक्ष ओलीसहित बिष्णु पौडेल,शंकर पोखरेल,टोपवहादुर रायमाझी लगायतका नेताहरुसँग साहको छलफल भएको थियो ।

    साहले राखेका ८ बुँदे माग अधिकांश पूरा भइसकेको र अध्यक्ष ओलीले दस्तावेजमै नेकपा एकताको निरन्तरता एमाले भएको भनिसकेकाले अब विमति नरहेको बताएका छन् । उनले बाँकी कुरा पार्टी कमिटीको बैठकबाटै समाधान हुने जानकारी अध्यक्षले दिएपछि आफू उत्साहित भएको नेपाल प्रेसलाई बताए ।

    साहसँग पटक पटक छलफल गरेका एमाले नेताहरुले उनी अब पार्टी काममा फर्किने बताए ।