Author: Anisha Tiwari

  • महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेतृत्वमा पुग्न एमालेले तोक्यो यस्तो योग्यता (पूर्णपाठ)

    महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेतृत्वमा पुग्न एमालेले तोक्यो यस्तो योग्यता (पूर्णपाठ)

    काठमाडौं । आगामी मंसिर महिनामा हुने नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधि बन्नका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएका व्यक्तिमात्र योग्य हुने भएका छन् ।

    पार्टीको संशोधित विधानले महाधिवेशन प्रतिनिधि चुनिनका लागि १० वर्षको योग्यता तोकेको हो । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा भने ७ वर्ष पार्टी सदस्य भए पुग्नेछ ।

    महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्तिहरु अर्को महाधिवेशन नभएसम्म महाधिवेशन प्रतिनिधि परिषद सदस्यको हैसियतमा रहने भएका छन् । दुई महाधिवेशनको बीचमा परिषद्को बैठक बस्नेछ ।

    एमालेको विधानको धारा ६३ मा उम्मेदवार हुने योग्यता तोकिएको छ । त्यस्तै एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    त्यो नहुनेको हकमा प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्नेछ ।

    तर समावेशी कोटाबाट भने एक कार्यकाल जिल्ला कमिटी वा सो भन्दा माथिल्लो कमिटीको सदस्य भ ई काम गरेको र सात वर्ष पार्टी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्नेछ ।

    केन्द्रीय कमिटीको पदाधिकारी बन्नका लागि कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्नेछ ।

    एमालेले पालिका वा सो भन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था विधानमा गरेको छ ।

    सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा लगाइएको छ । तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित भएको पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने विधानमा उल्लेख छ ।

    यसका साथै एमालेबाट निर्वाचित सबै तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दुई महिनाभित्र पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्ने र पद सकिनुभन्दा २ महिनाअघि सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान समेत विधानमा राखिएको छ ।

  • दसैँको अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी

    दसैँको अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी

    काठमाडौ । हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।

    आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएका मानिस राजधानी प्रवेश गर्ने क्रम पनि बढ्न थालेको छ । योसँगै सुनसान बनेको काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । टाढाटाढा आफन्त एवं मान्यजन हुने अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।

    कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने बुधबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । चान्द्रमासअनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीपदानसमेत गरिन्छ ।

  • कोरोनाले दसैं विशेष सराय नाच प्रभावित, संस्कृति मासिने चिन्ता

    कोरोनाले दसैं विशेष सराय नाच प्रभावित, संस्कृति मासिने चिन्ता

    रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्वका साथ विजया दशमीको दिनदेखि पूर्णिमासम्म शक्तिपीठमा हतियार जुधाएर नाचिने सराय नाच यो वर्ष पनि औपचारिकतामा सीमित भएको छ ।

    शक्तिपीठमा लाग्ने ठूला जात्राबाट कोरोना संक्रमण बढ्ने भन्दै स्थानीय प्रशासनले रोकेका कारण सराय नाच प्रभावित भएको हो । तर स्थानीयले सबै क्षेत्र खुला गरेको अवस्थामा पनि शक्तिपीठहरुमा गरिने भेला, जात्रा रोकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    इतिहासका जानकारहरुका अनुसार देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सराय नाच नाचिने गरिन्छ । विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सराय नाचमा हतियार एकआपसमा जुधाइन्छ ।

    राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ ।

    अर्घाखाँची, गुल्मी, प्युठानमा यो नाचका लागि प्रख्यात मानिन्छ । अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, चोयगालगायतका कोटहरूमा दसैँदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ ।

    गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू अर्घाको कोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोटलगायतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको यसका जानकारहरु बताउँछन् ।

    संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशमा अर्घाखाँचीको अर्घाबाट यसको शुरुवात भएको मानिन्छ । अर्घाको सराय, अर्घाको पून्यू, मेला नै अहिलेसम्म सरायको शुरुवात भएको पाइएको छ यसलाई पूर्णिमा मेला पनि भनिन्छ ।

    उनको अध्ययन अनुसार यसको सुरुवातीका विषयमा दुई फरक मत रहेका छन् । एकथरी मत अनुसार अज्ञात समय(परापूर्व काल)देखि अर्घामा सराय खेल्ने गरिएको भन्ने छ ।

    यहाँबाट खाँचीकोट, प्युठान बिजुलीकोट, गुल्मी धुर्कोट, इस्मा, चोयगा तथा पाल्पामा लगेर खेल्न थालिएको भन्ने छ । अर्को चाँही गुरुङ्ग राजाले अर्घ दिने गरेको,१४ औं शताब्दीबाट मुस्लिम आक्रमणबाट हारेर नेपाल पसेका, करिब १५ औं शताब्दीबाट २२ से २४ से राज्य जम्मा भए, गुरुङ्ग (जाडेया राज्य चलाएका), मगर राज्य चलाएकालाई ठकुरी राज्य चलाएकाले जितेको र अर्घामा पनि जिल्ला राई भन्ने ठकुरीले आधुनिक राज्य बसाले र उनैले अर्घामा सराय शुरु गरेको आचार्य बताउँछन् । उनका तीन भाइले खाँची र धुर्कोटमा सराय लगेको इतिहास भेटिएको आचार्य बताउँछन् ।

    इतिहासका जानकारहरुका अनुसार विसं १३८१ म भारतको दिल्लीबाट जिल्ला राई नाम गरेका राजा अहिलेको अर्घाखाँचीस्थित अर्घा आएर बसे । समथमा गीत गाउने गन्दर्भ, पूजा गर्ने पुरोहित, लुगा सिलाउने परियार तथा हतियारसहित फौज लिएर आए । त्यातिबेला अर्घामै गुरुंगराजा थिए । उनीसँग लडाई जितेर १७ मौजा कब्जा गरे । बडादसैंको पूर्णिमाका दिन सराय निकाले । त्यसपछि पूर्णिका दिन अर्घाबाट सराय निकाल्न शुरु भयो । क्रमशः जिल्लाका अन्य दुर्गा स्थापना गरी मन्दिर बनाएर दसैंदेखि पूर्णिमासम्म सराय नाच निकाल्ने परम्परा शुरु भएको हो । बिस्तारै गुल्मी, प्युठान, पाल्पा हुँदै छिमेकी जिल्लाहरुमा शुरुवात भएको पाइन्छ ।

    मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवानको रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको भनाइ छ ।

    संस्कृतिविद् आचार्यले नयाँ पुस्ताले सरायको अनुशरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा परेको पाकापुस्तााके चिन्ता छ । पहिले पुरुषहरु मात्र खेल्ने सराय नाच अहिले महिलाहरु पनि सक्रियताका साथ सहभागिता हुने गर्दछन् ।

    पहिले पहाडी जिल्लाहरुमा बढी खेलिने यो नाच बसाईसराईसँगै पहाडबाट तराईका विभिन्न जिल्लामा बस्नेहरुले तराईका विभिन्न क्षेत्रमा यसको शुरुवात गरेका छन् ।

    अहिले प्रत्येक वर्ष अंग्रेज फौजलाई पराजित गरेको रूपन्देहीको बुटवलस्थित जीतगढी किल्लामा पनि यो नाच नाचिन्छ । पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराय नाचको शुरूआत तराईमा सराय नाचको शुरुवात भएको लेखक ऋषि आजाद बताउँछन् । उनले आफ्नै सक्रियतामा बुटवलको जीतगढीमा केही वर्षयता यसकको शुरुवात गरेको र निकै धेरैले यसमा साथ दिएको बताए ।

    ‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि सराय नाच्छन्’ आजाद भन्छन्, ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । तर नयाँ पिंढीमा यसको जानकारी दिन नसक्दा अहिले आएर यो नाच संकटमा परेकोले आफै अगुवाई गरेर रुपन्देहीको जितगढीमा हुरु गरेको हो ।’

    यसरी नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सराय नाच शुरू हुन्छ । पहिला कोट वा मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ ।

    पहिलेका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दशैं बिदाइका बेला राजालाई देखाउने गरी नाच शुरू भएको हो । त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ । सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने आजाद बताउँछन् ।

    तराई क्षेत्रमा भने नौलो मानिन्छ । शुरूका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिला समेत नाच्ने गरेका छन् । पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ ।

    सप्तमीको दिन फूलपाति भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गी सहितका ध्वजापताकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिर बाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ ।

    दाङका लेखक केबी मसालले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए । प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराय तिहारसम्म खेलिन्छ । सराय हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् ।

    सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसर समेत पाउँछन् । सराय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलौना लगायतका सामग्रीको राम्रो व्यापार हुन्छ ।

    संस्कृतिविद् झपेन्द्र जिसीले दसैंमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्व अरुलाई पनि बुझाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउँछन् ।

    ‘धारिलो खुँडा नचाउन कौशलता चाहिन्छ, यो कौशलताका लागि शक्ति र आँट समेत आवश्यक छ,’ उनले भने, ‘गुल्मी, अर्घाखाँची, पाल्पाबाट शुरू भएको सराय नाच पछिल्लो समय कपिलवस्तु, दाङ जिल्लामा शुरुवात गरिएको छ ।

    कहाँ कहाँ हुन्छ सराय नाच ?

    अहिले अर्घाखाँचीको अधिकांश कोटहरुमा ठाउँमा दसैंदेखि पूर्णिमासम्म सराय खेलिन्छ । अर्घाखाँचीमा अर्घासँगै भण्डारथुम, मालारानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोटलगायतका कोटहरुमा र गुल्मीको चोयगा, धुर्कोट, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुरलगायतका क्षेत्र यो नाच नाचिन्छ ।

    प्युठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ ।

    पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, क्ुस्ुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढी, बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा पनि सराय नाच नाचिन्थ्यो ।

    कोरोना त्रासले प्रभावित

    कोरोना संक्रमणको त्रासले गतवर्ष र यो वर्ष सराय नाच प्रभावित भएको छ । ठूलो सहभागिता हुने भएकाले स्थानीय प्रशासनले सामान्य विधि पुराएर मात्र शक्तिपिठहरुमा सराय नाच प्रदर्शन गर्न भनेकाले ती जिल्लाहरुमा बिगतका जस्ता प्रदर्शन भएनन् ।

    व्यवस्थापन समितिले सामान्य विधि पुराएर शक्तिपिठमा सरायका प्रक्रिया पूरा गरेका छन्, जात्रा चाँही भएन, अर्घाखाँचीका पत्रकार वीरेन्द्र केसीले भने ।

  • राखेप सदस्य सचिव बर्खास्त, अरु दुईलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

    राखेप सदस्य सचिव बर्खास्त, अरु दुईलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीहरुलाई बर्खास्त गर्ने क्रम तीब्र पारेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

    त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

    उनीहरु तीनैजना हटाउने कानूनी प्रक्रिया पुर्याउन दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो । राखेप सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई पनि बर्खास्तीको पत्र दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।

  • मोहम्मद जयन्ती मनाउन मुस्लिम समुदायलाई भोली सार्वजनिक बिदा

    मोहम्मद जयन्ती मनाउन मुस्लिम समुदायलाई भोली सार्वजनिक बिदा

    काठमाडौं । सरकारले भोली कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । मोहम्मद जयन्ती १४९६ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् । उनको जन्म मक्कामा ५७० एडीमा भएको थियो भने मृत्यू मक्कामा ६३२ जून ८ मा भएका थियो । विश्वभर झण्डै २ अर्ब मुस्लिमहरु छन् । नेपालमा मुस्लिम जनसंख्या करिब १२ लाख रहेको छ, जुन कुल जनसंख्याको ४।४ प्रतिशत हो ।

  • गृहजिल्लामा गृहमन्त्रीको निर्देशन : कसैले अनाहकमा ज्यान नगुमाओस्

    गृहजिल्लामा गृहमन्त्रीको निर्देशन : कसैले अनाहकमा ज्यान नगुमाओस्

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो प्राथमिकता आमनागरिकको जीवन रक्षा गर्नु रहेको बताएका छन् । असारमा गृहमन्त्री बनेका खाण पहिलो पटक आज गृहजिल्ला आएका हुन् ।
    केही दिनअघि उनकै निर्वाचन क्षेत्र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएपछि उनको आलोचना भएको थियो ।

    गृहमन्त्री खाणलाई नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताए ।
    उनले भने– ‘रुपन्देहीमा आउनुभएका सुरक्षा निकायका अधिकारी तथा प्रमुखलाई मेरो आग्रह र निर्देशन छ, सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस् एउटा पनि नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस् । ’

    उनले ठूलो दललाई सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पूरा गर्न नसकेको बताए । उनले भने- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडि बढेको बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता खाणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले नेपाली कांग्रेसको काधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशील सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको खाणले बताए ।

    मन्त्री खाणले रुपन्देहीको समृद्धिका लागि प्रयत्नशिल रहिरहने बताए । उनले यो जिल्लाको विकास रुपन्देही र रुपन्देहीका नागरिकका लागि मात्र नभई यहाँको विकासले देशको विकासका लागि आधारशिला तयार गर्ने बताए । गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक पहल गरिरहेको बताएका छन् ।
    विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर विमानस्थल शीघ्र सञ्चालनमा ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

    उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए । ‘विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकीको कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजना अनुसार काम अगाडि बढ्छ’ उनले भने । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताए ।

    उनले जिल्लाको विकासका लागि सार्थक प्रयत्न गर्न अग्रज नेताहरुप्रति आभार प्रकट गरे । बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खाणले बताए ।

     

  • प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय, कोप-२६ मा भाग लिन स्कटल्यान्ड जाँदै

    प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय, कोप-२६ मा भाग लिन स्कटल्यान्ड जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डमा हुने भएको छ । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा उनी सहभागी हुनेछन् ।

    आज बसेको मन्त्रीपरिषद वैठकले देउवाको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । ग्लास्कोमा आगामी ३१ अक्टोबरदेखि १२ नोभेम्बरसम्म ‘कोप २६ समिट’ आयोजना हुँदैछ । उक्त समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका चर्चित नेताहरु सहभागी हुनेछन् ।

    विश्वव्यापी जलवायू संकटलाई सम्वानेधन गर्ने कोप २७६ को लक्ष्य रहेको छ । सम्मेलनमा २० देखि २५ हजार जनाको सहभागिता रहने बताइएको छ ।

  • एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक

    एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक

    काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक परेको छ ।

    केही समयदेखि विभिन्न रोगबाट अस्वस्थ थापाकी आमा नरेन्द्रकुमारी बस्न्यातको हिजो असोज ३१ गते उपचारका क्रममा अस्पतालमा निधन भएको र हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

    बस्न्यातले युवा अवस्थामै विधवा हुन पुगेकी छोरी लिली थापालाई सामाजिक कुरीतिविरुद्ध लड्न ढाडस दिँदै उनी जस्ता हजारौं एकल महिलालाई एकीकृत गर्न सहयोग गरेकी थिइन् ।

    उनकै सहयोगका कारण लिलीको नेतृत्वमा डब्लूएचआर जन्मिएपछी श्रीमान्को मृत्युलाई आफ्नो भाग्यको खेल सम्झेर निरस जीवन बाचिरहेका देशैभरका एकल महिलाहरू एकाकार भई आफ्नो हक अधिकारका लागि लामवद्व भएका थिए ।

    डब्लूएचआरकी संस्थापक सदस्यसमेत रहेकी बस्न्यातका श्रीमान् नेपाली सेनाका जर्नेल हुमानसिंह बस्न्यातको करिब दुई दशक अघि नै निधन भइसकेको पनि परिवारले जनाएको छ ।

  • नकुल्ली र निर्मला हत्याकाण्डका आरोपीलाई सरकारले संरक्षण गरेको अनेरास्ववियुको आरोप

    नकुल्ली र निर्मला हत्याकाण्डका आरोपीलाई सरकारले संरक्षण गरेको अनेरास्ववियुको आरोप

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाँकेकी नकुल्ली धोबी र निर्मला कुर्मीलाई बेपत्ता बनाई हत्या गरिएको घटनामा न्याय माग्ने अधिकारकर्मीमाथि सरकारले ज्यादति गरेको भन्दै आन्दोलनमात्र उत्रिने चेतावनी दिएको छ ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीडितको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेर माइतीघरमा धर्ना बसेका रुबी खान लगायत अधिकारकर्मीलाई धम्क्याइएकोमा आपत्ति जनाएकी हुन् ।

    अनेरास्ववियुले परमादेशी सरकार नै उक्त घटनाको पीडक रहेको भन्दै अपराधीलाई संरक्षण गर्ने सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । अनेरास्ववियुले अनसनमा बसेकाहरुसँग वार्ता गरि पीडितलाई न्याय दिन माग गरेको छ ।

  • सोमबार ५९१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    सोमबार ५९१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,६९७ वटा नमूना (पीसीआर ७,६५४ र २,०४३ एन्टीजेन) परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ९३७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २७ हजार ७०१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८७४ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ५ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ४३० पुगेको छ ।

    हालसम्म ७ लाख ८२ हजार ३९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।

  • चितवनमा दलितको हत्या, जातीय कारण कि अन्य ? (भिडिओ)

    चितवनमा दलितको हत्या, जातीय कारण कि अन्य ? (भिडिओ)

    चितवन । चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा महानवमीका दिन दुई युवाको कुटाइबाट स्थानीय भिमबहादुर विकको मृत्यु भयो । कुटपिटमा संलग्न ४० वर्षीय सिताराम बस्नेत र ३६ वर्षीय दिलिप श्रेष्ठलाई प्रहरीले सोही दिन पक्राउ गरिसकेको छ ।

    विकले मादक पदार्थ सेवन गरी चोकमा अपशब्दसहित हो–हल्ला गरेपछि उनीमाथि आक्रमण भएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ । तर दलित समुदायका विभिन्न संघ–संस्थाले भने जातीय विभेदजन्य कारणबाट घटना भएको भन्दै न्यायको माग गरेका छन् । मृतक विक दुर्गा मन्दिरमा गएका बेला स्थानीय दुई पुरुषले कुटपिट गरेको उनीहरुको दावी छ ।

    प्रहरीका अनुसार बस्नेतले पाइपले र पल्लवी फार्मेसीका सञ्चालक दिलिप श्रेष्ठले मुक्का हानेपछि उनी पीच सडकमा ढल्न पुगेका थिए । टाउकोमा चोट लागेका भीमबहादुरलाई चितवन मेडिकल कलेजले मृत घोषणा गरेको थियो ।

    घटना जातिय विभेद तथा मन्दिरको विषयमा नभएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।

    ‘हालसम्म जातिय विभेद र मन्दिरकै विषयमा यो घटना भएको देखिदैन,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ ।’

    मृतक भीमबहादुरले मादक पदार्थ सेवन गरी अपशब्द बोल्दै होहल्ला गरी हिँडेको अवस्थामा उनीमाथि कुटपिट भएको पाइएको थापाले जानकारी दिए ।

    ‘सिताराम बस्नेतले प्लाष्टिकको पाइपले दुईपटक हानेर घर जा भनेका रहेछन्, त्यसपछि फेरि फार्मेसीमा गएर होहल्ला गरेपछि दिलिप श्रेष्ठले थप्पड हानेछन्,’ उनले भने, ‘पीच बाटोमा ढलेर टाउकोमा चोट लागेपछि उनैले अस्पताल पनि ल्याएको देखिन्छ ।’

    कुटपिटमा संलग्नहरुलाई हिरासतमा राखेर घटनाको सुक्ष्म अध्ययन भइरहेको उनले जानकारी दिए ।

    ‘देख्ने मान्छेहरुसँग प्रारम्भिक रुपमा बुझ्दा जातको कुरालाई लिएर वा मन्दिरमा पस्न नदिएको कारण घटना भएको भन्ने आएको छैन,’ थापाले भने ।

    भरतपुर अस्पतालमा मृतकको शव पोष्टमार्टम गरिएको छ । अस्पतालले दिएको पोष्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन । मृतकका आफन्तहरुले पनि शव बुझेका छैनन् ।

    मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटना भएकै दिन दुई जनालाई नियन्त्रणमा लिएको हो । चोकको एक पसलमा राखिएको सिसी क्यामराको फुटेज हेरेर थप अनुसन्धान गरिने प्रवक्ता थापा बताउँछन् । पसल सञ्चालक दसैं बिदामा गएकाले उनी आएपछि मात्रै फुटेज हेर्ने उनले बताए ।

    ‘एउटा पसलमा सिसी क्यामरा राखेको रहेछ । त्यसले घटनाको दृश्य कभरेज गरेको छ कि छैन हेर्नुपर्छ । अब पसल सञ्चालक आएपछि मात्रै त्यो हेर्न सकिन्छ,’ उनले भने ।

    स्थानीय दलित समुदायका एक अगुवाका अनुसार मृतक विकले यसअघि पनि मदिरा सेवन गरी हो–हल्ला गर्ने गर्थे । जातका आधारमा कुटपिट नभएको र कुटपिट गर्नेहरूमा मार्ने नियत पनि नदेखिएको उनले बताए ।

    ‘घटनाका हिसाबले उनीहरूको मार्ने नियत होइन । जातीय छुवाछुतको गुन्जायस पनि देख्दिन । दलितवादीले अर्कैतर्फ केन्द्रित गर्न खोजे,’ उनले भने ।

    दुर्गा चोकबाट करिब तीन सय मिटर दक्षिणतर्फ मृतक विकको घर छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् । छोराले पेन्टिङको काम गर्दै आएका छन् । छोरीहरूको विवाह भइसकेको छ । मृतक विक स्थानीय पुराना बासिन्दा हुन् ।

    प्रहरी स्रोतका अनुसार जातीय भेदभाव तथा छुवाछुत कसुरअन्तर्गत मुद्धा दायर भएको छैन । ज्यान कसुरअन्र्तगत भीमबहादुरका छोरा किसानले दुईजना विरुद्ध किटानी जाहेरी दिएका छन् । दसैँ विदालगत्तै अदालतमा घटनासँग सम्बन्धित व्यक्तिहरुबाट बयान लिने काम हुने जनाइएको छ ।

    अधिकारकर्मी भन्छन्ः जातीय कारण नै हो

    घटनाको निष्पक्ष छानविन गर्न दलित संघ–संगठन तथा अधिकारकर्मीहरुले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय छेउकै प्रतिक्षालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जातीय विभेदकै निहुँमा भएको घटनालाई दबाउने प्रयास गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

    १९ वटा दलित संघसंगठन तथा अधिकारकर्मीले संयुक्त पत्रकार सम्मेलन गर्दै भीमबहादुरको हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरे ।

    नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ती परियारले पीडित परिवारको न्यायका लागि सबै दलसँग आवद्ध दलित संघसंगठनहरु एक्यवद्ध भएर लाग्ने बताइन् ।

    ‘परिवारले उचित क्षतिपूर्ति पाउनुपर्छ, दोषिलाई कानुनी दायरमा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘न्याय नपाउँदासम्म लडिरहन्छौँ ।’

    नेपाल दलित मुक्ति मोर्चाका संरक्षक रणेन्द्र बरालीले दलितले बोकाको बली दिन पाउने कि नपाउने भन्दै सोध्दा पिट्दै खेदिएको आरोप लगाए । ‘जातिय विभेदकै कारण उनीमाथि आक्रमण भएको छ, पिट्दै खेदेका थिए, मुक्का पनि हाने,’ उनले भने, ‘त्यसपछि उनी बेहोस बने, ज्यानै गुम्यो, पीडित परिवारले न्याय पाउनुपर्छ ।’

    भीमबहादुरका २८ वर्षिय छोरा किसानले गरिब तथा दलित भएकै कारण बुबामाथि कुटपिट भएको दुखेसो गरे ।

    ‘मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा कुटपिट भएछ,’ उनले भने, ‘सोधेकै भरमा त्यसरी पिट्नुपर्ने कारण के थियो, सत्य तथ्य छानविन होस् ।’

    घटना गुपचुप बनाउन पोष्टमार्टम रिर्पोट आउन समेत ढिलाई भएको उनको आरोप छ ।

    ‘पाँच दिन भयो, अझै रिपोर्ट आएन, घटनास्थलको सीसीटिभी फुटेज पनि देखाइएन,’ उनी भन्छन्, ‘रक्सीले मात्तिएर ढलेर मर्‍यो भन्न पो हो कि ?’

  • केपी ओलीको एमाले नेपालबाट विलय हुन्छ : मेटमणि चौधरी

    केपी ओलीको एमाले नेपालबाट विलय हुन्छ : मेटमणि चौधरी

    रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले केपी ओलीका कारण कम्युनिस्ट पार्टी पुनः गठन गरेको दावी गरेका छन् ।

    एकीकृत समाजवादी गुल्मीको प्रथम भेलालाई सम्बोधन गर्दै नेता चौधरीले केपी ओलीले नेतृत्व गरेको पार्टीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पार्टीको रुपमा एकीकृत समाजवादी गठन गरेको बताए ।

    उनले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुसँग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले केपी ओली पार्टीले आगामी निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता समेत गुमाएको आरोप लगाए । अब केपी ओलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी बनाएर पठाउनुस् हामी पटक–पटक संसद विघटन गरेर देखाउँछौ भन्दै भोट माग्छन त, उनले भने ‘त्यसकारण केपी ओलीको पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।’

    उनले कम्युनिस्ट पार्टीको नाम बेचेर झापाबाट पटक–पटक निर्वाचन जित्ने केपी ओलीले अबको निर्वाचनमा झापाबाटै चुनाब जितेर देखाउन चुनौती दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वोलेका थिए ।

  • नवलपुरमा बस पल्टिँदा ४२ जना घाइते

    नवलपुरमा बस पल्टिँदा ४२ जना घाइते

    नवलपरासी ।  नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

    उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उनले जानकारी दिए ।

    रासस

  • कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा

    कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ ।

    मन्त्रालयले सूचना जारी गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

  • भारतको केरलामा बाढीबाट २६ को मृत्यु, कैयौँ बेपत्ता

    भारतको केरलामा बाढीबाट २६ को मृत्यु, कैयौँ बेपत्ता

    मुम्बई । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर भएको बर्षाका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका छन् ।

    साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

    हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् । यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

    कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।

    सोमबार बिहानसम्म पनि यहाँ बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन् ।

  • सिइओ असफल बनाउन वीरका कर्मचारी नै सक्रिय, मन्त्रीको नाम लिँदै सप्लायरसँग डिलिङ

    सिइओ असफल बनाउन वीरका कर्मचारी नै सक्रिय, मन्त्रीको नाम लिँदै सप्लायरसँग डिलिङ

    काठमाडौं । स्वास्थ्य मन्त्रालयमा नेतृत्व फेरिएसँगै वीर अस्पतालका केही कर्मचारीले मन्त्री विरोध खतिवडाका नाममा चन्दा आतंक मच्चाउन थालेको आरोप लागेको छ ।

    जागेश्वर गौतमको ठाउँमा डा.भुपेन्द्र बस्नेत वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सुधारको प्रयास भइरहेका बेला कर्मचारी नै बाधक बनेर बस्नेत असफल बनाउन लागेको आरोप छ ।

    वीर अस्पतालको खरिद एकाई ,जनरल स्टोर र सामाजिक एकाईमा लामो समयदेखि बसेर आर्थिक अपचलन तथा ठेकेदारहरुसँग मिलेमतो गर्ने गरेका कर्मचारीनै मेडिकल माफियाहरुमार्फत आफ्नो प्रभाव बढाउन मन्त्रालयमा नेतृत्व परिवर्तन भएको मौका छोप्न थालेका हुन् ।

    वीर अस्पतालको मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा मिलेमतो गर्ने गरेको भन्दै यसअघि पनि सतर्कता केन्द्रले सचेत गराएको थियो ।

    वीर अस्पताल र ट्रमा सेन्टरका एजेन्ट मन्त्री खतिवडाकै जिल्ला मकवानपुरका अहेब विष्णु फुयाल , अग्निधर बस्याल र जनरल स्टोरका केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहरालगायतले सप्लायर्सहरुमार्फत चन्दा आतंक मच्चाएको भन्दै मन्त्रालयमा समेत उजुरी पुगेको छ ।

    विष्णु फुयाल र अग्निधरको समूहले पहिलो पटक मन्त्री बनेका खतिवडाको लागि दशैं खर्च भन्दै वीरमा करोडौंका सामग्री सप्लाइ गर्ने व्यवसायीहरुसँग पैसा संकलन गरेको आरोप लागेको छ ।

    वीरमा सामग्री सप्लाइमा ठूलो अनियमितता हुने गरेको छ भने जनरल स्टोर तथा लेखा शाखाका कर्मचारीको मिलेमतोमा केही व्यवसायीको सिण्डिकेट चल्ने गरेको छ । यसअघि सफल निर्देशकको छबी बनाएका डा.भुपेन्द्र बस्नेतलाई निरीह बनाउन खोजिएको छ ।

    अस्पतालका एक बरिष्ठतम कर्मचारीले भने– मन्त्री हाम्रा छन्, अब भुपेन्द्रको केही चल्दैन भन्दै सामानको दररेट मिलाएर ल्याऊ भनेर विभिन्न होटलमा सप्लायरहरुसँग लेखा प्रमुख बोहोरा र अहेब फुयालहरुले डिल गरिरहेका छन् ।

    यो टोलीले मन्त्रीको नाम लिदै अस्पतालका सबै शाखा र विभागका स्टोर आफू मातहत हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएपछि वीरको ब्यथिती बाहिर आएको हो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका सुधारको काममा भाँजो हाल्न थालिएपछि कर्मचारीहरु विभाजित भएका छन् ।

    यसअघि पनि लेखा शाखा प्रमुख बोहरा, अहेब फुयालले जागेश्वर गौतमको पालामा मिलमतो गरि म्याक्सिक लाई २४ करोड़को अनियमित टेन्डर दिएपछि ठूलो विवाद भएर गौतमको सरुवा भएको थियो ।

    अस्पतालका कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल स्टोर माथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रमाना लगायत माग राखी स्वास्थ्य मन्त्री र सचिवलाई निवेदन दिन लागेको बताइएको छ ।

  • मलेसियामा एक नेपालीको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

    रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।

    मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
    रासस

  • दशैं मनाउन श्रीमान विदेशबाट आए, छोरा लिएर श्रीमती बेपत्ता

    दशैं मनाउन श्रीमान विदेशबाट आए, छोरा लिएर श्रीमती बेपत्ता

    रुपन्देही । श्रीमान विदेशबाट आएको एक महिनामै रुपन्देहीबाट एक महिला ९ वर्षीय छोरा लिएर बेपत्ता भएकी छन् । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ घर भई हाल बुटवल कालिकानगर आफन्तकोमा बस्ने ३१ वर्षीया संगीता गैरे ९ वर्षीय छोरा दिक्षान गैरेलाई लिएर बेपत्ता भएको उनका श्रीमान खडानन्द गैरे देउतीले बताए ।

    आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने– तीन वर्ष भियतनाम बसेर आएको हुँ, भारत, दुबई, कतार गरेर ११ वर्ष विदेश बसें तर अहिले आएर यस्तो पीडा बोक्नु पर्यो । मैले विदेशबाट कमाएको सबै रकम घरमै पठाउँथे, अहिले त्यो रकम कहाँ गयो भन्ने पनि पत्तो छैन, मलाई अहिले केही चिन्ता छैन रकमको, छोरासहित वेपत्ता भएर चिन्ता लागेको उनले भने ।

    संगीता बिगत् सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

    असोज २२ गतेदेखि श्रीमती छोरासहित बेपत्ता भएर घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि खडानन्दले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका छन् ।

    गैरेले भने, ‘सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्’ आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको खडानन्दले बताए । प्रहरीकोमा निवेदन दिएपनि केही पत्तो नलागेको र केही पत्तो लागेमा ९८१८९२३५९४ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

    एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन् ।

  • नेकपा एसमा असन्तुष्टी चुलिँदै, मन्जु यादवद्धारा वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार

    नेकपा एसमा असन्तुष्टी चुलिँदै, मन्जु यादवद्धारा वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकी युवा नेता तथा प्रदेश २ की सांसद मन्जु यादवले मनोनयन प्रक्रियाप्रति असहमति जनाउँदै सो पद अश्वीकार गरेकी छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै सांसद यादवले मनोनयन गर्ने प्रक्रिया र मापदण्डप्रति नै आफ्नो असहमति रहेकाले वैकल्पिक केन्द्रीय सदस्य अश्वीकार गरेको बताइन् । उनले जिल्लामा संगठन गर्नेहरुलाई पाखा लगाएर आफन्त र नातागोतालाई माथि लैजाने प्रवृतिसँग आफू सहमत नरहेको बताइन् ।

    यादवले रामकुमारी झाँक्रीको ‘बोल्न पाइन्छ,लेख्न पाइन्छ’ भन्ने बहुचर्चित भाषणको कोट गर्दै प्रदेश २ भनेको नेकपा एस पार्टीको लागि दलाल प्रवृतिका पुरुषको मात्र पेवा भएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

    यादवले भनिन्– माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्ला कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने प्रवृति नेकपा एसमा देखियो । मेरो चुनौति छ, आउने चुनावमा माथिल्लो कमिटीमा बसेकाहरु प्रतिनिधिसभा चुनावको टिकट लिने आँट गरुन् ।

    नेकपा एसमा महिलालाई दास बनाउन खोजिएको भन्दै यादवले कसेको दयामा पद नचाहिने बताएकी छन् । केन्द्रीय कमिटीलाई पूर्णत दिएसँगै नेकपा एसमा अशन्तुष्टी बढेको छ । यसअघि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पनि विधि पद्दति भन्नेहरुले नै खिल्ली उडाएर खल्तिबाट केन्द्रीय सदस्य बनाएको बताएका थिए ।

  • यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

    यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

    काठमाडौं । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।

    आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको हो ।

    एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका आधारमा वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।

    त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन भने उपमहानगरपालिकाका वडाहरुमा ४१ र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी चयन हुनेछन् ।

    त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उपमहानगरपालिका कमिटी ८५ सदस्यीय र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने थापाले जानकारी दिए ।

    वडा कमिटी अधिवेशनहरुको निर्वाचन विधि लगायतका अन्य विषयमा तत्कालै सर्कुलर पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए । वडा र स्थानीय तहका अधिकतम अधिवेशनस्थललाई जुममा जोडेर अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी एमालेको छ ।