Author: Anisha Tiwari

  • कोरोना संक्रमणदर ११ प्रतिशतले उकालो लाग्यो, अझै बढ्न सक्ने सरकारको अनुमान

    कोरोना संक्रमणदर ११ प्रतिशतले उकालो लाग्यो, अझै बढ्न सक्ने सरकारको अनुमान

    काठमाडौं । कोरोनाभाइरस संक्रमणदर मंगलबारदेखि पुनः उकालो लागेपछि सरकार झस्किएको छ । केही सातायता चार प्रतिशतमा झरेको दैनिक संक्रमणदर उकालो लाग्दै मंगलबार ११ प्रतिशतमा पुगेको छ । संक्रमणदर ३ प्रतिशत पुगेपछि सामान्य अवस्था मान्न सकिने चिकित्सक बताउँछन् ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांंक अनुसार सोमबार ९ हजार ६९७ वटा नमूना (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको थियो भने मंगलबार ९ हजार ९१६ वटा नमूना (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ ।

    सरकारले भने चाडपर्वको कारण दैनिक संक्रमण पुनः उकालो लाग्नसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले भने, ‘चाडपर्वले गर्दा धेरै प्रयोगशालाले कोरोनाको परीक्षण गरेका थिएनन् । होल्ड भएका नमुनाको परीक्षण एकैपटक भएकाले पनि वृद्धि भएको हुन सक्छ । चाडपर्वले मानिसको आवतजावत ह्वातै बढेकाले केही दिन बढ्न सक्ने उनले बताए ।

    डेढ करोड भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    नेपालमा अहिलेसम्म एक करोड ८८ लाख ५८ हजार सात सय १० डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार खोप १ करोड ५० लाख भन्दा बढीले लगाएका छन् । यसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् ।

    मन्त्रालयका अनुसार कुल जनसंख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् र २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्ष माथिका ४३ प्रतिशतले पहिलो डोज र ३२।६ प्रतिशतले पूर्ण डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • ‘फ्लोरक्रसवाला’ तीन मन्त्रीको छ महिना : संसदमा बोल्नसमेत पाएनन्, अन्योलमै योजना

    ‘फ्लोरक्रसवाला’ तीन मन्त्रीको छ महिना : संसदमा बोल्नसमेत पाएनन्, अन्योलमै योजना

    सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोरक्रस गरी विश्वासको मत दिएर मन्त्री भएका तीनजनाको ६ महिने कार्यकाल ‘ब्यर्थै बितेको’ छ । उनीहरुले न कुनै जनमुखी कार्यक्रम ल्याउन सकेका छन् न त भएका कार्यक्रम कार्यान्वयन नै गरेका छन् । यतिसम्म कि मन्त्री भएको ६ महिनासम्म उनीहरुले संसदमा बोल्नसमेत पाएका छैनन् ।

    एमालेबाट चुनाव जितेका डोल्पाका नन्दसिंह बुढा, दैलेखका अम्बरबहादुर थापा र कालिकोटका कुर्मराज शाहीलाई वैशाख १५ गते फ्लोसक्रस गरी मुख्यमन्त्रीलाई विश्वास मत दिएको उपहारस्वरुप मन्त्री बनाइएको थियो । यद्यपि, एमालेबाट चुनाव जितेका चारैजना त्यसअघि पनि मन्त्री थिए । पछिल्लोपटक प्रकाश ज्वाला भने मन्त्री भएनन् ।

    थापा भौतिक मन्त्री बने भने शाही भूमि व्यवस्था मन्त्री बने । बुढा भने पुरानै पर्यटन मन्त्रालय पर्यटनमै गए । यी तिनैजना मन्त्रीले आगामी कात्तिक १५ गते ‘अनिवार्य अवकाश’ पाउने भएका छन् । तर उनीहरुले अझैसम्म संसदको रोष्ट्रम प्रयोग गर्न पाएका छैनन् ।

    उनीहरु मन्त्री भएपछि ल्याएको बजेट अहिलेसम्म कार्यान्वयनसमेत हुन सकेको छैन । कार्यान्वयन नभए पनि उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा तुलनात्मकरुपमा बढी बजेट भने पारेका छन् ।

    बजेट बाँडफाँट भयो, सार्वजनिक भएन

    भौतिक योजनामन्त्री थापाले मन्त्रालयको एक अर्ब रुपैयाँ बजेट बाँडफाँट गर्नुपर्ने थियो । उनले उक्त विवरण हालसम्म पनि सार्वजनिक गर्न चाहेका छैनन् । यस विषयमा मन्त्रालयका कर्मचारीले समेत जानकारी नभएको बताइरहेका छन् ।

    झण्डै ५० करोड बजेट बाँडफाँटका लागि योजना बनाएका अर्का मन्त्री बुढाले सांसद र कार्यकर्तासँग योजना माग गरे । तर उनले पनि हालसम्म पूर्ण बजेट सार्वजनिक गर्न चाहेका छैनन् । अध्यादेशमार्फत ल्याएको बजेटलाई मन्त्रीले ‘निजी’ जस्तै ठानेर वितरण गरेको आरोप पनि लागिरहेको छ ।

    तर भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले भने कार्यकर्तालाई खुशी पार्न साढे दुई लाखदेखि साढे तीन लाखसम्मका करिब साढे दुई करोड रुपैयाँका योजना बाँडेका छन् । तर ती आयोजना पनि कार्यान्वयनमा गएका छैनन् ।

    तीनै मन्त्रालय सम्वद्ध कर्मचारीले बजेट कार्यान्वयनको प्रक्रिया तिहारपछि मात्रै सुरु हुने बताइरहेका छन् ।

    उनीहरुको स्थानमा कात्तिक १५ पछि नयाँ मन्त्री आउनेछन्, र फ्लोरक्रसवाला मन्त्रीहरुले विनियोजन गरेको बजेटमा भारी फेरबदल हुनसक्ने सम्भावना छ ।

  • प्युठानमा खोलाले बगाएर एकको मृत्यु, दुई जना बेपत्ता

    प्युठानमा खोलाले बगाएर एकको मृत्यु, दुई जना बेपत्ता

    रूपन्देही । प्युठानमा खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन्।

    जिल्लाको माण्डवी गाउँपालिका–४ आँपचौर बस्ने २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको हो भने उनका दुई बर्षीया छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको ८ बर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    गैरेका अनुसार उनीहरुलाई अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजेतिर घर नजिकैको अरङखोलाले बगाएको थियो । देवीसराको शव माण्डवी (२ ढिकावनमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    खोलामा बेपत्ता भएका दुई जनाको अवस्था अझै पत्ता लागेको छैन। सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक गैरेले बताए । सोमबारदेखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदीहरुमा पानीको बहाब बढेको छ।

  • बेमौसमी वर्षाले १८ को मृत्यु, ३३ सम्पर्कविहीन

    बेमौसमी वर्षाले १८ को मृत्यु, ३३ सम्पर्कविहीन

    काठमाडौं । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।

    गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।

    प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा गए राति पहिरोले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये छजनाको उद्धार गरिएको छ ।

    महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा छ बझाङमा २३ सम्पर्कविहीन रहेका जानकारी आएको बताए । यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन् ।

    पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन । हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा गए राति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका छ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।

    कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।

    जिल्लामा फसेका नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको गृहमन्त्रालयले जनाएको छ ।

    पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित

    प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।

    प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।

    आज भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

    जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

  • सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

    सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको छ ।

    यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड-१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ । देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ । एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ ।

    प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ ।

    छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ । सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी-व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको छ ।

    यसैगरी चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन् ।

    वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ ।

    यस्तै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रु पाँच हजार भत्ता दिने निर्णय, अतिविपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार रु दश हजारका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु पाँच लाख दिने घोषणालाई पनि वर्तमान सरकारका सकारात्मक कदमका रुपमा लिन सकिन्छ ।

    कोरोनाको खोपसँगै अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई तुरुन्त जोखिम भत्ता उपलब्ध गराउने कदमलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यो निर्णयले मुलुकभरका स्वास्थ्यकर्मीको मनोबल उच्च गराउने काम गरेको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनःरुत्थान गर्न सरकारले साझा न्यूनतम कार्यक्रममार्फत विशेष प्याकेज पनि सार्वजनिक गरिसकेको छ ।

    सरकारले सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनः निर्माणमा गरेको काम, जनताको समृद्धिका लागि सरकारको साझा न्यूनतम कार्यक्रममार्फत अघि बढाएका कार्यक्रम र योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूर्ण कार्यक्रम हुन् ।

    हाम्राभन्दा पनि योग्य र राम्रा मान्छे छानेर महत्वपूर्ण निकायमा नियुक्ति प्रक्रियाको थालनी भएको छ । सरकार गठनको प्रारम्भमै भएका त्यस्ता निर्णयले विकास एवं सुशासनका लागि जनमानसमा सकारात्मक सन्देश गएको छ ।

    आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने योजना अघि बढेको छ । सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने कार्यक्रमले कोभिड सङ्कटले थला परेका बेला अर्थतन्त्रले सन्तोषको सास फेर्ने वातावरण सिर्जना भएको छ । कोरोनाबाट प्रभावित पेसा/व्यवसाय र सर्वसाधारणका लागि कार्यक्रमअनुसार बजेट विनियोजन भइसकेको छ ।

    युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रमसमेत घोषणा भएको छ । यो कार्यान्वयनमा आएपछि विद्यार्थी र महिलाका लागि उद्यमशीलताको ढोका खुल्ने मात्र होइन सँग–सँगै आत्मनिर्भरता पनि वृद्धि गर्नेछ । यसरी नै अफगानिस्तानमा तालिवानको पुनरोदयपछि सङ्कटमा परेका आफ्ना नागरिकलाई समयमै सकुशल उद्धार गर्न सरकार सफल भएको छ ।

    खासगरी विकास निर्माण र मुलुक समृद्धिको आधार तय गर्नुका साथै पूर्ववर्ती सरकारका गतिविधिले सङ्कटमा परेको संविधान, संसद् र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउनु नै यस सरकारको प्रमुख उपलब्धिका रुपमा लिन सकिन्छ ।

    वर्तमान सरकारले आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा खोप भित्र्याएको मात्र नभएर वैदेशिक लगानीका लागि पनि लगानीमैत्री वातावरण निर्माणको नीति लिएको छ । उता सन्तुलित र सफल परराष्ट्र नीतिका लागि सरकार अग्रसर भएको छ । जस्तो कि अघिल्लो सरकारका समयमा सहज बन्न नसकेको देखिएको नेपाल भारत सम्बन्धमा सुधारका प्रयास सरकारले थालेको छ । यसका लागि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण होस् या भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा हालै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको नेपाली कांग्रेसको टोलीले भारतको भ्रमण गरेको विषयलाई पनि लिन सकिन्छ ।

     

    परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मङ्गलबार मात्र द्विपक्षीय फोनवार्ता भएको छ । त्यस क्रममा नेपाल चीन सम्बन्धका धेरै आयामका साथै व्यापार र अन्य साझेदारीका विषयमा पनि कुराकानी भएको छ । यसलगत्तै हिजो नै चीनले नेपाललाई अनुदानस्वरुप कोरोनाविरुद्धको २० लाख डोज खोप दिने प्रतिबद्धता सार्वजनिक गरेको छ । यसरी नेपाल सरकारले भारत र चीनसँग असल छिमेकी सम्बन्धका रुपमा अघि बढ्ने नीति अख्तियार गरेको छ ।

     

  • दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

    दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

    काठमाडौं । नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ ।

    खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो ।

    दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ ।

    डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक÷एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ ।

    प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।

    यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।

    खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको जानकारी दिए । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भएको छ ।

    बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । यसपटक मनसुनमा धेरै वर्षा भएको थियो । पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो । वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन गरिसकेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन् ।

    उद्धारमा सेनाको हेलिकप्टर पठाइयो

    दुई हेलिकप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।

    कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ । मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताए। उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागिसमेत काठमाडौँबाट हेलिकप्टर पठाइएको जानकारी दिए ।

    सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए । उनले जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको जानकारी दिए । सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्धारमा परिचालित छ ।

  • बझाङमा पहिरोले ७ घर पुरियो, २३ जना बेपत्ता

    बझाङमा पहिरोले ७ घर पुरियो, २३ जना बेपत्ता

    बझाङ । यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

    बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसलछन् ।

    तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा।वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

    सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

    बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।

  • महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च, खतराको तह पार

    महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च, खतराको तह पार

    कञ्चनपुर । महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च भएको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ ।

    पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

    पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३ मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ ।

    सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो ।

    सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् ।

    नदीको पानी भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, ऐरी, ब्रम्हदेव र दोधारा चाँदनी क्षेत्रका बस्तीमा पसेको छ । गएरातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन् ।

    स्थानीय सङ्घसंस्थाले उद्धार गरिएका बासिन्दालाई तत्काल आवश्यक पर्ने राहतका कार्यक्रम सञ्चालन गरेका छन् । महाकाली नदीले तटबन्धसँगै नयाँ बन्दै गरेको पुल जोडने पहुँच मार्ग भत्काउने क्रम जारी राखेको छ । मार्ग भत्कीएमा तटीय क्षेत्रका पूरै बस्ती जलमग्न भई क्षति हुने सम्भावना बढेको छ ।

  • मंगलबार थप एक हजार जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    मंगलबार थप एक हजार जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ नमुनामध्ये ८ हजार १४० पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा १ लाख ६३ हजार २६ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ११ हजार ८१५ जना छन् ।

  • नेपालमा १ करोड ५० लाख भन्दा बढीले लगाए कोरोना खोप

    नेपालमा १ करोड ५० लाख भन्दा बढीले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप १ करोड ५० लाख भन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ करोड ५० लाख ४८ हजार २८८ डोज खोप लगाइएको छ ।

    यसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् ।

    मन्त्रालयका अनुसार कुल जनसंख्यामा २१ प्रतिशत भन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् र २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् ।

    १८ वर्ष माथिका ४३ प्रतिशतले पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएको तथ्यांकमा उल्लेख छ । सरकारले १५ वर्ष माथिका २ करोड भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन लक्ष्य लिएको छ ।

  • निजी अस्पताललाई प्रदेश अस्पतालको काउन्टर, चार सय रुपैयाँ तिरे बिहानै विशेषज्ञ सेवा

    निजी अस्पताललाई प्रदेश अस्पतालको काउन्टर, चार सय रुपैयाँ तिरे बिहानै विशेषज्ञ सेवा

    सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले नयाँ अवधारणा ल्याएर निजी अस्पताललाई काउन्टर दिएको छ । डाक्टरहरु बिहान निजी क्लिनिकमा गएर जाँच गर्ने र अस्पतालमा लामो लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश अस्पतालले निश्चित शुल्क लिएर बिहानै विशेषज्ञ सेवा दिएर निजी अस्पताललाई काउन्टर दिएको हो ।

    प्रदेश अस्पताल कालागाउँमा यसअघि बिहान दश बजेदेखि मात्रै विशेषज्ञ सेवा सुरु हुने गरेकोमा कात्तिक एक गतेदेखि बिहान सात बजेबाट सेवा सुरु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

    डा. खड्का भन्छन्, ‘अब बिहानै पनि चार सय रुपैंया तिरेर विशेषज्ञ सेवा दिन सुरु गरेका छौं । यसले पैसा तत्काल खर्च गरेर सेवा लिन चाहने विरामीलाई सजिलो हुनेछ ।’

    उनले यसबाट अस्पतालको आयस्रोत बढ्ने र उक्त रकमबाट अस्पतालमा कार्यरत विशेषज्ञहरुको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनका अनुसार अस्पतालले बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूती रोगको विशेषज्ञ सेवा प्रदान गर्नेछ । यस्तै, अस्पतालले हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, छाला, सौन्दर्य तथा यौनरोग, मानसिक रोगको विशेषज्ञ सेवा सुरु गरेको छ ।

    अस्पतालले क्याविनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरी सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । अर्थात कुनै अप्रेसनको दिउँसोको समयमा दुई हाजर लाग्थ्यो भने तत्काल अप्रेशन सेवा लिनु परेमा अब तीन हजार तिर्नु पर्नेछ । नाम दर्ता कार्डका लागि २५ रुपैयाँ शुल्क तोकेको अस्पतालले यो सेवा लिनेका लागि शनिबार बाहेक बिहान सात बजेदेखि नौ बजेको समय तोकेको डा. खड्काले बताए ।

  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबिच ‘भर्चुअल वार्ता’

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबिच ‘भर्चुअल वार्ता’

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यी बिच भर्चुअल वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा आपसी सम्बन्ध, हित प्रबर्धन र साझा आयोजनाबारे छलफल भएको छ ।

    बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत सूचीकृत भएका परियोजनाहरु, नेपाल–चीन सीमा सरोकार र अन्य विविध विषयमा छलफल भएको बताइएको छ । झण्डै एक घण्टा लामो छलफलमा चिनियाँ विदेशमन्त्री यीले नेपालको पछिल्लो अवस्थाबारे चासो राखेका थिए ।

    परराष्ट्रमन्त्री खड्काले नेपालको मित्रराष्ट्रका रुपमा चीन सरकारबाट प्राप्त सद्भाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । वार्ताबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्ने तयारी गरेको छ ।

  • हेलम्बु्को चनौटेमा ह्युमपाइप राखेर बनाइएको बाटो बाढीले बगायो, यातायात अवरुद्ध

    हेलम्बु्को चनौटेमा ह्युमपाइप राखेर बनाइएको बाटो बाढीले बगायो, यातायात अवरुद्ध

    सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा हेलम्बु गाउँपालिका र पाचँपोखरी थाङपाल गाउँपालिकामा यातायात सेवा अवरुद्व भएको छ ।

    गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।

    गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिइन् । बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ ।

    यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ ।

    इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताउनुभयो । सडक बन्द हुँदा दसैँ मनाउन आएका यात्रु प्रभावित भएका छन् ।

  • म्यानमारमा कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि जेलबाहिर आफन्तहरुको भीड

    म्यानमारमा कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि जेलबाहिर आफन्तहरुको भीड

    याङ्गोन । म्यानमारमा पाँच हजारभन्दा बढी कैदीहरुलाई रिहा गर्ने घोषणा भएपछि परिवारका सदस्यहरुको जेलबाहिर भीड लागेको छ । सैन्य सरकारले हजारौंको संख्यामा उनीहरुका आफन्तहरुलाई रिहा गर्ने प्रतिबद्धता जनाएपछि भीड भएको हो ।

    गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका थिए ।

    अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् । छ महिनापछि आफ्ना परिवारजन छुट्टेपछि भेटघाटको सम्भावनाले खुशी भएका आफन्तजनको जेलबाहिर भीड लागेका अन्तराष्ट्रिय सञचारमाध्यमले जनाइएको छ ।

    प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

    अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरुमा रहेका राजनैतिक कैदीहरुको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरुले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलहरुबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरु सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरु रहेका थिए ।

  • खड्कुँलोमा चढेर विवाह मण्डपमा पुगे दुलाहादुलही

    खड्कुँलोमा चढेर विवाह मण्डपमा पुगे दुलाहादुलही

    दिल्ली । भारतको दक्षिणी राज्य करेलामा विवाह गर्न दुलाहा र दुलही पकाउने भाँडा(खड्कुँलो)मा चढेर विवाह मण्डपमा पुगेका छन् ।

    शुक्रबारदेखि लगातार भारी बर्षाका कारण खड्कुँलोलाई डुङ्गा बनाएर उनीहरु विवाह गर्न मन्दिरसम्म पुगेका हुन् ।

    आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न लागेका थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्।

    विवाह गर्ने मन्दिर केही डुबेको थियो । उनीहरूलाई नातेदारले अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए।

    करेलामा शुक्रबारदेखि निरन्तर बर्षाका कारण बाढी र पहिरोले आक्रान्त बनेको छ । त्याहाँ ठूलो धनजनको क्षति भएको छ भने बाढीका कारण बाटो र बिजुली पनि अवरुद्ध भएको छ ।

    उद्धारको काम गर्न समेत निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

  •  म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

     म्यान्मारका सैन्य ‘कू’ को विरोधमा पक्राउ परेका पाँच हजार जनालाई रिहा गर्ने तयारी

    म्यान्मार । म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।

    मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये अरू चार हजार ३२० जनाको बारेमा भने देशका विभिन्न अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ ।

    गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारको विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन् ।

    सरकारी अधिकारीहरूले जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने तयारी भइरहेको जनाएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।

    क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।

    प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो । आन्दोलन र राजनीतिक सङ्कटका कारण देशमा अराजकता छाएको छ ।

    आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।

    अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् ।

    रासस

  • डोटीमा घर भत्किँदा दुईको मृत्यु

    डोटीमा घर भत्किँदा दुईको मृत्यु

    डोटी । डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

    डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

    प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

    यस अघि आजै पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भइसकेको छ ।

  • पूर्वी तराईका नदीमा पानीको बहाव बढ्न सक्ने

    पूर्वी तराईका नदीमा पानीको बहाव बढ्न सक्ने

    काठमाडौं । पछिल्लो ६ घण्टादेखि पूर्वी तराई क्षेत्रमा भारी वर्षा भइरहेकाले नदीहरुमा आकस्मिक पानीको बहाव बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    निरन्तर पानी परिरहेकाले तटीय क्षेत्र र होचा भूभागमा बसोबास गरिरहेका र यात्रा गर्नेलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा भारी वर्षा भइरहेको छ । नेपालमा अझै केही दिन पानी पर्ने महाशाखाले जनाएको छ ।

     

  • देशका अधिकांश भू–भागमा भारी वर्षा, अझै केही दिन पानी पर्ने

    देशका अधिकांश भू–भागमा भारी वर्षा, अझै केही दिन पानी पर्ने

    काठमाडौं । बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।

    उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ । पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन् ।

    काठमाडौँ उपत्यकामा बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ । महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

  • पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

    पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

    कैलाली । डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा पुरिएर ज्यान गएको हो ।

    घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

    घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको चन्दले बताए। बाढी र पहिरोबाट ठुलो क्षति हुन नदिन सबै सुरक्षा निकाय लागिरहेको समेत उनले जानकारी दिए ।