Author: Anisha Tiwari

  • साढे तीन करोड बचतसहित पुनमले गरिन् एनआरएनए युकेको खाता हस्तान्तरण

    साढे तीन करोड बचतसहित पुनमले गरिन् एनआरएनए युकेको खाता हस्तान्तरण

    लन्डन। गैरआवासीय नेपाली संघ बेलायतकी निवर्तमान अध्यक्ष पुनम गुरुङले तीन करोड रुपैयाँ नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेकी छन् । उनको पुरानो कार्यसमिति २६ हजार पाउण्ड घाटामा थियो ।

    तर, दुईवर्ष नपुग्दै त्यही संस्थाको बैंक खातामा सवा दुईलाख पाउन्ड अर्थात् तीन करोड रुपैयाँ बराबरको बचत गरेर उनले खाता हस्तान्तरण गरेकी थिइन् । २०१९-२१ वर्षमा राष्ट्रिय समन्वय परिषद्को पहिलो महिला अध्यक्षको जिम्मेवार उनले लिएकी थिइन् । आफ्नो कार्यकालमा पनि उनले कोरोना महामारीबीचमा पनि एनआरएनएको कार्यक्रमलाई अघि बढाइन् ।

    कार्यकालको उत्तरार्धमा एनआरएनए आईसीसीको आह्वान मा ‘अक्सिजन पठाऔ-आफन्त बचाऔ’ अभियानअन्तर्गत २ सातामा २ करोड ६० लाख मूल्य बराबरको अक्सिजन लगायतका स्वास्थ्य सहायता वितरण अभियान उनले चलाइन् ।

    उनकै अगुवाइ र आईसीसीसँगको सहकार्यमा पहिलो पटक बेलायतबाट डेढसय थान अक्सिजन कन्सनट्रेसन नेपाललाई बुझाइयो । उनकै पहलमा संकलित स्वास्थ्य सहायता कोरोनाको दोस्रो लहरको बेला नेपालका विभिन्न जिल्लामा वितरण गर्ने काम भयो । उनलाई बेलायतस्थित नेपाली डायस्पोरामा कतिपयले अझैपनि आइरन लेडीको रुपमा चर्चा गर्छन् ।

    उनी भन्छिन्, ‘टीमवर्क, अग्रज अभियन्ताको निस्वार्थ सहयोग र सद्भावकै कारण, अनेकौं प्रतिकूलताका बीचपनि यति धेरै काम गर्न सकिएकोमा खुशी छु, सबैप्रति आभार व्यक्त गर्दछु ।’ दुई महीनासम्मको हिसाब किताब र लेखापरीक्षणपछि २ लाख एघार हजार ५ सय अर्थात झण्डै तीन करोड ६० लाख रुपैयाँ बचत सहितको हरहिसाब र खाता हस्तान्तरण गरेकोमा उनले खुशि व्यक्त गरिन् । छु ।

    गुरुङले हालै बेलायतको बेजिङस्टोक क्षेत्रमा प्रदान गरिने एक कम्युनिटी अवार्ड प्राप्त गरेकी छन् । स्थानीय समुदाय र परोपकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘कम्युनिटी अचिभर अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ ।

    बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन ९बिएसीसीए०को आव्हानमा वर्षेनी मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ का अवसरमा यो अवार्ड दिइने गरेको छ । यस वर्ष गुरुङसहित अन्य समुदायका समेत जम्मा १० कम्युनिटी लिडरलाई अवार्डका लागि छनोट गरिएको छ ।

    क्यान्सरपीडिको सहयोगार्थ च्यारिटी दौड र नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादिक्षा, कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट डेढसय थान अक्सिजन सहयोग लगायतका कार्यमा गुरुङले गरेको सफल नेतृत्वको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ ।

    एनआरएनएनए बेलायतकै इतिहासमा पहिलो महिला अध्यक्ष गुरुङ त्यहाँको नेपाली समुदायकी एक अग्रणी अभियन्ता हुन् । तमुधिं बेलायत र क्वोने घोण्डे घोताने समाजमा आमा समूहकी संस्थापक अध्यक्ष उनी । तमुधिं यूके, बेजिङस्टोक नेपाली समाजसहित विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् । नेप्लिज वुमन एशोसिएसनमा समेत उपाध्यक्ष छिन् ।

  • फेरी बढ्यो सुनको मूल्य

    फेरी बढ्यो सुनको मूल्य

    काठमाडौं । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४०० ले बढेको छ । बिहीबार छपावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • मंगलबार ६६६ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    मंगलबार ६६६ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २० वटा नमूना ९पीसीआर ९ हजार ७७१ र एन्टीजेन २ हजार २४९० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ६२२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.५ प्रतिशत रहेको मन्त्रालयदले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै १० जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । शून्य संक्रमित भएको मुस्ताङमा अहिले संक्रमित भेटिएको छ भने मुगुमा संक्रमण शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २६९ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख १० हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख ८८ हजार ६३० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ।

  • गृहमन्त्रालयले थाल्यो विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार

    गृहमन्त्रालयले थाल्यो विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार

    काठमाडौं । सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारको प्रयास थालेको छ । विगतको अनुभव र हाल कर्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन पहल थालिएको गृहमन्त्रालयले जनाएको छ । उक्त विषममा मन्त्रालयले आज विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श बैठक सम्पन्न गरेको छ ।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट राज्य पछि हट्नै नसक्ने बताए । उनले आवश्यकताका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको उल्लेख गर्दै त्यस्ता संरचना नेपालको आवश्यकताअनुसार निर्माण गर्नुपर्ने र समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए ।

    उनले विपदमा सबै तहका सरकारको समन्वय र सक्रियताको खाँचो औँल्याए । ‘विपद्सँग जुध्न अधिकार प्रत्यायोजन गरेर मात्रै हुन्न, सङ्घ एक्लैले गरेर पनि सक्दैन, सङ्घ, प्रदेश र स्थानीय तह सँगसँगै जानुपर्छ,’ उनले भने ।

    मन्त्री खाणले विपद् व्यवस्थापनका विषयमा ऐन, कानुनमा उल्लेख छैन भनेर काम गर्न बिर्सन नहुने र त्यसप्रति मन्त्रालय सचेत रहेको बताए । विपद्पछिको पुनर्निर्माणमा कसले काम गर्ने भन्नेमा समन्वय अभाव देखिएकाले त्यसलाई चिर्दै अघि बढ्ने क्रममा मन्त्रालय रहेको समेत उनले बताए ।

    गृहमन्त्री खाणले सुरक्षा निकायले जसरी अन्य सरकारी निकाय विपद् व्यवस्थापनमा लागेको नपाइएकाले त्यसतर्फ गम्भीर हुन अग्रह गरेका छन् ।

    गृहसचिव टेकनारायण पाण्डेले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि कस्तो संरचनाको आवश्यकता छ भन्ने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको औँल्याए । विपद्प्रति मानिसमा चासो र सूचना वृद्धि गर्नु आवश्यक रहेको पनि उनले बताए। बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्रोतसाधन र जनशक्तिको अभावका कारण थप प्रभावकारी रुपमा काम गर्न कठिनाइ भइरहेको उल्लेख गरे ।

    गृह मन्त्रालयकों विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बैठकमा आएका सुझावलाई एकीकृत गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी दिए । बैठकमा सहभागीहरुले गृहमन्त्रालय र प्राधिकरणको भूमिकालाई कानुनतः स्पष्ट पार्नुपर्ने, अन्तरप्रदेश समन्वय बढाउनुपर्ने, समन्वयगत निकायबीचको सूचना आदानप्रदान र सहकार्य बढाउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले विपद् आएपछि राहत उद्धारभन्दा जोखिम न्यूनीकरणमा ध्यान दिन सुझाव दिएका छन् ।

  • लन्डनको वेलिङमा नेपालीको फार्मेसी सञ्चालनमा

    लन्डनको वेलिङमा नेपालीको फार्मेसी सञ्चालनमा

    लन्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लन्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो ।

    एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उनले चर्चा गरेका थिए ।

    त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सिइओ राजन कँडेलले चर्चा गरेका थिए । कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उनले बताए ।

    उनले भने,‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लन्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’

    उनले भने, ‘यस क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका छन् । नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार छौँ । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन । फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ ।’

    त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे बताएकी थिइन् ।
    फार्मेसीको उद्घाटन कार्यक्रममा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरु बिन्दु गुरुङ, कमल गुरुङ, महासचिव केदार थपलिया, सचिव होमनाथ ज्ञवाली, कोषाध्यक्ष दिपेन सिटौला लगातयत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस्तै उपस्थित हुनेमा कँडेल ग्रुप अध्यक्ष उपेन्द्रराज शर्मा, निर्देशक महेन्द्र कँडेल, नरेन्द्र कँडेल रहेका थिए । पशुपति मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा र रियल स्टेट व्यवसायी तथा लेखक प्रगति ओझाको उपस्थिति रहेको थियो ।

    होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । फार्मेसीका विजनेश पार्टनर विशाल सापकोटा कार्यक्रमको संयोजक रहेका थिए ।

    यस फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशन जस्ता सुविधाहरु उपलब्ध हुनेछ ।

    यो फार्मेसी हप्ताको ६ दिन खुल्नेछ भने आइतबार बन्द रहनेछ ।

  • पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

    उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । ‘उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।’ उनले भने ।

    विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ ।

    राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

  • सवारी लाइसेन्सको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

    सवारी लाइसेन्सको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

    काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुला गरेको छ ।

    कोरोना महामारीका कारण ६ महिनादेखि बन्द गरेको आवेदन आजबाट खुलेको विभागले जानकारी दिएको छ ।

    सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने प्रवक्ता लोकनाथ भुसालले बताए ।

    सेवाग्राहीले यातायात व्यवस्था विभागको साइट  https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

  • धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक

    धर्मगुरु निश्चलानन्द भन्छन् नेपाल सुरक्षित हुन हिन्दूराष्ट्र आवश्यक

    रुपन्देही । रुपन्देहीको भैरहवामा आयोजित हिन्दूवादीको भेलामा धर्मगुरु निश्चलानन्दनले नेपाल सुरक्षित हुन सनातन हिन्दूराष्ट्र आवश्यक रहेको बताएका छन् । धर्मनिरपेक्ष बिना अर्थको शब्द भएको तर्क गरेर उनले भेलामा सहभागीलाई हिन्दूराष्ट्रका लागि दबाब दिन आवश्यक रहेको बताए ।

    हिन्दुहरुका सर्वोच्च धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल यसअघि पनि हिन्दुराष्ट्र रहेको, अहिले पनि हिन्दुराष्ट्र रहेको र भविष्यमा समेत हिन्दुराष्ट्र नै रहने दावी गरेका छन् । उनले नेपालबाट सुरु गरि यो अभियानलाई एशिया महाद्विपसम्म नै पुर्‍याउने बताए ।

    हिन्दुहरुका सर्वोच्च धर्मगुरु जगन्नाथपुरीस्थित गोबद्र्धन मठका पिठाधीश निश्चलानन्द ३ दिने कार्यक्रम अन्तर्गत भैरहवामा आएका हुन् । विश्व ओमकार एकता महाअभियानको आयोजनामा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सहित धर्मगुरुको भैरहवा भ्रमण गराइको छ । भैरहवामा आयोजित आध्यात्मिक जागरण बिराट एकता धर्म सभामा प्रवचन दिदै शंकराचार्यले हिन्दुराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ छ ।

    उनले हिन्दुराष्ट्रबारे यहाँका कम्युनिस्टहरु पनि राजी भए पनि बाहिरबाट खुलेर लाग्न नसकेको बताए । कम्युनिस्टहरु बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनिहरु धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए । कुनै व्यक्ति वा बस्तु एक क्षणको लागि पनि धर्म निरपेक्ष हुन नसक्ने उनको भनाइ छ । यसर्थ धर्म निरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ छैन । उनले सबै धर्महरुको मूल धर्म सनातन धर्म नै रहेको हुदा यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे ।

    नेपालका धर्मगुरु डाक्टर चिन्तामणि योगीले अहिले सबै नेपालीहरुको मूख्य उद्देश्य नेपाललाई हिन्दुराष्ट्र बनाउनु रहेको बताए । उनले यसको लागि विश्व ओमकार महाअभियान नै गठन गरी लागेको उनले बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गराउने अभियानमा हिन्दु धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोही अनुसार उनको नेपाल आगमन भएको उनले जानकारी दिए ।

    आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । ४ वटा पिठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोर्वधन धामका वर्तमान पिठाधिश हुन् ।

    भारतका चर्चित र सबैभन्दा उच्च तहका हिन्दू धर्मगुरुसहित नेपाली धर्म गुरुले भैरहवामा आयोजित धर्मसभामार्फत् नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान थालनीको सन्देश दिन खोजेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले विशेष धर्मवचन दिएका छन् ।

    नेपालका वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत सनातन ओमकार परिवारका एक सय जना भन्दा धेरै विभिन्न धर्मगूरु भैरहवा आएका छन् । धर्मसभाबाट कुनै जाति, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । विशुद्ध नेपाललाई हिन्दुराष्ट्र बनाउन सभा केन्द्रिय भएको धर्मगुरुहरुले जनाए । सनातन हिन्दूराष्ट्र पुनस्र्थापनासँगै हिन्दू धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताको अभियान संचालन गर्ने मुख्य उद्देश्य धर्म सभाको रहेको आचार्य किशोर गौतमले बताए ।

  • सुनको मूल्य तोलामा २ सयले वृद्धि

    सुनको मूल्य तोलामा २ सयले वृद्धि

    काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा करोबार भएको छपावाला सुनको मुल्य बढेर ९२ हजार ६ रुपैयाँ कायम भएको छ ।

    यसैगरी तेजावी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    असली चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • आजदेखि काठमाडौंमा अस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइँदै

    आजदेखि काठमाडौंमा अस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइँदै

    काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि कोभिड–१९ विरुद्ध अस्ट्राजेनेका खोपको दोस्रो डोज ८ वटा स्थानीय तहमा लगाइँदै छ । आजदेखि ११ गतेसम्म खोप लगाउने कार्यक्रम छ ।

    काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा खोप लगाइने भएको छ ।

    नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।

    खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित लिएर जानुपर्ने छ ।

  • गृह मन्त्रालयले भन्यो : परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिनू

    गृह मन्त्रालयले भन्यो : परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिनू

    काठमाडौं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।

    परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

  • अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो, नारच्याङबाट दुई दिनमा शिविर पुग्न सकिने

    अन्नपूर्ण आधार शिविरको यात्रा अवधि छोटियो, नारच्याङबाट दुई दिनमा शिविर पुग्न सकिने

    म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई दिनमा छोटिएको जानकारी दिए ।

    ‘नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले गाडीमा दुई घण्टामा पार गर्न सकिन्छ’, उनले भने ‘सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ ।’ अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको पुर्जाले बताए । विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको पहिचान गरेका थिए ।

    पर्यटन विभागले दुई करोड ५० लाख रुपैयाँ भन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

    निलगिरीखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटक र स्थानीयवासीलाई समेत सुविधा पुगेको छ । यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । आयोजनाका इञ्जीनियर केशव वाग्लेले अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण भएको बताए ।

    ‘समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ’, उनले भने, ‘निलगिरि क्यासकेडको बाँध र पहिलाको विद्युत्गृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाएका छौँ ।’ दश प्रतिशत प्रगति भएको निलगिरि क्यासकेडको चार हजार २०० मिटरमध्ये चारवटा अडितबाट दुई हजार २०० मिटर सुरुङ खनिएको निलगिरि हाइड्रोपावरका साइट कार्यालयका प्रमुख रतन बमजनले बताए । निलगिरि क्यासकेडको दोभिल्नामा विद्युत्गृह निर्माण सुरु भएको छ ।

    १३ अर्ब लागत अनुमान गरिएको सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करिब एक हजार मजदुर परिचालन भएका छन् । निलगिरि पहिलाको विद्युत्गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको तयारी गरेको छ । दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।

  • पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडेकोप्रति पत्रकार महासंघ रुपन्देहीको आपत्ति

    पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडेकोप्रति पत्रकार महासंघ रुपन्देहीको आपत्ति

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ को सञ्चार क्षेत्रका लागि छुट्याएको परिमार्जित बजेट विनियोजनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले आपत्ति जनाएको छ । महासंघले लोककल्याणकारी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरेको भन्दै आपत्ति जनाएको हो । यसबारे नेपाल प्रेसले लगातार समाचार प्रकाशन गर्दै आएको छ ।

    सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेट विनियोजनमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन जोडदार माग गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यमको नामै तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको छ । तसर्थ विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्याइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याइ प्रदेशभरिका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।’

    यस्तै महासंघले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएकोप्रति आपत्ति जनाउँदै उक्त कोषको रकमलाई थप वृद्धि गर्न माग गरेको छ । साथै, लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिइ संविधानको मर्म, भावना र पूर्णप्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न पनि महासंघ रुपन्देहीले माग गरेको छ ।

  • सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु)

    सैन्य कूविरुद्ध सुडानमा देशव्यापी प्रदर्शन सुरु, अन्तर्राष्ट्रिय समुदायबाट भत्र्सना (तस्बिरहरु)

    काठमाडौं । सैनिक कूविरुद्ध सडकमा उत्रन सुडानको प्रधानमन्त्री कार्यालयले नागरिकलाई आह्वान गरेको छ । अन्तरीम सरकारका प्रधानमन्त्रीसहितका नागरिक अगुवालाई सेनाले गरेको पक्राउको विरोधमा यस्तो आह्वान गरिएको हो ।

    सेनाविरुद्ध अहिले खार्तुमका सडकमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री अब्दुल्ला ह्यामडकलाई पक्राउ गरी अज्ञात स्थानमा राखिएको त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।

    सैन्य कू भएपछि त्यहाँका सैनिक प्रमुख अब्देल फताह अल बरेनले संकटकाल घोषणा गरेका छन् । साथै, अन्तरिम सरकार र संसद पनि विगठन गरिएको छ ।

    सन् २०१९ मा सेना र अन्तरिम सरकारबीच भएको शक्ति बाँडफाँटले मुलुकको शान्ति र सुरक्षालाई चुनौति थपेको सैन्य कमान्डर बरेनले बताएका छन् ।

    सुडानको नागरिक आयोगका सदस्य मोहम्मद हसनले सैन्य कूलाई राजनीतिक मूर्खतको संज्ञा दिँदै एक थोपा रगत रहेसम्म लडिरहने बताएका छन् । खार्तुममा भएको सेनाविरोधी प्रदर्शनमा १२ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

    जर्मनीले कूको भत्र्सना गर्दै अविलम्व यसको अन्त्य गर्न आग्रह गरेको छ ।

     

  • वीर अस्पतालमा हजार रुपैयाँमा चौबिसै घण्टा पीसीआर परीक्षण सुरु

    वीर अस्पतालमा हजार रुपैयाँमा चौबिसै घण्टा पीसीआर परीक्षण सुरु

    काठमाडौं । वीर अस्पतालले १ हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरेको छ । अस्पतालले विदेश जानेहरुको फोटो र क्युआर कोडको सुविधासहितको पीसीआर परीक्षण १ हजारमै सुरु गर्न थालेको छ ।

    अस्पतालको प्रयोगशालामा यो सुविधा २४ सैं घण्टा उपलब्ध हुने वीरका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्र बस्नेतले जानकारी दिए ।

    सर्वसाधारणलाई सुविधा र राहत पुर्‍याउने उद्देश्यको लागि यो सेवा उपलब्ध गराइएको हो । एक दिनमा १ सयदेखि १५० सम्मको परीक्षण भइरहेको छ । पीसीआर रिपोर्ट मोबाइल र इमेल दुवैमार्फत पठाउने सुविधा सुरु गरेको बस्नेतले बताए ।

    उनले भने– शुल्क १ हजार रुपैयाँमात्र रहेकाले सर्वसाधारणलाई सहज र सुलभ हुने भएकाले पीसीआर सुविधा लिन सक्नेछन् ।

  • कार्यकर्ता रिहाइको माग गर्दै जनकपुरमा जनमत पार्टीको सिठी जुलुस

    कार्यकर्ता रिहाइको माग गर्दै जनकपुरमा जनमत पार्टीको सिठी जुलुस

    जनकपुरधाम । आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै जनमत पार्टीले आज जनकपुरमा सिठी जुलुस निकालेको छ ।

    भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा १७ जनालाई पक्राउ गरी धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

    प्रमुख कुशवाहालाई दुव्र्यवहार गरेको विरोधमा इन्जिनियरहरुले जुलुस निकालेर जनकपुरमा रहेको आफ्ना केन्द्रीय कार्यालयमा तोडफोड गरेको पनि जनमत पार्टीको आरोप छ । यो घटनामा संलग्नहरुमाथि कारबाही र पक्राउ परेका आफ्ना १७ कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ ।

    सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

    जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।

  • फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा

    फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा

    चितवन । भरतपुरका कुँवर दाजुभाइले घरदैलोमै पुगेर फोटोग्राफी सेवा दिने व्यवसाय गरेका छन् । भरतपुर महानगर–७ प्रेमबस्तीका सन्तोष र सन्देश कुँवरले डिएसएलआर सेवा अनलाइन मोबाइल एप सार्वजनिक गरेर घरदैलो सेवा सुरु गरेका हुन् ।

    २०७५ वैशाखमा नारायणी नदीकिनार घुम्न आउनेको फोटो खिचेर मनग्ये कमाएका यी दाजुभाइले एपमार्फत बुकिङ लिएर व्यक्तिगत तथा परिवारका फोटाहरु खिच्न थालेका हुन् ।

    उनीहरुले विवाह, व्रतबन्ध बाहेकका फोटाहरु खिच्ने गर्छन् । फोटोसुट गर्न उत्सवनै हुनुपर्ने मान्यतालाई हटाउन उनीहरुले यो काम थालेका हुन् ।

    ग्राहकले बोलाएकै ठाउँमा पुगेर फोटो खिच्दै आएका उनीहरुले प्रतिफोटो ३० रुपैयाँ लिने गर्छन् । उनीहरुबाट वर्थ डे, एनिभर्सरी, बालबच्चा, परिवारको फोटो खिच्न पाइनेछ ।

    उनीहरुले सञ्चालन गरेको डिएसएलआर सेवामार्फत देवघाट, नारायणी किनार, सौराहा लगायतका ठाउँलाई वेष्ट लोकेसनका रुपमा फोटोसुट गर्दै आएका छन् ।

    उनीहरुले दिनभर फोटो खिच्नुपरे ४ हजार ५ सय देखि ८ हजार रुपैयाँ लिएर फोटोग्राफर उपलब्ध गराउँदै आएका छन् । ‘घुमफिर गर्दा स्तरीय क्यमेराबाट फोटो खिच्ने चाहना सबैको हुन्छ’, सन्तोषले भने, ‘बोलाएको स्थान र समयमा पुगेर फोटो खिच्दै आएका छौँ, फोटो खिच्न ग्राहकले क्यमारानै किन्नुपर्ने बाध्यता पनि हटेको छ ।’

    एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर डिएसएलआर सेवा एप डाउनलोड गरी सजिलै बुकिङ गर्न सकिनेछ । पहिलोपटक बुकिङ गर्दा २५ प्रतिशत छुट सुविधा समेत घोषणा गरिएको छ ।

    २४ वर्षका सन्तोषले स्नातक र २२ वर्षका सन्देशले प्रवीणता प्रमाणपत्र तहसम्म पढेका छन् । ४ वर्षयता उनीहरु फोटो खिच्ने व्यवसायमा रमाएका छन् ।

    उनीहरुले सुरुमा १ लाख खर्चेर नारायणी नदी किनारमा घुम्ती फोटो सेवा दिँदै आएका थिए । त्यो बेला दैनिक २ सय ५० रुपैयाँदेखि १५ हजार रुपैयाँ कमाइ भएपछि करिब २ वर्ष नदी किनारमै केही युवालाई रोजगारी समेत दिएका थिए ।

    पछि नदी किनारमा अन्य व्यक्तिले समेत फोटो सेवा सुरु गरेका थिए । फोटो खिचेरै उनीहरुले १५ लाख कमाएका छन् । पत्रकारिता पढेका सन्तोषले कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म निर्देशन तालिम पनि लिएका छन् ।

    उनीहरु डिएसएलआर सेवालाई देशभर बनाउने अभियानमा छन् । हाल यो सेवा चितवनको भरतपुर, सौराहा, माडी र विराटनगरमा विस्तार गरिएको छ ।

  • उत्कृष्ट प्रहरीको पुरस्कार पाएका कुँवर गृहमन्त्रीको ठाडो आदेशमा हटाइए, कांग्रेस नेता नरिझाएको आरोप

    उत्कृष्ट प्रहरीको पुरस्कार पाएका कुँवर गृहमन्त्रीको ठाडो आदेशमा हटाइए, कांग्रेस नेता नरिझाएको आरोप

    रूपन्देही । शनिबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट उत्कृष्ट प्रहरीको पुरस्कार पाएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा हटाइएका छन्।

    करिब ४ महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखको जिम्मेवारीमा आएका कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी बुटवल ल्याइएका छन् ।

    प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको ठाडो निर्देशनमा गृहमन्त्रीको गृहजिल्ला रुपन्देहीको बुटवलसंगै महानगरीय प्रहरी वृत दरवारमार्गमा कार्यरत प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्काको काज सरुवा गरेको छ।

    दरवारमार्गमा कार्यरत पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा काज सरुवा गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले उत्कृक्ष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको भोलिपल्टै कुंवरलाई सरुवा गरेर गृहमन्त्री खाँणले आफूनिकट केसीलाई बुटवल ल्याएका हुन् ।

    सरकार फेरिएलगत्तै ठगबहादुरले बुटवल आउन लबिङ गर्दै आएका थिए । डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसकेका कारण सरूवा भएको प्रहरी अधिकृतको दावी छ ।

    उनले यहाँको जिम्मेवारी सम्हालेपछि गृहमन्त्रीको क्षेत्रमा रहेको मोतिपुर घटनामा ४ जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव नउठाइ आन्दोलन गर्न दिएर गृहमन्त्रीलाई धेरै आलोचित बनाएको र मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ गर्न भूमिका खेलेको कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँगै गुनासो गरेका थिए ।

  • पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको योजना

    पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने लगानी बोर्डको योजना

    काठमाडौं । आगामी पाँच वर्षभित्र १० खर्ब रुपैयाँ लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले तत्सम्बन्धी रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१–२०२६) तयार पारेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आज नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सीईओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी बनाएर मुलुकमा लगानी विस्तार गर्न रणनीतिक योजना बनाइएको बताए । उक्त प्रयोजनका निम्ति विगतदेखि लगानी गरिरहेका लगानीकर्ता, लगानी गर्न इच्छुक र नयाँ लगानीकर्तालाई नेपालमा लगानीको वातावरणबारे आश्वस्त पार्ने योजना बनाइएको बोर्डले जनाएको छ ।

    बोर्डले यो अवधिमा छ खर्ब रुपैयाँ बराबरको सार्वजनिक–निजी–साझेदारी परियोजना व्यवस्थापन गर्ने र लगानी बोर्डलाई यस अवधारणाको ‘उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यसमेत लिएको छ ।

    लगानी बोर्डको क्षेत्राधिकारमा अहिले छ अर्बभन्दा माथिका सम्पूर्ण परियोजनाको लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन रहेको छ । ऊर्जा परियोजनामा भने २०० मेगावाटभन्दा माथिका परियोजना रहेका छन् । बोर्डले उपयुक्त परियोजनामार्फत एक लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

    बोर्डले स्थापनाको १० औं वर्ष मनाइरहेको अवस्थामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य तथा साझेदारीलाई प्राथमिकतामा राखेर रणनीतिक योजना बनाइएको जनाएको छ ।

    बोर्डको तथ्याङ्कअनुसार स्थापनाको १० वर्षको अवधिमा अहिले कूल २८ वटा परियोजना अगाडि बढेका र यी परियोजनामार्फत रु आठ खर्ब ४४ अर्ब ३७ करोड बराबरको लगानी स्वीकृत भइसकेको छ । बोर्डले अहिले ऊर्जा, उत्पादन, खनिज, पर्यटन, यातायात र सहरी विकास गरी कूल छ वटा क्षेत्रमा लगानी स्वीकृत गरेको छ । जग्गा अधिग्रहण, वन तथा वातावरणीय स्वीकृति, औद्योगिक पूर्वाधार, बढ्दो स्थानीय अपेक्षा, परियोजना सुरक्षालगायत विषय आयोजना कार्यान्वयनका चुनौती रहेको बोर्डले जनाएको छ । रासस

  • वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने पक्राउ

    वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने पक्राउ

    काठमाडौं । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा आठ लाख ५४ हजार रुपैयाँ लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्यूरोले जनाएको छ ।

    गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्‍याएको फेला परेको छ ।

    त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।