Author: Anisha Tiwari

  • कपनमा वडा १२ स्तरीय ब्याडमिन्टन सुरु

    कपनमा वडा १२ स्तरीय ब्याडमिन्टन सुरु

    काठमाडौं । नागेश्वरी युवा क्लबको आयोजनामा बुढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

    कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् । सिंगल्समा १० र डबल्समा १७ जोडी सहभागी छन् ।

    बूढानीलकण्ठ नगरपालिका वडा १२ कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा सिंगल्सतर्फ पहिलो हुनेले ८ हजार र दोश्रोले ४ हजार नगद पुरस्कार पाउने छन् । डबल्सका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता सोमबारसम्म चल्ने छ ।

  • सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सपकोटा संसदीय प्रणालीको लागि कलंक भएको भन्दै अब सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्कमा मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको आरोप लगाए ।

    ओलीले भने– अग्नी सापकोटा जस्ता संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर संसदमा पाइला टेक्न पाउछन् ? कुनै हालतमा हुँदैन । एमालेविरुद्ध निर्लज्ज षडयन्त्र गर्ने र पार्टी फुटाउन मतियारी गर्ने, संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने यस्ता व्यक्ति ।

    अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै ओलीले एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताए । प्रचण्डले एमालेलाई धक्का दिएर माओवादी केन्द्रमा फर्किए पनि अब चुनावमा महाविपत्ति देखिने ओलीको दावी छ ।

  • लिलेविरुद्ध पछि परेको पीएसजीले मेसीलाई पहिलो हाफमै किन निकाल्यो ?

    लिलेविरुद्ध पछि परेको पीएसजीले मेसीलाई पहिलो हाफमै किन निकाल्यो ?

    काठमाडौं । शुक्रबार राति भएको पेरिस सेन्ट जर्मन(पीएसजी) र लिले बिचको खेलमा पीएसजीका मुख्य प्रशिक्षक एउरिसिओ पोचेटिनोले लियोनेल मेसीलाई हाफ टाइममा प्रतिस्थापन गरेका थिए ।

    पीएसजीको घरेलु मैदानमा भएको खेलमा जोनाथान डेभिडको गोलमा लिलेले पहिलो हाफमा अग्रता कायम गरिसकेको थियो । किलेन एम्बाप्पे नाक, कान, घाँटीको इन्फेक्सनका कारण उपचारका क्रममा रहेकाले मैदान बाहिर थिए ।

    मेसीले एनजेल डि मारिया र नेइमारसँगै फ्रन्टलाइनबाट खेल सुरुआत गरेका थिए । तर, पीएसजीले पहिलो हाफ अगाडी प्रभावकरी आक्रमण गर्न सकेको थिएन ।

    लिक्यूपका अनुसार, अर्जेन्टीनी स्टार खेलाडी मेसी केही दिनदेखी मसलको समयाले ग्रसित रहेकाले पाचेटिनोले उनको ठाउँमा माउरिको इकाडीलाई खेलाएका थिए ।

    मेसीले उनको टिममेट हरुसँग तालमेल मिलाएर पहिलो हाफ सकिनै लाग्दा लिलेको पेनाल्टी बक्स नजिकै बाट प्रहार गरेको फ्रि-किक फ्रेममा परेको थिएन ।

  • ‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

    ‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् ।

    एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताए । उनले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गरे।

    ओलीले भने- जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।

    अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।

    म अस्पताल जाँदा यिनको अनुहार चम्किन्छ

    अध्यक्ष ओलीले प्रचण्ड–माधव लगायत अहिलेको सत्ता गठबन्धनका नेताहरुको काम केपी ओली,केपी ओली भन्दै धारे हात लाउने बाहेक अरु केही नरहेको टिप्पणी गरे । ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाए ।

    ओलीले भने– म अस्पताल गएँ भनेपछि नियीहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो । अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ । यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ,कसरी सिध्याउन सकिन्छ त्यही हो नियहिरुको राजनीति ।

  • विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे)

    विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे)

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताएकी छन् ।

    शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुक भित्रै पर्याप्त मात्रामा रहेको बताइन् । मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिद्बाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन् ।

    उनले भनिन्, ‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं । देशको सबै क्षेत्रमा चाहे घरायसी होस्, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्बभन्दा बढि पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढि एलपी ग्याँस आयात हुन्छ । यसलाई केबल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं । यो आफैंमा सस्तो छ ।’

    कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् । उनले विद्युतीय सवारी साधन संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताइन् ।

    र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रर्दशन गरिएका थिए ।

     

  • कैलालीमा चक्कु प्रहार गरी एकको हत्या

    कैलालीमा चक्कु प्रहार गरी एकको हत्या

    कैलाली । कैलालीमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्लाको टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरि हत्या भएको हो ।

    जन्मदिनको पार्टीमा सामान्य विवादमै साउदमाथी चक्कु प्रहार गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    गम्भीर घाइते साउदको उपचारको क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

    चक्कु प्रहार गर्ने भजनी नगरपालिका वडा न ३ ठेकिपुरका १९ वर्षका किरण साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।

  • काठमाडौँमा चिसो ह्वात्तै बढ्यो : आजको तापक्रम १० डिग्री सेल्सियस

    काठमाडौँमा चिसो ह्वात्तै बढ्यो : आजको तापक्रम १० डिग्री सेल्सियस

    काठमाडौँ । उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन् । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

    हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

  • आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

    आकाशबाट खिचिएको लोभलाग्दो कालिञ्चोक (तस्बिरहरु)

    दोलखा । दोलखा जिल्लाको कुरी गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर समुन्द्री सतहबाट ३,८४२ मिटरको उचाइमा पर्छ । यो मन्दिर, हिमालको दृश्य र हिउँ पर्ने गतिविधिका लागि प्रसिद्ध छ ।

    कालिञ्चोकको कुरीबाट भगवतीको थान केबलकारबाट पुग्न सकिन्छ भने हिँडेर पनि १ घण्टा १५ मिनेटमा भक्तजनहरू पुजा अर्चनाका निम्ति जाने गरेका छन्। कालिञ्चोक भगवतीको दर्शन गर्नाले आँटेका काम सिद्ध हुने जनविश्वास रहेको छ।

    कालिञ्चोक भगवतीको मन्दिरबाट गणेश, गौरी शंकर र मनास्लु हिमशृंखला देख्न सकिन्छ।
    हेर्नूस बिहान ड्रोनबाट खिचिएका केही तस्बिरहरु :

               
  • मुक्तिनाथदेखि ढोरपाटनसम्म त्रिदिवसीय भ्रमण : राष्ट्रपतिले दिन खोजेको दुई सन्देश

    मुक्तिनाथदेखि ढोरपाटनसम्म त्रिदिवसीय भ्रमण : राष्ट्रपतिले दिन खोजेको दुई सन्देश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी देशका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन र जानकारी लिनका लागि आजदेखि तीन दिनसम्म काठमाडौं बाहिर विभिन्न क्षेत्रको भ्रमणमा निस्किएकी छन् ।

    अनौपचारिक भनिएको यो भ्रमण मुलतः लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केन्द्रित हुनेछ। राष्ट्रपति भण्डारी आज हिन्दुहरुका प्रसिद्ध चार धाममध्येको एक मुक्तिनाथतर्फ लागेकी छन् ।

    मुस्ताङमा अवस्थित मुक्तिनाथ धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चर्चित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गरी यहाँको धार्मिक पर्यटनको महत्व दर्शाएका थिए ।

    मुक्तिनाथका साथै आजै राष्ट्रपति ढोरपाटन शिकार आरक्षमा पुग्ने कार्यक्रम छ । त्यहाँ आरक्षका वार्डेनले शिकार आरक्ष र पर्यटनको अवस्थाका बारेमा ब्रिफिङ गर्नेछन् भने ढोरपाटन नगरपालिकाका मेयरले स्वागत गर्नेछन् ।

    राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । त्यहाँ विश्वकै अग्लो बुद्धको मुर्ति प्रतिस्थापन लगायतका कार्यक्रम छन् ।

    राष्ट्रपति भण्डारी मंगलबार हिमालपारीको जिल्ला मनाङ जानेछिन् । पर्यटकीय अवस्थाको बारेमा बुझ्नुको साथै नेकपा एमालेका सांसद पोल्देन छोपाङ गुरुङको नमूना स्याउ उद्योगको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

    राष्ट्रपतिको यसपटकको अनौपचारिक भ्रमणको उद्देश्य कोभिड संकटका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन प्रचार गर्ने तथा राष्ट्रिय उद्यमशीलतालाई प्रबद्र्धन गर्ने उद्देश्यले हुन लागेको अर्थमा बुझ्न सकिने ढकालले बताए ।

    नेपालको धार्मिक पर्यटनको महत्व रहेकाले राष्ट्रपति मुक्तिनाथ र लुम्बिनी एकैपटक भ्रमण गर्न लागेको र मनाङ तथा ढोरपाटन शिकार आरक्षको समेत भ्रमण गरेर पर्यटन आन्तरिक तथा बाह्य पर्यटकलाई सन्देश दिन खोजिएको छ । अब नेपाल सुरक्षित छ भनेर सन्देश दिने तथा सांसदले चलाएको नमूना स्याउ फार्मको अवलोकन गरेर राष्ट्रिय उद्यमीलाई हौसला दिने उद्देश्य देखिन्छ ।

    राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको छ । राष्ट्रपति सेनाको हेलिकोप्टरबाटै ती ठाउँमा जाने बताइएको छ ।

  • कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित)

    कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित)

    काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

    सूची :

    देश सङ्क्रमितको सङ्ख्या
    विश्व २४५,५०३,८७९
    अमेरिका ४५,८२६,०९८
    भारत ३४,२३१,८०९
    ब्राजिल २१,७८१,४३६
    बेलायत ८,९७८,४४३
    रूस ८,२६०,०४५
    टर्की ७,९६१,५०५
    फ्रान्स ७,२४८,२८५
    इरान ५,८९९,५०९
    अर्जेन्टिना ५,२८६,०७४
  • भरतपुर अस्पतालमा आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने

    भरतपुर अस्पतालमा आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने

    चितवन । भरतपुर अस्पतालले अनलाइनबाट ओपीडी (बहिरङ्ग)टिकट सुरु गरेको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

    अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए । उनले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई/तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।’ अनलाइन टिकट सुरु गरेसँग टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।

    अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपीडी सेवा सुरु गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपीडी (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपीडी परीक्षण गरिन्छ । यी दुबै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ । रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ । टिकटको शुल्क ३० रुपैयाँ रहेको छ ।

    सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

  • निर्णय भएको तीन वर्षपछि विद्युतीय बस परीक्षणको तयारी

    निर्णय भएको तीन वर्षपछि विद्युतीय बस परीक्षणको तयारी

    काठमाडौं । सरकारले निर्णय भएको तीन वर्षपछि परीक्षणका लागि विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो ।

    पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । ती बस काठमाडौँमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ÷छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनले भने, “तीन बस यहाँको सडकका लागि ठीक भएमा थप त्यसको चार महिनामा ४० बस आउनेछ ।”

    संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएकामा पहिलो चरणमा ४० बस आउनेछ । पहिलो चरणको बस अबको आठ महिनामा ल्याउने योजना बनाइएको भए पनि त्यसबाहेकका अरु बस कहिलेसम्म ल्याउने भनी यकीन नभएको सञ्चालक समिति सदस्य तुलाधरले बताए । उनले भने, “पहिलो चरणमा सबै ठीक भएपछि बिस्तारै अरु बस ल्याएर सञ्चालन हुनेछ ।”

    संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ ।

    संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

    सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए ।

    विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दामार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो ।

    देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । रासस

  • शुक्रबार थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    शुक्रबार थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७४६ वटा नमूना (पीसीआर ७१४५ र एन्टीजेन २६०१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ५६९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख २५ हजार ५२७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै ९ जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । मुगुमा संक्रमितको संख्या शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार १५१ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ ।

  • मेडिकल विद्यार्थीको परीक्षा शुल्कमा २ सय प्रतिशतसम्म वृद्धि, ऐनविपरित भन्दै विद्यार्थी संगठन आन्दोलित

    मेडिकल विद्यार्थीको परीक्षा शुल्कमा २ सय प्रतिशतसम्म वृद्धि, ऐनविपरित भन्दै विद्यार्थी संगठन आन्दोलित

    काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले विभिन्न विधाका नियमित तथा पूरक विद्यार्थीको परीक्षा शुल्कमा दुई सय प्रतिशत भन्दा बढी वृद्धि गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

    आइओएमले नियमिततर्फ स्नातक तहको शुल्क २५ सयबाट ९ हजार रुपैयाँ बढाएको छ भने स्नातकोत्तरतर्फ (एमडी) चिकित्सा विज्ञानको एक लाखबाट एक लाख ५० हजार र नर्सिङ तथा प्यारामेडिक्सको एक लाख रुपैयाँ बनाइएको छ ।

    विद्यार्थीले तिर्नै नसक्नेगरि परीक्षा शुल्क वृद्धि भएपछि नेशनल मेडिकल स्टुडेन्ट एशोसियसनले ऐन, नियम र सम्झौताविपरित वृद्धि गरिएको शुल्क फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

    एशोसियसन अन्तर्गत विभिन्न १५ वटा संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्नातक तहको परीक्षा फर्म भर्ने मिति कात्तिक १४ गतेबाट विस्तार गर्न तथा ऐन विपरितको परीक्षा शुल्कको प्राबधान तथा शुल्क बृद्धिको स्पष्टीकरण पेश गर्न चेतावनी दिएका छन् ।

    एशोसियनका अध्यक्ष डा.मिलन गैरे, नर्सिङ इन्चार्ज ऋचा घिमिरेसहितले जारी गरेको विज्ञप्तिमा भनिएको छ– डिन कार्यालयले चिकित्सा शिक्षा आयोगको अधिकार आफ्नै हातमा लिएर आफैं शुल्क वृद्धि गरी विद्यार्थीलाई दुःख दिएको छ । ऐनले शिक्षण शुल्कलाई परीक्षा शुल्कसहितको अन्य विविध शुल्क भनेर परिभाषित गरेको भए पनि शैक्षिक शुल्कसहित अतिरिक्त परीक्षा शुल्कको औचित्यमाथि प्रश्न खडा भएको छ ।

    विद्यार्थी संगठनहरुले शैक्षिक शुल्कभित्रै परीक्षा शुल्क पनि पर्ने भएकाले परीक्षा शुल्क भनेर विद्यार्थीबाट थप पैसा असुल्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार नै अनेरास्ववियु केन्द्रीय सदस्य तथा महाराजगन्ज नर्सिङ क्याम्पसकी अध्यक्ष ऋचा घिमिरे र महाराजगन्ज मेडिकल कलेजका अध्यक्ष विनय पंज्ञानीले पनि विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

    आइओएमले कात्तिक ७ गते सबै मेडिकल कलेजहरुलाई पत्राचार गर्दै परीक्षा शुल्क निर्धारण गरेको जनाएको थियो । जसमा एमडी, एमडीएस, डिएम र एमसीएचका विद्यार्थीले परीक्षा शुल्कबापत १ लाख ५० हजार बुझाउनुपर्ने भनिएको छ ।

    सोही विधाको अतिरिक्त परीक्षाका लागि १ लाख १५ हजार रुपैया तोकिएको छ भने एमएस्सी नर्सिङ लगायत सो विधानका विद्यार्थीलाई १ लाख रुपैया परीक्षा शुल्क तोकिएको छ । अतिरिक्त परीक्षाका लागि ७५ हजार रुपैयाँ छ ।

  • औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानबिन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् ।

    औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानबिन गर्ने भएको हो । ‘कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ’, उनले भने, ‘औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहेका छन् । दुई/चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।’

    उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

  • सुन र चाँदीको मूल्य घट्यो

    सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सयले घटेको छ । बिहीबार छपावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज ९२ हजार रुपैयाँमा कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ७८ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी बिहीबार प्रतितोला १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १०६७ मा कारोबार भइरहेको छ ।

     

  • बिहीबार थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    बिहीबार थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५५ वटा नमूना (पीसीआर ८८४८ र एन्टीजेन २५०७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै १० जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । मुगुमा संक्रमितको संख्या शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २३६ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८२ पुगेको छ ।

  • म आएपछि स्वास्थ्य क्षेत्रमा भष्ट्रचार हुँदैन : मन्त्री खतिवडा

    म आएपछि स्वास्थ्य क्षेत्रमा भष्ट्रचार हुँदैन : मन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोनाभाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए । ‘बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं ।’

    भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

    मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए । ‘हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ’, उनले भने, ‘चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।’ ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाए । ‘यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए’, उनले भने, ‘तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिँदैन ।’

    मन्त्री खतिवडाले कोरोनाभाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताउनुभयो । ‘केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शैय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो’, उनले भने, ‘१० हजार रुपैयाँको बिल बढाएर अस्पतालले ९० हजार रुपैयाँ पनि पुर्‍याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।’

    मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए । ‘अहिले लोपोन्मुख र अल्पसंख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु’, उनले भने, ‘लोपोन्मुख र अल्पसंख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ ।’ स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक तीन हजार ५०० रुपैयाँको बिमा गरे रु एक लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ ।

    मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने दृढता व्यक्त गरे ।

  • मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ ।

    प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो । सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

    उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।

    विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहेका छन् ।

    छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक डा. गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीको बयान लिएको हो ।

    प्रतिष्ठानमा अहिले सात अर्ब रुपैयाँ सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म ९१ करोड रुपैयाँ घाटा रहेको पाइएको छ । दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो ।

    प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।

  • ‘मन बुढो भएन’ भन्दै राजेश हमालले गाए पहिलो गीत

    ‘मन बुढो भएन’ भन्दै राजेश हमालले गाए पहिलो गीत

    काठमाडौं । प्रख्यात अभिनेता राजेश हमाल अब गायक बनेका छन् । उनले पहिलोपटक दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् ।

    गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

    ‘हमाल दाइलाई आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ,’ गीतकार तथा संगीतकार दीपक शर्माले भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो ।’

    गीत मन पराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेका थिए । दाइसँग दुई पटकको बसाइमा राम्रो ‘प्राक्टिस’ भयो,’ संगीतकार शर्माले भने, ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसनल गायकले झैँ सुरताल पकड्नु भयो । त्यसपछि गीत रेकर्ड गर्‍यौँ ।’

    हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

    पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शकस्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ ।