Author: Anisha Tiwari

  • बिहीबार ३१७ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    बिहीबार ३१७ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार मुलुकमा ३१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२,६५३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने २९९ जना निको भएका छन् ।

    ग्त २४ घण्टामा ४ हजार ५१६ जना कोभिडविरुद्ध खोप लगाएका छन् । अहिलेसम्म सक्रिय संक्रमित संख्या ७५३५ छ ।

    काठमाडौंमा मात्र ५०० भन्दा सक्रिय संक्रमित छन् । मुगु र हुम्लामा मात्र शून्य संक्रमित संख्या छ ।

    कूल संक्रमित संख्या ९ लाख भन्दा बढी छ भने ७ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६६ छ ।

  • चीनको उत्तरपूर्वी सहरहरुमा ११६ वर्षयताकै भारी हिमपात (तस्बिरहरु)

    चीनको उत्तरपूर्वी सहरहरुमा ११६ वर्षयताकै भारी हिमपात (तस्बिरहरु)

    बेइजिङ । चीनको उत्तर–पूर्वी क्षेत्रमा ११६ वर्षयताकै भारी हिमपात भएको छ । लिओनिङ प्रान्तको राजधानी शेनयाङमा औसत हिमपात २० इच्छसम्म हिउँ जमेको छ । सन् १९०५ यताकै उच्च हिमपात भएको सरकारी संचारमाध्यम सिन्ह्वाले जनाएको छ।

    भित्री मंगोलियामा भारी हिमपातका कारण एकको मृत्यु भएको छ भने ५,६०० भन्दा बढी प्रभावित भएका छन्। भित्री मंगोलिया र चीनको उत्तर–पूर्वी सहरमा २७ रेड अलर्ट जारी गरिएको छ ।

    आइतबारदेखि चीनको उत्तरपूर्वी क्षेत्रका केही भागहरुमा चिसोको लहर सुरु भएको थियो । त्यहाँको तापक्रम १४ डिग्रीमा झरेको छ । भारी हिमपातका कारण यातायात प्रभावित भएका छन् भने मंगलबार एक्सप्रेस–वे टोल स्टेशन बन्द भएका छन् । डालियान र डान्डोङ सहरहरू बाहेक ट्रेन र बस स्टेसनहरु बन्द भएका छन् ।

    अधिकारीहरुका अनुसार अधिकांश मानिसहरु घरमा कोइलाको प्रयोग गरेर न्यानो भएर बसिरहेका छन् । बजार र किराना पसलहरूलाई खाद्यान्न आपूर्ति बढाई मूल्य घटाउन पनि आग्रह गरिएको छ ।

    चीनको उत्तर पूर्वी क्षेत्रमा यसवर्ष हिमपातले बिजुलीबाट प्रभावित भएको छ । कोइलाले यसवर्ष ठूलो योगदान पुर्‍याएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले आगामी ९ वर्षमा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएका छन् ।

  • बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

    सिक्किम । होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनलाई अभिनेत्री अदिती बुढाथोकी भारतको पूर्वोत्तर राज्य सिक्किम पुगेकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको ६० प्रतिशत छायांकन सिक्किममै हुने जनाइएको छ ।

    फेसबुक र इन्स्टाग्राममा तस्बिर सेयर गर्दै अदितीले सिक्किममा फिल्म छायांकन सुरु हुन लागेको बताएकी छिन् । सिक्किम सरकारले आफूकहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान उपलब्ध हुने घोषणा गरिसकेको छ ।

    यसका लागि फिल्मको ७५ प्रतिशत छायांकन सिक्किममै हुनुपर्ने र ६० प्रतिशत कास्ट एन्ड क्रिउ त्यहीँबाटै लिनुपर्ने सर्त छ । तर, बाबरी फिल्मले उक्त अनुदान लिने वा नलिने केही खुलाइएको छैन ।

    निर्देशक पौडेल र अभिनेत्री बुढाथोकीले फिल्म कृमा सहकार्य गरेका थिए । बाबरीमा चाहिँ अदितीको को–स्टारको रुपमा धीरज मगर, धीरज टोटलानी, तृप्ती नाड्कर पनि हुनेछन् । यो फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन ।

  • नेपालमा कुष्ठरोगी थपिँदै : प्रभावितहरू निवारण अभियानमा

    नेपालमा कुष्ठरोगी थपिँदै : प्रभावितहरू निवारण अभियानमा

    ललितपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका–७ का ६० वर्षीय रामबहादुर श्रेष्ठको एउटा हातले काम गर्दैन । दक्षिणकाली नगरपालिका– १, खोकना आरोग्य आश्रममा बस्दै आएकी अछामकी ४० वर्षीया वसन्ती टमाटाका दुवै हात र गोडा बाङ्गिएर काम नलाग्ने भएका छन् । त्यहीँ बस्दै आएका नेप्टे दनुवारको पनि एउटा हात गुमिसकेको छ भने अर्को हातको पूरै औँला बाङ्गिएका छन् । ललितपुर, गोदावरीका ७९ वर्षीय भाइराम महर्जनलाई २२–२३ वर्षका उमेरमा नै कुष्ठरोग लागेको रहेछ तर थाहा भएन ।

    द लेप्रोसी मिशन नेपालद्वारा सञ्चालित पाटन क्लिनिक, चापागाउँ दोबाटोमा उपचार गराउँदै आएका उनको बेलैमा औषधि खान नपाउँदा हात बिग्रियो । नेपालमा यस्ता पात्र अरू पनि छन्, जसले कुष्ठरोगबारे समयमै जानकारी नपाएर असहनीय कष्ट खेपिरहेका छन् । समयमा रोगबारे जानकारी नै नभएर उपचारमा ढिलाइ हुँदा धेरैले शारीरिक अपाङ्गताको समस्याका साथ पारिवारिक र सामाजिक अवहेलना सहिरहेका छन् ।

    नुवाकोटकी ६२ वर्षीया मखमली घले ११ वर्षकी हुँदा तमाखु खाने भाँडामा रहेको पाताले पोलेर घाउ भएको थियो । उनी भन्छिन्, ‘पाताले पोलेर डाम बस्यो भन्नेतिर मात्र गइयो । घाउ बढ्दै जाँदा ‘नाग लाग्यो’ भनेर फुकफाक गरियो ।’ कुष्ठरोग भन्ने त उनले सुनेको रहेनछ । पछि बुझ्दा उनलाई वर्षौंअघि नै कुष्ठरोग भइसकेको रहेछ । कुष्ठरोगकै कारण उनका हात र गोडाका औँला गुमे ।

    आनन्दवन अस्पताल, गोदावरी–६, लेलेमा उपचार गराउँदै आएका नवलपरासी, गैंँडाकोट नगरपालिका–१२ का २४ वर्षीय परमेश्वर रावतका शरीरमा चार वर्षअघि मुसाजस्ता ससाना गिर्खा देखिए । छाला रोगको औषधि खाँदा पनि हराएन । कुष्ठरोगको शङ्का भयो र कान चिरेर जँचाउन पठाइयो । कुष्ठरोग प्रमाणित भएपछि चिकित्सकको सल्लाहबमोजिम नौ पत्ता औषधि पनि खाए । चार महिनाअघि फेरि उनको शरीरभरि गिर्खा देखिए । उनलाई ‘रियाक्सन’ भएको रहेछ । धन्न समयमै अस्पताल पुगे र उनका नसामा रोगले असर गर्न भ्याएन ।’गिर्खा देखिनेबित्तिकै विज्ञसँगै छलफल गरी पूर्ण मात्राको १२ पत्ता औषधि खान पाएको भए फेरि अस्पताल आउनु पर्दैनथ्यो,’ रावतले चुकचुकाउँदै भने । उनी डेढ महिनादेखि आनन्दवन अस्पतालमा उपचाररत छन् ।

    काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–१२ निवासी ५४ वर्षीय कृष्णबहादुर दनुवार पनि शरीरमा ‘रियाक्सन’ भएकाले उपचार गराउँदै छन् । उनको शरीरमा आठ वर्षअघि दाग देखिएको थियो । उनी पनि त्यति बेला ‘नाग लाग्यो’ भनेर फुक्न गएछन् । खासै पोल्ने र दुख्ने समस्या नभएका कारण उनले दागप्रति त्यति ध्यान दिएनन् । समस्या गहिरिँदै गयो । दनुवार भन्छन्, ‘जति पछि हुँदै गयो, उति शरीर फुल्न र पाक्न थाल्यो । ६ महिनाअघि धुलिखेल अस्पताल जाँदा एक पटक आनन्दवन जाने सल्लाह पाइयो । करीब एक महिनादेखि अस्पताल भर्ना भएर नियमित औषधि सेवन गर्न थालेको छु । मुख अनि शरीर हेर्न हुने हुँदै गइरहेको छ ।’

    रौतहट, गौर नगरपालिकाकी ३५ वर्षीया गीतादेवी मुखियाको पनि शरीरमा १६ वर्षअघि सेतो दाग देखिएको थियो । पछि त्यहाँ फोका आएर घाउ भयो र फुट्यो । गोडा लाटो हुँदै गयो । उनी भन्छिन्, ‘उपचार गर्न विभिन्न अस्पताल धाउँदा धाउँदै कुष्ठरोग भएको चाल पाइयो । ज्यादै कम सर्ने यो रोग लाग्नुअघि १३ वर्षकै उमेरमा विवाह गरिएकाले चार सन्तान र श्रीमान् त साथमा छन् तर सासूबाट निकै हेलाँ पाएर घरबाट निकालिएँ ।’ अहिलेसम्म श्रीमान्को साथ पाए पनि घरै छाड्नुपरेको दुःख उनको मनमा गडेर बसेको छ । ‘रोग लागेर १० भन्दा बढी पटक आनन्दवन धाइसक्दा पनि सासूआमाको मप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन’, उनी गुनासो गर्छिन् ।

    समयमै शङ्का गरौँ

    कुष्ठरोगशून्य समाजको परिकल्पना गर्दै विश्वका कुष्ठरोग प्रभावित देशहरू ठोस कार्ययोजना बनाएर अघि बढिरहेका छन् तर विश्वबाट कुष्ठरोग निर्मूल नै भइसकेको भने छैन । नेपालमा पनि यो जनस्वास्थ्य समस्याका रूपमा छ । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट कुष्ठरोग लाग्छ । नर्वेली भौतिकशास्त्री डा. गेरहार्ड हेनरिक आर्मर ह्यानसनले सन् १८७३ मा कीटाणुका कारणले कुष्ठरोग हुने पत्ता लगाएका थिए । त्यसअघि समाजमा ‘महारोग’लाई वंशाणुगत रोग अथवा दैवी अभिशापले भएको मानिन्थ्यो । ‘कोढ’ लागेकालाई परिवार र समाजले छिःछिः र दुरदुर गर्थ्यो । अझै पनि ‘ह्यान्सन्स डिजिज’ लागेकालाई हेर्ने समाजको दृष्टिकोण सहज र पूर्ण सकारात्मक छैन ।

    सो रोगले खासगरी छाला र स्नायु प्रणालीमा असर गर्छ । आनन्दवन अपाङ्गता न्यूनीकरण संयोजक कृष्ण गोदार थापा भन्छन्, ‘यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, शरीर छुँदा थाहा नहुने, दाग देखिने, छाला बाक्लोे हुने, गिर्खा देखा पर्ने, हातगोडामा छोएको पनि चाल नपाउने र विस्तारै मांसपेशी कमजोर हुन्छ । ‘सुन–बहिरी’ रोगका कारण छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।’

    कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासका माध्यमबाट सर्ने आनन्दवन कुष्ठरोग सहयोग सेवाका इञ्चार्ज बद्री कठायत बताउँछन् । उनी भन्छन्, ‘साधारणतया सरेको दुईदेखि पाँच वर्षभित्र कुष्ठरोगका चिह्न तथा लक्षण देखापर्छन् । छालामा रातो वा फुस्रो दाग आए, अनुहारको छाला वा कानको लोती बाक्लो भए, चम्किलो देखिए, अनुहार वा शरीरमा गिर्खा देखापरे, आँखीभुइँ झरे वा पातलो भए, हातखुट्टाका औँला बाङ्गिए वा खुम्चिए यो रोग लागेको शङ्का गरी जँचाउन जानुपर्छ ।’

    यस्तै हात वा खुट्टा लत्रिए, हत्केला वा पैतालामा नदुख्ने घाउ देखिए, हत्केलाका मांसपेशी सुकेर गए, नाक थेप्चो भएर गए, लगातार हातगोडा झमझमाउने गरिरहे, हातगोडा पोल्ने वा निदाएको जस्तो भए, अनुहारतिर कमिला हिँडेको जस्तो रगरग गरे, हातका औँलाहरू र खुट्टा विस्तारै कमजोर हुँदै गएमा पनि यो रोग लागेको शङ्का गरी जँचाउन जानुपर्ने उनी बताउछन् । कठायतका अनुसार रोग लागेको शङ्का लागेमा बेलैमा नियमित उपचार र औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता हुनबाट जोगिन्छ ।

    कुष्ठरोगको उपचार

    कुष्ठरोगको उपचार बहुऔषधि विधिबाट गरिन्छ । नेपालमा आव २०३९/४० मा बहुऔषधि उपचार प्रणाली शुरु भई विसं २०५३ देखि देशभर लागु छ । बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका बिरामीले छ महिना नियमित औषधिसेवन गर्नुपर्छ । दुई वा तीन किसिमका औषधिको मिश्रण बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत कीटाणु निष्क्रिय बन्ने छाला तथा कुष्ठरोग विशेषज्ञ डा. सुवास खनालले बताए ।

    कुष्ठरोगको उपचारका लागि २०१३ सालमा स्थापित आनन्दवन अस्पतालमा हाल १६ देखि ८० वर्ष उमेरसम्मका ५४ बिरामी भर्ना भएर उपचार भइरहेको छ । कुष्ठरोगी तथा प्रभावितको उपचार व्यवस्थापन, सुधारात्मक शल्यक्रिया, रोग फेरि बल्झिएका बिरामीको जाँच, आँखा तथा फिजियो थेरापीका साथै नसा रोगको उपचार हुने अस्पतालले जनाएको छ । एक सय १० शय्या क्षमताको अस्पतालमा जटिल प्रकारको घाउ, ‘रियाक्शन’का साथै कुष्ठरोगको अनुसन्धानसमेत हुने गरेको छ ।

    मुलुकको एक मात्र पोषण केन्द्रका रूपमा परिचित अस्पतालका निमित्त मेडिकल निर्देशक डा. महेश शाह अस्पतालले कुष्ठरोगीका लागि कृत्रिम अङ्ग, जुत्ता, काम्रो, बैसाखी, चश्मा आदि सहयोगी सामग्री पनि उपलब्ध गराउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालले सातै प्रदेशका बिरामीलाई २४ सै घण्टा उपचार सेवा दिइरहेको छ ।

    सो रोगको बिरामीका लागि काठमाडौँ उपत्यकामा रहेर काम गरिरहेको संस्था दि लेप्रोसी मिशन नेपालका अधिकारी आर्थेन रङगङका अनुसार सन् २०२० मा ८५ नयाँ कुष्ठरोगी पत्ता लागेका थिए । यही नोभेम्बर ८(कात्तिक २२) सम्ममा १६० जना सो रोगका बिरामी भेटिइसकेका छन् । ‘मुलुकमा कोरोना संक्रमण न्यूनीकरण हुँदै जाँदा अस्पतालमा उपचार गर्न आउने बिरामी बढेसँगै नयाँ बिरामीसमेत पत्ता लगाउने क्रम बढेको छ’, उनी भन्छन् ।

    अस्पतालका मेडिकल रेकर्ड विभाग प्रमुख कान्छा श्रेष्ठका अनुसार सन् २०२० मा घाउ उपचार अनि जुत्ता आदि सहयोगी सामग्री लिन आउनेहरू तीन हजार ५३३ तथा सन् २०२१ को सोमबारसम्म चार हजार २८० ले सेवा पाइसकेका छन् । त्यसैगरी आनन्दवनले उपलब्ध गराएको तथ्याङ्कानुसार सन् २०२० मा कुष्ठरोग पुनः बल्झिएको शङ्का लागेर उपचार गराउन आउने १४ मध्ये ११ मा रोग देखिएको थियो । गत सोमबारसम्म २६ जना उपचार गराउन आएकामा २२ जनामा रोग भेटिएको थियो ।

    कुष्ठरोगीका लागि काठमाडौँ उपत्यकाभित्र चन्द्रशम्शेरकालीन आरोग्य आश्रमले पनि सहयोग गरिरहेको छ । नेपाल कुष्ठरोग निवारण सङ्घका कर्मचारी तथा आश्रम प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा घरबारबिहीन, हेलित र आफन्तको ठेगाना पत्ता नभएका व्यक्तिलाई आश्रय दिने गरिएको जहाँ हाल १६५ जना छन् । दक्षिणकाली–२ का साथै केही दाताले आश्रितका लागि बेलाबेलामा सहयोग गर्ने गरेको श्रेष्ठ बताउछिन् । आश्रमले सोमबार र बिहीबार क्लिनिक सञ्चालन गर्छ । त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई आनन्दवन पठाइने गरेको जनाइएको छ । काठमाडौँ उपत्यका बाहिर धनुषा, लालगढमा कुष्ठरोग सेवा केन्द्र तथा पोखरा, नेपालगञ्ज र सुर्खेतमा केही स्वास्थ्य संस्था कुष्ठरोग उपचारमा सक्रिय छन् ।

    चुनौती बाँकी

    विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कानुसार सन् २०१९ मा विश्वमा कुष्ठरोगका दुई लाखभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने अपाङ्गता भएका २०–३० लाख छन् । सङ्गठनले प्रति १० हजार जनसंख्यामा एकभन्दा कम कुष्ठरोगी भएमा रोग निवारण भएको र जनस्वास्थ्य समस्याका रूपमा नरहेको मानेको छ । विसं २०६६ माघमा नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरियो । यद्यपि कुष्ठरोग लाग्ने समस्या बाँकी नै छ । नेपालका सबै जिल्लाबाट सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिइएको ‘जिल्लास्तरीय कुष्ठरोग निवारण अभियान निर्देशिका (२०७३)’ मा नै उल्लेख थियो । राष्ट्रियस्तरमा निवारण भए पनि जिल्ला तथा स्थानीयस्तरमा चुनौती अझै छ र समुदायमा रोग संक्रमण प्रक्रिया अझै रोकिएको छैन ।

    ‘कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्यसञ्चालन निर्देशिका (२०७५)’ ले कुष्ठरोगीको चाप सबैभन्दा धेरै तराई तथा त्यसपछि पहाडमा र सबैभन्दा कम हिमाली भेगमा पाइएको उल्लेख गरेको छ । स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार सन् २०२० सम्ममा मुलुकका सबै जिल्लामा कुष्ठरोग प्रभावितलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानलाई शून्य बनाउने रणनीति लिइए पनि कुष्ठरोगीका कुरा सुन्दा त्यो अझै कार्यान्वयन हुन नसकेको देखिन्छ ।

    काठमाडौँ उपत्यकामा भेटिएका केही कुष्ठ प्रभावितले सो रोग न्यूनीकरण गर्न सरकारले थप प्रभावकारी कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । कुष्ठरोगीको संख्या न्यूनीकरणमा रामेछापका ७५ वर्षीय उमाप्रसाद तिवारी र काभ्रेपलाञ्चोक, पनौतीका ६२ वर्षीय काशीनाथ अर्याल जस्ता कुष्ठ प्रभावितले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने तिनले बताएको छन् । तिवारीलाई कुष्ठरोग भएको शङ्का गाउँलेले २०२६ सालमा गरेपछि उनी उपचारका लागि काठमाडौँ आए । यसै वर्ष पनि १० महिना आनन्दवनमा भर्ना भएर उपचार गराए । कुष्ठरोगका कारण शारीरिक र मानसिक पीडा भोगेका तिवारी २०४९ र अर्याल २०४८ सालदेखि कुष्ठरोगीको सेवामा समर्पित छन् ।

    कुष्ठरोगको उपचारबारे व्यापक प्रचारप्रसार भइरहँदा अनभिज्ञका हितमा सो रोगको उपचार हुने ठाउँ र संस्थाबारे जानकारी गराउनुपर्ने अर्याल बताउछन् । ‘रोग पहिचान भएका बिरामीसँग निकटतम सम्पर्कमा रहेका व्यक्ति र परिवारका सदस्यमा रोग सर्ने सम्भावना ध्यानमा राखी त्यस्ता व्यक्ति/परिवारका सदस्यलाई सम्पर्क जाँच अनिवार्य रूपमा गर्न गराउन आवश्यक व्यवस्था पनि सरकारले मिलाउनुपर्छ’, तिवारीको सुझाव छ ।

  • नेपाल-भारतका चारधामलाई शिव सर्किटको रुपमा विकास गर्ने सरकारको योजना छ : पर्यटनमन्त्री आले

    नेपाल-भारतका चारधामलाई शिव सर्किटको रुपमा विकास गर्ने सरकारको योजना छ : पर्यटनमन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले चारधामलाई शिव सर्किटको रुपमा विकास गर्नुपर्ने सरकारको योजना रहेको बताएका छन्। आजदेखि सुरु भएको पशुपतिनाथ–काशी विश्वनाथसम्मको अमृत महोत्सव मोटरसाइकल र्‍यालीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    भगवान शिवले बास गरेका चार धामहरू पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । ‘यो सर्किटको विकासले शिवालयहरूप्रति धार्मिक आस्था बढेर जानेछ’ उनले भने ।

    नेपाल–भारतबीच सदियौंदेखिको सांस्कृतिक सम्बन्ध रहिआएको उनले बताए । पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दू धर्मको गरिमा उच्च रहने विश्वास उनले व्यक्त गरेका छन् ।

    भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त कार्यक्रममा बोल्दै नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिरले दुई देशको समाज र सम्बन्धलाई जोडेको बताए ।

  • आइतबारदेखि बालबालिकालाई देशका २४ अस्पतालबाट फाइजर खोप लगाइँदै

    आइतबारदेखि बालबालिकालाई देशका २४ अस्पतालबाट फाइजर खोप लगाइँदै

    काठमाडौं । आइतबारदेखि बालबालिकालाई लगाइने कोभिडविद्धको फाइजर खोप मुलुकको २४ वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ वटा खोपकेन्द्र तोकिएको छ ।

    काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

    उपत्यका बाहिर उपत्यका बाहिर, मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, सेती अस्पतालमा खोपकेन्द्र तोकिएको छ ।

    फाइजर खोप १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने छ। यो खोप मंसिर ४ गतेसम्म लगाइनेछ । मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।

  • मिर्गौलाको बायोप्सी परीक्षण नेपालमा हुने

    मिर्गौलाको बायोप्सी परीक्षण नेपालमा हुने

    काठमाडौं । अब नेपालमा नै मिर्गौलाको बायोप्सीको परीक्षण नियमित हुने भएको छ । ‘प्रथम प्याथोलोजी ल्याब’ले मिर्गौला बायोप्सीको परीक्षण सुरु गरेसँगै नेपालमा पहिलोपटक नियमित बायोप्सीको परीक्षण हुने भएको हो ।

    यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बायोप्सी परीक्षणको सुविधा भए पनि नियमित परीक्षण नगर्दा नेपालका सबै मिर्गौला बिरामीको बायोप्सीको नमूना परीक्षण गर्नका लागि भारत पठाइने गरिन्थ्यो ।

    भारत पठाउन ६ हजार रुपैयाँ लिने गर्दथ्यो तर ‘प्रथम प्याथोलोजी ल्याब’ ले पाँच हजार ५०० रुपैयाँमा नै बायोप्सीको परीक्षण गर्न थालेको छ । आजदेखि सञ्चालनमा आएको ल्याबको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)की डीन प्रा. डा. दिव्या सिंहले उद्घाटन गरे ।

    उनले स्वास्थ्य परीक्षणमा नेपाल आत्मनिर्भर बनाउन यस ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ल्याबका अध्यक्ष डा. निराजन मैनालीले मिर्गौलाका बिरामीलाई लक्षित गरी ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले विशेषज्ञ चिकित्सकसहित ल्याब सञ्चालन ल्याइएको बताए । उनले अबको पाँच वर्षभित्र कुनै पनि स्वास्थ्य परीक्षण गर्न विदेश जान नपर्ने तरिकाले आफूहरुले ल्याबलाई स्तरोन्नति गर्नेसमेत बताए ।

    यस्तै ल्याबले बिरामीलाई मोबाइल एपमा नै रिपोर्ट उपलब्ध गराउने भएको छ । बिरामीले आफ्नो रिपोर्ट जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था मिलाइएको ल्याबका अध्यक्ष डा मैनालीले बताए । उनका अनुसार ल्याबमा परीक्षण गरिने रोगको बढीमा तीन दिनसम्म रिपोर्टसमेत दिने बताए ।

  • पशुपतिनाथदेखि काशी विश्वनाथसम्म मोटरसाइकल र्‍याली सुरु (तस्बिरहरु)

    पशुपतिनाथदेखि काशी विश्वनाथसम्म मोटरसाइकल र्‍याली सुरु (तस्बिरहरु)

    काठमाडौं । नेपालको पशुपतिनाथदेखि भारतको काशी विश्वनाथसम्म अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरु भएको छ ।

    पशुपतिनाथ मन्दिरबाट आजदेखि सुरु भएको र्‍यालीको शुभारम्भ पर्यटन तथा संस्कृतिमन्त्री प्रेमबहादुर आलेले गरे । दुई मुलुकबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै उनले र्‍यालीलाई शुभकामना दिए ।

    मन्त्री आले र भारतीय राजदूत विनयमोहन क्वात्राले र्‍यालीको सुरुआत गरे । उक्त र्‍याली पाँच दिनमा काशी विश्वनाथसम्म पुग्ने बताइएको छ ।

    तस्बिरहरु : गौरब पौडेल

                   
    
    
  • भोलिदेखि जनगणना सुरु : हरेक परिवारलाई ८० वटा प्रश्नावली

    भोलिदेखि जनगणना सुरु : हरेक परिवारलाई ८० वटा प्रश्नावली

    काठमाडौं । हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ ।

    यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।

    जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

    जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । उनका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

    जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।

    एक प्रश्नको जवाफमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने उनले जानकारी दिए । यसपटकको जनगणनामा काठमाडौँ महानगरपालिकासमेत काठमाडौँ जिल्लाका छ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।

    यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उनले जानकारी र्दिए । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसङ्ख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले हरेक दश वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसङ्ख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक र आर्थिक सूचकको लागिसमेत सूचना प्रदान गर्न सकिने बताए ।

  • काठमाडौंसहित देशभर चिसो बढ्यो

    काठमाडौंसहित देशभर चिसो बढ्यो

    काठमाडौँ । उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । ‘तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन’, उनले भनीन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।

    हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई कारवाही

    सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई कारवाही

    काठमाडौं । सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरिरहेको छ ।

    वाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको थियो । बढेको भाडा अनुसार अहिले न्यूनतम् भाडा १८ रुपैयाँ तोकिए पनि २० रुपैयाँ भाडा लिएको पाइएको महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिए ।

    २३ रुपैयाँ भाडा तोकिएका स्थानमा खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ रुपैयाँ भाडा लिने गरेका छन् । प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ रुपैयाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ रुपैयाँ भाडा सरकारले तोकेको छ ।

    बढी भाडा लिएको पुष्टि हुने भएपछि पहिल्यैदेखि स्थानीय मार्गमा सार्वजनिक यातायातले टिकट दिँदैनन् । जबकि साझा यातायात काठमाडौँ उपत्यकाभित्र पनि टिकट दिएर यात्रा गराउने गर्छ । भाडा बढेपछि बढी भाडा लिएको गुनासो बढ्ने गरेपनि सरकारी तहबाट अनुगमन हुनसकेको छैन । यातायात व्यवस्था विभागमा अनुगमनका लागि छुट्टै गाडी र कर्मचारीको व्यवस्था गरिए पनि व्यवसायीसँगको मिलेमतोमा केही नगर्ने गरेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए ।

    पछिल्लो पटक वाग्मती र प्रदेश नं १ सरकारले ढल्ने निश्चित् भएपछि यातायात व्यवसायीको प्रभावमा भाडा वृद्धि गरेर यात्रुलाई दुःख दिने काम गरेको उनको भनाइ छ । यो निर्णय नयाँ बनेको सरकारले सच्याउनुपर्नेमा जनचासोका विषयमा ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

    सङ्घीय सरकारले पनि ढल्ने निश्चित भएपछि असार २७ गते एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने लामो दूरीका सवारीको भाडा वृद्धि गरेको थियो । यो निर्णय पनि असार २९ गते नै बनेको पाँच दलीय गठबन्धनको सरकारले नसच्याएर जनताका समस्यामा ध्यान नदिएको यात्रु रविना मल्लले बताए ।

    महाशाखाले भने तोकिए भन्दा बढी भाडा लिने सवारीलाई कारबाही गरिरहेको जनाएको छ । सुरुमा दैनिक २० देखि २५ र हाल १० देखि १५ वटा सार्वजनिक यातायातलाई बढी भाडा लिएकामा महाशाखाले कारबाही गरिरहेको छ । बढी भाडा लिने सवारीको नम्बर महाशाखाको टोल फ्रि नं १०३ मा टिपाए उपत्यकाभर जुनसुकै स्थानमा भए पनि ती सवारीलाई कारबाही हुने गरेको सहायक प्रवक्ता रोक्काले बताए । रासस

  • मंगलबार ५ सय संक्रमित थपिँदा १ जनाको मृत्यु

    मंगलबार ५ सय संक्रमित थपिँदा १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ५३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४४३ जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

    सोही अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ जना छन् ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ । यस्तै कूल ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • विश्व जलवायु सम्मेलन कोप-२६ मा धुलिखेल मोडेलको चर्चा

    विश्व जलवायु सम्मेलन कोप-२६ मा धुलिखेल मोडेलको चर्चा

    काठमाडौं । केही साताअघि काभ्रेको धुलिखेल नगरपालिकाले शून्य कार्बन उत्सर्जन गर्ने योजनाअनुसार नगर क्षेत्रभित्र कोइलाको प्रयोगमा रोक लगाउने निर्णय गर्‍यो । नगरपालिकाले कार्बन उत्सर्जनलाई निरुत्साहित गर्न अन्य निकाय र मुलुकलाई पनि यस्तो योजना लागू गर्न आग्रह गर्‍यो ।

    धुलिखेलले कोइलाको प्रयोगमा रोक लगाउने निर्णय गरेको एक महिनामै स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) आयोजना भयो । उक्त सम्मेलनमा चीन, भारत, रुस, अमेरिका, बेलायतजस्ता कार्बन उत्सर्जन बढी गर्ने मुलुकलाई कार्बनजस्ता जीवाश्म इन्धनको प्रयोगमा रोक लगाउन दबाब परिरहेको छ ।

    कोपको एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालको धुलिखेल नगरपालिकाले कोइलाको प्रयोगलाई प्रतिबन्ध लगाएको समाचार प्रवाह गरिन् । यो सन्देश नेपालको एक सानो नगरपालिकाले सुरु गरेको भए पनि राजदूतले प्रवाह गरेकोले होला, त्यसले ग्लास्गो शहरमा गुञ्जियो ।

    नेपाली राजधानी काठमाडौँको छिमेकी जिल्ला काभ्रेस्थितको एक नगरपालिकाले चालेको अभियानको सन्देश नेपालका लागि बेलायती राजदूतले प्रवाह गरेको भोलिपल्टै विश्वका सबैजसो राष्ट्रले कोइलाको प्रयोग रोक्ने घोषणा गरेका छन् । यो एक संयोग मात्र हुन सक्छ तर पनि नेपालको सन्देशले ठूलो ठाउँ ओगटेको विश्लेषकहरुले अनुमान गरेका छन् ।

    धुलिखेल नगरप्रमुख अशोक ब्यञ्जुका अनुसार नगरक्षेत्रभित्र कोइलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । खनिजतत्व उत्खनन नगर्ने, वातावरण मैत्री विकास गर्ने र आगामी पाँच वर्षभित्र नगरबासीका सबै घरभित्रको प्रयोग भएको फोहोर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम गरिएको उनले नेपाल प्रेसलाई बताए ।

    विश्वमा सबैभन्दा बढी कोइला प्रयोग गर्ने मुलुक भारत प्रमुख मानिन्छ । भारतलगायत चीन, अमेरिका र अष्ट्रेलियाले भने प्रतिबद्धता जनाएका छैनन् । विश्वका १६० भन्दा बढी मुलुकले कोइलाको प्रयोगलाई कम गर्दै जाने, प्रतिबन्ध लगाउने र उत्खननलाई रोक्ने कुरामा गरिएको प्रतिबद्धताले भारत र चीनलाई पनि नैतिक दवाब पर्ने भनाई सार्वजनिक हुन थालेका छन् । कार्बन उत्सर्जन गर्नमा कोइलालाई प्रमुख इन्धन मानिन्छ ।

    काजलवायु परिवर्तन विज्ञ डा. विमल रेग्मी कोइलाको प्रयोग घटाउँदै जाँदा कार्वन उत्सर्जनमा कमी आउने भएकाले सबै मुलुक ढिलोचाँडो यो कुरामा सहमत हुनुपर्ने धारणा राख्छन् ।

    कोइलाको प्रयोगलाई रोक्नुपर्ने आवाज अघिल्लो दशकदेखि नै उठ्न थालेको हो । तर, पनि यो पटक जस्तो यति ठूलो सङ्ख्यामा मुलुकहरुले कोइला प्रयोग नगर्ने कुरामा प्रतिवद्धता जनाएका थिएनन् । ती मुलुकहरूमध्ये धनी मुलुकहरूले सन् २०३० सम्म र विकासोन्मुख मुलुकले सन् २०४० भित्र कोइलाको ऊर्जालाई विस्थापित गरिसक्ने कुरामा सहमति जनाएका छन् ।

    बेलायतका ऊर्जा मन्त्री क्वासी क्वार्टेन्ङले भने, ‘कोइलाको प्रयोग गर्नु अब उचित छैन । यसको विकल्प खोज्नु नै छ भने यसको सुरूवात अहिलेबाटै गर्नुपर्छ । यदि मानव समाजको सुन्दर भविष्यप्रति चिन्ता छ भने कोइला ऊर्जाको विकल्प खोज्नुपर्छ ।’

    उनले भने, ‘अब कोइला ऊर्जाको प्रयोगलाई घटाउने मात्र होइन, यसमाथिको लगानी पनि रोक्दै जानुपर्छ तब मात्र वातावरणलाई स्वच्छ राख्न सकिन्छ । नेपाललाई के फाइदा ?’

    कार्वन उत्सर्जनमा नेपालको योगदान निकै न्यून भएपनि सन् २०४५ सम्म कार्वन उत्सर्जनलाई खुद शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता नेपालले पटक–पटक उठाउँदै आएको छ । कोप-२६ सम्मेलन अन्तर्गत आयोजित विश्व नेताहरुको सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सो प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुसार नेपालले कार्वन उत्सर्जनमा कति योगदान गर्न सकिन्छ भन्ने योगदानमा आधारित प्रतिवेदन (एनडिसी) निर्माण पनि गरिसकेको छ ।

    छिमेकी मुलुक भारत र बङ्गलादेशले कोइलाको प्रयोगलाई रोक्न सकेमा त्यसको विकल्पमा नेपालको जलविद्युत बजार जती दुई मुलुक हुनसक्ने जलवायु अनुकूलनसम्बन्धी अध्येता सौरभ श्रेष्ठको भनाइ ।

    अध्येता श्रेष्ठले भने, ‘भारत र बङ्गलादेशले कोइलाको प्रयोगलाई घटाउँदा ऊर्जाको माग बढ्छ । अनि नेपालको बिजुली सहजै निर्यात हुँदा ऊर्जाको बजार विस्तार हुने स्थिति देखिन्छ ।

    भारत र बङ्गलादेशमा बार्षिक रुपमा अबौँ रुपैयाँको कोइला खपत हुने गरेको छ । भारत र बङ्गलादेशमा नेपालको ऊर्जाको बजार बिस्तार हुन सके नेपालले स्वच्छ ऊर्जा उत्पादन गरेको योगदानस्वरुप विश्व जगतबाट थप अनुदान पाउन सक्नेछ ।

  • काठमाडौंका १९ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

    काठमाडौंका १९ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

    काठमाडौं । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले सूचना जारी गर्दै ती पसलहरुलाई ४ देखि १५ दिनसम्म निलम्बन गरेको जनाएको छ ।

    औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) मा परीक्षण गर्दा कुनै औषधि उत्पादन, बिक्री वितरण गर्ने व्यक्तिले ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने कारबाही गरेको ठहरिएमा व्यवस्थापकले त्यस्तो औषधि जफत गरी उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन वा निकासी पैठारीमा नियन्त्रण गरी ५ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ ।

    हेर्नूस सूचना :

  • सिड्नीको स्थानीय चुनाबमा उम्मेदवार बने नेपालका एलेक्स कार्की, लेबर दलले दियो चुनाबको टिकट

    सिड्नीको स्थानीय चुनाबमा उम्मेदवार बने नेपालका एलेक्स कार्की, लेबर दलले दियो चुनाबको टिकट

    अष्ट्रेलिया । प्रवासी जीवन त्यति सहज र सरल छैन । त्यसमाथि अरूको देशलाई कर्मभूमि मनाएर अगाडि बढ्नु पर्दाको संघर्ष अनि आफू स्थापित हुन गर्नुपरेको दु:ख पीडादायक हुन्छ ।

    प्रवासलाई कर्मभूमि बनाएर त्यहाँको राजनीतिमा प्रवेश गरेका एलेक्स कार्कीले अब चाँडै सफलताको स्वाद चाख्न पाउने भएका छन् अष्ट्रेलियाको मुख्य दल मध्येको एक लेवर पार्टीले उनलाई न्यू साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा टिकट दिएपछिको चर्चाले अष्ट्रेलिया मात्र नभई जन्मभूमि नेपालमा पनि चर्चा पाएको छ ।

    ३७ वर्षे एलेक्स नेपालको दोलखामा जन्मिएका हुन् । पेशाले उनी इन्जिनियर समेत हुन् । उनी अहिले अष्ट्रेलियाको स्थानीय चुनावी मैदानमा होमिएका छन् । उनले सिड्नीको द हिल साइन काउन्सिलको काउन्सिलर पदमा लड्न टिकट पाएका हुन् । न्यू साउथ वेल्स राज्यमा डिसेम्बर ४ तारिखमा स्थानिय निकायको चुनाव हुँदैछ । काउन्सिलको चार वटा वडामध्ये पश्चिमी वडाबाट एलेक्स चुनाव लड्दै छन् ।

    उनको चुनावी समूहमा तीन जना छन् । बारबरा बुर्टन र मोनिका ट्रेसी सहितको तीनजनाको समूहमा एलेक्स दोस्रो नम्बरमा छन । विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उम्मेदबारको नम्बर तोक्ने गर्छ । सामान्य अवस्थामा १ र २ नम्बरका उम्मेदबारले जित्ने संभावना हुन्छ । यस कारण पनि जितमा कार्कीको सम्भावना बलियो छ । स्थानिय समुदायसँग राम्रो घुलमिल भएकाले पनि यी जुझारू युवकको जित हुने अपेक्षा नेपाली समुदायले लिएका छन् ।

    पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । उनले सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेवर दलको सदस्यता लिएका थिए । विद्यार्थी जीवनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन् ।

    ‘यतिबेला प्रवामा बसिरहेको हामीलाई अष्ट्रेलियको मूल राजनीति पार्टीले दिएको अवसर र हामीमाथि गरेको विश्वास पनि ठूलो कुरा हो’ उनले भने, ‘जित्ने कुरामा त म आशावादी छँदै छु । त्यसमाथि अष्ट्रेलियामा हुर्किरहेका हाम्रा दोस्रो पुस्तालाई यहाँको मूल राजनीतिमा लाग्न मेरो उम्मेदबारी र उपस्थिति साँच्चै प्रेरणा र हौसला पनि हो ।’

  • बीस लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

    बीस लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

    बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

    पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो ।

    घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई कार्यालयबाट खटिएको टोलीले शंका लागी रोकी जाँच गर्दा बीस लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय विरगञ्जले जनाएको छ ।

     

  • उपन्यासकार क्षेत्रीलाई भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार’ प्रदान

    उपन्यासकार क्षेत्रीलाई भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार’ प्रदान

    दिल्ली । नेपाली साहित्यका प्रख्यात आख्यानकार लीलबहादुर क्षेत्रीले भारतको सर्वोच्च सम्मान ‘पद्मश्री पुरस्कार ’ प्राप्त गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार प्रदान गरे ।

    उपन्यासकार क्षेत्री साहित्य र शिक्षामा योगदान दिएवापत् भारतको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने पूर्वोत्तर भारतका पहिलो नेपाली भाषी हुन् ।

    क्षेत्रीद्धारा लिखित ‘बसाइँ’ उपन्यास महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो भने संसारको विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ ।

    अभिनेत्री कङ्गना रनौत र फिल्म निर्देशक करन जोहरले पनि आज पद्मश्री सम्मान प्राप्त गरेका छन ।

  • सोमबार ३ सय कोभिड बिरामी थपिए, ५ जनाको मृत्यु

    सोमबार ३ सय कोभिड बिरामी थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार थप ३९० जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सोही अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ४२५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा १९ सय १७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ जना छन् । मन्त्रालयका अनुसार दैनिक संक्रमणदर ७.७ प्रतिशत छ ।

    नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ । यस्तै कूल ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • २० महिनापछि अमेरिकाले अन्तर्राष्ट्रिय सीमा खुलाउँदै

    २० महिनापछि अमेरिकाले अन्तर्राष्ट्रिय सीमा खुलाउँदै

    काठमाडौं । कोरोनाभाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो ।

    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए । ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन । यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

    नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन् । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ । डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

    अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ ।अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो ।

  • हैजा रोक्न डब्लूएचओले नेपाललाई २ लाख ५२ हजार डोज ओरल खोप दिने

    हैजा रोक्न डब्लूएचओले नेपाललाई २ लाख ५२ हजार डोज ओरल खोप दिने

    काठमाडौं । नेपालको कपिलवस्तुमा फैलिएको झाडापखाला रोकथामका लागि विश्व स्वाथ्य संगठनले २ लाख ५२ हजार ३६३ डोज ओरल खोप दिने भएको छ ।

    विश्व स्वास्थ्य संगठनको समन्वयमा मुखबाट खाने हैजाको ओरल खोप ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो । झाडापखाला फैलिएको क्षेत्रमा चाडै खोप ल्याउन प्रतिबद्ध भएको डब्लूएचओले जनाएको छ ।

    गत असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णणनगर नगरपालिकाका तीन वटा वडामा झाडापखला प्रकोप फैलिएको थियो। मन्त्रालयका अनुसार प्रकोपबाट चार जनाको मृत्यु भइसकेको छ ।

    प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने, ‘रोग फैलिन नदिन खोपको आवश्यक छ, यदि हामीले खोप अभियान सुरु गरेनौं भने रोग समाजमा दीर्घकालीन समस्याको रूपमा रहन सक्छ ।’

    झाडापखालापछि संकलन गरिएका दिसाका नमुना परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखापरेको थियो । खानेपानी संस्थानले वितरण गरेको पानीमा इकोली नामक जीवाणु फेला परेको थियो।