Author: Anisha Tiwari

  • ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    काठमाडौं । अभिनेता हरिवंश आचार्यको जन्मदिनमा नयाँ बानेश्वरस्थित रेडियो अडियोको बुइँगल वर्षेनी गुल्जार बन्छ । जन्मदिनको शुभकामना दिने र केक चखाउनेको भीड थामिनसक्नु हुन्छ ।

    यो दृश्य आजपनि रेडियोको बुइँगलमा देखियो । आजदेखि ६४ वर्ष लागेका कमेडी विधाका अगुवालाई बधाइ दिन हाँस्य कलाकारहरुको उपस्थिती थियो । महजोडीका म अर्थात मदनकृष्ण श्रेष्ठले अमेरिकाबाटै भर्चुअलरुपमा सहयात्रीलाई जन्मदिनको शुभकामना दिए ।

    हरिवंशको मोबाइलमा ह्वाट्स एप लाइभमा जोडिएका मदनकृष्णले हरिवंशलाई दीर्घायुको कामना गरे । मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिंखडा, राजा राजेन्द्रसहितका कमेडियनले पनि हरिवंशलाई शुभकामना दिए ।

    रेडियो अडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँले वर्षेनी जन्मदिनको कार्यक्रम आयोजना गर्दै आएका छन् । हरिवंशले सन्तोष सेनको निर्माणमा सुरु हुन लागेको फिल्म हुतुतु खेल्ने भएका छन् भने प्रदीप भट्टराईले निर्देशन गर्ने एक अनटाइटल फिल्ममा समेत उनी देखिनेछन् ।

    जन्मदिनको सो अवसरमा हरिवंशले नेपाल प्रेससँग कुरा गर्दै आफ्ना आगामी प्रोजेक्टबारे खुलाए । हरिवंशलाई सामाजिक संजालमार्फत पनि प्रशंसकहरुले बधाइ तथा शुभकामना दिइरहेका छन् ।

              
  • प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, आज ११ विधामा स्पर्धा

    प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, आज ११ विधामा स्पर्धा

    चितवन । भरतपुरमा राष्ट्रव्यापी विद्यालय स्तरिय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । पहिलो दिन आज (शनिबार) बिभिन्न ११ विधामा स्पर्धा भएको छ ।

    ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका बिशेष सिंहले स्वर्ण पदक जिते । उनले उक्त दुरी २३ दशमलव २० सेकेन्डमा पुरा गरे । चितवनका शुभान्स राज केसीले रजत पदक हात पारे । उनले उक्त दुरी ३६ दशमलव ८५ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै सुशान्त बोहराले कास्य जिते । उनले उक्त दुरी ४२ दशमलव २० सेकेन्डमा पुरा गरे ।

    ११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठ स्वर्ण पदक बिजेता बने । उनले उक्त दुरी १ दशमलव ०४ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवसले उक्त दुरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पुरा गर्दै रजत पदक हात पारे । १३(१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै अर्थव सिंहले रजत पदक जिते । उनले उक्त दुरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गरे ।

    १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पुरा गरे । काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । उक्त दुरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाए ।

    १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परि भण्डारीले स्वर्ण पदक जितिन् । उनले उक्त दुरु एक मिनेट एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गरिन् ।

    ९–१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुबाङ बोहोराले स्वर्ण जिते । उनले उक्त दुरी १९ दशमलव २३ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै बिशेष सिंहले रजत जिते । उनले उक्त दुरी २० दशमलव ८६ सेकेन्डमा पुरा गरे । ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पारे । उक्त दुरी उनले ३९ दशमलव ७७ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाए । उनले उक्त दुरी एक मिनेट ०८ दशमलव ९५ सेकेन्डमा पुरा गरे ।

    ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जितिन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाईन् । १३–१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे । उनले उक्त दुरी एक मिनेट ०९ दशमलव २० सेकेन्डमा पुरा गरे । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर बिक्रम राईले क्रमशः रजत र कास्य जिते । अर्थव उक्त दुरी एक मिनेट २८ दशमलव २६ सेकेन्डमा पुरा गर्दा अभ्यान्तरले एक मिनेट ३१ दशमलव ०८ सेकेन्ड लगाए ।

    यस्तै १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण पदक विजेता बने । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३८ दशमलव २६ सेकेन्ड लगाए । नेपालगञ्जका सुमन न्यौपानेले उक्त दुरी दुई मिनेट ०३ दशमलव ९५ सेकेन्डमा पार गर्दै रजत जिते । ८ वर्ष मुनीको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते भए । उनले उक्त दुरी ३८ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै म्रिनल श्रेष्ठले रजत तथा मेहान श्रेष्ठले कास्य जिते । म्रिनलले ५० दशमलव ७३ सेकेन्ड तथा मेहानले एक मिनेट २५ दशमलव १४ सेकेन्डमा उक्त दुरी पुरा गरे ।

    भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट ९एलटिके० हवेलीको आयोजनामा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

  • एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी

    एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लन्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।

    नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका छन् ।

    लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका उनले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

    गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल सुरु गरेका थिए ।

    भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतमा रुचाइएको अनलाइन पत्रिका मानिन्छ ।

    मिडिया संयोजकको रुपमा जिम्मेवारी दिएको प्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै सम्पादक भण्डारीले आफूले पाएको जिम्मेवारी पूर्ण दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सय दिन पूरा भएको अवसरमा विशेष समारोह

    यस्तै एनआरएनएले कार्यसमितिको सय दिन पूरा भएको उपलक्ष्यमा सल्लाहकारहरुलाई सम्मानसहित विशेष समारोह आयोजना गरेको छ । अल्डरशटको एम्पायर हलमा २० नोभेम्बरको दिन बेलुका ६ बजे विशेष समारोह आयोजना गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

    सय दिनको अवधिमा कार्यसमितिले गरेका कामकारवाहीहरु जानकारी गराउने र भावी रणनीति तय समेत गर्नेगरी कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

    ‘सेरेमोनी विथ च्यारिटी डिनर’ नाम दिइएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरी राखिएका उद्देश्य पूरा गर्नेगरी तयारीको काम अघि बढाइएको च्यारिटी संयोजक समेत रहेका उपाध्यक्ष गोविन्द खरेलले बताए ।

  • उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ

    उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ

    रूपन्देही । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई परेको ट्रंक लाइनको समस्या छिटो समाधान हुने बताएका छन् ।

    शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ट्रिपिङ समस्याको अन्त्य गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने बताएका छन् ।

    विद्युत् प्रसारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत् ट्रिपिङलाई छिट्टै अन्त्य गरिने घिसिङको भनाई छ ।

    उनले बन्न लागेका सवस्टेशन सम्पन्न भएलगत्तै प्रसारण लाइनहरुको समेत स्तरोन्नति गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरे ।

    उत्पादन भएका विद्युत्लाई सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार उद्योगहरुले मागेजति विद्युत् उपलब्ध गराइने उनले बताए । उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिइने उनले बताए ।

    रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत् उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए। सवस्टेशन निर्माण र केही ट्रान्समिसन लाइन विस्तार भइरहेकाले अहिले परीक्षणस्वरूप भारतमा विद्युत् बिक्री गरिएको उनको भनाइ छ । ‘नेपालको विद्युत् सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो ।’ उनले भने । अहिले उत्पादन भइरहेको विद्युत् खपत नभएकाले नागरिकहलाई विद्युतको प्रयोग बढी गर्न पनि घिसिङले आग्रह गरे ।

  • चितवनमा चरेशसहित तीनजना पक्राउ

    चितवनमा चरेशसहित तीनजना पक्राउ

    चितवन । चितवनको प्रहरीले रत्ननगरबाट चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । रत्ननगर–३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब १ क्विन्टल ८० किलो चरेश लुकाइराखेको अवस्थामा फेला पारेको थियो ।

    तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको अवस्थामा बरामद गरिरएको हो ।

    चरेश जस्तो देखिने पदार्थ बट्टामा रहेकोले नियन्त्रणमा लिइएको र थप परीक्षण पश्चात् मात्रै परिमाण एकिन हुने चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

  • यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि

    यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि

    सुर्खेत । नेकपा एमाले कालिकोटले आज महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

    जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाही नेशनलका अनुसार खुलाबाट नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छानिएका छन् ।

    यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएका छन् ।

     

  • फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।

    फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए ।

    उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ । उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो ।

    बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए । फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उनले १३२ देशले कोरोनाविरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए ।

    उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ । खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ ।

  • जनकपुरमा सीता-राम विवाह पञ्चमी महोत्सवको तयारी सुरु

    जनकपुरमा सीता-राम विवाह पञ्चमी महोत्सवको तयारी सुरु

    जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ ।

    यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ । तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी मंसिर १७ गतेदेखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

    गत वर्ष कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सिमित भयो । त्यसैले यसवर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिहरु गठन गरिएको छ ।
    जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्थ वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत आपूर्ति सहितका समिति गठन गरिएको जानकारी दिए ।

    भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा जनकपुर विशेष जन्ती आउने चलन छ । यसपटक औपचारिक रुपमा जन्ती नआएपनि साधुसन्त र ठूला महन्थहरु जन्तीकै रुपमा आउने महन्थ वैष्णवले जानकारी दिए ।

    बैठकमा सहभागीले बाहिरबाट विवाह पञ्चमीमा सहभागी हुन ठूलो संख्यामा मानिस आउने हुनाले जताततै फोहोर हुने गरेकोले सरसफाईमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन महन्थ वैष्णवसँग आग्रह गरेका थिए ।

    फोहोर र शौचालय व्यवस्थापनमा उप–महानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्थ वैष्णवले आफ्नो छोरीको बिहे ठानेर सबैले आफैं गर्नुपर्ने बताए । उनले भने, ‘अरुको भर पर्नु हुँदैन । सबैको साथ चाहियो । म आफैं झाडु बोकेर सडकमा निस्किन्छु ।’

    महन्थ बैष्णवले प्रदेश सरकारले चाहेभने केहि सरसफाई र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई भव्य बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकारसँग आग्रह समेत गरे ।

    उनका अनुसार मंसिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ–विवाह र २३ गते रामकलेवा कार्यक्रम तय भएको छ ।

  • सल्यानबाट चुनिए आठजना एमाले महाधिवेशन प्रतिनिधि

    सल्यानबाट चुनिए आठजना एमाले महाधिवेशन प्रतिनिधि

    सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा पहिले सल्यान एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगाएको छ । जिल्ला इन्चार्ज एवम केन्द्रीय सदस्य गुलावजंग शाहले सल्यानबाट सर्वसम्मत आठजना प्रतिनिधि चुनाएको जानकारी दिए ।

    प्रतिनिधिमा महिलाबाट पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी चयन भएका छन् । त्यस्तै दलितबाट जनक विक छानिएका छन् । उनका अनुसार खुलाबाट पार्टी अध्यक्ष गोविन्द कुमार पुन, उपाध्यक्ष हिमबहादुर सेन, उपसचिव दानबहादुर केसी, पूर्वअध्यक्ष लोकबहादुर डाँगी र प्रदेश कमिटी सदस्य तिलक मल्ल छानिएका हुन् ।

    कर्णालीका हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटलगायतका जिल्लामा भने भोलि मात्रै महाधिवेशन प्रतिनिधि टुंगिने छ ।

  • प्रधानमन्त्री पत्नीद्वारा जापानमा राजनीतिक तथा कूटनीतिक भेटवार्ता

    प्रधानमन्त्री पत्नीद्वारा जापानमा राजनीतिक तथा कूटनीतिक भेटवार्ता

    टोकियो । प्रधानमन्त्री पत्नी आरजु राणाले जापान भ्रमणको क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । उनले आज राजधानी टोकियोमा लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालयमा विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गरेकी छन् ।

    उक्त अवसरमा जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तोसिहिरो निकाइसँग भेटवार्ता गरेकी छिन् । कोरोनाभाइरसको दोस्रो लहरको बेला महामारीविरुद्ध जापानले नेपाललाई उपलब्ध गराएको अस्ट्राजेनेका खोपसहितको सहायताप्रति राणाले धन्यवाद दिएकी छिन् । जलवायु परिवर्तन, विपद् व्यवस्थापन र शिक्षा क्षेत्रमा सहकार्य लगायतका साझा चासोबारे छलफल समेत जनाइएको छ ।

    राणाले सो बैठकमा लिबरल डेमोक्रेटिक पार्टीका अन्तर्राष्ट्रिय ब्यूरोका पूर्वप्रमुख रिउजी कोइजुमी, अन्तर्राष्ट्रिय व्यूरोका निर्देशक कात्सुइ हिरासावा, मुख्य सचिव, जापानको प्रकृति संरक्षक संघका अध्यक्ष लगायतलाई भेटेकी थिइन् ।

  • आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    काठमाडौं । विश्वभर कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहँदा विश्व स्वास्थ्य संगठनले आगामी वर्षदेखि सिरिन्ज (सुई) अभाव हुनसक्ने चेतावनी दिएको छ ।

    संगठनका अनुसार आगामी वर्ष विश्वभरी करिब २०० करोड सुईको कमि हुन सक्छ । डब्लूएचओको एक प्रतिवेदनका अनुसार विश्वभर कोरोना भ्याक्सीनका कारण ठूलो मात्रामा सिरिन्जको प्रयोग भइरहेको छ ।

    अहिलेसम्म विश्वभरी ७२५ करोड डोजभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोपको प्रयोग भइसकेको छ । जसमध्ये पहिलो डोज, दोस्रो डोज र बुस्टर डोज छन् । खोपको यो मात्रा सामान्यतया एक वर्षमा दिइने कूल खोपहरुको दोब्बर भन्दा बढी हो । प्रत्येक डोजको लागि एउटा सुई प्रयोग हुन्छ त्यसैले सुईको खपत हरेक वर्ष दोब्बर भएको छ ।

    डब्लूएचओको औषधि र स्वास्थ्य उत्पादन विभागकी वरिष्ठ सल्लाहकार लिसा हेडम्यानका अनुसार, ‘अर्काे वर्ष सिरिन्जको कमि हुन सक्ने चिन्ताको विषय बनेको छ । यसले खोपको गति सुस्त हुन जान्छ । साथै यसले धेरै रोगहरुबाट बच्न प्रयासहरुमा गम्भिर प्रभाव पार्छ ।’

    सिरिन्जको अभाव हुन सक्ने भएकाले उत्पादनलाई तीव्रता दिनुपर्ने डब्लूएचओले जनाएको छ । सिरिन्जको आपूर्तीमा कमी आयो भने विश्वभरी त्रास उत्पन्न हुन सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

  • चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको १ सय ५३ जनाको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।

    नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि दिइएको छ । अस्पतालको एआरटी क्लिनिकबाट १ हजार २९ जनाले नियमित एआरटी औषधि लिएका छन् । जसमध्ये ४ सय ९५ जना पुरुष, ४ सय ९० जना महिला र ४४ जना बालबालिका छन् । बसौलाका अनुसार कोभिड संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ४ सय २८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको थियो । १ सय ३३ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

    औषधि अभाव कायमै

    एचआईभी संक्रमितले नियमित खानुपर्ने ३ प्रकारका औषधिको अभाव देखिएको छ । संक्रमित आमाबाट जन्मेका उच्च जोखिममा रहेका बालबालिकालाई ३ महिना खुवाइने जिडोभुडिन (सिरफ) औषधि ६ महिनादेखि छैन । एआरटी औषधि खाएको ८ हप्ता कम वा नियमित नखाएका, सुत्केरी अवस्थामा संक्रमण पहिचान भएकाबाट जन्मेका बालबालिकालाई संक्रमणबाट जोगाउन यो औषधि खुवाउने गरिन्छ ।

    यो वर्ष संक्रमित आमाबाट जन्मेका १३ बालबालिकामध्ये ५ जना उच्चजोखिममा छन् । कम जोखिमका बालबालिकालाई ६ हप्ता खुवाउने नेभिरापिन औषधिको भने अभाव छैन । उच्च जोखिमका बालबालिकालाई यी दुबै औषधि खुवाउनुपर्छ । यस्तै संक्रमित व्यक्तिलाई अन्य रोगको संक्रमणबाट जोगाउन दिइने कोर्टिमोक्साजोल र क्षयरोग रोकथामका लागि खुवाइने आइपीटी औषधिको १० महिनादेखि अभाव छ । जसबाट करिब ३ सय संक्रमित बिरामी प्रभावित छन् ।बसौलाले भने, ‘यी औषधि सरकारले छिटै उपलब्ध गराउनुपर्छ । निःशुल्क पाइने यी औषधि तत्काल व्यवस्था हुनुपर्छ।’

    संक्रमितमा यौन रोग बढ्यो

    सन् २०११ देखि भरतपुर अस्पतालको एआरटी क्लिनिकमा सहयोग गर्दै आइरहेको एड्स हेल्थ केयर फाउन्डेसन (ए एचएफ नेपाल)ले संक्रमितमा यौन रोग बढ्न लागेको जनाएको छ । फाउन्डेसनका क्षेत्रीय प्रमुख कृष्णहरि सापकोटाले एआरटी नियमित सेवन गर्नेमा रोगप्रतिरोधात्मक क्षमता बढेपनि लापरबाहीका कारण यौन रोगहरु देखिएको बताए ।

    उनका अनुसार १ सय २ जना संक्रमितमा गरिएको परीक्षणमा ९ जनामा यौन रोग पाइएको बताए । उनले भने, ‘असुरक्षित यौनसम्पर्क गर्दा यौन रोगहरु सरेको पाइयो । अझै जनचेतना फैलाउनुपर्छ । संक्रमित १० जनामा क्षयरोगको संक्रमण पनि देखिएको छ । एचआईभी संक्रमितले नियमित स्वास्थपरीक्षण गराउनुपर्छ । बेलैमा अन्य रोग पहिचान भएमा जोखिमबाट बच्न सकिन्छ ।’ करिब १ सय जनाले १६ वर्षदेखि नियमित रुपमा एआरटी औषधि खाँदै आएका छन् ।

    संक्रमितलाई निःशुल्क क्यान्सर परीक्षण

    भरतपुर अस्पतालले एचआईभी संक्रमितको निःशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण सुरु गरेको छ । गत महिनादेखि सुरु भएको परीक्षणमा हालसम्म ९ जना महिलाले परीक्षण गरेका छन् । डा. बसौलाका अनुसार २१ वर्ष माथिका संक्रमित महिलाले स्क्रनिङ गर्न पाउनेछन् । वर्षमा कम्तिमा एकपटक संक्रमित महिलाले निःशुल्क स्क्रिनिङ गर्न पाउने बताए ।

    संक्रमित बिमामा आकर्षित भएनन्

    सरकारले एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ बिमाको नीति ल्याएपनि संक्रमितहरु बिमामा आकर्षित हुन सकेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेसु डा. कृष्णप्रसाद पौडेलले संक्रमितको बिमा अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘सरकारले निःशुल्क बिमाको सुविधा दिएको छ, तर उहाँहरु बिमा गर्न मान्नुहुन्न । अन्य रोगको उपचारको खर्च अस्पतालले बेहोर्नुपरेको छ, अब बिमा अभियान चलाउनुपर्छ ।’ ६ सय ५० जनाले संक्रमितले बिमा गरेपनि नयाँ थपिएका संक्रमितले बिमा गर्न इच्छुक देखिएका छैनन् । स्वास्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले एचआईभी संक्रमितको बिमालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

  • शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार मुलुकमा ३९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११०६६ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ३ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

    गत २४ घण्टामा ९३ हजार ६९५ जनाले कोभिडविरुद्ध खोप लगाएका छन् भने अहिलेसम्म सक्रिय संक्रमित संख्या ७४९८ छ ।

    काठमाडौं र ललितपुरमा ५०० भन्दा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मुगु, हुम्ला र डोल्पामा संक्रमित संख्या शून्य छ ।

    कूल संक्रमित संख्या ९ लाख भन्दा बढी छ भने ७ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६९ छ ।

  • फेसबुकमा गाली गरेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध !

    फेसबुकमा गाली गरेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध !

    सुर्खेत । सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन् ।

    वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन् । उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए । केसीले उक्त वडाका वडाध्यक्ष र सदस्यलाई ‘छोटेराजा’ भन्दै फेसबुकमा विभिन्न खाले टिप्पणी गरेका थिए ।

    उक्त टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका छन् । केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ छ ।

     

  • दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने

    दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने

    घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् । घोराहीमा बिहीबार बसेको सभापति शेरबहादुर देउवा र स्व. खुमबहादुर खड्का समूहका नेताहरूको बैठकले खड्कालाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले जानकारी दिए ।

    कांग्रेस क्षेत्र नम्बर २ ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ ‘लाला’लाई उम्मेदवार बनाउने सहमति भएको छ । सभापतिका उम्मेदवारहरू बनाउन कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको ठूलो भूमिका रहेको नेता खनालले बताए ।

    सभापति देउवा र स्व. खुमबहादुर खड्का निकटका नेताहरू मिलेर दाङको अधिवेशनमा प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छन् ।

    क्षेत्र नम्बर २ ‘ख’को सभापतिमा शुक्रबार टुंगो लगाउने तयारी भएको छ । त्यसका लागि नेताहरू आन्तरिक परामर्शमा छन् ।

    बिहीबारको बैठकमा पूर्वसांसद राजु खनाल, लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार श्रेष्ठ, भुपबहादुर डाँगी, गोपालराज शर्मा, भरतराज न्यौपाने, श्याम रेग्मी, हरिनाथ योगी, पुरुषोत्तम शर्मा, रमेश पाण्डे लगायतका नेताहरूको उपस्थिति थियो ।

    त्यस्तै सस्थापनइतर समूहबाट कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा घोराही १० का वडाअध्यक्ष निर्मल डाँगी र २ ‘ख’को प्रदेश सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

    यहाँ डागी र खड्काबीच कडा प्रतिस्पर्धा हुनेछ । डागि र बस्नेतलाई कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, रास्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, नेताहरु किरणकिशोर घिमिरे, कमल किशोर घिमिरे, गिरिराज सुवेदी, भोजराज पाण्डे, बिरकेश्वरि गौतम लगायतका नेताहरुको समर्थन रहेको छ ।

  • फेरि बढ्याे सुनचाँदीकाे मूल्य

    फेरि बढ्याे सुनचाँदीकाे मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा १५ ले उकालो लागेर एक हजार २८५ रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

     

  • नेकपा एससँग नजिकिँदै मेयर द्वारिकलाल चौधरी, माधव नेपाल र राजेन्द्र राईलाई घरमा स्वागत

    नेकपा एससँग नजिकिँदै मेयर द्वारिकलाल चौधरी, माधव नेपाल र राजेन्द्र राईलाई घरमा स्वागत

    इटहरी । नेकपा एमालेबाट चुनाव जितेका इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एससँग नजिकिएका छन ।

    एक दिन अगाडि नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले आज माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् ।

    नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी- ४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएको छ ।

    नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले प्रवेशका बारेमा औपचारिक निर्णय भने नभएको बताए ।

  • बागलुङमा एमालेका ६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    बागलुङमा एमालेका ६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

    बागलुङ । नेकपा (एमाले)को आसन्न १० औं महाधिवेशनका लागि बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ प्रतिनिधि मध्य छ जना सर्वसम्मत चयन भएका छन् ।

    जिल्लाभरबाट दुई जना दलित प्रतिनिधिका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् ।

    यस्तै एक महिला र तीन अन्यको प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. २ बाट महिलातर्फबाट यमुना राना, अन्यतर्फ पुराना नेता मोहनलाल शर्मा, पूर्व पार्टी उपाध्यक्ष सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको नेकपा एमाले बागलुङका इन्चार्ज मनकुमारी केसीले जानकारी दिएकी छन् ।

    सर्वसम्मत चयन भएका अर्याल नेकपा एकता पूर्व नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य थिए । उनी एकता प्रक्रियामा एमालेमै रहेका हुन् ।

    क्षेत्र नम्बर एकबाट दुई महिलाका लागि पाँच जना र चार खुल्लाका लागि १२ जनाले उमेदवारी दर्ता गराएका छन् । बागलुङमा पाँच हजार २६४ संगठित सदस्य मध्य बागलुङ क्षेत्र नं. १ मा तीन हजार चार सय र क्षेत्र नं. २ मा एक हजार ८६४ जना संगठित सदस्य रहेको जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।

  • सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

    सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

    काठमाडौं । नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् ।

    बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा प्रधानन्यायाधीश प्रवेश गर्ने अर्को द्वार छ । त्यो द्वार उनले मात्रै प्रयोग गर्छन् र अरु बेला बन्द हुन्छ । सो द्वारमा प्रहरीले कडा सुरक्षा दिएर आन्दोलनकारीलाई आउन दिएका थिएनन् ।

    प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ । उनीहरु अहिले सर्वोच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।

  • वडाध्यक्षले अनियमितता गरेको भन्दै कार्यालयमा स्थानीयको ताला

    वडाध्यक्षले अनियमितता गरेको भन्दै कार्यालयमा स्थानीयको ताला

    चितवन । वडाध्यक्षले आर्थिक अनियमितता गरेको भन्दै भरतपुर महानगर–१३ का स्थानीयले वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । स्थानीयले २०७५ चैतमा गरिएको राइनोकुञ्ज पर्यटन मेलाको लेखापरीक्षणसहितको खर्च–आम्दानी सार्वजनिक नगरेको आरोप लगाएका छन् ।

    वडाध्यक्ष प्रकाश दवाडी माओवादी केन्द्रबाट निर्वाचित हुन् । ४ बुँदे माग राख्दै केही स्थानीयले असोज २५ गते ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्षले कात्तिक १० गतेसम्म मेलाको खर्च विवरण सार्वजनिक गर्ने वचन दिएपछि विरोधका कार्यक्रम रोकेका थिए । तर मेलामा १६ लाख खर्च र ४ लाख बचत भएको टिपोट यहीं २३ गते सार्वजनिक गरेपछि लेखापरीक्षण नगरिएको भन्दै स्थानीय आन्दोलित छन् ।

    घोल क्षेत्रमा राइनोकुञ्ज खेल मैदान बनाउन ८२ ट्रिपर ग्राबेल राखेको दावी वडाले गरेको थियो । तर अन्यत्रै ग्राबेल बेचेको स्थानीयको आरोप छ । राप्रावि ब्रहम्मपुरीको ट्रष्ट निर्माणमा आर्थिक पारदर्शिता नभएको स्थानीयको बुझाइ छ । भवन निर्माणमा परेको ३२ लाख बजेट फ्रिज हुन नदिन सार्वजनिक खरिद नियमावली विपरीत काम गरेको आशंका गरेका छन् ।

    उज्जल चोक–गंगानगरको करिब २ किमि सडक कालोपत्रे गर्न प्रतिमिटर १ हजार ३० रुपैयाँ स्थानीयबाट उठाएर काम सकिँदापनि वडाले खर्चविवरण सार्वजनिक गरेको छैन । स्थानीय सूर्य न्यौपानेले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत खर्च विवरण सार्वजनिक नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । २३ गते लगाएको ताला खोलेपछि फेरि बिहिबार ताला लगाइएको हो ।

    उनले भने, ‘आर्थिक पारदर्शिता नदेखेपछि विरोध गरेका हौं, वडा गम्भीर नबने अन्य छानबिन गर्ने निकायसम्म पुग्नेछौं । उनका अनुसार आज दिउँसो स्थानीयहरुसँग छलफल गरेर आन्दोलन घोषणा गरिने बताए ।

    स्थानीय विकास रेग्मीले राजनीतिक पूर्वाग्रही बनेर आन्दोलित नबनेको जीकिर गरे । उनले भने, ‘दलीय आस्था माथि रहेर वडालाई खबरदारी गरेका हौं, आर्थिक पारर्दशिता हुनुपर्छ ।’ खरका छानामुक्त बनाउने अभियान सहित १० जना सुकुम्बासीलाई अनुदानमा घर बनाउँदासमेत कमसल सामाग्री प्रयोग भएको उनले बताए । वडाध्यक्ष दवाडीसँग बुझ्न पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आएनन् ।