Author: Anisha Tiwari

  • आगन्तुकलाई आफै चिया पकाएर स्वागत गर्छन् परराष्ट्रमन्त्री खड्का !

    आगन्तुकलाई आफै चिया पकाएर स्वागत गर्छन् परराष्ट्रमन्त्री खड्का !

    काठमाडौं । मन्त्रीले घरायसी काम गरेको कमै सुन्नमा पाईन्छ । धेरैजसो मन्त्रीको घरमा घरायसी कामकाजमा खटिने कामदार राखिएको हुन्छ । यो कुनै नौलो कुरा भने होइन । तर, परराष्ट्रमन्त्री नारायण खड्का यो मामिला अपवाद देखिए ।

    उनको दैनिकी घरमा बिहानै आउने कार्यकर्ता र आगन्तुकलाई चिया खुवाएर सुरु हुन्छ । यो दिनचर्याको कारण मन्त्री खड्का अहिले सामाजिक संजालमा चर्चामा छन् । केही वर्षदेखि नै खड्का स्वयमले आफ्नै हातले बनाएको चिया खुवाएर आगन्तुकको स्वागत गर्दै आएका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य तथा अर्थशाष्त्रमा विद्यावारिधी गरेका डा. खड्काले घरमा काम गर्ने मान्छे राखेका छैनन् । उनी खाना पकाउने लगायतका आफ्ना दैनिक कामहरू आफैँ गर्छन् । उनी मन्त्री क्वार्टरमा नभएर निवासमै बसोबास गर्छन् ।

    उदयपुरबाट निर्वाचित सांसद खड्काले अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

  • चिनियाँ कामदार रोकिँदा नौ तले दरबार पुनःनिर्माण अवरुद्ध

    चिनियाँ कामदार रोकिँदा नौ तले दरबार पुनःनिर्माण अवरुद्ध

    काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौ तले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

    पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल विसं २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको बताउछन् ।

    कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौ तले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले बताए । पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

    विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउँछन् । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उनले बताए । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ ।

    करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो । नेपाल भ्रमणमा रहेकी तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ यी र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा दरबार पुनःनिर्माणको शिलान्यास गरेका थिए । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गरेका थिए ।

    सम्झौताअनुसार अझै करिब एक वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरसम्म म्याद रहेको नौतले दरबारको काम चिनियाँ कामदार अब आउन पाए भने समयमा सकिन्छ । कोरोना जोखिम कम भएसँगै विदेशी पर्यटकसमेत हनुमानढोका दरबार क्षेत्रको अवलोकनमा आउने थालेकाले यस क्षेत्रमा भूकम्पले क्षतिग्रस्त संरचना छिटो पुनःनिर्माण सक्नुपर्ने भएको छ । आगामी तीन वर्षमा वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचना पुनःनिर्माण गरिसक्ने गरी काम अघि बढाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

  • पीसीएल नर्सिङमा भर्ना खुला, मंसिर अन्त्यसम्म आवेदन दिन सकिने

    पीसीएल नर्सिङमा भर्ना खुला, मंसिर अन्त्यसम्म आवेदन दिन सकिने

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ।

    पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र आवेदन दिन सकिने सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए।

    सीटीइभीटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ भने करिब १६०० सिट छुट्याएको छ।

    आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। कलेजको नाम भने आज सार्वजनिक गर्ने सीटीइभीटीले जनाएको छ।

  • एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमको तयारी भइरहेको छ । उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने तयारी भएको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

    १० गते बिहान नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

    एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ । महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए ।

    मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले जानकारी दिए । स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको ‘क’ वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ‘ख’ वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राखिने उनले बताए
    उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिने छ ।

    ‘महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ’ पौडेलले भने, ‘सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दैछौँ ।’

    बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए । ‘महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सक सहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ अधिकारीले बताए ।

  • हिमाली जिल्लामा चुनाव जितेका मधेशी समुदायका एक्ला अशोक

    हिमाली जिल्लामा चुनाव जितेका मधेशी समुदायका एक्ला अशोक

    सोलुखुम्बु । विश्वकै अग्लो शिखर सगरमाथा भएको जिल्ला हो सोलुखुम्बु । हिमाल चढ्नेहरुको जिल्ला भनेर चिनिने सोलुमा जनजाति समुदायको बाहुल्यता रहेको छ ।

    २०१५ सालको निर्वाचनताका वीपी कोइरालाले ‘मधेशबाट पहाडी र पहाडबाट मधेशीले चुनाव जितेको दिन नेपालमा प्रजातन्त्र बलियो हुने’ अभिव्यक्ति दिएका थिए । अहिले सोलुबाट मधेशी समुदायका अशोक झा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । हिमाली जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि चुनिने झा एकमात्रै मधेशी समुदायका प्रतिनिधि हुन् ।

    नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत रहेका झा कांग्रेस विधान अनुसार अल्पसंख्यक तर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी कान्छीराज थुलुङलाई पराजित गरे । हिमाली जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न पाउँदा खुसी लागेको झाले बताए ।

    ‘मधेशको मान्छे हिमाली जिल्लामा सबैको माया पाएर चुनाव जित्नु खुसीको कुरा हो । वीपीले भनेझै जात नभएर मेरो राजनीतिक क्रियाशीलता हेरेर मतदाताहरुले न्याय गर्नुभएको छ’, झाले भने ।

    उनले कांग्रेसभित्र राजनीति गर्न र अवसर प्राप्त गर्न जात वा पहिचानले बाधा नगर्ने सन्देश दिएको बताए । दोस्रो पटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएका झा कांग्रेसभित्र सबै पहिचानका व्यक्तिहरुले सम्मानजनक भूमिका पाउने बताए ।

  • एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन्।

    चितनवमा हुने महाधिवेशनका लागि खुल्ला तर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    दाहाल मकवानपुर क्षेत्र नम्बर १ का सभापति तथा संघीय संसदको अर्थ समितिका सभापति हुन्।

  • कांग्रेसको काठमाडौं ३ को क्षेत्रीय सभापतिमा चालिसे निर्वाचित

    कांग्रेसको काठमाडौं ३ को क्षेत्रीय सभापतिमा चालिसे निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २ सय ५ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दिपेन्द्र लामाले १ सय ५९ मत प्राप्त गरे । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित भएका छन् । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सुदीप पण्डित क्षेत्री विजयी भएका छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।

    यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित भएका छन् ।

    यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी भएका छन् ।

    दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

  • सुर्खेतका जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

    सुर्खेतका जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

    सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । संस्थापन इतर पक्षका रेग्मी खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

    ३ सय २० मत ल्याएका उनी १२ औं स्थानमा रहे । सुर्खेतको क्षेत्र नम्बर २ बाट जिल्ला सभापति रेग्मी पराजित हुँदा उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, तिर्थजंग शाही, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

  • यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    काठमाडौं । मंगलबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १६०७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने २७३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ भने अहिलेसम्म ७ हजार ३०० सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

  • तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउनको लागी धेरैजसो मानिसहरु के खाने र नखाने भन्ने अन्योलमा हुन्छन् । तौल घटाउनको लागि धेरै मानिसहरुले दूध पिउँदैनन् । धेरैलाई यो लाग्न सक्छ कि दूध पिउनाले तौल झन् बढ्न सक्छ त्यसले मानिसहरु आहारमा दूध पिउँदैनन् । के साच्चै दुधले तौल बढाउँछ त ? विज्ञहरुका अनुसार दूध पिउनाले तौल बढ्दैन, उल्टो यसले केही किलो तौल घटाउन पक्कै मद्दत गर्छ ।

    दूधले तौल घटाउन मद्दत गर्छ

    दूध उच्च गुणस्तरको प्रोटीनको स्रोत हो । यसमा जिंक, म्याग्रसियम, क्याल्सियम, भिटामिन–बी १२ र भिटामीन डी जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । दूधले हड्डीलाई बलियो बनाउनुका साथै पाचन र रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाउँछ । दूध एउटा सन्तुलन आहार हो त्यसैले दूध पिउँदा फाइदा हुन्छ । हाम्रो शरीरलाई आवश्यक पोषण नपाउँदा तौल घटाएपछि समस्या आउन सक्छ ।

    एक अध्ययनका अनुसार कम क्यालोरी आहार लिने व्यक्तिहरूले डेरीबाट उत्पादन हुने दुग्धजन्य पदार्थ सेवन गरेर बढी तौल घटाउँछन् । धेरै अध्ययनहरुका अनुसार जो मानिसहरु डेरी प्रोडक्ट युक्त खानेकुरा खान्छन् उनीहरुले तौल घटाएपनि फाइदा पाउँछन् । दूधमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ र यसको सेवनले मोटोपना, मेटाबोलिक सिन्ड्रोम, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

    शारिरिक व्यायाम गरेपछि दूध पिउँदा फाइदा

    तौल घटाउनका लागि दूध पिउन सकिन्छ । यसले तौल बढाउँदैन । शारिरिक व्यायाम गरेपछि प्रोटीन शेक लिनुहुन्छ भने दूधमा मिसाएर पिउने गर्नूस् । यदि गाईको दूध पच्दैन भने, सोया र नट मिल्क जस्ता बिरुवामा आधारित दूध उत्पादन लिन सकिन्छ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण : कुन खेलमा कति गोल ?

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण : कुन खेलमा कति गोल ?

    काठमाडौं । शुक्रबारदेखि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणका सात खेलमा कुल १६ गोल भए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र एपीएफ फुटबल क्लबबिचको खेलमा सर्वाधिक ५ गोल भएको थियो । उक्त खेलमा ब्रिगेड ब्वाइजले एपीएफलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो ।

    त्यस्तै फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको उद्घाटन खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हिमालयन शेर्पा र संकटाबीचको खेल १–१ को बराबरी भएको थियो । तेस्रो खेलमा च्यासल युथ क्लब थ्री–स्टार क्लबसँग ३–० गोलको नतिजामा पराजित भएको थियो ।

    पाँचौ खेलमा जावलाखेल युथ क्लब सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग १–० को नतिजामा हारेको थियो । छैठौँ खेलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो । पहिलो चरणको अन्तिम खेलमा सविक विजेता मच्छिन्द्र क्लबले न्यूरोड टिमलाई २–१ को नतिजामा पराजित गरेको थियो ।

    कोरोना भाइरसका कारण दुई वर्षपछि आयोजना सम्भव भएको ए डिभिजन लिगको दोस्रो चरणका खेल शुक्रबारदेखि रंगशालमा हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी लिगमा कम्तिमा तीन मैदानमा खेल गर्ने बताए पनि पहिलो र दोस्रो चरणका सबै खेल दशरथ रंगशालामै हुनेछन् ।

  • कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

    जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए। उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

  • अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले गर्भवती भएको पहिलो तीन महिना पुगेका सबै गर्भवतीलाई कोरोनाभाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरूले मात्र कोभिडविरुद्धको खोप लगाइरहेका थिए ।

    चैत मसान्तसम्म लक्षित समूहमा खोप लगाइसक्ने लक्ष्य लिइएकाले सबैलाई स्वास्थ्य संस्थामा गएर सम्पर्क राख्न मन्त्रालयले आग्रह गरेको छ । गर्भवतीमा खोपको प्रभावकारिताबारे अस्पष्टताका कारण खोप लगाउनेको संख्या न्यून रहे पनि बिस्तारै बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सरकारले पुस मसान्तसम्म दुई तिहाइ र बैशाख मसान्तसम्म लक्षित जनसंख्यालाई कोभिडविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

  • ‘जाम भो माइली’ गीत टीकटकले मात्र हिट भएको होइन : प्रकाश दूतराज

    ‘जाम भो माइली’ गीत टीकटकले मात्र हिट भएको होइन : प्रकाश दूतराज

    काठमाडौं । गायक प्रकाश दूतराजले एक महिनाअघि आफ्नै शब्द र संगीतमा रहेको दोहोरी गीत ‘जाम भो माइली’ सार्वजनिक गरे । शान्तीश्री परियारसँग मिलेर उनले गाएको उक्त गीत अहिले टीकटकदेखि सामाजिक संजालमा हिट छ ।

    युट्युवमा मात्र यसलाई अहिलेसम्म ७७ लाख पटक हेरिएको छ । टीकटक र अन्य सामाजिक संजालको गणना यसमा छैन । लगातार दोस्रो साता युट्युवको शीर्षस्थानमा रहेको गीत रिलिजको एक महिनापछि पनि अझै यसलाई हेर्नेको संख्या उच्च छ ।

    मौसम हिमालीको निर्देशन रहेको भिडिओमा गायक दूतराज, रोशनी कार्की र निक्स शर्माको मुख्य अभिनय छ ।

    गीत सार्वजनिक भएको छोटो समयमै अत्यन्तै रुचाइएको छ टीकटकमा समेत यो गीतमाथि धेरैले भिडिओ बनाएका छन् । संगीतकार एवं गायक दूतराजले गीतमा समाजको थोरै समस्या, थोरै सचेतना अनि धेरै प्रेम समेटिएको कथाको भएको उल्लेख गरेका छन् ।

    गीतमा ग्रामिण जीवनशैली झल्किने गरि वनपाखा, खोलानाला, मेलापातका सुन्दर दृश्यहरु समावेश भएको छ । ग्रामिण जीवनको मौलिकता र ठेट शब्द समावेश भएकाले पनि दर्शक एवं श्रोताले यसलाई रुचाएका छन् ।

    भिडिओमा लाहुरे गाउँमा आएर युवतीहरुलाई ललाईफकाई गरेको देख्न सकिन्छ । गाउँकी सोझी युवतीलाई भगाएर लैजादै गर्दा गाउँलेहरुले ती युवतीलाई फर्काएर लाहुरेलाई गाउँबाट लखेटेको दृश्य समावेश छ ।

    दूतराजले नेपाल प्रेससँग भने, ‘गीत सामाजीक सञ्जालले मात्र चर्चामा आएको होइन । अडियो मेकिङ, भिडिओ मेकिङ सबै कारणले चर्चामा आएको हो । यो गीतमा मौलिकता झल्किएकाले दर्शकले रुचाई दिनुभएको छ । गीतमा खास गरी नेपालीपन छ । समाजमा भइरहेको घटनालाई भिडिओमार्फत देखाइएको छ ।’

    यी समाजमा घटेका घटनाहरु हुन् जुन अहिले पनि यथावत् नै छ । पात्रहरु भिडिओमा आउनुभन्दा अगाडि नै समाजमा यो घटना देखिरहेका छौ । घटना सकारात्मक या नकरात्मक भएपनि गीतमा नेपालीपन समेटिएको उनले बताए ।

    उनले काम गर्दै जाँदा दर्शकले गीत मन पराइदिएकोमा खुशि व्यक्त गरे । उनले यसअघि पनि बैनी झ्यालैमा, घर कता हो बैनीको, आरनेजस्ता उनका गीत गाएका छन् । तत्कालै नयाँ गीत ल्याउने आफ्नो योजना नरहेको उनले सुनाए ।

  • काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौँ । महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

    कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामाी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।

    काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सधैँ जिम्मेवार रहेको बताए ।

    कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले स्मरण गराए ।

    कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुने जानकारी दिए ।

    यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ । यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुनेछन् ।

  • ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले अस्पतालले दिने सेवाहरुसहित मुटु रोग लाग्नुका कारणहरु, अपनाउनु पर्ने सावधानी, उपचार विधीका बारेमा बताए । गंगालाल अस्पतालमा १५ वर्षभन्दा मुनी, ७० वर्षभन्दा माथी, विपन्न वर्गका मानिसहरुका लागि निःशूल्क उपचार हुने भएतापनि विरामीहरु समयमा नै उपचार गर्न नआउने कुरा बताए ।

    प्रतिष्ठानका विभाग प्रमुख प्राज्ञ रमेशनाथ खनालले शरिरमा सम्पूर्ण अंगहरुको आ–आफ्ना महत्वपूर्ण कार्य हुने र त्यसमा पनि मुटु विना केही सेकेण्ड पनि बाँच्न नसकिने भएकोले सचेतना कार्यक्रम आयोजना गरेको बताए ।

    डा. अधिकारीले भने नेपालमा वर्षेनी मृत्यु हुनेहरु मध्ये ३३% मुटु रोगका बिरामीहरु छन् । मुटु रोग वंंशाणुगत र जीवन शैलीका कारणले हुने गर्दछ भने केही जन्मजात पनि हुन्छ । मुटुमा रोग छ कि छैन भनि जानकारी लिनको लागि इको टेस्ट गर्दा सजिलै पत्ता लाग्छ । मुटुमा समस्या आउने बित्तिकै छाती, दायाँ वा बाँया हातमा निक दुखाई हुन्छ । यसो हुँदा १२ घण्टा भित्रमा जति सक्दो छिटो अस्पताल पुग्न सक्यो त्यति नै बाँच्ने सम्भावना बढि हुने बताए ।

    अनुसन्धानका अनुसार हृदयघात भएकाहरु मध्ये २३% मानिसहरु अस्पताल नपुग्दै मर्छन् । १३% मानिसहरु अस्पताल पुगेर मर्छन् । बाँकी ६४% विरामीहरु निको हुन्छन् । ती निको भएका मानिसहरुको आयु पनि त्यति लामो हुँदैन्, कति बाँच्ने भन्ने कुरा हृदयघात भएको कति समयमा उपचार पायो भन्नेमा निर्भर गर्दछ । हृदयघात जुन उमेर समूहमा हुन सक्ने भएपनि उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । यो रोग रक्तचाप, सुगर हुने व्यक्तिहरुमा बढी हुन्छ भने महिलाको तुलनामा पुरुषलाई बढि हुन्छ । जाँड, रक्सी, चुरोट, खैनी, सूर्ति, जम्ने चिल्लो पदार्थ (घ्यू, डाल्डा)खाने, तनाव लिने, मोटो(त्यसमा पनि पेट ठूलो हुने) व्यक्तिलाई मुटु रोगको सम्भावना बढि हुन्छ । डा. अधिकारीका अनुसार चुरोट खाने १०० पुरुषहरु मध्ये ८ जना र १०० महिला मध्ये १३ जनालाई हृदयघात हुने बताए ।

    शरिरको सम्पूर्ण दुखाईको तुलनामा मुटुको दुखाई ज्यादा हुन्छ र ज्यानसमेत जान सक्ने भएकोले समयमै सावधानी अपनाउनु पर्दछ । यसका लागि नुन कम खाने(दिनमा ५ ग्राम), फलफुल, सागपात बढि खाने, दिनहुँ व्यायाम गर्ने, तनावरहित जीवन जिउनु पर्दछ ।

     

  • सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १५६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा ३८५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ भने २५८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ७१ हजार ४८३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।

    मन्त्रालयका अनुुसार देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • सुनको मूल्य २ सयले बढ्यो

    सुनको मूल्य २ सयले बढ्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।