Author: Anisha Tiwari

  • कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी

    कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी

    काठमाडौं । इजरायलले शनिबारदेखि विदेशी यात्रुहरूका लागि सिमाना बन्द गर्ने भएको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ प्रजाती ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

    यदि यो प्रतिबन्धको प्रस्तावले सरकारको पूर्ण स्वीकृति पायो भने आइतबार रातिदेखि सुरु भएर १४ दिनसम्म चल्ने छ । मन्त्रिपरिषदको शनिबार रातिको ४ घण्टा लामो छलफलपछि प्रतिबन्ध लगाउने कुरा आएको थियो ।

    दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फ्रिकी इजरायलका सात जनामा सोही भेरियन्टको संक्रमण देखिएको छ ।

    सरकारले स्वदेश फर्किएका इजरायलीहरूलाई सीधै होटलमा क्वारेन्टाइनमा पठाइने निर्णय गरेको छ । उनीहरूलाई कोभिड–१९ परीक्षण गर्दा नेगेटीभ नआएसम्म क्वारेन्टाइनमा राखिने छ ।

  • सर्लाहीमा दुई बच्चासहित आमा मृत फेला

    सर्लाहीमा दुई बच्चासहित आमा मृत फेला

    सर्लाही । सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् ।

    बरहथवा नगरपालिका–१ स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५–२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन् ।

    महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    बिहान सबेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ । श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

    एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शोकमा डुबेको छ । पोष्टमार्टक रिपोर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ ।

  • विश्वकप छनोटको निर्णायक खेलमा युएईले दियो नेपाललाई १२८ रनको लक्ष्य

    विश्वकप छनोटको निर्णायक खेलमा युएईले दियो नेपाललाई १२८ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईले नेपाललाई १ सय २७ रनको लक्ष्य दिएको छ ।

    दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो ।

    युएईका लागि चामानि सेनेभिरात्नले ३६ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन जोडेर पेभिलेन फर्किइन् । थ्रिथा सातिसले ४६ बलमा ३ चौकासहित ४७ रन, काभिसा इगोडेजले २७ बलमा २२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    नेपालको बलिङमा कबिता कुँवरले सर्वाधिक २ विकेट लिईन् । त्यस्तै सबनम राई, सिता राना मगर र संगिता राईले समान १ विकेट लिए ।

    नेपाललाई ग्लोबल छनोटमा स्थान बनाउन युएईलाई १० रन अथवा १० बलको फरकमा जित निकाल्नु पर्ने दबाव रहेको छ । यदि युएईसँग पराजित भएमा नेपालको विश्वकप यात्रा अधुरै रहने छ ।

    नेपाल ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । अपराजित युएई ८ अंकसहित तालिकाको शिर्षस्थानमा छ ।
    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

    यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

  • चामलको पिठोले कपालको समस्या समाधान यसरी गर्नुहोस्

    चामलको पिठोले कपालको समस्या समाधान यसरी गर्नुहोस्

    महिलाहरुलाई आफ्नो कपालको सम्बन्धमा बढिनै चिन्ता हुन्छ । टाउकोमा कालो, लामो र बाक्लो कपालले कुनैपनि महिलाको व्यक्तित्वमा अझ सुन्दरता ल्याइदिन्छ । जाडो सुरु भएसँगै कपाल झर्नु सामान्य प्रक्रिया हो । तर जब कपाल कोर्दा अस्वाभाविकरुपले कपाल झर्ने गर्छ, तब समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ ।

    यदी तपाईको कपालको समस्या छ भने यसको समाधान गर्न सबैभन्दा प्रभावकारी उपाय हो चामलको पीठो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ र यसले कपाल झर्ने, कपाल सुख्खा हुने र चायाँको समस्यालाई हटाउँछ ।

    १. मेथीको दाना र चामलको पीठो

    मेथीको दाना र चामलको पिठोको पेस्टले कपालसँग सम्बन्धित समस्याहरू हटाउँछ । चामलको पिठोले रक्तसञ्चार सुधार गर्छ । साथै यसमा पाइने एमिनो एसिड र मिनरल्सले स्क्याल्पलाई पोषण दिन्छ ।
    यो पेस्ट बनाउनको लागि २ चम्चा मेथीको दाना भिजाएर मिक्सरमा पिस्नुहोस् । अब यसमा ३ चम्चा चामलको पिठो हाल्नुहोस् । मेथीको दाना र चामलको पिठोबाट बनेको यो पेस्टलाई २० मिनेटसम्म कपालमा लगाउनुहोस् र त्यसपछि कपाल धुनुहोस् ।

    २. केरा र चामलको पिठो प्याक

    कपाल सुख्खा हुने समस्या प्राय जाडोमा हुने गर्छ । यसका लागि एउटा भाँडोमा चामलको पीठो लिनुहोस् र त्यसमा केरा मिसाएर बाक्लो पेस्ट तयार गर्नुहोस्। यसलाई ३० मिनेटसम्म कपालमा राख्नुहोस् र त्यसपछि कपाल धुनुहोस् ।

    ३. बेसनसँग चामलको पीठो

    चामलको पिठो टाउकोको छालालाई एक्सफोलिएट गर्न प्रयोग गर्न सकिन्छ । यसो गर्दा चायाँको समस्या हट्छ । चामलको पिठोमा बेसनको पीठो मिसाएर त्यसमा मनतातो पानी हाल्ने । यो पेस्टले टाउकोको मसाज गर्नुहोस् । १० देखि १५ मिनेटसम्म मसाज गरेपछि कपालमा छोड्नुहोस् । २० मिनेट पछि स्याम्पुले कपाल धुनुहोस् ।

     

  • शनिबार यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    शनिबार यी दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । शनिबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु र जाजरकोट छन् ।

    आठ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा चितवन, भक्तपुर, सुनसरी, झापा, धनुसा, कास्की, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १७११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • शनिबार २ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    शनिबार २ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिवार मुलुकमा २१३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा नमुना (पीसीआर ४९०७ र एन्टीजेन १७२५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३२५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
    गत २४ घण्टामा १ लाख १५ हजार ४३४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५२१ पुगेको छ भने अहिलेसम्म ७ हजार १५६ सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४६८ जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

  • पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

    पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

    काठमाडौं । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वागमतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् ।

    वागमती सफाइ महाअभियानको ४४६औँ हप्तामा सिनामङ्गलस्थित वागमती पुलमुनिको नदी किनारमा सफाइ गर्दा पशुपति आर्यघाटबाट बगेर आएको बाँस, लुगाफाटोलगायत फोहर धेरै भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उनले बताए ।

    पशुपति आर्यघाटमा दाहसंस्कारमा प्रयोग हुने दाउराको व्यवस्थापन भने राम्रोसँग भइरहेको वागमती सफाइ महाअभियानले जनाएको छ । आर्यघाबाट आएको बाँस, लुगाफाटोलगायत फोहरले नदी सफाइमा अप्ठ्यारो भएको अभियानकर्मीको गुनासो छ । यसैले कोषलाई छिटो समस्या समाधानका लागि आग्रह गरिएको अभियानकर्मी शाहीले बताए ।

    राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा चाडपर्व, जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपलगायत प्रतिकूल अवस्थामा पनि सफाइ जारी रहने गरेको छ । जाडोमा बिहानै अभियानकर्मी स्वयंसेवाका लागि वाग्मती नदी किनारमा पुग्ने गरेका छन् ।

    सिनामङ्गल पुलमुनिको वाग्मती किनारमा भएको आजको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, हलेसी डेकोर, काठमाडौँ महानगरपालिका फोहरमैला व्यवस्थापन विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

    यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४१५औँ हप्तामा गोठाटार पुल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । विगत १० हप्तादेखि शुन्य फोहर अवधारणाअन्तर्गत सफाइ भइरहेको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

    फोहरलाई स्रोतमै वर्गीकरण गरेर यो अवधारणालाई सफल बनाउने लक्ष्य लिइएको जनाइएको छ । फोहर वर्गीकरण र व्यवस्थापनमा सबैले गौरव गर्नुपर्ने भन्दै मञ्चले यस क्षेत्रमा जागरण अभियान चलाएको छ ।

    मनोहरा सफाइ अभियानको २४५औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सफाइ तथा सम्पदा बचाउ अभियानको आयोजनामा भएको सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए । सफाइबाट एक गाडी फोहर व्यवस्थापन भएको छ । फोहर काठमाडौँ महानगरपालिकाको गाडीले लगेको जनाइएको छ ।

    यसैगरी आज रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरीखोला लगायत स्थानमा पनि सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएपछि यी सफाइ अभियान सुरु भएका हुन् । महाअभियान सुरु भएपछि हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

    यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई भएको सफाइ हाल देशभर १०८ स्थानमा भइरहेको छ । अभियानमा स्थानीयवासीको सक्रियता बढ्न नसकेको, स्थानीय सरकारले सफाइलाई स्वामित्व नलिएकोलगायत गुनासो अभियानकर्मीले पोख्ने गरेका छन् ।

  • फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    फेसन सो ‘आइसी डिजाइनर रनवे ’ मा ७३ डिजाइनरले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ । यस वर्ष ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ । आइसी डिजाइनर रनवे १० आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने भएको हो । यो सोको आयोजना नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्न लागेको हो ।

    फेसन सोका लागि ३६ मोडल छानिएका छन् । नेक्स्ट मोडल्सले हालै अडिसन मार्फत २८ फिमेल र ८ मेल मोडल गरेर फेसन शोका उत्कृष्ट ३६ मोडल छनौट गरेको छ ।

    होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

    ‘आइसी डिजाइनर रनवे’ धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो । यस वर्ष उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका सीइओे रवि धमलाले बताए ।
    सो को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

  • देवरको हत्या आरेपमा भाउजू पक्राउ

    सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो ।

    स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

    हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

  • अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

    काठमाडौं । रेवत राईको स्वरमा रहेको गीत ‘तिमी तारे भीर’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो सातामा मात्र यो गीत १५ लाख ४७ हजार ४३८ पटक हेरिएको छ भने कूल १५ लाख ६० हजार ६६२ पटक हेरिएको छ ।

    यस्तै अस्मिता अधिकारी र खेम सेञ्चुरीको स्वरमा रहेको गीत ‘रमरम मरौटी’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १३ लाख ६६ हजार ३४२ पटक हेरिएको छ भने कूल १ करोड ३७ लाख ३२ हजार ८२५ पटक हेरिएको छ ।

    समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘धनगढीको बसमा’ लाई एक सातामा ११ लाख ८ हजार ४८८ पटक हेरिएको छ । यो गीतको कुल भ्यूज संख्या ८५ लाख ९ हजार ९५३ रहेको छ । रुटिन अफ नेपाल बन्दको सहयोगमा यो सूची तयार पारिएको हो ।

    हेर्नूस् सूची :

    १. रेवत राई ‘तिमी तारे भीर’ : १५४७४३८

     

    २. अस्मिता अधिकारी र खेम सेञ्चुरी ‘रम रम मरौटी’ : १३६६३४२

     

    ३. समिक्षा अधिकारी ‘धनगढीको बसमा’ : ११८४८८

     

    ४. खेम सेञ्चुरी ‘मन परेको मान्छे’ : ७८७१६६

     

    ५. भिटेन ‘गल्ली सडक’ : ७७३३७९

     

    ६. प्रकाश दूतराज ‘जाम भो माइली’ : ७२५६५९

     

    ७. दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७१३८०९

     

    ८. मोहित वंश आचार्य ‘हाम्रो माया’ : ७०९९३५

     

    ९. रमेश राज भट्टराई र रचना रिमाल ‘भन साईला’ : ६७८०४०

     

    १०. साहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘ओकल दोकल-२’ : ६७२०६७

     

  • बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

    स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।

    उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ ।

  • चिनियाँ रेडक्रसले नेपालका बाढीप्रभावितलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने

    चिनियाँ रेडक्रसले नेपालका बाढीप्रभावितलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने

    काठमाडौं । बाढीप्रभावितको घर पुनर्निर्माणका लागि चिनियाँ रेडक्रसले नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो ।

    चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

    नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।

  • शुक्रबार २ सय संक्रमित थपिदाँ २ जनाको मृत्यु

    शुक्रबार २ सय संक्रमित थपिदाँ २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २७० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सोही अवधिमा ३०२ जना संक्रमित निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

    मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार २८७ जना सक्रिय संक्रमित छन्।

    अहिलेसम्म देशभर निको हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७५ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

  • संसद सत्रमै बेलायती सांसदले गराइन् शिशुलाई स्तनपान, अनुमति दिने वा नदिनेबारे सुरु भयो बहस

    संसद सत्रमै बेलायती सांसदले गराइन् शिशुलाई स्तनपान, अनुमति दिने वा नदिनेबारे सुरु भयो बहस

    लन्डन । संसद सत्र चलिरहेकै बेला शिशुलाई स्तनपान गराउने बेलायती सांसदलाई बच्चासँगै संसद भवनमा आउन प्रतिबन्ध लगाइएको विषयमा बहस सुरु भएको छ ।

    लेबर दलकी सांसद स्टेला क्रीजीले संसद चलिरहेकै बेला शिशुलाई स्तनपान गराएकी थिइन् । उनलाई संसदमा शिशु लिएर आउन प्रतिबन्ध लगाइएको छ । जुन समय उनलाई सदनमा आउन रोकिएको थियो त्यसबेला उनको बच्चा साथमा सुतिरहेको थियो ।

    घटना गत मंगलबारको हो । स्टेला आफ्नो बच्चाको साथ संसद भवन पुगिन् । उनी सदनको छलफलमा भाग लिन चाहन्थिन् । तर उनलाई नियम उल्लङ्घन गरेको भन्दै रोकिएको थियो । पछि संसदका एक अधिकारीले उनलाई पत्र पठाए । नियमअनुसार उनी बच्चासँग सदनमा बस्न नसकिने बताइएको थियो । स्टेलाले यसमा आपत्ति जनाईन् । केही सांसदहरुले पनि उनलाई समर्थन गरे । स्टोलालाई यी नियमहरुलाई भविष्यमा रिभ्यू गरिने आश्वासन दिएका छन् ।

    हाउस अफ कमन्सका सभामुख लिन्डसे होयलले सांसदहरूलाई भनिन् –मलाई कुनै अधिकारीले स्टेलालाई रोकेको कुरा थाहा छैन। स्टेलाले महिला सांसदहरूलाई पूर्ण सुत्केरी कभर दिने अभियान चलाएकी थिइन् ।

    प्रधानमन्त्रीले पनि गरे समर्थन

    प्रधानमन्त्री बोरिस जोनसनले पनि नियम सुधार गर्ने कुरा गरेका छन् । जोनसनकी श्रीमती पनि दोस्रो सन्तानकी आमा बन्न लागेकी छिन् । यद्यपि, जोनसनले पनि यस विषयमा हाउस अफ कमन्सले निर्णय गर्ने बताए । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले भने– हामी सदनलाई यो शताब्दीको हिसाबले आधुनिक बनाउन र चलाउन चाहन्छौं ।

    प्रतिबन्धका बाबजुद पनि बालबालिकालाई संसदमा ल्याउने चलन छ

    बेलायती संसदमा प्रतिबन्ध भए पनि बालबालिका ल्याउने चलन छ । पूर्व लिबरल डेमोक्र्याट जो स्विन्सन २०१८मा पहिलो पटक बच्चालाई सदनमा ल्याउने पहिलो महिला सांसद थिइन् । लेबर सांसद एलेक्स जोन्सले ट्वीट गर्दै भनेका छन्, २०१९ मा सभामुख होलीले बच्चालाई साथमा ल्याउन र संसदमा स्तनपान गराउन उनलाई अनुमोदन गरेका थिए ।

    उनले भने स्टेला अझैपनि स्तनपान गराईरहेकी छन् त्यसकारण उनलाई बच्चाको साथमा संसदमा आउन अनुमति दिनुपर्छ । कानुनमन्त्री डोमिनिक रोबले पनि स्टेलालाई यसअघि पनि यो मुद्दा उठाएकाले समर्थन गर्न सक्ने विश्वास गरेका छन् ।

  • प्रदेश १ कि एक्ली महिला स्थानीय निकाय प्रमुख काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

    प्रदेश १ कि एक्ली महिला स्थानीय निकाय प्रमुख काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

    इटहरी । प्रदेश १ का १३७ स्थानीय तहमध्ये एकमात्रै महिला प्रमुख भएको स्थानीय तह झापाको कमल गाउँपालीकाकी प्रमुख मेनुका काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

    अखिल नेपाल महिला संघ प्रदेश १ संयोजक तथा गाँउपालिका राष्ट्रिय महासंघकी केन्द्रिय उपाध्यक्ष काफ्लेले प्रदेश १ तर्फको महिला कोटामा उम्मेदवारी दिएकी छन् ।

    काफ्ले २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतितर्फ आकर्षित भएकी थिइन् भने उनी २०४२ सालदेखी पञ्चायतकालमा भूमिगत राजनीतिमा समेत सक्रिय भइन् ।

    काफ्लेले आफूलाई धेरैले केन्द्रिय सदस्यको लागि आग्रह गरेपछि उम्मेदवारी दिएको बताइन् ।

  • महाधिवेशनमय चितवन (तस्बिरहरु)

    महाधिवेशनमय चितवन (तस्बिरहरु)

    चितवन । नेकपा (एमाले)को १० औं महाधिवेशन शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । एमाले महाधिवेशनमा आउनेहरुलाई स्वागत गर्न तम्तयार छ, चितवन ।

    महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनार, भरतपुर महानगर र बन्दसत्र स्थल सौराहालाई दुलहीजस्तै सिंगारिएको छ । महाधिवेशनका लागि एमालेले गरेको तयारीले चितवन महाधिवशेनमय देखिन्छ ।

    हेर्नूस तस्बिरहरु :

                            

     

  • बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । बिहीबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु र जाजरकोट छन् ।

    नौ वटा जिल्लामा २०० भन्दा बढी काेराेना संक्रमित रहेका छन् । जसमा चितवन, भक्तपुर, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १७२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • स्वास्थ्यमन्त्रीद्वारा ७७ वटै जिल्लाका सिडिओसँग खोप सहजीकरणबारे छलफल (भिडिओ)

    स्वास्थ्यमन्त्रीद्वारा ७७ वटै जिल्लाका सिडिओसँग खोप सहजीकरणबारे छलफल (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरणबारे छलफल गरेका छन् । बिहीवार स्वास्थ्यमन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाभाइरसविरुद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरुको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरी चाँडै वडाअध्यक्ष र गाउँ पालिकाका प्रमुखहरुलाई बोलाएर छलफल गर्न आग्रह गरे । उनले गाउँहरुबाट कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए । मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले खोप लक्षित समुदायमा पुर्‍याउन स्थानीय रुपमा योजना बनाएर लागू गर्नुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गरे ।

    स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘मेरो सिडिओसाबहरुलाई अनुरोध र उहाँहरुमार्फत्, म के भन्न चाहन्छु भन्दा त्यहाँको स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरेर एक/दुई दिन भित्रैमा एउटा मिटिङ राखेर आवश्यक पर्दा त्यो ठाउँमा गाउँपालिकाका प्रमुख, सकिन्छ वडा अध्यक्ष, नभए कम्तिमा पनि स्वास्थ्य क्षेत्रका मान्छे र गाउँपालिकाका प्रमुखहरुलाई बोलाएर काम गर्नुपर्‍यो । एउटा डाटा संकलनमा स्थानीय तहबाट भएका खोपहरुको डाटा नआएको हुनाले ५/१० प्रतिशत लगाएका खोपको पनि सार्वजनिक गर्न पाएका छैनौँ । काम भएको छ, डाटा बिस्तारै आउँदै गर्ला । दोस्रो कुरा अब तपाईहरुले कसरी बढी भन्दा बढी लक्षित समूहमा पुर्‍याउने भन्नको लागि एकपटक १५/२० दिन मेहेनत गर्नुपर्‍यो । त्यसको लागि तपाईहरुलाई कति खोप चाहिन्छ भण्डारणमा हेरेर खोप कति चाहिन्छ केन्द्रमा माग गर्नुहोस् । हामी २४ घण्टा पनि फरक नपारीकन खोप उपलब्ध गराउनेछौँ । गाउँ तहसम्म खोप जानको लागि तपाईहरुले नयाँ ढंगबाट डेस्कहरु सिर्जना गनुपर्‍यो । अहिले हामीसँग भएका स्वास्थ्यकेन्द्र जे जति छन् त्यहाँबाट कुनै बार नभनिकन नियमित खोप उपलब्ध गराउनु पर्‍यो ।’

    मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप गाउँ तहसम्म पु¥याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिए । उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्‍याउन आग्रह गरे । मन्त्री खतिवडाले गाउँ/गाउँका जनताहरुलाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए ।

    स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘सभा सम्मेलन, अलिकति भीडभाड हुने ठाउँ, बस स्टपहरु, मेलापात सप्ताह, पुराण यस्ता अनेकौँ ठाउँहरु छन्, त्यो ठाउँ थाहा पाएपछि हामी त्यहाँ गएर डेस्क राखिदिन सक्छौँ, जस्तो अहिले चितवनमा सम्मेलन हुँदैछ पार्टीको चितवनमा आजै बेलुकाबाट सक्नुहुन्छ भने १०/१५ ठाउँमा डेस्क राखिदिनुस्, मलाई लाग्छ त्यहाँ केही नभए पनि २०/५० हजारले थप खोप सुविधा लिनेछन् । त्यस्तै अर्को पार्टीको प्रतिनिधि छान्ने अभियान चलिरहेको छ, त्यो अभियान गर्ने क्रममा हजार, दुई हजार, चार हजार मानिसहरु जम्मा भएको देखिरहेको छु मैले मतदान गर्नलाई त्यस्तो ठाउँ अझै कुनै जिल्ला बाँकी छन् भने हाम्रा स्वास्थ्यकर्मीलाई पठाउनुस् । काठमाडौंको असनतिर धेरै भीड हुन्छ त्यहाँ डेस्क राखिदिनुस्, जिल्लाको मालपोत, सिडिओ कार्यालय त्यहाँ धेरै भीड हुन्छ, त्यहाँ डेस्क राखेर खोप सञ्चालन गर्नुहोस् ।’

    सरकारले अब १८ वर्षभन्दा माथिका कोरोनाभाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ । अहिलेसम्म कूल जनसंख्याको ३० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । 

  • आफ्नै पिएले पनि छोडे भीमसेनदासको साथ

    आफ्नै पिएले पनि छोडे भीमसेनदासको साथ

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तल्लो तहको अधिवेशन जारी रहँदा गुट परिवर्तनको लहरै चलेको छ ।

    काठमाडौंमा पूर्व रक्षामन्त्री एवं पूर्व जिल्ला सभापति भीमसेनदास प्रधानका २ जना स्वकीय सचिवले नै प्रधानको साथ छाडेका छन् । प्रधान कांग्रेसमा तेस्रो धार भनिने सिटौला समूहको प्रभावशाली नेता हुन् ।

    प्रधान रक्षामन्त्री हुँदा स्वकीय सचिव रहेका ईन्द्रमान महर्जन र जगन्नाथ धिमाल पूर्व महामन्त्री प्रकाशमान सिंहको समूहमा लागेका छन् । पूर्व रक्षामन्त्री प्रधानसँग लामो समयदेखि सहकार्य गरेका काठमाडौं क्षेत्र नम्बर ६ कै नेता महर्जन सिंह पक्षबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । काठमाडौंमा पूर्व महामन्त्री सिंह र केन्द्रीय सदस्य गगन थापाबीच तालमेल भएपछि प्रधान पक्षका धेरै नेताले गुट फेरेका हुन् ।

    प्रधानको स्वकीय सचिव रहेका रिमालले पनि गुट परिवर्तन गर्दै काठमाडौं क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि बनेका छन् । काठमाडौंका अधिकांश क्षेत्रमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको टिमबीच सहकार्य भएको छ । काठमाडौंका १० मध्ये ८ क्षेत्रमा प्रकाशमान–गगन टिमले जितेको छ भने देउवा र सिटौला पक्षले १–१ क्षेत्रमा सभापति जितेका छन् ।

  • बिहीबार ३ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    बिहीबार ३ सय संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार मुलुकमा ३०८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ९०९ जनामा नमुना(पीसीआर ७१०४ र एन्टीजेन १८०५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने २९८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५१६ पुगेको छ भने अहिलेसम्म ७ हजार ३४९ सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख २० हजार २८५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ४२४ जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।