Author: Anisha Tiwari

  • ज्योतिनगरको पहिरो व्यवस्थापनमा लुम्बिनी सरकारको चासो, तीन चरणका कार्ययोजना बनाइने

    ज्योतिनगरको पहिरो व्यवस्थापनमा लुम्बिनी सरकारको चासो, तीन चरणका कार्ययोजना बनाइने

    रूपन्देही । बुटवलको ज्योतिनगरमा पहिरो व्यवस्थापन तथा पीडितको उद्दार गर्न लुम्बिनी प्रदेश सरकारले प्रतिवद्वता जनाएको छ ।

    बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि ३ चरणका कार्ययोजनाको बनाउने भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन् । एक महिनाअघि गएको पहिरो नजिकै प्रदेश सरकारका सबै कार्यालय भएपनि वास्ता नगरेको भन्दै सरकारको आलोचना बढेको थियो ।

    मुख्यमन्त्री कुलप्रसाद केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए ।

    नेपाली कांग्रेस बुटवल नगरसमितिले सोमबार यो विषयमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले आवश्यक तयारीका लागि छिट्टै बैठक बसेर अघि बढ्ने योजनामा रहेको बताए ।

    गएको भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौं घरपरिवार विस्थापित भएका छन् । यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर९परिवार घरबारविहीन बनेका छन् ।

    बाढीपहिरो तथा डुबानले विस्थापित हुँदा समेत प्रदेश सरकारले समयमै चासो नदिएको भन्दै आलोचना भएको छ । घटना भएको एक महिना बितिसक्दा पनि सरकारले प्रभावितहरुको तथ्याङ्कनको कामसमेत गर्न नसकेको भन्दै तीव्र आलोचना भएको हो ।

    यसैगरी बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिकापथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन आवश्यक निर्देशन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् । सोमबार कांग्रेस नगरसभापति खेलराज पाण्डेसहितको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

    ज्योतिनगर पहिरो तथा तिनाउ नदी करिडोरका बाढी पीडितहरुलाई राहत, उद्धार र पुनःस्थापनाका लागि सभापति पाण्डेले ध्यानाकर्षण गराएका थिए ।

    यसैगरी चौराह–गोलपार्क सडक विस्तारको काममा ढिलासुस्ती हुनुका साथै शहरको मुख्य सडक नै धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा सहरबासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

    कांग्रेसले बेलबास–बेथरी सडक विस्तार र कालिकानगर बाइपास सडक विस्तारको कामलाई समेत समयमै पूरा गर्नका लागि ध्यानाकर्षण गराएको थियो ।

  • कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । यसअघि कात्तिक २ र ३ गते खुवाइने पूर्वनिर्धारित योजना थियो तर, दशैंको कारण मिति परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सो दिन भिटामिन ‘ए’ र जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ । सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।

  • पोखरा घुमेपछि विदेशी कूटनीतिज्ञ भन्छन् : सौन्दर्य लोभलाग्दो !

    पोखरा घुमेपछि विदेशी कूटनीतिज्ञ भन्छन् : सौन्दर्य लोभलाग्दो !

    पोखरा । विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसकेका थिए ।

    आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक विशिष्ट पाहुनाका लागि विश्व पर्यटन दिवसका अवसरमा सोमबार प्रकृति र संस्कृतिका विभिन्न पक्षहरू दृश्यावलोकन गराउन अन्नपूर्ण गाउँपालिकाको नागडाँडादेखि कास्कीकोटसम्मका लागि करिब तीन घण्टा दूरीको हाइकिङ आयोजना गरिएको थियो ।

    खुलेको मौसमका कारण बिहानै टलक्क टल्किएका माछापुच्छ्रे सहितका हिमाल भने कुटनीतिज्ञहरू ९ः०० बजे नागडाँडामा पुग्दा बादलसँग लुकामारी गर्न थालिसकेका थिए । कतै बादलले छेकेको त कतै देखिएका हिमाली दृश्यले त्यहाँ पुग्ने जो कोही मक्ख देखिन्थे ।

    कुटनीतिज्ञको टोलीमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टका लागि यो पोखराको पहिलो भ्रमण थियो । पोखराको बारेमा सुने पनि उनलाई आउने अवसर भने मिलेको थिएन । विश्व पर्यटन दिवसका अवसरमा हाइकिङमा सहभागी बन्दै माइकल कास्कीकोटबाट बादलभित्रबाट लुकामारी गरिरहेका हिमशृङ्खलालाई कैद गर्न व्यस्त देखिन्थे । पोखराको बारेमा सुने पनि आउने अवसर बल्ल मिलेको भन्दै खुसी देखिएका उनले भने, ‘म प्राकृतिक सम्पदासँगै संस्कृतिमा रमाउन मन पराउँछु, नेपालमा यो सबै छ, अझ पोखराको प्राकृतिक सौन्दर्य त निकै लोभलाग्दो रहेछ ।’

    माइकलले यहाँबाट फर्किएपछि आफ्ना दुई सन्तान र श्रीमतीलाई लिएर छिट्टै पोखरा आउने वाचा गरे । ‘मलाई निकै सुन्दर लाग्यो, परिवारसहित छिट्टैै आउँछु, कोभिड १९ ले धेरैलाई घुम्न डुल्नबाट वञ्चित गरायो, अब सावधानी अपनाएर घुमघाम गर्नुपर्छ’, उनले भने । सम्बन्धित क्षेत्रले दीगो पर्यटनको विकासका लागि जोड दिन आवश्यक रहेको औँल्याउँदै उनले कोभिडका कारणले चुनौतीका साथै अवसर पनि थपेको उल्लेख गरे ।

    नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्ने बित्तिकै माछापुच्छ्रेको हिमशृङ्खलाले आफूलाई निकै लोभ्याएको बताए । उनले नाम जस्तै पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए । तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आएको अनुभव सुनाउँदै उनले जति आए पनि पोखरा आइरहन मन लाग्ने शहर भएको उल्लेख गरे । उनले भने, ‘नेपालको अरु ठाउँभन्दा पोखरा विशेष लाग्छ, तिहारपछि फेरि पोखरा आउने योजना छ, म अन्नपूर्ण रेञ्जको पदमार्गमा जानेछु ।’

    उनले पोखरा पर्यटकीय गन्तव्य भएको जनाउँदै बिहान उठ्नासाथ हिमाल माथिमाथि बादलहरू उडिरहेको दृश्य हेर्न, लेकसाइड घुम्न र बारहरू जान पनि आफूलाई मन पर्ने अनुभव सुनाए । ‘नेपाल र यहाँको सन्दर्भमा पर्यटन महत्वपूर्ण छ, यसलाई अझै विकास गर्न जरुरी छ’, उनले भने, ‘कोरोना हराइसकेको छैन तसर्थ अझै सावधानी अपनाउन जरुरी छ, कोरोनाको महामारीमा नेपाललाई मेरो देशले पनि सहयोग गरेको छ ।’

    (सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देश श्रीलङ्काका कूटनीतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी लागेको बताए । ‘पोखरा मलाई निकै मन पर्ने ठाउँ हो, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले यो अवसर हामीलाई जुराइदिएकामा आभारी छौँ’, उनले भने ।

    श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवं धार्मिक कुरा मिल्ने जनाउँदै उनले कोभिड–१९ ले दक्षिण एशियाली देशहरुको अर्थतन्त्रमा निकै प्रभाव पार्नुका साथै पर्यटन क्षेत्र झनै प्रभावित भएको बताए । श्रीलङ्काका नागरिकले पनि नेपाल मन पराउने र बुद्धको देश भनेर चिन्ने गरेको उल्लेख गर्दै उनले आफू पनि बुद्ध धर्मावलम्बी भएको बताए । नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउँदै विराकुनले यही अक्टोबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिए ।

    विदेशी राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखराको भ्रमण यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए । कोरोनाले प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन यो भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ ।

    यस भ्रमणले पोखरा घुम्नका लागि खुल्ला तथा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । विश्व पर्यटन दिवसका अवसरमा गरिएको यो कार्यक्रमले विश्व पर्यटन बजारमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले यसले सम्पूर्ण पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए ।

    कोरोना कहरले थलिएको पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले यो उच्चस्तरीय भ्रमण यहाँका लागि महत्वपूर्ण अवसर भएको बताए । विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

  • रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान

    रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप हस्तान्तरण गरे ।

    यसै साता चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।

  • नेपालमा पहिलोपटक कोभिड-१९ को जिन सिक्वेन्सिङ परीक्षण सुरु

    नेपालमा पहिलोपटक कोभिड-१९ को जिन सिक्वेन्सिङ परीक्षण सुरु

    काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ सुरुवात भएको जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिन सिक्वेन्सिङ सुरु गरिएको हो । जैविक प्रविधि विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरु गरी जम्मा ४२ वटा नमूनाहरु सिक्वेन्सिङ गरिएको थियो ।

    जसमध्ये भाद्र र असोजमा संकलन भएको मध्ये ४१ वटा नमूनाहरु सबैमा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । गत वैशाखमा ‘एस’ जीन नेगेटीभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको छ।

    डब्लुएचओ नेपाल कार्यालय र वासिङ्टन विश्वविद्यालयले प्रयोगशालालाई प्राविधिक सहयोग गरेका छन् ।

  • कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : माग २० अर्बको, विनियोजन डेढ अर्ब मात्रै

    कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : माग २० अर्बको, विनियोजन डेढ अर्ब मात्रै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १९ अर्ब रुपैयाँ बढी माग भएकोमा डेढ अर्ब रुपैयाँ मात्रै विनियोजन भएको छ ।

    योजनका लागि अनलाइनमार्फत् ३ हजार ९६० ओटा आयोजनाको माग भएको कार्यालयका योजना महाशाखा प्रमुख युवराज न्यौपानेले बताए । उनका अनुसार प्रदेशका चार वटा वडाबाट भने योजना माग भएका छैनन् । अर्थात ७१८ ओटा वडामध्ये ७१४ ओटा वडाबाट योजना माग भएका छन् ।

    उनका अनुसार योजना माग नगर्नेहरुमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ६, मुगुको मुगुमकार्मारौंको वडा नम्बर एक, डोल्पाको छार्काताङसोङ गाउँपालिकाको वडा नम्बर एक र दुई रहेका छन् ।

    सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब पचास करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । तर आवेदन पेश भएका योजनामा १९ अर्ब ९८ करोड ८५ लाख ६४ हजार २६० रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ ।

    ‘कम्तिमा १३ लाखदेखि ३३ लाखसम्म प्रतिवडामा बजेट विनियोजित भएको छ’ प्रमुख न्यौपाने भन्छन्, ‘जनसंख्या, गरिबीको अनुपात र भुगोलको आधारमा वडामा बजेट पठाउने गरी बजेट तय गरिएको हो ।’

    धेरै माग भइ आए पनि बजेट कम भएका कारण समस्या भएको उनले बताए । उनले भने, ‘मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि अनुसार बजेट विनियोजनको तयारी गरेका छौं । हाल कुन वडामा कति बजेट भन्ने निर्णय भइसकेको छ ।’

    मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा योजना छनौटका लागि अंकसमेत तोकिएको छ ।

    आयोजनाको प्रकृतिका आधारमा २५ देखि ५० नम्बर दिइने उल्लेख छ । खानेपानी, सिंचाई, विद्यालय भवन, सडक आदिका लागि २५ नम्बर दिइने छ । त्यस्तै श्रमिकको ज्याला लाग्ने लागतका आधारमा ५० नम्बर दिइनेछ भने लाभान्वित हुने जनसंख्याको आधारमा २५ प्रतिशत अंक प्रदान गरेर योजना छनोट गरिनेछ ।

    कार्यालयले विगतको अभ्यासभन्दा फरक गरी यसपालि अनलाइनबाट योजना माग गरेको थियो । यसो हुँदा कार्यान्वयनमा सहमस्या हुनसक्ने अनुमान गरिएको छ ।

    तर महाशाखा प्रमुख न्यौपाने भने त्यस्तो समस्या नआउने दावी गर्छन ।

     

  • पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’ सञ्चालन गर्न दक्षिण कोरियाले सहयोग गर्ने

    पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’ सञ्चालन गर्न दक्षिण कोरियाले सहयोग गर्ने

    पोखरा । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    पोखरा र आसपासको भौगोलिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए ।

    भेटमा मुख्यमन्त्री पोखरेलले हजारौँ नेपाली युवाको उत्कृष्ट गन्तव्यका रूपमा दक्षिण कोरिया रहेको बताउँदै आयआर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरका रूपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गर्ने गरेको बताए ।

    नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जाजस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

    दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य स्मरण गर्दै उनले कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका)मार्फत पुर्‍याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

    प्रदेश सरकार कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नुपरेको उनको भनाइ छ ।

    ग्रामीण क्षेत्रको विकास र गरिबी अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो रहेको बताउँदै प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडीबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्नसक्ने बनाउन थप काम गर्नुपर्ने बताए ।

    दिगो विकास लक्ष्य हासिल गर्न एकीकृत प्रादेशिक तथ्याङ्क तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले, प्रमुख सचिव दामोदर रेग्मी सहभागी थिए ।

     

  • चिनियाँ विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाइ

    चिनियाँ विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाइ

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नवनियुक्त नेपाली समकक्षी डा. नारायण खड्कालाई बधाइ दिएका छन् ।

    चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै विदेशमन्त्री यीले नेपाली समकक्षी खड्कालाई दिएको सन्देशमा मिलेर काम गर्ने चाहना व्यक्त गरेको जनाइएको छ ।

    नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाइमा लैजाने चाहना पनि चिनियाँ विदेशमन्त्रीले व्यक्त गरेको उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यसैसाता नेपाली समकक्षीलाई बधाई सन्देश दिएका थिए

  • सरकारको लक्ष्यअनुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

    सरकारको लक्ष्यअनुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

    काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोनाभाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोज मसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

    खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए । ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनेका थियौँ’, उनले भने, ‘सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छौं असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्‍याउँछौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोनाभाइरसविरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्‍याइने घोषणा गरेका थिए । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

    सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

    अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कूल जनसंख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

    खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि संक्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा संक्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा संक्रमण देखिएको छ ।

    अहिलेसम्म नेपालमा संक्रमणदर १९ प्रतिशत छ । नेपालमा पहिलो पटक संक्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते संक्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

    कुन जिल्लामा कतिले खोप लगाए

    सबभन्दा बढी काठमाडौँ उपत्यकामा जनसंख्यालाई खोप लगाइएको छ । काठमाडौँ जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसंख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसंख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

    यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

    यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

    कुन प्रदेशमा कतिले खोप लगाए

    मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४/२४ प्रतिशत जनसंख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

    यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए ।

    ‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।’ सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

    मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

    यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

    नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

    बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

    सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताए ।

    उनका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले बताए । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

    सार्कमा नेपाल चौथो

    कोरोनाभाइरसविरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा. अधिकारीले बताए ।

  • ११ देशका राजदूतहरु पोखरामा हाइकिङ गर्दै (तस्बिरहरु)

    ११ देशका राजदूतहरु पोखरामा हाइकिङ गर्दै (तस्बिरहरु)

    पोखरा । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निम्तोमा पोखरा पुगेका ११ मुलुकसहित अन्तर्राष्ट्रिय नियोगका राजदूतहरु अहिले घुमघाममा व्यस्त छन् । उनीहरुले आज पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पदयात्रा गरे ।

    कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा पुगेका हुन् । राष्ट्रसंघ, सार्क सचिवालयसहितका नियोगका कूटनीति समेत पनि पोखरा पुगेका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उनीहरुलाई हाइकिङ गराइएको हो ।

    राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए । विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको  पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

    राष्ट्रसंघकी नेपाल कार्यालय प्रमुख सारा न्यान्ती बिसेलोले सराङकोटको डाँडामा पुगेर पोखरा अब खुला भएको भन्दै पर्यटकलाई घुमघामका लागि पोखरा आउन आग्रह गरेकी छिन् ।

          
  • सोमबार १२ सय कोभिड बिरामी थपिए, ७ जनाको मृत्यु

    सोमबार १२ सय कोभिड बिरामी थपिए, ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १२ सय ८२ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमुना परीक्षण गर्दा (पीसीआर १२,०८१ तथा एटीजेन ३,४०७) जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १,२६२ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख १२ हजार ८७४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १८ हजार ८४८ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार १०३ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८५ जना, भेन्टिलेटरमा १२५ जना, होम आइसोलेशनमा १७,५३५ जना, संस्थागत आइसोलेशनमा १३१३ र क्वारेन्टाइनमा २५६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.२ प्रतिशत छ ।

  • स्काउटले राजनीतिभन्दा माथि उठेर सेवा देओस् : मुख्यमन्त्री शाक्य

    स्काउटले राजनीतिभन्दा माथि उठेर सेवा देओस् : मुख्यमन्त्री शाक्य

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउट राजनीतिभन्दा माथि उठ्नपर्ने तर्क गरेकी छन् । वागमती प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अष्टलक्ष्मी शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा काम गर्नुपर्ने बताएकी हुन् ।

    ‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, समारोहमा शाक्यले भनिन्, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’

    स्काउटले समाजमा भएका हिंसा तथा असमानता कम गर्न भूमिका निर्बाह गर्नुपर्ने उनको भनाइ थियो ।

    समारोहमा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पनि स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगमा काम गर्नुपर्ने बताए ।

    समारोहमा स्काउटको प्रदेश संरक्षक, स्थानीय संरक्षकलगायत दीक्षित भएको मुख्यमन्त्री शाक्यकी स्वकीय सचिव सीता थापाले जानकारी दिइन् ।

  • बन्दै गरेको घरबाट खसेर एक कामदारको मृत्यु

    रूपन्देही । निर्माणाधीन घरबाट खस्दा बुटवलमा एक मिस्त्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेका छन् ।

    बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा गम्भीर चौधरी गम्भीर घाइते बताएका थिए ।

    चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो । साथै सोही निर्माणाधीन खसेर बाँकेको कोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइरहेको छ ।

  • इङ्लिस अलराउन्डर अलीले लिए टेस्टबाट सन्यास

    इङ्लिस अलराउन्डर अलीले लिए टेस्टबाट सन्यास

    काठमाडौं । इङ्लिस अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । टेस्टबाट सन्यास लिए पनि उनले लिमिटेड ओभर क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।

    सन् २०१४ मा श्रीलंकाविरुद्ध डेब्यू गरेका ३४ वर्षीय अलराउन्डर अलीले ६४ टेस्टमा २ हजार १ सय ९४ रन बनाएका छन् भने १ सय ९५ विकेट लिएका छन् ।

    उनले इङ्लिस टोलीबाट घरेलु मैदानमा भएको सन् २०१९ को एकदिवसीय क्रिकेट विश्व कप जितेका थिए । अर्को महिना दुबईमा हुने टी-२० विश्व कपका लागि पनि अली प्रारम्भिक टोलीमा परेका छन् ।

    ‘म सम्भव भएसम्म लामो समय खेल्न र क्रिकेटको आनन्द लिन चाहन्छु’,अलीले भनेका छन् ।

  • मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन गर्न थलियो

    मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन गर्न थलियो

    मनाङ । लामो समयदेखि कोभिड–१९ संक्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ ।

    बाढीपहिराले पदमार्गमा क्षति पु¥याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोनाभाइरस संक्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए ।

    प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासङ्घलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पुर्‍याएको पाइएको उनले बताए ।

    ‘पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ । अब पर्यटक भित्र्याउन हामी तयार छौँ’, उनले भने, ‘जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।’

    पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मि) जाने बाटो मर्मत तथा पुनःनिर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए । उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुलादिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ ।

    जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका व्यवसायी डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् ।

    पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउनेक्रम सुरु भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए ।’अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । दुई वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ’, अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने ।

    पदमार्गअन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भिर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । ‘भ्राताङ भिरमा पैदल हिँड्न मुस्किल छैन । सवारीसाधन चलाउन सकिएको छैन । तर, माथिल्लो मनाङको सडकमा खासै समस्या छैन । अब हामी पर्यटक भित्र्याउन सक्नेछौँ र तयारी पनि गरिरहेका छौँ’, उनले भने ।

    तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादसैँसम्म सञ्चालन गर्ने तयारीमा छ ।

  • बेनी-जोमसोम सडक खण्ड : ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

    बेनी-जोमसोम सडक खण्ड : ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

    म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

    बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो ।

    सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए ।

    यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक श्याम रानाले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ–ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६२/०६३ सालमा तत्कालिन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो ।

    बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा वर्षेनी यात्रीले सास्ती खेप्दै आउनुपरेको काभ्रेका तिलक रसाइलीले बताए ।

    भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

    ‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा वर्षेनी कैयौं व्यक्तिहरुको लाइफ इण्ड (समाप्त) हुनेगरेको छ ‘, दानाका पिर्थबहादुर पुनले भने, ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।’

    सुस्तगतिमा सडक स्तरोन्नतिको काम

    कूल ७६ किलोमिटरको बेनी-जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा सडक स्तरोन्नति सुस्तगतिमा अघि बढिरहेको छ ।

    न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । बेनी–जोमसोम खण्ड गत मङ्सिर १५ गतेभित्र कालोपत्रको काम सक्नुपर्ने म्याद थियो । तर निर्धारित समय सकिएको एक वर्ष बितिसक्दा पनि सडक कालोपत्रको काम कछुवागतिमा रहेको छ ।

    निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ७५ र माथिल्लो खण्डमा ९० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । ‘सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

    अधिकांश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । कामदार र उपकरण पर्याप्त मात्रामा परिचालन हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भइरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रुपमा सन्तोषजनक छैन । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ६० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।

    कठिन भौगोलिक अवस्थिति, बाढीपहिरोजन्य प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ ।

  • आइतबार काठमाडौंमा २७९ जनामा कोरोना संक्रमण पुष्टि

    आइतबार काठमाडौंमा २७९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा २७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३२, ललितपुरमा २३ र भक्तपुरमा २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ४,५५८ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २,५५४, भक्तपुरमा ८१९ र ललितपुरमा १,१८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

    काठमाडौं उपत्यकामा मात्र ३,२२९ जनाले कोरोनाबाट ज्यान गुमासकेका छन् ।

  • आइतबार ८ सय कोभिड बिरामी थपिए, ९ जनाको मृत्यु

    आइतबार ८ सय कोभिड बिरामी थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर ८३४ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ७३६ वटा नमुना परीक्षण गर्दा (पीसीआर ८,५८९ तथा एटीजेन ५,१४७) जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १२७९ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख २३ सय १ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १९ हजार १४२ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३६८ जना, भेन्टिलेटरमा १२० जना, होम आइसोलेशनमा १७,८१३ जना, संस्थागत आइसोलेशनमा १,३२९ र क्वारेन्टाइनमा २३० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ६ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.२ प्रतिशत छ ।

  • माधव नेपालको साथ छाड्दै पुरुषोत्तम पौडेलले भने : ४३ वर्ष बिताएको एमाले छाड्न सकिन

    माधव नेपालको साथ छाड्दै पुरुषोत्तम पौडेलले भने : ४३ वर्ष बिताएको एमाले छाड्न सकिन

    काठमाडौं । नेकपा एमाले विभाजनपछि शुरुमा नेकपा एसमा राखिएका तर कतै गतिविधिमा नदेखिएका नेता तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पार्टी विभाजनको १ महिनापछि आफू एमालेमै रहने घोषणा गरेका छन् । उनी त्यसअघि माधव नेपाल पक्षको समानान्तर गतिबिधिमा थिए ।

    बाराबाट पटक पटक निर्वाचित लोकप्रिय नेता पौडेल एमालेको खेलकुद महासंघको अध्यक्ष थिए । उनी नेकपाकालमा पनि सोही पदमा थिए । तर पछिल्लो समय एमाले ब्युँतिएपछि भने खेलकुद महासंघ रमेश पौडेलको नेतृत्वमा गठन भएको छ । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले ४३ वर्ष बिताएको पार्टी छाड्न मन नलागेपछि एमालेभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेको बताएका छन् ।

    पौडेलको वक्तव्यको पूर्णपाठ :

    राजनीति विचारको आधारमा गरिने गर्दछ । राजनीतिलाई विधिले निर्देशित गर्नुपर्छ । विचार र विधिको आधारमा चल्ने नेतृत्वले मात्र असल राजनीतिक संस्कार बसाउन सक्छ ।

    अहिले राजनीतिमा देखिएको निर्णयमा मनपरि तन्त्र, सङ्गठनमा अराजकता र विचारमा केवल गाली(गलौजजस्ता कुरा सहज तथा स्वीकार योग्य छैनन् । यसले राजनीतिमा खस्किरहेको वैचारिक स्तर र गाली-गलौज संस्कृतिलाई मात्र उजागर गरिरहेको छ । सारमा स्खलित हुँदै गएको विचारको राजनीतिलाई पुनस्स्थापित गर्नु नै आजको प्रमुखचुनौती हो ।

    कुनैपनि पार्टीमा लाग्ने, नलाग्ने र छुट्टिने हरेक व्यक्तिको निजीमामिला हो । हरेकले कतै लाग्न र छुट्टिन पाउँछ । कतै लाग्यो भनेर खिसीट्युरी गर्नु, गाली-गलौज गर्नु र आफूतिर लागेन भनेर तेजोवध गर्नु असल संस्कार हुँदै होईन । खासपरिस्थितिमा मान्छेले आफ्नो ब्रह्मले देखेको निर्णय गर्दछ । त्यो उसको नैसर्गिक अधिकार हो । हरेक व्यक्तिलाई आफ्नै विवेकले निर्णय गर्न दिनुपर्दछ र उसको निर्णयलाई सबैले सम्मान गर्न सक्नुपर्दछ । यो नै असल लोकतान्त्रिक संस्कार र चरित्र पनि हो ।

    आज नेकपा एमालेका सदस्यहरूको सामुन्ने आफ्नै पार्टीको बारेमा निर्णय गर्ने अवस्था आईपरेको छ । आफूले मेहनत पूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसङ्गत विचारसँग लड्दै अघि बढ्ने अथवा अलग भएर पार्टीलाई बिग्रनको लागि छोडिदिने रु यो प्रश्नले धेरैलाई सताईरहेको होला ।

    निश्चित रूपमा हामीले पार्टीलाई सम्भव भएसम्म शुद्ध सुदृढ बनाउने अठोट सहित शपथ खाएर आएका हौं । यसमा पुनस्विचार गर्नेरनगर्ने हरेक व्यक्तिको स्व-विवेकको कुरा हो । विगतका धेरै दिनहरू हामीले पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदा-उठाउँदै बिताएर आएका छौं । मैले पनि ४३ वर्षदेखि यसै पार्टीमा सकृय राजनीतिक जीवन बिताईसकेकोले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकिकृत गर्ने पक्षमा निर्णय गरेको हुँ ।

    अहिले आत्मगत् आग्रहभन्दा वस्तुगत परिस्थितिलाई हेर्नुपर्ने हुन्छ । वस्तुगतपरिस्थितिले अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखाउँछ । विभाजन तिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ ।

    पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ । यस्तो घडीमा हरेकले आवेशले भन्दा विवेकले….

  • आँखाको ज्योति गुम्न सक्ने शापूको संक्रमणबाट सचेत रहन विशेषज्ञको आग्रह

    आँखाको ज्योति गुम्न सक्ने शापूको संक्रमणबाट सचेत रहन विशेषज्ञको आग्रह

    काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापूले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापू रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ ।

    विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ ।

    बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दख्खल पुर्‍याएको नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताए । यो रोग लागेमा अस्पताल पुग्नैपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ ज्ञानेन्द्र लामिछानेको सल्लाह छ ।

    आँखाको ज्योति बचाउनका लागि शापू लागेको लक्षण थाहा पाउनासाथ अस्पताल पुगेर उपचार गरी निको बनाउन सकिन्छ, लामिछानेले भने, समयमा नै अस्पतालमा नआए दृष्टिविहीन हुनसक्ने सम्भावना अधिक रहन्छ । नेपालका गण्डकी प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यो रोग लाग्ने गरेको तथ्याङ्कले देखाएको छ ।

    शापू रोगका लक्षण

    यो रोग लागेमा मानिसको आँखामा विभिन्न लक्षण देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जानकारी दिएको छ । रिर्सच सेन्टरका अनुसार शापू रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ ।

    मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् । रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापू रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउनाका साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताउछन् । उनले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताए ।

    शापूबाट जोगिने

    यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन् । उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन् । नेत्ररोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताउछन् ।

    ‘मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ’, नेत्ररोग विशेषज्ञ उपाध्यायले भने, ‘यो रोगलाई आँखा पाक्ने रोगसँग दाँजेर घरमै बस्नु हुँदैन । आँखा उपचार हुने अस्पतालमा पुग्नु पर्दछ ।’ हरेक वर्ष बिराएर प्रकोपको रुप लिने यो रोग नेपालमा समस्याका रूपमा देखिएको छ । गत वर्ष नदेखिएको शापु यो वर्ष देखिएको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् ।

    अस्पतालको तयारी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रकोपका रूपमा देखिएको यो रोगको उपचारका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवाले विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ । नेत्ररोग विशेषज्ञहरू यो रोगको उपचार २४सै घण्टा तयारी अवस्थामा छन् भने अस्पतालका अन्य कर्मचारी पनि शापुको उपचारका लागि अस्पतालको निर्देशनअनुसार काम गरेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जनाएको छ ।

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ उपाध्यायले शापु रोगको उपचार र रोकथामका लागि नेपालभरका नेत्ररोग विशेषज्ञ र अस्पतालसँग उपचार पद्धतिमा एकरूपता ल्याउनका लागि सहकार्य गरिएको बताए । नेपालमा विसं २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

    उपचार विधि

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ लामिछानेका अनुसार यो रोगको उपचार विभिन्न वर्गमा विभाजन गरेर गरिएको छ । पहिलो, यो रोग लागेर तुरुन्त आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ ।

    दोस्रो, यो अलि ढिलो अस्पताल पुग्ने र आँखामा शापुका जीवाणु फैलिसकेको हुनाले इन्जेक्सन लगाएर उपचार गरिन्छ । तेस्रो, अस्पताल ढिलो पुग्ने अवस्था हो । यस अवस्था जटिल अवस्था भएकाले शल्यक्र्रिया गरी शापुको उपचार गरिन्छ । उपचारपछि मानिसमा आँखाको ज्याति पुरानै अवस्थामा फर्काउन पनि कठिन छ । रातिमा सुत्दा पनि झुल लगाएर सुत्नुपर्ने नेत्ररोग विशेषज्ञहरू बताउँछन् ।

    पुतलीबाट टाढै बसौँ

    सेतो पुतलीले सार्ने शापु रोग नेपालमा मात्र हुने आँखामा लाग्ने रोग हो । यो भदौदेखि मङ्सिर महिनासम्म लाग्ने मौसमी रोग हो । यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने सङ्क्रमण खालको रोग हो । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यस नेपालमा समस्याको रूपमा लिने गरिएको छ । नेपालका मध्यपहाडी जिल्लामा यो रोगको जोखिम बढी छ ।

    यसको उपचार नेत्र चिकित्सकले मात्र गर्ने भएकाले आइड्रप, आँखाभित्र इन्जेक्सनबाट औषधि पठाएर र शल्यक्रियाबाट गरिने भएकाले यो जटिल प्रकृति हो । यसका लागि मानिसले सेतो पुतलीबाटै टाढै बस्नु पर्दछ । यसको रोकथामका उपाय अपनाउनु शापु रोगबाट बच्नु हो । त्यसकारण नेपालमा मात्र पाइने यो रोगको निवारणका लागि नेत्ररोग विशेषज्ञहरूले अनुसन्धान गरी यसको निदान गर्नुपर्दछ ।

  • मुक्तिनाथ मन्दिर आजदेखि खुल्यो

    मुक्तिनाथ मन्दिर आजदेखि खुल्यो

    म्याग्दी । मुस्ताङस्थित मुक्तिनाथ मन्दिर आजदेखि खुला भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।

    मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए ।

    ‘स्वदेशीका लागि पीसीआर, एन्टीजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ’, उनले भने, ‘विदेशीका लागि सात दिनभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।’

    वडादसैंको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना संक्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।

    अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो ।

    निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ । कोरानाले मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

    समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ । शालिग्राम भगवानको लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । शालिग्राम शिलालाई भगवान् विष्णुको रुप मानेर पूजा गरिन्छ । यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ । १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि छ ।

  • खोटाङ कांग्रेस अधिवेशन : ऐसेलुखर्कमा तामाङ, दिक्तेलमा श्रेष्ठ

    खोटाङ कांग्रेस अधिवेशन : ऐसेलुखर्कमा तामाङ, दिक्तेलमा श्रेष्ठ

    खोटाङ । नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ ।

    ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसम्मत सभापति पदमा चयन हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताए । ती चार स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र विष्ट र खोटेहाङमा प्रेम थापा सभापतिमा निर्वाचित भएका छन् ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको जनाइएको छ । वडा नं १ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आज हुन लागेको हो ।

  • पोखरामा पाँच प्रत्यासी हराउँदै विजुक्छे कांग्रेस सभापतिमा विजयी, कास्कीका अरु स्थानीय तहमा को आए ?

    पोखरामा पाँच प्रत्यासी हराउँदै विजुक्छे कांग्रेस सभापतिमा विजयी, कास्कीका अरु स्थानीय तहमा को आए ?

    पोखरा । नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् ।

    पार्टीको १४ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा सभापतिका पाँच प्रत्यासीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत पाए ।

    मतदानमा १३ सय ४४ मत खसेको थियो । उनका निकटम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे । सभापति पदका उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरिन् ।

    यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरी विजयी भएका छन् ।

    कास्कीका ४ गाउँपालिकामा शुक्रबार नै नयाँ नेतृत्व चयन भएको थिए । तीमध्ये २ वटामा सर्वसम्मत र २ वटामा निर्वाचन भएको हो ।

    रुपा र अन्नपूर्ण गाउँपालिमामा शुक्रबार नै सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको थियो । पोखरा महानगरपालिकासहित माछापुच्छ्रे र मादी गाउँपालिकामा शनिबार चुनाव भएको हो ।

    रुपामा विमलबाबु न्यौपानेको सभापतित्वमा सर्वसम्मत नेतृत्व चयन भए । अन्नपूर्णको नेतृत्वमा मनपति भण्डारी चुनिए ।

    मादी गाउँपालिका अध्यक्षमा मात्र १ मतअन्तरले यामबहादुर गुरुङ निर्वाचित हुन सफल भए ।

    माछापुच्छ्रे गाउँपालिकामा वीरेन्द्र गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

  • शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु

    शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौ्रं । पछिल्लो २४ घण्टामा शनिबार ९५३ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ५७९ वटा नमुना परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    यस्तै काठमाडौं उपत्यकाका ३११ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

    हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • दसैं मान्न घर फर्कदै भारत गएका नेपाली

    दसैं मान्न घर फर्कदै भारत गएका नेपाली

    नेपालगञ्ज । दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ ।

    रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

    नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै छ । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

    स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको संख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।

    आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या अधिक छ ।

    दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    उनका अनुसार, भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीसँगको समन्वयका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाह नाकामा नागरिक सहायता कक्ष सञ्चालनको तयारीसमेत भइरहेको छ ।

  • खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ)

    खेलपछि अफ्रिदीले यसरी साटे समर्थकसँग खुशी र उत्साह (तस्बिर र भिडिओ)

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा काठमाडौं किङ्ग्स –११ ले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ७ विकेटको फराकिलो नतिजामा पराजित गर्‍यो ।

    बहुप्रतिक्षित बनेको ईपीएलमा अभूतवपूर्व चर्चित क्रिकेटरहरूको उपस्थिति छ । तीमध्ये सबैभन्दा चर्चित खेलाडी शाहिद अफ्रिदीलाई काठमाडौंले आफ्नो टोलीमा भित्र्याएको छ । चौथो पटकको प्रयासमा काठमाडौंले ललितपुरविरुद्ध पहिलो जित निकाल्दा अफ्रिदी पनि काठमाडौंको टोलीमा थिए ।

    र, यो वर्षको ईपीएलको प्रमुख आकर्षणको केन्द्र बनेका शाहिद अफ्रिदीले खेलपछि समर्थकहरुसँग उत्साह र खुशी यसरी साटेका थिए ।

      
    

     

  • ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

    ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्ग्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पहिलो पटक पराजित गरेको छ । शनिबारदेखि सुरु भएको ईपीएलको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई सात विकेटले पराजित गरेको हो ।

    यसअघिका दुई सिजनमा तीन पटक ललितपुरसँग पराजित भएको काठमाडौंले चौथो संस्करणको पहिलो खेलमा साविक विजेताविरुद्ध शानदार नतिजा निकालेको हो ।

    त्रिवि क्रिकेट मैदानमा १ सय ५८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि रायन बर्ल र रहमानुल्लाह गुर्बाजले शानदार इनिङ खेले । ओपनिङमा आएका गुर्बाज ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेलेका थिए ।

    यस्तै, ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । यस्तै राजु रिजाल १९ रनमा अविजित रहँदा ओपनर सुवाष खकुरेल शून्य र अमित श्रेष्ठ रनआउट भएका थिए ।

    बलिङतर्फ ललितपुरका लागि पवन सर्राफले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

    टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरका लागि पवन सर्राफले ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    काठमाडौंका लागि जितेन्द्र मुखियाले चार र गुल्शन झाले दुई विकेट लिएका थिए ।

  • अझै केही साता मनसुन रहने

    अझै केही साता मनसुन रहने

    काठमाडौं । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । उनका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम राकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’, मौसमविद् नगरकोटीले भनीन् ।

    यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको छ ।

    यसपाली नेपालमा मनसुन औसत समयभन्दा दुई दिन अगाडि भित्रिएको थियो । मौसमविद्का अनुसार हरेक १०–१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव तीन डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

  • कहिले बन्छ विराटनगरमा आकाशेपुल ?

    कहिले बन्छ विराटनगरमा आकाशेपुल ?

    विराटनगर । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे दुई करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

    विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए ।

    त्यसयता आकाशेपुलको डिजाइन गरी ठेक्का लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

    महानगरपालिकाले आकाशेपुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

    नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशेपुल बनाउनेगरी योजना अघि बढाइएको छ ।

    त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

    घाँसचोक र बरगाछीमा आकाशेपुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइ सकेपनि बनाउने ठाउँको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ ।

    यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्र्डसले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरेपनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ ।

    पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताए ।

    विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने महानगरको विकाससँग जोडिएको बिषयबस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए ।

  • निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    धनुषा । धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ । रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो ।

    ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो ।

    ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीनवटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।

    सरकारसंग भएको सम्झौताअनुसार २०७८ चैत मसान्तमा तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

    नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ ।

    पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकतिरबाट एकपटकमा तिन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनी बताए ।

  • सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

    हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

    त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

    विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ । रासस

  • प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    जनकपुरधाम । प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आइपुगेका छन् ।

    आज जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले स्वागत गरेका छन् । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।

    उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।

    जसपाका ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए ।

  • करेन्ट लागेर एकको मृत्यु

    रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ का ४६ वर्षीय रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

    शुक्रबार घर बनाउनका लागि फलामको छड काट्ने क्रममा विद्युत्को हाइटेनसन तारमा छड छोइएर उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बस्नेतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (भिडिओसहित)

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको गीत ‘चरी जेलैमा’ लगातार एक महिनादेखि युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो गीतलाई एक सातामा मात्र १९ लाख १८ हजार १८८ पटक हेरिएको छ भने कूल भ्यूज संख्या २ करोड ३८ लाख ९४ हजार ९७ छ ।

    डीआर सुजनको स्वरमा रहेको गीत ‘परदेशी काइँलो’ दोस्रो शीर्ष स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १८ लाख ३१ हजार ७७३ पटक हेरिएको छ । गीतको कूल भ्यूज संख्या १८ लाख ३१ हजार ७७३ छ ।

    राज भट्टराई र रचना रिमालद्वारा स्वरवद्ध गीत ‘भन साइँला’ तेस्रो सर्वाधिक हेरिने गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई १५ लाख ३५ हजार २४६ पटक हेरिइएको छ भने कूल २१ लाख १९ हजार ५६९ पटक हेरिएको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूची यस्तो छ हेर्नूस :

    १. ‘चरी जेलैमा’ विष्णु माझी : १९१८१८८

     

    २. ‘परदेशी काइँलो’ डीआर सुजन  : १८३१७७३

     

    ३. ‘भनसाइँला’ राज भट्टराई र रचना रिमाल : १५३५२४६

     

    ४. ‘दसैं आइसक्यो’ विष्णु माझी : १२,२१,६७३

     

    ५. ‘कुरा बुझ्नु पर्च’ प्रकाश सपूत : १०,६९,०८४

     

    ६. ‘माया बिक्ने भएछ ’ शिव परियार : ९०३४२२

     

    ७. ‘कति राम्रो सुहाको’ दीपक पाठक र टिका प्रसाई : ७,४४,४९८

     

    ८. ‘माया बिरानी–२’ महेश काफ्ले : ६,८४,३४५

    ९. ‘दाजुभाई’ पुस्कल शर्मा : ६,३६,१९३

     

    १०. ‘तिम्रो मनमा ए कान्छा’ निकिता थापा : ५,९६,४०७

     

  • जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    जरा बलियो भए कांग्रेसको रुख बलियो हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् ।

    ६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको सन्दर्भमा सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् । ‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ’ थापाले भनेका छन् । उनले पालिका अधिवेशनबाट स्थानीय तहको विकास , संगठनको सबलीकरणसंगै पार्टी पुननिर्माणको लागि काबिल नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

    देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासंगको पहिलो संवाद विन्दु रहेको उल्लेख समेत गरेका छन् ।