Author: Anisha Tiwari

  • पशुपति स्वच्छता अभियान तेस्रो हप्तामा प्रवेश

    पशुपति स्वच्छता अभियान तेस्रो हप्तामा प्रवेश

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा असोज २ गते सुरु भएको अभियानका क्रममा आज पशुपति क्षेत्रका मठमन्दिरमा सफाइ गरिएको छ ।

    सफाइमा कलाकार शिव श्रेष्ठ, कोषका सदस्यसचिव मिलनकुमार थापा, कार्यकारी निर्देशक घनश्याम खतिवडालगायतको उपस्थिति थियो ।

    पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आकर्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पशुपति स्वच्छता अभियान सुरु गरिएको हो ।

    पशुपति क्षेत्रमा प्रत्येक हप्ता शनिबार अयिभानकर्मी, कोषका पदाधिकारी एवं कर्मचारीको सक्रियतामा यो अभियानलाई निरन्तरता दिइने छ ।

    अभियानका क्रममा स्वयंसेवी रूपमा पशुपति क्षेत्रमा काम गर्न चाहने सङ्घसंस्थालाई स्वैच्छिकरूपमा आमन्त्रण गरिएको कोषले जनाएको छ ।

  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो ४.६ रेक्टर स्केलको भूकम्प

    सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो ४.६ रेक्टर स्केलको भूकम्प

    सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

    विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

  • समूहगत सुझाव : संसद विघटनलाई न सर्मथन, न विरोध (सुझावका बुँदासहित)

    समूहगत सुझाव : संसद विघटनलाई न सर्मथन, न विरोध (सुझावका बुँदासहित)

    काठमाडौं । नेकपा (एमाले)का जनप्रतिनिधिहरु संसद विघटन जस्तो ठूलो घटनामा मौन देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई–दुई पटक संसद विघटन गरेका थिए र अदालतले त्यसलाई गैर संवैधानिक भन्दै दुबै पटक बदर गरेको थियो ।

    ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत तीन प्रस्तावउपर समूहगत छलफल भएको थियो । समूहगत छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि प्रतिनिधिहरुले सुझाव राखेका थिए।

    तीन वटै प्रस्तावका धेरै विषयमा प्रतिक्रिया जनाएका उनीहरु संसद विघटनमा भने मौन रहे । अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद विघटनलाई उचित कदमको रुपमा उल्लेख गरिएको छ । यो विषयमा प्रतिनिधहरु मौन रहनुको अर्थ न सर्मथन, न त विरोध नै रहेको नेताहरुले बताएका छन्।

    संसद विघटनको विरोध गर्दा ओली विरुद्ध उभिएको देखिने र अदालतले समेत असंवैधानिक भनेको कुरालाई ठीक कदम पनि भन्न नसकिने भएकाले आफूहरु मौन बसेको सम्मेलनमा सहभागि केही प्रतिनिधिहरुले नाम नगर्ने सर्तमा नेपाल प्रेसलाई बताएका थिए।

    तीन प्रतिवेदनमा १० वटा समूह बनाएर छलफल गरिएको थियो । जसमध्य ५ समूहबाट शनिबार सुझाव पेस भएका थियो। सुझाव पेस गर्नेहरुमा कर्णाली प्रदेश कमिटीका तर्फबाट गोरखबहादुर बोगटी, केन्द्रीय निकाय तथा विभागका तर्फबाट भानुभक्त ढकाल, वागमतीबाट आनान्दप्रसाद पोखरेल, सुदूरपश्चिमबाट कर्ण थापा र लुम्बिनीबाट लिला गिरी थिए ।

    समूहगत छलफलमा वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । पौडेलले राखेको विधान संशोधन प्रस्तावमा ५ उपाध्यक्ष राख्ने र उपमहासचिव खारेज गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै पोलिटव्युरो खारेज गर्ने प्रस्तावका विपक्षमा पनि सुझाव आएको छ । विधान संशोधन प्रस्तावमा पोलिटब्युरो खारेज गर्ने र अध्यक्षको नेतृत्वमा पदाधिकारी रहने गरि ५ जनाको सचिवालय बनाउने प्रस्ताव गरिएको छ ।

    ७० बर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने, पार्टीका सबै कमिटीमा ३३ प्रतिशत भन्दा बढी महिला सहभागिता गराउनुपर्ने, दललितलाई सबै कमिटीमा जनसंख्याको अनुपातमा ठाउँ दिनुपर्ने लगायतका सुझाव पनि आएका छन् ।

    त्यस्तै राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकाल भन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने, जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका सुझावहरु पनि समूहगत छलफलमा आएका छन् ।

    सरकार र पार्टीबीचको अन्तरविरोधका कारण अहिलेको अवस्था आएको भन्दै सरकार र पार्टीबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्नेमा पनि प्रष्ट दृष्टिकोण आउनुपर्ने सुझाव दिइएको छ ।

    एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने सुझाव दिइएको छ । एमसीसीबारे ओलीको राजनीतिक प्रस्ताव मौन छ ।

    त्यस्तै निर्वाचन प्रणाली अन्यन्त खर्चिलो बन्दै गएकोमा त्यसलाई नियन्त्रण गर्न ठोस नीति बनाउनुपर्ने दर ‘दलाल पुँजीविरुद्ध लड्न’ प्रष्ट नीति आउनुपर्ने सुझाव पनि आएको छ । समाजवाद मात्रै नभनेर वैज्ञानिक समाजवाद भन्नुपर्ने सुझाव पनि आएको छ। राजनीतिक प्रस्तावमा समाजवादको यात्रा तय गर्ने भनिएको छ।

    नेकपा एकता सुविचारित थियो तर प्रचण्डको १९ बुँदे आरोप पत्र पार्टी बिभाजनको कारक भएको उल्लेख गनुपर्ने र प्रचण्ड र माधव नेपाल एकता बिरोधी भएको प्रष्ट पानुपर्ने समेत सुझाव आएको छ।

    भोलि बाँकी समूहले सुझाव पेस गरेपछि प्रस्ताव प्रस्तुतकर्ता तीनै जनाले जवाफ दिने छन् ।

    यस्ता छन् प्रतिनिधिहरुले दिएका सुझाव :

    •  सरकार र पार्टीबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्नेमा प्रष्ट नीति हुनुपर्ने ।
    • वरिष्ठ उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहितको पदाधिकारी राखिनुपर्ने।
    • प्रदेश कमिटी १ सय ५१ सदस्यमा सीमित गर्नुपर्छ र पार्टीका सबै कमिटीमा ३३ प्रतिशत भन्दा बढी महिला सहभागिता गराउनुपर्ने ।
    • ७० बर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने।
    • राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गनुपर्ने । त्यस्तै दुई कार्यकाल भन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने बनाउनुपर्ने ।
    • पार्टीबाट जनप्रतिनिधि बनेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने।
    • एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने ।
    • पोलिटब्यूरो यथावत राख्नुपर्ने ।
    • एमाले नेकपाको निरन्तरता पनि हो भन्ने शब्द थप्नुपर्ने ।
    • जनसंख्याको आधारमा सबै कमिटीमा दलितको प्रतिनिधित्व हुनुपर्ने ।
    • नेकपा एकता सुविचारित थियो तर प्रचण्डको १९ बुँदे आरोप पत्र पार्टी बिभाजनको कारक भएको उल्लेख गनुपर्ने । प्रचण्ड र माधव नेपाल एकता बिरोधी भएको प्रष्ट पानुपर्ने ।
    • जबजको सान्दर्भिकता सकियो भन्ने धारणाको जोडदार खण्डन गर्नुपर्ने ।
    • पार्टीका विवादित पक्षलाई हाल छलफलको विषय नबनाउने।
    • नेताले नेता चुन्ने होइन कार्यकर्ताले नेता चुन्ने प्रणाली बनाउनुपर्ने ।
    • साँस्कृतिक रुपान्तरणबारे राजनीतिक प्रतिवदेनमा प्रष्ट धारणा आएन ।
    • नेताहरुलाई सम्झिदा साहाना प्रधान र तुलसीलाल अमात्यलाई पनि थप्नुपर्ने ।
    • प्रतिष्पर्धी दलबारे प्रष्ट ब्याख्या हुनुपर्ने ।
    • दलाल पुँजीवादबारे थप ब्याख्या गर्दै यसविरुद्ध लडाइँ कसरी लड्ने भन्नेबारे प्रष्ट पारिनुपर्ने ।
    • पार्टीले अवसरको बितरण गर्दा प्रणाली बनाएर गर्नुपर्ने ।
    • व्यक्तिलाई ब्रान्डिङ गर्नुहुँदैन । पार्टीलाई स्थागत रुपमा विकास गर्नुपर्ने । तर केहीको सुझाव चीनमा जस्तो नेतृत्वलाई स्थापित गर्ने शैली पनि बेठिक नभएको ।
    • अबसरका लागि ज्यान फालेर लाग्ने तर पार्टीमा काम नगर्ने र कार्यकर्ता बीच घुलमिल नहुने प्रवृत्ति बढ्दो ।
    • आउने महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने ।
    • पार्टी भित्र भ्रष्टाचार बढेको र यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुनुपर्ने ।
    • माथिदेखि तलसम्म नेतृत्वको आलोचना र आत्म आलोचना गर्ने कुरालाई बढाउनुपर्ने । नेतृत्वको बखान मात्रै गर्दा पार्टी ध्वस्त हुने चिन्ता ।
    • पार्टी सदस्यताका लागि पालिकामा होइन वडामा निवेदन दिनुपर्ने ।
  • काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि आइतबार निर्वाचन हुने

    काठमाडौं महानगरको कांग्रेस नेतृत्वका लागि आइतबार निर्वाचन हुने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आइतबार मतदान हुने भएको छ । महानगर अधिवेशन आज उद्घाटन भएपनि नेतृत्वका लागि आइतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन समितिले काठमाडौं महानगरको नेतृत्व चयनका लागि आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

    कांग्रेसको काठमाडौं महानगर सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा छ । रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरु ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोल लगायतको समर्थन रहेको छ ।

    शाक्यलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगातयको समर्थन रहेको छ ।

  • हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो एनभीए क्लब भलिबल च्याम्पियन

    हेल्प नेपाललाई हराउँदै आर्मी बन्यो एनभीए क्लब भलिबल च्याम्पियन

    काठमाडौं । टिप–टप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलको पहिलो सेटमा २६-२४ को रोमाञ्चक जित निकालेको आर्मी दोस्रो सेटमा १७-२५ ले पराजित भएको थियो ।

    तेस्रो सेटमा सुरुआतदेखि नै अग्रता बनाएको आर्मीले २५-१८ को जित निकालेको थियो । निर्णायक बनेको चौथो सेट ३३-३१ ले जित्दै आर्मी रोमाञ्चक रूपमा च्याम्पियन बन्यो ।

    विभागीय टोली आर्मी सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै, हेल्प नेपालले पनि विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

    सुरुआतदेखि नै उपाधि दाबेदार मानिएको हेल्प नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको आर्मीले उपाधिसहित ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने हेल्प नेपालले २ लाख र तेस्रो नेपाल पुलिस क्लबले १ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा विभागीय महारथी एपीएफलाई ३-१ सेटको नतिजामा पराजित गर्दै न्यू डायमन्ड च्याम्पियन बनेको हो । यस्तै, एपीएफ उपविजेता बन्दा आर्मी तेस्रो भयो । महिलातर्फ पनि विजेताले ४, उपविजेताले २ र तेस्रो हुनेले १ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

    महिला-पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले २५/२५ तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

  • सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

    सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

    काठमाडौं । लुम्बिनी प्रदेशसभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

    जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

    दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ संगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए ।

    २०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छने भने दर्जनौं गीतहरुमा संगीत संयोजन गरेका छन् । विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजक समेत भएका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा उच्च योगदान पुर्याएका छन् ।

    २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश नं. ५ (हाल लुम्बिनी) प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए भने २०७४ फागुन २ गते उनी ५ नं. प्रदेश सभाको सभामुखमा निर्वाचित भएका थिए ।

  • रामचन्द्र पौडेल भन्छन् : जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ

    रामचन्द्र पौडेल भन्छन् : जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उनले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिए ।

    पौडेलले भने, ‘जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ । तबमात्र कांग्रेस बलियो बन्छ ।’ लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै उनले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गरे । ‘देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ’, उनले भने ।

    सिंहदरबारका अधिकार गाउँ–गाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताए । नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उनले टिप्पणी गरे ‘नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ’, उनले भने । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।

    कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा भानु नगरसमितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो ।

  • पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (सूचीसहित)

    पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका दश नेपाली गीत (सूचीसहित)

    काठमाडौं । एक महीनाभन्दा बढी समयदेखि युट्युवमा गायिका विष्णु माझीको दबदबा देखिएको छ । तीज सुरु हुनु अघिदेखि उनीद्वारा स्वरबद्ध गीत ‘चरी जेलैमा’ लगातार एक महीनासम्म युट्युवमा सर्वाधिक हेरिने गीतको सूचीको पहिलो स्थानमा थियो । अहिले भने माझीको उक्त गीतलाई उछिन्दै उनकै नयाँ गीत दशैं आइसक्यो पछिल्लो साता सर्वाधिक हेरिने गीतको शीर्षस्थानमा उक्लिएको छ ।

    दशैं आइसक्यो बोलेको गीतलाई पछिल्लो एक सातामा १७ लाख ३१ हजार ८४५ पटक हेरिएको छ भने कूल भ्यूज २९ लाख ५३ हजार ५१८ छ ।

    माझीकै स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ दोस्रो शीर्ष स्थानमा झरेको छ । पछिल्लो साता यो गीतलाई १३ लाख ६४ हजार ३४७ पटक हरिएको छ भने कूल भ्यूज संख्या २ करोड ५२ लाख भन्दा बढी छ ।

    टंक बुढाथोकीको स्वरमा रहेको ‘दसैं आयो’ तेस्रो स्थानमा परेको छ । यो गीतलाई एक सातामा मात्र १२ लाख ६८ हजार ९६२ पटक हेरिएको छ भने कूल भ्यूज संख्या १२ लाख ६८ हजार ९६२ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको सूचीमा दशैं गीतहरुको दबदबा देखिएको छ । हेर्नूस गीत :

    १) विष्णु माझी ‘दसैं आइ सक्यो’ : १७,३१,८४५

     

    २) विष्णु माझी ‘चरी जेलैमा’ : १३,६४,३४७

    ३) टंक बुढाथोकी ‘दसैं आयो’ : १२,६८,९६२

    ४) सञ्जु मोक्तान ‘लाखौं हजारौं’ : ११,७३,४९०

    ५) रचना रिमाल र रोश राज भट्टराई ‘भन साइला’ : ९,७७,४२२

    ६) प्रकाश सपूत ‘कुरा बुझ्नु पर्च’ : ८,५८,१५४

    ७) प्रमोद खरेल ‘भुपु माया–४’ : ८,४९,३३४

    ८) महेश काफ्ले ‘माया बिरानी–२’ : ६,७२,४६८

    ९) डीआर सुजन ‘परदेशी काइलो’ : ६,६३,४१३

    १०) निकिता थापा ‘तिम्रो मनमा ए कान्छा’ : ५,५९,०१९

     

  • आयल निगमको घाटा १५ दिनमा डेढ अर्ब बढ्ने प्रक्षेपण, पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिको सम्भावना

    आयल निगमको घाटा १५ दिनमा डेढ अर्ब बढ्ने प्रक्षेपण, पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिको सम्भावना

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

    आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्ने देखिएको छ ।

    निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु एक हजार ४५० तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

    निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    बढ्दै नोक्सानी

    प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ ।

    सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।

    सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा रु एक अर्ब पाँच करोड नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर रु एक अर्ब ५० करोड नाघेको छ ।

    निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउछन् । ‘अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ’, प्रवक्ता उपाध्यायले भने, ‘यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरुपमा धरासायी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ ।’
    रासस

  • ईपीएल : पोखरासँग पराजित विराटनगर पहिलो चरणबाटै बाहिरियो

    ईपीएल : पोखरासँग पराजित विराटनगर पहिलो चरणबाटै बाहिरियो

    काठमाडौं । पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल)को लिग चरणबाटै बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताका सुरुआती चार खेल हारेसँगै विराटनगरको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको छ ।

    शनिबारको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर वारियर्सले पोखरा राइनोजसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको पोखराले १७.४ ‌ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पोखराका लागि असेला गुणारत्नेले अविजित अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका असेलाले २४ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

    यस्तै, ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन जोडेर पेभेलियन फर्किँदा सहान अराचिगेले ३६ बलमा ४ चौका र १ छक्कासहित ४३ रन जोडेका थिए ।

    यस्तै कप्तान विनोद भण्डारी १५ मा अविजित रहँदा रित गौतम ५ रनमा पेभेलियन फर्केका थिए । विराटनगरका लागि प्रतिस जिसी, सिकन्दर राजा र हरी चौहानले १ र १ विकेट लिए ।

    पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार गरेको थियो ।

    विराटनगरका लागि आशिफ शेखले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाउँदा सन्दीप रजाली २८ र कप्तान करण केसी २४ बलमा अविजित रहे । यस्तै, शिकन्दर राजा २९ रनमा पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    पोखरका लागि बिक्रम शोबले २ तथा नन्दन यादव, विवेक यादव र सहान अराचिगेले समान १र१ विकेट लिएका थिए ।

    जितसँगै पोखरा प्लेअफ नजिक पुगेको छ । चार खेलमा ५ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने शीर्ष स्थानको चितवन टाइगर्स ३ खेलमा ६ अंक जोडेर प्ले अफमा पुगिसकेको छ ।

  • फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु)

    फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु)

    पोखरा । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ ।

    डब्लूएचओका नेपाल प्रमुख डा. राजेश समबाजीराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादीसम्मको करिब दुई किलोमिटर फुटट्र्याकमा हिँड्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । डब्लूएचओका नेपाल प्रमुख डा. पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

    उनले विश्वभरि नै कोभिड–१९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उल्लेख गर्दै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए ।

    सोही क्रममा पाण्डवले पोखरा पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । उनले भने, ‘पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दा रहेछन् ।

    ‘ ‘वाक द टक’ कार्यक्रमले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    डब्लूएचओको ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु गरिएको हो । उक्त अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लूएचओको नेपालस्थित सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिकरुपमा स्वास्थ्यमा काम गर्ने डब्लूएचओका प्रतिनिधिसँगको रिभ्यू कार्यशाला चलिरहेको छ । सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिसहितको टोलीले फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको हो ।

    व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने उनले बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देश दिन फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको भनाइ थियो ।

    पदयात्रा अघि कार्यक्रममा सहभागीले फेवा किनारमा योग ध्यानसमेत गरेका थिए । डब्लुएचओका प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र, सङ्घसंस्था र प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो ।

  • शनिवार ८ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    शनिवार ८ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ८६७ जना कोभिड बिरामी थपिएका छन् । ८ हजार २१९ नमुना (पीसीआर ५५९८ र २६२१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ९ जनाको मृत्यु भएको छ । १,१२३ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १७ हजार ६४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८३ हजार ३७३ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ । शनिवारको दैनिक संक्रमण दर १० प्रतिशत भन्दा बढी छ ।

    काठमाडौंमा १६४, ललितपुरमा ६५, भक्तपुरमा २६, कास्कीमा ३८, मोरङमा ४६, झापामा ५०, रुपन्देहीमा ३७ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

    कूल संक्रमित संख्या ७ लाख ९६ हजार, कूल मृत्यु ११ हजार १५७ र कूल निको हुने संख्या ७ लाख ९६ हजार पुगेको छ ।

     

  • देउवा दोहोरिए कांग्रेसले दुःख पाउँछ : प्रकाशमान

    देउवा दोहोरिए कांग्रेसले दुःख पाउँछ : प्रकाशमान

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन जरुरी रहेको बताएका छन् ।

    काठमाडौं महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले सभापति शेरबहादुर देउवाको कार्यकाल कांग्रेसका लागि निराशाजनक रहेको बताए । ‘हाम्रो पार्टी सभापति प्रजातन्त्रका लागि योगदान गरेको नेता हो तर १३ औं महाधिवेशनपछि उहाँले अवसर पाएकै होनि । उहाँको नेतृत्वमा पार्टीले चुनाव हार्यो, पार्टीभित्र आन्तरिक लोकतन्त्र भएन । अबपनि उहाँ नै दोहोरिने हो भने कांग्रेसले अझै दुःख पाउँछ’, सिंहले भने ।

    आफू गिरिजाप्रसाद कोइराला सभापति रहेकै पार्टीको उपसभापति भइसकेको व्यक्ति रहेको भन्दै सिंहले अब नेतृत्वमा आफ्नो स्वभाविक दावी रहने बताए । गणेशमान सिंहको परिवारमा भएकै कारण जिन्दगीभर दुःख पाएको भन्दै सिंहले देशभरका दुःख पाएका कार्यकर्ताको लागि आफू अगाडि बढेको बताए ।

  • काठमाडौं महानगरमा कांग्रेसको अधिवेशन

    काठमाडौं महानगरमा कांग्रेसको अधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौं जिल्लामा पालिका अधिवेशन प्रक्रिया सुरु भएको छ ।

    काठमाडौं महानगरको अधिवेशनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उद्घाटनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थमान डंगोल, उपमेयर हरिप्रभा खड्गी लगायत उपस्थित छन् ।

    काठमाडौं महानगरको नेतृत्वका लागि प्रकाशमान–गगन टिमबाट नीलकाजी शाक्य र संस्थापन पक्षबाट प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् । रञ्जितलाई काठमाडौं कांगे्रसका पूर्व सभापति भीमसेनदास प्रधान र तीर्थराम डंगोलको पनि समर्थन रहेको बताइन्छ ।

    उद्घाटन सत्र सकिएपछि आजै उम्मेदवारी दर्ता र मतदानको प्रक्रिया सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

  • शुक्रबार १ हजार कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    शुक्रबार १ हजार कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १,०६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ (पीसीआर १०११३ र एन्टीजेन ३२५५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
    यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।

    नेपालमा कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    आज कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६६, कास्कीमा ८४, मोरङमा ७६, ललितपुरमा ६२, झापामा ५७, सोलुखुम्बुमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै रुपन्देहीमा ४४, सुनसरीमा ३५, चितवनमा ३२, भक्तपुरमा ३१, दाङमा १३ र काभ्रेपलाञ्चोकमा १२ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • लालीगुँरास सहकारीको २३ औं वार्षिकउत्सव मनाइयो

    लालीगुँरास सहकारीको २३ औं वार्षिकउत्सव मनाइयो

    ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष श्री अमरदास श्रेष्ठले भने, देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताए । उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे ।

    संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले करिब २३ हजार शेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताए । उनले भने, ‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिका टिप्पणी आधारहिन छ , यस्ले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन । हामी यो विश्वस्त दिलाउन चाहन्छौ कि जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैभ कदर गर्नेछौ । शेयर सदस्यको अटुट मायाको कारण संस्था थप उचाईमा पुग्न सफल भएको छ ।’

    ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउदै उनले भने– हामी कानुनको विरुद्धमा कोहीपछि अघि बढ्न सक्दैनौ । महानगरपालिकासंग भएको मुद्धा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कानुन अनुसारनै अघि बढ्नेछौं ।

    दुई दशक लामो इतिहास बोकेको संस्थाले काठमााडौंको चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । गतवर्ष देखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटीएम सेवा सञ्चालन गरिसकेको छ । संस्थाअन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सयभन्दा बढी प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको संस्था नेपाल वागमती प्रदेशको उत्कृष्ठ संस्थाको रुपमा परिचीत बनाउन सफल भैसकेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    डिभिजन सहकारी कार्यालय ललितपुरमा वि.सं २०५६ साल भदौ १८ गते दर्ता भई वि.सं २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्यक्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि. शिक्षाक्षेत्र तर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुँरास दुग्ध प्रसोधन उद्योग , उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ ।

    संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउण्टरलाई वृद्धी गरी निकट भविष्यमा देशको विभिन्न जिल्लाहरु र राजधानीको केही उपयुक्त स्थानहरुमा थप संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिए ।

    उनले संस्थाप्रति भएको अनर्गल प्रचारले कुनै असर नपरेको उल्लेख गर्दै सम्पुर्ण शेयर सदस्यको असिम मायाको कारण हालसम्म उत्कृष्ठ सहकारीको रुपमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताए । उनले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ठ उद्योगको रुपमा विकास गर्ने जानकारी दिए ।

  • २०२३ को डीभी भर्ने मिति घोषणा, अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म भर्न पाइने

    २०२३ को डीभी भर्ने मिति घोषणा, अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म भर्न पाइने

    काठमाडौं । अमेरिकी सरकारले डीभी लोटरी २०२३ को आवेदन खुला गर्ने मिति घोषणा गरेको छ । अक्टोबर ६ बुधबार देखि नोभेम्बर ९ मंगलबारसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

    डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा पाउनेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वतः अयोग्य हुने छ ।

    यसपटक डीभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

    तर मकाउ र ताइवानका भने योग्य हुनेछन् । विगत ५ बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइसराइ गरेका देशका नागरिक डीभी भर्न योग्य हुँदैनन् ।

    डीभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भए पनि छोराछोरीहरुले उक्त देशको आधारमा डीभी भर्न सक्नेछन् ।

    डीभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।

    डीभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ ।

    ६ महिनाभन्दा पुरानो फोटो डीभीभर्दा प्रयोग गर्न पाइने छैन । त्यस्तै डीभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ ।

  • तानसेनमा देउवा पक्षका शाक्य निर्विरोध

    तानसेनमा देउवा पक्षका शाक्य निर्विरोध

    रुपन्देही । नेपाली कांग्रेस पाल्पाको तानसेन नगर सभापतिमा सुवर्णमुनि शाक्य निर्विरोध निर्वाचित भएका छन् । यसअघि सहमतिका लागि तानसेनका लागि तोकिएको चुनाव रोकिएको थियो । शाक्य पहिलेदेखि नै देउवा समूहमा चिनिएका नेता हुन् ।

    १० पालिका रहेको पाल्पामा यसअघि ९ वटामा नेतृत्व चयन भइसकेको छ । जिल्लामा देउवा समूहबाट तानसेन नगरपालिका, रिब्दीकोट, बगनासकाली, तिनाउ र निस्दी गाउँपालिकाका सभापति विजयी भएका छन् ।

    पौडेल समूहबाट रामपुर नगरपालिका, माथागढी र रैनादेवी छहरा गाउँपालिकाका सभापतिले जितेका छन् । यद्यपि पौडेल समूहले तिनाउ, बगनासकाली र रिब्दीकोटका सभापति पनि आफ्नो समूहको भएको दावी गरेको छ । पूर्वखोला र रम्भा गाउँपालिकाका सभापति कतै खुलेका छैनन् ।

    रामपुरको नगर सभापतिमा नेत्र भट्टराईले २ सय ८ मतमा १ सय २५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी अर्जुन रेग्मीले ८२ मत ल्याएका थिए ।

    रिब्दीकोटमा रामचन्द्र पाण्डे विजयी भएका छन् । पूर्वखोलामा विष्णुकुमारी आचार्य अहिलेसम्म प्रदेशको एकमात्र महिला सभापति जित्ने महिला हुन् । उनी कुनै समूहमा खुलेकी छैनन् । निस्दी गाउँपालिकामा पूर्णबहादुर खाँण निर्विरोध सभापति भएका थिए ।

    रम्भा गाउँपालिकामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउमा प्रेम पाण्डे, बगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरामा विष्णु पोखरेल निर्वाचित भएका थिए ।

    पाल्पाबाट नेता हरि नेपाल देउवा समूहमा र बीरबहादुर राना पौडेल समूहका हुन् । अहिले पालिकामा निर्वाचित केही मध्यस्त रहेकालाई दुवै समूहले आ–आफ्नो समूहमा गन्ने गरेका छन् ।

  • कुन देशमा कति बजे बडादसैंको टीका लगाउने (तालिकासहित)

    कुन देशमा कति बजे बडादसैंको टीका लगाउने (तालिकासहित)

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडादसैंको बिभिन्न मुलुकको समयअनुसार शुभ साइतहरु सार्वजनिक गरेको छ ।

    समितिले विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुका लागि लक्षित गरेर विजया दशमीको साइत तयार पारेको हो ।

    नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने शुभ साइत तोकिएको छ ।

    यस्तै भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

    अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ग्रिसबेनमा १५ अक्टोबरको दिन फरक–फरक साइत निकालेको छ ।

    हेर्नूस् समितिले तयार पारेको समय तालिका :

     

  • बादलको टिप्पणीपछि प्रशासनको स्पष्टीकरण : मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज छैन

    बादलको टिप्पणीपछि प्रशासनको स्पष्टीकरण : मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज छैन

    काठमाडौं । आजदेखि गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशनतर्फ लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न र गराउनमा कुनै बन्देज नलगाइएको प्रष्टीकरण दिएका छन् ।

    प्रशासनले बिहीवार आदेश जारी गर्दै आज बिहानदेखि राजधानीमा भीडभाड, जात्रा, महोत्सव गर्न नपाइने बताएको थियो । प्रशासनको आदेश लगत्तै एमाले स्थायी कमिटी सदस्य रामबहादुुर थापा बादलले प्रशासनको आदेश राजनीतिक प्रतिशोधले प्रेरित भएको बताएका थिए ।

    एमालेको विधान महाधिवेशन हुनुको एकदिनअघि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले सभा, गोष्ठी र जुलुसलाई भर्चुअलरुपमा मात्र गर्न आदेश दिएका थिए । यसबारे सामाजिक संजालमा निकै टिकाटिप्पणी भएको थियो ।

    ‘उक्त आदेश कोभिड संक्रमण फैलन नदिनका लागि पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र पूर्व सतर्कताका सम्बन्धमा मात्र जारी गरिएको हो’ प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड संक्रमणको जोखिम यथावत रहेको बताउँदै प्रशासनले आदेश जारी गर्नुपरेको बताएको छ ।

  • प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन

    प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन

    काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसहरूलाई १० दिनभित्र काउन्सिलको नवीकरण गर्न माग गरेको छ ।

    अस्पतालले सूचना जारी गर्दै सम्बन्धित परिषद् र युनिभर्सिटीको नवीकरण तथा अस्पतालसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि संलग्न राखी १० दिन भित्र निवदेन दिन आग्रह गरेको छ।

    साथै अस्पतालमा क्लिनिकल अभ्यास गराउन ल्याउने प्रोग्राम र विद्यार्थी सङ्ख्या खुलाई नवीकरणका लागि निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

    म्याद समाप्त भए पश्चात प्राप्त भएका निवेदन दर्ता नगरिने समेत सूचनामा भनिएको छ ।

  • स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

    स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

    काभ्रे । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट भएको छ । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्ने अनिल पोटलाई कारवाहीको माग गरेको छ ।

    पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ ।

    साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक-पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ ।

    श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताए । उनले भने, ‘वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आएका थिए, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिए, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।’

  • बिहीबार १ हजार नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

    बिहीबार १ हजार नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १०७८ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ७६५ नमुना (पीसीआर ८५५५ र ३२१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप १२ जनाको मृत्यु भएको छ । ९११ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १८ हजार १६८ पुगेको छ ।

    गत २४ घण्टामा २ लाख ८९ हजारलाई कोभिडविरुद्धको खोप लगाइएको छ । बिहीबारको दैनिक संक्रमण दर ९ प्रतिशत भन्दा बढी छ ।

    काठमाडौंमा २६७, ललितपुरमा ६५, भक्तपुरमा ३७, कास्कीमा ६५, मोरङमा ५५, झापामा ७५ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

    कूल संक्रमित संख्या ७ लाख ९४ हजार, कूल मृत्यु ११ हजार १२३ र कूल निको हुने संख्या ७ लाख ६५ हजार पुगेको छ ।

  • बाँकेमा अझै अनिश्चित कांग्रेसको पालिका अधिवेशन

    बाँकेमा अझै अनिश्चित कांग्रेसको पालिका अधिवेशन

    रुपन्देही । लुम्बिनी प्रदेशका सबै जिल्लामा नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको चुनावी कार्यक्रम शुरु भएपनि बाँकेमा रोकिएको छ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन ।

    बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।

    अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आमकार्यकर्तामा छ ।

    लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आंकलन गरेका छन् ।

    मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलको भनाइ छ ।

     

  • सीता भण्डारी मृत्यु प्रकरण : न्याय माग्दै गृहमन्त्रीको गाउँमा चार सातादेखि आन्दोलन

    सीता भण्डारी मृत्यु प्रकरण : न्याय माग्दै गृहमन्त्रीको गाउँमा चार सातादेखि आन्दोलन

    रुपन्देही । भदौ १९ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कफी कम्पनी नजिकै २७ वर्षीया सीता भण्डारी पौडेलको शंकास्पद मृत्यु भएपछि माइती पक्षले न्यायको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।

    सीताका घरकै व्यक्तिको मिलेमतोमा हत्या गरेको भन्दै सुरु भएको न्यायको आन्दोलन २५ दिनदेखि जारी छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा दैनिकजसो नाराबाजी गर्दै न्यायको आन्दोलन जारी रहँदा अहिलेसम्म गृहमन्त्री खाँणको कुनै प्रतिक्रिया नआएको भन्दै आन्दोलनर पक्ष आक्रोशित भएका छन् ।

    निरन्तर नगरपालिकामा आन्दोलन हुँदासमेत गृहमन्त्रीले न्यायका लागि पहल नगरेको आन्दोलनर पक्षको भनाइ छ । सिताको मृत्यु हत्या नभइ आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोष्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैनन् ।

    परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्या गरेको बहना बनाइरहेको उनीहरुको भनाइ छ । पोष्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइतीपक्षको विरोध र चर्को दवावपछि मृतक सीताका श्रीमान र उनकी दिदीलाई हिरासतमा लिइ आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुुसन्धान गरिरहेको बताए । सिआईवीको टोलीले समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ । तर अनुसन्धानमा के भेटियो भन्ने जानकारी भने दिइएको छैन ।

    प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । यसबारे उनी थप केही बोल्न चाहेनन् । यता गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव ब्रिजेश न्यौपानेले घटनाका बारेमा सत्यतथ्य अनुसन्धान गर्न निर्देशन दिएको बताए ।

    गृहमन्त्री खाँण सरकार विस्तार भएपछि मात्रै गृहजिल्ला आउने स्वकीय सचिव न्यौपानेले बताए । सरकार विस्तारमा बिलम्ब हुँदा कामको भार धेरै भएको बताउँदै गृहमन्त्री गृहजिल्ला आउन नपाएको उनको भनाइ छ ।

  • सिद्धबाबा सुरुङमार्ग निर्माणले गति लिँदै, ग्लोबल टेण्डरमा नौ कम्पनीको आवेदन

    सिद्धबाबा सुरुङमार्ग निर्माणले गति लिँदै, ग्लोबल टेण्डरमा नौ कम्पनीको आवेदन

    रुपन्देही । बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको निर्माणको कामले गति लिने भएको छ । ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणका लागि टेण्डर आह्वानसँगै यसले गति लिने भएको हो ।

    सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने गरी तयारी भइरहेको र जसका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा नौ कम्पनीले आवेदन दिएका छन् ।

    आवदेन दिएका कम्पनीहरुसंग छलफल भइरहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले जानकारी दिए । उनका अनुसार आवेदन दिनेमा अधिकांश चिनियां कम्पनी रहेका छन् ।

    उनले अबको तीन महिनामा कम्पनी छनोट हुने बताए । कम्पनी छनोट भएपछि ९ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने शर्त राखिएको छ । सरकारले सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा ३० करोड रुपैयां छुट्टाएको छ ।

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्टाएको भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन् ।

    सुरुङ मार्ग बनाउनका लागि चाइना स्ट्रेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फष्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड (बेइजिङ) र संयुक्त उपक्रम (जेभी) रहेका छन् । चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसंग जेभी बनाएर आवेदन दिएको छ । एसीसीई चिनियां कम्पनीले नेपाली कम्पनी अनक कन्ट्रक्सनसंग जेभी बनाएर आवेदन दिएको छ ।

    जसमा अनक कन्ट्रक्सन लिड कम्पनी रहेको छ । सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र पावर चाइना नर्थ वेष्ट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पावर चाइना रोड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ)ले आवेदन दिएको छ ।

    यस्तै चाइना सिभिल इन्जिनियरिङ कन्ट्रक्सन कर्पोरेशन र चाइना रेलवे १४ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा चिनियां कम्पनी मिलेर आवेदन दिएका छन् ।

    चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडर चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड (बेइजिङ) दुई चिनियां कम्पनीको जेभी बनाएर आवेदन दिएका छन । केएमसी र भीसीए पीएल जेभीले पनि आवेदन दिएका छन् ।

  • बेलायतका नेपालीले कोदोको रक्सीको बिक्री थाले, डिसेम्बरसम्म नेपाली बजारमा आइपुग्ने

    बेलायतका नेपालीले कोदोको रक्सीको बिक्री थाले, डिसेम्बरसम्म नेपाली बजारमा आइपुग्ने

    लन्डन । बेलायतस्थित नेपालीले कोदो लिमिटेड नामक कम्पनीको स्थापना गरी ‘कोदोको रक्सी’ बेच्न सुरु गरेका छन् । विशुद्ध कोदोको रक्सी बताइएको उक्त रक्सीको एक बोतललाई २६ पाउन्ड स्टर्लिङ अर्थात् ४१ सय ६५ नेपाली रुपैयाँ मूल्य तोकिएको छ। यो रक्सीमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।

    बेलायतमा बसोबास गर्दै आएका नेपाली व्यवसायीहरु जनक राई, जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवारलगायतले कम्पनी सञ्चालन गरेका हुन् । कोदो लिमिटेडका एमडी जनक राईले अहिले बेलायतमा मात्रै रक्सी उपलब्ध रहेको र आगामी डिसेम्बरसम्म नेपाली बजारमा समेत बिक्री हुने जनाएका छन् ।

    कोदोको रक्सी भुटेको बंगुर मासु, राँगाको सुकुटी, आलुदमसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। अमेरिकी टेलिभिजन सीएनएनले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्यधिक स्वादिलो रक्सीमध्ये एउटा भनेको छ।

  • किंग फिसर चिनाउन फुटबल प्रतियोगिता

    किंग फिसर चिनाउन फुटबल प्रतियोगिता

    चितवन । पर्यटकीय गन्तव्य किंग फिसर तालको प्रवर्द्धन गर्न भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । भरतपुर– ६ मा रहेको नवज्योती सामुदायिक वनमा खेल हुनेछ ।

    किङ्ग फिसर ताल अन्तर टोल विकास संस्था स्तरीय प्रतियोगिता हुन लागेको हो । मैत्रीपूर्ण भेट्रान प्रतियोगिता हुन लागेको हो । केपा वाचनालय एवं पर्यटन सूचना केन्द्रको आयोजनामा खेल असोज १७ देखि २४ गतेसम्म हुने केन्द्रका अध्यक्ष पूर्णप्रसाद प्रसाइले जानकारी दिए ।

    भरतपुर ६ मा ३२ वटा टोल सुधार समिति छन् । हरेक टोलबाट फुटबल टोलीको सहभागिता रहने प्रसाईको बताए । हरेक टिमबाट ९ जना खेलाडी खेल्नेछन् ।

    प्रथम हुनेले ४० किलोको खसी पुरस्कार पाउनेछन् । द्वितीय हुनेले २५ किलोको खसी र तृतीय हुनेले नगद ७ हजार प्राप्त गर्नेछन् । भरतपुर–६ मा रहेको किंग फिसर ताल चौविसकोठीबाट ९ किलोमिटर दक्षिणपश्चिममा पर्छ ।

    राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजनाअन्तर्गत तालको १ करोड ४० लाखको लागतमा संरक्षण, र पुननिर्माण भएको हो । नेपाली सेनाको कालीप्रसाद गण (ई) भैंसे व्यारेक मकवानपुरको सहकार्यमा पुननिर्माण गरिएको हो । किंग फिसर ताल घुम्न आर्कषक फुट वे र ड्यामको निर्माण गरिएको छ ।

  • खगराज अधिकारीको आरोप : नेकपा एस कृत्रिम गर्भाधानबाट निस्किएको पार्टी हो

    खगराज अधिकारीको आरोप : नेकपा एस कृत्रिम गर्भाधानबाट निस्किएको पार्टी हो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका हुन् ।

    उनले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताए । उनले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए ।

    सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने बताए ।

    उनले भने– साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् । नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहन्छ ।

  • किसान मोर्चाको आग्रह- युरिया मल अभावलगायतका समस्या छिटो समाधान होस्, नत्र आन्दोलन गर्छौ

    किसान मोर्चाको आग्रह- युरिया मल अभावलगायतका समस्या छिटो समाधान होस्, नत्र आन्दोलन गर्छौ

    कलैया। किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै मोर्चाले समस्या समाधान गर्न आग्रह गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाइएको हो । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार किसानहरुले बारामा प्रदर्शन गरेका थिए ।

    नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतका कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको किसानहरुको आरोप छ ।

    धान बाली लगाउने बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । बाराका बजारहरुमा युरिया मलको अभाव भएपछि भारतीय बजारहरुबाट खेतीका लागि मलखाद ल्याउँदा सिमानामा सुरक्षाकर्मीले खोसेपछि आक्रोशित भएका थिए ।

    किसानलाई पेन्सनको व्यवस्था, अन्नदातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध , मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भूमिहीनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माग गर्दै आइटी आर्मी किसान मोर्चाले ज्ञापन पत्र बुझाइएको मोर्चाका नेता उमेश कुशवाहाले बताए । छिटो भन्दा छिटो माग पुरा भएन किसानहरु सशक्त आन्दोलनमा उत्रने समेत कुशवाहाले बताए ।

  • गुल्मीमा चट्याङ लागेर नौजना घाइते

    गुल्मीमा चट्याङ लागेर नौजना घाइते

    रूपन्देही । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीमा चट्याङ लागेर नौजना घाइते भएका छन् । बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

    तीनजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । चट्याङ लागेर तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।

  • काठ चोर्दाचोर्दै भेटियो नगरपालिकाको जेसिबी : चालक पक्राउ, जेसिबी बरामद

    काठ चोर्दाचोर्दै भेटियो नगरपालिकाको जेसिबी : चालक पक्राउ, जेसिबी बरामद

    जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका– ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवाको काठ चोरेर भाग्दै गर्दा जेसीबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको जेसिबी गोलबाजार नगरपालिकाको भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

    ना १ ग ७०६ नम्बरको जेसीबी र चालक श्रवण कुमार साहलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका हुन् । वडाध्यक्ष रामपुकार कामतीको निर्देशनमा जेसिबीमा राखेर चालक साहले सोमबार राति काठ चोरेर लगिरहेका बेला स्थानीयले नियन्त्रणमा लिएका थिए ।

    राति नै काठ, जेसिबी र चालक साहलाई प्रहरीको जिम्मा लगाइएको थियो । जेसिबीसहित चालक र काठ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    वनमा हावाहुरीको समयमा खसेको काठ संकलन गरेर एकठाउँमा राख्न सोमबार नगरपालिकाको जेसीबी मगाइएको थियो । संकलन गरिएको काठमध्ये एउटा ठूलो तौलको सालको गोलिया जेसिबीमा राखेर लगिरहेका बेला पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीयले बताएका छन् ।

    स्थानीय सकलदेव सिंहका अनुसार हावाहुरीले ढालेको सखुवा र अन्य प्रजातिका करोडौं रुपैयाँ बराबरको काठ थियो ।

    काठसहित जेसिबी र चालकलाई पक्रेर प्रहरीलाई बुझाएका स्थानीयले वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् । तर वडाध्यक्ष कामतीले यस विषयमा प्रतिक्रिया दिन मानेनन् ।

  • अर्जुनरसिंह केसीले भने- साझा उम्मेदवार नभए म पनि सभापतिमा भिड्छु

    अर्जुनरसिंह केसीले भने- साझा उम्मेदवार नभए म पनि सभापतिमा भिड्छु

    चितवन । नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले सुधारवादी पक्षहरुबीच समझदारी नबने आफूले पनि सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले भने, ‘प्रत्येक व्यक्ति महत्वकांक्षा लिएर बस्ने हो भने कसैको पछि लाग्ने कुरा हुँदैन, म पनि सभापतिको उम्मेदवार हो ।’

    उनले पार्टीलाई संस्थागत सुदृढीकरण गर्न समझदारी भए जो सभापति बनेपनि सहयोग गर्न तयार रहेको बताए । ‘नेता होइन, नीति प्रधान बनाउँ, व्यक्ति होइन विचार प्रधान बनाउँ, यो संघर्षको क्रममा जो इच्छुक हुनुहुन्छ । सहमति गरेर जो भएपनि होऔं, एक बनौँ’, उनले भने, ‘एक हुन सकेनौँ भने सभापतिको उम्मेदवार म पनि हो ।’

    उनले आफू पार्टीभित्रको सुधारवादी पक्षधर भएकाले स्वार्थविहीन संकल्प गरेर साझा उम्मेदवार बनाउन लागि परेको जिकिर गरे ।

  • चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

    चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

    बेइजिङ । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

    खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।
    रासस

  • मंगलबार ११ सय कोभिड संक्रमित थपिए, १२ जनाको मृत्यु

    मंगलबार ११ सय कोभिड संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार देशभर ११ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । १४ हजार ००३ वटा नमुना परीक्षण गर्दा (पीसीआर ११,६७२ तथा एन्टीजेन २,३३१) ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १,३१८ जना निको भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ लाख ८ हजार ९० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १८ हजार ४२२ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ११५ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३६४ जना, भेन्टिलेटरमा १२० जना, होम आइसोलेशनमा १७,१२५ जना, संस्थागत आइसोलेशनमा १२९७ र क्वारेन्टाइनमा ३२८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको दैनिक संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.३ प्रतिशत छ ।