Author: Anisha Tiwari

  • आज देशका दुई स्थानमा हिमपातको सम्भावना

    आज देशका दुई स्थानमा हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराईका भू–भागका थोरै स्थानमा र प्रदेश नं १ र २ का तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको बताइएको छ ।

    विभागले चेतावनी तथा परामर्श जारी गर्दै तराईका भू-भागमा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव एक डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २७ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

  • फेवातालमा १६ हजार माछाका भुरा छाडियो

    फेवातालमा १६ हजार माछाका भुरा छाडियो

    पोखरा । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाडेका हुन् ।

    उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिए । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने धारणा राखे । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्ने बताए ।

    स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको बताए । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उनको भनाइ थियो । उक्त वडाका अध्यक्ष रणबहादुर थापाको सिल्भर काप र विगहेड जातका १६ हजार माछा तालमा छाडिएको जानकारी दिए । वडास्तरीय बजेटबाट तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राखे ।

  • बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

    बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोनाभाइरसविरुद्धको खोप लगाउने बताएका छन् ।

    उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका छन् ।

    उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए ।

    ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’

    नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।

  • अक्करे भीरमा चढेर मह काढ्दै ‘मह शिकारी’ (तस्बिरहरू)

    अक्करे भीरमा चढेर मह काढ्दै ‘मह शिकारी’ (तस्बिरहरू)

    काठमाडौं । नेपालमा अक्करे भीरमा मानिसहरु ज्यानलाई जोखिममा राखेर जंगली मह काढ्ने गर्छन् । ठूलो समूहमा जंगल र भीरमा पुगेर पहाडमा मह खोज्नु परम्परादेखि चल्दै आएको दैनिकी पनि हो ।

    हालैको एकदिन मह शिकारी देवीबहादुर नेपालीको एउटा समूह ठाडो पहाडको पैदल यात्रा गरिरहेको थियो । उनीहरुले मह काढ्न आवश्यक पर्ने खाना, बाँसको डोरी, बाँसको धारिलो लट्ठी र अन्य औजार बोकेका थिए ।

    त्यसरी जाँदा सयौं फिट (दर्जनौं मिटर) चिप्लो बाटो झर्दा होसियारी पुर्वक पाइला चाल्नुपर्छ । पहाडको ठाडो र साँघुरो बाटोमा मृत्यु हुन पनि सक्ने भएकाले शिकारीहरु सावधानीपूर्वक हिँडिरहेका छन् ।

    तामाकोशी नदीको अग्लो चट्टानमा चढ्न अघि खाना, पानी र मदिरा समेत लिएर गएका थिए । तिनीहरूले चट्टानको फेदमा माहुरीहरूलाई निकाल्न घाँसको थुप्रो बालेर धुँवा निकाले ।

    एक जनाले हातमा बाँसको धारिलो लठ्ठी र अर्कोले हातमा टोकरी लिएर बाँसको डोरीबाट बनेको सिँढी चढे ।

    हावामा झुन्ड्याउँदै, एक जनाले महका टुक्राहरू काटे र टोकरी समाते, त्यसपछि एक टोलीका साथीलाई टोकरीमा बाँधिएको डोरी प्रयोग गरी भुइँमा झर्ने संकेत दियो। टोलीका अन्य दुई सदस्यहरूले सबै मौरीहरू सफा गर्न र मह निकाल्न तयार भए।

    महको घार छिचोल्दा हजारौं मौरीहरू पुरुषहरूको अनुहारमा घुमिरहेका थिए । उनलाई अनुहारको जालीले ढाकेर सुरक्षित गरिएको थियो।

    मह छिचोल्दै गर्दा उनको हात नराम्ररी सुन्निएको थियो । उनी मौरीले टोकेको पीडा सहन मदिरा पिउने गर्छन् ।

    यो समूहले त्यहाँ करिब ३४ लिटर (नौ ग्यालन) मह संकलन गरेका थिए । तिनीहरूले यसलाई बजारमा प्रति लिटर ३ हजार सम्म बेच्ने गरेका छन् ।

    तस्बिर तथा शब्द : अलजजिरा

     x        
  • वीरगञ्ज सीमा क्षेत्रमा कोरोना परीक्षण थालियो

    वीरगञ्ज सीमा क्षेत्रमा कोरोना परीक्षण थालियो

    वीरगञ्ज । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यान दिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।

    भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

    भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।

  • बीबीसीद्वारा सन् २०२१ का सय प्रभावशाली महिलाको सूची सार्वजनिक

    बीबीसीद्वारा सन् २०२१ का सय प्रभावशाली महिलाको सूची सार्वजनिक

    लन्डन । बीबीसीले सन् २०२१ का विश्वभरिका एकसय प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ। यसवर्षको सूचीमा आधाजसो अफगानिस्तानका महिला छन् । नेपालबाट यसपटक कुनैपनि सूचीकृत छैनन् । गतवर्ष नेपालकी १९ वर्षीया सपना रोका मगर सूचीमा अटाएकी थिइन् ।

    बीबीसीले प्रत्येक वर्ष ‘बीबीसी १०० विमिन’ कार्यक्रमअन्तर्गत महिला केन्द्रित समाचारलाई विशेष महत्वका साथ प्रकाशित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने प्रभावशाली १०० महिलाको नाम प्रकाशित गर्ने गरेको छ।

    सूचीमा परेकाहरूमध्ये सबैभन्दा कान्छी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ, समोआकी प्रथम महिला प्रधानमन्त्री फियामे नाओमी मटाफा, भ्याक्सीन कन्फिडेन्स प्रोजेक्टकी प्रमुख प्राध्यापक हेइडी जे लार्सन, अनि चर्चित् लेखिका चिमामान्डा नगोजी अडिची पनि छन्।

    सन् २०२१ को अगस्टमा तालिबान सत्तामा आएपछि दशौँ लाख अफगानहरूको जीवन बदलेको थियो बालिकाहरूलाई माध्यमिक शिक्षा लिनबाट वञ्चित पारियो, महिला मामिला मन्त्रालय खारेज समेत गरियो । यो वर्षको सूचीले भने अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको छ।

  • मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३८६ पीसीआर र २४२४ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

    सोही अवधीमा थप दुई जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३०४ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ६३५२ जना छन् । गत २४ घण्टामा १ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

    सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण संख्या शून्य छ ।

    काठमाडौं जिल्लामा सोमबार ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ८ लाख भन्दा बढी छन् भने निको हुने संख्या ८ लाख ५२ हजार छ ।

    कूल मृत्यु हुने संख्या ११ हजार ५४५ छ ।

  • ७७ वर्षीय वृद्धसँगको प्रेममा २० वर्षे युवती : डेटिङ एपबाट सुरु भएको चिनजान बिहेसम्म !

    ७७ वर्षीय वृद्धसँगको प्रेममा २० वर्षे युवती : डेटिङ एपबाट सुरु भएको चिनजान बिहेसम्म !

    लन्डन । प्रेममा उमेरले फरक पार्दैन । यो कुरालाई २० वर्षीया किशोरी विद्यार्थीले सावित गरेकी छिन् । म्यानमारबाट आएकी यी विद्यार्थी इङ्गल्याण्डका ७७ वर्षीय वृद्धसँग प्रेममा परेकी छन् र दुवैजना सकेसम्म चाँडो घर बसाउन चाहन्छन् । अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

    डेली स्टारको एक अध्ययन अनुसार म्यानमारकी जो महज २० वर्षकी भएपनि इङ्ल्याण्डको बाथ सहरमा बसेका ८८ वर्षीय डेविडलाई दिल दिएर बसेकी छिन् ।

    उनीहरुलाई यस्तो लाग्छ कि दुवैजना एक अर्काको लागि बनेका हौं त्यसैले उनीहरु छिटो विवाह गर्न चाहन्छन् । जो हाल अध्ययनरत विद्यार्थी हुन् भने डेविड संगीतकार हुन् । अहिले म्यानमारको अवस्था सामान्य नभएकाले डेविड चाहेर पनि त्यहाँ जान पाउँदैनन् ।

    जो भने इङ्गल्याण्ड जानको लागि पासपोर्ट र भिजाको प्रतिक्षा गरिरहेकी छिन् उनी यो काम सकिएलगतै डेविडलाई भेट्न जाने र विवाह गर्ने तयारीमा छिन् ।

    जो र डेविड करिब १८ महिनाअघि डेटिङ साईटमा भेटेका थिए, त्यसबेलादेखि दुवैले लगातार एकअर्कासँग कुरा गरिरहेका छन् ।

    तर, दुवै एकपटक पनि आमनेसामने हुन सकेनन् । दुबैको प्रेमकथाको सुरुवात पनि कम अनौठो थिएन । जो यस्तो व्यक्तिको खोजि गरिरहेकी थिइन् जसले उनको पढाईमा आर्थिक सहयोग गर्न सकोस् र डविड भने फ्लर्ट गर्ने कसैको खोजीमा थिए ।

    डेविडले भने, ‘म मनको कुरा मात्र सुन्छु , दुई व्यक्तिमा भावना र प्रेम हुँदा विश्लेषण किन ? म सधै हृदयदेखि सधै जवान छु र मेरा धेरै युवा साथिहरु छन् ।’

    जोले आफ्नो डेटिङ प्रोफाइलमा बेलायतका मानिसहरूलाई आकर्षित गर्न आफ्नो स्थान म्यानमारको सट्टा बेलायत राखेकी थिइन् । उनले भनिन्, ‘मैले यो केवल मानिसहरूले मेरो प्रोफाइल देखून् भनेर राखेको हो र मैले आफैं डेभिडलाई सत्य भनें । किनभने मेरो मन शुद्ध छ । म मेरा आमाबाबुसँग बस्दिन, त्यसैले म मेरो पढाइमा आर्थिक रूपमा कसैले मद्दत गरोस भन्ने चाहन्छु । यस उद्देश्यका लागि मैले प्रोफाइल बनाएको हो । यद्यपि, मैले डेविडमा साँचो प्रेम पाएको छु ।’

    डेविड र जोलाई लाग्छ कि उमेरको अन्तर धेरै भएपनि हामी एकअर्काबिचको सम्बन्ध बलियो छ, जसको कारण उनीहरूले आफ्नो बाँकी जीवनसँगै बिताउन सक्षम हुनेछन् ।

    डेविडले भिसा पाएलगत्तै इङ्ल्यान्ड आउने र विवाह गर्ने बताए । संसारले हाम्रो बारेमा के सोच्दछ हामीलाई वास्ता छैन । हामी एकअर्कालाई धेरै माया गर्छौं र यो प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्न चाहन्छौं ।

  • म्यानमारकी नेतृ सूचीविरुद्ध सुनाइएको जेल सजाय आधा घटाइयो

    म्यानमारकी नेतृ सूचीविरुद्ध सुनाइएको जेल सजाय आधा घटाइयो

    काठमाडौं । म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सूचीमाथि सुनाइएको चारवर्षको जेल सजायलाई आधा घटाइएको छ ।

    त्यहाँको राज्य नियन्त्रित मिडियाका अनुसार सैनिक प्रमुख मिनआङ हेङले सूचीलाई सुनाइएको सजायलाई आधा मिनाहा गर्ने घोषणा गरेका हुन् ।

    राष्ट्रपति विन मिन्टलाई सुनाइएको चारवर्ष लामो जेल सजायलाई पनि आधा कटौती गरिएको छ । सोमबार म्यानमार अदालतले कोभिड प्रोटोकल उल्लंघन गरेको र राज्यविरुद्ध उक्साएको आरोपमा नेतृ सूचीलाई चारवर्ष जेल सजाय सुनाएको थियो ।

    सोमबार अदालतले गरेको उक्त फैसला ७६ वर्षिया नेतृविरुद्ध लगाइएको मुद्दामध्येको पहिलो हो । गत फेब्रुअरी १ मा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै शक्ति नियन्त्रणमा लिएको थियो ।

    तर, आफूविरुद्ध लगाइएका सबै आरोपहरुको नेतृ सूचीले खण्डन गरेकी छिन् ।

  • मोर्डना खोप यसैसातादेखि १८ वर्षभन्दा तलका बालबालिकालाई लगाइने

    मोर्डना खोप यसैसातादेखि १८ वर्षभन्दा तलका बालबालिकालाई लगाइने

    काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्धको मोर्डना खोप १८ वर्षभन्दामुनिका बालबालिकालाई लगाउने भएको छ । यही हप्ताभित्र खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपाल आएको मोडर्ना खोप १२ देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने छ । हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको खोप शाखा प्रमुख सागर दाहालले बताए।

    खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।

    यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो। मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।

     

  • कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि

    कांग्रेस महाधिवेशनः काठमाडौँ आउन थाले प्रतिनिधि

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ ।

    पार्टीको १३औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौ महिनापछि हुन लागेको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । जहाँनिया राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनका लागि बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको सङ्गठित प्रयासको निरन्तरता र चेतनाको विस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो ।

    उक्त सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । उक्त अधिवेशनले तत्कालीन अवस्थामा टङ्प्रसाद आचार्यलाई सभापति र विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनाएको थियो । पार्टी स्थापना भएको झण्डै आठ दशकपछि यही मङ्सिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौँमा हुँदैछ ।

    नेपाली कांग्रेस बागलुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल महाधिवेशनमा भाग लिन आइतबार साँझ नै काठमाडौँ आइपुगेका छन् । पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न लागेका मन्त्री कँडेल कांग्रेसलाई सशक्त पार्टी बनाउनका लागि आफूले उम्मेद्वारी दिन लागेको बताउँछन् ।

    ‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशको विकास गर्नका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको हुँ,’– उनी भन्छन् । गोरखा कांग्रेसका पूर्व सभापति हरिबहादुर घले पनि महाधिवेशनमा भाग लिन शनिबार राति काठमाडौँ आइपुगेका छन् । दुई कार्यकाल गोरखा कांग्रेसको कुशल नेतृत्व गरिसकेका घले १४औँ महाधिवेशनमा अल्पसङ्ख्यक कोटाबाट केन्द्रीय सदस्य बन्ने दाउमा छन् । घलेले आजै गोरखा कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा उम्मेद्वारी घोषणा गर्दै छन् ।

    कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएसँगै चार दिनपछि सुरु केन्द्रीय महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि आएका प्रतिनिधि बस्नका लागि गौशाला, ठमेल, सुन्धारालगायतका स्थानमा होटलसमेत बुकिङ गरिसकेको बताएको छ ।

    मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले पहिलोपटक वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्न लागेको हो । कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।

    यस्तै ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन समेत सम्पन्न भइसकेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे भोलिसम्म सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने बताउछन्, ‘हिजोसम्म विवाद रहेका सर्लाहीका चार र महोत्तरीको एक निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नेगरी निर्वाचन समितिले काम गरिरहेको छ’, उनी भन्छन् ।

    कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिने संयोजक घिमिरेले बताए ।

  • सौगात मल्लको फिल्म ‘लाखे’मा अडिसनबाट छानिए १० कलाकार

    सौगात मल्लको फिल्म ‘लाखे’मा अडिसनबाट छानिए १० कलाकार

    काठमाडौंँ । फिल्म ‘लाखे’ का लागि १० जना कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो ।

    फिल्मका निर्देशक सम्राट बस्नेतले भने, ‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार छानिएका छन् । थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राम मार्फत सार्वजनिक गरिनेछ ।’

    फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा सह–नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी ब्यक्तिले फिल्मका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताए ।

    सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने फिल्मका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।

    ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेत भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको फिल्मको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

     

  • शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

    शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

    सोल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका हुन् ।

    महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत उनलाई सो सम्मान दिएको हो । उनले महानगरपालिकाका प्रमुख उ सेहुन्बाट सम्मानपत्र, मानार्थ नागरिकताको प्रमाणपत्र र एक रजत पदक प्राप्त गरे ।

    मानार्थ नागरिक सम्मान

    कोरिया सरकारले आफ्नो देशको विकासमा योगदान दिने विदेशीको खोजी गर्दैै मानार्थ नागरिक सम्मान दिन्छ । हरेक वर्ष प्रदान हुने सो सम्मान प्राप्त गर्न निश्चित मापदण्ड तोकिएका छन् । सम्मान प्रदान गर्नुअघि विदेशी नागरिकलाई लक्ष्य गरी यहाँको सउल मेट्रोपोलिसन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालयअन्तर्गतको इन्टरनेशनल रिलेसन डिभिजनले मानार्थ नागरिकका लागि प्रस्ताव आह्वान गर्छ । जसले सम्मान प्राप्त गर्नका लागि आफू योग्य भएको आवेदन दिन्छ, उसका लागि दक्षिण कोरियामा, विशेषगरी सउल महानगरपालिकामा बसोबास गर्ने ३० जनाले सिफारिस गर्नुपर्छ । त्यसपछि महानगरपालिकाले वर्षमा एक देशबाट एक वा दुई जनासम्मलाई सो सम्मान दिन्छ ।

    मानार्थ नागरिक पाउने नेपाली

    सन् १९५८ देखि हालसम्म नेपालीसहित विश्वका १०० भन्दा बढी मुलुकका करिब ९०० नागरिकले सो सम्मान प्राप्त गरिसकेको महानगरपालिकाले जनाएको छ । पचास हजारभन्दा बढी नेपाली बसोबास गर्ने कोरियामा नेपालका तर्फबाट शिवाकोटीसहित हालसम्म १० जनाले सो सम्मान प्राप्त गरिसकेका छन् । यसअघि नेपाली नागरिक केपी सिटौला, तेञ्जि शेर्पा, राजु क्षेत्री, हर्कबहादुर गुरुङ, जुनु गुरुङ, गम्भीरमान श्रेष्ठ, विपीन गुरुङ, सुजन शाक्य, भजिन्द्र क्षेत्री र भानु श्रेष्ठले सो सम्मान पाइसकेका छन् ।

    व्यवसायी, संस्कृतिकर्मी र स्वयंसेवक

    मोरङका स्थायी बासिन्दा शिवाकोटी सन् २००६ मा कामदारका रूपमा कोरिया प्रवेश गरेका छन्। अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरिरहेका शिवाकोटी कोरियामा भविष्य छ जस्तो लागेर पढाइ छाडेर आफू विदेशिएको बताउछन् । सो समयमा रोजगार अनुमति प्रणालीको व्यवस्था थिएन । उनी मुनड्रप्स मेनपावरबाट दक्षिण कोरिया प्रवेश गरेका हुन् ।

    सन् २००८ देखि कोरिया र नेपाल सरकारबीच इपिएससम्बन्धी सम्झौता भयो । रोजगार संस्थाबाट आउने सबैलाई इपिएस अन्तर्गत पुनः सम्झौता भयो र पालैपालो गरेर अझै थप १० वर्षका लागि प्रवेशाज्ञा लाग्नेभयो । ‘११ वर्ष एउटै कम्पनीमा काम गरेपछि कमाएको पैसाले कोरियामै व्यवसाय गर्नुपर्छ भन्ने मलाई लाग्यो । सम्भावना पनि यता धेरै थियो’, उनले भने । उनले करिब एक करोड ३० लाख रुपैयाँका लगानीमा राजधानी सोलमा निरोशा रेष्टुरेन्ट सञ्चालन गरे । विशेषगरी नेपाली र भारतीय खाना र स्वाद पाइने उक्त रेष्टुरेन्टका सञ्चालक रूपमा उनको परिचय विस्तारै कोरियामा फैलिन थाल्यो । सुरुआती चरणदेखि नै यहाँको एनआरएनए, एनसिसी, पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालगायत संस्थामा सल्लाहकारका रूपमा सेवा गरेका शिवाकोटी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छन् ।

    उनले फुर्सदका समयमा स्थानीय प्रहरीसँग सम्पर्क बढाउने तथा यहाँका सङ्घसंस्थामार्फत स्वयंसेवा गर्ने कार्य गर्दै गए । यसो गर्दै जाँदा कोरियामा सन् २०१७ देखि यहाँको एशियाली संस्कृतिमा सहभागी हुने र नेपाली संस्कृतिलाई पनि सहभागी गराउने मौका मिल्यो । सन् २०१९ देखि २०२१ का लागि उनलाई १८ वर्षमुनिका बालबालिकाका लागूऔषध सेवन रोकथाम अभियानमा स्वयंसेवा गर्ने अवसर मिल्यो ।

    स्वयंसेवाकै क्रममा कोरोनाबारे जानकारी दिने तथा कोरोनाविरुद्धको खोप अभियानमा निरन्तर सहयोग पु¥याउने कामले सो सम्मान दिलाएको उनी बताउछन् । ‘यो मानार्थ नागरिकको सम्मान सिङ्गो नेपालले खुसी विषय हुन सक्छ’, शिवाकोटीले बताए ।

  • केबीसीको एक हजार एपिसोड पूरा, भावुक बन्दै अमिताभले सुनाए यस्तो किस्सा

    केबीसीको एक हजार एपिसोड पूरा, भावुक बन्दै अमिताभले सुनाए यस्तो किस्सा

    दिल्ली । भारतीय टेलिभिजनको चर्चित क्विच रियालिटी शोे ‘कौन बनेगा करोडपति’ ले एक हजार एपिसोड पार गरेको छ । भारतमा शुक्रबार केबीसीको एक हजार एपिसोड पूरा भएको खुसि मनाउन भव्य कार्यक्रमको आयोजना गरियो ।

    शुक्रबार आयोजित कार्यक्रममा साधारणदेखि विषेश सबै प्रतियोगी हटसिटमा बसेका थिए । शुक्रबार प्रसारण भएको विशेष एपिसोडमा धेरै विशेष पलहरु देखिएका छन् ।

    यस विशेष अवसरमा अमिताभ बच्चनकी छोरी श्वेता र नातिनी नवीन नवेली नन्दा विशेष अतिथिको रूपमा देखिएका थिए । बच्चनकी पत्नी जया बच्चन पनि यो विशेष अवसरमा अनलाइन शोको हिस्सा बनिन् । कार्यक्रममा बच्चनले रोचक कथाहरु सुनाए । शोको उपलब्धि देखेर उनले खुसी व्यक्त गरे ।

    शोको २१ वर्ष पूरा भएको अवसरमा निर्माताले भिडियोमार्फत दर्शकसँग यो यात्रा सेयर गरेका हुन् । झण्डै दुई दशकदेखि चल्दै आएको यो शोले सफलताका धेरै नयाँ आयामहरू हासिल गरेको छ । कार्यक्रममा अमिताभ बच्चन भावुक बनेका थिए । बच्चनले शोको होस्ट बन्नुको पछाडि एउटा अचम्मको कारण बताए ।

    अमिताभले भने, ‘जब म फिल्मबाट टिभीमा आएको थिएँ, धेरैले मलाई त्यसो नगर्न समेत भनेका थिए । धेरैले मेरो छविलाई हानि पुग्छ भनेका थिए तर त्यसबेला मेरो पनि केही बाध्यता थियो । फिल्ममा काम पाइनँ । त्यसैले टिभीतिर लाग्नुपर्‍यो । तर पहिलो प्रशारणपछिको प्रतिक्रिया आउन सुरु भयो, त्यसपछि सारा संसार परिवर्तन भएको महसुस भयो ।’

    उनले थपे, ‘मलाई मन परेको सबैभन्दा राम्रो कुरा के हो भने हरेक दिन आएका हाम्रा सबै प्रतियोगीहरूबाट मैले केही न केही सिक्ने मौका पाएँ ।

  • माओवादी राष्ट्रिय सम्मेलनः चार जनाको ‘कमाण्डिङ’मा १७ नेतालाई विभिन्न जिम्मेवारी

    माओवादी राष्ट्रिय सम्मेलनः चार जनाको ‘कमाण्डिङ’मा १७ नेतालाई विभिन्न जिम्मेवारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने राष्ट्रिय सम्मेलनका लागि तयारी तीब्र पारेको छ । त्यस अनुसार सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरु समेत बनाइएका छन् ।

    माओवादी केन्द्रको मंसिर १६ र १७ गते बसेको स्थायी समिति बैठकले विभिन्न समितिहरु बनाउने निर्णय गरेको थियो। उक्त बैठकका निर्णयहरु कार्यान्वयन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले १८ बुँदे सर्कुलर समेत जारी गरेका छन् ।

    जसअनुसार राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानलाई आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ। जसको सदस्यहरुमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव छन्।

    त्यसैगरी सम्मेलनमा पेस गरिने समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ। समिति सदस्यहरुमा शक्तिबहादुर बस्नेत र गणेश साह रहेका छन्।

    सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ। समिति सदस्यहरुमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेका छन्।

    प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ । सदस्यहरु भने नियुक्त गर्न बाँकी छ।

    त्यसै गरि स्वाथ्य र स्वयंसेवक परिचालन उपसमिति समेत गठन हुन बाँकी छ । अर्को स्थायी समिति बैठकबाट बाँकी उपसमितिहरु गठन गर्ने माओवादी केन्द्रले जनाएको छ।

  • को हुन् राप्रपा केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत पाउने कुन्ती ?

    को हुन् राप्रपा केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत पाउने कुन्ती ?

    काठमाडौं । राप्रपा महाधिवेशनमा सर्वाधिक २०८० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भएपछि कुन्ती पोख्रेलको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा सक्रिय कुन्तीले आफ्नो उम्मेदवारीबारे तडकभडकसहितको प्रचार-प्रसार पनि गरेकी थिइनन् । तर सर्वाधिक मत प्राप्त गरेर राप्रपाको केन्द्रीय नेतृत्वमा पुगिन् । काठमाडौंकी कुन्ती सामाजिक काममा सक्रिय युवा महिला हुन् ।

    पोख्रेल राप्रपाको राजनीतिमा विगत १० वर्षदेखि सक्रिय छिन् । विशेष गरेर महिला हिंसाविरुद्ध आन्दोलनको नेतृत्व गर्दै तारामण्डल महिला सशक्तिकरण अभियान सञ्चालन गर्ने सञ्चालिका हुन् उनी ।

    कुन्ती एक चिरपरिचित समाजसेवी हुन् । उनी राप्रपा निकट राष्ट्रिय गैरसरकारी संगठनको केन्द्रिय कोषाध्यक्ष हुन भने राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष हुन् । उनले आफ्नो व्यवसाय सँगसँगै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । हरेक राष्ट्रिय मामिलामा खुलेर प्रस्तुत हुने उनको स्वभावका कारण राप्रपा चाँडै नेतृत्व तहमा पुग्न सफल भएको नेताहरु बताउँछन् । उनी राजनीतिभन्दा पनि आम नागरिकका समस्यामा केन्द्रित हुने महिला नेतृ हुन् ।

    उनी राप्रपा महाधिवेशनमा कमल थापाको प्यानलबाट महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा थिइन् । थापा अध्यक्षमा पराजित भए पनि पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको ठूलो हिस्सा थापा प्यानलबाट निर्वाचित भएका छन् । कुन्तीले कमल थापाको पराजयपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिएकी छन् ।

    ३५ वर्षीया कुन्तीले राजनीतिक कार्यथलो काठमाडौं क्षेत्र नम्बर ५ लाई बनाएकी छन् ।

  • म्याद सकिएको ३२ टन चिया नष्ट गर्ने प्रशासनको निर्णय

    म्याद सकिएको ३२ टन चिया नष्ट गर्ने प्रशासनको निर्णय

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।

    हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले म्याद गुज्रिएको चिया बरामद गरेको थियो ।

    प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

    कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो ।

    गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।

  • खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    काठमाडौं । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।

    बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । ‘भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।’ देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उनले भने, ‘कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।’

    भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।

    सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने संक्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।

  • सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित

    सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित

    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

    कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

    पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

    यस्तो छ मत परिणाम
    सभापति
    वीरबहादुर बलायर –६८८(विजयी)
    नारायणदत्त मिश्र –२८०

    उपसभापति
    गोपालसिंह गुरुङ –२८१
    जनकराज चौधरी –६१०(विजयी)
    मनबहादुर रावल –२६३
    लोकराज अवस्थी –५२३(विजयी)
    हिमबहादुर रावल–१२१

    महामन्त्री
    नरनारायण शाह मनु –६४८(विजयी)
    प्रताप गुर्धामी–१३३
    मेघराज खड्का –६३५(विजयी)
    रामबहादुर शाही –३०३

    सहमहामन्त्री
    गोपालदत्त भट्ट–५२९(विजयी)
    चिन्तामणि भट्ट –५३३ (विजयी)
    नरेन्द्रप्रसाद भट्ट–२१२
    पदमराज पन्त –२५४
    लक्ष्मणबहादुर शाही – १६४
    हर्कबहादुर स्वाँर–६८

    महिला सहमहामन्त्री
    अम्बिका कुमारी चलाउने–६८६(विजयी)
    खिना भण्डारी –२२३

    को हुन बलायर ?

    प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरको कतै नाम सुनिएको थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍यो ।

    ५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

    बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।

    बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए ।

    २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियो । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।

    सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।

  • सुन तोलामा ७०० रुपैयाँले वृद्धि

    सुन तोलामा ७०० रुपैयाँले वृद्धि

    काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

  • कोरोनाविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

    कोरोनाविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाभाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन् । उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे ।

    नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए । ‘कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला’, उनले भने ।

    मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए । उनले भने, ‘खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।’

    मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गरे। ‘एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,’ उनले भने । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
    रासस

  • लुम्बिनीमा मतगणना सुरु

    लुम्बिनीमा मतगणना सुरु

    रूपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना सुरु भएको छ ।

    नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा सुरु भएको मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी भएका छन् ।

    लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् ।

    नेतृत्वका लागि संस्थापन समूहबाट भरत शाह र इतर समूहबाट अमर पुनले अलग अलग प्यानल बनाएर चुनावमा गएका थिए । यसअघि क्षेत्रीय अधिवेशनको गणनामा कुटपिट भएकाले सुरक्षा व्यवस्थापनमा ध्यान दिइएको निर्वाचन समितिले जनाएको छ ।

  • दिनभर मतदानस्थलमा भएका डाक्टर भुसालले किन राखेनन् मत

    दिनभर मतदानस्थलमा भएका डाक्टर भुसालले किन राखेनन् मत

    रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान डा. चोपलाल भुसालले मतदान गरेका छैनन् ।

    लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान गर्नका लागि अर्घाखाँचीबाट संघीय महाधिवेशन प्रतिनिधि जितेका डा. भुसाल निर्वाचन गर्ने समयमा उपस्थिति नहुँदा मतदान गर्न नपाएका हुन् ।

    निर्वाचन समितिले ५ः३० बजेको समयसम्म मतदान गर्न समय तोकेको थियो, भुसाल ५ः४० मा मतदान गर्न स्थलमा सहभागी हुँदा मतदान गर्ने समय सकिएकाले डा. भुसालले मतदान गर्न पाएनन् । तर उनी दिनभर दिनभर मतदानस्थलमै थिए।

  • यी हुन् यसवर्ष संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी

    यी हुन् यसवर्ष संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी

    काठमाडौं । कोरोना महामारीले मानिसको आधुनिक जीवनमा असर गरेको छ । खाना खाने, लुगा लगाउनेदेखि अन्य स्टाइलमा धेरै चेन्ज आयो । तर, हामीले पठाउने इमोजी भने परिवर्तन भएनन् । उस्तै रहे । हालै युनिकोड कन्सोर्टियमले तयार पारेको एक अध्ययनमा यसवर्ष सबैभन्दा बढी प्रयोगमा आएका १० वटा इमोजी समावेश भएका छन् ।

    डिजिटल टेक्स्टको आधारमा २०१९ मा सबैभन्दा धेरै प्रयोग हुने १० मध्ये नौ इमोजीहरू यस वर्ष शीर्ष १० मा परेका छन्। रेड हर्ट इमोजी यसवर्ष दोस्रो शीर्ष स्थानमा रहेको छ भने स्माईल पहिलो स्थानमा छ ।

    इमोजीहरूले मानिसहरुको जीवनको अध्ययन गर्दछ । मानिसको अवस्था हेरेर हँसाउने, रुवाउने इमोजीको प्रयोगा गर्नु अचम्मको कुरा होइन। यसले कति मानिसहरू इमोजी प्रयोग गर्छन् भनेर यो तथ्यांकले देखाउछ । यदी इमोजी साधारण हुने भएको भए यो उच्च श्रेणीमा हुने थिएन ।

    गुगलका इमोजी अनुसन्धानकर्ता अलेक्जेन्डर रोबर्टसनले भने, ‘ यो तथ्यांकले इमोजी प्रयोग गर्ने मानिसहरूको संख्यामा प्रभाव पार्दछ ।’

    हेर्नूस् यसवर्ष संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी :

  • टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क

    टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो ।

    नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

    कोरोनाभाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

    यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेका छन् । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो ।

    निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

    सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । ‘यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने’, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

    उनले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताए ।

  • सुनको मूल्य २०० ले घट्यो

    सुनको मूल्य २०० ले घट्यो

    काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

  • भारतमा ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइयो

    भारतमा ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइयो

    वीरगञ्ज । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

    भारतमा ओमिक्रोनकासंक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

    नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

    पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्ने गरी योजना अघि बढाएको जनाइएको छ ।

  • बालविवाह न्यूनीकरणका लागि मतदान

    बालविवाह न्यूनीकरणका लागि मतदान

    दार्चुला । यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

    मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका-२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका सामाजिक सहजकर्ता वसन्ती धामीले बताए ।

    गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणका लागि मतदान भएको हो । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसअनुसार बालविवाह गर्नु ठिक हो भन्ने पक्षमा २९ र विपक्षमा २२५ मत तथा बदर एक मत खसेको सहजकर्ता धामीले बताए ।

    बुधबार मात्र मालिकार्जुन गाउँपालिका-२ र वडा नं ७ मा बालविवाह गर्नु ठिक कि बेठिक भनेर मतदान भएको थियो । मालिकार्जुन गाउँपालिकाले विसं २०७६ मा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरेको छ । सोहीअनुसार गाउँपालिकामा अहिले गुड नेवर्सको सहयोगमा बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

    एक अध्ययनअनुसार मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने सात दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ । बालविवाहमा परेकामध्ये ५८ दशमलव ७८ प्रतिशत मागी विवाह, १५ दशमलव नौ प्रतिशत भागी विवाह र २५ दशमलव चार प्रतिशत प्रेम विवाह रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालविवाहका कारण विद्यार्थीको बीचैमा पढाइ छुट्ने गरेको छ ।

  • आज वर्षा र हिमपातको सम्भावना

    आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा वागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । आज काठमाडौँको न्यूनतम १० दशमलव आठ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

    महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

    रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

    भोलि शनिबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मङ्सिर १९ गते आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • बिहीबार ३१५ जना कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    बिहीबार ३१५ जना कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४०३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जना निको भएका छन् भने बिहीबार थप ६ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    अहिलेसम्म सक्रिय संक्रमित संख्या ६ हजार ९५४ रहेको मन्त्रालयले जनाएको छ भने कूल ११ हजार ५३५ जनाको कोभिडका कारण मृत्यु भईसकेको छ ।

  • महिलाको सौन्दर्य बढाउन जहाँ गालामा ५० थप्पड हानिन्छ !

    महिलाको सौन्दर्य बढाउन जहाँ गालामा ५० थप्पड हानिन्छ !

    सोल । संसारभरका महिला या पुरुष आफ्नो सुन्दरता बढाउनको सबैखाले उपायहरू प्रयोग गर्छन् । के तपाईलाई थाहा छ सुन्दरता बढाउनको लागि एउटा अनौठो उपचार प्रचलित छ । जहाँ थप्पड हानेर मानिसको सौन्दर्य बढाइन्छ । यसलाई स्लेप थेरापी भनिन्छ । यो दक्षिण कोरियामा धेरै लोकप्रिय छ ।

    दक्षिण कोरियाका महिलाहरूले सयौं वर्षदेखि स्लेप थेरापी गर्दै आएका छन् । यसमा महिलाहरूले आफ्नो सौन्दर्य बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड लगाउँछन् । यो थेरापीले छालाको सौन्दर्य बढाउने विश्वास गरिन्छ । जसले गर्दा महिलाहरु धेरै सुन्दर हुन्छन् ।

    स्लेप थेरापीको अर्थ कसैलाई दुख्ने गरी थप्पड हान्ने भन्ने होइन । यो धेरै सहज तरिकाले र हल्का हातले गालामा थप्पड लगाइन्छ । महिलाहरूले यो उपचार आफ्नै हातले पनि गर्न सक्छन् । तपाँईले थेरापी गर्दा दुबै गालाहरुलाई आफ्नो हातले हल्कासँग पिट्नु पर्छ ।

    दक्षिण कोरियामा यो थेरापी प्राचिनकालदेखि नै प्रचलनमा रहे पनि बिस्तारै यो थेरापी विश्वभर फैलिरहेको छ ।

    यस थेरापीको माध्यमबाट गालामा हल्का थप्पड लगाउँदा अनुहारको प्रत्येक भागमा रगतको प्रवाह बढ्छ भन्ने दक्षिण कोरियाका मानिसहरूको विश्वास छ । यसले छाला सफा गर्न मद्दत गर्छ । थप्पडको कारण अनुहारमा ताजा रगत बग्छ । जसले गर्दा अनुहारमा चमक आउँछ । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दक्षिण कोरियाका महिलाहरू हरेक दिन यो थेरापी गर्ने गर्छन् ।

    कोरियन महिलाहरूले बाल्यकालदेखि नै यो थेरापी गर्दे आएकाले उनीहरुको उमेर बढ्दै गएपनि छालाको चमक भने कायमै रहन्छ ।

    महिलाबाहेक दक्षिण अफ्रिकाका पुरुषहरूले पनि यो थेरापी गर्ने गर्छन् । यो थेरापीलाई सही तरिकाले प्रयोग गर्न सके छालालाई लामो समयसम्म जवान राख्न सकिन्छ भन्ने कोरियालीहरुको विश्वास छ । यसै कारण यसलाई ‘एन्टी एजिङ थेरापी’ पनि भनिन्छ ।

     

  • वीर अस्पतालले कोरोना बिरामीलाई फाेनबाटै परामर्श दिन थाल्यो

    वीर अस्पतालले कोरोना बिरामीलाई फाेनबाटै परामर्श दिन थाल्यो

    काठमाडौं । वीर अस्पतालमा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो ।

    अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको बताए । उनले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।

    सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउने छन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् ।

    टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् ।

    टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्वस्वास्थ्य सङ्गठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पुर्‍याउने बताए ।

    मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोभिड–१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा. नवराज जोशीले जानकारी दिए ।

  • ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    गलेश्वर । कोरोनासंक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

    कोरोना संक्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टीजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

    ‘मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।’

    जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

  • मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

    मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी सङ्कलन

    खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

    गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम सङ्कलन भएको हो । महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट एक लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ रुपैयाँ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

    उनले भने, ‘कोरोनाभाइरसको संक्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ ।’ सङ्कलन भएका भेटी रकममध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ माछापुछ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।

    यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ । मन्दिरबाट सङ्कलन भएको भेटिबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (स्काभेटर प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

    हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा सङ्कलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन तीन संस्थाका प्रतिनिधिले दानपेटिकामा लगाइने साँचो राख्ने गरेका छन् । हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले मन्दिर परिसरमा राखिएका दानपेटिकाको साँचो संयुक्त रुपमा खोल्ने गरेका हुन् ।

    मन्दिरमा सङ्कलित भेटी हलेसीकै विकासमा खर्च गर्ने गरिएको हलेसी विकास समितिका अध्यक्ष एवं पूर्व सांसद टङ्क राईले बताए । ‘हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ’, उनले भने, ‘हलेसी दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनलाई लक्षित गरेर भौतिक संरचनालगायत पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

    प्राकृतिक रुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।

    मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रीमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ । विभिन्न समयमा लाग्ने मेलालाई व्यवस्थित गर्न नगरपालिका, हलेसी विकास समिति तथा मन्दिर व्यवस्थापन समितिले भूमिका निर्वाह गर्दै आएको छ ।

  • भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा सुरु

    भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा सुरु

    चितवन । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा ६ श्ययाको सेवा सुरु गरिएको हो ।

    दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् । सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् ।

    उनले भने, “घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।” उनको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ । सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन ।

    सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० श्ययाको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिए।

    उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उनले जानकारी दिए ।

    चितवन र आसपासका जिल्लाका राजमार्ग, सडकखण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । ती दुर्घटनाका घाइतेलाई यहाँको अस्पतालमा उपचार गरिँदै आएको छ । अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर घाइतेलाई पहिलो बिन्दुका रुपमा भरतपुर अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । अस्पतालमा सबै सुविधा भएकाले सरकारीमा असम्भव भए मात्र निजीमा पठाउने गरी सरोकारवालासँग छलफल गरिएको हो । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

    उनका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ । यसअघि पटकपटक प्रमुख फेरिएका कारण समस्या आएको थियो । अस्पतालले आकस्मिक सेवामा भएका १२ श्ययालाई बढाएर २० श्यया पु¥याएको छ ।