Author: Anisha Tiwari

  • धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर

    धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको काउन्टर

    काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिकाको वडा नं. ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टरको सेवाको सुरुवात गरेको छ ।

    सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

    काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरुले गरेका छन् ।

    हालसम्म सनरमज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

  • नेपालमा ६१ प्रतिशतले लगाए कोरोनाको दुवै मात्रा खोप

    नेपालमा ६१ प्रतिशतले लगाए कोरोनाको दुवै मात्रा खोप

    काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।

    हाल सबै प्रदेशमा कोभिसिल्ड र एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

    यसैगरी, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । त्यसमध्ये कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्णमात्रा लगाउनेको सङ्ख्या ७८ लाख २१ हजार ४०६ रहेको छ । यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्णमात्रा लगाउँदा फाइजरको पूर्णमात्रा लगाउने ४३ हजार २०९ जना छन् ।

    यसैगरी एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर दुई लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन् । यस्तै १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन् । यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् ।

    कूल जनसङ्ख्याको ४३ प्रतिशतले खोपको पूर्णमात्रा लगाउँदा ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने जोनसेनको खोपसहित ६१ प्रतिशतले कम्तीमा खोपको पहिलो मात्रा लगाइसकेका छन् । यसमा १८ वर्षमाथिका व्यक्तिमा ६६ प्रतिशतले खोपको पूर्णमात्रा लगाइसकेका छन् भने ७३ प्रतिशत पहिलो मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलब १ प्रतिशतले पूर्णमात्र लगाएका छन् । रासस

  • भिजिट भिसा दिन सरकारले मापदण्ड बनाउने

    भिजिट भिसा दिन सरकारले मापदण्ड बनाउने

    काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा वास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो ।

    गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् । समितिको सदस्य सचिवमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् ।

    समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको कार्यादेश दिइएको गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।

  • डेढ दशकसम्म भैरहवामा बन्न सकेन एकीकृत भन्सार चेकपोस्ट

    डेढ दशकसम्म भैरहवामा बन्न सकेन एकीकृत भन्सार चेकपोस्ट

    रुपन्देही । नेपालको दोस्रो ठुलो भन्सार नाका भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आइसिपी) निर्माण गर्ने सम्झौता भएको डेढ दशक पुग्न लाग्दा पनि अहिलेसम्म निर्माणको सुरुवात नै भएको छैन ।

    सन् २००७ मा नेपाल र भारत सरकारबिच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने भनिएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतीय पक्षले प्राविधिक तथा पर्वाधार निर्माण गर्ने सम्झौता भएपनि यहाँ कुनै काम अगाडि बढ्न सकेको छैन । सम्झौताअनुसार वीरगन्ज, विराटनगरमा निर्माण सम्पन्न भैसकेको छ भने नेपालगञ्जमा निर्माण भैरहेको छ । तर भैरहवामा भने निर्माणको कुनै सुरसार नै छ्रैन ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले आईसिपी निर्माणका लागि नेपालका तर्फबाट आवश्यक जग्गा अधिग्रहण भैसकेको बताए । ‘भारतीय क्षेत्रमा जग्गा अधिग्रहण अझै बाँकी रहेको र केही समस्या भएकाले आईसिपि निर्माण कार्य अघि बढ्न नसकेको हो । हामी आईसिपि निर्माणका लागि तयारी अवस्थामा छांै, ५२ बिगाहा जग्गा अधिग्रहण भैसकेको छ अब भारतीय क्षेत्रमा आवश्यक जग्गा छिटै उपलब्ध भए निर्माण कार्य सुरु होला’, ढकालले भने ।

    नेपाल भारतबीच हुने आयातनिर्यात सहजरुपमा गराउने उद्देश्यले सन् २००७ मा आईसिपि निर्माणका लागि दुई देशबीच हस्ताक्षर भएको थियो । आईसिपीमा भन्सार कार्यालय, बैंक, पशु तथा कृषि क्वारेन्टीन, भन्सार प्रयोगशालालगायतका आवश्यक पुर्वाधार निर्माण हुनेछन् । नेपाल भारत दुबैतर्फ एकै प्रकृतिका संरचना निर्माण हुनेछ । भैरहवा नाकामा आईसिपि नबन्दा यो नाका हुँदै आयातनिर्यात गर्ने व्यवसायीहरु यहाँबाट ढिलो, समय लाग्ने कारणले अतिरिक्त शुल्क बढने भएकाले अन्य नाकातिर डाइभर्ट भैरहेको नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी बताउँछन् । उनले नेपाली पक्षबाट सबै तयारी भैसक्दा पनि कुटनीतिक पहलको कमीले भारतीय पक्षले ढिलाई गरेकाले छिटोभन्दा छिटो समन्वय गरेर काम अगाडि बढाउनुपर्ने बताए ।

    सीमापारिको व्यस्त र साँघुरो सुनौली बजारबाट मालसामान भरिएका ट्रक र कन्टेनर पास हुनुपर्छ । यो नाकामा भारततर्फ भन्सार जाँचपास र पार्किङको पर्याप्त पूर्वाधार छैन । भारतले भन्सार जाँचपासको काम सडकमै गर्दै आएको छ । भारतीय बजार नौतनवा–सुनौली हुँदै बेलहियासम्मको दूरी ७ किलोमिटर छ । तर मालबाहक गाडीलाई यो दूरी पार गर्न धेरै समय लाग्दै आएको छ ।

    नेपाल भारत दुवैतर्फ नाका वारपार निर्माण गरिने इन्टिग्रेटेड चेकपोष्टको मुख्य उद्देश्य दुई देशबीचको व्यापार तथा वाणिज्यलाई सहज बनाउनु हो । जहाँ भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशाला लगायतका आवश्यक सेवा सुविधा एकैथलोमा उपलब्ध हुनेछ । यसमा अत्याधुनिक सेवा सुविधासहित स्क्यानर जडान हुने भएकाले राजस्व छली हुन पाउँदैन ।

    दैनिक अर्बौको मालसामान आयात हुने नेपालतर्फको भैरहवा भन्सारमै पनि पर्याप्त पार्किङको सुविधा छैन । जसका कारण हप्तौसम्म मालबाहक गाडी सडकमै रोकिनुपर्ने बाध्यता छ । निश्चित समयका लागि बुक गरिएका गाडी धेरै दिन सडकमै रोकिनुपर्दा आयातकर्ताले डिटेन्सन, डेमरेजलगायतका अतिरिक्त शुल्क तिर्नुपर्छ । जसले नाकाको आयातलाई खर्चिलो बनाएको छ । यसका अलावा जाम लम्बिदै जाँदा छिटो जाँचपास गरिदिने नाममा भारतीय पक्षबाट हुने अवैध असुलीको समस्या पनि व्यवसायीले भोग्दै आएका छन् ।

    तर, भारततर्फ भने अहिले पनि जग्गा अधिग्रहणको काम टुङ्गिएको छैन । भारततर्फ उत्तरप्रदेश राज्यको महाराजगञ्ज जिल्लास्थित सुनौली र आसपासको केवटलिया, जुगौली र सुक्रौली गाउँको ७७ हेक्टर जमिन आईसिपीका लागि अधिग्रहण गरिने छ । जसमध्ये ७० प्रतिशत जमिन अधिग्रहण भइसकेको भनिए पनि जग्गा खाली गराइएको छैन ।

    अधिग्रहण गरिएको र गर्ने भनिएको स्थानमा अहिले पनि बस्ती र खेती छ । यो भारत सरकारको केन्द्रीय योजना हो । तर जग्गा अधिग्रहणको काम राज्य सरकारले गर्ने भनिएको छ । केन्द्र र राज्य सरकारबीच तालमेल नमिल्दा योजना बीचमै अलपत्र परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

    आइसिपी छिटो निर्माणका लागि यहाँका उद्योगी व्यवसायीले धेरैपटक दबाब दिएपनि काम अगाडि बढ्न सकेको छैन ।

    २०७२ सालमा मधेस आन्दोलन र भारतद्धारा लगाइएको अघोषित नाकाबन्दीको समयमा पनि निर्वाध चलेको नाका बनेको थियो भैरहवा नाका । त्यतिबेला देशका प्रायः सबै नाका ठप्प हुँदा यही नकाबाट अधिकांश स्थानमा आवश्यक वस्तु आयात गरिएको थियो ।

    तर यो नाकामा आवश्यक पर्वाधार नबन्दा कर्मचारी तथा सेवाग्राहीले उस्तै तनाब झेल्नुपरेको छ । भन्सार कार्यालयका कर्मचारीका भनाइमा यहाँ पुर्वाधार पर्याप्त छैन, पार्किंङ, यार्ड, गोदाम, सेडघरको उस्तै अभाव छ ।

    यही समस्यालाई समाधान गर्न नेपाल सरकारले आईसिपी निर्माणका लागी अधिग्रहण गरेको ५२ बिगाहा जमिन छ । आईसिपी नबन्दासम्म त्यो जमिनमा अस्थाई पार्किंग बनाउन हामीले माथिल्लो निकायमा पत्र पठाएका छौ, कार्यान्वयन छिटो भए आयात निर्यात अझ सहज हुने थियो, भन्सार प्रमुख ढकालले भने ।

    अहिले भन्सार परिसरमा रहेको पार्किंङ साँघुरो छ । दैनिक ३ सय ५० देखि ४ सयसम्म मालबाहक ट्रक एवं अन्य साधनहरु भन्सार प्रवेश गर्छन्, स्थायी, अस्थायी पार्किंङमा राख्नुको विकल्प छैन ।

    भैरहवा भन्सारले अहिले अधिग्रहण गरेको ५२ बिगाहामध्ये ५–६ बिगाहा जमिनमा माटोपाटेर अस्थायी पाकिङ बनाई काम चलाउ व्यवस्था मिलाएको भएतापनि त्यो निकै थोरै छ । पार्किंङ अभावले कतिपय ट्रकहरु भारतीय क्षेत्रमै तीस किलोमिटरसम्म लाइनमा बस्नपरेकाले नेपाली आयातकर्ताहरुले ढुवानी बापतको अतिरिक्त शुल्क र डेमरेज चार्ज क्षतीको रुपमा व्यहोर्दै आएको व्यवसायी टानबहादुर पाण्डेले बताउँछन् ।

    ट्रकबाट सामान निकालेर राख्ने गोदाम घर, सेड, पार्किंङलगायत सविधा नहुँदा चेकजाँच नभएसम्म सामान ट्रकमै राख्नुपर्ने बाध्यता रहेको भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थीले बताए ।

    सहज अवस्थामा बेलहिया नाका हुँदै दैनिक सयौं मालबहाक सवारी आउजाउ गर्छन् । भन्सारमा प्रभावकारी पूर्वाधार नहुँदा उद्योगी–व्यवसायीले यो नाकाको विकल्पमा कृष्णनगर, सुठौली, महेशपुर नाका रोज्न थालेका छन् ।
    अर्कातर्फ नाकामा विभिन्न कारण देखाउँदै भारतीय सुरक्षाकर्मीको अवरोध भइरहन्छ । सवारी चाँप बढेपछि जाम हुँदा जाँचपास गराउन समेत धेरै समय लाग्ने गरेको छ । यसले व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नु परेको छ भने त्यसको प्रत्यक्ष मारमा उपभोक्ता छन् ।

  • कर्णालीबाट एकीकृत समाजवादीका बोहरा विजयी

    कर्णालीबाट एकीकृत समाजवादीका बोहरा विजयी

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका उम्मेदवार उदय बहादुर बोहरा निर्वाचित भएका छन् ।

    अन्य खुला तर्फ उनले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित १ सय ३२ मतभारसहित विजय भएका हुन् ।

  • मछिन्द्रलाई हराउँदै एपीएफ आहारारा गोल्डकपको फाइनलमा (भिडिओ)

    मछिन्द्रलाई हराउँदै एपीएफ आहारारा गोल्डकपको फाइनलमा (भिडिओ)

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लबलाई ३–१ गोलको नतिजामा हराउँदै एपीएफ क्लब २०औं संस्करणको आहारारा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

    बुधबार पोखरा रंगाशालामा भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्रमाथि सानदार जित निकालेको एपीएफका लागि सनिस श्रेष्ठ, नविन लामा र प्रदिप लामाले गोल गरेका थिए । ओमोलाजा करिमले मछिन्द्रका लागि सान्त्वना गोल गरे ।

    एपीएफलाई अग्रता दिलाउन सनिस श्रेष्ठले २५औं मिनेटमा पहिलो गोल गरेका थिए । मछिन्द्रका ओमोलाजा करिमले ४०औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा एपीएफका लागि प्रदिप लामाले दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए ।
    मछिन्द्रका करिमले ७२औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा सिमित भएको थियो ।

    एक गोलको अग्रता बनाएको एपीएफलाई जित दिलाउन कप्तान नवीन लामाले खेलको इन्जुरी समयमा गोल गरेका थिए । नवीनको गोलसँगै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

    एपीएफले फाइनलमा मनाङ् मर्स्याङदी क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोली हुनेछ ।

  • सुदूरपश्चिममा राष्ट्रियसभा : अन्यबाट कांग्रेसका मिश्र विजयी

    सुदूरपश्चिममा राष्ट्रियसभा : अन्यबाट कांग्रेसका मिश्र विजयी

    कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । मिश्रको प्रदेशसभातर्फ १८७२मतभार र स्थानीय तहतर्फ १८७२ मतभार पाएर निर्वाचित भएका हुन् ।

    निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डिल्ली राज भट्टले प्रदेशतर्फ ६२४ र स्थानीय तहतर्फ १२७२ मतभार प्राप्त गरेका छन् । यस अघि महिला तर्फ पनि एकीकृत समाजवादीकी गरिमा शाह र दलित तर्फ जगत पार्की निर्वाचित भइसकेका छन् ।

  • एनएसएलः दोस्रो संस्करण चौत १६ देखी, दुई सहरमा खेल हुने

    एनएसएलः दोस्रो संस्करण चौत १६ देखी, दुई सहरमा खेल हुने

    काठमाडौं । नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग नेपाल सुपरलिग(एनएसएल)को दोस्रो संस्करण चैत १६ देखि पोखरा र काठमाडौंमा आयोजना हुने भएको छ ।

    नेपाल स्पोर्ट म्यानेजमेन्टको आयोजनामा हुने लिग जेठ सात गते सकिनेछ । बुधबार आयोजकले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार यस सिजन नयाँ तीन टोली समावेश गर्दै प्रतियोगितामा गत सिजनका सातसहित १० टोलीको सहभागिता रहने भएको छ । नयाँ टोलीका लागि अक्सनमार्फत खेलाडी छनोट गरिने छ ।

    पहिलो संस्करणमा कोरोनाभाइरस महामारिले देशमा लकडाउन भएको अवस्थामा एनएसएल बन्द रंगाशालामै भव्यताका साथ सम्पन्न भएको थियो ।

    गत सिजन दशरथ रंगाशालामा मात्रै भएको प्रतियोगिता यस सिजन पोखरा रंगाशालामा पनि हुनेछ । आयोजकले जानकारि दिए अनुसार लिगका उद्घाटन देखि आधा खेल पोखरामा र आधा काठमाडौंमा हुनेछ ।

    देश भरिका विभिन्न सहरका टोलीहरुको सहभागिता रहेकाले हरेक सिजन विभिन्न सहरमा प्रतियोगिता हुनेपनि आयोजकले जानकारी दिएका छन् ।

  • सेयर बजार ३८ अंकले घट्यो, ४ अर्बको कारोबार

    सेयर बजार ३८ अंकले घट्यो, ४ अर्बको कारोबार

    काठमाडौं । आज सेयर बजारमा ३८.४५ अंकले घटेको छ । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७७६.६१ अंकमा आएको छ।

    ४ अर्ब ३१ करोड ३१ लख ५४ हजार ४२.१७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ३३ वटा कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच भएको हो । आज सबै समूह राताम्मे भएका छन् ।

    बुद्धभूमि हाइड्रोको सेयर र वीन नेपाल लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले वृद्धि भएको छ ।

    अपि पावर कम्पनीको १६ करोड ७७ लाख ५७ हजार ४ सय ३४।२० रुपियाँ बराबरको कारोबार भएको हो । यो नै आजको सबैभन्दा धेरै कारोबार हो ।

  • सम्झौता रद्द प्रक्रिया बढेकै दिन बतासले पशुपति विकास कोषलाई बुझायो भाडाबापत एक करोड

    सम्झौता रद्द प्रक्रिया बढेकै दिन बतासले पशुपति विकास कोषलाई बुझायो भाडाबापत एक करोड

    काठमाडौं । पर्यटन मन्त्रालयले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया बढेकै दिन बतास अर्गनाइजेशनले पशुपति क्षेत्रभित्रको धर्मशाला लिजमा लिएबापतको एक करोड रुपैयाँ भाडा बुझाएको छ ।

    छानविन समितिको सुझाव अनुसार बिनाप्रतिस्पर्धा सेटिङबाट धर्मशाला बतास अर्गनाइजेशनले पाएको भन्दै पर्यटन मन्त्री प्रेम आलेले सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएका छन् ।

    सो प्रक्रिया अघि बढेकै दिन धर्मशाला सन्चालक बतास समूहले भने पशुपति क्षेत्र विकास कोषको खातामा एक करोड रुपैया भाडाबापत जम्मा गरेको पाइएको छ ।

    ८८ लाख ९९ हजार र ११ लाख ५० हजारका अलग अलग भौचरबाट पशुपति विकास कोषको खातामा एक करोड रुपैया जम्मा भएको छ । होटल आनन्द प्रालिले सनराइज बैंकमा रहेको पशुपति विकास कोषको खातामा रकम जम्मा गरेको हो ।

    यसैबीच राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा रहेका मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको खातामा भाडा बापत १ करोड रुपैया आउनु राज्यको लागि फाइदा नै रहेको भन्दै सम्झौता भने रद्द हुने प्रक्रियामा अघि बढेको बताए ।

    उनले कानूनविपरितको सम्झौता निरन्तर गर्न नसकिने दावी गरेका छन् । वतास अर्गनाइजेशनले भने कानूनी प्रक्रिया पूरा गरि प्रतिस्पर्धाबाट आफूहरुले सो धर्मशाला सन्चालन गरेको र नियम अनुसारको भाडा गिरेको भन्दै गैरकानूनी रुपमा सम्झौता रद्द भए अदालत जाने बताएको छ ।

    मन्त्री आलेले धर्मशालाको स्थलगत अवलोकनपछि छानविन समिति गठन गरेका थिए । समितिले ठेक्का सम्झौता रद्द गर्न सुझाव दिएको थियो ।

    अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको समितिको ठहर छ ।

  • भन्सार महसुलको विद्युतीय भुक्तानी सुरुआत, अब घरबाटै भन्सार जाँच पास गर्न सकिने (भिडिओ)

    भन्सार महसुलको विद्युतीय भुक्तानी सुरुआत, अब घरबाटै भन्सार जाँच पास गर्न सकिने (भिडिओ)

    काठमाडौं । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार सुरुआत गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् ।

    इ पेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुआत भएको पनि उनले बताए ।

    ‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए ।

    मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’ उनले भने ।

    अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिनुपर्ने बताए । भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत बताए ।

    निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनको जिकीर थियो ।

    हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

  • अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट

    अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट

    काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।

    विजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् ।

    मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

    अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।

    कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।

    साहारा एपले ग्राहकलाई शुन्य प्रतिशत कमिसनमा सेवा दिइरहेको छ । यस अघि कम्पनिले अजोड इन्सोरेन्ससंग इन्सुरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिए ।

  • ‘निर्वाचनबारे छलफलमै छौं, जे हुन्छ संविधान अनुसार हुन्छ’ (भिडिओ)

    ‘निर्वाचनबारे छलफलमै छौं, जे हुन्छ संविधान अनुसार हुन्छ’ (भिडिओ)

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताएका छन् ।

    सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए । मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकुल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाव दिएको समेत बताए । ‘कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव दिनुभएको छ । सरकार अझैपनि यसबारे परामर्शमै छ । उपयुक्त समयमा निर्णय लिन्छौं’, मन्त्री कार्कीले भने ।

    उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई प्रमुख प्रतिपक्षी दलले राजनीतिक खपतको विषय बनाएको आरोप समेत लगाए । ‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ’, कार्कीले भने ।

    उनले संसदको गतिरोध हटाउन सरकारले पर्याप्त पहल गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताए । ‘संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारसँगै प्रमुख प्रतिपक्षी दलको पनि हो’, उनले भने ।

  • बिहेको लोभ देखाएर बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

    बिहेको लोभ देखाएर बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

    काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई भक्तपुर जिल्ला अदालतले १२ वर्ष कैद सजाय तोकेको छ । अदालतले पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने पनि फैसला पनि सुनाएको छ ।

    विजय भन्ने आशिष नेपालीले सिन्धुलीमा पढ्दै गरेकी १५ वर्षीया बालिकालाई विवाह गर्छु भनी प्रलोभनमा पारी भक्तपुरस्थित आफ्नो डेरामा ल्याएर पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेका अनुसार पीडित बालिका हाल माइती नेपालको संरक्षणमा छिन् ।

  • ३२ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक, सबैभन्दा कम वृद्धि रामेछापमा

    ३२ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक, सबैभन्दा कम वृद्धि रामेछापमा

    काठमाडौं । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा जनसंख्या वृद्धिदर वार्षिक रुपमा घटिरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    विभागका अनुसार २०६८ को जनगणनामा २७ वटा जिल्लामा जन संख्या वृद्धिदर ऋणात्मक थियो । विभागका अनुसाार सबैभन्दा कम जन संख्या वृद्धि रामेछापमा देखिएको छ ।

    रामेछाप जिल्लाको जन संख्या वृद्धिदर माइनस एक दशमलव ६५ प्रतिशत छ । त्यस्तै सबैभन्दा बढी जनसंख्या वृद्धिदर शहरी क्षेत्रमा भक्तपुरमा ३ दशमलब ३२ प्रतिशत छ भने हिमाली जिल्ला मुगुमा १ दशमबलव ८० प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ ।

  • आज हल्का वर्षाको सम्भावना

    आज हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको अधिकतम् तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोे छ ।

  • पशुपति धर्मशाला सञ्चालनका लागि बताससँग गरिएको सम्झौता रद्द

    पशुपति धर्मशाला सञ्चालनका लागि बताससँग गरिएको सम्झौता रद्द

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका छन् ।

    मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन ।’

    पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

    पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए ।

    अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

  • एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । बोनसपछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको हो ।

    सो कम्पनीको सेयर मूल्य १०५७.६० रुपैयाँ प्रति कित्ता कायम भएको छ । सो मूल्यमा नै कम्पनीको पहिलो कारोबार भएको छ । हिजो सो इन्स्योरेन्सको प्रतिकित्ता १ हजार ३ सय २२ रुपैयाँमा कारोबार भएको थियो ।

  • आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

    आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

    काठमाडौं । बुधबार नेपाली सुन चाँदी सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ४ सय पुगेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९३ हजार ९सय रुपैयाँ कायम भएको छ । जसको मूल्य मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

  • आजबाट छ्याङ्दी हाइड्रोको हकप्रद शेयर निष्काशन

    आजबाट छ्याङ्दी हाइड्रोको हकप्रद शेयर निष्काशन

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ९३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । जसका लागि कम्पनीले पुस २१ मा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गरेको थियो । जसअनुसार पुस २० सम्म कायम कम्पनीका शेयरधनीले हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

    शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन् । त्यस्तै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने छ ।

    त्यस्तै धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । हाल रु २९ करोड ७६ लाख ७५ हजार रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् रु ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।

  • थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

    थ्री स्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

    काठमाडौं । राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी क्लबले २०औं सँस्करणको आहा रारा गोल्डकपमा थ्री स्टार क्लबलाई १–०को नतिजामा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

    मंगलबार पोखरा रंगाशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन राजिव गुरुङले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
    जितसँगै आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    मनाङले क्वाटर फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

    यससँगै प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । आर्को सेमिफाइनलमा मछिन्द्र क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
    १० टोलीको सहभागिता रहेको प्रतियोगिताको आयोजना साहारा क्लब पोखराले गरेको हो ।

  • उपत्यकामा ६ हजार संक्रमित थपिए, ५७ हजार सक्रिय संक्रमित

    उपत्यकामा ६ हजार संक्रमित थपिए, ५७ हजार सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार काठमाडौं उपत्यकामा ६ हजार १७२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना छन् ।

    योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ ।

    मन्त्रालयका अनुसार देशभर १५ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने १८ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

    देशभर आज ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २४५ जना आईसीयूमा र ४४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

  • विद्यार्थीलाई खोप सुनिश्चित गर्न शिक्षा मन्त्रालयको आग्रह

    विद्यार्थीलाई खोप सुनिश्चित गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन अनुरोध गरेको छ । माघ १५ गतेदेखि २० गतेसम्म खोप लगाउने प्रयोजनको लागि विद्यालयहरु खुल्ने तयारीमा छन् तर पठनपाठन भने अनिश्चित नै छ ।

    साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अध्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ ।

    प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ गतेसम्म कोरोनाभाइरस संक्रमणको जोखिमले विद्यालय बन्द गरिएको कुरा पनि उल्लेख छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासनले भने माघ १५ गतेपछि पनि भौतिकरुपमा पढाइ गर्न नपाइने निर्णय गरेका छन् । यस्तो निर्णय अर्को सूचना जारी नभैञ्जेल कायम रहने सम्बन्धित जिल्ला प्रशासनले गरेका छन् ।

    पछिल्लोसमय विद्यार्थीहरु पनि धमाधम संक्रमित हुन थालेपछि सरकारले खोप प्रयोजनका लागि विद्यालय खुलाउन लागेको हो । विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लगाउने सरकारको तयारी छ ।

  • कोरोना संक्रमण बढेसँगै जडिबुटीको धुलोको माग बढ्दो

    कोरोना संक्रमण बढेसँगै जडिबुटीको धुलोको माग बढ्दो

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ । कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो ।

    विसं २०७६ चैतमा नेपालमा कोरोनाभाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडिबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आएका आन्तरिक राजश्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिएका छन् । हाल ४० जिल्लाका १२० स्थानबाट निःशुल्क गुर्जोलगायत करिब ६० जडिबुटी मिसिएको धुलो वितरण भइरहेको उनले जानकारी दिए ।

    नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत उनले त्यसबेलादेखि नै देशभर निःशुल्क जडिबुटीको धुलो वितरण सुरु गरेका हुन् । कार्यालय सरुवा भएर काभ्रपलाञ्चोकको धुलिखेलमा आएपछि पनि उनले जडिबुटीको धुलो वितरणलाई निरन्तरता दिएका छन् । गुर्जोकोमात्र धुलो वितरण गरेर अभियान सुरु गरेका राजलवटले कोरोनाको दोस्रो लहरका बेला ४८ जडिबुटीको धुलो बनाएर वितरण गरेका थिए ।

    गुर्जोलगायत ५६ जडिबुटीबाट बनेको धुलोको माग बढ्दो

    कोरोनाको तेस्रो लहर सुरु भएपछि भने उनले ५६ प्रकारका जडिबुटीको धुलो बनाएर निःशुल्क वितरण गर्न थालेका छन् । तेस्रो लहरको कोरोना छिटो फैलने र यसले परिवारका सबैजसो सदस्यलाई ग्रस्त बनाउन थालेपछि यसको माग बढेको हो । कार्यालय समय बाहेक बिहान र बेलुका जडिबुटीको धुलो बाँडेर नै बिताउने गरेका राजलवट कोरोनालगायत फ्लुजन्य रोगबाट बच्न जडिबुटीको धुलो प्रभावकारी भएको अनुभव सुनाउछँन् । एकपटक जडिबुटीको धुलो प्रयोग गरेकाले पटकपटक फोन गरेर थप धुलो मगाउने गरेका छन् ।

    हाल गुर्जो, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैँची, टिम्बुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, ज्येष्ठमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनःनभा, अम्बापात, पारिजात पात, आँप पात, वर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जङ्गे हर्रो, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी गरी ५६ वटा जडिबुटीबाट बनेको धुलो बनाएर वितरण गरिएको छ ।

    कोरोना संक्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विका लागि गुर्जोसहितको धुलो उपयोगी मानिने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी यो धुलो वितरण सुरु गरिएको हो । आयुर्वेद चिकित्सक स्व. डा. ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा यो धुलो तयार पारिएको अभियानकर्मी राजलवट बताउँछन् ।

    संक्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको संख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् ।

    कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक यादवले सुनाए । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उनको भनाई छ ।

    हालसम्म करिब तीन लाखभन्दा बढीलाई गुर्जोका बिरुवा वितरण गरिएको उनले जानकारी दिए । त्यति नै संख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब पाँच लाख मानिसलाई खुवाइएको राजलवट बताउँछन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा. खरेल बताउँछन् ।

  • विश्व नम्बर एक बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

    विश्व नम्बर एक बार्टी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व नम्बर एक असलेग बार्टी वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको सेमिफाइनलामा प्रवेश गरेकी छन् ।

    मंगलबार मेलबर्न पार्कमा भएको खेलमा वरियताको २१औं स्थानकी जेसिका पेगुलालाई ६-२, ६-० को सोझो सेटमा हराउँदै बार्टीले सेमिफाइनलमा स्थान पक्का गरेकी हुन् ।

    फाइनल प्रवेशका लागि बार्टीले अमेरिकी मेडिसन किजसँग प्रतिसपर्धा गर्ने छिन् ।

    यसअघि किजले क्वाटरफाइनलमा वरियताको चौथो स्थानकी बारबोरा क्रेजिकोभालाई ६-३, ६-२ को नतिजामा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।

    सन् २०२०मा अस्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरिएकी बार्टी फ्रेन्च ओपन र विम्बलडनको च्याम्पियन बनिसकेकी छिन् । युएस ओपनमा भने चौथो चरण पार गर्न सकेकी छैनन् ।

  • स्थानीय तहको चुनाव सार्न मिल्दैन : खरेल

    स्थानीय तहको चुनाव सार्न मिल्दैन : खरेल

    काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् ।

    आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । ‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।’

    चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ । ‘अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

  • आमचोकका ३० विपन्न परिवारलाई गाउँपालिकाले बनाइदियो घर

    आमचोकका ३० विपन्न परिवारलाई गाउँपालिकाले बनाइदियो घर

    भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

    विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ छ । ‘हामीले यहाँका पुस्तौंदेखी पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएका हौँ’, अध्यक्ष राईले भने, ‘राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएपछि अहिले उनीहरुलाई प्रत्यक्ष लाभ पुगेको छ ।’ गाउँपालिकाले यहाँका अतिविपन्न परिवारलाई स्थानीय सरकार भएको अनुभूति दिलाएको स्थानीय ७३ वर्षीय लाभग्राही वृद्ध कानबहादुर राईले बताए ।

    जन्मेदेखि घरबिहीन भएर बसेको अवस्थामा गाउँपालिकाले घर निर्माण गरी दिएपछि आफू हर्षित भएको उनको भनाइ छ । “म ७३ वर्ष पुँगे । अहिलेसम्म मेरो जीवन गाई गोठमा बितेको थियो । यो जुनीमा मेरो घर होला भन्ने सोचेको पनि थिइन् तर गाउँपालिकाले घर बनाइदियो । आफ्नो कोही पनि साहरा नभएकाले बृद्धभत्ताबाट आएको पैसाले ज्यान बचाएको छु’, वृद्ध राईले भने, ‘विगतमा कोही नहुँदा र बासको पनि अभावमा कष्टकर जीवन बिताउनु परे पनि अहिले अभिभावक पाएको जस्तो भएको छ । गरिबको बच्चो भइयो । घर नहुँदा यो उमेरसम्म आउदा धेरै कष्टपार गरियो । आफ्नै घरमा मर्न पाइएला भन्ने सोचेको पनि थिइन् तर अहिले आफ्नै घरमा बस्न पाउँदा खुसी छु ।’

    गाउँपालिकाले घर निर्माण गरिदिएपछि दैनिक जीवनमा परिवर्तन आएको अर्का स्थानीयवासी जिदर शेर्पाले बताए । अहिले परिवारसहित गाउँपालिकाले निर्माण गरिदिएको घरमा बस्दै आएका उनले भने, ‘गरिबीका कारण जीवनमा एउटा घर बनाउन पनि सकेको थिइन् । अर्काको बनिबुतो गरेर दिन जान्छ । सरकार चाहिने भनेको हामीजस्ता नागरिकलाई त होनी । घर पाउँदा निकै खुसी लागेको छ ।’

    खुल्ला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएका कुमार सार्कीले पनि नयाँ घर पाएका छन् । अहिले नयाँ घरमा बस्न थालेका उनले भने, ‘घर नहुँदा दिन बिताउन समस्या थियो । हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई बचाउन नै गाह्रो हुन्थ्यो । ढिलै भए पनि राज्यले हामीलाई देख्यो । हाम्रो पीडा बुझ्यो । असाध्धै खुसी छु । म जस्ता धेरै दलित परिवारले घर पाएका छौँ ।’ गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित फुसको छानो हटाउने अभियानसमेत सञ्चालन गर्नाका साथै एक घर एक धाराको अभियान पनि चलाइएको बताइयो ।

  • १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

    १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

    काठमाडौं । नेपालमा कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

    विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

    मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

  • पाँच सेट खेल्दै सेमिफाइनल पुगे नाडाल

    पाँच सेट खेल्दै सेमिफाइनल पुगे नाडाल

    मेलबर्न । सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने एक्लो पुरुष खेलाडी बन्ने दाउमा रहेका राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ‌ओपनको सेमिफाइनल पुगेका छन्।

    स्पेनिस नाडालले मं‌गलबार भएको क्वाटरफाइनलमा डेनिस सापोभालोभलाई पाँच सेट खेल्दै हराएका हुन्। सुरुका दुई सेट जितेका नाडाल त्यसपछि लगातार दुई सेट गुमाएपछि अगाडि बढ्न पाचौँ तथा अन्तिम सेट जित्नुपर्ने दबाबमा पुगेका थिए।

    क्यानडाका सापोभालोभले सुरुका दुई सेट ३–६ र ४–६ ले गुमाएपनि त्यसपछिका दुई सेट ६–(४ र ६–३ ले गुमाएका थिए। तर पाचौँ सेट उत्कृष्ट पुनरागमन गर्दै नाडालले ६–३ ले जितेर सेमिफाइनलमा स्थान बनाएका हुन्। सापोभालोभ ग्रान्डस्लाममा पहिलोपटक क्वाटरफाइनल पुगेका थिए । जारी प्रतियोगितामा ३५ वर्षीय नाडालले पहिलोपटक पाँच सेट खेल्नु परेको हो। उनी २१ औँ एकल ग्रान्डस्लाम जित्ने प्रयाशमा छन्।

    पुरुषतर्फ नाडाल, नोभाक जोकोभिच र रोजर फेडेररले समान सर्वाधिक २० पटक एकल ग्रान्डस्लाम जितेका छन् । नाडालले यसअघि एकपटक मात्र अस्ट्रेलियन ओपन जितेका छन् । अघिल्ला लगातार तीन संस्करणका विजेता जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेपनि कोरोनाको आइसोलेसन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा त्यहाँको सरकारले फिर्ता पठाएपछि नाडालको सम्भावना यसपटक सहज बनेको छ।

  • टेकु अस्पतालमा आजदेखि खोप अभियान पुनः सुरु

    टेकु अस्पतालमा आजदेखि खोप अभियान पुनः सुरु

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोनाभाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालनमा आएको छ ।

    अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए ।

    उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोनाभाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालमा कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

  • ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेर ९४ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैंयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

  • मौसममा सुधार आउन केही दिन लाग्ने

    मौसममा सुधार आउन केही दिन लाग्ने

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १५ दशमलव पाँच डिग्रीसेल्सियस रहेको छ ।

  • नेपालबाट पहिलोपटक छ्यो यु हिमाल आरोहण हुँदै, बाटो बनाउन हिँड्यो आरोही टोली

    नेपालबाट पहिलोपटक छ्यो यु हिमाल आरोहण हुँदै, बाटो बनाउन हिँड्यो आरोही टोली

    काठमाडौं । नेपालको रुट हुँदै पहिलोपटक छ्यो यु हिमाल (८१८८ मिटर) को आरोहण हुने भएको छ । नेपालबाट हालसम्म आरोहण हुन नसकेको उक्त हिमाल आरोहण मार्ग निर्माणका लागि अनुभवी १० आरोही गाइडको टोली आधारशिविरतर्फ लागेको छ ।

    आरोही गाइडको टोलीले सामूहिकरूपमा पहिलोपटक छ्यो यु हिमाल आरोहणका लागि चुचुरोसम्म बाटो (रुट) निर्माण गर्ने लक्ष्य राखेको हो । आरोही गाइड प्रेम तेन्जी, गेल्जे, प्रेम दोर्जी, कर्मा, लाक्पा देण्डी, तेञ्जिङ गेल्जेन, विवस, टासी, फुरी कितर शेर्पा र गेसमान तामाङको टोली आधारशिविरतर्फ हिँडेको हो । नेपाल र चीनको सीमा रहेको छ्यो यु हिमाल नेपालतर्फबाट आरोहणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।

    विभिन्न हिमाल आरोहणका लागि बाटो निर्माणमा सफलता प्राप्त गरेको यी गाइडहरूले यो हिमालको आरोहण रुट निर्माण गर्ने लक्ष्य राखेको गाइड लाक्पा देण्डी शेर्पाले बताए । विश्वका आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने व्यक्तिले अनिवार्यरूपमा छ्यो यु हिमालको आरोहण गर्नुपर्ने भए पनि हालसम्म तिब्बततर्फकै बाटो भएर आरोहण गर्दे आएको छ ।

    नेपालतर्फबाट आरोहणका लागि बाटो निर्माण हुन नसक्दा वर्सेनी करोडौं राजश्व राज्यले गुमाउदै आएको नेपाल पर्यटन बोर्डका सदस्य ङावाङिमा शेर्पाले बताए ।

    अनुभवी सक्षम गाइडहरूको टोलीले यो प्रयास गरेका कारण सफलता हात पर्ने र आरोहण बाटो निर्माण पछि वर्सेनी करोडौं राजश्व आम्दानी हुने शेर्पाको भनाइ छ । यी गाइडहरूले व्यक्तिगत र सहयोग संकलन गरेर बाटो निर्माण गर्ने तयारी गरेको जनाएको छ । छ्यो यु हिमाल आरोहीहरूको लागि आकर्षकमध्येको एक मानिन्छ ।

  • क्रेजिकोभालाई हराउँदै किज अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

    क्रेजिकोभालाई हराउँदै किज अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व वरियताको चौथो स्थानकी बारबोरा क्रेजिकोभालाई पराजित गर्दै माडिसन किज वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

    मंगलबार मेलबर्न पार्कमा भएको क्वाटरफाइनल खेलमा किजले फ्रेन्च ओपन च्याम्पियन क्रेजिकोभालाई ६–३, ६–२ को सोझो सेटमा हराइन् ।

    किजले सेमिफाइनलमा विश्व नम्बर एक अस्लेग बार्टी र जेसिका पेगुलाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

    वरियताको ५१औं स्थानकी किज २०१५ पछि पहिलो पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकीहुन् ।

    सन् २०१७को युएस ओपनको फाइनलमा सोलाने स्टेफेनसँग पराजित भएकी किजले कुनैपनि ग्राण्डस्लाम जितेकी छैनन् ।

  • बालाटेली २०१८ पछि पहिलो पटक इटालीको राष्ट्रिय टोलीमा

    बालाटेली २०१८ पछि पहिलो पटक इटालीको राष्ट्रिय टोलीमा

    काठमाडौं । मारियो बालाटेली सन् २०१८मा पछि पहिलो पटक इटालीको राष्ट्रिय फुटबल टोलीमा परेका छन् ।

    म्यान्चेस्टर सिटी र लिभरपुलका पूर्व फरवार्ड बालाटेलीले सन् २०१८ सेप्टेम्बरदेखि आफनो देशको प्रतिनिधित्व गर्न पाएका थिएनन् ।

    टर्कीस क्लब आडाना डिमिस्पोर बाट लिग खेलीरहेका ३१ वर्षीय बालाटेलीले १८ खेलमा आठ गोल गरेका छन् । सोमबार मुख्य प्रशिक्षक रोबेर्टो मानसिनीले ३५सदसिय टोलीमा बालोटेलीको नाम समावेस गर्दै प्रशिक्षणमा बोलाएका हुन् ।

    उनले इटालीबाट खेलेका ३६खेलबाट १४ गोल गरेका छन् । तर,२०१४को विश्वकप पछि २ खेलमात्र खेलेमात्र खेल्न पाएका थिए ।

    युरोपियन च्याम्पियन इटालीले विश्व कप छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग २४ मार्चमा प्रतिस्पर्धा गर्दैछ ।

    नर्थ मासेडोनियालाई हराएमा विश्वकप छनोटका लागि इटालीले पोर्चुगल र टर्कीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले २०२२मा कतारमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ ।