Author: Anisha Tiwari

  • खोटाङमा सघन शहरी आयोजना : अस्पतालसहित ७ वटा स्वास्थ्य भवन निर्माण, ४ सडक स्तरोन्नति

    खोटाङमा सघन शहरी आयोजना : अस्पतालसहित ७ वटा स्वास्थ्य भवन निर्माण, ४ सडक स्तरोन्नति

    खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पताल सहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ। आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिब २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरण पुर्‍याएको छ। सो भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको जनाइएको छ।

    यसै आर्थिक वर्षभित्र आयोजनाले तीन वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ। केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐंसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकेको आयोजनाका खोटाङका साइट इन्जिनियर शुसिलकुमार चौधरीले जानकारी दिए ।

    ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको चौधरीको भनाई छ। जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ।

    यस्तै, सडकतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा मिलनचोक देखी सिरवास–मेवाखोलासम्मको सडक निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्था छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै पाथेका–चिमचिमादेखी सिरुवास सडक स्तरोन्नति, हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित डाँडागाँउ–लक्ष्मी मावि हुँदै घोपाटार–माझीगाँउ जोड्ने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाको भनाई छ।
    हलेसी तुवाचुङ नगरपालिका बडहरेस्थित बुद्धेखोला हुँदै लेक–बुङ्देल–बोझे जोड्ने सडक स्तरोन्नतिको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम धमाधम भइरहेको छ ।

    सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख डा.युवराज पौडेलले खोटाङमा संचालित योजनाको प्रगती उल्लेखीय भएको बताएका छन्। ‘हामीले यस आर्थिक वर्षमा खोटाङमा ११ वटा योजना संचालन गरेका थियौं । धेरैजसो सम्पन्न भइसके र बाँकी रहेका केही योजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्छौ र केही योजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका छौं पौडेलको भनाई छ।

    विकासका काममा आलटाल गर्ने कुरामा कसैसँग ‘कम्परमाइज’ हुँदैन। कामको जिम्मा लिने निर्माण कम्पनीले काम तिव्ररुपमा र गुणस्तरीय गर्नुपर्छ भनेर ताकेतासँगै अनुगमन पनि हामीले निरन्तर गरिहेका छौं, पौडेल भने । बाँकी रहेका योजनाको पनि ७० प्रतिशत भन्दा माथि काम सम्पन्न भइसकेको अवस्था रहेको उनले जानकारी दिए। उनले भने, ‘सुविधा सम्पन्नयुक्त जिल्ला अस्पतालको भवन निर्माण कार्य पनि तिव्रगतिमा निर्माण भइरहेको छ।’

    जिल्लामा गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको भनाई छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला आयुर्वेद कार्यालय हुँदै भुते जोड्ने सडक, दोर्पा–दुम्ली सडक, हाटडाँडा काफ्ले गाउँ सडक, जन्तेढुंगा गाउँपालिकाको वोपुङ–डुम्रीबोटे हुँदै बंसिलाघाट जोड्ने सडक स्तारोन्नतिको काम धमाधम अवस्थामा रहेको आयोजनाको दावी छ। गत आर्थिक वर्षका अन्य योजनाको पनि काम भइरहेको र चाँडै सम्पन्न गर्नमा ध्यान दिईएको आयोजनाले बताएको छ।

  • घट्यो सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

     

  • शान्ति स्थापना गर्न नसकेको राष्ट्रसंघिय शान्ति सेना मालीबाट फिर्ता हुँदै

    शान्ति स्थापना गर्न नसकेको राष्ट्रसंघिय शान्ति सेना मालीबाट फिर्ता हुँदै

    काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति सेनाले मालीमा शान्ति स्थापना गर्न नसकेपछि फिर्ता हुने भएको छ ।

    केहि अगाडि पश्चिम अफ्रिकी भूपरिवेष्ठित देश मालीका विदेशमन्त्री आब्लुलाए दिलोपले मालीमा शान्ति स्थापना गर्न नसकेको भन्दै झन्डै १३ हजार हाराहारीका शान्ति सेना फिर्ता लान आग्रह गरेका थिए ।

    माली सरकारको दुई हप्ता अगाडि भएको आग्रह अनुसार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज मतदान गरेर सेना फिर्ता गर्ने निर्णय गरेको हो । मालीमा जुन महिनाको अन्तिमसम्म सेना फिर्ता हुने भएको छ ।

    मालीको मिनुस्मामा दश वर्ष अगाडिबाट शान्ति सेना पठाइएको थियो । तर, सरकारले शान्ति सेनाले विद्रोहिहरुलाई दबाउने भन्दा जगाउने काम गरेको भन्दै माली सरकारले विरोध गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । मालीमा नेपाली सेनाको जनशक्ति पनि खटिएको छ । नेपाली सेनाले गत जुन ४ सम्म गरेको अद्यावधि अनुसार मालीमा १८१ जना कार्यरत छन् ।

  • रुसी प्राध्यापक भन्छन् : युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ

    रुसी प्राध्यापक भन्छन् : युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ

    काठमाडौं । रुसले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने बारेमा रुसमा कुरा उठ्न थालेको छ । यो मुद्धामा सबैभन्दा मुखर छन् रुसी प्राध्यापक सेर्गि कारागानोभ । रुसको वैदेशिक तथा रक्ष विभाव प्रतिष्ठानका मान्नार्थ अध्यक्ष समेत रहेका प्राध्यापक कारागानोभले युक्रेन युद्धमा पश्चिम युरोपले धेरै हतियार सहयोग गरेको भन्दै पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोच्नुपर्ने तर्क गरेका छन् ।

    प्राध्यापक कारागानोभको आणविक हमला प्रस्ताव रुसी विश्व च्यानल आरटीले प्राथामिकताकासाथ प्रकाशन गरेको छ । समाचार अनुसार प्राध्यापक कारागानोभले आणविक हतियारधारी मुलुक हुनुको अर्थ डर हुनपर्नेमा रुससँग धेरैले डर नराखेको भन्दै आणविक हतियार प्रयोग गर्न सुझाएका छन् ।

    उनले रुसले पश्चिम युरोपका बेलायत, फ्रान्स देखी जर्मनीलाई आणविक हतियार हान्दा अमेरिकाले पनि रुसमा हान्ने तर पश्चिम युरोपको विश्व राजनीतिको उपस्थिति कमजोर हुने तर्क गरेका छन् । आणविक हतियारको प्रयोगको सर्त बारेमा बोल्दै उनले भनेका छन्, ‘सबै कुराहरु अहिलेकै अवस्थामा रहेमा आणविक हतियार प्रयोग गर्नुपर्छ ।’

  • ऐन बनेको १५ महिनापछि बागमती उच्च शिक्षा परिषद्को सचिवालय उद्घाटन

    ऐन बनेको १५ महिनापछि बागमती उच्च शिक्षा परिषद्को सचिवालय उद्घाटन

    हेटौँडा । प्रदेश उच्च शिक्षा ऐन बनेको १५ महिना पछि बागमती प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् । बागमती प्रदेशसभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन २०७८ चैत्र १४ गते प्रमाणिकरण भएको थियो । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा नियमावली २०७९ समेत बनाईसकेको छ । ऐन बनेको १५ महिनापछि आज परिषद् सचिवालयको कार्यालय उद्घाटन भएको हो ।

    सचिवालय उद्घाटन भएसँगै अब प्रदेश सरकारलाई प्रदेश विश्वविद्यालयको काम अघि बढाउने बाटो खुलेको छ । १५ सदस्यीय परिषद्को अध्यक्ष मुख्यमन्त्री र उपाध्यक्ष सामजिक विकास मन्त्री रहने व्यवस्था छ । परिषद्को सदस्यहरुका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, अध्यक्ष र उपाध्यक्षले मनोनित गरेका सदस्यहरु र सामजिक विकास मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ । परिषदको बैठक एक वर्षमा ३ पटक बस्नै पर्ने ऐनमा उल्लेख छ ।

    उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले अब बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापनामा सरकार अघि बढने बताए । प्रदेश सरकारबाट स्थापना हुने प्रदेश विश्वविद्यालय, प्रदेश सरकारको स्वीकृतिबमोजिम मुनाफा आर्जन नगर्ने सामुदायिक विश्वविद्यालय, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान, उच्च शिक्षण संस्था र आङ्गिक क्याम्पसलाई स्वायत्तता दिने मुख्यमन्त्री जम्कट्टेलले बताए । उनले प्रदेशको आवश्यक्तालाई मध्यनजर गर्दै प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताए ।

  • रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसङ्घ

    रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसङ्घ

    काठमाडौं । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
    युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।’
  • निश्चलको ‘दिमाग खराब’ ३६ दिनमा प्याकअप

    निश्चलको ‘दिमाग खराब’ ३६ दिनमा प्याकअप

    काठमाडौं । निर्देशक निश्चल बस्नेतले सिनेमा ‘दिमाग खराब’को छायांकन ३६ दिनमा पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा सिनेमाको अन्तिम सिन खिचिएको हो । सेड्युल भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको सिनेमाको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

    सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । सिनेमाकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा सेअर गरेको सुटिङ ‘प्याकअप’पछिको सामुहिक तस्विरको पृष्ठभूमिमा लोकतान्त्रिक जनविश्वास पार्टीको बोर्ड देखिन्छ । जनता र शक्तिको कथामा बनेको सिनेमा आगामी कात्तिक २४ गते प्रदर्शन हुँदैछ ।

    ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए ।

    स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोसँगै सिनेमा ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए । ‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ । निश्चलको कमब्याक सिनेमा भएकाले दर्शकमा अपेक्षा उच्च छ ।

  • २ सयले बढ्यो सुनको भाउ

    २ सयले बढ्यो सुनको भाउ

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।

  • अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।
    नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।
    कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव छ  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।
    पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ ।
  • काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

    काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

    काठमाडौं । जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
    जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा‌. कार्कीले बताए । उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिब दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा सङ्क्रमण देखिएको तथ्याङ्क प्राप्त भएको छ ।
    रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन् । उनले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार सङ्क्रमित पशुमध्ये करिब दुई हजार भैँसी सङ्क्रमित रहेको तर भैँसी नमरेको जानकारी दिए । उनका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा सङ्क्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ ।
    जिल्लामा देखिएको रोगका कारण ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा ६ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको जनाएको छ । ‘जिल्लामा रोगको सङ्क्रमण बढेसँगै केन्द्रले लम्पी स्किनविरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ’, निमित्त प्रमुख कार्कीले भने ।
    उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।
    यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।
  • उकालो लाग्दै अण्डाको मूल्य

    उकालो लाग्दै अण्डाको मूल्य

    काठमाडौं । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।

    बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को चार सय रुपैयाँ, मिडियम अण्डा तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो)को चार सय १० रुपैयाँ कायम गरिएको छ । अण्डाको मूल्य घट्दै गएर किसान विस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरी बजारीकरणमा जुटेका छन् ।

    सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रुपैयाँ पर्न आउँछ । अण्डाको मूल्य घट्दै गएर दुई सय ४० सम्म झरेको थियो । उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।’

    औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । दुई वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको थियो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो । अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन बजारी करणमा जुटेकै कारण मूल्य पाउन थालिएको उनको भनाइ छ । विगतको तुलनामा उत्पादन घटेको छ । लागत मूल्य नपाए पछि धेरै कृषक विस्थापित भएका छन् । ऋण थप्न सक्ने कृषकमात्र टिकेका हुन् । यससँगै गर्मीका कारण पनि अण्डा उत्पादन घटेको छ । विगतको तुलनामा अण्डा २५ प्रतिशतभन्दा बढी उत्पादन घटेको छ । बढेको समयमा दैनिक ५० लाखसम्म अण्डा पुगेको अनुमान गरिएको थियो ।

    सङ्घका सचिब मदन पोख्रेलले लागत मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने उनी बताउछन् । बजारमा अहिले पाइने खाद्यान्नमा पोषणको हिसाबले सबैभन्दा सस्तो अण्डा भएको पोख्रेल बताउछन् ।

    सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने व्यवसायी बताउँछन् । निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण रहेको छ । अण्डा उत्पादक कृषक र व्यवसायीले काठमाडौंमा आउटलेटसमेत खोलेर बजारीकरण गरिरहेका छन् । सङ्घका अध्यक्ष पोख्रेलले विगत ६ महिनामा देशका अधिकांश जिल्ला पुगेर अण्डाको महत्व र बजारीकरणमा लागेकै कारण मूल्यमा सुधार भएको बताए । किसानको लागतअनुसारको मूल्य पाउन अझै नसकिएको उनी बताउँछन् ।

  • समर्थकसँग रविको आग्रह – सामाजिक संजालमा अशहिष्णु नबन्नुस्, नेतृत्वलाई अप्ठेरो पर्छ (भिडिओ)

    समर्थकसँग रविको आग्रह – सामाजिक संजालमा अशहिष्णु नबन्नुस्, नेतृत्वलाई अप्ठेरो पर्छ (भिडिओ)

    काठमाडौं । सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरु असहिष्णु भएर गालिगलौजमा उत्रिएको टिप्पणी भइरहेका बेला रवि लामिछानेले अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।

    रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए ।

    उनले भने–हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।

    लामिछानेले माया गर्न पनि जान्नुपर्ने भन्दै रास्वपा समर्थकले आफ्ना नेताहरुका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै डिएक्टिभ गरेर हिड्ने अवस्था आउन नहुने बताए । उनले तर्कहीन मान्छेले मात्र गालिगलौज गर्ने बताए ।

     

  • वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

    वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भारी संख्यामा दरखास्त खुलाएको छ ।

    शुक्रबार बैंकले वरिष्ठ प्रबन्धक तह ९ औं देखि सहायक तह ४ औं सम्मका लागी कुल ४६५ पदका लागि आवेदन माग गरेको छ । बैंकले खुल्ला तथा समावेशी प्रतियोगिताका लागि अनलाईन दरखास्त आव्हान गरेको हो ।

    आवेदन असार ३० गतेसम्मका लागि खुलाइएको छ भने दोब्बर दस्दुर तिरेर श्रावण ६ गतेसम्मका लागि खुल्ला रहेको छ ।

  • टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी बिष्फोट हुँदा पाँच जनाको मृत्यु

    टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी बिष्फोट हुँदा पाँच जनाको मृत्यु

    न्युर्योक । टाइटनिक पर्यटन पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।

    सो सँगै पाँच दिन लामो खोज अभियानपछि अमेरिकी तटरक्षक गार्डले बिहीबार बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको जानकारी दिए ।

    अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने, ‘क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो ।’

    ‘रोयटर्सका अनुसार ६७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन ? भनेर कुनै उल्लेख गरिएको छैन।

    ‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सबन्धित छ,’ मौगरले भने ।

    संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्कबिहीन हुन पुगेको थियो । समुन्द्रको गहिराईमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी बिज्ञहरुले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरु फेला परे पछि विष्फोट भएको पुष्टी भएको हो ।

    कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन् ।’

    उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपती बाऊछोरा, बेलायती अर्बपती र पाइलटसहित पाँच जना सवार थियो ।

  • महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

    महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद सम्पन्न

    काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्तर्राष्ट्रिय श्रम वकालत संस्था (आईएलओ) र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ ।

    नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महिलाहरुको अवस्था र उनीहरु मर्यादित पेशाबारे एक अन्र्तक्रिया कार्यक्रम नीति संवाद बिहीबार काठमाडौं म्यारियट होटलमा सम्पन्न गरेको हो ।

    कार्यक्रममा फिल्म उद्योगमाथी अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्मको अवस्था, महिलाहरुको अवस्था, महिलाहरुको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरुको रोजगारीको सुनिश्चितता बारे विषयहरु समावेश भएको थियो ।

    फिल्म उद्योगका महिलाहरुलाई मर्यादित पेशाबारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरी कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताईन् ।

    प्रतिवेदन प्रस्तुतपछि उपस्थित व्यक्तित्वहरु र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल र सदस्य सचिव तोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

    यस्तै कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले चलचित्र उद्योगमा आफुले भोगेका अनुभव सुनाएकी थिईन् । यस्तै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रह गर्दै सुझावहरु दिएका थिए ।

    सरकारले फिल्म नीति पास नगर्नु र उद्योगमो मान्यता दिएपनि सेवा सुविधा नदिँदा फिल्म उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए ।

    आईएलओ नेपाल र युएन वुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, फिल्म क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो ।कार्यक्रममा आईएलओका कन्ट्रि डाईरेक्टर नुमान ओज्कानको पनि उपस्थिती रहेको थियो ।

    यस्तै महिला बालबालिका मन्त्रालयकी शाखा अधिकृत, श्रम मन्त्रालयकी शाखा अधिकृत, शिक्षा मन्त्रालयकी शाखा अधिकृत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत, पर्यटन मन्त्रालयकी शाखा अधिकृत, राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक, अर्थ मन्त्रालयकी शाखा अधिकृत, युनेस्कोका प्रतिनिधि, प्लान ईन्टरनेशनलकी प्रतिनिधि, निर्देशक समाजका प्रतिनिधि, नृत्य संघका प्रतिनिधिलगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियोे ।

  • शुक्रबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    शुक्रबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन  बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

  • ब्राउन सुगर सहित हेटौंडाबाट दुइजना पक्राउ

    ब्राउन सुगर सहित हेटौंडाबाट दुइजना पक्राउ

    हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगर–१५ स्थित रातोमाटेबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
    बुधबार पथलैयाबाट हेटौंडा आउदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोलाई चेक जाँच गर्दा माईक्रोमा सवार धिरजको साथबाट अन्दाजी ५/६ ग्राम खैरो हिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
  • दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

    दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

    काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ ।
    कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनःसञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए ।
    बुधबार बिहान ७ बजेदेखि उद्योग सञ्चालनमा आएको र अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतले बताए । दुई महिनासम्म उद्योग बन्द हुँदा रु २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए ।
  • उपेन्द्रको टिप्पणी- बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, समाजवादी मोर्चामा छुटेर ठिकै भयो (भिडिओ)

    उपेन्द्रको टिप्पणी- बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ, समाजवादी मोर्चामा छुटेर ठिकै भयो (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्।

    चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’

    उनले मोर्चालाई दिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो खुला रहेको बताए।

    उनले भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन। छाडेको पनि होइन। उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखेको होइन। न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला।’

  • बजेट गठबन्धन दलसँग छलफल नगरी आएकाले संशोधन हुन्छ : उपेन्द्र यादव

    बजेट गठबन्धन दलसँग छलफल नगरी आएकाले संशोधन हुन्छ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारले गठबन्धन दलसँग छलफल नै नगरी बजेट ल्याएको आरोप गरेका छन्।

    पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बजेट न्यायचित नभएकाले यथास्थितीमा पारित हुन सक्ने बताए।

    उनले भने, ‘बजेटले मधेशसहितका ठाउँहरुलाई उपेक्षा गरेको छ। हामीले सुर्धान, सच्चाउनुपर्छ भनेका छौं। सच्चिएर अगाडि बढ्छ।’