Author: Anisha Tiwari

  • आयरल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै नेपाल

    आयरल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै नेपाल

    काठमाडौं । विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्न भएको छ। आयरल्यान्डले टस जितेर बलिङ रोजेको हो।

    यसअघि सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपालले यूएई र आयरल्यान्डले अमेरिकालाई हराएका थिए। आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो।

    नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन। यसअघि वेस्ट इन्डिज र जिम्बाबेसँग प्रतिस्पर्धा गरेकामा दुवैमा पराजित भएको थियो।

  • ब्याजदर निर्धारण बजारले गर्नुपर्छ, अर्थमन्त्रालयले राष्ट्र बैंकलाई प्रश्न गर्ने बेला आयोः पर्शुराम कुँवर क्षेत्री

    ब्याजदर निर्धारण बजारले गर्नुपर्छ, अर्थमन्त्रालयले राष्ट्र बैंकलाई प्रश्न गर्ने बेला आयोः पर्शुराम कुँवर क्षेत्री

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको व्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणमा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको बताएका हुन् ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै पूर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको ब्याजदरमा एकरुपता ल्याउने अभ्यास गर्न नहुने बताएका हुन् । विगतदेखि भईरहेको अभ्यासले प्रतिष्पर्धी बजारको विकास हुन नसकेको बताएका उनले यस सम्बन्धमा अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको बताए ।

    परिस्थिति अहसज भएका बेला बैंकहरुले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको भन्दै क्षेत्रीले ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयम्लाई दिनुपर्नेमा जोड दिए ।

    बैंकिङ क्षेत्रमा अहिले साढे ३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएको अवस्थामा बैंकहरुले आफू अनुकुल व्याजदर निर्धारण गर्नुपर्ने उनले बताए । ‘हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न राम्रो भुमिका खेलेको थियो, नेपाल राष्ट्र बैंकले अनौपचारिक दबाब पनि दिएको हो,’ क्षेत्रीले भने, ‘अहिले साढे ३ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ । यस्तोमा ब्याजदर बढाउने कि घटाउने बैंलाई नै छाड्नुपर्छ ।’

    ‘खुला अर्थतन्त्रमा सबै बैंकको एउटै ब्याजदर कसरी हुन्छ ?’ क्षेत्रीले प्रश्न गरे । एउटै ब्याजदर हुँदा ग्राहकलाई कुन बैंकमा पैसा जम्मा गर्ने भन्ने छनोट गर्न पनि असहज भएको उनको भनाई छ । ‘यस सम्बन्धमा अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग जवाफ माग्नुपर्ने बेला भएको छ,’ क्षेत्रीले थपे, “राष्ट्र बैंकले पनि बैंकर्स संघलाई नैतीक दबाब दिनुपर्छ ।

    अहिले बजारमा बैंकहरुसँग ३ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुसँग कुल स्रोत ५९ खर्ब २५ अर्ब रुपैयाँबाट ९० प्रतिशत सीडी अनुपातको आधारमा ५३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ । तर, शनिबारसम्मको तथ्य अनुसार ४९ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । अर्थात् बैंकहरुसँग ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गर्नसक्ने स्पेस छ ।

    चालु आर्थिक वर्षको साढे ११ महिनामा बैंकहरुले १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह गरेका छन् । अर्थात् बैंकको क्षमता अनुसार कर्जा प्रवाह हुने हो भने दुई साताभन्दा कमको अवधिमा साढे ११ महिनाको भन्दा ३ गुणा बढी कर्जा प्रवाह गर्न सक्छन् । नेपाल राष्ट्र बैंकले चालु आवमा कुल कर्जा प्रवाह १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको थियो । तर, साढे ११ महिनामा ३.०८ प्रतिशतले मात्र कर्जा प्रवाह बढेको छ । बाँकी अवधिमा केन्द्रीय बैंकको लक्ष्यअनुसार कर्जा प्रवाह हासिल हुन बजारमा पर्याप्त लगानीयोग्य रकम भए पनि लक्ष्य पुरा हुने देखिँदैन ।

    पूर्व बैंकर क्षेत्रीले नेपालको कर्जा-जीडीपी अनुपात पनि दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा बढी रहेको बताए । नेपालमा बैंकहरुले मात्र कर्जा प्रवाह गर्छन् । विदेशमा कर्पोरेट क्षेत्रले बैंकसँगै धितोपत्र बजार र विदेशी संस्थाबाट विभिन्न उपकरणका माध्यमबाट पनि ऋण लिन्छन् । जसका कारण ति मुलुकमा कुल गार्हस्थ उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ । तर, नेपालको सन्दर्भमा भने कर्जा बैंकबाट मात्र परिचालन हुने भन्ने बुझाई र व्यवहारले कुल गार्हस्थ उत्पादनमा कर्जाको हिस्सा धेरै हुने गरेको छ । ऋणका सबै स्रोत मिलाउँदा पनि नेपालको कुल गार्हस्थ उत्पादनमा कर्जाको अनुपात दक्षिण एशिया क्षेत्रकै बढी हुने क्षेत्रीको ठहर छ । यद्यपि यी सबै कर्जा उत्पादनमुलक क्षेत्रमा भन्दा व्यापारिक क्षेत्रमा प्रवाह भएकाले आर्थिक वृद्धिमा योगदान दिन नसकेको क्षेत्रीको भनाई थियो ।

    पर्शुराम कुँवर क्षेत्री स्रोत व्यक्ति रहेको नाफिज संवादमा दुई दर्जन बढी आर्थिक पत्रकारले बैंकिङ क्षेत्र, नियामकको भुमिका तथा बैंकिङ तथ्यांकबारे एक दिवसीय प्रशिक्षण लिएका थिए ।

  • सुनको भाउ बढ्यो

    सुनको भाउ बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने हिजो १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ।

  • सत्ता गठबन्धनको बैठक बस्दै, कोशीमा नयाँ सरकार गठन पनि एजेण्डा

    सत्ता गठबन्धनको बैठक बस्दै, कोशीमा नयाँ सरकार गठन पनि एजेण्डा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।

    दिउँसो चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए। बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा पनि छलफल हुने बताइन्छ।

    आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।

    बैठकमा पछिल्ला समसायिक बिषयमा छलफल हुने बताए। बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने उनले बताए।

    गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

    कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्‍याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

    एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।

  • दीपकको नयाँ गीत ‘एक्लो‘’ सँगै नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ को घोषणा

    दीपकको नयाँ गीत ‘एक्लो‘’ सँगै नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ को घोषणा

    काठमाडौं । गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ गीत ‘एक्लो’ रिलिज गर्दै ‘प्रोजेक्ट नजिक’ को घोषणा गरेका छन् । नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ मार्फत उनले नयाँ तथा पुराना ९ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका हुन् । हाल तयार पारिसकेका नयाँ तथा पुराना ९ गीतलाई एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउने दीपकको तयारी छ । जसमा १२ वटासम्म गीत रहने छन् ।

    दीपकले यो अभियान स्वदेश तथा विदेशमा सञ्चालन गर्ने तयारी गरेका छन् । जसको पहिलो प्रारुपको रुपमा नयाँ गीत ‘एक्लो’लाई लिइएको छ । गीतलाई म्युजिक भिडियोमा मात्र सीमित नगरेर सिधै दर्शकमाझ प्रस्तुत गर्ने सोचअन्तर्गत उनले ‘प्रोजेक्ट नजिक’को थालनी गरेको गायक तथा संगीतकार दीपक बताउँछन् ।

    ‘प्रोजेक्ट नजिक’ एक डिजाइनिङ शो हो, जुन तीन भागमा विभाजन हुने दीपक बताउँछन् । जसमध्ये पहिलो भागलाई अनप्लग लाइभ अर्थात् स्पट लाइभ इभेन्ट , दोस्रो भागमा मीट एण्ड ग्रीट तय गरिएको छ भने तेस्रो भाग अपबिट कन्सर्ट अर्थात् ईडीएम हो । जसमा कार्यक्रमको मजा लिंदै नाच्दै, गाउँदै रमाउँदै नयाँ र पुराना गीतको प्रस्तुतिमा रमाउन सकिने दीपक बताउँछन् ।

  • जिल्ला अदालतमा वरिष्ठ अधिवक्ताको लर्को, अमिर-प्रेमिका हातपात प्रकरण बन्दैछ चर्को (तस्बिरहरु)

    जिल्ला अदालतमा वरिष्ठ अधिवक्ताको लर्को, अमिर-प्रेमिका हातपात प्रकरण बन्दैछ चर्को (तस्बिरहरु)

    काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको घटना चर्किएको छ। तर, कानून व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन्।

    ललितपुर बार अध्यक्ष राम श्रेष्ठले सेवा लिन जाने कानून व्यवसायीमाथि नै मुक्का प्रहार गरेको आरोप लगाए।

    उनले भने, ‘लेनदेनको कुरा उहाँले गर्नुभएको छ। त्यसमा सहमत नभएपछि उल्टै हाम्रो कानून व्यवसायीमाथि यो घटना बाहिर आएको अवस्था छ। यो घटनालाई तत्काल न्यूनिकरणका लागि हामीले प्रशासनसँग अदालतसँग सम्पर्कको कोसिस गर्यौं। तर, त्यो दिन सम्पर्क हुन सकेन। १५ गते हामीले अदालत प्रशासन, बार एसोसियसन, स्वम पीडितसँग बसेपछि सहमति नजिक पुग्दैथियौं।’

    प्रेमिकालाई बाहिरको व्यक्ति आएर लगेपछि कुरा विग्रिएको उनको भनाइ छ। तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछाने भने छुटिसकेका छन्।

    नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानून व्यवसायीहरूले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगरी आन्दोलनमा उत्रिएका हुन्।

    तस्बिरहरु  : उमेश कार्की

  • ‘राजा महेन्द्रको आदेशमा दोब्बर मुआब्जा दिएर ललिता निवास लिएको हो, जीवित साक्षी अब म मात्र छु’ (भिडिओ वार्ता)

    ‘राजा महेन्द्रको आदेशमा दोब्बर मुआब्जा दिएर ललिता निवास लिएको हो, जीवित साक्षी अब म मात्र छु’ (भिडिओ वार्ता)

    काठमाडौं । जतिबेला राजा महेन्द्रले बालुवाटारको ललिता निवास सरकारीकरण गरे त्यसबेलाको सरकारका एकमात्र जीवित सदस्य बाँकी छन् नवराज सुवेदी । ललिता निवास प्रकरणमा सरकारले फेरि अनुसन्धान थालेसँगै यसको इतिहास खोतल्न हामीले पन्चायती व्यवस्थाका ‘लिभिङ लिजेण्ड’ नवराज सुवेदीलाई सम्पर्क गर्यौं ।

    २०२१ सालमा कांग्रेसका संस्थापक सुवर्ण शमसेरको हदबन्दी भन्दा बढी जग्गा सरकारले लिएको थियो । उनलाई अराष्ट्रिय तत्व घोषणा गरेर थप १४ रोपन जग्गा अधिग्रहण गरिएको स्मरण नवराज सुवेदीलाई अहिले पनि छ ।

    एक दिन राजा महेन्द्रले नवराज सुवेदीलाई बोलाएर प्रधानमन्त्री, राष्ट्रिय पन्चायतका अध्यक्ष,राजपरिषद सभापति र प्रधान न्यायाधीशको लागि सरकारी आवाज बनाउँनका लागि जग्गा खोज्न नवराजलाई अह्राए । धेरै ठाउँ खोजेपछि अन्तिममा बालुवाटारको सोही जग्गा राजालाई देखाएर स्वीकृति लिए ।

    त्यसबेलाका निर्माण यातायात तथा सन्चार मन्त्री सुवेदीले नेपाल प्रेससँगको भिडिओ अन्तर्वार्तामा राजा महेन्द्रको आदेश बमोजिम त्यसबेलको चल्तिको भन्दा दोब्बर मूल्य दिएर बालुवाटारको जग्गा अधिग्रहण गरेको सुनाए ।

    त्यसबेला के भएको थियो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनको जवाफ यस्तो छ,

    त्यसबेला के भएको थियो भने, १४ रोपनी चानचुन जग्गा सुवर्ण शमसेर ‘अत’ (अराष्ट्रिय तत्व) घोषणा भएकाले त्यस्ता केही व्यक्तिको सम्पत्ति पन्चायत सरकारले जफत गरेको थियो । २०२६ सालको शुरुतिर हो,एक दिन राजा महेन्द्रबाट मलाई हुकुम भयो–हेर नवराजध प्रधानमन्त्री,प्रधान न्यायाधीशसहितको निवास बनाउनु पर्‍यो । तिम्रो मन्त्रालय अन्तर्गत पर्ने हुनाले ठाउँ हेरेर बनाउदेऊ है ।

    मैले हुन्छ सरकार भनेँ । त्यसपछि भवन विभाग र सडक विभागका इन्जिनियर लिएर धेरै ठाउँमा जग्गा हेरेँ । गोदावरीतिर पनि हरेको मन परेन । त्यहि बेला भवन विभागको चिफ इिन्जिनयिर गौरीनाथ रिमालले यो ललिता निवासमा हेरौं न त्यहाँ १४ रोपनी जग्गा छ सुवर्ण शमसेरको जफत गरेको भनेपछि त्यहाँ गएर हेर्दा मलाई चित्त बुझ्यो । मैले महाराधिराजलाई जाहेर गरेपछि उहाँको सवारी भयो ।

    महाराजाधिराजले हरेपछि यतिले पुग्दैन अरु जमिन अधिग्रहण गरेर यो ठाउँमा ठिक छ भनेपछि जमिन अधिग्रहण भयो । जमिन अधिग्रहण गर्दा चलेको मूल्यभन्दा डबल दिएर गनु भनेर राजाबाट हुकुम भयो । त्यसबेला जग्गा अधिग्रहण र मुआब्जा दिने काम अन्चालाधीशले गर्थे ।

    त्यसबेला मुख्य अन्चलाधीश बिष्णुमणी आचार्य थिए । उहाँलाई मैले बोलाएर यो जमिन अधिग्रहण गर्न प्यो भनेपछि तीनवटा घर बनाउँन केही जमिन त्यो बेला अधिग्रहण भयो । मुआब्जा पनि सबैलाई दिएर लिएको हो । प्रधानमन्त्री बस्ने अहिलेको घर मैले नै शिलान्यास गरेको हो । १ वर्षभित्रमा तयार भएको हो ।

    पछि बहुदल आयो,म राजनीतिबाट किनारा लागेँ । २०५४ सालमा लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री भएका बेला एकलिन लन्च खान बोलाउनुभयो । म गएको दिन खाना खाएपछि दक्षिणतिरको कम्पाउन्ड मैले वाल लगाएको ठाउँ धमाधम भत्काउन लागेको देखेपछि आश्चर्य लाग्यो ।

    एकछिनपछि सोधेँ, ए लोकेन्द्रजी किन भत्काउने भन्दा खोइ पव्लिकको जमिन परेको भन्छन् भन्नुभयो । पछि काण्ड बाहिर आएपछि त्यो खेलो रहेछ ।

    २०४७ सालमा कृष्ण प्रसाद भट्टराईको मन्त्रिपरिषदले पन्चायतविरुद्ध संघर्षमा लाग्दा सम्पत्ति हरण भएकाहरुको फिर्ता गर्ने निर्णयमा टेकेर सरकारले दोब्बर मुआब्जा दिएर सरकारीकरण गरेको जमिनमा लुटपाट मच्चाइएको नवराज सुवेदीको दाबी छ ।

    सुवेदी भन्छन्-

    बहुदल आएपछि रुक्म शमसेर जो सुवर्ण शमसेरका छोरा हुन् उनीहरु पनि कांग्रेस भए । हाम्रो जमिन पन्चायतले लुटेर खायो आखिरमा पैसा दिएर त्यो बेलाको नियम कानून अनुसार मुआब्जा दिएर त्यो जमिन लिएको हो हामीले सरकारमा हुँदा । अहिलेकाले हेर्नुस यो त लुट र डकैतीमा होइन राष्ट्र द्रोह नै हो ।

    त्यसबेला ललिता निवास जस्तै अरु ८ वटा दरवार लाखौं मुआब्जा दिएर अधिग्रहण भएका थिए । राष्ट्र बैंक भएको दरवार ललिता निवास,महावीरको दरवार,सीता महारानीको दरवार,शंकर शमसेरको दरबार, हरिहर भवन, श्री महल यी दरवार एकैपटक अधिग्रहण भएको हो । ललिता निवास दरवारबाहेक त्यो बाहकेको जमिन सरकारी घरहरु बन्ने भएपछि मुआब्जा दिएर अधिग्रहण भएको हो । सबैले त्यो बेलाको मूल्यभन्दा दोब्बर रकम पाएका छन् ।

    तपाईलाई के भनौं,त्यसबेला जब यिनीहरुले जग्गा हडप्ने योजना बनाए सरकारले मुआब्जा दिएको कागजपत्र हराउनका लागि रानीपोखरीस्थित अन्चलाधीश कार्यालयमा आगो लगाइयो । गृह मन्त्रायमा छ पूरानो कागजपत्र भनेर एउटा धुर्त सुब्बा हो कि खरदारलाई लगेर गृहका कागजपत्र चोरी गराइयो । यो अहिले त मदन पुरस्कार गुठीमा रहेछ कागजपत्र र पो थाहा भयो ।

    को हुन् नवराज सुवेदी

    २०४६ सालको जनआन्दोलनको उत्कर्षको बेला आन्दोलनकारीको तारो थिए तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी । यदि वहुदलीय व्यवस्था स्थापनामा केही ढिला भएको थियो भने उनी प्रधानमन्त्री बन्ने लाइनमा थिए ।

    तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कहिल्यै पावरमा फर्किएनन् । तर राप्रपाको राजनीतिमा भने रहिरहे । ८५ वर्षीय पञ्चायती लिजेण्ड तीनै सुवेदी ललिता निवासको जग्गा सरकारीकरण गर्ने प्रमुख व्यक्ति हुन् ।

    उनले एक वर्षअघि विशेष अदालतका इजलासमा उभिएर बयोबृद्ध राजनीज्ञ सुवेदीले ललिता निवासको जग्गा आफूले नै सरकारको नाममा ल्याएको र २०२६ सालमा तत्कालीन राजा महेन्द्रसँगको सल्लाह अनुसार प्रधानमन्त्री,प्रधान न्यायाधीश,राष्ट्रिय पञ्चायतका अध्यक्षको निवास बनाउनका लागि हदबन्दी भन्दा बढीको जग्गा अधिग्रहण गरेको इतिहास सुनाएका थिए ।

    इजलासमा वकिलहरुले मालपोतमा कुनै प्रमाण नरहेको प्रश्न उठाएपछि उनले ‘भ्रष्टाचारीहरुले प्रमाण नष्ट गरे होलान्’ भन्दै त्यसको जिम्मेवारी सरकारको हुने जवाफ दिए ।

    त्यसबेला नवराज सुवेदी निर्माण तथा यातायात मन्त्री थिए । राजा महेन्द्रका विश्वासिला । रामेछापका पण्डित साम्बभक्त सुवेदीका छोरा नवराजप्रति राजा महेन्द्रको असीम विश्वास थियो ।

    उनले मन्त्री बनाउनुअघि नवराजलाई भनेका थिए– हेर नवराज, म तिमीलाई मन्त्री बनाउँदैछु, तर तिमीले ६ जना घुस्याहा इन्जिनियरलाई कारबाही गर्नुपर्छ ।

    नवराजले मन्त्री भएपछि सिन्चाइ, यातायात लगायतका अड्डाका ती घुस्याहा इन्जिनियरलाई कारवाही गरेर अहिलेको बालुवाटार निर्माण गरेका थिए । त्यतिबेलाको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमध्ये अहिले जीवित नवराजमात्रै रहेछन् । त्यसैले उनले भएजति सबै कुरा इजलासमा बताइदिए ।

    रामेछापका त्यो जमानाका पण्डित साम्बभक्त सुवेदीका छोरा नवराज पहिलोपटक २०२४ मा अर्थ सहायक मन्त्री भएका थिए । त्यसपछि ०४३ सालसम्म पटक पटक विभिन्न मन्त्रालय सम्हाले । उनी निर्माण मन्त्री भएका बेला बालुवाटारको अहिलेका संरचना बनेका थिए ।

    सुवेदी पञ्चायतकालमा परराष्ट्र र शिक्षा बाहेक सबै मन्त्री बनेका थिए । २०४३ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका उनी प्रधानमन्त्री बन्ने बेला पञ्चायत व्यवस्था ढलेको थियो । संयोग नै मान्नुपर्छ २०२५ सालमा भारतले नेपालमाथि लगाएको पहिलो नाकाबन्दीको सामना गर्ने मन्त्री पनि उनै थिए ।

    सुवेदीले तीनपटक सम्म राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा विभिन्न कारणले अश्वीकार गरेको आफ्नो आत्मकथामा लेखेका छन् ।

    यो पनि पढ्नुहोस् :

    ललिता निवासमा चार प्रधानमन्त्रीका ठूला निर्णय- कसको पालमा के भयो ? (माइन्युटसहित)

    सर्वोच्चका दुई फैसला- ललिता निवास सरकारी होइन व्यक्तिको हुने ठहर (प्रमाणसहित)

    ‘पञ्चायती लिजेण्ड’ को बयान- राजा महेन्द्रलाई लगेर ललिता निवास सरकारीकरण गरेको थिएँ

  • प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई (भिडिओ)

    प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई (भिडिओ)

    काठमाडौं । प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् ।

    सशस्त्र प्रहरी परिवार महिला संघको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं शनिबार भएको दौडको २१ किलोमिटर दुरी उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा पार गरिन् ।

    हल्चोकको रंगशालाबाट सुरु भएको दौड स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्ड पुगेर पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

    नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो र त्रिभुवन आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन् ।

    विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन् । १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन् । उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ जितेका छन् ।

  • प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना (भिडिओ)

    प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना (भिडिओ)

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानूनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् ।

    ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको र यसबारेमा ध्यान दिन नसकेको बताए ।

    उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको बताए । संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको समेत बताए ।

    उनले भने, ‘कानून किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसदले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर अहिले म सुन्दैछु, संसदले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईहरु संसदले हेर्ने होइन । ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन । हुनेलाई कसरी मेरो सत्ता बचाउँ, नहुनेलाई सत्तामा जान हतारो । त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानूनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसदको अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईहरुले । त्यो हेर्नुपर्छ । संसदको कामै छैन, त्यो हेरिँदैन भने । संसदको इच्छा बेगरको कुरा कुनै ऐन, कानूनबाट हुँदैन । त्यही भएर संसदले नै कानून बनाउनुपरेको हो । यहाँ प्रशासनले जे पनि गरिरहेको छ ।’

    पूर्वसभामुख ढुंगानाले संसद प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए । उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताएका छन् ।

  • मनाङको यात्रा  : कटे मनाङ, झरे मर्स्याङ्दी नदीमा

    मनाङको यात्रा  : कटे मनाङ, झरे मर्स्याङ्दी नदीमा

    लमजुङ । घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो ।
    उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन् ।
    मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बेँसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान्को भरोसामा यात्रा गर्न यात्रु बाध्य छन् । यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा पुग्छन् । यस्तो जोखिम मोल्नुको विकल्प छैन मनाङवासीलाई ।
    जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि  सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।
    सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
    बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
    सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन् । मनाङवासीसँगै,  लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।
    बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए । ‘ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच । मर्स्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्’, उनले भने । यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
    विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङकावासी बताउँछन् ।
    भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताए । उनले समय-समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा जोड दिए ।
    ‘बेलाबेला ठाउँठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि ? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि ? भन्ने जोखिम छ’, यस सडकखण्डका चालक रामबहादुर तामाङले भने । उनले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मर्स्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताए ।
    ‘हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ’, तामाङले भने । यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उनको भनाइ छ । विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उनले बताए ।
  • मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं। नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको हो।

    नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

    नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

  • नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण (भिडिओ)

    नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण (भिडिओ)

    काठमाडौं । नेपाली युवा प्रकाश राज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।

    सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ किर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुसतर्फ प्रस्थान गरेका थिए । एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो ।

    रुसको दक्षिणी भेगमा ककेशश हिमश्रृंखलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामांग रहेका थिए । जुन २९ को बिहान ९ः०० बजे पाण्डेले एलब्रुस ईस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रुसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

    हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरुको आरोहणलाई विशेष मानिन्छ जसलाई सेभेन समिट भनिन्छ । पर्वतारोहणमा रहेका हजारौं आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन् ।

    नेपाली युवा आरोही पाण्डेले सगरमाथा सहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् । सन् २०१६ देखि आरोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए । नेपाल स्काउटका सदस्य समेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक दुइपटक आरोहण गरिसकेका छन् भने विदेशी स्काउटहरुलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् ।

  • प्रधानमन्त्रीलक्षित लिङ्देनको टिप्पणी- भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो (भिडिओ)

    प्रधानमन्त्रीलक्षित लिङ्देनको टिप्पणी- भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्नुभयो (भिडिओ)

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठुला भनिएका सबै दलका शीर्ष नेताहरु भ्रष्टाचार लिप्त रहेको आरोप लगाएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा ठुला काण्डहरुमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गरे।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चार गरेको बताए।

    उनको भनाइ जस्ताको तस्तैः
    अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ। तपाईंहरु ज्युदो साँची हुनुहुन्छ। भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्। भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्। ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु यकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। हामीले सुरु गर्यौं भने। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।

  • पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

    पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

    काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।

    हालसम्म प्रतिउडान ८ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकोमा अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमा रकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताए ।

    अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको ६ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए । उनले भने, ‘पहिला ३ हजार नौ सय पाउँथे ।’ नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए ।

  • फेसबुक छोडेर कम्बोडियाका प्रधानमन्त्री टिकटक र टेलिग्राममा

    फेसबुक छोडेर कम्बोडियाका प्रधानमन्त्री टिकटक र टेलिग्राममा

    काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले फेसबुक छोडेर टिकटक र टेलिग्राममा जोडिएका छन् । हुन सेनले केहि समय अगाडि गरेको एक पोस्टको आधारमा फेसबुकको ओभरसाइट बोर्डले ६ महिना प्रतिबन्ध लाउने प्रस्ताव गरेसँगै हुन सेनले आफैँ फेसबुक छोडेका हुन् ।

    हुन सेनको फेसबुकमा १ करोड ४० लाख फलोअर रहेको बिबिसीले उल्लेख गरेको छ । केहि समय अगाडि भिडियो सन्देशमा हुन सेनले प्रतिपक्षिलाई हमला गर्ने सन्देश पोस्ट गरेका थिए ।

    त्यसलाई ६ लाख बढिले हेरेका थिए । त्यहि भिडियोलाई लिएर फेसबुकको ओभरसाइट बोर्डले बिहिबार ६ महिना प्रतिबन्धको प्रस्ताव ल्याएको थियो । प्रस्ताव आएको केहि समयमै हुन सेनले आफ्ना सहयोगीलाई आफ्नो फेसबुक पेज डिलिट गर्न भनेका थिए ।

    फेसबुक छोडेर टिकटक र टेलिग्राममा हुन सेन पुग्नुलाई कम्बोडियाको चीन र रुससँग नजिक हुने नीतिसँगै जोडिने बताउँछन् हुन सेन्स कम्बोडिया नामक पुस्तकका लेखक सेबास्तियन स्टे«ङ्गियो । ६९ वर्षका हुन सेन कम्बोडियाको सत्तामा प्रधानमन्त्रीको रुपमा बिगत ३८ वर्ष देखि लगातार छन् ।

  • मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

    मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

    काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

    गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए ।

    ‘योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ’, उनले भने, ‘मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।’

    धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी धर्मशालाकै रुपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयवासीसहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र बोलपत्र रद्द गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

    विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अवस्था भए पनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयवासीको गुनासो छ । मनकामना क्षेत्र विकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो ।

    गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आशङ्कासमेत स्थानीयले गरेका छन् ।

    धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनको लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए ।

  • चितवनको खेतमा हाइप्रोफाइल रोपाहार, हेर्नेको भिड (तस्बिरहरु/भिडिओ)

    चितवनको खेतमा हाइप्रोफाइल रोपाहार, हेर्नेको भिड (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेत रोपेका छन्। चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोपेका हुन्।

    ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्‍यालीमा सहभागी भएका थिए। र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

    उनले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका थिए। कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए।

    मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ ।
    असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ।

    असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन्।

     

     

  • भारतमा जन्मेका विश्व बैंक प्रमुख अमेरिकाका ३५ महान आप्रवासीको सूचीमा

    भारतमा जन्मेका विश्व बैंक प्रमुख अमेरिकाका ३५ महान आप्रवासीको सूचीमा

    काठमाडौं । भारतमा जन्मेका विश्व बैंकका नयाँ प्रमुख अजय बांगा अमेरिकाका ३५ महान आप्रवासीको सूचीमा परेका छन् ।

    अमेरिकाको कार्नेगी कर्पोरेसनले सार्वजनिक गरेको महान आप्रवासीको सूचीमा पर्ने भारतमा जन्मेका बांगा नै प्रथम अनुहार हुन् ।

    विश्वका ३३ देशका ३५ महान आप्रवासी भनेर सुचिकरणमा परेकाहरु अंगिकृत नागरिकता लिएका अमेरिकीहरु हुन् । विभिन्न क्षेत्रमा स्थापित मान्यता बनाएकाहरु यो सूचीमा पर्ने गरेका छन् ।

    बांगा यहि जुन महिनामा विश्व बैंकका सभापति भएका हुन् । मास्टरकार्डका सीर्इओ देखी कार्यकारी अध्यक्ष भएका बांगा विश्व बैंकको प्रमुख पदमा पुग्ने प्रथम भारतीय अमेरिकी अनुहार हुन् ।

    भारत, चीन, भियतनाम, दक्षिण कोरिया लगायतका एसियाली देशहरुका आप्रवासी परेको सूचीमा नेपालका अहिलेसम्म कोही अटाएका छैनन् ।

  • शुक्रबार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    शुक्रबार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

    अघिल्लो दिन बिहिबार १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ ।

  • आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनित चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा सार्वजनिक हुने

    आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनित चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा सार्वजनिक हुने

    काठमाडौं । चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। मिलन आले निर्देशित चलचित्रको बिहीबार फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

    चलचित्रलाई सुशील पंगेनीले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंमले लेखेका हुन्। बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश श्रेष्ठ,रेखा शाह, सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन् ।