Author: Anisha Tiwari

  • ‘बगान’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीसहित कलाकर्मी र राजनीतिज्ञले गरे प्रशंसा

    ‘बगान’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीसहित कलाकर्मी र राजनीतिज्ञले गरे प्रशंसा

    काठमाडौँ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिइरहेको छ । मंगलबार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौं उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ । मंगलबारका शोहरूमा दर्शकको उपस्थिती उच्च देखिएको थियो । यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले मंगलबार साँझ ‘बगान’ हेरेका छन् ।

    अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिईन् ।

    वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो विषय ‘बगान’ले उठाएको बताए । उनले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफुसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो विषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए । पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफै पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताईन् ।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र आमा छोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथी भईरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबै मनले स्विकारेको छ’, श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान वितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’

    वरिष्ठ कलाकार हरिवंश आचार्यले यो चलचित्रको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ’, आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नव अभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे । प्रमिलालाई साथमा राख्दै उनले भने, ‘तपाईंलाई भगवानले अभिनय गर्न नै भनेर पठाएको हुन् । भविष्य उज्जव छ ।’ यो चलचित्रमा अभिनयका माहिरहरूले अभिनय गरेको बताउँदै उनले यो चलचित्र सबै नेपालीले हेर्नैपर्ने रहेको जिकिर गरे ।

    निर्देशक तुलसी घिमिरेले यो विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उल्लेख गरे । संविधानविद् भिमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा हाम्रै समाजको संवेदनशिल विषय उठान भएको बताए । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गरे ।

    विशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारको लागि उत्कृष्ट रहेको प्रतिक्रियाहरू आउँदा केही भन्नै नसक्ने अवस्था आएको जनाईन् । उनले भनिन्, ‘मैले सँधै कोहीपनि व्यक्ति पुरुष वा महिला भएरभन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।’

    मंगलबार बगान हेर्न दर्जनौँको सङ्ख्यामा विशिष्ट व्यक्तिहरू काठमाडौं सुन्धाराको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुगेका थिए ।

    अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

    स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

    यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।

  • सुनको मूल्य बढ्यो

    सुनको मूल्य बढ्यो

    काठमाडौं । मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज
    बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा यथावत रहेको छ ।

  • पहिलो पटक पशुआहार चीन निर्यात

    पहिलो पटक पशुआहार चीन निर्यात

    काठमाडौं । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो ।
    भरतपुरमा रहेको सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो ।
    कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ ।
    यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ ।  पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ ।
    सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए । सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
  • एमाले सचिवालय बैठक च्यासलमा

    एमाले सचिवालय बैठक च्यासलमा

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको छ।

    बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

    बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टी उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

     

  • कांग्रेस र कम्युनिष्ट इतिहासकै रक्षात्मक अवस्थामा : राजेन्द्र लिङ्देन

    कांग्रेस र कम्युनिष्ट इतिहासकै रक्षात्मक अवस्थामा : राजेन्द्र लिङ्देन

    झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताएका छन् । पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिन्छन् भन्ने घटनाक्रमले प्रमाणित भएको दाबी गरेका हुन् ।

    भ्रष्टाचारका ठूला घटना सार्वजनिक भइरहँदा राप्रपाका कोही मानिस नमुछिएको भन्दै उनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए । ​

    विदेशीका लागि कम्फर्टेबल सरकारको खोजीमा लाग्ने कांग्रेस र कम्युनिष्ट जनताका लागि कहिल्यै कम्फर्टेबल नभएको भन्दै उनीहरू राष्ट्रियताको विषयमा समेत प्रष्ट नभएको आरोप लगाएका छन् । कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात वक्तव्य जारी गर्न लगाउने, जबर्जस्ती कांग्रेस र कम्युनिष्ट पार्टीमा प्रवेश गराउने गरेको घटनाहरुको स्मरण गर्दै लिङ्देनले अहिले ति पार्टी प्रवेश गर्ने क्रम लगभग शुन्य रहेको र कांग्रेस कम्युनिस्ट सर्वाधिक रक्षात्मक बन्दै गएको दाबी समेत गरे । राप्रपाले नवीन सोच र दृष्टिकोणका साथ युवा, महिला केन्द्रीत नवीन राप्रपा सम्बन्धि कार्ययोजना ल्याएको र आगामी एक वर्षभित्र दुई लाख पार्टी सदस्य थप गर्ने लक्ष्य लिइएको बताएका छन् ।

  • ‘हामी तीन भाइ’ को स्क्रिप्ट पूजा, साउन १० बाट छायांकन

    ‘हामी तीन भाइ’ को स्क्रिप्ट पूजा, साउन १० बाट छायांकन

    काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’ को स्क्रिप्ट पूजा गरिएको छ । आगामी साउन १० गतेबाट छायांकनमा जाने सिनेमाको गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरिएको हो ।

    सिनेमामा अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र अभिनेत्री जाहान्वी बस्नेतको मुख्य भुमिका रहनेछ । सिनेमाको मुख्य भुमिकाको लागि दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी निर्माण टिमले दिएको छ । निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

    यसअघि स्वर्गिय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नाममा सिनेमा निर्माण गरेका थिए । नेपाली बक्सअफिरमा सुरपहिट सिनेमाको नाम सापटी लिएर डेढ दशकपछि पुनः सिनेमा निर्माण हुन लागेको हो । ‘दौंतरी’ नामक सिनेमालाई केही समयलाई स्थगित गर्दै ‘हामी तीन भाई’ निर्माण गर्न लागेका निर्देशक भट्टराईले जानकारी दिएका छन् ।

    प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा विनोद, कुशल र जाहान्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।

    त्रिरत्न श्रेष्ठ निर्माता रहेको सिनेमामो सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

  • वाग्नरको कुनै अस्तित्व छैनः पुटिन

    वाग्नरको कुनै अस्तित्व छैनः पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भाडाका सैनिक समूह वाग्नरको अन्त्य भएको बताएका छन् । बिहीबार रुसको अखबार कोमेरसान्तसँग कुराकानी गर्दै पुटिनले निजी सैन्य टुकडीलाई मान्यता नदिने बताएका छन् ।

    रुसी सरकारी स्वामित्वको विश्व च्यानल आरटीका अनुसार मस्कोमा जारी प्रविधि मेलामा बोल्दै पुटिनले यस्तो बताएका हुन् । पत्रिकासँग पुटिनले भनेका छन्, ‘हाम्रो निजी सेना कम्पनीहरुका बारेमा कुनै कानुन छैन । त्यसैले वाग्नरको कुनै अस्तित्व छैन ।’

    रुसी सरकारले बजेट दिएर संचालन हुँदै आएको निजी सैन्य कम्पनी वाग्नरले गत जुन २३ मा सैन्य विद्रोह प्रयास गरेको थियो । त्यसबाट कुनै रत्तपात नभइकन अन्त्य भएको थियो । अहिले वाग्नर समूहका नाइके येभ्जेनी प्रिगोजिन रुसी छिमेकी बेलारुसमा पुगेका छन् ।

    उनलाई बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले बेलारुस निम्तो गरेका थिए । रुसी सैनिक र वाग्नरको दोहोरो भिडन्तको संभावित रक्तपात रोक्न पनि लुकासेन्कोले भूमिका खेलेका थिए । अहिले वाग्नरका कतिपय सदस्यहरु बेलारुस पुगेका छन भने कतिपयले रुसी सेना प्रवेश गरेको रुसी मिडियाहरुले उल्लेख गरेका छन् ।

  • सनराइज र लक्ष्मी बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी पुग्यो साढे २० अर्ब

    सनराइज र लक्ष्मी बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी पुग्यो साढे २० अर्ब

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

    नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।

    दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशत स्वापमा मर्ज हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । नेपालमा कुनै समय ३२ वटा सम्म पुगेको वाणिज्य बैंकको संख्या घटेर अहिले २० मा झरेको छ ।

  • पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

    पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

    काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान ए सँग भिडिरहेको नेपालले खराब ब्याटिङ गरेको छ।

    नेपालले ५६ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो। अहिले गुल्सन झा १० र कुशल मल्ल ७ रनमा खेल्दैछन्।

    नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे। भीम सार्कीले खाता खोल्न सकेनन्। पाकिस्तानका सहनवाज दहानीले ४ र मुहम्मद वासिमले २ विकेट लिए ।

  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ ।

    शुक्रबार बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबारका दिन बिहीबार मात्रै प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ४० रुपैयाँले वृद्धि भइ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • बाढीपीडित महिलाले सांसदलाई थप्पड हानेपछि…

    बाढीपीडित महिलाले सांसदलाई थप्पड हानेपछि…

    नयाँ दिल्ली । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।

    सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।

    उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

    हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु चार लाख राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् ।

    विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएको छ ।

  • अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा-सुमन’ निर्माणको घोषणा, बन्दीपुरमा वर्कशप सुरु

    अन्तरजातीय प्रेम कथामा ‘श्रद्धा-सुमन’ निर्माणको घोषणा, बन्दीपुरमा वर्कशप सुरु

    काठमाडौं । अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो फिल्मको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।

    के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।

    यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।

    फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।

    फिल्मको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।

  • रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

    रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

    काठमाडौं । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

    भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ ।

    यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् । कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ ।

    ‘आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन’, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भने । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उनको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेको पाइएको छ । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् ।

    चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको सङ्ख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफुसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुुहारले बताए ।

    ‘रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ’, उनले भने–’छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।’

  • अनाथ आश्रममा दिवाभोज खुवाउँदै सांसद एलपी साँँवाले मनाए जन्मदिन

    अनाथ आश्रममा दिवाभोज खुवाउँदै सांसद एलपी साँँवाले मनाए जन्मदिन

    काठमाडौं । पछिल्लो समय नेताहरुको जन्मदिन पनि उत्सवका रुपमा मनाउने चलन बढिरहेका बेला नेकपा एमालेका सांसद तथा राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले भने फरक ढंगले जन्मदिन मनाएका छन् ।

    झापा ४ बाट निर्वाचित सांसद लिम्बुले आफ्नो जन्मदिन अनाथ आश्रममा मनाएका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–४ मा रहेको पवित्र सेवा समाजमा उनले अनाथ बालबालिका र वृद्धवुद्धालाई खानपीन र अन्य सहयोग गरेर साँवाले असार २७ गते यस वर्षको जन्मदिन मनाएका हुन् ।

    विभिन्न स्कूल र कलेजमा पढ्ने बालबालिका तथा किशोर किशोरीहरु यो आश्रममा बस्ने गरेका छन् । साँवा र पत्नी मनिषाले आश्रितहरुलाई खाना खुवाएर जन्मदिन मनाएको आश्रम सन्चालक दिक्षा चापागाईले जानकारी दिइन् ।

  • नेपाललाई लायन्समार्फत विश्वभर चिनाउँनेछु : बुर्लाकोटी

    नेपाललाई लायन्समार्फत विश्वभर चिनाउँनेछु : बुर्लाकोटी

    काठमाडौं । लायन्स क्लबको अन्तरर्राष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरर्राष्ट्रिय सम्मेलनबाट उक्त पदमा निर्वाचित भएका हुन् ।
    विश्वका दुई सयभन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८ अन्तरर्राष्ट्रिय निर्देशकमध्येको एक हुन् ।
    अन्तरर्राष्ट्रिय निर्देशकका रुपमा उनले सन् २०२४ सम्म आफ्नो नेतृत्व प्रदान गर्नेछन् । उनी  ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्वचियरपर्सन’समेत हुन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय उनले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल भएका थिए ।
    लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एक सय क्लब खोलेर विश्व रेकर्ड बनाएका थिए । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उनी सफल भएका थिए ।
    नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरर्राष्ट्रिय निर्देशक पदमा विजयी भएको उनले जानकारी दिए। क्लबको अन्तरर्राष्ट्रिय निर्देशक पदका विजयी भएपछि उनले विज्ञप्ति जारी गर्दै भने, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउँनेछु ।”
    लायन्सको अन्तरर्राष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । साथै लायन्सको अन्तरर्राष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढीभन्दा बढी अवसर अन्तरर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले जानकारी दिए ।
  • प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण

    प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण

    काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ ।

    सोमबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हाइड्रोलिक गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

    बैंकले गाडी फोहोर व्यवस्थापनका लागि कोषलाई दिएको हो भने गाडीको मूल्य १७ लाख रुपैयाँ रहेको बैंकले बताएको छ । हस्तान्तरण कार्यक्रममा सीईओ शेरचनले आगामी दिनमा पनि मन्त्रलय र पशुपति क्षेत्रविकास कोषसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

  • खेर गइरहेको जनसाङ्खिक लाभको सदुपयोगमा ढिला कहिलेसम्म ?

    खेर गइरहेको जनसाङ्खिक लाभको सदुपयोगमा ढिला कहिलेसम्म ?

    काठमाडौं । आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता र चासोसहित यो दिवश मनाउन सुरु गरिएको हो । सन् १९८७ को जुलाई ११ मा जब विश्वको जनसङ्ख्या पाँच अर्ब पुग्यो, तब संयुंक्त राष्ट्र सङ्घले यो विषयलाई गम्भीरतापूर्वक लियो । त्यसपछि १९८९ मा संयुक्त राष्ट्र सङ्घले जनसङ्ख्या पाँच अर्ब पुगेकै दिन अर्थात अर्को वर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गरेको हो । त्यसै अनुसार १९९० को जुलाई ११ देखि विश्वमा जनसङ्ख्या दिवस मनाउन थालिएको हो ।

    नेपालमा यस दिवसको अनेक सान्दर्भिकता होलान् । एक दशक अघिसम्म जनसङ्ख्या नियन्त्रण र सानो परिवार नेपालको प्रमुख जनसाङ्खिक मुद्धा थियो । तर समय बदलिएको छ । नेपालले सानो परिवारको अवधारणालाई स्वीकारिसकेको छ । त्यसैले नेपालमा जनसङ्ख्या व्यवस्थापन, अनियन्त्रित बसाँइसराई र जनसाङ्खिक लाभको सदुपयोग मूल जनसाङ्खिक मुद्धा हुन् । जनसङ्ख्या दिवसको दिन नेपालमा खेर गइरहेको जनसाङ्खिक लाभका विषयमा केही चर्चा गर्नु उपयुक्त नै हुनेछ ।

    नेपाल जनसाङ्खिक लाभमा, लाभांस चाँही विदेशमा

    त्रिभुवन विमानस्थलमा हरेक साँझ गलामा खादा र माला लगाएका लामा लाइनहरु देखिन्छन् । त्यो खादा र माला कुनै विजेताले पहिरिएका होइनन् । ती खादा, माला कुनै विदेशी फोरममा नेपालको उत्कष्ट प्रदर्शनीका लागि शुभकामना दिनका लागि पनि होइन । त्यो गलाको खादा माला स्वदेशमा रोजगारी नपाएर विदेशी भूमिमा मजदूरी गर्न जान लागेका नौजवानहरुले विवशतावश लगाएका हुन् । यो क्रम करिब तीन दशकदेखि अविराम चलिरहेको छ । नौजवानहरु परिवार, गाउँठाउँ र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटेको छैन । तथ्याङ्कहरुले यो क्रम अझ बढ्दै गरेको ग्राफ देखाउँछन् ।

    बहुदलीय व्यवस्थाको पुनस्थापना नेपालका लागि यस्तो आशावादी घटना थियो, जसले हरेक नेपालीलाई रोजगारी देला, हरेक परिवारमा शान्ति ल्याउला, समुदायलाई समृद्ध बनाउला, देशैभरि उद्योगधन्दा स्थापना गर्ला भन्ने आम नेपालीको आशा थियो । २०४७ सालमा खुला राजनीतिक परिवेश प्राप्त गरेसँगै समृद्धिको आशा गरेका थिए । ठीक यही विन्दु यस्तो थियो जहाँ मानिसहरुले सन्तानको मोहलाई घटाउँदै लगेका थिए । परिवार नियोजन र जनसङ्ख्या नियन्त्रणको अनवरत रटान सुनेका नेपाली दम्पतीहरु विस्तारै सानो परिवारको अवधारणा स्वीकार्न तयार भएका थिए ।

    राज्यले त्यसबेला जति पनि अभाव, सङ्कट र दुःखहरु सिर्जना भएका छन् । ती सबै अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण नै हो भन्ने भाष्य निर्माण गरेको थियो । यो भाष्य सही भए पनि गलत भए पनि नेपाली दम्पतीहरुले अब सानो परिवार बनाउने, त्यसले गर्दा अभाव, अशिक्षा, बेरोजगारी जस्ता समस्याको समाधान होला भनेर उनीहरुले दुई सन्तानको मान्यताप्रति आफूहरुलाई स्थापित गर्दै गएका थिए । त्यसको प्रमाणको रुपमा पहिलो पटक २०४८ सालका जनगणनामा जन्म दर कम अर्थात (०-४ वर्ष)को जनसङ्ख्या ५-९ वर्षको भन्दा थोरै देखियो । यसलाई राज्यले परिवार नियोजन र जनसङ्ख्या नियन्त्रणको प्रभावकारिताको रुपमा व्याख्या गरियो ।

    युवा बढे, बढेन रोजगारी

    २०४८ सालको जनगणनामा आधार वर्षको जनसङ्ख्या घटेसँगै युवा जनसङ्ख्या वृद्धि हुन थाल्यो । समाजमा जवानहरुको बाहुल्यता बढ्यो । जवानहरुले स्वभाविक रुपमा नै रोजगारी खोज्न थाले, अवसरहरु पहिल्याउन खोजे । देशले त्यो अवसर उपलब्ध गराउने प्रयास र अवस्था दुवै देखिएन । ठीक त्यसैबेला खाडी देशहरुले नेपालका बेरोजगार युवाहरुको जनसङ्ख्या विश्लेषण गरे । नेपाल क्रमशः जनसाङ्खिक लाभ लिने अवस्थामा पुगेको तथ्याङ्क उनीहरुले बुझे । त्यति मात्र होइन, नेपालको श्रम बजारमा यी नौजवानहरुको आपूर्ति सम्भव छैन भन्ने कुराको पनि उनीहरुले मिहिन ढङ्गले अध्ययन गरेर नेपाललाई श्रमिक आपूर्ति गर्ने देशको रुपमा राखे ।

    २०५० को दशक सुरुवात हुँदा नहुँदा नेपाललाई अदक्ष कामदार आपूर्ति गर्ने देशको रुपमा उनीहरुले सूचीकृत गरेर नेपाली युवालाई खाडीमा रोजगारीका लागि खुला आमन्त्रण दिए । तत्कालीन सरकारसँग श्रम सम्झौता गरेपछि अब गाउँगाउँका युवाहरु जेट चढेर खाडी देशमा जोखिमपूर्ण कामका लागि जान थाले । त्यसबेलादेखि सघन रुपमा सुरु भएको वैदेशिक रोजगारीको लर्को हालसम्म पनि उस्तै छ । २०७८ को जनगणनाअनुसार काम गर्न सक्ने उमेर (१५-५९ वर्ष) समूहका २१ लाख ९० हजार पाँच सय ९२ जना वैदेशिक रोजगारीमा छन् ।

    अठार वर्षको उमेरदेखि मानिस श्रम बजारमा प्रवेश गर्छ भन्ने मान्ने हो भने नेपालमा यस वर्ष मात्र पाँच लाख ३७ हजार नौ सय एक युवा श्रम बजारमा प्रवेश गरेका छन् । जनगणना २०७८ को हरेक वर्षको जनसङ्ख्याको तथ्याङ्क हेर्दा १७ वर्षको उमेरको जनसङ्ख्याका पाँच लाख ३७ हजार नौ सय एक रहेको छ । यसमा मृत्यु दरको हिसाब गरिएको छैन । श्रम बजारमा आएका युवालाई राज्यले पूर्ण रुपमा रोजगारी उपलब्ध गराउन सकेको छ त ? यदि छैन भने ती युवाहरु के गर्दै होलान् त ? अवश्य पनि नेपालमा रोजगारी पाउनेहरु यतै होलान्, नपाउनेहरु वैदेशिक रोजगारीमा छन् त्यहाँ पनि जान नसक्ने र जान नचाहनेहरु बेरोजगार भएर हिंडेका छन् । यसका कारण सामाजिक अपराध, निराशा, असन्तुष्टि, आत्महत्या जस्ता विकृति बढेका छन् ।

    खेर गइरहेको जनसाङ्खिक लाभ

    देशको जनसङ्ख्यामा जब आश्रित (बालबालिका र ज्येष्ठ नागरिक) भन्दा काम गर्न सक्ने जनसङ्ख्याको बाहुल्यता हुन्छ त्यस्तो अवस्थालाई जनसाङ्खिक लाभको अवस्था भनिन्छ । अर्थात १०–१४ वर्षका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको जनसङ्ख्याको तुलनामा १५–५९ वर्षको जनसङ्ख्या धेरै भएको अवस्था नै जनसाङ्खिक लाभको अवस्था हो । जनसाङ्खिक सङ्क्रमणको सिद्धान्त अनुसार जब कुनै पनि देशका जन्मदर घट्दै जाने, मृत्यु दर पनि घट्ने र औसत आयु बढदै जान्छ । त्यसपछि देशमा युवा जनसङ्ख्याको बाहुल्यता बढ्छ । अर्थात सजिलो भाषामा भन्दा जब पालिनु पर्नेभन्दा कमाउनेहरुको जनसङ्ख्याको बाहुल्यता हुन्छ, त्यस्तो अवस्थालाई जनसाङ्खिक लाभको अवस्था भनिन्छ । नेपालले उच्च जन्मदर र उच्च मृत्युदरको अवस्थालाई पार गरेर अघि बढेको कुरा पहिलोपटक २०४८ सालको जनगणनाले सङ्केत गरेको हो । त्यसपछिका हरेक जनगणनामा नेपालमा सक्रिय उमेर समूहको जनसङ्ख्यामा बढोत्तरी भइरहेको छ । हेरौं विगतका तीन दशकमा नेपालमा कसरी जनसाङ्खिक लाभ दिनसक्ने उमेर समूहको जनसङ्ख्या बढिरहेको छ ।

    माथिको तालिकाले के देखाउँछ भने हरेक दशकमा नेपालको जनसङ्ख्यामा काम गर्न सक्ने जनसङ्ख्या करिब पाँच् प्रतिशतले वृद्धि भइरहेको छ । जनसाङ्खिक लाभको यो अवस्थालाई सुनौलो युग, अवसरहरुको झ्याल, एक जुगमा एक पटक आउने अवसर आदि नामले चिनिन्छ । यस्तो अवसर सधैं एकनास रहँदैन । युवा अवस्थामा प्रवेश गरेको हरेक नागरिकको बुढ्यौली उमेरमा प्रवेश गर्ने सम्भावना दर हरेक वर्ष बढ्दै जान्छ । त्यसैले देशले उत्पादनशील जनशक्ति भएको यो अवस्थामा नै विकास र समृद्धिमा फड्को मार्नु पर्दछ । यदि यो अवसर गुम्यो भने देश गरिब, पछौटेपन र कतिपय अवस्थामा कङ्गाल पनि हुन्छ । किनकी एउटा समयपछि अहिलेको काम गर्नसक्ने उमेरको जनसङ्ख्या बुढ्यौलीमा प्रवेश गर्दछ । जन्मदर घटेका कारण सक्रिय उमेर समूहको जनसङ्ख्या घटेको हुन्छ । त्यस्तो बेला ज्येष्ठ नागरिक आश्रित अनुपात उच्च हुन्छ । त्यतिबेला राज्यको अधिकांश बजेट ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा खर्च हुन्छ ।

    जनसाङ्खिक लाभको अवसर ५५ वर्ष

    नेपालमा सक्रिय उमेर समूहको जनसङ्ख्याको बाहुल्यता ५५ वर्षसम्म रहने छ । यो कसैले दिएको उपहार होइन । देशको जनसङ्ख्यामा आएको उमेरको रुपान्तरण (एज सिफ्टिङ)का कारणले हो । देशको विद्यामान जनसङ्ख्यामा विभिन्न उमेर समूहको संरचनाका आधारमा कुनै पनि देशले जनसङ्ख्याबाट लाभ लिनसक्ने समयको हिसाब निकालिन्छ । त्यस हिसाबले नेपाल २०४८ सालबाट जनसाङ्खिक लाभको अवस्थामा प्रवेश गरेको हो । यो अवस्था २१०३ सालसम्म नेपालमा रहन्छ । यसको अर्थ नेपालले जनसाङ्खिक लाभका ३२ वर्ष बिताइसकेको छ । अब हामीसँग २२ वर्ष मात्र उत्पादनशील जनसङ्ख्याको बाहुल्यता हुने समय छ । नेपालसँग बचेको करिब दुई दशक समयलाई अब कसरी पूर्ण रुपमा सदुपयोग गरेर समृद्धि हासिल गर्ने त्यसका बारेमा सरकारले ठोस कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

    देशले जनसाङ्खिक लाभको सदुपयोग गर्न सकेको खण्डमा त्यसबाट लाभांश प्राप्त गर्न सक्दछ । नत्र नेपालका खोला तथा नदीहरुबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ भनेर कागजमा हिसाब राख्ने तर नेपालीहरु चाँही अँध्यारोमा बस्नुपर्ने बाध्यात्मक अवस्था जस्तो हुनेछ । एक जुगमा एक पटक आउने यस अवसरको सदुपयोग गर्न हामीले केही देशहरुबाट सिक्नु पर्ने हुन्छ ।

    जस्तैः जापानले जनसाङ्खिक लाभको समय ६०.५ वर्ष पाएको थियो । उसले यही समयमा नै देशको कायाकल्प गरेर अहिले विश्वकै समृद्ध देशहरुको सूचीमा आफूलाई राखेको छ । त्यस्तै मलेसियाले नेपालको जतिकै समय जनसाङ्खिक लाभका लागि पाएको थियो । ५५ वर्षको अवधिमा उसले विकास र समृद्धिमा फड्को मारेर नेपालीलाई रोजगारी दिने एउटा मुख्य देशको रुपमा स्थापित भएको छ । यस्तै दक्षिण कोरियाले ५० वर्षमा नै आफूलाई औद्योगिक देशको रुपमा विकास गरेर संसारलाई चकित पारिदियो ।

    नेपालले चाँही अब के गर्ने त ? खोलामा बगेको पानीको हिसाब मात्र गर्ने कि त्यसलाई विद्युत, सिंचाइ आदिमा उपयोग गरेर समृद्धि हासिल गर्ने ? नौजवानका पाखुरा र दिमाग देश विकासका लागि उपयोग गर्ने कि जनसाङ्खिक लाभको समयअवधि मात्र गनेर बस्ने ? यस्ता विषयमा सरकार, राजनीतिक दलहरुले नीति कार्यक्रम अघि बढाउन ढिला भइसकेको छ । त्यसैले यस्तो अवसरलाई गुम्न नदिउँ । सदुपयोग गरौं ।

  • पल शाहको बचाउमा ज्योती लेख्छिन् : कानूनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ?

    पल शाहको बचाउमा ज्योती लेख्छिन् : कानूनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ?

    काठमाडौं । फेरी एकपटक सामाजिक सञ्जाल पल शाहमय भएको छ । नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहले जेलबाट निस्किएपछि दिएको पहिलो अन्तरवार्ताले हंगामा नै सिर्जना गर्यो ।

    सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा पलले दिएको अन्तर्वार्ता यति आलोचित र विवादित बन्यो कि कान्तिपुर टेलिभिजनले उक्त अन्तर्वार्ता युट्यूबबाटै हटाउनुपर्यो ।

    अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभव सुनाएका थिए । सो अन्तरवार्तामा पलको जेल यात्रालाई बहादुरीपूर्ण कार्य जसरी चित्रित गरिएको थियो । पलले रोमाञ्चित हुँदै जेल बसाईको विवरण सुनाउँदा सन्दीप क्षेत्रीले लगातार अट्टहाँस गरेका थिए । दर्शकले उनको यस्तो प्रस्तुतिलाई पचाएनन् । अन्तर्वार्ता विवादित बन्यो र अन्तत हटाईयो।

    आफूले दिएको अन्तर्वार्ता विवादित बनेपछि र चारैतिरबाट आलोचनाको सिकार भएपछि पलले मुख खोले । उनले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लामो स्टाट्स लेखे । उनको अन्तर्वार्ता र स्टाटसपछि अहिले केही कलाकारहरुले पनि उनको पक्ष वा विपक्षमा तर्क गर्न थालेका छन् । प्रायले घुमाउरो र सांकेतिकरुपमा स्टास लेखेका छन् । तर, गायिका ज्योती मगर भने स्ट्रेट फरवार्ड पल शाहको पक्षमा उभिएकी छन् ।

    मिडियाले पल शाहको अन्तरवार्ता लिन नपाएको झोकमा पिडितको आँशु बेचेको आरोप ज्योतीको छ । कानूनरुपमा टुंगिसकेको विषयलाई कोट्याइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।

    ज्योती लेख्छिन्, ‘हिजो पल शाह नम्बर वान स्टार हुँदै गर्दा, उनले त्यहीँ काण्डवाला मिटिङमा बोल्दै गर्दा रेकर्ड गरिएको अडियो सार्बजनिक गर्नको लागि पैसाको डिल गर्नेहरु आज पललाई फेरी जिरोमा झार्नु पर्छ है भनेर लागेका छन् । बाँकी आफूलाई विवेकी ठान्नेहरु पनि ब्यक्तिगत रिस साँध्दै छन। अरुको त के कुरा गर्ने ?’

    ‘मिन्स भएन भन्दिउ ? झोला बोकाएर दाङ लखेटौं ? के गरौं ? यो गरौं, उ गरौं ? भन्दै जाल बुनेका कुराहरु पनि हामी सबैले सुनेकै हो क्यारे’, उनले जोडेकी छन् ।

    पल जेलबाट रिहा हुँदै गर्दा र चर्को लाइमलाइटमा परिरहँदा अन्तर्वार्ता दिन नमानेकाले उनलाई गिराउन पीडितको आँसु बेचेर अन्तरवार्तालाई भाइरल गराएको उनको आरोप छ । उनले लेखेकी छन्, ‘कठै हाम्रा मिडिया । लागिपर्नुस केही छैन । तपाईंहरुले बेच्ने त हेड्लाइन नै त हो । कानुनीरुपमा सकिएका कुराहरु कति कोट्याइरहन्छौ ? ओ म्याथ सिक्नेहरु १’

    उनले सबै कलाकारहरुलाई कहीँ कतै अन्तर्वार्तामा जाँदा रोइदिन भन्दै कटाक्ष गरेकी छन् । उनले भनेकी छन्, ‘मेरा प्यारा कलाकारहरु, तपाईहरु कहीँकतै अन्तवार्ता दिन जाँदा रोइदिनुस् । अनि बल्ल सबैले विचरा भन्छन् । सही हो भन्छन् । हाँस्नुलाई त मजाक भन्छन् ।’

    ‘बाइ द वे, सन्दिप क्षेत्रीको सो हाँस्ने हँसाउने सो हो । रुने सो होइन भेडा हो । तपाईंहरु कानुन सिकाउनुहुन्छ । गलत र सत्यको प्रवचन दिनुहुन्छ । नेपालको सर्वज्ञानी सोच्नुहुन्छ तर तपाईंहरुको सोच कति दरिद्र छ त्यो तपाईं–हामी सबैलाई थाहा छ । अब आउनुस मुनिबाट गाली गर्न । म त सहानुभूति खोज्ने वाहवाहीको भोको केटी होइन । म मान्छे हुँ । जे सत्य हो, त्यही बोल्छु,’ उनले थपेकी छन् ।

  • आजबाट आईपीओ बिक्री खुला गरेको कुथेली बुखरी स्मल हाइड्रोपावर कस्तो कम्पनी हो, आवेदन दिन के गर्ने ?

    आजबाट आईपीओ बिक्री खुला गरेको कुथेली बुखरी स्मल हाइड्रोपावर कस्तो कम्पनी हो, आवेदन दिन के गर्ने ?

    काठमाडौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज मंगलबार (असार २६ गते) देखि बिक्री खुला भएको छ । यस कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरकोआईपीओ बिक्रीमा ल्याएको हो । यो कम्पनीको १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला भएको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर छुट्याएर बाँकी रहेको १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ ।

    लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

    गत वर्ष १९.७४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको यस कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३.८८ रुपैयाँ रहेको छ । आर्थिक वर्षको अन्त्यसम्म १५.२३ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ । यो वर्ष ७ करोड ६३ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ ।

    ९९८ किलोवाट क्षमताको यो हाइड्रोपावरको लागत २४ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान छ । ९.३७ वर्षपछि सर्वसाधारणको लगानी फिर्ता हुने बताइएको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १० मा रहेको छ । आयोजनाको शतप्रतिशत निर्माण कार्य सम्पन्न भई २०७२÷०६÷०३ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेर नेपाल विद्युत प्राधिकरणको ३३ के.भि. प्रसारण लाइनबाट विद्युत बिक्री गरिरहेको कम्पनीको विवरणपत्रमा उल्लेख छ । हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता पूँजी ९ करोड चौहत्तर लाख चौरानब्बे हजार रहेको छ । सबै सेयर बाँडफाँट भएपछि कम्पनीको चुक्तापुँजी १२ करोड अठार लाख सत्सठ्ठी हजार पाँच सय रुपैयाँ हुनेछ ।

  • ‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

    ‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

    टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् ।

    पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छन् । ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन् ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।’

    सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छिन् । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ । ‘बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ, मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ ।’

    पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेकी छन् । मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो । नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ । मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन् । पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ–नयाँ सीप सिक्न थालेकी छन् ।

    विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपथ्र्यो । तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ । इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहेका छन् । टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन् । ‘तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो’, कृष्णाले भनिन्, ‘केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु ।’

    कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफैँले उत्पादन गरेर बिक्री गर्ने गरेकी छन् । पेसाले शिक्षक रहेकी उनले घरमै पसल सञ्चालन गरेकी छन् । उनले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गरेकी छन् । ‘विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु । सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु, अरुले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु ।’

    सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् ।

    टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गरेकी छन् । फेन्सी कपडा पसल सञ्चालन गरिरहेकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्छिन् । ‘मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु’, उनले भनिन्, ‘यो मोबाइल त धेरै उपयोगी रहेछ । यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ ।’

    लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेकी छन् । उनले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गर्छिन । ‘सुरुमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ, आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ । नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन्, ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु । कसैलाई फिर्ता पठाएको छैन । मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु ।’

    हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन । मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन् । कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ । शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउछन् । ‘मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ, सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ । सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन् ।