Author: Anisha Tiwari

  • महिला टी-२० विश्वकपको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा, बन्द प्रशिक्षणमा २४ खेलाडी

    महिला टी-२० विश्वकपको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा, बन्द प्रशिक्षणमा २४ खेलाडी

    काठमाडौं। महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको छ।

    रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।

    यस्तै सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पान्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोदार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, सृष्ठी जैसी र स्नेहा महरा पनि टोलीमा छन्।

  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य वृद्धि भएको छ ।

    मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा चार सयले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ । भने, अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, सोमबार प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी नेपाल सुनचाँदी व्यवसाायी महासंघका अनुसार चााँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

  • साउन १९ गते प्रदर्शन हुने ‘अदृश्य’को पत्रकार भेटघाट

    साउन १९ गते प्रदर्शन हुने ‘अदृश्य’को पत्रकार भेटघाट

    काठमाडौं । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा निर्माता तथा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंह उपस्थित थिए ।

    सिनेमाका निर्माता तथा निर्देशक काफ्ले ‘अदृश्य’ एउटा उत्कृष्ट फिल्म बनेको दाबी गरेका छन् । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनैपनि कम्प्रमाइज नगरी काम गरेकाले आफुले डेब्यू निर्देशकिय राम्रो बनाउन सकेको बताउँछन् । सिनेमाको पहिले नाम ‘ए’ राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिर्वतन गरिएको बताए ।

    अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीकाबीच छायांकन गरिएको फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलर दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपालमा सस्पेन्स थ्रिलर कथामा निकै कम फिल्म बन्ने भएककाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाईमा पर्न सक्छन् । आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझाई उनको छ ।

    फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत अनि रवी गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म सवैले हेरेर सहयोग गरिदिन आग्रह गरे ।

    फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले रिलिजको ४ दिन अगाडी गरिएको पत्रकार भेटघाटले पनि दर्शकलाई फिल्मको बारेमा धेरै कुरा जान्ने अवसर मिलेकाले पनि हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् ।

    पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

    राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

    प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    काठमाडौं । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
    साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
    साउनको तेस्रो सोमबार आज सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड बढेको उनले सुनाए । बोल बम काँवरिया सङ्घको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो ।
    साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उनको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ । भक्तजनको भीड लाग्ने भएकाले साउनको सोमबारका अवसरमा पशुपति क्षेत्रमा तीज र महाशिवरात्रिको जस्तै तयारी गरिएको कोषले जनाएको छ ।
    साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा विशेष पूजा आराधना गर्ने भक्तजनको पनि भीड लाग्ने गर्छ । यसवर्ष भने साउनमा अधिकमास रहेकाले साउनको सोमबारको व्रत गर्नेले व्रत गर्नु हुने वा नहुनेमा मतान्तर रहेको छ । साउनमा प्रत्येक वर्ष भगवान् शिवको पूजा आराधना गरिने नित्य कर्म भएकाले गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर भएको हो ।
    साउनको तेस्रो सोमबार आज पनि पशुपतिनाथलगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो वर्तालु महिला रहेका छन् । साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
  • म्याराडोनाको जर्सीमा मेस्सीको पोज

    म्याराडोनाको जर्सीमा मेस्सीको पोज

    न्युयोर्क। अर्जेन्टिनी फुटबल सुपर स्टार लियोनल मेस्सीले आइतबार राती एउटा भिडियो र एउटा फोटो इन्स्टाग्रामको स्टोरीमा सेयर गरेका छन्।

    डिएगो म्याराडोनाले सन् १९९४ को विश्वकपमा लगाएको जर्सीमा पोज दिएर खिचेको फोटो र भिडियो स्टोरीमा सेयर गरेको देखिन्छ। भिडियोमा उनले जर्सीको अगाडि र पछाडि दुवै भाग देखाएको देखिन्छ भने फोटोमा खाली खुट्टामा देखिन्छन्। उक्त पोजबारे मेस्सीले केही उल्लेख गरेका छन्।

    सन् १९९४ को विश्वकपमा म्याराडोनाले लगाएको जर्सी हो वा त्यसको डुब्लिकेट भन्नेबारे केहीपनि खुलाइएको छैन। त्यस विश्वकपमा अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरिएको थियो।

    त्यसअघि अर्जेन्टिनाले सन् १९८६ र १९९० को दुवै विश्वकपमा फाइनल यात्रा तय गरेको थियो। एउटा अनुमान चाँही के गर्न सकिन्छ भने मेस्सी यतिबेला अमेरिकामा छन् र सन् १९९४ को विश्वकप पनि अमेरिकामै आयोजना भएको थियो। मेस्सीले गतवर्ष मात्र विश्वकप उपाधि जितेका थिए।

    त्यसअघि अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ को विश्वकप जितेको थियो। त्यतिबेला म्याराडोनाको प्रदर्शन निणार्यक रहेको थियो। यसपटक, मेस्सीको निर्णायक प्रदर्शनमा अर्जेन्टिना ३६ वर्षपछि विश्व विजेता बनेको थियो। मेस्सी यतिबेला अमेरिकामा व्यावशायीक फुटबल खेलिरहेका छन्।

    उनले इन्टर मियामीका लागि २ खेलमा ३ गोल र एक असिस्ट गरेका छन्। फ्रान्सको पेरिस सेन्ट जर्मन–पीएसजीबाट विदा भइरहँदा मेस्सी कहाँ जालान् भन्ने विभिन्न अनुमानहरु भएका थिए। तर उनले अप्रत्यासितरुपमा अमेरिकाको मेजर सकर लिग(एमएलएस रोजे। मेस्सीले व्यावसायीक फुटबल करियर अमेरिकामा टुंग्याउँछन् वा अन्त कँही भन्नेबारे पनि केही बताएका छैनन्।

  • मानव-बाघ द्वन्द्व समाधान ‘गाउँखाने कथा’ जस्तो नबनोस् !

    मानव-बाघ द्वन्द्व समाधान ‘गाउँखाने कथा’ जस्तो नबनोस् !

    आज जुलाई २९ अर्थात् विश्व बाघ दिवस । विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालका लागि यस दिवसले विशेष महत्त्व राख्दछ । प्राकृतिक सम्पदाको रुपमा परिभाषित बाघ सांस्कृतिक र ऐतिहासिक रुपले पनि उत्तिकै महत्त्वपूर्ण छ । बाघ ‘वातावरण सन्तुलन’को संकेत चिन्ह हो, यसर्थ नेपालमा बाघको संख्या वृद्धि हुनु भनेको ‘वातावरणीय सन्तुलन’मा पनि वृद्धि देखिएको सूचाक्षर हो। नेपालमा सन् १९९५ मा ९८ वटा, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ रहेका छन् । सन् २०१० यता १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । यसप्रकार बाघ संरक्षणमा देखिएको सफलता नेपालको उन्नति र प्रगतिको सकारात्मक सन्देश हो । तर, यो सन्देश निकुञ्जवरिपरिका बस्तीमा पनि जान जरुरी छ ।

    त्यसपहिले हामी सरसर्ती दुई प्रसंगलाई चर्चा गर्नेछौँ ।

    १. ‘तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा अर्थात् सन् १९११ मा बेलायती राजा जर्ज पाचौँ चितवन आए, क्याम्प लगाएर १० दिन बसे र ३९ वटा बाघ, १८ वटा गैँडा, ४ वटा भालु, कैयौँ चितुवा र दुम्सी मारेर फर्किए ।’ प्रस्तुत वाक्यले विदेशी शासकलाई रिझाउन नेपाली वन्यजीव ‘भेटी’ चढाउने तत्कालिन नेपाली राज्यव्यवस्थाको चित्रण गर्दछ । यसलाई यहाँ हामी ‘मान्छे–बाघ द्वन्द्व’ भन्नेछौँ ।

    २. ‘नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएपछिको १२ वर्षमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि गर्यो ।” प्रस्तुत वाक्यांशले नेपालले ‘टीएक्सटू मिसन’मा हासिल गरेको अपार सफलतालाई इंकित गर्दछ, जसमा हलिउड अभिनेता लिओनार्दो डिक्याप्रियोले समेत नेपाललाई बधाई दिएपश्चात् विश्वको ध्यान अझ नेपाल नेपालतर्फ बढेको छ । यससँगै विश्वका निकुन्ज पर्यटकहरूको नेपालप्रतिको आकर्षण बढ्दो छ । यद्यपि, यति नै बेला ‘बाघ–मानव द्वन्द्व’ पनि बढेको छ, हरेक महिना तीन जना बाघको आक्रमणमा परिरहेका छन् । यसलाई यहाँ हामी ‘बाघ–मान्छे द्वन्द्व’ भन्नेछौँ ।

    प्रथमतः प्रथम वाक्यलाई थोरै व्याख्या गरौँ– बेलायती शासकलाई रिझाउन वन्यजन्तु ‘भेटी’ चढाउने लहरले नेपालमा मान्छे–बाघको द्वन्द्वको इतिहास निकै पुरानो रहेको बताउँदछ । ज्ञात इतिहासअनुसार, सन् १८७६ को फेब्रुअरीमा रानी भिक्टोरियाका छोरा एवं वेल्सका तत्कालीन राजकुमार अल्बर्ट इडवार्ड (पछि गएर एडवार्ड–७ राजा) श्री ३ जंगबहादुर राणाको निम्तोमा नेपाल आई दुई सातामा २३ वटा बाघ मारेर फर्किएका थिए, यो नै ब्रिटिश राजपरिवारका सदस्यले प्रथमपटक नेपालमा गरेको सिकार हो । उसो त, राणा शासकहरूले सन् १८४६ देखि नै चितवन क्षेत्रमा सिकार गर्न थालेका थिए, अर्थात् जंगबहादुर राणाको उदयसँगै जंगली जनवारको दुर्दिन सुरु भएको थियो । ‘बिग गेम हन्टिङ’ अर्थात् ‘सिंह, बाघ, चितुवा र गैंडाको सिकार’लाई अन्य राणा शासकहरूले पनि क्रमशः ‘प्रतिष्ठा (हन्टिङ डिप्लोमेसी)’ को विषय बनाउँदै लगेको इतिहास पाइन्छ ।

    ‘बिग गेम हन्टिङ’का लागि तराईको जंगल उपयुक्त रहेको र जंगबहादुरको शासनकालमा एउटै सिजनमा तीन सयवटासम्म बाघ मारिएको तथ्यांक ‘किङ्स एज वार्डेन्स एन्ड वार्डेन्स एज किङ्स : पोस्ट राना टाइज विटुइन नेपाली रोयल्स एन्ड नेसनल पार्क स्टाफ’ नामक रिसर्च आर्टिकलमा अध्येता निना भट्ट उल्लेख गर्छिन् । राणा शासनमा विभिन्न समारोहमा वन्यजीवको सिकार अनिवार्य जस्तो थियो (उदाहरणः आफू श्री ३ महाराज भएको खुसियालीमा सन् १९३२ मा जुद्धशमशेरले नवलपुरको एकै सिकारमा ४१ वटा बाघ र १३ वटा गैंडा मारेका थिए ।) अझ, विभिन्न मुलुकका शाही परिवार तथा शासकलाई सिकारका लागि नेपाल बोलाइने प्रचलन पनि राणाकालमा व्यापकरूपले देख्न पाइन्छ । जस्तैः राजा एडवार्डका जेठा छोरा राजकुमार अल्बर्ट भिक्टोर, ड्युक अफ क्लारेन्सी सन् १८८९–९० को जाडो याममा वीरशमशेरको निमन्त्रणामा बिग हन्टिङका लागि नेपाल आएका थिए भने रणोद्दीप सिंहको पालामा सन् १८८४ मा द ड्युक अफ पोर्टल्यान्ड बिग गेम हन्टिङकै लागि नेपाल आइपुगेको इतिहास छ । विसं १९०३ मा राणाहरूले हालको चितवन राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रलाई सिकार क्षेत्रका रूपमा नै घोषणा गरेका थिए ।

    पछिल्लो उदाहरण राजा महेन्द्रकै छ, उनी आफ्ना दुई छोरा वीरेन्द्र र ज्ञानेन्द्रलाई लिएर सिकार गर्नका लागि तराईका जंगल जान्थे । राजा महेन्द्रले सन् १९६१ मा बेलयाती महारानी क्विन एलिजाबेथको नेपाल भ्रमणको अवसर पारेर बिग हन्टको आयोजना गरेका थिए, त्यसबेला एउटा बाघ र गैंडा मारिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागू नहुँदासम्म महेन्द्र मृगकुञ्जका नाममा वन्यजन्तुहरूको सिकार र आखेटोपहार संकलन यथावत् थियो । सिकारबाट ल्याइएका आखेटोपहार बहादुरी प्रदर्शन गर्न उनीहरूले घर र कार्यकक्षमा सजाएर राख्थे । राजदरबारभित्रै सिकार अड्डा थियो । यी उदाहरणहरूले १८ औँ एवम् १९औँ शताब्दीमा नेपालका शाही परिवारको पारिवारिक, नेपालको सांस्कृतिक तथा राजनीतिक परिवेश हाम्रोसामू प्रष्टसाथ् राख्दछ । यसप्रकार, राणा शासन नेपाली जनताको लागि मात्रै नभएर जंगली जनवारका लागि दुस्खका दिनहरू थिए भनेर हामी भन्न सक्दछौँ ।

    अब दोस्रो वाक्यांशमा संक्षेपमा चर्चा गरौँ । सुरु प्रजातान्त्रिक नेपालको सुरुवाती दिनहरूबाट गरौँ ।

    बेलायती शासकलाई रिझाउन वन्यजन्तु ‘भेटी’ चढाउने राणा शासकहरूको सिको गर्दै प्रजातान्त्रिक मुलुकका जमिनदार, ठालूहरूले ठुला वन्यजीवको सिकारलाई शान, सौकत र प्रतिष्ठासँग जोड्ने काम गरे । बाघ मारेर मनोरञ्जन लिने प्रवृत्ति पञ्चायतकालमा अझ मौलायो । हुँदाहुँदा, राजाको सवारी हुँदा सिकार गर्ने चलन बस्यो । बिस्तारै चोरी सिकार र अंगको अवैध व्यापारले तीव्रता पायो भने अर्कोतर्फ, राणाकालको अन्त्य र तराईमा मलेरियाको उन्मूलनसँगै बसाइसराइ दर बढ्नाले वनजंगलको फँडानी तीव्र बन्यो । बस्ती बढ्न थालेपछि बाघको प्राकृतिक वासस्थान मासिँदै गयो ।

    सन् ५० र ६० को दशकमै विदेशी विज्ञ टोलीले नेपालमा वन्यजन्तु सखाप हुने चेतावनी दियो । चेतावनीपश्चात् ‘फ्यागसिप स्पिसिस मोडल कन्जरभेसन’ मोडेल अर्थात् ‘ठूला जनावरलाई जोगाउने र निश्चित ठाउँहरु त्यसका लागि तय गर्ने सोच’अनुरुप नेपालमा संरक्षणका प्रयासहरू थालिए, त्यसैको एक स्वरूप थियो– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ । राष्ट्रिय संरक्षण रणनीतिले पनि नेपालमा प्राकृतिक सम्पदाको दोहनमा रोक लगाउँदै संरक्षणमा अगाडि बढाउन मद्दत पुर्‍यायो । वन्यजन्तु संरक्षणका लागि नेपाली सेनाले पनि ठूलो भूमिका खेलेको छ । नेपालमा बाघ संरक्षण र वन्यजन्तु चोरीसिकार नियन्त्रणतर्फ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको भूमिका पनि महत्त्वपूर्ण छ ।

    राजा महेन्द्रको निधनपछि वीरेन्द्रको पालामा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । उसो त, राणाकालमै वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि चिडियाखानाको स्थापना गरिएको थियो । सन् १९५० को दशकमा प्राकृतिक विज्ञान संग्रहालय, गोदावारी वनस्पति उद्यान स्थापना भएको इतिहास भेटिन्छ, तर यी फुजुल गए । ती संरक्षण अभियान फलदायी हुन सकेनन् । एकोहोरो ‘संरक्षण, संरक्षण’ भनियो तर आर्थिक उपार्जनसँग जोडिएन । यहिक्रममा विभिन्न ठाउँमा बाघ, हात्ती, गैंडाले विध्वंस मच्चाए । मान्छे र वन्यजन्तुबीच द्वन्द्व बढ्यो । यसक्रममा ‘जनवार कि मान्छे ?’ भन्ने प्रश्नहरू उठे । संरक्षणमा स्थानीयको अपनत्वबोध नहुँदा एवम् संरक्षणलाई आम्दानीको माध्यम बनाउन सकिन्छ भन्ने चेतनाको अभावले वन्यजन्तु पर्यटनले गति लिन सकेन ।

    बाघसहित वन्यजीवलाई गौरवको विषयमा सीमित नराखी स्थानीयलाई जीविकोपार्जन र राज्यलाई राजस्वको स्रोतका रूपमा विकसित गर्दा वन्यजन्तु संरक्षण प्रतिफलमूलक र दिगो हुन्छ भन्ने चेत विकसित हुन् समय लाग्यो, तर भएरै छाड्यो । यसमा संरक्षणकर्मीहरू खुसी भए । र, वन्यजीवहरू पनि । सोही उल्लासको क्षण हो, जब नेपालले आफ्नो प्रतिबद्धाभन्दा माथि गई बाघको संख्या झन्डै तेब्बर गरेर आफ्नो संकल्प पुरा गर्यो । यसपछि ‘हिमाल र लुम्बिनी मात्रै छ’ भन्ने नेपालीले ‘हामीसँग बाघ पनि छ’ भन्न थाले । यहि माउथ पब्लिसिटीकै कारण हाल नेपाल आउने ५० प्रतिशत पर्यटकहरू निकुन्ज पर्यटनका लागि पुग्दछन् (सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा ७ लाख पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका थिए।) यस यात्राले ‘वन्यजन्तु भगाएर होइन, जोगाएर लाभ हुने रहेछ’ भन्ने स्थानीयवासीलाई बुझायो भने ‘वन्यजन्तु नेपाली पर्यटन समृद्ध बनाउने आधारस्तम्भ रहेछन्’ भन्ने बोध सरकारलाई गरायो । यद्यपि, स्रोतसाधनको अभावका बाबजुद वन्यजन्तु सिकारको नियन्त्रण र बाघका महत्वपूर्ण वासस्थानको रक्षा गरेर बाघ संरक्षणमा ऐतिहासिक उपलब्धि हासिल गरेतापनि स्थानीय समुदायले भने ठूलो मूल्य चुकाइरहेको तितो यथार्थ विद्यमान छ । किन ? किनभने बाघ मात्रै बढेन, बाघको आक्रमण पनि बढ्यो ।

    बाघ बढ्यो, बाघको आक्रमण पनि बढ्यो

    बाघको संख्या बढेसँगै नेपालमा बाघले गर्ने क्षतिका घटनाहरू पनि बढ्दो अवस्थामा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/७७ निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा बाघले गरेका क्षतिको घटनना १७५ थियो । यो दर बढेर आर्थिक वर्ष ०७७/०७८मा ३०६ पुगेको थियो भने ०७८/०७९ मा बाघबाट भएको क्षतिको घटना ३ सय ६० छ । ०७८र०७९ मा बाघको आक्रमणमा परेर १४ जनाको मृत्यु भएको थियो भने पाँच जना सामान्य घाइते र तीन जना सख्त घाइते भएका थिए । ०७६/०७९ सम्ममा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र १०४ वटा बाघको आक्रमणबाट ६२ जनाको ज्यान गएको थियो । यस अवधिमा बाघमा आक्रमणमा पर्नेमध्ये करिब ६० प्रतिशतको मृत्यु भएको र २८ प्रतिशत सख्त घाइते भएका थिए । बाघ आक्रमणको सबैभन्दा बढी घटना बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन्छ । सो तीन वर्षमा भएको ३३ आक्रमणको घटनामा १९ जनाको मृत्यु भएको थियो । ६ जना सामान्य घाइते र ८ जना सख्त घाइते भएका थिए । यसप्रकार, घाँस र दाउरा वा अन्य कुनै वनजन्य उत्पादन लिन जङ्गल वा बफर जोनमा हुँदा हरेक महिना तीन जनालाई बाघले आक्रमण गर्ने अनुमान गरिएको छ । बाघको आक्रमणबाट विगत एक दशकमा संरक्षणकर्मी र कार्यकर्तासहित तीन सयभन्दा बढीको ज्यान गएको तथ्यांक छ ।

    समुदायलाई नजोगाई वन्यजन्तुको रक्षा गर्नु आखिरकर संरक्षणको लागि पनि क्रूर मूल्य हो । संकल्पयात्राको सफलतामा सरकार मस्त भइरहँदा स्थानीय समुदायले चुकाएको मूल्य भने अझै उपेक्षित छ । उनीहरूले चुकाएको मूल्यको दस्ताबेजीकरणसमेत पर्याप्त छैन । यसकारण, बाघको संख्या बढेकोमा उत्सव मनाइरहँदा वन्यजन्तुको आक्रमणमा मारिएकाहरूको परिवारको अनादर त भइरहेको छैन भन्ने टड्कारो प्रश्नको उत्तर खोज्न अत्यावश्यक भइसकेको छ ।

    अन्त्यमा, निःसन्देह वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्नुपर्छ  । संकटापन्न प्रजातिको भविष्यका लागि वन्यजन्तु क्षेत्रनजिकका स्थानीय बासिन्दाको चिन्ता र चासोको सम्बोधन गर्न आवश्यक छ । स्थानीय बासिन्दा वन्यजन्तु संरक्षणको महत्वपूर्ण घटक हुन् । यदि यी बासिन्दा र वन्यजन्तुबीच शत्रुतापूर्ण सम्बन्ध बन्छ भने संरक्षणमा उदासनिता देखिन सक्छ अथवा वन्यजन्तुसँग प्रतिशोधकै वातावरण सिर्जना हुन सक्छ । अतः नेपालमा मानव–बाघ द्वन्द्व समाधान गाउँखाने कथा जस्तो नबनोस् ।

    (लेखकद्वय वातावरण पत्रकारिता गर्दै आइरहेका छन् ।)

    तस्बिरहरु : दीपक राजवंशी

     

  • सरकारको अभियानबाट युवाहरुलाई देशमा केही हुन्छ भन्ने आशा पलाएको छ – गृहमन्त्री श्रेष्ठ (भिडिओ)

    सरकारको अभियानबाट युवाहरुलाई देशमा केही हुन्छ भन्ने आशा पलाएको छ – गृहमन्त्री श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको भ्रष्टाचार विरोधी अभियानले आम जनता र युवाहरुमा अब देशमा केही हुन्छ भन्ने आशा पैदा भएको दाबी गरेका छन् ।

    शहीद पार्क जगडोलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैप्रति कृपा गर्नका लागि सरकारले भ्रष्टाचार,व्यथिती र ठगीविरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।

    श्रेष्ठले भने–सरकारको यो अभियानले युवाहरुमा अब देशमै केही हुन्छ भन्ने आशा पलाएको छ । कता कता यसले क कसलाई तान्ने हो भनेर विभिन्न त्यान्द्रो जोडिएकाहरुबाट सचेत हुनुपर्छ । सरकारको यो अभियानलाई रोक्न त्यो कृपा कसैप्रति हामी गर्न सक्दैनौं । जुनसुकै पार्टी,घराना,नाता सबन्ध,साथी सँगी होस कसैसँग सरकारलाई मतलब छैन । जो अनुसन्धानको दोषी देखिन्ख्छ कानूनको दायरमा ल्याइनेछ ।

    गृहमन्त्री श्रेष्ठले निर्दोषलाई सरकारले नफसाउने दाबी समेत गरे ।

  • म्यान्मारकी नेत्री सूकीलाई कारागारबाट सारियो

    म्यान्मारकी नेत्री सूकीलाई कारागारबाट सारियो

    काठमाडौं । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ ।
    नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राती नेत्री सूचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेकी छन् ।
    उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।
    म्यान्मारमा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सूकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ ।
     निर्वाचित नेत्री सूकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।
    हिरासतमा रहेकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सूकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा  वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ ।
  • एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

    एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

    काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआरमार्फत भुक्तानीको जानकारी दिने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ ।

    बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गर्दै क्यूआरकोड प्रणालीमा आवद्ध मर्चेन्टहरूले भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त वा डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने जनाइएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ प्रणलीको सुरुवात गरेको बताएको छ ।

    बैंकले देशभर ३६० शाखा कार्यालय, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेर सेवा दिदैँ आएको छ ।

  • ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

    ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

    काठमाडौं । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।

    गीत सार्वजनिक भएसँगै सलोन शुक्रबार अष्ट्रेलियातर्फ जाँदैछन् । फिल्मको प्रदर्शनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् । यसैले उनी उड्नुभन्दा अगाडि निर्माण टिमले पत्रकारसँग भेटघाट गर्दै नयाँ गीत सार्वजनिक गरेको हो । अष्ट्रेलिया जाने निश्चित भएपछि सलोन दुई हप्ता फिल्मको प्रचारमा राम्रै खटेका थिए । अब फिल्मको प्रचारमा अरु कलाकार सक्रिय हुने जनाइएको छ ।

    टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

    फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । फिल्मलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो ।

  • कुवेतमा पाँच जनालाई मृत्युदण्ड

    कुवेतमा पाँच जनालाई मृत्युदण्ड

    काठमाडौं । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए ।

    कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ । मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ ।

    लागूऔषध तस्करीमा एक जना श्रीलङ्काली नागरिकलाई पनि मृत्युदण्ड दिइएको छ । उनीहरू सबैलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।

  • मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

    मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

    काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।

    काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

    ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेकी हुन्।

    ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेको थिइन् । घरमा काेही नभएकाे माैकामा आफूमाथि पटक पटक याैन दुव्यवहार गरेकाे बताएकी थिइन् ।

  • घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद-बिक्री ?

    घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद-बिक्री ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन (शुक्रबार) बजारमा सुनको मूल्य घटेको छ।

    अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको मूल्य आज ९ सय रुपैयाँले घटेर एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कायम भएको छ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो।

  • बजारमा आयो ‘दोबाटोमा’ को म्युजिक भिडिओ

    बजारमा आयो ‘दोबाटोमा’ को म्युजिक भिडिओ

    काठमाडौं । संकेत अगस्तीको शब्द संगीतमा श्रेय अगस्ती र सम्यकमान सिंह अधिकारीको स्वर रहेको ‘दोबाटोमा’ को भिडिओ सार्वजनिक भएको छ । उक्त  भिडिओमा कलेजका सहपाठीप्रति दुई युवकले एकल प्रेम गर्दा उनीहरूलाई मायामा आकर्षित गराएर अर्कै प्रेमीसँग हिँडेको कथावस्तु समेटिएको छ ।

    भेनस फिल्म्स अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडिओमा सविन कोइराला, साहिल चौधरी र निकी शाही मुख्य भूमिकामा छन् । सहायक भूमिकामा रिदम अस्मित साउद र ट्रिटन इन्टरनेशनल कलेजका विद्यार्थी देखिएका छन् । ट्रिटन इन्टरनेशनल कलेजको प्रायोजनमा बनेको यो म्युजिक भिडियोमा सोही कलेजको अधिकांश दृष्य समेटिएको छ ।

    गीतमभा पुरुषोत्तम सुवेदीको संगीत संयोजन र कुमार केसीको ध्वनी मिश्रण रहेको छ । दिनेश पराजुलीको छायांकन र रोनिशा अधिकारीको शृंगार रहेको यस म्युजिक भिडियोलाई निराजन केसीको सम्पादन र निशान एसके को निर्देशनले पूर्णता दिएको छ ।

  • चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा

    चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा

    वेइजिङ । चीनको गौरव र गरिमालाई खेलकुदका माध्यमबाट उच्च राख्दै आएको यो क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजबिहीन बनेको छ ।
    साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र  भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।
     चिनियाँ फुटबल सङ्घका दुईजना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् ।
    खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ । यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ ।
    चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको  फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको  छ भने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ ।  महासङ्घले आगामी एक वर्षभित्रमा सङ्घको संस्थागत संरचना तयार गर्न सम्बन्धित पदाधिककारीलाई निर्देशन दिएको छ ।
    ‘म्याच फिक्सिङ’लगायत फुटबलसँग सम्बन्धित भ्रष्टाचारका काण्डले चीनको गौरव घटाएको पूर्वराष्ट्रिय प्रशिक्षक ली तेइले बताएका छन् । चीनको भ्रष्टाचार विरोधी निकायले राजनीतिक भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । ग्वान्जाउ फुटबल सङ्घका अध्यक्षसहित ६ जनालाई ‘म्याच फिक्सिङ’को अभियोगमा निलम्बन गरिएको छ ।
    फुटबल खेलमा निरन्तर बढीरहेका भ्रष्टाचार नियन्त्रण गर्न चीनले समयमै प्रभावकारी उपाय नअपनाए अन्तरर्राष्ट्रिय जगत्मा कमाएको प्रतिष्ठा धुमिल हुने खेल क्षेत्रका विज्ञले बताएका छन् । गत शीतकालीन ओलम्पिकका बेला स्केटिङमा भएको अनियमिताका बारेमा दक्षिण कोरियाली खेलाडीले गरेको उजुरीलाई पनि पाठका रुपमा लिनुपर्ने उनीहरूको कथन छ ।
    यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरो स्थायी समिति तथा देशको सर्वोच्च नीतिनिर्माता निकायले भ्रष्टाचारका साथै कुनै किसिमका अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ । राष्ट्रपति सी चीनफिङले सुशासन कायम गर्न दिएको  निर्देशनको पालना भए–नभएको नियमितरूपमा अनुगमन गरिनेछ ।
  • चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

    चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

    काठमाडौं । अन्तरर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ ।

    आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो ।

    भारत सरकारले गत जुलाई २० मा गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मङ्गलबार ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापी रूपमा हानिकारक हुन सक्छ ।’

    आईएमएफले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो ।

    ‘सन् २०२२ को निकै बलियो प्रदर्शनपछि यो सन्तुलित छ । तर हामीसँग सन् २०२३ का लागि ०.२ प्रतिशत बिन्दुको उल्टो पुनरावलोकन छ र यो वास्तवमा सरकारी तथा निजी लगानीको साथ सन् २०२४ को लागि धेरै बलियो अन्त्यको दस्तक-प्रभाव हो,’ आईएमएफ अनुसन्धान विभागका विभाग प्रमुख डेनियल लेहले भने ।

  • सुन प्रकरणमा एमाले- गृहमन्त्रीले नैतिकता देखाएनन्, सरकार नै तस्करको संरक्षणमा लाग्यो (भिडिओ)

    सुन प्रकरणमा एमाले- गृहमन्त्रीले नैतिकता देखाएनन्, सरकार नै तस्करको संरक्षणमा लाग्यो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेलेका सांसद देवेन्द्र दाहालले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको बताएका छन् । प्रश्न उठेपछि राजीनामा दिनुको सट्टा गृहमन्त्रीले फुर्ति देखाउँदै हिँडेको आरोप लगाए ।

    राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’

    उनले तस्करीलाई संरक्षण गर्ने सरकारको छानविन गर्न नसक्ने भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे । उनले राष्ट्रियसभालाई पनि समेटेर विश्वासिलो संसदीय समिति नभए नभए उच्च स्तरीय न्यायिक समिति गर्न गर्न माग गरे।

    उनले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको पनि नाम जोडिएकाले छानविन गर्न माग गरे।

  • मणिपुरमा भएको हिंसाका कारण मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

    मणिपुरमा भएको हिंसाका कारण मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

    नयाँ दिल्ली । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ ।

    भारतीय कंग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएको बताए ।

    एएनआईसँग बोल्दै गगोइले भने, ‘विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ लोक सभामा आफ्नो सङ्ख्याबारे जानकार छ । तर यो मनिपुरमा भएको हिंसात्मक घटनाबारे सरकारसँगको न्यायका लागि गरिएको विपक्षीहरूको विरोध हो ।’

    विपक्षीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् ।

    मे महिना यता मणिपुरमा भएका हिंसात्मक घटनाहरूमा कम्तीमा १३० जनाको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन् । त्यहाँ बहुसङ्ख्यक मैतेइ र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ ।

    अघिल्लो हप्ता दुई जना महिलाहरूलाई भीडले जबर्जस्ती निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो ।

    उक्त घटनापछि मणिपुर घटनाबारे प्रधानमन्त्री मोदीले मौनता तोड्दै उक्त घटनाले भारतलाई ‘लज्जित तुल्याएको’ भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए ।

    गृहमन्त्री अमित शाहले लोकसभामा यसै साता बोल्दै सरकार मणिपुरका विषयमा छलफल गर्न तयार रहेको भएपनि विपक्षीले त्यसमा अवरोध पु¥याइरहेको बताएका थिए ।

    सन् २०१४ मा सत्तामा आएयता मोदीले दुईपटक अविश्वासको प्रस्तावको सामना गर्नु परेको छ । सन् २०१८ मा स्थानीय एक सांसदले मणिपुरलाई विशेष हैसियत दिनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका थिए । १२ घण्टाको बहसपछि त्यो विफल भएको थियो । यो उनीविरूद्ध संसदमा दर्ता भएको दोस्रो अविश्वासको प्रस्ताव हो ।

    भारतमा संसदको तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ तर कम्तीमा ५० जना सांसदहरूको समर्थन भएमात्रै त्यसलाई स्वीकार गर्ने गरिन्छ ।

    स्वीकार गरिएको अवस्थामा सभामुखले १० दिनभित्र मतदानको मिति तोक्ने कानुनी प्रावधान रहेको छ ।

    कंग्रेस नेता मनिकराम टैगोरले प्रधानमन्त्रीलाई मणिपुरमा भएका हिंसाबारे बोल्न बाध्य पार्नका लागि यो (अविश्वासको प्रस्ताव) ‘अन्तिम अस्त्र भएकाले विपक्षीहरू अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएको बताए ।

  • पुल नबन्दा तरकारी बारीमै कुहियो

    पुल नबन्दा तरकारी बारीमै कुहियो

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् ।

    बाढीले क्षतिग्रस्त बनाएको ६ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका–११ का रामगोपाल थारुले बताए । ‘तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो । बजारसम्म तरकारी पु¥याउन सकिएको छैन’, उनले भने । पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ ।

    अधिकांश गाउँमा बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरीया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया–४ का फक्लबहादुर सत्गौलाले बताए ।

    १६ करोड ६८ लाख रुपैयाँमा निर्मित जब्दीघाट पुल २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । जब्दीघाट पुल हस्तान्तरण नहुँदै भाँसिएको थियो ।

    पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असुल गरी जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बर्दिया क्षेत्र नम्बर १ का सङ्घीय सांसद सञ्जयकुमार गौतमले पहल गर्दै आएका छन् ।

    नयाँ पुल निर्माणको माग राख्दै उनले भत्किएको पुलमुनि गत वैशाख ३० देखि जेठ ६ गतेसम्म आमरण अनसनमा बसेका थिए । सांसद गौतम र भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच एक महिनाभित्र पुल निर्माण गर्ने सम्झौता भएपछि अनशन तोडिएको थियो ।

  • हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

    हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

    नयाँ दिल्ली । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरे । भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पु¥याउन सहायता रकम उपयोग हुने बताइएको छ ।

    विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो । विशेषगरी यो भाषा भारतमा बोलिन्छ भने अन्य राष्ट्रमा पनि यो भाषा बोल्नेहरू छन् । भारतले संयुक्त राष्ट्रसङ्घमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दी भाषीलाई विश्वव्यापी मान्यता दिनु हो ।

    राष्ट्रसङ्घको ‘मल्टिमिडिया प्लेटफर्म’ बाट हिन्दी भाषामा समाचार, विचार, विश्लेषणलगायत सामग्री प्रकाशन एवम् प्रसारण भएपछि हिन्दी भाषीहरूलाई अन्तरराष्ट्रिय विषयमा बुझ्न र त्यसबारेका बहसहरूमा अझ सक्रिय रूपमा भाग लिन तथा अन्तरराष्ट्रिय समुदायमा थप समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने भारतको स्थायी नियोगले जनाएको छ ।

    नियोगका अनुसार बहुल संस्कृति र समूहमा सञ्चार गर्न तथा आपसी समझदारीलाई बढावा दिने प्रयासस्वरुप राष्ट्रसङ्घलाई अनुदान रकम उपलव्ध गराइएको हो । भाषिक समावेशीकरणका माध्यमबाट विविधतापूर्ण र समान संस्कृतिको प्रवद्र्धनका साथै विभिन्न भाषिक समूहबीचको खाडललाई कम गर्दै हिन्दी भाषी जनसङ्ख्यालाई बलियो बनाउने तथा विश्वव्यापी घटनाहरूमा उनीहरूको सक्रिय संलग्नतालाई बढाउने नियोगको विश्वास छ ।