Author: Anisha Tiwari

  • ‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुनाको चल्ने छ खटनपटन

    ‘घर ज्वाईं’ बस्दै दयाहाङ, मिरुनाको चल्ने छ खटनपटन

    काठमाडौं। चर्चित जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले फेरी एकपटक पर्दामा सँगै हेर्न पाउने भएका छन् । उनीहरु अनिल बुढा मगरको निर्देशनमा बन्ने नयाँ फिल्म ‘घर ज्वाईं’ मा अनुबन्धित भएका हुन् ।

    ‘जारी’ को अपार सफलतापछि दयाहाङ र मिरुनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको ताँती लागेको छ । मगर संस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुन् । माघ दोश्रो साताबाट छायांकन सुरु हुने फिल्ममा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

    ‘घर ज्वाईं’ मा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसकेका थिए । मिरुनासँग भने यसै साता ‘साइन’ भएको हो । पूर्वी रुकुमका विभिन्न स्थानमा छायांकन गरिने फिल्मका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिएका छन् ।

    जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई अहिलेको चर्चित बितरण कम्पनी आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशब्यापीरुपमा वितरण गर्ने पक्का भइसकेको छ ।

  • अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

    अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
    महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई÷तीन दिन वर्षा धेरै हुने देखिदैँन । ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ’, उनले भने ।
    महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताए ।
    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना  छ ।
    रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
    नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
          वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
    आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
    आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा बहाब बढ्नसक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सनकर्ता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
    महाशाखाका अनुसार भोलि र पर्सी देशभरका प्रमुख नदीमा जलसतह घट्दो हुने तथा सतर्कता तहभन्दा तल हुने, नदी तटीय क्षेत्रका क्रियाकलाप उच्च सतर्कताका साथ गर्न सकिनेछ ।
  • अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

    अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

    तनहुँ । पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

    केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटक–पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए ।

    जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताए ।

  • नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव

    नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चारवटा पालिकामा सञ्चालन भएको नारायणी नदी व्यवस्थापनको काममा बजेट अभाव भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानमा सुरु गरेको नदी व्यवस्थापनको काममा बजेट अभाव भएको कार्यालयले जनाएको छ ।
    गत आर्थिक वर्ष २०७९/८० मा नवलपुर र चितवनतर्फ नारायणी नदी व्यवस्थापनका लागि बहुवर्षीय योजनाअन्तर्गत परेको रु चार अर्ब ५० करोडबाट नदी व्यवस्थापनको काम सुरु गरिएको थियो । नारायणी नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चित गरिए पनि नवलपुरतर्फ पर्याप्त बजेट निकासा नहुँदा काम गर्न कठिनाइ परेको कार्यालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सिडिई) शङ्कर बुढाथोकीले बताए ।
    ‘नदी व्यवस्थापनका लागि ठेक्का लगाइएको ठाउँमा न्यून बजेट आउँदा काम सुरु हुनै सकेको छैन, केही स्थानमा निकासा भएको रकमभन्दा दोब्बर काम भएको छ’, उनले भने, ‘नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चितता भनेर आए पनि बजेट निकासा नहुँदा भुक्तानीमा समस्या भएको छ ‘
    उनका अनुसार गैँडाकोट नगरपालिका–२, ५, ६ र ९ मा नदी तटबन्धसहित सडक सडक निर्माण हुँदैछ । यहाँ पाँच किलोमिटर तटबन्धका लागि ड्यामसहित सडक निर्माण गर्न रु एक अर्ब नौ करोड बराबरको बहुवर्षीय ठेक्का लागेको बुढाथोकीले जानकारी दिए । नारायणीको कटान नियन्त्रण गर्न तटबन्धनसँगै इको करिडोर तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।
    जमिनको सतहबाट सात मिटर अग्लो ड्याम निर्माण गरिने भन्दै थपलियाले ड्यामको चौडा सात दशमलव पाँच मिटरको हुने बताए । गत मङ्सिर १५ मा ठेक्का लगेर काम सुरु भएको यस योजनाको म्याद विसं २०८२ जेठ १४ सम्म छ । हालसम्म करिब आठ सय मिटर ड्यामसहितको सडक निर्माण भइसकेको छ । ‘यस कामका लागि दुई पटक गरेर रु १७ करोड बजेट आयो । तर बजेटभन्दा काम धेरै बढी भइसकेको छ’, उनले भने, ‘निर्माण कम्पनीलाई थप रु २५ करोड भुक्तानी गर्न बाँकी छ, भुक्तानी गर्न बाँकी भएपछि अहिले काम रोकिएको छ ।’
    त्यस्तै, गैँडाकोट–१० र देवचुली–१७ मा ग्याबिनसहितको नदी तटबन्ध र बिग बोल्डर (ठूलो ढुङ्गा राखेर गरिने तटबन्ध)का लागि रु सात करोडको अर्को ठेक्का लागेको उनले बताए । ‘यस प्याकेजका लागि २०८१ साल साउन ४ गतेसम्म एक हजार तीन सय मिटर तटबन्धको काम सकाउने गरी ठेक्का लगाइएको थियो’, उनले भने, ‘सात सय ५० मिटरको काम सकिएको छ, यस प्याकेजमा रकम अभाव नभए समयमै काम सकिनेमा हामी विश्वस्त छौँ ।’
    देवचुली–१७, कावासोती–१७ मध्यविन्दुको वडा नं २ र ३ मा एकमुष्ट रु १२ करोड २५ लाखको ठेक्का लगाइएको भए पनि काम सुरु हुन नसकेको बुढाथोकीको भनाइ छ । ‘देवचुलीको वडा नं १७ मा तीन सय मिटर स्लोप, कावासोती–१७ मा एक सय ५० मिटरसम्म लम्बाइका तीनवटा ठक्कर र मध्यविन्दु–२ र ३ मा एक किलोमिटर स्लोप बनाउने गरी ठेक्का लागेको थियो’, उनले भने । यस प्याकेजको म्याद आगामी असारसम्म भएकाले बजेट निकासा भएमा समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले जनाएको बुढाथोकीको भनाइ छ ।
    ‘नारायणी नदीको सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र मानिएको मध्यविन्दुको वडा नं २ को सीतापुर तथा वडा नं ३ को ब्रह्मस्थान हो’, उनले भने, ‘सीतापुरमा दुई सय मिटर तथा ब्रह्मस्थानमा आठ सय मिटर स्लोप बनाउने गरी ठेक्का लगाइएको थियो ।’ जोखिमयुक्त ठाउँ भएकाले ठूला–ठूला ढुङ्गा नदी किनारको भित्तामा राखेर स्लोप बनाउने गरी ठेक्का लगाइएको भन्दै बुढाथोकीले यहाँ काम गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जबाट अनुमति समयमै नदिएकाले पनि समस्या भएको बताए । ‘निकुञ्ज क्षेत्रमा काम गर्दा निकुञ्जको अनुमति लिनुपर्छ, हाम्रो तरिकाले काम गर्न मिल्दैन’, उनले भने, ‘निकुञ्जले विभिन्न विषय देखाउँदै अनुमति दिन ढिला गर्दा अहिले बाढीले ब्रह्मस्थानमा कटानसमेत गरेको छ ।’
    नदी व्यवस्थापनका लागि मध्यविन्दु–१५ र कावासोती–११ मा रु १२ करोडको ठेक्का लगाइएको छ । नारायणी नदीसँग जोडिएको मध्यविन्दुको गिरुवारी खोला र कावासोतीको लोकाहा खोलाको दोभानमा गरी दुई स्थानमा एकरएक किलोमिटर लामो ठक्कर दिने गरी काम भइरहेको सूचना अधिकारी बुढाथोकीले बताए । यस प्याकेजको म्याद आगामी असार मसान्तसम्म रहेको भन्दै अहिले एक हजार दुई सय मिटरमा तटबन्धको काम सकिएको उनले जानकारी दिए ।
    नारायणी नदी व्यवस्थापनको काम गर्न नवलपुर जिल्लामा सञ्चालित समग्र योजनाका लागि चालु आवमा ६ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको सूचना अधिकारी बुढाथोकीले बताए । ‘स्रोत सुनिश्चित भनेर आए पनि यस वर्षका लागि जम्मा छ करोड रकम विनियोजन भएको छ’, उनले भने, ‘यो पैसाले पहिलेको भुक्तानी गर्न पनि पुग्दैन बाँकी काम सम्पन्न गर्न बजेट नै छैन ।’
  • खोलाले बगाउँदा बाबु-छोरा बेपत्ता

    खोलाले बगाउँदा बाबु-छोरा बेपत्ता

    दोलखा । दोलखामा खोलाले बगाउँदा बाबु–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।
    गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।
  • अष्ट्रेलियामा ‘जय हो’काे प्रचार सकेर फर्किए सलाेन

    अष्ट्रेलियामा ‘जय हो’काे प्रचार सकेर फर्किए सलाेन

    काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् । अब उनी नेपालमा फिल्मको प्रचारको काममा व्यस्त हुनेछन् । फिल्म अष्ट्रेलियाका ४० ओटा हलमा एकसाथ रिलिज हुनेछ ।

    त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा फिल्मको व्यानर समेत राखेका छन् । उनी अष्ट्रेलियाका विभिन्न सहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई फिल्मको बारेमा जनाकारी दिएका छन् । त्यहाँ फिल्म हेर्न दर्शक निकै प्रतिक्षारत रहेको पाएको अभिनेता बस्नेतले बताए ।

    अष्ट्रेलियाबाट फर्के लगत्तै सलोन अब ‘जय हो’को प्रचारको लागि देश दौडाहामा निस्कने तयारीमा छन् । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेडमा समीर खान । निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छ्न।

  • क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो (भिडिओ)

    क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो (भिडिओ)

    हेटौंडा । मकवानपुर क्रिकेट सघं मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठक माथि कालो तरल पदर्थ छ्यापिएको छ ।

    हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खाने क्रमामा सचिव पाठक माथि कालो पदार्थ छ्यापिएको हो । स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेका छ्न । अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ ।

  • भारतीय पर्यटकलाई २५ हजार मात्रै ल्याउन दिने कानूनले पर्यटन प्रवर्द्धनमा समस्या : गृहमन्त्री पाण्डेय

    भारतीय पर्यटकलाई २५ हजार मात्रै ल्याउन दिने कानूनले पर्यटन प्रवर्द्धनमा समस्या : गृहमन्त्री पाण्डेय

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउन सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    पर्यटकलाई आवातजावतमा सहजता प्रदान गर्नुपर्ने र पैसा खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्ने काममा सबैको समन्वय जरूरी रहेको बताए ।

    सिद्धार्थ सञ्जाल रुपन्देहीको साधारण सभामा मन्त्री पाण्डेयले सरकारले पर्यटन सम्बन्धी नीति बनाउने र वातावरण निर्माण निजी क्षेत्रले गर्नुपर्ने बताए । उनले भने, ‘मर्यादा खोजेर हुँदैन । सामूहिक प्रयासले नै राष्ट्रको विकास हुन्छ । ’ उनले निर्वाचनमा सम्पूर्ण दलले गौतमबुद्ध र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा घोषणापत्रमा समावेश गर्ने गरेको उल्लेख गरे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचवटा अन्तर्राष्ट्रिय उडान हुन्छ भने कम्तीमा एउटा अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै प्रदेश सरकारले संघीय सरकारसँग पहल गरिरहेको उनले बताए । भारतीय पर्यटकले नेपालमा भारु २५ हजार मात्रै ल्याउन पाउने नियम व्यवहारिक नभएको भन्दै अर्थमन्त्रीसँग यस विषयमा कुरा राखिसकेको उनले बताए ।

    उनले भने, ‘पर्यटनको माध्यमबाट श्रीलंकाको आर्थिक अवस्था सुधार भएको छ । त्यसैले पर्यटकलाई विभिन्न ठाउँमा जरिवाना र करका नाममा सास्ती दिनुहुँदैन, नेपालमा आएका पर्यटकले बढी भन्दा बढी खर्च गर्ने गरी वातावरण बनाउनुपर्छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई फूलैफूलको सहर बनाउने योजना रहेको बताए । उनले नेपालमा कम्तीमा भारु ५ लाख रुपैयाँ ल्याउन दिनुपर्ने बताए । नगरप्रमुख खानले भने, ‘पर्यटक हाम्रा पाहुना हुन्, पर्यटकलाई कम्तीमा पनि ३ दिन बस्ने वातावरण बनाउनुपर्छ ।’

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सिद्धार्थ सञ्जाल रुपन्देहीबाट खबरदारी र सहयोगको अपेक्षा राखेको बताए । उनले भने, ‘सरकारी संयन्त्रलाई खबरदारी र सहयोग गर्नुपर्छ ।’ उनले लुम्बिनी हामी सबैको सम्पत्ति भएको बताए ।

    सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सिद्धार्थ सञ्जालले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, कृषिका साथै निजी क्षेत्रको हकहितका लागि एकजुट भइ कार्य गर्नुका साथै भौतिक निर्माण, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा पनि काम गर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या, दैवी प्रकोपमा सहकार्य, सामाजिक उत्तरदायित्व हुने गरी सरकारी काममा ढिलासुस्ती, निर्माण कार्यमा गुणस्तरीयताबारे ध्यान राख्ने बताए ।

  • माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव

    माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए ।

    पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्ययोजनाको चर्चा गरे । ‘समयअनुसार चल्न नसक्ने पार्टीहरु इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

    विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिट प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औंल्याए । लेनिनले कम्युनिष्ट पार्टीहरुको निम्ति संगठनको रुप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले संघर्षको स्थिति र विकासको प्रक्रिया अनुरुप संगठनको रुपहरुको खोजी गरिएको बताए । यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र संगठनमा भर पर्र्नुपर्ने चिनियाँ कम्युनिष्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

    पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरुको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरुको आन्दोलनले धेरै ठूलो योगदान गरेको बताए । नेपालको संविधानले राज्यका सबै तहमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेण्टी गरेको उल्लेख गरे । आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको जनाए । पुनले नेपाली समाजको रुपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अबमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।

  • एनआईसी एशिया बैंकले ल्यायो तीन कर्जा योजना

    एनआईसी एशिया बैंकले ल्यायो तीन कर्जा योजना

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ तीन कर्जा योजना ल्याएको छ ।

    शुक्रबार बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।

    नयाँ कर्जा योजनामा बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहक महानुभावहरुले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

    योजना अन्तर्गत ग्राहकहरुले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यस कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । भने, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा पनि बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

    त्यस्तै, बैंकले व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा प्रदान गर्ने भएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले जनाएको छ । भने, बैंकले साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा लिन सक्नेछन् ।

    त्यसैगरी, बैंकले न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट शेयर धितो कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको छ ।

    बैंकले देशभर ३६० शाखा कार्यालय, ५६७ एटिएम, ११० विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल मार्फत सेवा दिँदै आएको छ ।

  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण

    काठमाडौं । २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ।

    काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

    युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।

    वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० बिरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन् ।

     

  • सुब्बाको ‘गाउँ आएको बाटो’ टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदै

    सुब्बाको ‘गाउँ आएको बाटो’ टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदै

    काठमाडौं । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’ प्रतिष्ठित टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, क्यानडामा वल्र्ड प्रिमियर हुने भएको छ । सेप्टेम्बर ७ देखि १७ तारिखसम्म सम्भालना हुने यस फेस्टिभलका लागि यस फिल्म छनोट भएको निर्देशक सुब्बाले जानकारी दिए ।

    भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायंकन गरिएको यस फिल्मले गाउँमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढाव र दरारको कथा भन्छ । फिल्ममा दयाहाङ राई, पशुपति राई लगायत कलाकारको अभिनय रहेको छ ।

    यसअघि सुब्बाको फिल्म ‘नुमाफुङ’ विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनोट तथा पुरस्कृत भएको थियो ।

    सुब्बाका अनुसार अहिले फेस्टिभलको सिजन भएकाले ‘गाउँ आएको बाटो’ फेस्टिभलहरुमै जानेछ । त्यसपछि मात्रै नेपालमा रिलिज हुनेछ । सुब्बाले भने, ‘नेपालमा त त्यस्तै आउँदो फागुन, चैततिर रिलिज हुन्छ होला । अहिले चाहिँ फेस्टिभलकै सिजन भएकाले अन्तर्राष्ट्रिय फेस्टिभलहरु नै टार्गेट गरेका छौं ।’

  • वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

    वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाबीच सम्झौता भएको छ ।

    बिहीबार बैंक र नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौतामा भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार नगरपालिकाले आफ्नो क्षेत्र भित्रका उद्यम तथा व्यवसाय गर्न चाहानेलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गतको कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास बैंकको छ ।

    कार्यक्रममा नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पुग्ने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमीको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पु¥याइरहेको बताए ।

    बैंकको हाल देशभर २८२ वटा शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

  • भक्तपुर चाँगुमा नक्कली नोटको ‘फ्याक्ट्री’- १५ लाख नक्कली पैसासहित ९ जना पक्राउ

    भक्तपुर चाँगुमा नक्कली नोटको ‘फ्याक्ट्री’- १५ लाख नक्कली पैसासहित ९ जना पक्राउ

    काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ नक्कली नोट बरामद गरिएको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख रूपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो ।
    प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए ।
    प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
    सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ ।
    यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौंको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताए ।
    -रासस
  • स्कारपियो दुर्घटनामा ५ जना घाइते

    स्कारपियो दुर्घटनामा ५ जना घाइते

    चितवन । आज बिहान बेनिघाट रोराङ ३ मालिङ्गामा चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको बा २१ च ६०४३ नं.को स्कारपियो अनियन्त्रित भई सडक भित्तामा ठोकिदाँ पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते हुनेहरुमा बाराको कोल्बी नगरपालिकन ४ का २८ वर्षीय प्रकाश थापा, सोही ठाउँका ५५ वर्षका भरतबहादुर भणडारी, ३० वर्षका दामोदर तिमल्सिना, ३२ वर्षका कपिल प्रसाईं र बागलुङ नगरपालिका १४ का रामचन्द्र क्षेत्री छन् ।

    उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

    घाइते सबैको राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचार पछि काठमाडौं पठाइएको धादिङ प्रहरीले जनाएको छ ।

  • ‘मेरो भ्वाईस यूनिर्भस र डान्स’को ग्रान्ड फिनाले भदौ २ गते हुने

    ‘मेरो भ्वाईस यूनिर्भस र डान्स’को ग्रान्ड फिनाले भदौ २ गते हुने

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भस’को ग्रान्ड फिनाले भदौ २ गते हुने भएको छ ।

    बिहीबार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजेदेखि गर्न लागेको जानकारी दिएको हो ।

    कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराइएको थियो ।
    ३० एपिसोडसम्म प्रसारण भईसकेको मेरो भ्वाईसको टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई पर्न सफल भएका छन् भने दार्जेलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईको अन्तिम प्रतिष्पर्धा रहने छ ।

    त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाईल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जनाबीच अन्तिम प्रतिष्पर्धा रहने छ । यि दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउनेछन् भने उप– विजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउनेछन् ।

    एलन श्रेष्ठको निर्देशनमा निर्मित यि दुवै कार्यक्रमको प्रसारण ३ महिनासम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रह्यो । ‘हाम्रा रियालिटी सोले विश्वभर रहेका रहेका नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट एक जुट बनाउने उद्येश्य राखेको छ जसका लागि हामीले एक रुपैयाँ पनि नाफा नराखी यो कार्यक्रम गरेका हौँ त्यसैले आगामी वर्ष हाम्रा कार्यक्रमलाई अझ परिस्कृत गर्दै लाने छौँ ।’ ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन् ।

    कार्यक्रममा मेरो भ्वाईस तर्फ जज बनेका वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रममा प्रतियोगीले उठाएको साँस्कृतिक पक्ष मात्र नभई कार्यक्रम निकै अब्बल रहेको दाबी गरे । त्यसैगरी डान्स यूनिभर्सको तर्फबाट जज बनेकी अभिनेत्री मिथिला शर्माले प्रतियोगीले नेपाली संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको भन्दै यो मञ्चमा आउँनै नै जीत हो भन्दै प्रतियोगीको तारिफ गरेकी थिईन् ।

    दुई रियालीटी शोको डान्स तर्फ मिथिला बाहेक शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा थिइन भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङले लिड गरेका थिए ।

    यसैगरी भ्वाईस तर्फ दीप श्रेष्ठ सहित सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा छन जुन कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका छन ।

  • कैलालीका बाढीपीडितको सडकमा बास

    कैलालीका बाढीपीडितको सडकमा बास

    कैलाली । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।
    टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ ।
    जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ एक सय १५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ ।
    बाढीले सबैभन्दा बढी क्षति भजनीमा गरेको छ । भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ । उनीहरु बच्चासहित सडकमा छन् । सडकको बसाईं कष्टकर भएको उनी बताउछिन् । ‘तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उनले भनिन्, ‘बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।’
    छविराम पोखे्रलको परिवार पनि तीन दिनदेखि सडकमा छ । गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उनका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । ‘बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनी भन्छन्, “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।”
    बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गर्छिन् । ‘गर्भवती तथा बच्चामा आमा समस्यामा छन्’, उनी भन्छिन्, ‘पानीमात्र खाएर बच्चाले कहाँ मान्छन् ? रकम भएकाले चाउचाउ, चिउरा मगाएका छन्, बच्चाहरुले खान मानेका छैनन् ।
    वडा नं ३ कै रतरानीदेवी चौधरी बाढी आएपछि हुलाकी सडकमा बसिरहेकी छन् । उनको दुई वर्षको बच्चासहित दुई बच्चा साथमा छन् । उनी बच्चासहित सडकमा भुइँमै बसेकी छन् । रतरानीदेवीलाई बच्चाले निकै सताएको छ । ‘भुइँमा दुई रात सुतियो, दुई बच्चा छन्, घाम, पानी र लामखुट्टेले सताए’, उनी भभन्छिन्, ‘भोकभोकै, बच्चाको पीडा, सडकको बास दुई वर्षजस्तै भएको छ ।’
    त्यसैगरी भजनी नगरपालिका–८ का खेमराज जैसी र उनका छिमेकी पनि घर छोडेर सडक र आफन्तकहाँ आश्रय लिइरहेका छन् । बाढी प्रभावित बस्तुभाउसहित सडकमा बसिरहेका छन् । काढाढिककै सपना विकको १२ जनाको परिवार पनि बाढीका कारण सडकमै छ । उनीहरुले पानीबाहेक केही खान नपाएको सपना बताउछन् । ‘सरकारले कहिले बुझ्ला हाम्रो समस्या ?’, उनी भन्छन्, ‘हरेक वर्ष बर्खामा हाम्रो बिचल्ली हुन्छ, ठाउँ छोडेर जाने हाम्रो स्थिति छैन, हामीले कस्तो जिन्दगी पाएछौँ ?’
    धनसरादेवी जैसी तीन दिनदेखि आफन्तका घरमा बसिरहेका बताउछन् । उनी छिमेकीले बोकेर उद्धार गरेको, पानीबाहेक केही खान नपाएको गुनासो गर्छिन् । विस्थापितमध्यकै भीमबहादुर विश्वकर्मा सडकको बास निकै कठिन भएको, खाद्यान्न बोक्न नसकिएकाले खान बस्नको समस्या भएको बताउछन् । ‘म मात्र होइन, विस्थापित सबैको समस्या छ’, उनी भन्छन्, ‘सयौँ परिवार विस्थापित छौँ, सयौँ परिवारकै अवस्था पीडादायी भएको छ ।’
    भजनीका उद्धारकर्ता खेमराज पाण्डे विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहलाई बढी समस्या भइरहेको बताउछन् । ‘गर्भवती, सुत्केरीले खान पाउनुभएको छैन’, उनी भन्छन्, ‘पानी सम्मको व्यवस्था भएको छ । अब पालिकाले उनीहरुलाई सुरक्षित सेल्टरमा लैजाने तयारी हुँदैछ ।’
    भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ । स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताए । ‘जहाँ जहाँ विस्थापित बसेका छन्, त्यहाँ हामीले शिविर स्थापना गरेर उपचार थालेका छौँ’, उनले भने, ‘स्वास्थ्यकर्मी औषधिसहित खटेका छौँ ।’
    भजनी नगरपालिकाका प्रमुख केबल चौधरी बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताउँछन् । ‘सयौँ परिवार विस्थापित भएका छन्, हरेक वर्ष बाढीले यस्तो समस्या निम्त्याउँछ’, उनी भन्छन्, ‘सहयोगी सङ्घसंस्थाको साथ लिएर प्रभावितलाई उद्धार र राहत दिने कार्य थालेका छौँ । सबैको पीडामा हामी मलहम लगाउने कोशिसमा छौँ ।’
    बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन् । यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ ।
  • शिशुलाई लाभदायी यी हुन् पाँच पोसिला खानेकुरा, कसरी बनाउने ?

    शिशुलाई लाभदायी यी हुन् पाँच पोसिला खानेकुरा, कसरी बनाउने ?

    काठमाडौं । शिशुलाई पुरक खानेकुरा कतिसम्म दिनुपर्छ भन्ने विषयमा सबै जनकार नहुन सक्छन् ।

    पहिले–पहिले खानेकुराको विविधता नभएका कारण बालबालिकाहरुमा कुपोषण देखिन्थ्यो। त्यसको ठ्याक्कै उल्टो आजभोलि विविधतामा नै अन्योल जस्तो देखिन्छ । आफ्नो बालबालिकाहरुलाई बलियो र क्षमताबाहान बनाउनका निमित्त पाचन क्षेमताभन्दा धेरैथरीका खानेकुराहरु दिइरहेको पाइन्छ । जसको असर बच्चाहरुको अंगहरुमा पार्ने हुन्छ ।

    शिशु जन्मेको ६ महिनासम्म आमाको दुधले पुग्ने हुन्छ तर, त्यसपछि शिशुको खानेकुरामा पनि बिस्तारै बढाउनुपर्ने डाइटिशियन डा. किरण तिवारी बताउँछन् । तिवारीका अनुसार सामान्यतया यस्ता विषय थाहा भएकै हुन्छ तर सबैले बुझेका हुदैनन् । बच्चाहरुलाई खानेकुरा दिनुपर्छ भन्ने बित्तीकै सबै थरीका खानेकुरा खुवाउनु नोक्सानदायी हुन्छ ।’

    यि पाँच प्रकारका पोषणयुक्त खानेकुरा यसरी बनाएर बच्चालाई खुवाउन उपयुक्त हुन्छ ।

    जाउलो

    जाउलो सबैको सोचमा आउने पहिलो खाना हो । तर बच्चाहरुलाई दिने जाउलो पोसिलो बनाउनुपर्छ । जसको लागि गाजर, फर्सी र साग राखेर जाउलो बनाउन सकिन्छ । चलमल अनुसार दुई थरिका दाल (मुगु, मुम, मुसुरो) दिनुपर्छ । त्यसमा गाजर, फर्सी र साग मध्ये एक साथै स्वादको लागि नुन र घिउ थप्न सकिन्छ । यसरी पोसिलो जाउलो बनाएर खुवाउन सकिन्छ ।

    लिटो

    पोसिलो लिटो बनाउन गहुँ, मकै, भटमास छुटा छुट्टै बराबर मात्रामा लिने । त्यसलाई भुट्र पिस्ने अर्थात मिक्चरमा राखेर धुलो बनाउने । यसरी बनाइएको पिठोलाई पानिमा उमालेर स्वादको लागि चिनी राख्न सकिन्छ । लिटोलाई दुधमा राखेर पनि बनाउन सकिन्छ । साथै पानिमा उमालेर बनाउदा अण्डाको भित्री भागलाई मिक्स गरेर बनाउन पनि सकिन्छ ।

    आलुको सुप

    एउटै कुरा धेरै बनाइरहन मन नलागेमा नयाँ र नलौ खानेकुरा आलुको शुप हो । आलुको शुप बनाउनका लागि आवश्यक एक वा दुई दाना आलु र चार देखि पाँच थरीका दालहरु लिने । साग, टमाटर, प्याजलाई दाल पकाए सरह नै कुकरमा सिटी लगाएर बनाउँदा एकदमै पोखिलो सुप तयार हुन्छ ।

    अण्डा

    अण्डा आफैमा प्रोटिनको स्रोत हो । बच्चाका लागि अण्डा बनाउन काउली, गाजर र आलुलाई उमाल्ने । उसीनेको काउली, गाजर र आलुमा उसीनेको अण्डलाई त्यसमा मिक्स गरेर तयार गर्न सकिन्छ ।

    फर्सीको रोटी

    यसमा पहिला फर्सीलाई स–सानो टुक्रामा काट्ने । काटिएका फर्सीलाई पनिमा उमाल्ने । उमालिसकेपछि उक्त सर्फीलाइ लिटो जस्तै गुद्धने । त्यसमा गहुँको पिठो र काचो अण्डालाई मिलाएर पेस्ट बनाउने । यसरी बनाइएको पेस्टलाई पेनमा तावा अथवा प्यानमा घिउ राखेर विस्तारै रोटिको आकार बनाए तयार गर्ने । यसरी तयार भएको रोटीलाई बच्चाको उमेर अनुसार मिलाएर खुवाउन सकिन्छ ।

  • ढाका कपडाले बजार पाएन

    ढाका कपडाले बजार पाएन

    रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।

    एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले १ लाखसम्मको कपडा बुनिसकेको छ ।

    ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । ‘हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्’, गङ्गा थापाले भनिन् ।

    ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरु छन् । “बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनौं, यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पु¥याउने योजना हाम्रो छ”, थापाले भने । विगत चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिमनै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन् ।

    महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो । महिलाले तालिम पनि लिए । सीप पनि सिके । तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निरास भएका छन् । आफैँ बजारको खोजिमा जाने योजना रहेको उनीहरु सुनाउँछन् ।

    विगतका वर्षहरुमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन् । खलङ्गा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ । विगतका वर्षहरुमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थे । अल्लोको भने बजारको समस्स्या नभएको थापाको भनाइ छ ।

    महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन् ।

  • ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।