Author: Anisha Tiwari

  • अरू खेलले तत्काल विश्वकप खेल्ने सम्भावना छैन, क्रिकेटमा लगानी बढाऔँ – अध्यक्ष चन्द

    अरू खेलले तत्काल विश्वकप खेल्ने सम्भावना छैन, क्रिकेटमा लगानी बढाऔँ – अध्यक्ष चन्द

    कैलाली । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाली खेलकुदमध्ये सबैभन्दा धेरै लगानी क्रिकेटमा लगाउन आवश्यक रहेको बताएका छन् ।

    शनिबार धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको साधारण सभामा बोल्दै चन्दले क्रिकेटले मात्रै तत्काल विश्वकप खेल्न सम्भव भएको हुँदा सरकारले लगानी बढाउनु पर्ने बताए ।

    उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेकाले भन्दै आगामी दिनमा खेल उत्कृष्ट बनाउनको लागि लगानी बढाउनु पर्ने बताए ।

    उनले भने, ‘नेपालप्रति आईसीसी अत्यन्तै सकारात्मक र नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्ने र अबको समय भौतिक पूर्वाधारमा लगाउनुपर्ने छ ।’

    सन २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टी- ट्वाण्टी विश्वकप एसिया क्वालिफायरको आयोजना गर्ने जिम्मा नेपाललाई दिनु, सन २०२७ मा यु–१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले पनि नेपालको गरिमा बढेको अध्यक्ष चन्दको भनाइ छ ।

    नेपालमा क्रिकेट क्रेज देखेर विश्वका अधिकांश देशहरू नेपाल आउन चाहेपनी सुरक्षा सहितको स्टेडियम बनाउन नसक्दा त्यो सम्भव नभएको उनले दाबी गरे ।

    चन्दले खेल पर्यटनबाट अरबौँ कमाउने सक्ने सम्भावना हुँदा हुँदै पनि सरकारले कुल बजेटको ५ प्रतिशत मात्रै खेलकुदमा राखेर विभेद गरिरहेको बताए ।
    उनले पुनः आफू क्यानको नेतृत्वमा आए प्रधानमन्त्री, खेलकुद मन्त्री, मूलधारका राजनीतिक दलका नेतालाई पूर्वाधार विकासमा लगानी बढाउन माग गर्ने बताए ।

    सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवालाई फाप्ला खेल ग्राममा केन्द्र सरकारले ढिलाइ गरे प्रदेश सरकारले बनाउन इच्छुक हुनुपर्ने समेत बताए ।

    उनले मन्त्री देउवालाई एक वर्षमा सम्भव नभए ३÷४ वर्षको अवधिमा फाप्ला मैदानलाई बनाएर सुदूरपश्चिममा क्रिकेट विकासलाई अझै अगाडी बढाउन सकिने बताएका थिए ।

  • गठबन्धन बैठकमा पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान नगर्ने छलफल भएकोमा गगनको आपत्ति

    गठबन्धन बैठकमा पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान नगर्ने छलफल भएकोमा गगनको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्न सिआइबीलाई गठबन्धनले दबाब दिएकोमा आपत्ति जनाएका छन् ।

    शनिबार इलाममा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धन बैठकमा अदालतको आदेश र ललिता निवास प्रकरणबारे छलफल हुनु नै आपत्तिजनक रहेको बताए ।

    महामन्त्री थापाले भने– मैले पनि समाचारबाट थाहा पाएँ,बालुवाटारमा गठबन्धनको बैठक बस्यो । गठबन्धनको बैठकमा नेताहरु बसेर छलफल गरे । ललिता निवासको बारेमा छलफल भयो र त्यो छलफलमा पूर्व प्रधानमन्त्रीहरुमाथि अनुसन्धान नगर्ने भन्ने सहमति भयो रे । गठबन्धनमा यस्तो छलफल गर्न पाइन्छ ?

    महामन्त्री थापाले कांग्रेस बैठकजस्तै अब गठबन्धनको बैठक र कांग्रेस एमाले तथा माओवादीका शीर्ष नेताहरुको बैठक पनि लाइभ गर्नुपर्ने बताए । ती बैठकमा के छलफल हुन्छन् भन्ने जनताले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

  • बारामा टिभिएसको शोरुम उद्घाटन

    बारामा टिभिएसको शोरुम उद्घाटन

    काठमाडौं । बारामा टिभिएस मोटरसाईकलको नयाँ शोरुम उद्घाटन भएको छ ।

    बिहीबार सिमरा उपमहानगरपालिका जीतपुरमा स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर उद्घाटन गरिएको हो ।

    करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको शोरुमले नँया मोटरसाईल, स्कुटर, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू गर्नेछ ।

    नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काट्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए ।

  • ऐँचो पैँचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाईं

    ऐँचो पैँचो’ दर्शकले मन पराउने सिनेमा हो : कृषा चौलागाईं

    काठमाडौं । सिनेमा ‘ऐँचो पैँचो’ निर्देशक कृषा चौलागाईंले एउटा मेकरको रोजाइको कथा लाखौं दर्शकले मन पराउनु सामान्य कुरा नभएको बताएकी छन् ।
    सिनेमा निर्माणका क्रममा एकजनाको रोजाइको कथा लाखौं र करोडौंमा जाने भएकाले त्यससँग सबै सहमत हुन्छन् भनेर अपेक्षा राख्नु नै गलत भएको बताएकी छन् । करोडौंको विचार एउटै हुन्छ र मिल्छ भनेर सोच्नु नै गलत भएको उनको भनाइ छ ।

    यद्यपि आफूहरुले यसपटक धेरै दर्शकले मन पाउने चलचित्र बनाएको उनले बताएकी छन् । ‘यो सिनेमा सक्सेस भए पनि यहीँ रहन्छु । नभए पनि फेरी खुट्टा टेकेर उठ्छु । एकपटक फेलियर हुँदैमा यो क्षेत्रमा रहनु हुँदैन भन्ने छैन,’ ऐँचो पैँचो निर्देशक कृषा भन्छिन्, ‘मलाई कसैले रोक्न सक्दैन । यो मेरो निर्णय हो । सिनेमा सक्सेस हुन्छ अथवा हुँदैन कोही व्यक्ति विशेषमा छैन, दर्शकको हातमा छ ।’

    आफू निर्मात्री हुँदादेखि नै निर्देशकीय कामलाई आफूले नजिकबाट नियाल्ने गरेको उनले बताएकी छन् । म वास्तवमा प्रोडुसर हुँदा पनि प्रोडुुसरको कुर्सीमा बसिरहँदा निर्देशकले सट लिँदा त्यसलाइ त्यसरी होइन यसरी लिँदा कस्तो हुन्छ भनेर सोच्थेँ,’ उनी भन्छिन्, ‘त्यसैले आफूले केही हेरेर र सहभागी भएर गरेको काम यसपटक आफैँ किन नगरौँ भनेर म निर्देशक भएको हुँ ।’

    उनले दर्शकका लागि आफूहरुले राम्रो कन्टेन्ट तयार पारेको भन्दै दर्शक पनि सिनेमा हेर्न तयार हुनुपर्ने बताइन् । कृषा चौलागाईंको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

    सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह–निर्माता रहेका छन् ।

  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।

    शुक्रबार इन्स्योरेन्सले आफ्नो ६औं स्थापना दिवसको अवसरमा देशका सातवटै प्रदेशमा रक्तादान कार्यक्रम गरेको हो ।

    सातै प्रदेशमा रहेका साखा कार्यालय विर्तामोड, इटहरी, वीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा ६१९ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।

  • पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले

    पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले

    कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् ।

    गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।

    ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ सडकमा निस्कीएका थिए । पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोकलगायतमा स्थानमा बिहानदेखि नै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

    पर्यटकीय सहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षौंदेखि पहल भए पनि कार्यान्वयन हुन सकेको थिएन । विसं २०७७ मा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र चर्को भाडा तिनुपर्ने परेको व्यापक गुनासो आएको थियो ।

    यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले कार्यान्वनयको पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बताए । उनका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका एका/दुई ट्याक्सी चालकलाई सचेत गराइएको र आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने बताए ।

    यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुनेसमेत स्पष्ट पारेको छ ।

    कार्यालय प्रमुख रिज्यालले भने, ‘पोखरामा ट्याक्सी मिटरमा सञ्चालन हुन सुरु भयो, राम्रोसँग कार्यान्वयन भएको पाइएको छ, मिटरमा सञ्चालन भए /नभएको बारेमा नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ ।’ ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटर बराबर १० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७.५० रुपैयाँका दरले भाडा लिनुपर्नेछ ।

    मन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरे पनि लागू नभएको बताए । उनले अब लागू गरेरै छाड्ने प्रतिबद्धता जनाए । मन्त्री जुग्जालीले भने, ‘पहिला किन लागू भएन भनेर समेत हामीले समीक्षासमेत गरेका छौँ, अहिले लागू भएरै छाड्छ ।’

    चालक मिटरमा चले/नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको जानकारी मन्त्री जुग्जालीले दिए । ट्याक्सी चालकले समेत मिटरमा चल्न कुनै अप्ठेरो नभएको बताएका छन् । इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा ट्याक्सी चालक जीवन बरालले बताए ।

  • ‘पशुपति प्रसाद २: भष्मे डन’को फस्ट लुक सार्वजनिक

    ‘पशुपति प्रसाद २: भष्मे डन’को फस्ट लुक सार्वजनिक

    काठमाडौं । दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा ‘पशुपति प्रसाद २: भष्मे डन’ को आज फस्ट लुक सार्वजनिक भएको छ ।

    चलचित्रको विदेश रिलिजको सम्पूर्ण जिम्मा सेभेन सिज प्रालीले लिएको छ । चलचित्रको अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा रिलिज पक्का भैसकेको छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् ।

    टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने छ । सिनेमा विदेशका ठूला र नाम चलेका मल्टिप्पलेक्स चेनहरुमा पहिलो पटक रिलिज हुन लागेको हो ।

  • फिल्म ‘जय हो’ टीम प्रचार प्रसारमा व्यस्त

    फिल्म ‘जय हो’ टीम प्रचार प्रसारमा व्यस्त

    काठमाडौं । आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’ टीम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । सिनेमाको निर्माण टीम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भएर जय हो प्रचार गरिरहेको देखिन्छ ।

    यसैबीच सिनेमाको टिम शुक्रबार बिहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर जय हो प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राई जय होको बारेमा जानकारी दिएका थिए ।

    सिनेमाका मुख्य अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा जय हो टिमले विद्यार्थीसँग बिताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले सिनेमाको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।

    सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

    शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

    सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

  • थप ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स

    थप ५ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स

    काठमाडौ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

    आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ । लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । हालसम्म ब्रोकरको लाइसेन्स पाउनेको संख्या ३७ पुगेको छ ।

  • पाइप लाइनबाट घरघरमा ग्यास

    पाइप लाइनबाट घरघरमा ग्यास

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन् । दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ ।

    ‘नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो’, चौधरी भन्छन्, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।’

    टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताउछन् ।

    ‘दाउराको भरमा खाना पकाउन समस्या थियो’, उनी भन्छिन्, ‘अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ ।’ ग्यास नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको चौधरीको गुनासो छ ।

    ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरी थारू बताउछन् । उनले कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गरेका छन् ।

    ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताछिन् । ‘दीर्घकालीन बन्ने/नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ’, उनले भनिन् ।

    दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ । ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । एक करोड ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो ।

    गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ । ‘चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ ।’ सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भने, ‘गोबर पर्याप्त छैन । आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।’

    गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउछन् । ‘एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरेर’, बुढाक्षेत्रीले भने, ‘नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्छौँ ।’

    नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताए । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट सङ्कलन भएको फोहोरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए।

    गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताए ।

  • विद्युत प्राधिकरणको उत्पादन क्षमता २६ सय ८४ मेगावाट पुग्यो

    विद्युत प्राधिकरणको उत्पादन क्षमता २६ सय ८४ मेगावाट पुग्यो

    काठमाडौ. । नेपालको विद्युत उत्पादन क्षमता २ हजार ६ सय ८४ मेगावाट पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा विभिन्‍न जलविद्युत आयोजना निर्माण सम्पन्न भइ ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भएर कुल जडित उत्पादन क्षमता २ हजार ६ सय ८४  पुगेको हो ।

    गत वर्ष सुख्खायाममा प्राधिकरण तथा स्वतन्त्र विद्युत उत्पादकहरुको विद्युत उत्पादन केन्द्रबाट प्रक्षेपण गरिएभन्दा कम विद्युत उत्पादन भएकोले केही बढी परिमाणमा विद्युत आयात गरिएको थियो ।

    नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिक उत्सवमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष पनि पनि विद्युत उत्पादनमा बृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि र स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका बताए ।

    घिसिङले अघिल्लो आ.व. मा १५.३८ प्रतिशत रहेको विद्युत चुहावटलाई घटाइ आ.व २०७९/८० मा १३ प्रतिशतमा झार्न सफल भएक उल्लेख गरे ।घिसिङका अनुसार यो प्राधिकरणको इतिहासमा हाल सम्मकै न्यून विद्युत चुहावट हो ।

    सामुदायीक ग्रामिण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्‍ट्रिय ग्रीडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख ४० हजार पुगेको छ। हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा विद्युत खपत पनि साढे ५ प्रतिशतले बढेर ९ अर्ब ३५ करोड युनिट पुगेको छ। गतवर्ष स्वदेशी जलविद्युतको उत्पादन कम हुँदा बढी बिजुली आयात गर्नुपरेको थियो जसका कारण प्राधिकरणको नाफा अघिल्लो वर्षको तुलनामा घट्न गएको छ ।

  • सुनको मूल्य स्थिर हुदाँ चाँदीको बढ्यो

    सुनको मूल्य स्थिर हुदाँ चाँदीको बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन बजारमा सुनको मूल्य स्थिर रहेको छ भने, चाँदीको बढेको छ ।

    शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा स्थिर रहेको छ ।

    त्यसैगरी यसदिन चाँदीको मूल्य बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • भारी वर्षाको सम्भावना

    भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

  • घाँस काट्दै गरेकी श्रीमतीको हत्या

    बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् ।

    घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

    प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

    ६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

    काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।

    कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् ।

    होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

    हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए ।

    ‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनले भने ।

    सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताछन् ।

    ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौंमा चारतारे होटल बाराही काठमाडौं सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

  • हुम्लाको नाम्खामा भोट भाषाको पढाइ हुने, पाठ्यक्रम तयार पार्न समिति गठन

    हुम्लाको नाम्खामा भोट भाषाको पढाइ हुने, पाठ्यक्रम तयार पार्न समिति गठन

    सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।

    नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।

    गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको हो । कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिको सदस्यमा पाल्जोर तामाङ र कन्जोक लामा तथा मनराज बुढा सदस्य सचिव रहेका छन् । स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ ।

    शिक्षा शाखा प्रमुख बुढाले आगामी शैक्षिक सत्र २०८१/८२ देखि गाउँपालिभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने बताए । स्थानीय भाषा लेखनमा पोख्त कन्जोक लामाले पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए । नाम्खा गाउँपालिकाका सामुदायिक, संस्थागत र धार्मिक गरी १७ विद्यालयमा लामा भोट भाषाको पठनपाठन गराउने तयारी छ ।

  • तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन आज १ लाख ९ हजार ८५० रुपैयाँँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

  • पेट्रोल पम्पमा आगो लाग्दा ३० जनाको मृत्यु

    पेट्रोल पम्पमा आगो लाग्दा ३० जनाको मृत्यु

    मस्को । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा तीन बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
    आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।
    रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।
    दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन् ।
    दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
  • हिमालयन बैंक र तायो इको रिर्सोटबीच छुट सम्झौता

    हिमालयन बैंक र तायो इको रिर्सोटबीच छुट सम्झौता

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोटबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार बैंक र रिर्सोटबीच छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार बैंकका ग्राहकवर्गहरु र कार्डबाहकहरुलाई शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गरिनेछ । बैंकका कार्डबाहकले छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्ने जनाइएको छ ।

    त्यसैगरी बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि बैंकको वेवसाइटमा हेर्न सकिन्छ ।

  • ‘जुलेबी’ प्रती आशावादी रहेका ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला

    ‘जुलेबी’ प्रती आशावादी रहेका ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला

    काठमाडौं। ‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशील सिटौला नयाँ चलचित्र लिएर पुन दर्शकमाझ आउँदैछन् । उनको अभिनय रहेको चलचित्र ‘जुलेबी’ यहीँ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

    चलचित्रको मुख्य भूमिकामा ७ पात्रहरु छन जहाँ सबैको आ-आफ्नै विगतको कथा देखाईएको छ। चलचित्रमा सबैको आ-आफ्नै चाहना छन् । रत्नपार्कबाट सबै पात्रहरु जोडिन्छन् भने चलचित्रको अधिकांश छायाँकन पनि रत्नपार्कमै गरिएको हो ।

    चलचित्रलाई लिएर निकै आशावादी छन् सुशील। चलचित्र हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्न सक्नेमा सुशील ढुक्क छन् । चलचित्रमा डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिकामा देखिएका छन् उनी । ‘रत्नपार्कमा भिडभाड देख्छौं। कसैले कसैलाई चिन्दैनौं। त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने केटा हो जसले आफ्नै फरक कथा बोकेर आएको छ’ सुशील चलचित्रमा आफ्नो भूमिकाबारे प्रष्टयाउँछन् । ‘यो एउटा आशालाग्दो कथा हो । मायाको कथा हो । तृष्णाको कथा हो’ सुशील चलचित्रबारे आशावादी हुँदै सुनाउँछन् ‘बिल्कुलै नयाँ कथामा अग्र्यानिक खालको चलचित्र बनेको छ । दर्शकले रुचाउने विस्वस्त छु ।’

    चलचित्रलाई निर्देशक गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। सुशीलले गणेशदेवको यसअघिको चलचित्र ‘गाँजाबाजा’मा पनि काम गरिसकेका छन । यसअघि सुशीललाई अफर आएका चलचित्रहरुमा आफ्नो क्यारेक्टर सबै उस्तै -उस्तै भएकाले उनले ती चलचित्र छाडेका थिए। यो चलचित्रमा भने फरकपना पाएकाले आफू जोडिएको उनको दाबी छ। ‘उहाँले चलचित्रबारे कुरा गर्न बोलाउनुभयो। जब मेरो क्यारेक्टरबारे सुने, बिल्कुलै फरक लाग्यो। मनमा किन नगर्ने ? भन्ने भयो। अनि चलचित्र गर्न राजी भए, उनी भन्छन् ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नुभएको क्यारेक्टर यसमा देख्नुहुनेछ।’

    यस चलचित्रको छायांकन भने भिन्न तरिकाले गरिएको छ। रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ भैरहेको खासै पत्तो पाएनन् । कलाकारहरु निश्चिल ठाउँमा गएर उभिन्थे अनि निर्माण टिमको एकजनाले साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो ।

    छायांकनको भिन्न तरिकाले भए पनि काम गर्दाका अनुभव भने रोचक रहेको सुशिल बताउँछन् । ‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । सबै कलाकारहरुले चलचित्रमा राम्रो अभिनय गरेको सुशील बताउँछन् ।

    उनले भने ‘चलचित्रको टिजर र ट्रेलरलाई लिएर दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। नयाँ स्वादको चलचित्र आएको भन्दै दर्शकले रुचि देखाएका छन्। अब व्यापार कस्तो गर्ने हो ? त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ,’ उनी थप्छन् ,‘मुख्य भनेको दर्शक हो । चलचित्र उहाँहरुलाई मन पर्नुपर्यो । कतिपय चलचित्रले सुरुवाती दिनमा राम्रो नगर्न पनि सक्छन। प्रदर्शनमा आइसकेपछि माउथ पब्लिसिटीका कारण चलचित्र राम्रो चल्न नि सक्छ। ‘जुलेबी’को सन्दर्भमा पनि राम्रो हुने भाइब्स आइरहेको छ।’आभा नेपाल निर्माता रहेको यो चलचित्रलाई विवेक खड्काले छायांकन र अञ्जय खड्काले सम्पादन गरेका हुन् ।