Author: Anisha Tiwari

  • जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

    जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

    काठमाडौं । जर्नालिस्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    एक दशकभन्दा बढी अटोमोबाइल्स क्षेत्रमा रहेर कलम चलाउँदै आएका गजुरेल मेरो अटो डटकममा आबद्ध छन् । यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल चयन भएका छन् ।

    जामको सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खबर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

    जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

    निः वर्तमान अध्यक्षसहित जाम नेपालको कूल १३ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । नवनियुक्त कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

    यसअघिको जाम नेपालको अध्यक्षमा उज्ज्वल जंग शाह रहेका थिए ।

  • दिवङगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक गरियो उनको अन्तिम गीत

    दिवङगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक गरियो उनको अन्तिम गीत

    काठमाडौं। दिवङगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्न आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको छ। अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेत्री मेलिना जोशी, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा, आदी लगायतका उपस्थितमा आयोजना भएको कार्यक्रममा सारुकको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्य समेटी तयार परिएको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ।

    चलचित्र ‘ह्यासट्याग माया’ सार्वजनिक गर्नु सारुकको अन्तिम इच्छा भएता पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको निर्माण कम्पनि ‘रे भेञ्चर्स’का अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले कार्यक्रममा जानकारी दिए ।

    ‘हामीले चलचित्र पुरा गर्न सकेनौँ। तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ। हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो,’निर्देशक गुरुङ सुनाउछन्, ‘सारुक नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ।’

    बर्दियामा खिचिएको सार्वजनिक गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर र सागर परियारले अभिनय गरेका छन्।

    आफ्नो छोराले निकै मेहेनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमबाट सार्वजनिक गरिदिएकोमा सारुककी आमा रुकमणीले धन्यवाद व्यक्त गरिन्। उनले भनिन, ‘सारुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो। यसलाई ठूलो पर्दामा हेर्न नपाए पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो।’

    सारुकका बुबा सानु ताम्राकार भने कार्यक्रममा अनुपस्थित थिए। छोराको मृत्यु–वियोगकै कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेकाले कार्यक्रममा उपस्थित नभएको सारुककी आमा रुकमणिले जानकारी गराइन्। उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्य विभिन्न माध्यममाअड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।

    कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि कार्यक्रममा बोल्दै सारुकले न्याय पाउनुपर्ने अभिव्यक्ति दिए। उनले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउँदा जुन पिडामा हुनुहुन्छ, त्यसलाई म शब्दमा व्यक्त गर्न सक्दिन। हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुंग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ।’

    सारुकसँगै अभिनय सिकेकी अभिनेत्री सृष्टी श्रेष्ठ भने पुराना सम्झनालाई स्मरण गर्दै कार्यक्रममै भावुक भइन्। ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन्। हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे, यसरी हामीसँग बिदा भयो भन्ने कुरा अझै पनि स्वीकार्न सकिरहेकी छैन। हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ,’अभिनेत्री श्रेष्ठले सुनाइन्।

    चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’लगायतका चलचित्रमा अभिनय गरेका छन्। अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित निवासमा आत्महत्या गरेका थिए ।

  • रित्तिदै गाउँ, जीर्ण बन्दै घर

    रित्तिदै गाउँ, जीर्ण बन्दै घर

    भरतपुर । इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् ।
    ‘घरमा श्रीमान र श्रीमती मात्रै छौँ’, मगरले भने, ‘कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।’ पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच/छ घर मात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनको भनाइ छ ।
    सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो । भूकम्पपछि यहाँबाट बसाइँसराई गर्ने बढेका थिए । यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए ।
    मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ  । पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ । खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ ।
    स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताए । खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्दछ । गाउँमा अहिले मोटरबाटो पुगेको छ । विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ । विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ । ‘यहाँका जमिन बाँझै छन् । मानिस सहर पसे । गाउँमा भएकाले पनि काम गर्न छाडे’, उनले भने।
    मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताए । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले ६ महिना पनि नपुग्ने उनको भनाइ छ ।
    पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
    ‘किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्’, उनले भने, ‘गतवर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।’ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताए । यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् । बसाइसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् ।
  • अपराध अनुसन्धान कार्यालयद्वारा एनसेललाई सम्मान

    अपराध अनुसन्धान कार्यालयद्वारा एनसेललाई सम्मान

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरिएको छ ।

    मंगलबार नेपाल प्रहरीअन्तर्गत अपराध अनुसन्धान कार्यसम्पादनमा अतुलनीय योगदान पुरयााएकोमा ऐनसेललाई सम्मान गरेको हो । कम्पनीका सम्राट अमात्य र कृष्ण भुसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र दिएका हुन् ।

    उक्त सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको कम्पनीले जनाएको छ ।

  • जितु र माग्नेबुढासमेतको ८ करोड लगानीमा एन वानको २१ औं शाखा कपन सरस्वतीनगरमा खुल्यो

    जितु र माग्नेबुढासमेतको ८ करोड लगानीमा एन वानको २१ औं शाखा कपन सरस्वतीनगरमा खुल्यो

    काठमाडौं । रामेछापका युवा उद्यमीहरुले सञ्चालन गरेको ए वान क्याफेको २१ औं शाखा काठमाडौंको चाबहिल र कपनबीचको सरस्वतीनगरमा खुलेको छ ।

    सोही क्रममा ए वान क्याफे एण्ड पार्टी भेन्युको नयाँ शाखाको रूपमा कपनको सरस्वतीनगरमा बुधवार उद्घाटन भएको हो । रोयल ए वान इन्भेष्टमेन्ट कम्पनी प्रणालीको लगानीमा सो शाखा स्थापना भएको सञ्चालक रामेश श्रेष्ठले बताए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेको कार्यक्रममा पूर्व मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ, रुक्मिनी राना, रणकुमारी बलम्पाकी मगर, पूर्व राज्यमन्त्री श्याम कुमार श्रेष्ठलगायत सहभागी थिए ।

    कार्यक्रममा पूर्व सांसद् कृष्ण राई, वाग्मती प्रदेशका पूर्व मन्त्री कैलाशप्रसाद ढुङ्गेल, रामेश्वर फुयाँल, शान्तिप्रसाद पौडेल, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, योजना आयोगका पूर्व उपाध्यक्ष श्याम बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा हास्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । ए वानको २१ औं शाखामा जितु र माग्ने बुढाको समेत लगानी रहेको बताइएको छ ।

     कम्पनीका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सो भेन्युको सञ्चालक डाइरेक्टरको जिम्मा भीमबहादुर श्रेष्ठले लिएको जानकारी दिइयो ।
    करिब ८ करोड लगानीमा सो क्याफे र पार्टी भेन्यु स्थापना गरिएको हो । पार्टी भेन्युमा एकै पटक एक हजार जना अट्न सक्ने कम्पनीका सचिव सचिव राकेश श्रेष्ठले जानकारी दिए ।

    रोयल ए वान इन्भेष्टमेन्ट कम्पनीमा १ सय ५० जना लगानीकर्ता छन् । सो कम्पनीले ५ सय बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीका सञ्चालकहरू राजनीति र सामाजिक क्षेत्रमा पनि अब्बल रूपमा स्थापित हुँदै छन् ।

    रामेछापको खाँडादेवी गाउँपालिकाको खास गरी भिरपानी र पकरबासका युवाले ए वानको चेन सन्चालन गरेका छन् ।

  • तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

    तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

    गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सवस्टेसनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

    विसं २०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भई १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सवस्टेसन कार्य अघि बढाइने बताए ।

    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने, ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो ।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् ।

    गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सवस्टेसन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि तीन सय ७६ पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सवस्टेसन १९ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

  • शनिबारदेखि मौसममा सुधार आउने

    शनिबारदेखि मौसममा सुधार आउने

    काठमाडौं । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
    महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
    आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
      दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।
    साथै रातिको समयमा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
  • गायनमा एकाएक चर्चा कमाएकी सिम्रन

    गायनमा एकाएक चर्चा कमाएकी सिम्रन

    गलकोट । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।
     मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।
    ‘गायनसँगै पढाइलाई निरन्तरता काठमाडौंबाट बागलुङ फर्केकी छु’, परियारले भनिन्, ‘विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।’
    कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियारले बताइन् । ‘विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ’, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।
    सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै ३० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन् । उनको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।
    परियारले ‘फूलथुङे रानी…’, ‘नाता टुट्यो पराइ भइगयो…’, ‘तिम्रो नै माया लाग्दछ साइँला…’, ‘फोटो फिरेममा…’, ‘फूलमया…’, ‘तीनपाते…’, ‘आफ्नो आफ्नो दुःख…’, ‘तिमीबिना कसले बुझ्छ र…’ बोलका गीत गाएकी छन् । ‘मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो’, उनले भनीन् ।
    गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । ‘खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ’, उनले भनीन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन् । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन् ।
  • अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट

    अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुसँग शिष्टाचार भेट गरेका छन् ।

    जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबार स्थित सम्माननीय अध्यक्षज्यूको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

    भेटका अवसरमा अध्यक्षले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिए ।

    नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुर्याएको विश्वास व्यक्त गरे ।

    उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए ।

    जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशहरुमध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी वर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।

    अन्तर व्यवस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिदैँ अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराए ।

    भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । नेपाल पनि जापानमा हुने ‘वल्र्ड एक्सपो २०२५, ओसाका, जापान’ मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै त्यसले नेपालको पर्यटन, व्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले नेपाल जापान संसदीय मैत्री समूह छिटै गठन हुने आशा राख्दै मैत्री समूह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राखे ।

  • अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

    अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

    काठमाडौं। वर्ष २०२४, सेक्टेम्बरमा अमेरिकाको क्यालिफोर्नीयामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । हाल अमेरिका भ्रमणमा रहेका अभिनेता शिव श्रेष्ठ र सुनिल थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो ।

    लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी, व्यवसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी ‘गोल्डेन स्टेट मुभी मेकर्स’मार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ ले नेपाली फिल्मको गुणस्तरिय विकास, अन्तराष्ट्रिय बजार प्रवर्द्धन ,विस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकामा समाजसेवा, म्युजिक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा विशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् ।

    उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै व्यवस्थित, निस्पक्ष, सभ्य, भव्य र सानदार हुने दाबी गरेका छन् । ‘हामी पूर्ण व्यवस्थित,भव्य, निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रवर्द्धन र विकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’

    अवार्डको जुरी कमिटीमा समेत रहेका वरिष्ट अभिनेता शिव श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर साथ, समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरे । अर्का वरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनिल थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको विगतका हरेक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले पनि नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ र थापाका साथमा चर्चित अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौला र चलचित्र पत्रकार, फिल्म लेखक, निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहनेछन् ।

    बर्कलीस्थित हिमालय फ्लेबर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट, भलाकुसारी गर्न र फोटो खिच्न विभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ, सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए ।

    आयोजक यज्ञलालले शिव श्रेष्ठ र सुनिल थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष विष्णु केसी, तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन, एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसीसी सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो ।

  • ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

    ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो ।

    ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डनमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।

    टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ । आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने छ ।

    व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

  • प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडिओ सार्वजनिक

    प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । चर्चित गायक प्रकाश तामाङ तितुङ, र गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाडौंको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

    बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडिओमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोही अनुसार नै प्रेमिल जोडीको प्रेम सम्बन्धलाई म्युजिक भिडिओमा देखाइएको छ । गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडी जमेको छ ।

    कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् । गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी ।’ मोडल मिस पविले पनि गीतको शब्द र संगीतको प्रसंसा गर्दै भनिन्, ‘सुदुरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो ।’ उनले थप्दै भनिन्, गीतको शब्द सेलोमा नाच्न आउदैन, साच्चिकै मलाई सेलोमा नाच्न आउदैन थियो ।’ निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए । उनले भने ‘टिमको साथले सफल भयौ ।’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु पनि उपस्थित भएर गीतको सफल्ताको शुभकामना दिएका थिए ।

    बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।

  • थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषी प्रतिनिधिले भेटे उपप्रधानमन्त्री खड्का

    थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषी प्रतिनिधिले भेटे उपप्रधानमन्त्री खड्का

    काठमाडौं । थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।
    रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए । साथै उनीहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे । भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे ।
    उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगपनि  छलफल गर्ने आश्वासन दिए ।
  • वयोवृद्ध चन्द्रदेव जोशीलाई बयानका लागि बोलायो, तर लिएन

    वयोवृद्ध चन्द्रदेव जोशीलाई बयानका लागि बोलायो, तर लिएन

    काठमाडौं । ललिता निवास प्रकरणमा मुद्दा खेपिरहेका वयोवृद्ध नेता चन्द्रदेव जोशीले आफूलाई सीआइबीले बयानका लागि बोलाएर पनि नलिएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिवद्धता रहेको पनि जनाएका छन् ।

    जोशीका अनुसार पहिलोपटक सीआइबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाएका थिए । तर, ‘अहिले नआउनु’ भन्ने खबर आयो । आज फेरी बोलावट आएपछि उनी सवा १ बजे सीआईबी कार्यालय पुगे । तर, आज पनि बयान नलिइकन ‘फेरी बोलाउँला’ भनि पठाइएको जोशीको भनाइ छ । उनले आफू फरार नरहेको बताएका छन् ।

    नेकपा संयुक्तका नेता जोशी २०६९ जेल ३ गते डा. बाबुराम भट्टराईको सरकारमा भूमिसुधार मन्त्री नियुक्त भएका थिए । सोही वर्ष असोज ३ गते उनले राजीनामा दिए । १२० दिन मन्त्री पदमा बस्दा गरेको एउटा निर्णयले उनलाई करोडौंको मुद्दा खेप्न वाध्य बनाएको छ ।

    उनीविरुद्ध पक्राउ पूर्जिसमेत जारी भएको छ । ८५ वर्षिय जोशी सादगी नेताका रुपमा चिनिन्छन् ।

  • निजामती सेवा पुरस्कारका लागि मंगलबारभित्र सिफारिस गरिसक्न सबै निकायलाई परिपत्र

    निजामती सेवा पुरस्कारका लागि मंगलबारभित्र सिफारिस गरिसक्न सबै निकायलाई परिपत्र

    काठमाडौं । निजामती सेवा पुरस्कारका लागि सिफारिस गर्दा अपनाउनुपर्ने कार्यविधि र निजामती सेवा पुरस्कार सिफारिस सम्बन्धी आधारभित्र रहेर मंगलबारसम्म पठाउन सरकारले सबै निकायलाई परिपत्र गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, सचिवालय, अदालत, आयोग र कार्यालयलाई परिपत्र गर्दै सन्तुलित रुपमा छनौट गरेर मन्त्रालयमा रहेको सचिवालयमा मंगलबारसम्म आइपुग्नेगरी सिफारिस गरेर पठाउन परिपत्र गरेको हो ।

    निजामती सेवा नियमावली, २०५० को नियम ११६ को क दुई बमोजिम मूख्यसचिव डा.बैकुण्ठ अर्यालयको अध्यक्षतामा गठित निजामती सेवा पुरस्कार सिफारिस समितिको साउन ३१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । निजामती सेवा पुरस्कारका लागि सरकारले यस अघि नै सिफारिस माग गरिसकेको र कतिपय निकायबाट अहिलेसम्म पनि सफारिस नआएको तथा केहि निकायबाट सिफारिस भइसकेको विवरण अध्ययन गर्दा निर्धारित ढाँँचामा सिफारिस नभएको पनि मन्त्रालयले जनाएको छ ।

    सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली, २०५० मा उल्लेख भए अनुसार निजमती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।

  • जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

    जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

    जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएकाे  छ ।

    यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उनी विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन् ।

    नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहका समाजसेवी सिंहले भने, ‘सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो । अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन् । तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएको थियो ।’

    जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा ÷ केन्द्रको स्वरुप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो ।

    विसं २०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनीहरुको बुझाइ छ ।

    ‘तत्कालीन समयमा आँखा स्वास्थ्य समस्याअर्थात् अन्धोपन निवारणका लागि नेपालका अरु भूभागमा जस्तै जनकपुरमा पनि आँखा शिविरलाई बृहत्स्वरुप दिई त्यसैलाई संस्थागत गरिएको हो’, अध्यक्ष सिंहले भने, ‘स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ ।’

    अस्पतालका निर्देशक डा.आशिष बोहराले पनि वर्षमा एउटा शिविर सञ्चालन गर्नसमेत दाताबाट चन्दा सङ्कलन गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि अस्पतालको स्थापना भएको र त्यसमा यहाँका थुप्रै अग्रज तथा सरोकारवालाको योगदान स्मरणीय रहेको बताए । उनले केही रकम तिर्नसक्ने बिरामीबाट न्यूनतम शुल्क लिएर बाँकी बिरामीकै लागि खर्च गर्ने सिद्धान्तअनुसार आज पर्यन्त सेवा प्रवाह भइरहेको जानकारी दिए ।

    तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनालीलगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्तरुप लिएको निर्देशक डा.बोहराको भनाइ छ ।

    अस्पताल प्रशासन शाखा प्रमुख दीपेन्द्रकुमार सिंहले दिएको जानकारीअनुसार सुरुमा जनकपुरको पूरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिनुभएको दुई कट्ठा जमिन र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो । पछि जनकपुरधाम–८, रामानन्द चोक (हाल अस्पताल रहेको स्थान) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, नौ धुर र केन्द्रले खरिद गरेको चार कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार ग¥यो । सन् १९९१ मा स्वीस् रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रुपान्तरित भएकोमा हाल एक सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको उनले बताए ।

    ‘आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रुपान्तरण भई सेवा सुरु गरेको अस्पताल हाल एकसय शय्यामा सञ्चालित छ । अहिलेकै संरचना र शय्याले बिरामीको चाप धान्न मुस्किल भइरहेको छ’, उनले भने, ‘आर्थिकरुपमा कमजोर, विपन्न नागरिकले पैसाकै अभावमा उपचारबिना फर्केर जानुनपर्ने अवस्था सुनिश्चित गरिएको छ । यसमा सरकारको पनि केही सहयोग रहेमा सेवामा थप प्रभावकारिता ल्याई नागरिकको माग सम्बोधन र बिरामीको चापलाई धान्न सकिन्छ ।’

    २१ लाखभन्दा बढी लाभान्वित

    अस्पताल स्थापना भएयता ४१ वर्षमा २१ लाख ६२ हजार चार सय २९ नागरिक बहिरङ्ग (ओपीडी) सेवाबाट लाभान्वित भएको र दुई लाख दुई हजार २२ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

    ‘शिविरबाट कति जना लाभान्वित भए भनेर यकिन तथ्याङ्क छैन तर अस्पतालको ओपिडी सेवा लिनेको सङ्ख्या हालसम्म २१ लाख ६२ हजारभन्दा बढी छ’, अस्पताल निर्देशक डा.बोहराले भने, ‘सीमित स्रोतसाधन, दक्ष जनशक्तिको अभाव र अन्य समस्याका बाबजुत अस्पतालले दृष्टिविहीनमा दृष्टि र आम नागरिकमा खुसी फर्काउन एकसाथ काम गरिरहेको छ ।’

    समितिका अध्यक्ष सिंहले जनकपुरमा सरकारी अस्पतालमा आँखा विभाग र अरु सात अस्पताल सञ्चालनमा रहे पनि धेरै नागरिकले सर्वसुलभ र गुणस्तरीय सेवा दिएकै कारण अस्पतालप्रतिको आकर्षण निरन्तर बढिरहेको बताए ।

    आँखा उपचारबाहेक बर्सेनि यस क्षेत्रका एकसय विद्यालयमा आँखा स्वास्थ्यबारे सचेतना, एकसय स्वास्थ्य स्वयंसेविकालाई प्राथमिक आँखा उपचारबारे जानकारी दिनुका साथै विगत सात वर्षदेखि करिब चार सय धामीझाँक्रीलाई शिक्षा दिने काम पनि भएको विवरण छ ।

    अस्पतालले तीन तरिकाबाट नागरिकलाई सेवा दिइरहेको छ । मुख्य अस्पताल जनकपुरबाट दैनिक शल्यक्रिया, अन्तरङ्ग, बहिरङ्ग, आकस्मिक सेवा, छ वटा शाखाका रुपमा रहेका मातहतका सामुदायिक आँखा उपचार केन्द्र (महोत्तरीको गौशाला, धबौली, धनुषाको यदुकुवा, सबैला, सल्र्लाहीको लालबन्दी र सिन्धुलीको सिन्धुलीगढी)बाट समेत थप सेवा प्रवाह भइरहेको छ । तीमध्ये सिन्धुली, लालबन्दी, यदुकुवा र धबौलीलाई शल्यक्रिया केन्द्रको रुपमा समेत विकास गरिएको छ ।

    त्यसैगरी सामान्यतः प्रतिवर्ष एकसय आँखा शिविर सञ्चालन गरी आँखा उपचार तथा शल्यक्रियाको काम भइरहेको अस्पतालका सूचना अधिकारी एवं बाह्य कार्यक्रम इञ्चार्ज रुदलप्रसाद साहले जानकारी दिए । यसरी सञ्चालन हुने शिविरबाट पहिचान भएका समस्याका आधारमा तत्काल र पछि जनकपुर अस्पताल ल्याएर शल्यक्रियालगायतका सेवा निःशुल्क प्रदान गर्ने गरिएको सिंहले बताए ।

    ‘यो अस्पतालको सुरुआत नै शिविरबाट भएको हो । त्यसलाई निरन्तरता दिइरहेका छौँ । जसबाट जनकपुर र अन्य ठाउँमा गई उपचार गर्न नसक्ने ग्रामीण क्षेत्रका लाखौँ नागरिक लाभान्वित भएका छन्’, उनले भने ।

    स्रोत अभावले विशिष्टकृत सेवा विस्तारमा समस्या

    यस अस्पतालले विशेष गरी धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र छिमेकी जिल्लाका साथै सीमावर्ती भारतीय नागरिकलाई पनि सेवा दिइरहेको छ । करिब तीसदेखि चालिस प्रतिशत भारतीय नागरिक उपचारका लागि यहाँ आउने गरेको अस्पतालको तथ्याङ्क छ ।

    अस्पतालबाट सामान्य अवस्थामा दैनिक करिब सात सय र असामान्य अवस्थामा करिब १२ सयजति बिरामीले बहिरङ्ग सेवा लिने गरेको तर त्यसलाई धान्न भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव रहेको विकास समितिका अध्यक्ष सिंहको भनाइ छ ।

    ‘नेपालीहरु टाउको दुखे पनि दरभङ्गालगायत भारतीय अस्पतालमा जाने परिपाटी छ तर आँखा उपचारका लागि भने भारतबाट धेरै मान्छे उपचारका लागि यहाँ आउँछन्, यो हाम्रो लागि गौरवको विषय हो । यदि अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न बनाउनसक्ने हो भने अझ धेरै काम गर्न सकिन्छ तर हाम्रो मात्रै स्रोतले धेरै काम गर्ने अवस्था छैन’, सिंहले भने ।

    उनका अनुसार स्वीस् रेडक्रसको सहयोगमा धेरै पहिले बनेका बहिरंग विभाग तथा प्रशासनिक भवनबाट सेवाप्रवाह भइरहेको छ । त्यसबाहेक बिरामी तथा कुरुवालाई राख्ने पर्याप्त संरचना छैन । डाक्टरलाई आवासीय भवन छैन ।

    प्रशासन शाखाले दिएको विवरणमा अस्पतालमा हाल ५५ जना कर्मचारी कार्यरत छन् । डा.बोहराले नेतृत्व गरिरहेको अस्पतालमा डा.अमित यादव र डा.रञ्जना ठाकुर गरी तीन जना मात्रै डाक्टर छन् ।

    दक्ष जनशक्ति र अन्य उपकरणको अभावमा ४१ वर्ष इतिहास भएको अस्पतालमा मोतिविन्दुबाहेक अन्य रोगको शल्यक्रिया सेवा विस्तार गर्नसकिएको छैन ।

    ‘सेवा उपलब्ध गराउन भौतिक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको अभाव छ । सुरुमा वार्षिक २५ सयलाई सेवादिने यस अस्पतालले हाल एक लाख २५ हजारलाई सेवा दिन्छ । सुरुदेखि नै हामीले मोतिबिन्दुको मात्रै शल्यक्रिया गरिरहेका छौ । बाँकी बिरामीलाई विराटनगर र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता छ । त्यसकारण छिट्टै नै थप सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ’, डा.बोहराले भने ।

    ठूलो सङ्ख्यामा भारतीय नागरिक पनि उपचारका लागि आउने भएकाले भारतीय पक्षबाट पनि आवश्यक सहयोगका लागि सहजीकरण गर्नुका साथै सङ्घ, प्रदेश र स्थानीय तहले पनि सेवा विस्तारका लागि सहयोग गर्न जरुरी रहेको अस्पताल विकास समितिका अध्यक्ष सिंहको निष्कर्ष छ ।

    प्रशासन प्रमुख सिंहले आँखाजस्तो संवेदनशील अङ्गको बारेमा अब तीनै तहका सरकार संवेदनशील हुनपर्ने अन्यथा दाताको भरमा चल्नुपर्ने संस्था जतिसुकै बेला समस्यामा पर्नसक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

    आवश्यक सहयोग प्राप्त भएमा मोतिविन्दु र मासु पलाएको सामान्य शल्यक्रियामा सीमित रहेको अस्पतालबाट विशिष्टीकृत सेवा दिन टेवा पुग्ने र यसले यस क्षेत्रका बिरामीलाई अन्यत्र रेफर गरी महँगो उपचार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति दिन सघाउने निर्देशक डा.बोहराको विश्वास छ । उनी भन्छन्, ‘विभिन्न समस्याका बाबजुत आँखा उपचारको भरपर्दो माध्यमका रुपमा अस्पताल परिचित छ । दाताबाहेक यसको थप विकास र विस्तारका लागि तीनै तहका सरकारबाट आवश्यक सहयोग र साझेदारी भएमा विशिष्टकृत सेवासहित यस क्षेत्रकै ‘रेफरल’ आँखा उपचार केन्द्र बनाउन सकिन्छ ।’

    रासस

  • कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

    कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

    वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।
    दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।
    यस्तै पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स÷ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए । तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख रुपैयाँ बक्यौता सङ्कलन गरिएको छ ।
    पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत तिवारीले भने, त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो ।
    नियमित बजार अनुगमन थालेपछि आव २०७९/८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ । आव २०७९÷८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।
    योसँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको जनाएको छ ।
    यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक बर्ष २०७९/८० मा सात अर्ब १४ करोड राजस्व सङ्कलन गरेको छ ।
    सो अवधिमा अन्तशूल्कतर्फ तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७४ करोड, ब्याजकरतर्फ चार करोड र घरबहाल करतर्फ पाँच करोड राजस्व सङ्कलन भएको उनले बताए । सो कार्यालयले गत आर्थिक बर्ष २०७८/७९ मा रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।
    बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।
  • बलिउड अभिनेता साहिल खान नेपालमा

    बलिउड अभिनेता साहिल खान नेपालमा

    काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्।

    स्टाइल, एक्सक्युज मि, डबल क्रस, यहि हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफुलाई खुसि लागेको बताए। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी भोली फर्कनेछन्।

    खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतियोगिताको आज फाइनल हुने जानकारी सज्ञान खरेलले दिए ।

    इन्डियाको फ्रेन्च आइज ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन्। कार्यक्रममा नेपाल, मलेसिया, युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

  • सुदूरपश्चिम क्रिकेट संघको अध्यक्षमा जोशी

    सुदूरपश्चिम क्रिकेट संघको अध्यक्षमा जोशी

    काठमाडौं । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारण सभाबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

    लामो समयदेखि क्रिकेटका गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्य थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

    त्यस्तै उपाध्यक्षमा बैतडीका रमेश बहादुर बोहरा ,सचिव कञ्चनपुरका लक्ष्मण दत्त भट्ट ,कोषाध्यक्ष डोटीका दिनेश सिंह चयन भएका छन् ।

    सदस्यहरूमा हरी रेग्मी, बाबु राजा श्रेष्ठ, शेर सिंह खत्री,तेज कार्की, अनिल कुँवर,माया रावत साउँद महिला सदस्य,रमेश बहादुर चन्द,जोग बहादुर दौल्याय र आशिष कुमार खत्री चयन भएका छन् ।

    क्यानको आगामी असोजमा हुने केन्द्रीय अधिवेशनका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अधिवेशन पुरा भइसकेको छ । उद्घाटन सत्रमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटलाई माथि पुर्‍याउन भारतसँग सहकार्य गर्नुपर्ने बताए ।

    मन्त्री देउवाले फाप्ला मैदान बनाउन आफ्नो तर्फबाट विभिन्न तह र तप्कासँग कुरा चलिरहेको र खेलग्राम समितिका अध्यक्ष सुवास साहीसँग पनि नियमित सम्पर्कमा रहेकाले छिट्टै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका थिए ।

    क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले नेपालमा अरू खेल तत्काल विश्वकप पुग्न नसक्ने र क्रिकेट मात्रै पुग्ने भएको हुँदा क्रिकेटमा लगानी बढाउनु पर्ने बताएका थिए ।

  • अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्बिनीको प्रस्तुती

    अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्बिनीको प्रस्तुती

    रूपन्देही । रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत भएको छ ।

    रुसको बौद्ध राज्य बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन् ।

    उक्त अवसरमा सदस्यसचिव शाक्यले अहिलेसम्म लुम्बिनीमा भएका गतिविधि र कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीको रुपमा विश्व सम्पदा सूचिकृतका लागि भइरहेको बताए । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सदस्यसचिव शाक्यको प्रस्तुतीले बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्वनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

    सम्मेलनमा लुम्ब्निी विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, भिक्षु निग्रोध र मुकुन्द विष्टले परम्परागत बुद्ध धर्म र चुनौती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । अगष्ट १७ देखि १९ सम्म संचालन भएको उक्त सम्मेलनमा रुसका विभिन्न राज्यहरुका प्रतिनिधिहरु, भारत, श्रीलंका, मंंगोलिया, म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, चीन र नेपालका प्रतिनिधि सहभागी रहेका छन् ।

    सोही अवसरमा बुरियात राज्यको गभर्नर (हेड अफ स्टेट) ए. एस. सेइडोनोभको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलले छुट्टै भेटघाट गरी लुम्बिनी र नेपाल रसियाको बौद्ध धर्ममार्फत सम्बन्ध अझ बलियो बनाउने समझदारी गरेका छन् । सो अवसरमा सदस्यसचिवबाट लुम्बिनीको तर्फबाट सिद्धार्थ गौतमको मूर्ति तथा लुम्बिनी चिनाउने किताब उपहार प्रदान गरे ।

    यस्तै रुसको अर्को बौद्ध राज्य काल्मिकियाको गर्भनर बि.एस. खासीकोभसँग पनि छुट्टै भेटघाट भएको र भेटमा लुम्बिनी भ्रमणको निमन्त्रणा दिइएको सदस्यसचिव शाक्यले बताए । गभर्नर खासीकोभले आफू बौद्ध भएको र लुम्बिनीमा दर्शन गर्न आउने इच्छा प्रकट गर्दै अर्को सम्मेलनमा सहभागी हुने बताए ।

    बुरियाटको डास्टनमा रहेको पवित्र गुम्बाका प्रमुख खाम्बो लामासँग पनि भेटघाट तथा लुम्विनीको चिनो हस्तान्तरण गरिएको छ । कार्यक्रम स्थलको नगरपालिका उलान उडेका मेयर इगर युरेरिच सुटेन्को नेपालको तर्फबाट प्रतिनिधि मण्डलमा सदस्यसचिव सानुराजा शाक्य, लुम्विनी बौद्ध विश्वविद्यालयका डिन माणिक रत्न शाक्य, बौद्ध दर्शन तथा गुम्बा व्यवस्था समितिका अध्यक्ष जिगडोल लामा, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध,रुस निवासी एनआरएन दिनानाथ राजभण्डारी, ललितपुर महानगरपालिकाका मुकुन्द विष्ट रहेका छन् ।