Author: Anisha Tiwari

  • सरकारले जनताको पक्षमा पनि काम गर्दोरहेछ भन्ने तथ्य पहिलोपटक स्थापित भएको छ : वर्षमान पुन

    सरकारले जनताको पक्षमा पनि काम गर्दोरहेछ भन्ने तथ्य पहिलोपटक स्थापित भएको छ : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले जनताको पक्षमा काम गर्दोरहेछ भन्ने स्थापित भएको बताएका छन् ।
    गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए ।

    देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।

    पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरुमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी भएको बताए ।

    पुनले भने– आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ । उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ । बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आफू र मेरो आफ्नो परिवारका कोही पनि सदस्यले भ्रष्टाचारजन्य काम गरेको भए कठघरामा उभिन तयार छु भन्ने सामान्य विषय नभएको व्याख्या गरे ।

    पुनले भने–‘बहालवाला प्रधानमन्त्रीले म र मेरो परिवारका कसैले भ्रष्टाचारजन्य अपराध गरेको देखियो भने पनि कठघरामा उभ्याउनु भनेर अनुसन्धान गर्ने निकायलाई सार्वजनिकरुपमा अपिल गरेर त्यस प्रकारको उच्च नैतिक उचाई प्रदर्शन गर्नु सामान्य कुरा हुन सक्दैन ।

    फरक प्रसंगमा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र सामाजिक न्याय माओवादीको एजेण्डा भए पनि पछि सबै दल सोही एजेण्डामा आएको स्मरण गरे । पछिल्लो समय केही दल र धार्मिक समुदायले मिलेर बसेका नेपालीहरुबीच सामाजिक सदभाव खल्बल्याउने प्रयास गरेको र त्यो आफूहरुलाई स्वीकार्य नहुने उनले बताए ।

  • सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार विजय

    सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार विजय

    काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएका थिए ।

    उनका निकटतम दुर्र्र्र्र्र्र्र्र्ई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।

    दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।

    उनको जितको अनुमान गरिए पनि यो स्तरको जितको अनुमान कसैले नगरेको सिंगापुरका मिडियाहरुले उल्लेख गरेका छन् । ६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी पूर्वमन्त्री तथा सिंगापुरका गिनेचुनेका अर्थशास्त्री पनि हुन् ।

  • देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री

    देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताएका छन् । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महतले भने, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्र केही समस्यामा छ ।’

    ‘तर धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् । जेसिसका साथीहरुले सकरात्मक छलफलको अगुवा गर्न उनले आग्रह गरे ।

    अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गरे।

    अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए । अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याजदर बढेको भन्दै यो दीगो नभएको बताए ।

    जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताए ।

  • पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा ह्याम्स अस्पताल पुगे

    पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा ह्याम्स अस्पताल पुगे

    काठमाडौं । मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।

    भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ ।

    पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए । अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ ।

  • ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

    ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ ।

    अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेका छन् । समग्रमा बदलाको कथामा आधारित सिनेमा जस्तो ट्रेलरबाट बुझ्न सकिन्छ ।

    पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ । सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत सिनेमाको सार्वजनिक ट्रेलरमा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ ।

    जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

    सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

  • प्रिमियम मूल्यमा सिटिजन्स लाइफको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?

    प्रिमियम मूल्यमा सिटिजन्स लाइफको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?

    काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले शुक्रबार (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो। इन्सुरेन्सले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

    सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो ।

    यसमा १० प्रतिशत (११ लाख २५ हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत (५ लाख ६२ हजार ५००) कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

    सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

    कस्तो छ कम्पनीको वित्तिय अवस्था ?

    सिटिजन्स लाइफको प्रतिसेयर आम्दानी चालु आवमा (२०८०/८१) १६०.४१ रुपैयाँ पुग्ने अनुमान छ । गत वर्ष १९१.१२ रुपैयाँ पुगेको अनुमान कम्पनीले विवरणपत्रमा सार्वजनिक गरेको छ । यस कम्पनीले २०७४ कार्तिक २ गते देखि जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । यसले १४० वटा शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी जीवन बीमा सम्बन्धी व्यवसाय कारोबार सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी पाँच अर्व रुपैयाँ रहेको छ । यस कम्पनीको तत्काल चुक्ता पूँजी दुई अर्ब बैसठ्ठी करोड पचास लाख रुपैयाँ छ ।

    साधारण सेयरको बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी तीन अर्व पचहत्तर करोड रुपैयाँ हुनेछ । यसका संस्थापकहरुमा एयर डाइनेष्टिक हेलि सर्भिसेज प्रालि, अनुजा लक्ष्मी धिताल, विकाश ज.ब.राणा,क्याविनेट श्रेष्ठ, गुडविल फाइनान्स, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लि लगायत रहेका छन् । कम्पनीको अडिट गरिएको प्रतिसेयर नेटवर्थ २१.४९ रुपैयाँ रहेको छ ।

  • धरौटीमा छुटेका इमरान खानलाई पुन: जेलमा राख्न अदालतको आदेश

    धरौटीमा छुटेका इमरान खानलाई पुन: जेलमा राख्न अदालतको आदेश

    इस्लामाबाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

    नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार उल्ट्याइएको थियो ।

    नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

  • काम गर्ने वातावरण नभएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

    काम गर्ने वातावरण नभएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।

    भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

    ‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन’, महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा उल्लेख छ ।

    ‘घटनामा दोषी जो कोहीलाई कानून बमोजिम काबारही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यकरूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दु:ख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ ‘, कर्मचारीले भनेका छन् ।

    विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूको जिकिर छ ।

    उनीहरूले आफूलाई दिइएको दु:ख र पाएको समस्याबारे निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनसमक्ष सरुवाको लागि आवश्यक पहलका लागि याचनासमेत गरेका छन् ।

    आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।

  • इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश

    इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

    मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उनका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।

  • भारतीय चन्द्रयानले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी

    भारतीय चन्द्रयानले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी

    नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो)ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।

    गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

    चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

    ‘तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् । रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।’

    टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ, इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ ।

    लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।

  • प्रधानमन्त्रीको दाबी – अर्थतन्त्र लयमा फर्किदैछ, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

    प्रधानमन्त्रीको दाबी – अर्थतन्त्र लयमा फर्किदैछ, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन्।

    प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको बताए।

    रााष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको जिकिर गरे। असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको बताए।

    विप्रेशण आय (रेमिट्यान्स)मा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको दाबी गरे।

  • सुजुकी एसयूभी जिम्नीको डेलिभरी सुरु

    सुजुकी एसयूभी जिम्नीको डेलिभरी सुरु

    काठमाडौं । नेपालमा सुजुकी व्राण्ड एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी सुरु भएको छ ।

    चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक ‘सिजि होल्डिङस’ अन्तर्गतको अटोमोटिभ डिभिजन ‘सिजी मोटोक्रोप’ र ‘सजिी नेक्सटजिन’ ले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को नेपालमा डेलिभरी सुरु गरेको हो ।

    त्यस्तै, सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । एसयूभी एक समर्पित उन्नत ४डब्लूडी प्रणाली, अल ग्रिप प्रो संग आउँछ भने, ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिङक रिगिड ऐलेक्स सुपरभिजन जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

    त्यसैगरी, अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२।६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।

  • पोखरामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    पोखरामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    पोखरा । पोखरामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३००१ क २६३ नम्बरको ट्रकले सोमबार ठक्कर दिँदा स्कुटर चालक २० वर्षीया वर्षा कुमालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

    ठक्करबाट गम्भिर घाईते भएकी वर्षाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

  • नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

    नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

    शुक्रबार बैंक तथा वित्तीय संस्थाको ग्रोथ लिडरसीप एकाडेमीले आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

    कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

    मर्जर एक्वीजीसन पश्चात्का वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले बैंकले आर्थिक वर्ष २०७९–८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको जनाइएको छ ।

  • एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

    एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

    काठमाडौं । एनसेल आजियाटा लिमिटेलाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको छ ।

    शुक्रबार सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको हो ।

    अवार्डका निर्णायक मण्डल सदस्य आशिष तिवारीले एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिलाई उक्त अवार्ड हस्तानतरण गरेका हुन् । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यस अवार्ड २०२३ बाट सम्मानित भएको जनाइएको छ ।

  • एक करोड ५० लाखको विद्युतीय जर्मनी आउडी कार नेपाली बजारमा

    एक करोड ५० लाखको विद्युतीय जर्मनी आउडी कार नेपाली बजारमा

    काठमाडौं । विद्युतिय जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ ।

    शुक्रबार काएरोस इन्टरनेसनल काठमाडौंले नेपाली बजारमा दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । जहाँ क्यु फोर ३५ ई–ट्रोनको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने, अउडीको अर्को प्रिमियम मोडल क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको जनाइएको छ ।

    यस्ता छन् विशेषताः

    ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक, १ सय २५ किलोवाटको मोटर पिकपार बजारमा उपलब्ध रहेको छ ।

    एक पटकको फूल चार्जमा गाडीले ३ सय ४९ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

    हाल अउडीका दुई मोडल विद्युतीय कार नेपाल भित्र्याएको छ।

  • बागमती खोलामा महिलाको शव फेला

    हेटौँडा । मकवानपुर भीमफेदी गाउँपालिका–८, माण्डु हाईड्रो नजिकै बागमती खोलामा एकजना महिलाको शव फेला परेको छ ।

    करिब ४० वर्ष उमेर समूहको महिलाको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए ।

    शवको हालसम्म सनाखत भएको छैन । पछिल्लो तिनसाता भित्र माण्डु हाइड्रो परिसरमा ३ जना मृत फेला परिसकेका छन् । दुई साता अघि मात्र ३५ वर्षीय पुरुष र १७ वर्षीया एक किशोरीको शव फेला परेको थियो तर उनीहरुको हालसम्म पहिचान भने भैसकेको छैन ।

  • साहित्यकार तुल्सी थापाको निधन

    साहित्यकार तुल्सी थापाको निधन

    हेटौँडा । नाटक, कविता तथा कथाको क्षेत्र मार्फत राष्ट्रिय स्तरमा ख्याती कमाएका साहित्यकार तुल्सी थापाको निधन भएको छ । मकवानपुरको हेटौँडा निवासी ७८ वर्षीय थापाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

    मुटु, मधुमेह सहितको समस्या भएको थापा केहिदिनबाट निमोनियाको उपचारको क्रममा भरतपुरमा थिए । थापाको शुक्रबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    नेपाली कविताको क्षेत्रमा ‘दाना कविता’ को सुरुवात गरेका थापाले दाना कविता संग्रह अन्तर्गत २०५८ सालामा ‘एक निमेष अनन्तको’ प्रकाशन गरेका थिए । कवितासँगै नाटक तथा कथा विधामा समेत राम्रो दख्खल राख्ने थापाको ‘अमरसिंहको खोजिमा’ नाटक संग्रह निकै चर्चित नाटक संग्रह हो ।

    उक्त नाटक देशभरका नाटकघरमा मञ्चन भैसकेको छ । यस बाहेक उनले २०७२ सालमा ‘फरक आकाश’ कथा संग्रह समेत प्रकाशित गरेका थिए ।

    २०४४ सालमानै गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित थपाले अन्य विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उनको पार्थिव शरिरलाई आजै हेटौँडा ल्याएर अन्तिम संकार गर्ने तयारी भएको पारिवारिक श्रोतको भनाइ छ ।

  • हुम्लामा बाढीले बगाउँदा एकजना बेपत्ता

    हुम्लामा बाढीले बगाउँदा एकजना बेपत्ता

    सिमकोट । हुम्लाको रिपगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । ताजाकोट गाउँपालिका–४ का ५० वर्षीया मनऋषी जैसीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

    बुधबारदेखि निरन्तर परेको वर्षाका कारण सर्केगाड गाउँपालिका२ स्थित रिपगाड खोलामा आएका बाढीले सिमकोटबाट घर फर्किदै गरेका जैसी बेपत्ता भएको स्थानीय बीजय फडेराले जानकारी गराएका थिए ।

    वर्षासँगै रिपगाड खोलामा आएको बाढीले झोलुङ्गे पुल र काठको साँघु बगाएपछि खोलामा तर्दै गर्दा जैसीलाई बाढीले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौड्यालले बताए ।

    रातभर परेको अबिरल वर्षापछि शुक्रबार बिहान गएको बाढीले रिपगाड खोलमा भएका २ वटा घट्ट सहित घट्टमा पिस्न राखिएका ३० बोरा अन्न समेत बगाएको पौडेलले बताए ।

  • अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

    अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण

    न्यूयोर्क । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् ।

    जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ । यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् ।

    कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निक्के रिसाको देखिन्छन् । हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन् । उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ । सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन् । यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ ।

    उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् । राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन् ।

    अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चारपटक आपराधिकरूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

    यसअघि उनीमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियललाईसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलर्या भुक्तान गरिउको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

    सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ ।