रुपन्देही । दाङको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई शुक्रबार कालोमोसो दलिएको छ । विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।
प्रहरीका अनुसार सर्जन परियारको नेतृत्वमा गएको ३-४ जनाको समूहले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार सर्जन अनेरास्ववियु दाङका अध्यक्ष हुन् । उनीसँगै दिवस क्षेत्री र गणेश खड्काका विरुद्धमा उजुरी परेको र उनीहरुको खाजी कार्य भइरहेको काफ्लेले जानकारी दिए ।
अस्पतालका मेसु सिंहका अनुसार ३-४ जनाको समूह उनको कार्यकक्षमा आई अस्पतालको सेवाको बारेमा सोधेका थिए । टाइफाइड भएका बिरामीको ब्लड कल्चर परीक्षणको व्यवस्था यस अस्पतालमा नभएको र म्यानपावरको अभावलगायतका कुरा बुझाउन खोज्दा बीचमै एक जनाले कालोमोसो दलेको उनले बताए ।
‘जति सक्यो चाँडै कारबाही गरोस्, अस्पतालमा काम गर्ने वातावरण पैदा होस्,’ उनले भने, ‘यदि त्यस समूहलाई कडाभन्दा कडा कारबाही गरिएन भने अस्पतालका सबै स्वास्थ्यकर्मीहरु असुरक्षित हुने अवस्था हुन्छ ।’
अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले अस्पतालजस्तो संवेदनशील ठाउँमा प्रववेश गरेर दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्ने माग गरे ।
‘अस्पतालभित्र उपयुक्त खालको काम गर्ने वातावरण नदिने हो भने कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।
अस्पताल विकास समितिले घटनाप्रति खेद प्रकट गर्दै र सम्बन्धित व्यक्तिलाई हदैसम्मको कारबाहीको माग गर्ने निर्णय गरेको छ । समितिले दोषीलाई पक्राउ गरी कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको इमरजेन्सी, सुत्केरी, डायलासिस र अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने निर्णयसमेत गरेको छ ।
चिकित्सकहरुको संगठनको तर्फबाट कारवाहीका लागि शनिबार ९ बजेसम्मको अल्टिमेटम दिइएको छ । ५० बेडको अस्पताललाई ९५ वेडमा सेवा प्रवाह गरिरहेको र जनशक्तिको पनि अभाव रहेको अवस्थामा यस्ता घृणित कार्यप्रति सबैले खबरदारी गर्न न्यौपानेले आग्रह गरे ।

Leave a Reply