माधव नेपालको गढ सिन्धुपाल्चोकका सबै जनप्रतिनिधि एमालेमै रहने

काठमाडौं । वागमती प्रदेशभित्रका १३ जिल्लामा नेकपा एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए ।

नेकपा विभाजनसँगै शेरबहादुर तामाङ केपी ओली पक्षमा लागे पनि अन्य नेताहरु नेपाल पक्षमै थिए । नेपाल एमालेमै रहँदा सबैभन्दा बढी प्रभाव रहेको सिन्धुपाल्चोकबाट भने माधव नेपालको नयाँ दलमा जानेको संख्या न्यून देखिएको छ ।

स्थानीय र प्रदेश सरकारका सबै जनप्रतिनिधिहरुले अहिलेसम्म नेकपा एमालेमा नै रहेको बताएका छन् । संघीय संसदमा रहेका शेरबहादुर तामाङ यसअघि नै नेकपा एमालेमा छन् भने वागमती प्रदेशका सांसद सरेश नेपाल एमालेमै छन् ।

एमालेका दोस्रो पुस्ताका नेताहरु एमालेमा नै रहने भएपछि अर्का प्रदेश सांसद अरुण नेपाल पनि एमालेमा नै रहने भएका छन् । लामो समयदेखि एमालेलाई एकताबद्ध गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाल अब एमालेमा नै रहने भएका हुन् ।

राष्ट्रियसभाका सांसद सिंहबहादुर विक भने एकीकृत समाजवादीमा लागेका छन् । अर्का प्रदेश सांसद इन्द्रमाया गुरुङले चाहिँ कुन दल रोज्ने भन्ने स्थिति आएपछि मात्रै दल रोज्ने बताइन् ।

सिन्धुपाल्चोकका नेपाल पक्षका नेता कार्यकर्ताको भेला शुक्रबार काठमाडौंमा भएको छ । सोही भेलाले सबैको लाइन प्रष्ट पार्नेछ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटा सुरुदेखि नै एमालेमा भएपनि प्रमुख कृष्णगोपाल तामाङसँग भने सम्र्पक हुन सकेन ।

स्थानीय सरकार के गर्छन् ?

सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये एमालेले सातवटामा जितेको थियो । एमालेबाट जितेका सबै जनप्रतिनिधिले पनि एमालेमा नै रहने बताएका छन् । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान यसअघि नै केपी ओली समूहमा थिए ।

सिन्धुपाल्चोकका केन्द्रीय नेताहरु एमालेमा नै रहने भएपछि प्राय सबै जनप्रतिनिधिहरु एमालेमा नै रहने एमालेनिकट स्रोतले जानकारी दिएको छ । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिन दुवै एमालेमा नै रहने भएका छन् ।

‘एकताबद्ध एमालेका पक्षमा छु, चोइटिएर गएको पार्टीमा म जादिनँ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । उनी नेपाल पक्षका सबैभन्दा प्रभावशाली र जनाधार भएका नेता हुन् ।

शेर्पाले नेपाल प्रेससँग भने– ‘गाउँमा अहिले पनि वृद्धवृद्धा सूर्य चिह्न खोजेर नै भोट हाल्ने छन्, तिनीहरुको सम्मानका लागि पनि एमाले र सूर्य चिह्नबाहेक अन्यत्र जाने कल्पना पनि गर्न सक्दिनँ’, मेयर शेर्पाले भने ‘बरु पार्टी भित्र नै बसेर बसेर संघर्ष गरिन्छ, अन्यत्र जादिनँ।

फुटेर जानेहरुको राजनीतिक भबिष्य कहिले पनि राम्रो नभएको बताउँदै मेयर शेर्पाले बाह्रबिसे नगरपालिका सिंगो एकतावद्ध एमालेको पक्षमा रहेको बताए ।

लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि एमालेमा नै रहने बताएका छन् । माधव नेपाल एमालेमा नै रहँदा आफूहरु नेपाल विचार समूहमा भएपनि विभाजन भएको पार्टीमा भने नजाने नेपालले बताए । उनी जेठ २ अघिको एमालेका जिल्ला सचिव पनि हुन् ।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री भने अहिलेसम्म आफू एमालेमा नै रहेपनि सिन्धुपाल्चोकका सबै नेताहरुसँगको छलफलपछि सामूहिक निर्णय गरिने बताउँछन् । ‘हामी यसअघि माधव समूहमा रहेका सबै नेताहरु छलफल गछौं अनि त्यसपछि मात्रै निर्णय हुन्छ’ क्षेत्रीले भने ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपाल पनि एमालेमा नै रहने भएका छन् । ‘हामी एकतावद्ध एमालेको पक्षमा छौ, त्यसैले एमाले छाडेर अन्य पार्टीमा जाने भन्ने नै हुँदैन’ त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो र उपाध्यक्ष सुनिता अधिकारी पनि एमालेमा नै रहने भएका छन् । ‘हामी अहिले (आजको दिनसम्म) एमाले मा नै छौ,अब गाउँपालिका भित्रका अगुवाहरु सँग छलफल गरेर निर्णय गछा’ै अध्यक्ष लामाले भने ।

सिन्धुपाल्चोक एमालेका पुराना नेता एवम् मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल भने आफूहरु छलफल गरेर निर्णय गर्ने बताउँछन् । ‘सबै साथीभाइको भनाइ सुन्नुपर्छ, सबैलाई चित्त बुझाएर मात्रै निर्णय गर्छौ’, मेयर अर्यालले भने ।

जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ, मेलम्चीकी उपमेयर भगवती नेपाल, बलेफीकी उपाध्यक्ष कमला कायस्थ पनि एमालेमै रहने भएका छन् ।

Comments

One response to “माधव नेपालको गढ सिन्धुपाल्चोकका सबै जनप्रतिनिधि एमालेमै रहने”

  1. Beenaya thapa Avatar
    Beenaya thapa

    Very good

Leave a Reply

Your email address will not be published. Required fields are marked *