विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश आउनेमा आशंका गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले ल्याएको श्वेतपत्रबारे टिप्पणी गर्दै उनले अध्यादेशबाट बजेट लाएकोमा प्रश्न उठाएकोमा असहमति प्रकट गरे ।

‘आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानूनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको छ,’ उनले भने, ‘ठीक छ, त्यसो भए यो सरकारको पालामा बजेटलगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ?’

एमाले विवाद समाधानका लागि गठित विघटित कार्यदलका सदस्य समेत रहेका पौडेलले आफ्नो दल विभाजन गर्न सरकारले अध्यादेश ल्याउन सक्ने आशंका पनि व्यक्त गरे । उनको प्रश्न छ, ‘केही हप्ता, केही दिन भित्र राजनीतिक दल विभाजनका लागि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ सभामुख महोदय ?’

एमाले संस्थापन पक्षका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुनेगरी दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको दावी गर्ने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *