मन्कला हत्याको अभियोगमा १७ वर्षीय भतिजा पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले त्रिवेणी गाउँपालिका–४ की मन्कला खत्री खड्काको हत्या अभियोगमा उनकै भतिजा पर्नेलाई नियन्त्रणमा लिएको छ ।

दुइ दिनअघि साँझ सात बजे भैंसीलाई घाँस हाल्न गएकी मन्कला खत्री खड्का गोठमै मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कार पछि हत्या भएको स्थानीयले आशंका गरिरहेको समयमा घटनाले नयाँ मोड लिएको प्रदेश प्रहरी स्रोतको दावी छ । बलात्कार भएको बारे पोस्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा लाग्ने प्रहरीले बतायो ।

प्रहरीका अनुसार उनको हत्या उनकै माइला जेठाजुको १७ वर्षीया छोराले गरेको देखिएको हो । युवकका साथबाट प्रहरीले मन्कलीले लगाउने गहना, अन्य गहनासमेत फेला पारिसकेको छ भने ती युवकले मन्कलाको घरको बाकस समेत फोडेको पाइएको छ ।

‘एक वर्ष देखि मन्कला र ती युवकको घर बीच बोलचाल बन्द रहेछ । उनले पहिले पनि मन्कलाको घरमा चोरी गरेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘उनले आफैले हत्या गरेको पनि स्वीकार गरेका छन् ।’

यद्यपी प्रहरीले पक्राउ परेका युवकबारे थप जानकारी भने पत्रकार सम्मेलन गरेर दिनेछ । मन्कलाको हत्या भएपछि प्रदेश प्रहरीको अनुसन्धान टोली र तालिमप्राप्त कुकुर, केन्द्रीय टोली र रुकुम प्रहरी परिचालित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *