महेश बस्नेतको टिप्पणी : प्रियंका कार्कीको तस्बिरमा बाबुरामले गलत व्याख्या गरे

काठमाडौं। नेकपा (एमाले)का नेता महेश बस्नेतले कलाकार प्रियंका कार्कीले आफ्नो गर्भावस्थाबारे राखेको तस्बिरमा गरेको टिप्पणीलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरेका छन् ।

कार्कीले आफ्नो गर्भावस्थाबारे खुसी साट्न सामाजिक संजालमा सार्वजनिक गरेको तस्बिरबारे टिप्पणी गर्दै भट्टराइले त्यसलाई ‘युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस’ भन्दै उनको प्रसंसा गरेका थिए ।

शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा बस्नेतले यसप्रतिप्रतिटिप्पणी गर्दै भट्टराईले गलत व्याख्या गरेको अरोप लगाए। हिन्दू धर्मबारे टिप्पणी गरेकोमा पनि बस्नेतले भट्टराईप्रति आक्रोस पोखेका छन्।

‘बाबुराम भट्टराई जस्ता आफूलाई क्रान्तिकारी घोषणा गर्ने नेता धर्मविरुद्ध ट्वीट गरेर बसिरहेका छन्,’ उनले भने, ‘अनि हाम्रो राष्ट्रिय कलाकार प्रियंका कार्की आफू गर्भावस्थामा रहेको कुरालाई बढो गर्वका साथ एक्सपोज गरिरहेको कुरालाई उनले गतल व्याख्या गरेर ट्वीट गरिरहेका छन् । र, आफ्नो छोरी मानुषीको पनि गर्भाअवस्थाको पेट सार्वजनिक गरेर बसेका छन् ।’

कार्कीलाई सर्मथन गर्ने भट्टराईको ओलोचना गर्ने केहीलाई जवाफ दिन मानुषीले पनि आफ्नो गर्भावस्थाको बेलाको पुरानो तस्बिर ट्वीटरमा राखेकी थिइन। बस्नेतले कार्कीको तस्बिरको व्याख्या कसरी गरे भन्नेबारे भने केही खुलाएनन् ।

भट्टराईप्रति व्यंग्य गर्दै बस्नेतले उनी बेरोजगार नेता बनेको टिप्पणी गरे। ‘बाबुराम भट्टराई नेपालको राजनीतिमा बेरोजगार नेता भएका छन्,’ उनले भने, ‘बाबुराम भट्टराईलाई रोजगारी दिने काम पनि युथफोर्सले गर्न आवश्यक छ । यस्ता अतिवादी शक्तिलाई ठिक ठाँउमा ल्याउने कुरामा तपाईंहरुले भूमिका खेल्नुपर्छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *