जोकोभिचले ओलम्पिक खेल्ने, ‘गोल्डेन स्लाम’को कीर्तिमान बनाउने अवसर

एजेन्सी । फ्रेन्च ओपन र विम्वल्डन च्याम्पियन नोभाक जोकोभिचले सर्बियाको टोलीबाट टोकियो ग्रिष्मकालीन ओलम्पिक खेल्ने निश्चित भएको छ ।

अघिल्लो साता कीर्तिमान बराबरी २० पल्ट ग्राण्डस्लाम च्याम्पियन भएपछि उनले आफूले ओलम्पिक खेल्ने निश्चित गरिनसकेको बताएका थिए । विहीबार ३४ वर्षीय जोकोभिचले आफू सर्वियाको टिममा समावेश हुन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले टोकियोका लागि फ्लाइट बुक गरिसकेँ ।’

विम्बल्डनको उपाधि रक्षा गरेपछि जोकोभिचले कोरोना महामारीका कारण विना दर्शक प्रतियोगिता आयोजना हुने भएसँगै आफ्नो ओलम्पिक सहभागिता अनिश्चित रहेको बताएका थिए । विश्व वरियतामा शीर्ष स्थानमा रहेका यी खेलाडीले यो वर्षका तीन ग्राण्डस्लाम जितिसकेका छन् र सेप्टेम्बरमा हुने युएस ओपन जितेर ‘गोल्डेन स्लाम’मा रमाउन चाहन्छन् ।

एकै वर्ष चारवटा ग्राण्डस्लाम र ओलम्पिकको स्वर्ण पदक जित्नुलाई टेनिसवृत्तमा गोल्डेन स्लाम भनिन्छ । यो सफलता यसअघि सन् १९८८ मा जर्मनीकी स्टेफी ग्राफले मात्र हासिल गरेकी थिइन् । आसन्न ओलम्पिक र युएस ओपनमा एकलतर्फको स्वर्ण जिते भने जोकोभिच यो सफलता हासिल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी बन्नेछन् ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण जितेका जोकोभिचले एकलतर्फ अहिलेसम्म ओलम्पिक स्वर्ण जित्न सकेका छैनन् । यसअघि अर्का कीर्तिमानी खेलाडी रोजर फेडेररले चोटका कारण ओलम्पिक गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *