एकताको सहमतिमा माधव नेपाल असन्तुष्ट, सर्वोच्चको फैसला प्रभावित पार्न खोजिएको आरोप

काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले आज गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । भोली आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सहमति गरिएको आरोप उनले लगाएको स्रोतको भनाइ छ ।

कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजको सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठवन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको उनले बताएका छन् । नेपालको भाव बुझेर नै उनी निकट नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको स्रोतले बतायो ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पेश गरिएको रिट निवेदनमा एमालेका २३ सांसदको हस्ताक्षर छ । एमालेमा एकता कायम हुनु भनेको विपक्षी गठवन्धनबाट माधव नेपाल पक्ष अलग हुनु हो । अब २३ जना एमालेका सांसदहरुले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिए पनि उनीहरु नैतिकरुपमा त्यो प्रतिवद्धताबाट बाहिर आएको बुझाइ संस्थापन पक्षको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अब शेरबहादुर देउवाका पक्षमा १ सय २३ जना सांसदहरु मात्रै बाँकी रहेको भन्दै हिसाब निकालेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै सर्वोच्चले संसद पुनर्स्थापना नगर्ने भविष्यबाणमी समेत गरेका छन् ।

आज भएको सहमतिमा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने भने उल्लेख छैन । तर, पार्टी एकताको मर्म र भावनाका आधारमा विधी र प्रक्रियासम्मत तरिकाले यो विषय अघि बढाइने भनिएको छ ।

Comments

One response to “एकताको सहमतिमा माधव नेपाल असन्तुष्ट, सर्वोच्चको फैसला प्रभावित पार्न खोजिएको आरोप”

  1. Shubha Raj Pokharel Avatar
    Shubha Raj Pokharel

    माधव कुमार नेपाल सहितको सानो समूह एमालेमा नअटाउने संकेत देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *