काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ ।
शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो । उक्त समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।
बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा बसाल्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानहरुलाई आह्वान गर्ने भएका छन् । ‘हामीले बैंकमा कोष खडा गर्छौै र सबै पक्षलाई दान गर्न आह्वान गर्छौ’ अभिनेता मल्लले नेपाल प्रेसलाई भने ।


सरकारका तर्फबाट बैठकमा सहभागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पुननिर्माणका लागि आवश्यक जग्गा र प्राविधिक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामीले सिन्धुपाल्चोकको स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम गर्छौं’ मल्लले भने, ‘तत्काललाई राहत भन्दा पनि दीर्घकालिनरुपमा अघि बढ्छौं ।’
बैठकमा सिन्धुपाल्चोक जिल्ला विकास समिति सभापति कृष्णगोपाल तामाङ, मेलम्चीका मेयर डम्बरबहादुर अर्याल, कलाकारहरु जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना सहभागि थिए । थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने भएको छ ।

Leave a Reply