काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलाको समूहविरुद्ध मधेशी आयोगमा उजुरी परेको छ । उनीहरूले ड्यूटीमा रहेका प्रहरीमािथ जातीय टिप्पणी गरेकाे भन्दै उजुरी परेपछि आयोगले छानबिन सुरु गरेकाे छ।
आयोगले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल प्रेसलाई जानकारी दिए । घटनाको बिषयमा प्रहरी प्रधान कार्यालयसँग पनि छलफल गरिसकेको र त्यसपछि गृह मन्त्रालयलाई आवश्यक सिफारिस तथा परिपत्र गरिने उनकाे भनाइ छ ।
दत्तले भने, ‘आयोगमा उजुरी आउने बित्तिकै मैले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापासँग पनि कुराकानी गरिसकेको छु । अब आयोगले प्रारम्भिक रुपमा छानविन गर्छ र गृह मन्त्रालयलाई सिफारिस तथा परिपत्र गर्छ । त्यसपछि गृह आफैले वा प्रहरी प्रधान कार्यालयमार्फत भए पनि कारवाही प्रक्रिया अघि बढाउँछ ।’
आयोगले आवश्यक छानविनका लागि सिफारिस र अनुरोध गरेमा कारवाही प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘प्रहरीमा अहिलेसम्म त्यस्तो कुनै पनि उजुरी आएको छैन । तर आयोगले प्रहरीलाई कुनै निर्देशन वा सिफारिस गर्यो भने प्रहरीले कारवाही प्रक्रिया अघि बढाउँछ ।’

Leave a Reply