
रुपन्देही । नेकपा एमालेबाट आगामी प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेशका विभिन्न विभिन्न क्षेत्रमा उम्मेदार सिफारिस भएका छन् । केही क्षेत्रमा प्रभावशाली नेता सर्वसम्मत भएका छन् ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ बाट सर्वसम्मत भएपनि रुपन्देही ३ तथा पाल्पाको क्षेत्र नम्बर २ बाट पनि प्राथमिकताका साथ पहिलो नम्बरमा सिफारिस भएका छन् । पौडेल रुपन्देही २ बाट २०५६ देखि लड्दै र २०६४ देखि लगातार जित्दै आएका छन् । २०५१ मा भने पाल्पाबाट निर्वाचन जितेका थिए ।
त्यसैगरी महासचिव शंकर पोखरेल दाङको क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । पोखरेलको यो गृहनगर हो । २०७९ मा थोरै मतले यहाँबाट पराजित भएका थिए । त्यसैगरी केन्द्रीय सदस्य प्रदीप ज्ञवाली गुल्मी १ बाट एकल उम्मेदारका रुपमा सिफारिस भएका छन् । ज्ञवाली २०५६ देखि यहाँबाट लड्दै आएका छन् । त्यसैगरी रुपन्देही ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस भएका हुन् । राष्ट्रिय सभामा पुगेपनि प्रत्यक्ष निर्वाचनमा उनको यो पहिलो हो । त्यसैगरी कपिलवस्तु १ मा विश्रामप्रसाद चौधरी एकल छानिएका छन् ।
यहाँको पुरानो नेता उनी संविधान सभामा समानुपातिक सांसद बनेका थिए । यो क्षेत्रमा पूर्वमन्त्री र सोही क्षेत्रबाट २०७९ मा जितेका पार्टीका केन्द्रीय सदस्य बलाराम अधिकारीलाई नदिएर पार्टीले उनलाई अघि सारेको हो । त्यसैगरी कपिलवस्तुको क्षेत्र नम्बर २ मा दृघनारायण पाण्डेयलाई एकल सिफारिस गरिएको छ । उनी शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा एमाले छाडेर सरकार ढलाएका थिए । पछि कांग्रेसमा गएर राष्ट्रिय सभामा निर्वाचित भए तर त्यो कार्यकाल सकिएपछि पुनः एमालेमै फर्केका हुन् ।
कपिलवस्तुमा ०७९ को निर्वाचनमा थोरै मतले पराजित नेता बृजेशकुमार गुप्ता भने अहिले एमालेमा सकृय छैनन् । त्यसै बाँके १ मा २०७९ मै जितेका केन्द्रीय सदस्य सूर्य ढकाल, बाँके ३ मा पूर्वमन्त्री दलबहादुर सुनार एकल सिफारिसमा परेका हुन् । बाँके ४ मा अन्य ७ आकांक्षीले सुनारले आफूहरुलाई सूचना नै नदिई निर्णय गराएको भन्दै पार्टीका उजुरी हालेका छन् । प्यूठानमा नेता सूर्य थापा र अर्घाखाँचीमा नेता पिताम्बर भुसाल सर्वसम्मत हुने निश्चित भए पनि अहिलेसम्म औपचारिक निर्णय गरिएको छैन ।
एमाले उपाध्यक्ष गोकर्ण विष्टको क्षेत्र रहेको गुल्मी २ मा नेतृ रामकुमारी झाँक्री पनि आकांक्षी बनेपछि रोकिएको छ । यद्यपि क्षेत्रीय कमिटीको बहुमतबाट विष्टको नाम सर्वसम्मत पठाउने तयारी गरिएको सूचना पाएपछि झाँक्री शनिबार राति अध्यक्ष केपी ओली भेट्न गुण्डु पुगेकी थिइन् ।
रुपन्देही १ बाट केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित नेता दधिराम न्यौपाने र डा कृष्ण न्यौपाने सिफारिस भएका छन् । रुपन्देही ३ मा विष्णु पौडेल, वासुदेव घिमिरेसहित ११ जनाको नाम प्रस्ताव गरिएको छ । २०७९ को चुनावमा घिमिरे रुपन्देही ५ बाट निर्वाचित भएका घिमिरे केही दिनअघि सामाजिक सञ्जालबाट एमाले छाडेको घोषण गरेपछि एमाले पंक्ति तरंगित बनेको थियो । पछि निकटस्थहरूको जोडबलमा एमालेमै रहे । दाङ १ बाट पाँच जनाको नाम सिफारिस भएको छ । यहाँबाट रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डाक्टर सुरामणि बेल्वासे, रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस भएको छ ।
पाल्पा २ बाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको नाम सिफारिस भएको छ । सिफारिसको पहिलो नम्बरमा पौडेलको नाम छ भने दोस्रो नम्बरमा विगठित प्रतिनिधि सभामा यही क्षेत्रबाट निर्वाचित ठाकुर प्रसाद गैरेको नाम छ ।
त्यसैगरी नारायणी देवी शर्मा घिमिरे र डा रामबहादुर राउतको नाम सिफारिस भएको एमाले नेता गुराँस आत्रेयले जनाएका छन् । एमाले उपाध्यक्ष पौडेलले २०५१ को निर्वाचन पाल्पाबाट जितेका थिए ।
त्यसपछि भने उनले रुपन्देहीलाई केन्द्र बनाएर रुपन्देहीबाटै निर्वाचन लड्दै जित्दै आएका छन् । त्यसैगरी पाल्पाको क्षेत्र नम्बर १ मा निवर्तमान सांसद नारायणप्रसाद आचार्य, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेताहरु निलबहादुर सारु, दुर्गादेवी राना, विमलप्रसाद काफ्ले शिव अर्याल सिफारिस भएका छन् । लुम्बिनी प्रदेशमा पाल्पा १ एमालेको सबैभन्दा बलियो क्षेत्र मानिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको पश्चिमनवलपरासीमा पनि एमालेले एकल उम्मेदारको टुंगो लगाउन सकेन । क्षेत्र नम्बर १ मा किरण पौडेल र रामप्रसाद पाण्डेको नाम आइतबारको बैठकमा प्रस्ताव भएको छ भने क्षेत्र नम्बर २ मा पूर्वमन्त्री बैजनाथ चौधरीसहित श्याम बस्याल, भगौती यादव, सरिता पौडेलको नाम प्रस्ताव भएको छ । आइतबार अबेरसम्मको बैठकले टुंगो लगाउन नसकेको एक नेताले जानकारी दिए ।
रुकुम पूर्वमा खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफारिस गरिएको छ ।
रोल्पामा नेता गोकुलप्रसाद घर्तीसहित ७ जनाको नाम सिफारिस भएको छ । एमाले रोल्पाका अध्यक्ष अमृत बुढाका अनुसार आइतबार बसेको बैठकले घर्तीसहित नेपबहादुर वली, ओमराज घर्ती, घनश्याम आचार्य, मिना बुढा, अर्जुन कुमार वली, अस्मिता घर्तीको नाम सिफारिस गरी पठाइएको हो ।
बर्दिया १ मा ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलिया रहेका छन् । क्षेत्र २ बाट बिमला बिक, कुलप्रसाद पोखरेल, शर्मा थारु, पंकजसिंह राठोर, शिवमणि शर्मा सिफारिस भएका हुन् ।

Leave a Reply