
कैलाली । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका चक्र मल्ल अहिले प्रतिनिधि सभा उम्मेदवारको दौडमा छन् । आज डोटीबाट मल्लसहित ८ जनाको नाम सिफारिस भएको छ ।
उम्मेदवार सिफारिस हुनुभन्दा पहिलेबाटै उनले आन्तरिक तयारी थालेका थिए । आज उम्मेदवार सिफारिस भएपछि सांसद पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी गरेको उनले बताए ।
‘मुलुक र राजनीति सङ्कटमा परेको बेलामा मेरो प्रदेश सांसद पद गौण हो ,व्यक्तिगत स्वार्थ भन्दा मुलुकको स्वाधीनता ठुलो हो, राष्ट्रको आवश्यकताको लागि पाएको पद त्यागेर उम्मेदवार बन्ने तयारी गरेको छु’ उम्मेदवार सिफारिस भएपछि उनले भने ।
उसो त डोटीबाट मल्लको एकल नाम सिफारिस भएको होइन । एमाले उपमहासचिव लेखराज भट्टको नाम पनि डोटीबाट सिफारिस भएको छ । यस अघि भट्टको नाम कैलाली ४ बाट एकल सिफारिस भइसकेको छ । भट्ट निकट स्रोतका अनुसार उनी कैलाली ४ बाटै निर्वाचन लड्ने मनस्थितिमा छन् ।
डोटीमा मल्ल भट्टसहित अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीको नाम पनि सिफारिस भएको छ । त्यस्तै दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगरको नाम पनि सिफारिस भएको छ ।
एमाले उपमहासचिव भट्टको रोजाइ कैलाली ४ मा रहँदा डोटीमा मल्लको सम्भावना बढी देखिन्छ । हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका मल्ल हाल सुदूरपश्चिम प्रदेश सभामा एमालेको प्रमुख समेतको भूमिकामा छन् । प्रदेश सांसद र प्रमुख सचेतकको जिम्मेवारी छोडेर उनी प्रतिनिधि सभाको दौडमा लागेका हुन् ।
उम्मेदवारको बलियो सम्भावना रहेका उनी टिकट सुनिश्चित लगत्तै प्रदेश सभाबाट राजीनामा दिने बताउँछन् । उनी निकट स्रोतका अनुसार पार्टी नेतृत्वले पनि उहाँलाई नै अगाडि सार्ने ग्रिन सिग्नल देखाइसकेको छ ।
२०५० सालबाट विद्यार्थी राजनीति सुरु गरेका मल्ल दुई कार्यकाल अखिल अध्यक्ष हुँदै २०५७ सालमा डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति भएका थिए।
जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै क्याम्पसको प्राध्यापक पद छोडेर उनी अध्यक्ष बनेका थिए। डोटीमा तीन कार्यकाल अध्यक्ष रहेका मल्ल जिल्लामा कुशल संगठनकर्ता मानिन्छन्।
अघिल्लो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा डोटी ‘क’ का उम्मेदवार रहेका मल्लले कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए।
मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८२९ मतमा चित्त बुझाएका थिए।अघिल्ला दुई पटक प्रतिनिधिसभाका लागि सिफारिस भएका मल्ल दुवै पटक प्रदेशसभा उम्मेदवार बनेका थिए। अहिले प्रदेशसभाको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्ने उनको तयारी छ ।

Leave a Reply