सानेपामा विश्वप्रकाशको ५ बुँदे ब्रिफिङ–हामी कांग्रेसको नेतृत्व गर्नेछौँ, छाड्लान् वा फुटाउलान् भन्ने नसोच्नू

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले नै नेपाली कांग्रेसका नेतृत्व गर्ने बताएका छन् । उनले शुक्रबार भएको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेको धारणालाई सामाजिक सञ्जालमा साझा गर्दै भनेका छन्, ‘न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ बरु कांग्रेसको नेतृत्व गर्नेछौँ ।’

उनले कार्यसम्पादनको बैठकमा राखेको धारणा यस्तो छः

विशेष महाधिवेशन सम्बन्धमा
विधानको १७(२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई सम्बोधन कसरी गर्ने मुख्य प्रश्न हो । नियमित महाधिवेशन भएको भए त्यसले विशेषको मागलाई सम्बोधन गर्न सक्थ्यो ।

विपरीत भन्ने अनि विधानतः साथीहरूले गरेको माग विपरीत कांग्रेस चल्ने ? यस्तो विरोधाभाष अस्वीकार्य छ ।
कार्यवाहक सभापतिले आज र भोलि भित्रैमा सभापतिसँग सल्लाह गरेर विशेष महाधिवेशनबारे टुंगोमा पुग्नुपर्छ ।

विकल्प दुइवटा छन्ः
१. पहिलो, सहमतिपूर्वक बोलाउने
२६ गते बिहान ९ बजे उद्घाटन, दिउँसो बन्द सत्र र साँझ उम्मेदवारी दर्ता गर्न सकिन्छ ।
२७ गते निर्वाचन (भोटिङ मेसिनबाट) र साँझ परिणाम ।

दोस्रो, असहमतिका बीच महामन्त्रीहरुले आह्वान गर्ने ।
त्यसलाई कुन रुपमा लग्ने हामी संयमपूर्वक टुंगो गर्नेछौं

नियमित महाधिवेशनको नयाँ कार्यतालिकाबारे
यसमा असहमति राख्न जरुरी छैन, तर मूल प्रश्न बिशेष महाधिवेशनको प्रस्ताव हो । पुस मसान्तमा विशेष गरौँ, वैशाख मसान्तमा नियमित, यो सही हुन्छ ?
५४% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्ने छुट हामी कसैलाई छैन ।

 हाम्रो विरोधाभाष
१. निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरेका थियौँ तर पुनर्स्थापनामा हस्ताक्षर गर्न किन भनियो सांसदहरुलाई ?
२. यो कसले गरायो, किन हुन दिइयो ?
३. आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो । तर एमालेसँग गठबन्धन गर्ने ‘भूमिगत तयारी’ को गर्दैछ ? यसमा विल्कुलै असहमति छ । यस्तो गर्न मिल्दैन । महासमितिको निर्णय विपरीत निर्णय लिनु आत्मघाती हुनेछ ।

समानुपातिकको सूचीबारे
समानुपातिक सूची बनाइरहँदा मतदाताको रुची कोकस्ता उपर हुनसक्छ, हामी छलफल गर्दै थियौँ । मध्यरातमा एकाएक आयो ६०–४० का लागि टेलिफोन । यो गम्भीर गल्ती थियो । सूची सच्याउन जरुरी छ । अग्रज नेताहरू स्पष्ट हुनुस्, अवसर अरुलाई दिइनु पर्छ ।

पार्टी फुट्ने हल्लाबारे
हामी सिंगो कांग्रेसको नेतृत्व गर्न चाहन्छौँ, दृढतापूर्वक भन्छु–हामी नेतृत्व गर्नेछौँ । कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नू । हामी पर्खिन्छौँ पनि फर्किन्छौँ पनि ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *