
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक उनले जनताको भावना र पार्टीभित्रको आवाजलाई सम्मान गर्दै समानुपातिक सूचीबाट पछि हट्ने निर्णय गरेको बताएका हुन् ।
साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र त्यही भूमिकाका कारण साथीहरूको आग्रहमा सांसदको बन्द सूचीमा नाम समावेश गरिएको उनको भनाइ छ ।
तर उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीभित्रका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको साहले बताएका छन् ।
‘नियत सही हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो,’ उनले लेखेका छन् ।
समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो रोज्न नसक्ने स्पष्ट गर्दै साहले देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै भूमिकामा रहे पनि दिने प्रतिबद्धता जनाएका छन् । साथै, उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरूलाई पनि दुई कदम पछाडि हटेर जनताको भावनाको कदर गर्न आग्रह गरेका छन् ।
साहले प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा उभिएर उम्मेदवारी दिने बताउदै काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् ।

Leave a Reply