
काठमाडौं । फागुन २१ गते निर्धारित निर्वाचनका लागि मतदाता नामावली छपाइ सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको शुभारम्भ गरे ।
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि कुल मतदाताको सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । महिला मतदाता ९२ लाख ४० हजार १३१ छन् । पुरुष ९६ लाख ६३ हजार ३५८ छन् । अन्य समूहमा दर्ता भएका मतदाताको सङ्ख्या २०० छ ।
छपाइ कार्य तोकिएको समयभित्रै सम्पन्न गर्ने आयोगले जनाएको छ । देशभरका निर्वाचन कार्यालयमा मतदाता नामावली समयमै पठाउने तयारी गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
मतदाता नामावली निर्वाचनको आधारभूत दस्ताबेज भएकाले यसको शुद्धता, समयमै उपलब्धता र सुरक्षित वितरणलाई आयोगले उच्च प्राथमिकतामा राखेको प्रवक्ता भट्टराईले बताए ।
निर्वाचन लक्षित मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा समन्वय र प्राविधिक तयारीलाई सँगसँगै अघि बढाइएको आयोगले जनाएको छ ।

Leave a Reply