गृहमन्त्री र मुख्य निर्वाचन आयुक्तलाई अभिषेक बनर्जीको चुनौती : तृणमूल कांग्रेस ‘दिल्ली मार्च’ गर्न तयार छ

काठमाडौं । भारतको पश्चिम बंगालमा आगामी चुनावको लागि राज्यव्यापी अभियान सुरु गर्दै तृणमूल कांग्रेस (टीएमसी) का सांसद अभिषेक बनर्जीले शुक्रबार केन्द्रीय गृहमन्त्री अमित शाह र मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारमाथि कडा टिप्पणी गरेका छन् ।

टीएमसीका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक बनर्जीले शुक्रबार एक सार्वजनिक सभालाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त र केन्द्रीय गृहमन्त्रीलाई कडा चेतावनी दिएको सञ्चार माध्यम द स्टेट्समेनले उल्लेख गरेको छ ।

टीएमसीका एक तिहाइ कार्यकर्ता र समर्थकहरू दिल्ली पुगे भने ज्ञानेश कुमार र अमित शाह पानी पानी हुने उनले बताए ।

घुसपैठको बारम्बार आरोप लगाउँदै भाजपाले पश्चिम बंगाललाई रोहिंग्या र बंगलादेशीहरूको केन्द्रको रूपमा ब्रान्ड गरेर बदनाम गरेको उनको आरोप थियो । यसका विरुद्ध तृणमूल कांग्रेसले दिल्ली मार्च गर्ने चेतावनी दिए ।

‘यी मानिसहरू (भाजपा) बंगाललाई रोहिंग्या र बंगलादेशीहरूले भरिएको दाबी गरेर बदनाम गर्छन् । जब मैले ज्ञानेश कुमारलाई मतदाता सूचीबाट कति बंगलादेशी र रोहिंग्या हटाइए भनेर सोधें, उनले मलाई औंला उठाउन थाले । मैले उनलाई भनें, आफ्नो औंला तल राख्नुहोस् – तपाईं मनोनीत हुनुहुन्छ र म निर्वाचित हुँ ।’ बनर्जीले भने ।

उनले थपे -‘मानिसहरू मरिरहेका थिए, निर्वाचन आयोग र राजनीतिक नेताहरूले ‘फूलले स्वागत गर्ने’ अपेक्षा गरेको थियो । यो तृणमूल कांग्रेस हो । यस पटक म दिल्ली गएँ, अर्को पटक ममता बनर्जी जानेछिन् । त्यसो भए तपाईं के गर्नुहुन्छ ?’

‘यो चुनाव उनीहरूलाई हराउन मात्र होइन तर यी ‘बंगला-विरोधी’ हरूलाई पाठ सिकाउन हो…’ बनर्जीले भने ।

पश्चिम बंगाललाई ‘सुनौलो बंगाल’ बनाउने बारेमा अमित शाहको हालैको टिप्पणीमाथि बनर्जीले प्रश्न उठाए । उनले प्रश्न गरे- ‘किन भाजपा शासित राज्यहरूले यस्तै परिणाम हासिल गर्न सकेनन् ?’

बनर्जीले प्रश्न गरे – ‘केही दिन अघि केन्द्रीय गृहमन्त्रीले राज्यलाई सुनौलो बंगाल बनाउने बताएका थिए । त्यसो भए बिहार, त्रिपुरा र आसामलाई किन सुनौलो राज्य बनाइँदैन ?’

उनले भाजपा शासित मध्य प्रदेशमा दूषित पानीसँग सम्बन्धित मृत्युको रिपोर्टलाई पनि उल्लेख गर्दै भने, ‘भाजपा शासित मध्य प्रदेशमा विषाक्त पानी पिएर ११ जनाको मृत्यु भयो । पिउने पानी जस्तो आधारभूत आवश्यकता जनतालाई प्रदान गर्न नसक्ने भाजपालाई जनताको अधिकारको बारेमा बोल्ने कुनै अधिकार छैन…’

अभिषेक बनर्जीले भाजपाले मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) मार्फत ‘अधिकार कुण्ठित’ गर्न खोजेको दाबी गरे ।

एसआईआरलाई लिएर भाजपालाई निशाना बनाउँदै बनर्जीले यो अभ्यास पश्चिम बंगालमा मतदाताहरूको अधिकारलाई दबाउने उद्देश्यले गरिएकोआरोप लगाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *