कठ्याङ्ग्रिएर मर्‍यो डमरू- निकुञ्ज, कोष र उद्धारकर्मीमाथि प्रश्न

कैलाली । स्थानीयले बुधबार बिहानै जोगबुढा नदीको हिलो र पानीमा लतपतिएको अवस्थामा बाघको बच्चा डमरू देखे । दोधाराचाँदनी नगरपालिका-१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएको डमरूको फोटो तथा भिडिओ खिच्नेहरूको घुइँचो बढ्यो ।

नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्जसहितको टोली साँझ करिब ४ बजे उद्धारका लागि घटनास्थल पुग्यो । उनीहरूलाई दिउँसो करिब २ बजे खबर पुगेको थियो । तर, समयमा उद्धार नगर्दा करिब चार घण्टापछि डमरू मर्‍यो । अहिले निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको लापरबाही भन्दै आलोचना भइरहेको छ ।

डमरू चिसोमा कठ्याङ्ग्रिरहेको अवस्थामा उद्धार गर्न डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्रचन्द्र डिसी पनि पुगेका थिए । तर, कार्यक्षेत्रभित्र नपर्ने भन्दै उनलाई त्यहाँ जानसम्म पनि नदिएको गुनासो डिसीले गरेका छन् । निकुञ्जको गैरजिम्मेवारीका कारण घटना भएको उनको दाबी छ ।

‘उद्धार टोली समयमै पुगेको थियो, तर उद्धार गरिएन । यस्तो चिसो मौसममा हिलो र पानीमा फसेको बच्चालाई किन छाडियो भन्ने प्रश्न उठ्छ,’ उनले भने, ‘यो माघको सामान्य मृत्यु होइन, जघन्य अपराध हो ।’

बाघ संरक्षणको नाममा करोडौँ खर्च गरेर बिचल्लीमा परेको डमरू जोगाउन नसक्नु राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्जको चरम लापरबाही भएको उनले बताए । उनका अनुसार उद्धार गरेर बघिनी गएको दिशातर्फ जंगलमै छाड्न सकिन्थ्यो ।

बाघको बच्चा बघिनीसँगै उक्त क्षेत्रमा देखिएको जानकारी स्थानीयले निकुञ्जलाई दिएका थिए । निकुञ्जको टोली उद्धारका लागि पुगे पनि बघिनीकै उद्धारको प्रतीक्षा गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीप्रसाद जोशीले बताए ।

‘हामीलाई २ बजेतिर खबर आएको थियो । ४ बजे उद्धार टोली गएको थियो, तर माउ वरिपरि रहेको हुँदा उद्धार ढिलो भयो,’ उनले भने।

अत्यधिक चिसो, हिलो र पानीमा लामो समय फसेकाले बाघको बच्चाको मृत्यु भएको आरोप छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरी भने डमरुको मृत्यु संयोगवश भएको दाबी गर्छन् । उद्धार गर्न पुगेको टोली बघिनीबाटै उद्धारको प्रतीक्षामा रहेको उनले बताए ।

‘उद्धार टोली नगएको भन्ने कुरा गलत हो । चिकित्सकसहित हाम्रो प्राविधिक टोली समयमै घटनास्थल पुगेको थियो,’ चौधरीले भने,‘माउ पनि वरिपरि भएकाले बच्चा माउले नै लगोस् भन्ने कोणले रातिसम्म प्राविधिक टोली कुरेर बसेको थियो ।’

उनका अनुसार मृत्यु भएको डमरूको उमेर करिब दुई महिना थियो । भिसेरा परीक्षणका लागि सौरहा पठाइने तयारी गरिएको छ र मृत डमरूलाई सङ्ग्रहालयमा राखिने उनले बताए ।

बघिनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नभई भारतबाट डमरू खेलाउँदै त्यहाँ पुगेको उनी बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ४४ वटा बाघ संरक्षण गरेर राखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *