आजपाले तोक्यो प्रदेश कमाण्डर, सुदूरपश्चिम कमाण्डमा एलिजा गौतम

काठमाडौं । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति बैठकले प्रदेश कमाण्डरको जिम्मेवारी तोकेको छ ।

काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा बुधबार बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको आकस्मिक बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल गर्दै नेतालाई विभिन्न जिम्मेवारी तोकेको हो ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैठक, भेलाका लागि तिलक थापामगर, एलिजा गौतम, लुम्बिनी प्रदेशमा त्रिभुवन साह अमर, विजय यादव, मधेश प्रदेशमा उमेश कुशवाहा, वागमती प्रदेशमा धनकुमारी, देवी पण्डित रेग्मी, गण्डकी प्रदेशमा भोजराज त्रिपाठी, कोशी प्रदेशमा जुरीलाल मोची र खगेन्द्र भण्डारीलाई विशेष जिम्मेवारी तोकिएको छ ।

कमाण्डरको जिम्मेवारी तोकिएका नेताले प्रदेशको बैठक, भेला, कार्यालय व्यवस्थापन, प्रचारप्रसार, घोषणापत्र निर्माण, जनपरिचालनसहित आउँदो १९ पुसमा काठमाडौंमा पार्टी निकटको आम विद्यार्थी मोर्चाको उपत्यका भेला गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा नै नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै आजपा प्रवेश गर्ने नेतालाई पार्टी अध्यक्ष प्रभु साहले स्वागत गरेका छन् । नेकपाको वैकल्पिक केन्द्रीय सदस्य रामएकबाल यादव (सिरहा), रौतहटको गरुडा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एवं एमाले नेता रामबाबुप्रसाद चौधरी, नेकपा गोरखा जिल्ला सचिवालय सदस्य राजन विक, जिल्ला सदस्यद्वय सुरेश सुर्खेती, राम सुर्खेतीलगायतका नेता पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जानकारी दिए ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री साहले नवप्रवेशीलाई टीका, माला लगाई पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेलाई क्षमता, योग्यताअनुसार पार्टीमा जिम्मेवारी दिइने उनले बताए । साथै अगामी निर्वाचन केन्द्रित पार्टीको गतिविधिमा लाग्न साहले निर्देशन समेत दिए ।

पार्टी प्रवेश गर्नेले आजपाले उठाउँदै आएको मुद्दा, नीति, विचार, मुलुक र नेपाली जनताको हितमा भएको बताउँदै आफूहरु त्यसैबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन् । आगामी दिनमा पार्टीले दिने जिम्मेवारीअनुसार सशक्त एवं प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अगाडि बढने प्रतिबद्धता गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *