वैकल्पिकलाई काउन्टर दिन कांग्रेस–एमाले मिल्दैछन् ?

काठमाडौं । फागुन २१ को चुनावलाई लक्षित गर्दै नयाँ र वैकल्पिक शक्ति एकैठाउँमा आउँदा जेनजी आन्दोलनअघिका सत्ता सहयात्री कांग्रेस र एमालेबीच चुनावी गठबन्धनको सम्भावनाबारे चर्चा चल्न थालेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङ पनि जोडिएपछि कांग्रेस–एमाले मिल्न सक्ने विश्लेषण हुन थालेको हो ।

रविको नेतृत्वमा बालेन र कुलमान पनि जोडिँदा आगामी निर्वाचनको परिणाममा उनीहरुको पक्षमा लहर आउनसक्ने आँकलनहरु भइरहेका छन् । अघिल्लो चुनावमा नवगठित रास्वपाले एक्लै २२ सीट जितेको थियो । रास्वपामा बालेन र कुलमान पनि थपिँदा चुनावमा ठूला दलहरुलाई ठुलै धक्का दिनसक्ने वैकल्पिक पक्षधरहरुको आशा छ ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ मा चुनाव भएको अवस्थामा कांग्रेस र एमाले मिलेर जानुपर्ने हालै एक भाषणमा बताए । मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद् पुन:स्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौँ । यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरुरी छ ।’

१६५ निर्वाचन क्षेत्रलाई लोकतन्त्र पुन:स्थापनाका लागि १६५ मोर्चाको रूपमा लिनुपर्ने उनको भनाइ छ ।

बादलले थपे, ‘आधामा लोकतन्त्रवादी, आधामा वामपन्थी विजयी हुने रणनीति बनाऔँ । ११० समानुपातिकबाट आधा लोकतन्त्रवादी र आधा वामपन्थीहरूले जित्ने रणनीति बनाएर जाँदा हामीले लोकतन्त्रलाई पुन:स्थापना गर्न सकिन्छ ।’

बादल लगत्तै त्यही कार्यक्रममा बोलेका अध्यक्ष ओलीले पनि आगामी चुनावपछि एमाले–कांग्रेसबाहेक अरूले सरकार बनाउनै नसक्ने दाबी गरे । उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस र एमाले मिल्नुपर्ने बताए । पछिल्ला भाषणहरुमा ओली कांग्रेसप्रति, त्यसमा पनि सभापति शेरबहादुर देउवाप्रति निकै सकारात्मक सुनिन थालेका छन् ।

उनले भनेका थिए, ‘एमाले मात्र होइन, कांग्रेससँग पनि मुकाबिला गर्नु छ । छेउमा नगइञ्जेल त मजै छ । छेउमा गएपछि त गाह्रो पार्छ कांग्रेसले पनि ।’

उनले कांग्रेस–एमालेलाई बाघ र सिंहसँग तुलना गर्दै नयाँ शक्तिहरूको मिलनलाई कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिन भ्याए ।

ओलीको यो बोलीमा कांग्रेस सभापति देउवाको पनि समर्थन लुकेको पछिल्ला दिनमा बाक्लिएको भेटले प्रस्ट बुझिन्छ । सत्ताबाट हटे पनि संसद् पुन:स्थापनादेखि सहकार्यलाई निरन्तरता दिने विषयलाई लिएर ओली र देउवा निरन्तर संवादमा छन् ।

राष्ट्रियसभामा तालमेलको प्रयास

प्रतिनिधि सभाको निर्वाचनअघि माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस–एमाले मिल्ने तयारी छ । फागुन २० देखि रिक्त हुन लागेको १९ मध्ये १८ स्थानका लागि निर्वाचन हुँदै छ ।

कांग्रेसप्रति नरम सुनिएका ओली र बादलको अभिव्यक्तिप्रति एमालेकै केही नेताहरूले भने असन्तुष्टि जनाएका छन् । संस्थापन इतर पक्षका नेता गोकुल बास्कोटाले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्न बादललाई चुनौती दिए ।

बास्कोटाले समानुपातिक उम्मेदवार छनोटलाई लिएर पनि विरोध जनाएका छन् ।

‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो,’ उनले बादललाई लक्षित गर्दै भनेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ, पटके समानुपातिकले । समावेशिताकै बेइजत नगर के, त्यो पनि पुरुषले ।’

नेपाली कांग्रेसका नेता श्याम घिमिरे राष्ट्रिय सभा निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जाने भए पनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बताउँछन् ।

उनले भने, ‘राष्ट्रियसभाको विषयमा हामी सघन छलफलमा छौँ । अहिलेसम्म कुन दलसँग मिल्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ । कुनै दलसँग नमिली सुखै छैन । हामीलाई मिल्दा एमालेसँगै मिल्ने सम्भावना रहन्छ ।’

संसदीय राजनीतिमा चुनावी गठबन्धनलाई अन्यथा लिन नहुने भन्दै उनले मिल्ने बाटो आफूहरूले बन्द नगरेको बताए ।

घिमिरेले भने, ‘प्रतिनिधि सभामा पनि मिलेर चुनाव लड्न कसैले रोक्दैन । यो चलिआएको प्रचलन नै हो । ०७४ र ७९ को चुनावमा पनि गठबन्धन भएको हो । अहिलेको चुनावमा पनि हुनसक्छ । तर अहिलेसम्म कुनै पार्टीसँग, कुन मोडेलमा मिल्ने भन्नेबारे कुनै छलफल भएको छैन । आवश्यक परे हुनसक्छ ।’

घिमिरेले कांग्रेस र एमाले मिलेर लडे १६५ सीटमध्ये १५० सीट जित्ने दाबी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । त्यसबारे नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘मैले उहादारणका लागि त्यो परिस्थिति बन्नसक्छ भनेको हुँ ।’

एमालेका सचिव राजन भट्टराईले पनि कांग्रेससँग राष्ट्रियता, व्यवस्था र संविधानको रक्षा गर्नका लागि एकैठाउँमा उभिन तयार रहेको बताए । यद्यपि, प्रतिनिधि सभाको चुनाव नै मिलेर लड्ने भन्नेबारे पार्टीमा छलफल नभएको उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रियसभाको हकमा त मिल्नुपर्छ भन्ने कुरा छ । तर कांग्रेससँग मिलेर सीट नै बाँडफाँट गरेर जाने पार्टीले संस्थागत निर्णय गरेको पनि छैन । पार्टी त्यतातर्फ लाग्दैन होला पनि ।’

एमालेका अर्का नेता महेश बर्तौलाले पनि कांग्रेससँग राष्ट्रियसभा निर्वाचनमा मिलेर जानेबारे आफूहरू छलफलमा रहेको बताए । प्रतिनिधि सभाको हकमा भने संवादको बाटो खुला राखेको बताए ।

उनले भने, ‘राष्ट्रियसभामा नमिली हुँदैन । त्यसैले कांग्रेससँग छलफलमा छौँ । अध्यक्षले कुराकानी गरिराख्नुभएको छ । केही दिनमा ठोस निष्कर्ष आउँछ ।’

प्रतिनिधिसभामा पनि मिल्नेबारे आफूहरूले संवादको बाटो खुला राखेको बर्तौलाले बताए ।

बर्तौलाले थपे, ‘देश अहिले अफ्ठेरो अवस्थामा छ । नयाँ नयाँ षड्यन्त्र बुनिँदै छ । लोकप्रियतामा खेलेर देश र व्यवस्थामाथि नै प्रश्न उठाइएको छ । त्यसैले संविधान र व्यवस्थाको रक्षाका लागि हामी एकैठाउँमा आउनुपर्छ भन्नेमा छौँ । आगामी चुनावमै पनि मिलेरै जाने भन्ने गरी छलफल थालेका छैनौँ । तर बाटो खुला राखेका छौँ ।’

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रियसभामा एमालेसँग मिलेर जाने सहमति नजिक रहेको बताए ।

उनले भने, ‘राष्ट्रियसभामा विगतको सत्ता सहयात्री एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा छौँ । त्यसका लागि सहमति नजिक पुगेका छौँ ।’

कांग्रेसमा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्नुपर्छ भन्ने पनि बलियो मत छ । नेता विश्वकर्माले पनि एमालेबाहेक अरू दलसँग पनि आवश्यकता अनुसार छलफल भने नछाडेको बताए । प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेसले कसैसँग गठबन्धन नगर्ने उनको दाबी छ ।

उनले थपे, ‘राष्ट्रियसभामा बाध्यकारी रूपमा मिले पनि प्रतिनिधि सभा चुनावमा कसैसँग मिल्दैनौँ । एक्लै लड्छौँ, चुनावअघिको गठबन्धन पार्टीको हितमा हुँदैन भन्ने हामीले विगतको अभ्यासबाटै पाइसकेका छौँ ।’

कांग्रेस महामन्त्री गगन थापाले पनि आउँदो चुनावमा पार्टीले एक्लै चुनाव लड्ने पहिलेदेखि नै बताउँदै आएका छन् । सभापति शेरबहादुर देउवाको भने लाइन स्पष्ट भइसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *