कांग्रेसको वडा अधिवेशन आजः न क्रियाशील पुग्यो, न स्थगनको पत्र

काठमाडौँ । नेपाली कांग्रेसको आज देशभर हुने भनिएको वडा अधिवेशन प्रभावित भएको छ । वडा अधिवेशनका लागि पार्टीले क्रियाशील सदस्यताको अद्यावधिक पठाएको छैन भने वडा अधिवेशन स्थगनको सूचना पनि जारी गरेको छैन । अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नलाग्दा आज हुने भनिएको कांग्रेसको वडा अधिवेशन प्रभावित बनेको हो ।

मंसिर १५ गते कांग्रेस केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिका अन्तर्गत पुस १६ गते देशैभर वडा अधिवेशन गर्ने भनेको थियो । केही जिल्लामा अझै क्रियाशील सदस्यता नवीकरण हुन बाँकी रहेको र अधिकांश जिल्लाबाट नयाँ क्रियाशील सदस्यताको काम नसकिएका कारण वडा अधिवेशन प्रभावित भएको हो ।

महाधिवेशन तालिका प्रभावित भएर वडा अधिवेशनकै दिन आइपुग्दा पनि कांग्रेसले कार्यतालिका संशोधन गरेको छैन । र, तल्ला समितिहरुलाई वडा अधिवेशन स्थगनबारे परिपत्र पठाइएको पनि छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूची बनाउने काममा व्यस्त रहँदा कांग्रेसले वडा अधिवेशन हुन नसकेको भनेर सूचनासमेत जारी गरेको छैन ।

‘कार्यतालिका अनुसार आज वडा अधिवेशन हुनुपर्ने हो । क्रियाशीलकै टुंगो छैन । नहुने भएपछि कम्तीमा आज हुँदैन भनेर केन्द्रले परिपत्रसम्म पठाइदिएको भए हुनेथियो,’ कांग्रेसका एक जिल्ला सभापतिले नेपाल प्रेससँग भने ।

कांग्रेसले पुस २६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । कार्यतालिका अनुसारका कुनै पनि काम समयमा हुननसक्दा कांग्रेस महाधिवेशन अनिश्चित बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *