गोकुलको टिप्पणीः रूख–सूर्य मिलेर चुनाव लडे भो, पटके समानुपातिकले नाम फिर्ता लिए हुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पटकपटक समानुपातिकमा बस्न रुचाउने नेताहरुले कांग्रेस एमाले मिल्दा पनि चुनाव लड्न किन डराउनु परेको भन्दै कटाक्ष गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो । अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले ।’

उनले शक्तिशाली र लोकप्रिय भन्नेहरु पटकपटक समानुपातिकमा बसेर समावेशीताकै बेइजत भएको र यसमा पुरुष नेताहरु अझ बढी देखिएको उल्लेख गरेका छन् ।

एमालेले बुझाएको समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष रामबहादुर थापा बादलको पनि नाम परेकोमा एमालेजनमै असन्तुष्टि छ । उनै थापाले मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा यसपालि कांग्रेस–एमालेले आधा आधा सिट बाँडेर चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *