
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुस्तान्तरण आमाबुवाले छोराछोरीलाई अंश दिएको जस्तो नहुने बताएकी छन् ।
एमालेको नवनिर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी डंगोलले मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा भनिन्, ‘पुस्तान्तरण भन्ने वित्तिकै ६० वर्षको उमेरकोले २० वर्षको उमेरको मान्छेलाई मैले ठाउँ छोडेँ अब तिमी आऊ भनेको पुस्तान्तरण होइन । पुस्तान्तरण भन्नुको अर्थ त्यहाँ नलेज ट्रान्सफर हुन जरुरी छ, त्यहाँ स्किल ट्रान्सफर हुन जरुरी छ, त्यहाँ इन्फर्मेसन ट्रान्सफर हुन जरुरी छ, त्यहाँ विचार ट्रान्सफर हुन जरुरी छ, त्यहाँ सिद्धान्त ट्रान्सफर हुन जरुरी छ ।’
एउटा व्यक्तिलाई हटाउने अनि अर्को व्यक्तिलाई ल्याउनेलाई पुस्तान्तरण भनेर बुझ्यौँ भने यसले अर्को दुर्घटना निम्त्याउने उनको भनाइ छ ।
पुस्तान्तरणको कुरा गरिरहँदा पार्टीभित्र विभिन्न उमेर समूहका नेतृत्व रहिरहँदा लर्निङ एण्ड सेयरिङको वातावरण हुन जरुरी रहेको उनको भनाइ छ ।
डंगोलले थपिन्, ‘हामीले गुरु शिष्य परम्परा भन्छौँ, यो गुरु शिष्य परम्परा पार्टीभित्र पनि विभिन्न पुस्ताबीच हुन जरुरी छ, अनि मात्र पुस्तान्तरण, साच्चिकैको पुस्तान्तरण हुन्छ ।’
एमालेले ११ औँ महाधिवेशनमार्फत नवयुवाको ‘मुभमेन्ट’ बुझेर सम्बोधन गरेको उनको भनाइ छ ।
‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र धेरैले बोली त बनाए तर एमालेले त्यो सन्देश व्यवहारमै उतार्यो । छुट्टै क्लस्टर बनाएर युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनका सफल भयो । प्रतिनिधि चयनदेखि नेतृत्व छनोट सम्ममा ‘अन्डर ४०’ क्लस्टरबाट युवाहरूको सहभागिता सुनिश्चित गर्यो । म आफैँ पनि त्यहिँबाट विजयी भएँ । देशैभरिका युवाहरूलाई हौसला प्रदान गरेको छ’, उनले भनिन् ।
यो प्रयोग एमालेका लागि मात्रै नभएर अरु पार्टीहरूलाई पनि उदाहरण भएको भन्दै डंगोलले राजनीतिमा उमेरले मात्रै धेरै कुरा निर्धारण नगर्ने बताइन् ।

‘राजनीति भनेको उमेर समूह मात्र होइन । राजनीतिमा आउनका लागि ज्ञान चाहिन्छ, त्यही अनुसारको विज्ञता चाहिन्छ, त्यति मात्र नभएर सीप चाहिन्छ र महत्वपूर्ण कुरा ऊर्जा चाहिन्छ । उमेरले मात्र युवा भएर हुँदैन । ज्ञान, सीप, ऊर्जा र नेतृत्वदायी क्षमता छ भने मात्रै निरन्तर रूपमा देशलाई योगदान दिन सकिन्छ ।’
एमालेकोको एघारौँ राष्ट्रिय महाधिवेशन आफ्ना लागि धेरै कुराहरूमा र धेरै पक्षहरूमा पहिलो अनुभव भएको पनि उनले बताइन् ।
‘महाधिवेशनमा सहभागी हुनु, प्रतिनिधिका रूपमा सहभागी हुनु आफैँमा मेरो लागि पहिलो अनुभव थियो । महाधिवेशनमा उम्मेदवारी दिनु अर्को पहिलो अनुभव थियो । केन्द्रीय सदस्यमा जित्नु अर्को पहिलो अनुभव हो । यी विविध पहिलो अनुभव सँगै मैले महाधिवेशनबाट धेरै कुराहरू सिकेँ र धेरै नवीनतम अनुभव पनि मैले गर्ने मौका पाएँ । देशभरका प्रतिनिधिको अनुभव, विचार सुनिरहँदा र उहाँहरूसँग कुराकानी गरिरहँदा पार्टीप्रति अझ आफू विश्वस्त भएको र थप ऊर्जा थपियो । ७७ वटै जिल्लाका नेपालीहरूलाई भेटिरहँदा, पार्टीभित्रका नेता कार्यकर्ताहरूलाई भेटिरहँदा केही हदसम्म मैले भूगोल बुझ्ने अवसर पनि प्राप्त गरेँ । यो मेरो लागि ‘मिनी नेपाल’ नै एकै ठाउँमा भेट्ने, देख्ने, सुन्ने अवसर पनि भयो ।’
मदन भण्डारी सँगसँगै जीवराज आश्रितले पार्टी र लोकतन्त्रमा गरेको योगदानको उनले स्मरणसमेत गरिन् ।
‘विभिन्न वादका कुरा गर्छौँ, सिद्धान्तका कुरा गर्छौँ, मार्क्सावादकै कुरा गर्ने हो भने पनि मार्क्सवादका विभिन्न सिद्धान्तहरू र आजको परिपेक्षमा भएका विभिन्न परिवर्तनहरू, पुँजीवादका विभिन्न कदमहरू र समाजवादलाई सबैले आ-आफ्नै ढङ्गबाट, आ-आफ्नै साँचोमा ढाल्ने, आकार दिने, व्याख्या गर्ने सन्दर्भमा यी सबै कुराहरूलाई बुझेर मार्क्सवादको सही व्याख्या गर्न, बुझ्न र सही अनुरूपमा हामीले त्यसको जानकारी लिएर नीति बनाउन आजको आवश्यकता हो,’ उनको भनाइ छ ।
राष्ट्रको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नुपर्ने बताएकी छन् ।
देशको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नुपर्ने उनको जोड छ ।

Leave a Reply