
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ११० जना समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्द सूचीमा यसअघि कहिल्यै सांसद नभएकाहरू छन् ।
राप्रपाले यसअघि सांसद बनिसकेकाहरूलाई समानुपातिक सूचीमा नराख्ने औपचारिक निर्णय नै गरेको थियो । सोही अनुसार ११० जनामा सबै नयाँ अनुहार समावेश भएका हुन् ।
राप्रपाले दुईवटा क्लस्टरको टप थ्रीमा को-को रहने भनेर केन्द्रीय कार्यसम्पादन समितिमा मतदान नै गराएको थियो । बाँकी नामहरू भने सर्वसम्मत हुन् ।
बन्द सूचीको पहिलो नम्बरमा जनजाति क्लस्टरबाट तोरणबहादुर गुरुङको नाम छ । उनी राप्रपाको निर्वाचन समिति अध्यक्ष हुन् ।
कुन क्लस्टरको टप थ्रीमा को को ?
राप्रपाले जनजाति क्लस्टरलाई सबैभन्दा सुरूमा राखेको छ । जसको टप थ्रीमा तोरणबहादुर गुरुङ, राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ छन् । राजेन्द्र पार्टीका महामन्त्री र श्रेष्ठ प्रवक्ता हुन् । कार्यसम्पादन समितिमा मतदान गराएर जनजातितर्फ टप थ्रीको निर्णय लिइएको थियो ।
जनजाति महिलातर्फ सरस्वती लामाको नाम शीर्षस्थानमा छ । उनीपछि क्रमशः विजयकला राई र सरस्वती थिङ रहेकी छन् ।
खस आर्य पुरुष तर्फ टप थ्रीमा क्रमशः भरत गिरी, पुष्पराज पुरुष र धर्मराज जोशी रहेका छन् । भरत गिरी राप्रपाको मधेश प्रदेश अध्यक्ष हुन् भने पुष्पराज पुरुष धर्मसंस्कृति विभाग प्रमुख हुन् ।
खस आर्य महिलातर्फ पहिलो नम्बरमा चर्चित युवा नेतृ खुस्बु ओली छिन् । उनीपछि स्वाती थापा र देवकुमारी पराजुलीको नाम छ । थारुतर्फ गिरीधारी चौधरी, शिवराम थारु र लालबहादुर चौधरी टप थ्रीमा छन् । थारु महिलामा इन्दु चौधरी, रुनाकुमारी महतो र दुखनी थारु छन् ।
दलित पुरुषमा अमर परियार, प्रकाश दयाली र श्रवणकुमार नेपाली टप थ्रीमा छन् । दलित महिलामा विपना नेपाली गंगा बिक र चन्द्रा वादी रहेका छन् ।
मधेसी पुरुषतर्फ पहिलो स्थानमा प्रल्हाद साह छन् । उनी राप्रपाका महामन्त्री हुन् । उनीपछि मोहन यादव र उम्देश्वर प्रसाद साह छन् । मधेशी महिलातर्फ निरुपमा यादव, प्रभाव मिश्र र प्रियंका कुमारी यादव छन् ।
मुस्लिम पुरुषतर्फ ताहिर अली भाट, सलाउद्दिन जसगढ छन् भने महिलातर्फ नजिया खातुन र पिंकी बेहनाको नाम छ ।
राप्रपाका २८ जना पदाधिकारीमध्ये ३ जनामात्रै समानुपातिक क्लस्टरको टप थ्रीभित्र अटाएका छन् । महाममन्त्री राजेन्द्र गुरुङ र प्रल्हाद साह तथा प्रवक्ता मोहन श्रेष्ठ टप थ्रीमा परेका हुन् ।

Leave a Reply